११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
सौन्दर्यवोध कला

रैथाने धुन, झुमाको सगुन

इतिहासको कुन धुन, विचारको कुन रागले बदल्यो, झुमाको यात्रा ?

रैथाने धुन, झुमाको सगुन
तस्बिर : जेडी तमू

संगीतकर्मी झुमा लिम्बूले करिब डेढ वर्ष लगाएर नयाँ बाजा बनाइन् जसको नाम हो- ‘ढेला’ । ३६ हजार तिरेर उनले इलाममा खमारीको बोट किनिन्, पाँच वटा नयाँ बिरुवा रोप्‍ने सर्तमा । साथीहरू, प्राविधिक र रैथाने ज्ञान भएकाहरूसँग घनीभूत छलफल गरेर उनको समूहले रुख काट्यो । नफुटोस् भनेर काटेपछि गोबरले लिपेर परिपक्व हुन्जेल राखियो । अनि, मात्रै ढेला बनाउने प्रक्रिया सुरु भयो ।

तलबितल भएन भने तीनवटा ढेला बन्‍ने अनुमान थियो, उनको । तर, अन्त्यमा ढेला २ वटा मात्रै बन्यो भने बाँकी काठको २१ थान रैथाने बाजा । यी बाजा बनाउन आफ्नै रैथाने समूहले सघायो, उनलाई । पाटनमा राखिएका यी बाजा अहिले प्रयोगमा आइसके, जसले झुमालाई औधी आनन्द दिएको छ । प्रश्‍न उब्जिन्छ- हुँदाखाँदाको गायकीमा चित्त नबुझाएर बाजा बनाउने खाँचो झुमालाई किन पर्‍यो त ?

उनी संगीतको ज्ञानशास्त्रीय पृष्ठभूमि खोतल्दै भन्छिन्- ‘पूर्वीय संगीतमा तीन शप्तक हुन्छन्– मन्द्र, मध्य र तार ।’ गीत गाउँदा होस् या इन्स्ट्रुमेन्टल । संगीतको गुणस्तरमा स्वर र बाजाको सुसमन्वय आवश्यक रहन्छ । उनको अनुभवमा मध्य र तार शप्तकसम्बन्धी बाजाहरू नेपालमा धेरथोर छन् नै । तर, मन्द्र शप्तकका बाजा ज्यादै थोरै छन् । तारबाजाको इतिहासमा नेपाली संगीत उसै निकै कमजोर छ । भएका बाजाको ‘प्याटेन्ट’ अधिकारसमेत भारतले लिइसकेको छ ।

जसै झुमालाई हाम्रो आफ्नै मौलिक बाजा होस् भन्‍ने लाग्यो, तब उनी काठ र छालामा जान बाध्य भइन् । उनलाई थाहा थियो, त्यहाँ हाम्रो सांस्कृतिक, ऐतिहासिक र धार्मिक इतिहास गाँसिएको छ । नगरा र ढोलजस्ता बाजालाई भारतीयहरूले आफ्नो बनाइसकेछन् । सोलुखुम्बु–ओखलढुंगातिर ‘ढेला’ नाम प्रचलित रहेछ । झुमाको दिमागमा एउटा आइडिया फुर्‍यो- नाम ‘ढेला’ दिने । तर, बाजा आफैँ बनाउने ।

नेपालमै उम्रिएर, यहीँको हावापानी हुर्किएको, लामा-झाँक्री-फेदाङ्वा-यमाले पनि बाजाका लागि मान्यता दिएको, वैज्ञानिकले पनि औषधीय मूल्य देखेको, आयुर्वेदले प्रयोग गरिआएको एउटै रुख रहेछ- खमारी, जसलाई लिम्बू भाषामा ‘होङसिङ’ भनिन्छ । तीन-चार सय वर्षसम्म किरा नलाग्‍ने, तङसिङ मुन्धुममा समेत प्रशंसा गाइएको यही रुखबाटै लिम्बूहरूले बाजा बनाउने परम्परा पनि उनलाई थाहा थियो ।

उनको निष्कर्ष छ- ‘आफ्नै जातिको संगीत र मिथकहरूमा पुगेपछि मात्रै हामीले रैथाने संगीतको असली अनुहार देख्न सक्छौँ ।’ यो निष्कर्षसम्म आइपुग्‍न झुमाले संगीतको दुनियाँका सुर, ताल र ज्ञानका अनेक मोडहरू पार गरेकी छिन् । चलनचल्तीको संगीतकर्ममा सिद्ध र प्रभावशाली स्वरको जादू चलाउन हिँडेकी झुमाको यात्रा अन्ततः रैथाने धुन, बाजा, संस्कृति, मिथकको खोज र  संवर्धनमा कसरी पुग्यो ?

