११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
सौन्दर्यवोध साहित्य

'प्येताँ‍-ल्हुताँ' साैन्दर्यशास्त्रको खोजी

चेतलुङ-वार्ता

'प्येताँ‍-ल्हुताँ' साैन्दर्यशास्त्रको खोजी
तस्बिर सौजन्यः गौरी तमू

डेढ दशकदेखि पोखरालाई कर्म थलो बनाउँदै आएकी गौरी तमू द्विभाषिक कृति ‘समैं दर्बानी’ की स्रष्टा हुन् । पर्यटन व्यवसाय र शिक्षण पेसामा आबद्व गौरी तमू आदिवासी जनजाति साहित्यकार लेखक महासंघको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनको सबैभन्दा ठूलो सक्रियता गुरुङ साहित्यिक मञ्‍च नेपालको संस्थापक अध्यक्षका रूपमा रहेको देखिन्छ । चेतलुङ वार्तामा प्रस्तुत छ, गुरुङ सौन्दर्यशास्त्र तथा साहित्यको समसामयिक सन्दर्भमा उनै तमूसँग गरिएको अन्तर्वार्ता ।

गुरुङ साहित्यिक मञ्‍च खोल्ने प्रेरणा केले दियो ? के कुरा थियो, जसले यो मञ्‍च नभई भएन भन्‍ने महसुस भयो ? मञ्‍च गठनको कथा सुनाइदिनुहोस् न ।

पोखरा गुरुङहरूको ऐतिहासिक थलो हो । गुरुङहरूको महत्त्वपूर्ण धार्मिक र सामाजिक संघ-संस्थाहरू यही शहरमै बढी छन् । जब यहाँ ल्होसारलगायत चाडपर्वहरू नजिकिन्थे, तब लाखौँ खर्चेर महिना दिन अघिदेखि विभिन्‍न सांस्कृतिक कार्यक्रमका तयारी र भोजभतेरहरू आयोजना भइरहन्थे । तर, मञ्‍च स्थापना हुनुपूर्व दस वर्षे पोखरा बसाइको क्रममा मैले यहाँका कुनै पनि गुरुङ सामाजिक संघ-संस्थाहरूले साहित्यसम्बन्धी कार्यक्रमहरू गरेको देखिनँ । बरु कहिलेकाहीँ कुनै स्रष्टाले केही सूचना सुनाउन चाहेमा त्यही सांस्कृतिक कार्यक्रमबीचमा ५/१० मिनेट समय पाउँथे । तर, हल भने बिस्तारै रित्तिँदै जान्थ्यो र फेरि नाचगान सुरु भएपछि खचाखच भरिन्थ्यो । पुरानो पुस्ता होस् या नयाँ पुस्ता, नाचगानबाहेक रचनात्मक गतिविधि भनेपछि नाक खुम्च्याउँथे । उनीहरूलाई देशको परिस्थिति, साहित्यको गतिबारे खासै चासो हुन्थेन । गुरुङ कवि, लेखकहरूले स्वतस्फूर्त रूपमा पुस्तक प्रकाशन गरे पनि त्यस्ता पुस्तक विमोचन र अन्तरक्रिया गर्ने कुनै साहित्यिक संस्था थिएन । यस्तैमा चैत २१, २०७४ रोशन तमू, रोशनी गुरुङ, अदृश गुरुङ, जस्सु गुरुङ, शिव गुरुङसँग मैले छोटो सल्लाह गरेँ । र, गुरुङ साहित्यिक मञ्‍च नेपालको स्थापना गर्‍यौँ।

हाम्रो समुदायमा पठन, लेखन संस्कृतिको विकास गर्दै वैचारिकीे निर्माण गर्न चाहन्थ्यौँ । तर, व्यक्तिको एक्लो प्रयासले सम्भव थिएन । समुदायको आवश्यकता र युवाको दायित्वबोधले नै मञ्‍च गठन भएको हो ।

करिब ६५ वर्षअघि प्रज्ञाप्रतिष्ठान स्थापना भएको इतिहास छ । तर, यी र यस्ता संस्था स्थापनाले हाम्रो समुदायका लागि खासै अर्थ राख्दैनन् । अबका दिनमा यस्ता संस्थाका सदस्य हुनुभन्दा नहुनुमा गर्व गर्नुपर्ने अवस्था आउने देखिन्छ।