झुमाको जीवनलाई यस प्रश्‍नको आँखीझ्यालबाट नियाल्दा देखिने चलचित्र अचम्मै रोचक छ।

*****

तस्बिर : जेडी तमू

झुमा लिम्बूको गाउँ-ठाउँ क्वाँटीजस्तो थियो, अनेक जातजातिका सांस्कृतिक स्वाद मिसिइएको । झुमाको बाल्यकालीन ताप्लेजुङे आकाश नौरंगी संगीतले गुञ्जिन्थ्योे । घरमास्तिर तामाङ गाउँमा भव्य जुहारी चलिरहन्थ्यो, जहाँ खरो उत्रने उनका जेठा र माहिला दाइले कहिल्यै हार्न जानेनन् पनि । रात छर्लङ्गै कट्ने गरी जम्ने यस्ता जुहारी बिहे–बटुलोमा चलिरहन्थ्यो । पाहुना आउँदा होस् या सानो-तिनो ‘कार्जे’ होस्- ‘धान नाच’ लिम्बू गाउँको मुन्धुमी व्याकरणमा परिहाल्थ्यो । क्षत्री–ब्राह्मणको संगिनी नाच सानैमा अघाउँजी हेरिसकेकी थिइन्, झुमाले । गाउँकै विश्वकर्माहरू नाच्‍ने मारुनी पनि नबिराई हेर्थिन्, उनी । छिमेकी वडाका शेर्पा–नाचले पनि उनलाई उत्तिकै लोभ्याउँथ्यो ।

पूर्वेली लोकसंगीतको खानी भने पनि हुने थियो, झुमाको गाउँ- मैवाखोला, ढुंगेसाँघु । लिम्बू संस्कारको पूजापाठबाहेक पनि उनको घरमा वार्षिक रूपमा ‘बाहुन’ पढ्न बोलाइन्थ्यो र लामा पनि ‘राख्ने’ चलन थियो । हरेक कात्तिकमा विश्वकर्मा बोलाएर ‘ग्रहशान्ति’ गराइन्थ्यो । केराको पातमा माटोका कलात्मक मूर्तिहरू बनाएर राखिन्थ्यो ।‘कालिकोटे कामी’ ले निकै मीठो लयमा भट्याउँथे । यस्तो उर्वर संगीतमय माहोलमा हुर्किएकी झुमाले गीत गाउने मात्रै होइन, धामी-झाँक्रीको ‘क्यारिकेचर’ पनि राम्रै गर्थिन् । एक ढंगले उनले संगीतको सम्पुष्ट र इन्द्रेणी प्याकेज पाएकी थिइन्, सानैमा । झुमाले कुन तिथिमितिमा गीत गाउन थालिन्, यसको हेक्का उनैलाई छैन । आफैँलाई थाहा भएदेखि गीत गाउँदै आएकी छिन् ।

उनका दाजुहरूले कलेजबाट फर्कंदा किशोर कुमार र कुमार सानुहरूका मोहक आवाज बोकेर आए । दुई तीन कक्षा चढ्दै गर्दा झुमा हिन्दी गीतमा झुमिसकेकी थिइन् । उनी ती गीतहरूमा आफ्ना स्वरलहरी मिसाइरहन्थिन् । गीत-संगीतका विविधतामा घुलमिल भएकी झुमाले कक्षा चार पढ्दाताका नै आफ्नै शब्दमा लय भरेर गुनगुनाउन थालेको विगत सम्झँदा कता-कता रोमाञ्‍चकता अनुभूति हुन्छ, उनैलाई ।

भलै उनलाई निर्देशन दिने कोही उस्ताद थिएनन्, गतिलो बाजागाजाको साथ थिएन । तर, जिल्लास्तरीय वीरेन्द्र शिल्डमा हुने नाचगान प्रतियोगितामा स्वप्रयासको धूनसहित उनले राम्रो पुुरस्कार हात पारेकै हुन्थिन् । उसो त क्लबको हार्मोनियम उनकै घरमा हुन्थ्यो । मादल त गाउँमा भइहाल्थ्यो नै । उनको रुचिको समानान्तर आकाशमा साहित्यका चम्किला चाहना उतिकै चम्किएकै थिए । आफैँ हवाई पत्रिका निकालेर गीत-गजल टाँस्थिन् ।

अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट झुमाले राजनीतिको कखरा चिनेकी थिइन् । सांस्कृतिक विभागको अगुवा भएकै कारण सांस्कृतिक कार्यक्रमको सम्पूर्ण जिम्मेवारी उनी बोक्थिन् । उनलाई एउटै गीतको आवृत्तिमा फन्को लगाउन मन लागेन । रेडियो नेपालमा घन्किरहने गीतहरूले मात्रै उनको भोक शान्त पार्न सकेनन् । माया पिरतीका गीत अगाडि सार्‍यो कि शिक्षकहरूले ‘भाटा’ हान्थे । जेबी टुहुरे मार्का गीत-संगीतमा मात्रै सहजै अनुमति पाइन्थ्यो । ‘देशका लागि मर्ने छौँ, अघि बढ्ने छौँ...’ मात्रै कति गाइरहनु ? उनले जुक्ति लगाइन् र भूपी शेरचनको कवितालाई संगीत भरिन्, जति बेला उनी कक्षा सातमा मात्रै पढ्दै थिइन् । ढुंगेसाँघुकी झुमा हाइस्कुल सकिने बेलासम्म त ताप्लेजुङमा बाल ‘सेलिब्रिटी’ जस्तै भइसकेकी थिइन् ।