मञ्‍च गठनपछि हामीले स्वदेश तथा विदेशमा रहेर कलम चलाइरहेका गुरुङ कवि, लेखकहरूलाई मात्रै संगठित गरेनौँ । कम्तीमा अहिले पोखरामा गुरुङ साहित्यिक मञ्‍च नेपालले आयोजना गरेको बहस, छलफल, अन्तक्रिया होस् या विचार-गोष्ठी, साहित्यिक कार्यक्रम भनेपछि हाम्रा कार्यक्रम हेर्न, सुन्‍न र बुझ्‍न आउने र अन्तिमसम्म बसेर लेखक वा वक्तालाई नै भेटेर बहस र छलफल गर्न खोज्‍ने समूहको निर्माण हुनु, राष्ट्रिय/अन्तर्राष्ट्रिय वृत्तमा पनि हाम्रो कार्यक्रमहरूको आर्कषण बढ्नु नै हाम्रा लागि ठूलो उपलब्धि हो ।

गुरुङ पहिचानको खोजी साहित्यमा कसरी गर्दै हुनुहुन्छ ? गुरुङ समुदायका स्रष्टाहरूको ‘प्रोमोसन’ बाट मात्र यो सम्भव छ ?

गुरुङहरूको इतिहास, दर्शन, साहित्य, संस्कृति र मौलिक पहिचान आफ्नै 'प्येताँ‍-ल्हुताँ '(शास्त्रका कुरा र संस्कृतिका कुरा) मा आधारित छ । जीवन र जगतबारे हाम्रा सोचाइ, दृष्टिकोण र विश्वास जानेर/नजानेर यही 'प्येताँ‍-ल्हुताँ' द्वारा निर्देशित छन् । तर, विडम्बना गुरुङका यी शास्त्र र संस्कृति आजसम्म पनि मौखिक रूपमा सीमित पुरानो पुस्तामा नै रहेकाले साहित्यमा गुरुङ पहिचानको खोजी जति र जसरी हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । तर, हिजोसम्म गुरुङ पहिचानका नाममा गुरुङ या गैरगुरुङबाट जे जसरी सतही रूपमा लेखिँदै आए पनि अबको हाम्रो पुस्ता यसप्रति सचेत छ । रह्‍यो कुरा, गुरुङ समुदायको स्रष्टाहरूबाट मात्रै यो सम्भव छ ? जुन लेखक आफ्नै धरातल र माटोबाट आएको हुन्छ, उसको लेखनले त्यो धरातल र माटोलाई न्याय गरेर लेखेको हुन्छ । साहित्यमा सम्बन्धित समुदायको संस्कृति, विचार, दृष्टिकोण र मनोविज्ञान जोडिएर आउने भएकाले हामीले संस्कृतिलाई बुझ्‍न त्यही संस्कृतिको भित्री आँखाबाट हेर्दा अझै न्यायपूर्ण हुन्छ । जब हामी बाह्य आँखाबाट संस्कृतिलाई नियाल्छौँ, ठ्याक्कै उल्टो देख्छौँ । जस्तैः गुरुङ संस्कृतिमा हरेक शुभ/अशुभ कार्यमा रक्सी नभई हुँदैन । तर, त्यही रक्सी हिन्दु संस्कृतिको आँखाबाट हेर्दा जसरी अशुद्ध देखिन्छ, त्यसरी नै गुरुङ संस्कृतिको आँखाबाट हेर्दा गाईको गहुँत अशुद्ध हुन सक्छ । अतः गुरुङ समुदायकै स्रष्टाबाट यसको प्रोमोसन गरिँदा जति यो वस्तुपरक र न्यायपूर्ण हुन्छ, त्यति अन्य समुदायबाट गरिँदा नहुन सक्छ ।

प्रज्ञा प्रतिष्ठान वा मदन पुरस्कार गुठीजस्ता संस्थाले गर्न नसकेको के काम तपाईंको संस्थाले गरिरहेजस्तो लाग्छ ?