आमाहरू धरानको घरमा बस्थे । धरान झरेर गीत रेकर्ड गर्ने उनको सुरिलो दाउ थियो । धरान झरेको भोलिपल्टै उनी सरगम संगीत स्कुलको विद्यार्थी भइन् । एकाध राग सिकेपछि उनी रेकर्डिङ स्टुडियोको खोजीमा निस्किइन् । साथीभाइसँग पैसा खोजमेल गरी एलबम रेकर्ड गराइन्- ‘माया दौंतरी’ । बजारमा नगए पनि चिनजानकै मान्छेहरूलाई बेचेर सकाइन्, त्यो एल्बम । 

संगीत क्षेत्रका मान्छेहरूसँग गफ गर्दा पाँच मिनेटपछि उठेर हिडूँजस्तो लाग्‍ने झुमालाई ‘साहित्यिकहरूले भने दुइटा भए पनि किताब पढेको हुन्छन्’ भन्‍ने विश्वास रहेछ । केही नौलो कुरा सिक्ने हुटहुटीले साहित्यिकहरूका गफ सुन्‍न रुचाउने उनले धरान बस्दै केही पत्रकार र लेखकको संगत पाइन् । सात/आठ महिनाभन्दा धेरै समय धरानले उनलाई रोक्नै सकेन । उनलाई त काठमाडौँले बोलाइसकेको थियो ।

संगीतमा ठूलै छलाङमा मार्ने सपना थियो, झुमाको । उनलाई दायाँ-बायाँ लाग्‍ने वा सुस्ताउने विकल्प थिएन । उनले आफ्ना काम र करिअरका लागि समय तालिकासहितको योजना तुनेकी थिइन् । स्वमूल्यांकनमा पनि उनी महत्त्वाकांक्षी र ढिट हुन् । उनलाई गुरु पनि सकेसम्म ‘एक नम्बरी’ चाहिने । बुझ्दै जाँदा उनले मेसो पाइन्, चन्दनकुमार श्रेष्ठ शास्त्रीय संगीतका अब्बल गुरु रहेछन् ।

सिनेकर्मी नवीन सुब्बा र संगीतकर्मी पवित्रा सुब्बाको सुझाउले पनि श्रेष्ठकहाँ पुग्‍न मद्दत गर्‍यो । तर, पवित्राले कानेखुसी गरिन्- ‘साह्रै छुच्चा छन्, गुरु । तिमी सक्दैनौ होला । म त तीन महिनामै भागेको ।’ पछि हट्ने स्वभाव झुमाको हुँदै होइन । भनिन्- ‘कुटेनन् भने ठीक छ । मुखसुख छोडे पनि सिक्छु ।’ मुडी स्वभावका गुरुको ज्ञान-गाम्भीर्य चाल पाएपछि उनले निरन्तर सिकिरहिन् । यही बीचमा उनी ललितकला क्याम्पस धाउँथिन्, राजकुमार मालाकारकहाँ गितार क्लासमा बस्थिन् र नयाँ एलबमको तयारी पनि गर्थिन् ।

सुखद खबर– झुमाले लिम्बू संगीतको व्याकरण तयार गरेकी छन्, निकटवर्ती केही संगीतप्रेमीलाई यो खबर गोप्य छैन । तर, उनले सार्वजनिक गर्न हतार पनि गरेकी छैनन् ।

‘ए ! साइँला’ (२०६०) एलबमको विमोचन कसको हातबाट गराउने भन्‍ने गलफतीबीच अम्बर गुरुङको नाम टुप्लुक्क आइपुग्यो । नारायण गोपाल र गोपाल योञ्जन प्रशस्तै सुनेकी झुमाले त्यतिन्जेल अम्बर गुरुङको नामधरी सुनेकी रहिनछिन् । कम्पनीकै दाइलाई खुसुक्क सोधिन्, ‘को हुन् हउ, अम्बर गुरुङ ?’ जवाफ पाइन्- ‘धन्‍न ! मलाई सोध्यौ । अरूलाई नसोध्नू, बेइज्जत हुन्छ ।’ म्युजिक कम्पनीले नै सिफारिस गरेको मान्छे ‘ठूलै’ होला ठानेर उनले स्वीकृति जनाइन् । विमोचनमा अम्बर गुरुङबाट फूलबुट्टे प्रशंसाको धाप पाएपछि उनी फुरुङ्ग भइन् ।

असली अम्बर गुरुङलाई चिनेपछि उनैलाई गुरु थाप्न मन लाग्यो, झुमालाई । फेरि उनै नवीन सुब्बा गुहारिन् । नवीनले पवित्रालाई नै देखाइदिए । पवित्रा सुब्बालाई फकाउनै मुस्किल भयो । पटक-पटक धाएपछि पवित्रा सुब्बाले आफैँ कोसेली किनेर ट्याक्सी चढाएर अम्बरकहाँ पुर्‍याइदिइन्, झुमालाई । उता अम्बर भने पहिलो पटकमै राजी भए । विमोचन समारोहमा भेटेको एक महिनापछि झुमाले अम्बरलाई गुरु बनाइछाडिन् । र, आफू बाँचुञ्जेल अम्बरले पनि झुमालाई शिष्य–संगत दिइरहे ।

उनी संगीत साधनामा अहोरात्र खटिरहिन् । चन्दनकुमारसँग शास्त्रीय, अम्बरसँग आधुनिक र काठमान्डु युनिभर्सिटीबाट म्युजिकोलोजी एक साथ पढ्दै थिइन् । तर, उनले तीनै पक्षलाई यसको सुइँकोसमेत दिइनन् । सायद उनलाई लाग्यो- परस्परमा ‘इगो प्रोब्लम’ होला कि ! यद्यपि उनले अम्बरलाई पहिलो भेटमै आफू चन्दनकुमारको विद्यार्थी रहिसकेको जानकारी दिएकी थिइन् । र, अम्बरले चन्दनकुमारको प्रशंसा गरेका थिए । पछि उनले चण्डी काफ्लेको शास्त्रीय कक्षा पनि लिइन् ।

गायन यात्रामा दौडिँदा-दौडिँदै झुमाको घाँटीमा खराबी निस्कियो । त्यसताका वाद्यवादन समातिन् । तर, त्यसमा चित्त बुझाउनै सकिनन् । गीत गाउन नपाएपछि ‘डिप्रेस्ड’ जस्तो भइन् र फेरि संगीत कक्षामा जोडिइन् । उनले सोचिन्- ‘बरु म खानपिनमा कडा परहेज अपनाउँछु ।’

‘क्वायर’ राम्रो हुने भएकाले उनी ब्रिटिस स्कुल पनि चार सिजनसम्म साप्ताहिक कक्षामा धाइन् । क्वायर (कोरस) मा गाउँदा नोटेसन चिन्‍ने गरी कान तिखारिने लोभ थियो । सय/डेढ सय जना ६ वटा समूहमा बाँडिएर गाउँदा र आफ्नो स्केल चिन्‍ने अभ्यास गर्दा कान नै ‘फाइन’ हुने उनको अनुभव छ । तर, त्यहाँको म्युजिक डाइरेक्टरसँग उनको भनाभन पनि पर्‍यो ।

सबैतिर सिक्दाको अप्ठेरा पनि उनले बेहोरिन् । २०६२ देखि मुन्धुम संगीतमा पनि हात हालिसकेकी थिइन् । तर, सात-आठ वर्षको अभ्यासपछि हाक्पारे रेकर्डिङ गर्दा सय चोटि जति बिग्रियो होला, जति पटक गाए पनि शास्त्रीय प्रभाव परिहाल्ने । पालाम गाउँदा रागसँग मिलिजाने । यस्तो समस्या आएपछि उनले २०६९ सालमा शास्त्रीय संगीत चटक्कै छाडिन् ।

केयू म्युजिकोलोजीले झुमालाई बोध गरायो- ‘हामी त आफ्नै संगीत नचिनीकन अरू-अरू नै गर्दै रहेछौँ ।’ उनको मनमा ईख पलायो । उनले प्रण गरिन्- ‘पाँच पैसा कमाउँ/नकमाउँ या भोकै परूँ, म इथ्निक म्युजिक नै गर्छु ।’

झुमाको कथाले ठीक यहीँनेर नयाँ मोड लियो ।

*****

ब्रिटिस स्कुलमा कोरस गर्दा झुमा र उनका साथीहरूले ‘एउटा सिजन नेपाली संगीत पनि राखौँ न’ भन्‍ने प्रस्ताव राखे । तर, निर्देशकले प्याच्च जवाफ दिए– ‘कहाँ छ र, तिमीहरूको नेपाली संगीत ? भाषा पो नेपाली भयो । तर, तिमीहरूले गाइरहेको संगीत त इन्डियन हो ।’ साथी भूगोल र उनी एक साथ खङ्ग्रङ्ग भए । चित्त पनि दुखाइन्, झुमाले । कसो–कसो आँसु झरिहाल्यो, उनको । पछि ‘सयौँ थुंगा फूलका हामी...’ र ‘रेसम फिरिरी...’ लाई चाहिँ ‘नेपाली लय’ का रूपमा सकारिएछ । 

संगीत शिक्षामा एउटा अवधारणा छ- ‘आफ्नो र घरकै संगीत गरेपछि मात्रै बाहिर निस्कनु पर्छ ।’ यस अवधारणाले झुमालाई चिमोटिरहेको थियो । उनले सोचिन्- ‘हाम्रो घरको संगीत त मुन्धुम हो ।’

भारतीय र युरोपेली संगीतको धारलाई छोडेर आफ्नै बाटो खन्‍न सजिलो पक्कै थिएन/छैन नै । सुविधाको मैदानमा त धेरैले खेल्न सक्छन् । चुनौतीसँग पौठेजोरी खेल्न मन पराउने झुमाले अक्करको बाटो रोजिन् । आफ्नो रफ्तारमा सहयोग पुगोस् भनी उनले विभिन्‍न विषयविज्ञहरूसँग छलफल गरिन् । उनले के चाल पाइन् भने हाम्रो शिक्षा पद्दतिको ढंगै मिलेको रहेनछ ।