मेरो जवाफ तपाईैलाई अहंपूर्ण र तीतो लाग्‍न सक्छ । करिब ६५/६६ वर्षदेखिको लामो इतिहास छ, यी संस्थासँग । तर, यी र यस्ता संस्था स्थापनाले हाम्रो समुदायका लागि खासै अर्थ राख्दैनन् । किनकि यस्ता संस्थाहरू निश्चित भाषा र सत्ताकेन्द्रित छन् । प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरू अब स्रष्टाहरूले होइन, राजनीतिक पार्टीको कार्यकर्ताले भरिँदै छन् । अबका दिनमा यस्ता संस्थाका सदस्य हुनुुभन्दा नहुनुमा गर्व गर्नुपर्ने अवस्था आउने देखिन्छ ।

यी संस्थाले गर्न नसकेको काम हामीले गुरुङ समुदायका स्रष्टाहरूलाई एकै छाता संगठनमा आबद्ध गराउँदै विभिन्‍न प्रशिक्षण, गुरुङ भाषामा रचना वाचन, विचार गोष्ठी, प्रतियोगिता, पुस्तक प्रकाशन, विमोचन अन्तक्रिया र अक्षयकोष स्थापना गरेका छौँ ।

पहिचान आन्दोलनको एजेण्डामा भाषा, संस्कृति र इतिहासको खोजी महत्त्वपूर्ण मानिन्छन् । गुरुङ साहित्यिक मञ्‍चले यो खोजीमा कस्तो भूमिका खेलिरहेको छ ?

मैले तपाईंलाई अगाडि नै भनिसकेको छु, यस देशमा प्रज्ञा प्रतिष्ठान वा मदन पुरस्कारजस्ता संस्थाहरू भए पनि ती र त्यस्ता संस्थाहरूले निश्चित एक भाषा, समुदाय र संस्कृतिबाहेकका लागि खासै काम गरेनन् । यसकारण पनि आजसम्म गुरुङ समुदायमा साहित्य लेखन र प्रकाशनसम्बन्धी जुन चेतनाको विकास हुनुपर्ने हो, त्यो हुन नसकिरहेको अवस्थामा मञ्‍चले अझै पनि के लेख्‍ने, कसरी लेख्‍ने भन्‍ने एजेण्डामा भन्दा पनि साहित्यतर्फ यस समुदायलाई कसरी आकर्षित गर्ने भन्‍नेमा नै मिहिनेत गर्नु परिरहेको छ । 

यद्यपि हामीले मातृभाषा, इतिहास, दर्शन र संस्कृतिलाई नै आधार मानेर विभिन्‍न पुस्तक प्रकाशन, विमोचन, नियमित मासिक शृङ्खला, गुरुङ गाउँहरूको अवलोकन–भ्रमण, अक्षयकोष स्थापना, प्रतियोगिता, अन्तक्रिया र विचार गोष्ठीको आयोजना गर्दै पहिचान आन्दोलनका सारथि संस्थाहरूसँग पनि सहकार्य गर्दै आइरहेका छौँ ।

हिजोका दिनमा साहित्यिक कार्यक्रमलाई सांस्कृतिक कार्यक्रमका बीचमा पस्कनुपर्ने बाध्यता थियो । तर, आज गुरुङ साहित्यिक मञ्‍चले आयोजना गरेको साहित्यिक कार्यक्रम भनेपछि पोखराका सामान्य पाठक वा साहित्यानुरागी मात्रै होइनन्, गुरुङ समुदायका अगुवा बुद्विजीवी र दिग्गज लेखक, प्रकाशकहरू पनि हामीहरूसँग जोडिन लालायित हुन्छन् । यही नै हाम्रो समुदायप्रतिको भूमिका हो, सायद ।

आदिवासी जनजातिलगायतको आफ्नै सौन्दर्यशास्त्र छ भन्‍ने दाबी छ । गुरुङ सौन्दर्यशास्त्रको विशेषताको खोजी भएको छ कि छैन ? तपाईंको विचारमा त्यस्ता विशेषता के हुन सक्छन् ?