धेरै देशमा जुनसुकै विषय र विधाका विज्ञहरूले पनि संगीत, कला, नृत्य आदिमा आधारभूत ज्ञान राख्‍नेचाल पाएकी झुमाले हाम्रो देशको विद्वान्हरूमा रहेको सांगीतिक चेतको अभावले झस्कायो । भाषा र संगीत परस्परमा सम्बन्धित विषय भएकाले एउटा भाषाशास्त्रीलाई संगीतको ज्ञान हुनुपर्छ भन्‍ने मीठो जिकिर छ, झुमाको ।

शास्त्रीय संगीतको सात सुरमा वर्णविन्यासको आफ्नै गणित छ । तर, एथ्नोम्युजिकमा विविधता छ । यसले मुड, मनोविज्ञान र सुरको बहावलाई मात्रै पक्रने हो । विविधताकै कारण एक खालको सांगीतिक बहावलाई अर्कोमा थोपर्न मिल्दैन भन्‍ने झुमाको बुझाइ छ । उनलाई लाग्छ- जापानी र चिनियाँहरूले जस्तै हामीले आफ्नै खालको सरगम (सारेगम...) बनाउन सक्छौँ । त्यसका लागि उनले कोसिस पनि गरिहेरेकै हो ।

बहुराष्ट्रिय र बहुसांस्कृतिक हाम्रो जस्तो समाजमा समेत आफूले चाहेजस्तो काम गर्न टिम नपाएपछि दुःख लाग्यो, उनलाई । तर, दुःख मान्दै पुर्पुरोमा हात राखेर सुस्ताउने अवकाश उनलाई कहाँ ? उनले बरु चिनियाँ संगीतको नोट र ध्वनि खोजेर, टिपेर र गुनेर नेपाली संगीतलाई हेर्ने कोसिस गरिन् । यसका लागि उनले लिम्बू संगीतको ससाना पक्षदेखि आवृत्ति भइरहने ध्वनिहरूमा काम गरिन् ।

गहिरिएर हेर्दा थाहा पाइन्– पालाम भनेर एउटा नोट बनाउन खोज्दा त्यहीँनेर असफल भइँदो रहेछ । कारण- भेट्दाको पालाम र छुट्टिनेबेलाको पालाममा ल्यान्डिङ नोट नै फरक हुँदो रहेछ । माया-प्रेमको पालाम अलग्गै हुँदो रहेछ । यो अप्ठ्यारो देखेपछि उनले ती ‘टेक्स्ट’ लाई थाती राखिन् । र, रैथाने ध्वनिलाई पछ्याउन थालिन् । लिम्बूहरूका रैथाने बाजा खोजेर उनले संगीतमा प्रयोग गरिहेरिन् । थाल, घन्टी र बाँसको ढुंग्रोजस्ता सामग्रीलाई तानेर संगीतमा त ल्याइयो ।

तर, ती सामग्रीको ध्वनि सधैँ उही स्केलमा हुन्छ भन्‍ने कुनै ग्यारेन्टी छैन । बाँस लामो समयसम्म नसुकोस् भन्‍नका लागि जुक्ति लगाउनु पर्छ । यस्ता दुःख त आइपर्छ नै । सुखद खबर- उनले लिम्बू संगीतको व्याकरण तयार गरेकी छन्, निकटवर्ती केही संगीतप्रेमीलाई यो खबर गोप्य छैन । तर, उनले सार्वजनिक गर्न पनि हतार गरेकी छैनन् ।

मौलिक नेपाली ध्वनि हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय जगत्मा हाम्रो संगीत जान नसकेकोमा झुमालाई विस्मात छ । नेपाली संगीतज्ञहरूले पनि कुनै–कुनै संगीत त साह्रै गहन ढंगले सिर्जना गरेका होलान् नि ! तर, ती संगीत किन यतैकतै सीमित भएर हराए त ? कारण के हुन सक्छ ? भाषाकै कारणले संगीत चल्ने/नचल्ने भन्‍ने त हुँदैन । कतिपय नबुझिने भाषाका संगीतहरू त हामी सुनिरहेकै हुन्छौँ र त्यसमा नाचिरहेकै हुन्छौँ । सायद हामीले हाम्रो हावापानीअनुसारको संगीत सिर्जना गर्न पो सकेनौँ कि !

तस्बिर : जेडी तमू

हाम्रो संगीत दुनियाँमा ‘आधुनिक’ या ‘सुगम’ जस्ता शब्द कसले घुसाइदियो भन्‍ने प्रश्‍नले झुमालाई हैरान बनाइदिन्छ, कहिलेकाहीँ । समयसीमाका हिसाबले ‘आधुनिक युग’ भन्‍न सकिएला । विश्व-संगीतमा क्रियटिभ, ओल्ड र क्लासिकलजस्ता विधाहरू रहे पनि आधुनिक संगीत भन्‍ने कुनै बनिबनाउ विधा नभएको उनको दाबी छ । भन्छिन्- एक जना मान्छेले एउटा पृष्ठभूमिमा बसेर कुनै संगीत रचना गर्छ भने उनको बुझाइमा त्यो ‘आधुनिक’ संगीत ‘क्रियटिभ’ हो । ‘कपी’ मात्रै गरिएको हो भने त्यो त ‘कभर सङ’ भयो होला ।

नयाँ समयमा आएका नयाँ-नयाँ संगीतलाई आधुनिक भन्दै जाने हो भने हिजो आधुनिक भनिएका संगीतलाई आज थोत्रे संगीत भन्‍ने त ?

शास्त्रीय, आधुनिक र लोकसंगीतको वर्गीकरणले नेपालका लोकगीतहरू लामो समयसम्म ‘रेटिङ’ मै परेनन् । यस किसिमको सोपानक्रमले हाम्रो मौलिक संगीतलाई होच्यायो र फैलिन पनि दिएन । के संगीतको सोपानक्रमबाट गरिएको राजनीति होइन यो ?

झुमाको अनुभवले त्यही भन्छ । राजकीय पहुँचमा रहेका मिडियाले रैथानेपन समातेर संगीत गर्ने कलाकारलाई छायामा पार्न अनेक जुक्ति ल्याए, जसले मौलिक संगीत गर्नेहरू हतोत्साहित भए । झुमा छक्क पर्छिन्- अचेल लोक-आधुनिक भन्‍ने विधा नै हराएर गयो, जबकि उनी स्वयं सुरुमा ‘ए, साइँला...’ जस्तो लोक-आधुनिक गाएर संगीतको दुनियाँमा औपचारिक प्रवेश गरेकी हुन् । नेपालमा जुनसुकै नाम र आवरणमा आए पनि नयाँ सांगीतिक रचनाहरू ‘क्रियटिभ’ संगीत हुन् भन्‍ने निष्कर्ष झुमाको छ ।

‘मुन्धुम’ माथि काम सुरु गर्दा झुमालाई अरू त अरू, आफ्नै गुरुहरूले पनि पत्याएनन् किनकि त्यो सजिलो काम थिएन । कति अग्रजले झुमाको मुखेन्जी भनेछन् पनि- ‘तिमी जातीय कुरा नगर ।’ उनलाई प्रतिवाद गर्न कसले रोक्ने ? भनिदिइछन्- ‘यो जातीय कुरा होइन, नेपाली संगीतको पहिचानको पो कुरा गर्दै छु त !’


शास्त्रीय, आधुनिक र लोकसंगीतको वर्गीकरणले नेपालका लोकगीतहरू लामो समयसम्म ‘रेटिङ’ मै परेनन् । यस किसिमको सोपानक्रमले हाम्रो मौलिक संगीतलाई होच्यायो र फैलिन पनि दिएन । के यो संगीतको सोपानक्रमबाट गरिएको राजनीति होइन ?

अम्बर गुरुङ पनि आफ्नो जीवनको उत्तरार्धमा रैथाने संगीतबारे काम गर्दै थिए । तर, अम्बर र झुमाले खोजेको नेपालीपनबीच थोरै भिन्‍नता छ । अम्बरहरूको पीडा मुलुक बाहिरबाट आएर नेपाली हुन नपाउनुको हो भने झुमाहरूको पीडा स्वदेशमै रहेर पनि नेपाली हुन नपाउनुको हो । तर, झुमाको काममा अम्बरले अन्तिममा धाप दिए- ‘यो चुनौतीपूर्ण काममा सघाउने मान्छे कम होलान् । तर, एक्लै भए पनि तिमीले यो काम गर्‍यौ भने नेपाली संगीतका लागि निकै राम्रो काम हुनेछ ।’

झुमाका लागि नेपाली एथ्निक संगीत भाषासँग मात्रै होइन, यो भौगोलिक जनजीवनसँग जोडिएको संस्कृति हो । गाउँघरतिर फलानो-फलानो डाँडोमा बसेर गाएको गीत राम्रो सुनिन्छ भन्‍ने मान्यता छ । कुनै पहरापट्टि फर्केर गाउँदा त्यहाँका चट्टानीय बनावटले गायकीलाई प्रतिध्वनित गर्ने गर्छ । कुनै भिरालो स्थान र खोलामा गाइएको गीतको मेलोडी फरक परिहाल्छ । उनको बुझाइमा खोलाछेउका मानिसको स्वरमा एक किसिमको बहाव हुन्छ । यसबाहेक पेसा र लैङ्गिक अवस्थितिले पनि संगीतमा फरक पार्छ नै । नेपाली ग्रामीण भेगमा कृषिसँग सम्बन्धित गीतहरू जनजीवनमा भिजेकै छ । लोकगीतको इतिहासलाई हेर्दा मात्रै पनि ऋतुगीत, शोकगीत, पर्वगीत आदि छन् । यी गीतहरूको प्रभाव झुमामा नपर्ने कुरै भएन ।

हिजो मातृभाषामा गीत गुनगुनाउनसमेत धक मान्‍नेहरू आज सगर्व रेकर्ड गराइरहेका छन् । समयले बिस्तारै आज झुमालाई यस्तो बिन्दुमा ल्याइपुर्‍याएको छ कि उनीसम्म लोकसंगीतको लयबारे विमर्श गर्न नयाँ पुस्ता आइपुगेको छ । नयाँ पुस्ता मात्रै होइन, स्थापित पप/रक ब्यान्डहरू पनि उनीसँग सहकार्यको प्रस्ताव लिएर आउँछन् । यस्ता दृश्यले उनलाई थोरै साहस थपिदिन्छन् । पछिल्ला दशकमा देखा परेका आन्दोलन र परिवर्तनले पनि उत्प्रेरित गरेको हुन सक्छ ।