गुरुङको आफ्नै सौन्दर्यशास्त्र छ । गुरुङहरूले प्रकृतिलाई हेर्ने दृष्टिकोण, संस्कृति, भाषा र उनीहरूको सिंगो जीवन दर्शन सबै गुरुङ सौन्दर्यशास्त्रमा नै आधारित छन् । गुरुङहरू प्रकृति पूजक हुन् । उनीहरू सिमेभूमे पूजा गर्छन्, ट्होटे पर्व मनाउँछन् र प्रकृतिमैत्री व्यवहार गर्छन् । संस्कृतिका हिसाबले जन्म, विवाह र मृत्युजस्ता शुभ–अशुभ कार्यमा रक्सी अत्यन्तै महत्त्वपूर्ण र पवित्र वस्तुका रूपमा प्रयोग गरिन्छ भने यो महिला सशक्तीकरणको पाटोसँग पनि जोडिएर आउँछ । भाषाका हिसाबले हेर्दा खस नेपाली भाषामा जस्तो गुरुङ भाषामा तहगत संरचना हुँदैन । जस्तोः खस नेपाली भाषामा तँ/तिमी/तपाईं/हजुरलाई जनाउने गुरुङ शब्द भनेको क्ही वा क्यो मात्रै छ । यसकारण पनि गुरुङहरूले आफूभन्दा ठूलालाई तँ वा तिमी भनेर सम्बोधन गर्नु गुरुङ सौन्दर्यशास्त्रअनुसार उचित नै हो । तर, विडम्बना ! महेन्द्रमालीय वैचारिकीले हिन्दू धर्म, संस्कृति र खस पर्वते भाषाबाहेकका भाषा, धर्म र संस्कृतिलाई किनाराकृत गरिएकाले गुरुङको सौन्दर्यशास्त्र ओझेलमा छ ।

तस्बिर सौजन्यः गौरी तमू

गुरुङ सौन्दर्यशास्त्रको पहिचान र विकास गर्न यस समाजले कस्तो योजना बनाएको छ ?

गुरुङ सौन्दर्यशास्त्रको पहिचान र विकास गर्न हामीले सबैभन्दा पहिले त गुरुङ समुदायबाट स्वदेश तथा विदेशमा बसेर गुरुङ, खस नेपाली वा अंग्रेजी भाषामा लेख्दै गरेका स्रष्टाहरूलाई मञ्‍चमा आबद्ध गर्ने । युवा पुस्तालाई अध्ययन र लेखनतर्फ आकर्षित गर्ने, गुरुङ सामाजिक संघ-संस्थाहरूका कार्यक्रममा साहित्यिक गतिविधिलाई प्राथमिकतामा राख्‍न अनुरोध गर्ने, रुचिवान युवा पुस्तालाई मञ्‍चमा आबद्ध गराउँदै हाम्रा 'प्येताँ‍-ल्हुताँ' सम्बन्धी विज्ञबाट जानकारी, अन्तक्रिया र छलफल, पुर्ख्यौली थलो 'क्होंला सोंथर' अध्ययन भ्रमणदेखि विज्ञहरूसँगको परामर्श र विधानले तोकेका कार्यहरू गर्ने योजना बनाएका छौँ ।

खस नेपाली वा अंग्रेजी भाषामा कलम चलाउने स्रष्टाहरूलाई तपाईंहरूले सम्मान र पुरस्कार दिनुभएको छ । मातृभाषामा कलम चलाउन प्रोत्साहित गर्ने योजना र कार्यक्रमचाहिँ कस्ता छन् ?

भाषाशास्त्री क्राउसले भाषा बोल्ने वक्ता संख्याको आधारमा भाषालाई सुरक्षित वा असुरक्षित, संकटग्रस्त र मरणोन्मुख वा लोपोन्मुख गरी तीन वर्गमा छुट्याउँदै १० लाख वक्ता रहेको र राज्यको संरक्षण पाएको भाषा सुरक्षित भाषा, मातृभाषाको रूपमा सिकिँदै गरेको भाषा संकटग्रस्त भाषा र मातृभाषाको रूपमा बालकले सिक्न छोडिसकेको भाषा मरणोन्मुख वा लोपोन्मुख भाषा हो भनेका छन् ।

क्राउसको वर्गीकरणलाई हेर्दा नेपालमा खस नेपाली भाषाबाहेक अन्य कुनै पनि भाषा संरक्षणका स्थितिमा छैनन् । जहाँ गुरुङ भाषा पनि संकटग्रस्त अवस्थामा रहेको छ । किनकि क्राउसका अनुसार न गुरुङ भाषाका वक्ता १० लाख नै छन्, न त यस भाषाले क्राउसले भनेझैं राज्यको संरक्षण नै पाएको छ ।

अतः यस्तो अवस्थामा हाम्रा लागि गुरुङ मातृभाषाको पुनर्जागरणका लागि पनि केही समय खस नेपाली भाषालाई माध्यम भाषाको रूपमा प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ । गुरुङ समुदायबाट अहिलेसम्म जति पनि स्रष्टाहरू छन्, प्रायः खस नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा लेख्‍न नसक्ने अवस्थामा छन् किनकि राज्यसत्ताले सयौं वर्षदेखि यहाँका आदिवासी जनजातिका भाषामाथि विभेद र खस नेपाली भाषालाई मात्रै औपचारिक कामकाज र माध्यम भाषाको रूपमा प्रयोग गरिरह्‍यो ।