विश्वविद्यालयका केही अनुसन्धाताहरू गाउँ-गाउँमा जान थाल्नुलाई राम्रो संकेत मान्‍नु पर्छ । सबैलाई थाहा छ, सार्वजनिक जगत्मा उति चर्चा नभए पनि संगीतको खानी हो, नेपाल । ग्रामीण संस्कारमा अभ्यास भइरहेको पञ्‍चेबाजाका पनि अनेक धुन रहेको हामी सबैलाई ज्ञात छ । तर, त्यस बाजालाई मिहिन ढंगले बुझ्दा- दुलहा निकाल्ने बेला, बाटोमा खोला आउँदा, उकालो आउँदा, बीचमा कुनै प्रतिष्ठित व्यक्तित्वको घर आइपुग्दा बेग्ला-बेग्लै धून हुँदा रहेछन् । यस पाटोको अध्ययन-अनुसन्धान हुन सकेको छैन ।

अब झुमाको काम देखेर नयाँ काम हुनसक्छ । उनी कहिले संगीत-यात्रा मग्‍न हुन्छिन् भने कहिले सुदूरपश्चिमकी लोकगायक डिक्रा वादीलाई उपत्यका झिकाएर कार्यक्रम गर्छिन् । झुमाले पाइरहेको स्याबासी र उत्प्रेरणाको आयतनले आगतको दिशानिर्देश होला । तर, आज पनि उनीसँग कुनै औपचारिक संस्था या संगठन छैन । जति काम गरेकी छन्, एकल प्रयत्‍नले गरेकी छन् या मन मिल्ने साथीसंगीहरूसँग मिलेर गरेकी छन् ।

संगीतको आफ्नै जीवन-दर्शन हुन्छ नै । नेपाली संगीतको जीवन–दर्शन खोज्‍नका लागि भाषासहितको नेपाली जनजीवनकै संगीतलाई तानेर ल्याएर स्थापित गराउनु पर्छ भन्‍ने निष्कर्ष बोकेर बसेको धेरै भयो, झुमाले । उनी अहिले पनि सुनाउँछिन्- ‘मेरी बोजु र बाजेको बिहे नै हाक्पारेले जुराइदिएको थियो रे !’ उनकी बोजु स्थानीय तहमा त्यतिबेलाको खराँट ‘गायिका’, बाजे पनि उस्तै । बोजुले बाजी थापिछन्- ‘लु, गाऔँ ! मैले जितेँ भने तँलाई हली राख्छु, घरमा । तैँले जितिस् भने मलाई तेरो घर लैजालास् ।’

पाँच दिनसम्म निरन्तर हाक्पारे गाउँदा बोजुले हारिछन् र बाजेले बिहे गरेर घर ल्याएछन् । बोजुले गाएरै जीवनको अधिकांश हिस्सा बिताइन् । बोजुलाई सधैँजसो गाउनुपर्ने, आफ्नो कम्मरमा रक्सी भरिएको तुम्लेट झुन्डाउनु पर्ने र स्वर खापिदिनेहरूका लागि पनि जाँड-रक्सीको जोहो गर्न बुहारीलाई अर्‍हाइराख्‍ने। वल्लो गाउँ-पल्लो गाउँ बिहे-बटुलो हुँदा उनै बोजुको उपस्थिति अनिवार्य । र, घर फर्किंदा रक्सी भरिएको भाँडा बोकेर फर्किने ।

ती बोजुले जीवनलाई यस्तै रसरङमा रङ्ग्याएर ८६ वर्षसमा बितिन् । हामी यसै अनुमान लगाउन सक्छौँ कि त्यति लामो जीवनमा अर्थहीन तुकबन्दी मात्रै त गाइनन्, पक्कै । यस्ता इतिहासको यथाचित्र खिच्‍न काठमाडौँको कुनै कोठामा कल्पनाको दूरबिन लगाएर सम्भव छैन । समाजले जसरी संगीतलाई डोर्‍याएको हुन्छ, उसैगरी संगीतले पनि समाजलाई दिशानिर्देश गरेको हुन्छ । तर, हाम्रो समाजले संगीतलाई संरक्षण गर्ने र हिँडाउने काम नगरेको बुझाइ छ, झुमाको ।

रोचक कुरा– झुमाले वैवाहिक जीवनलाई औपचारिक विराम दिनु र पुरानो खालको गायनलाई त्याग्‍नु उही समय परेको देखिन्छ । मुडी स्वभावको झुमाले विचार गरेपछि उनका लागि ढुंगाको अक्षर बराबर । आफ्नै स्वभावको मालिक उनी पुरानो सम्बन्धबारे टीकाटिप्पणी गर्न उति रुचाउँदिनन् । उनी समाजका कतिपय बनिबनाउ मान्यताहरूलाई कुल्चेर हिँड्न मन पराउँछिन् । त्यस्ता शैलीप्रति सायद उनको आस्था नभएकैले उनी झुक्दिनन् । यो उनको आफ्नै खाले विद्रोह पनि हो । संगीतलाई संस्कार-संस्कृति मान्‍ने झुमा तीन कुराप्रति आफ्नो शिर झुकाउँछिन्- आमा, बाजा र गुरु ।