तसर्थ अहिले तत्काल के लेख्‍ने वा कुन भाषामा लेख्‍नेभन्दा गुरुङ समुदायलाई कसरी अध्ययन र लेखनतर्फ आकर्षित गर्ने भन्‍नेमा नै हाम्रो ध्यान केन्द्रित छ । यद्यपि हामीले नियमित रचना वाचनदेखि प्रतियोगिता र पुरस्कृत गर्ने कुरामा पनि अब बिस्तारै गुरुङ मातृभाषाका कृति र स्रष्टालाई प्राथमिकतामा राखेका छौँ ।

वैचारिक हिसाबले हेर्दा गोर्खाली सत्ताले सबै भाषा, संस्कृतिहरूको पहिचान मास्‍न महेन्द्रमालाको रचना र व्यापक प्रचारप्रसार गरेको देखिन्छ । महेन्द्रमालाको वैचारिक सत्तालाई चुनौती दिने योजना तपाईंहरूसँग छ कि छैन ? छ भने कस्तो छ ? छोटकरीमा व्याख्या गरिदिनुहोस् न ।

महेन्द्रमालाले जसरी जुन भाषा, संस्कृति र दर्शनलाई अगाडि ल्याएको छ, गुरुङको पनि आफ्नै 'प्ये ताँ ल्हु ताँ' छ । हामी अब बिस्तारै हाम्रा यी मौखिक इतिहास, दर्शन र साहित्यलाई लिखित रूपमा अगाडि ल्याउने प्रयासमा छौँ ।

लिम्बूवान र किराँतमा आफ्नो दार्शनिक, सांस्कृतिक विरासत खोज्‍न मुन्धुम/मुन्दुमको संकलन, अध्ययन र प्रकाशनको व्यापक काम भइरहेको देखिन्छ । गुरुङ मिथकलगायत दार्शनिक/सांस्कृतिक विशेषताको खोजी गर्न तपाईंहरू कत्तिको सचेत हुनुहुन्छ ?

जब म किराँत इतिहास र मुन्धुमबारे पढ्छु, तब मलाई लाग्छ– त्यही समय गुरुङ समुदायमा पनि इमानसिंह चेम्जोङजस्तै एक इमानदार लेखक/विचारकको जन्म भएको भए ! आज किराँत साहित्य होस् या त्यस समुदायको वैचारिकी चेत जुन उचाइमा पुगेको छ, यसको मूल श्रेय करिब सवा सय वर्षअघि जन्मेका इमानसिंह चेम्जोङलाई नै जान्छ ।

यसो भनिरहँदा गुरुङ समुदायले त्यस्तो लेखक/विचारक वा त्यस्तो पद पाउँदै पाएनन् भन्‍ने होइन । नेपालको पहिलो महिला प्राज्ञ होस् या अहिलेका उपकुलपति गुरुङ समुदायबाटै छन् । तर, उहाँहरू मात्रै होइनन्, नेपाली साहित्यमा आफ्नो छुट्टै लेखकीय पहिचान बनाएका गुरुङ लेखकहरू जहिल्यै आफू एक्लै हिँड्नुभयो । उहाँहरूले आफ्नो समुदायमा नयाँ पुस्ता जन्माउने र तिनलाई डोर्‍याउने काम कहिल्यै गर्नुभएन । कम्तीमा उहाँहरूमा इमानसिंह चेम्जोङको जस्तै सोच आएको भए गुरुङ समुदाय धेरै अगाडि बढिसकेको हुन्थ्यो । ढिलै भए पनि हामी गुरुङ मिथकलगायत दार्शनिक/सांस्कृतिक विशेषताको खोजीप्रति सचेत र प्रयासरत छौँ ।


यो मञ्‍च दर्ताका लागि सरकारी कार्यालयहरूमा पुग्दा मलाई भनियो– ‘पोखरामा यतिका साहित्यिक संस्थाहरू छन्, तपाईंहरूलाई गुरुङको मात्रै किन छुट्टै संस्था चाहियो ? तपाईंजस्तो शिक्षित÷बौद्धिक मान्छेले पनि यस्तो जातीय कुरा गर्न सुहाउँछ ?’