हाम्रो देशमा संगीत–नाट्य प्रतिष्ठानदेखि अनेक नामका प्रतिष्ठानका लागि राज्यले बजेट छुट्याउँछ । तर, रैथाने संगीतको संरक्षण र संवर्धनमा एक जना व्यक्ति मरी-मरी लाग्‍नुपर्ने बाध्यता छ । एकेडेमीहरू सदरमुकामसम्म पुग्छन् । जातजातिका सांस्कृतिक भेषभूषासहित नाचगानको कार्यक्रम गरी फोटो सेसनपछि राजधानी फर्कन्छन् ।

त्यस्ता तस्बिरहरूले फेसबुकसम्म आत्मरति गर्न मिल्ला । तर, रैथाने संगीत त ठेट ग्रामीण जीवनमै बाँचिरहेको हुन्छ । सदरमुकाममा त अवसर र सुविधा खोज्दै र छोराछोरीलाई बोर्डिङ स्कुल पढाउनसम्म आउँछन् । त्यहाँ खोजेर हाम्रो संगीतको दर्शन भेटिँदैन । प्रतिष्ठानहरूमा आक्कलझुक्कल अर्केस्ट्राको नाममा कार्यक्रमहरू हुन्छन् । तर, झुमाको अनुभवमा अम्बर गुरुङको भौतिक अवसानपछि भएका कतिपय ‘अर्केस्ट्रा’ हरूले सही स्वरूप पक्रनै सकेनन् ।

झुमाको बुझाइमा रैथाने संगीतको दर्शन स्थापनार्थ दुई कुरा हुनै पर्छः एक- आफ्नै भाषाबाट उठेको हुनु पर्‍यो । दुई- जनजीवनसँग जोडिएको हुनु पर्‍यो । 

रैथाने संगीतलाई नै मूलधार बनाउन लागिपरेकी झुमाले बेलायतको म्युजियममा डेढ सय वर्षअघिको नेपाली संगीत सुन्‍नेअवसर पाइछिन् । तर, त्यहाँको नियमका कारण कपी गर्न पाइनन् । अनि उनले सोचिन्- ‘हामीले पहिचानका यस्ता ऐतिहासिक सम्पदा कति गुमायौँ होला ?’

झुमाको टोलीले अस्ट्रियाको म्युजिक फेस्टिभल ‘वर्ल्ड वुड डे’ मा दुई पटक सहभागिता जनायो, जहाँ काठको वाद्यवादन, काठकै बाजासम्बन्धी डकुमेन्ट्री प्रदर्शन र काठकै बाजामाथि विमर्श र कार्यशाला नौ दिनसम्म चलेको थियोे । सुरुमा इन्स्ट्रुमेन्टल टोली मात्रै गयो । दोस्रो पटकचाहिँ झुमासहित पाँच जनाले भाग लिए । प्रशस्तै अभ्यास गरेरै गएका थिए, उनीहरू । महिनौँ अभ्यास गर्नु र वर्षौं अभ्यास गर्नुमा फरक त परिहाल्छ । स्वीट्जरल्यान्डबाट त लेक्चरर र प्रोफेसरहरूकै ब्यान्ड आएछ । आफूलाई ‘विचरा !’ ठानेछ, नेपाली टोलीले ।

आफ्नो प्रस्तुति अरूले हेरिदिएकैमा धन्य अनुभूति गरेको नेपाली टोलीलाई अन्य देशका संगीतकर्मीहरूले प्रशंसाचाहिँ गरेछन् । तर, झुमालाई भने मनमा लाज-लाजजस्तो लागेछ । उनको अनुभवमा त्यस्तो एउटा फेस्टिभलमा भाग लिनु भनेको यहाँ तीन वर्ष संगीत-कक्षा लिनु बराबर हो । त्यहाँ मेक्सिको र पेरुका मानिसहरूले काठको बाजा बजाएको देखेर उनलाई लागेछ- ‘यस्ता बाजा त हरेक जातिमा छ नि, मेरो देशमा ।’ त्यहाँबाट फर्केपछि नै उनीभित्र हाम्रै बाजाको खोजी गर्नुपर्छ भन्‍ने अठोट जन्मेछ । झुमाको अनुभवले यही भन्छ- संगीत मनोरञ्जन र मजाकको विषय होइन ।

सय/दुई सय वर्ष लागोस् । तर, झुमा एउटा अभियानमा हेलिसकेकी छिन् । त्यो अभियानका लक्ष्य हुन्ः

- संगीत/रैथाने संगीतको खोजी

- बाजा र संगीतको पुनर्सिजन

- टेक्स्ट र दर्शन निर्माण

- सामूहिकता

- विश्व संगीत-मञ्‍चमा प्रतिस्पर्धा ।

तर, यो अभियान एक जना झुमा लिम्बूको मात्रै होइन भन्‍ने यथार्थ हाम्रो समाज र राज्यले बुझ्‍न ढिला गर्न हुँदैन ।

प्रकाशित: १८ असोज २०७८ २०:२५ सोमबार

चेतलुङ
चेतलुङ