देशभर चलिरहेका विभिन्‍न संस्कृति र भाषाका साहित्यिक/सांस्कृतिक संस्थाहरूसँग तपाईंहरूले कसरी सहकार्य गरिराख्‍नुभएको छ ?

गुरुङ साहित्यिक मञ्‍च नेपालले विगत चारवर्षदेखि पोखरामा रहेर विभिन्‍न कार्यक्रमहरू गर्दै आइरहेको छ । यस क्रममा हामीले पोखरा, पोखराबाहिरका र अन्तर्राष्ट्रिय साहित्यिक संस्थाहरूसँग पनि सहकार्य गरिरहेका छौँ । र, आजका दिनसम्म गुरुङ साहित्यिक मञ्‍च नेपालले कुनै दल, सत्ता वा त्यसका निकायबाट बाँडिने एक रुपैयाँ लिएर कार्यक्रम गरेको छैन ।

आफ्नो इतिहास, संस्कृतिमा काम गर्दा साम्प्रदायिक भन्‍ने आरोप महेन्द्रमालाले रचना गरिदिएको छ र अझैसम्म कायम छ । यस सन्दर्भमा तपाईंको अनुभव कस्तो छ ?

साम्प्रदायिकता भनेको के हो ? यदि कसैले भाषा, धर्म वा संस्कृतिको कुरा गर्नु साम्प्रदायिक हुनु हो भने यहाँ सबैभन्दा बढी साम्प्रदायिकताका कुरा र कामहरू यही राज्यसत्ताले गरेको छ, जसले वर्षौंदेखि एकल भाषा, धर्म र संस्कृति यहाँका आदिवासी जनजाति समुदायमाथि जबरजस्ती थोपरिरहेको छ । यही नै सही हो र योबाहेक अरु सबै गलत हुन् भन्‍ने सोच–निर्माण महेन्द्रमालाबाटै भएको हो । यही कारण हो, अहिले नेपाली साहित्यमा खस नेपाली भाषा, हिन्दू धर्म, संस्कृति र दर्शनबाहेकका साहित्यलाई नेपाली साहित्यको मानकभन्दा पर राखिनु, प्रतियोगिता तथा पुरस्कारमा अयोग्य ठहर गरिनुका साथै शिक्षित, बौद्धिक भनिनेहरूमा पनि आफ्नो धर्म, भाषा र पोसाकबाहेक अरुलाई साम्प्रदायिक देख्‍नु।

यो मञ्‍च दर्ताका लागि सरकारी कार्यालयहरूमा पुग्दा मलाई भनियो– ‘पोखरामा यतिका साहित्यिक संस्थाहरू छन्, तपाईंहरूलाई गुरुङको मात्रै किन छुट्टै संस्था चाहियो ? तपाईंजस्तो शिक्षित/बौद्धिक मान्छेले पनि यस्तो जातीय कुरा गर्न सुहाउँछ ?’ कतिपय कार्यक्रममा मैले पटकपटक स्पष्टीकरण दिनु परेको छ– ‘गुरुङ साहित्यिक मञ्‍च नेपाल तपाईंहरूले सोचेजस्तो जातीय विखण्डन ल्याउने खालको सोचले स्थापित भएको संस्था नभई हाम्रो समुदायलाई पठन र लेखन संस्कृतितर्फ अगाडि बढाउँदै गुरुङ भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्धन लागि स्थापित संस्था हो ।’ यो सम्झँदा तीतो लाग्छ ।

गुरुङ साहित्यिक मञ्‍च गुरुङहरूको मात्रै हो कि सबैको हो ? सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले व्याख्या गरिदिनुस् न ।

सैद्धान्तिक हिसाबले वा विधानतः यो गुरुङहरूको मात्रै साहित्यिक संस्थाजस्तो देखिए पनि हामीले गर्दै आएका कार्यक्रम र अन्य साहित्यिक संस्थाहरूसँग गर्दै आएको सहकार्यलाई हेर्ने हो भने यो समग्रमा नेपालीहरूकै साझा साहित्यिक संस्था हो । किनकि गुरुङ भाषा, साहित्य वा संस्कृतिको उन्‍नयन हुनु भनेको त नेपाली वाङ्मयकै उन्‍नयन हुनु पनि हो नि ।

प्रकाशित: १८ असोज २०७८ २०:२३ सोमबार

चेतलुङ
चेतलुङ