१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
सौन्दर्यवोध कला

प्रतिगमनकालमा कार्टुनदृष्टि

प्रतिगमनकालमा कार्टुनदृष्टि

पुस ५, २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीभित्रको विवादलाई कारण देखाउँदै हठात् प्रतिनिधिसभा विघटन गरिदिए । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर गरिएको संसद् विघटनले पूरै मुलुक तरंगित बन्यो । एकसाथ यो चिन्ता, आशंका र आक्रोश बनेर आमजनतामा सञ्‍चार भयो । बुझाइ अनेक थिए । व्याख्या अनेक थिए । विचार अनेक थिए । आशंका र आक्रोश अनेक थिए । तर, सार एकै थियो- यो प्रतिगमन हो ।

यो बुझाइ प्रधानमन्त्रीका आलोचक वा आम नागरिकका मात्रै थिएन, खुद प्रधानमन्त्रीको समर्थकका पनि थियो । कारण उनीहरू पनि समर्थनको मेलोमा बुरुक्क उफ्रेर ०७२ को संविधान नाघ्दै ०४७ को संविधानमा पुग्थे र भन्थे- ‘गिरिजाप्रसादले गर्न हुने खड्गप्रसादले किन नहुने ? संविधानमा खुलस्तै लेखिएको छ त ।’ उनको कदमको समर्थन गरे पनि विरोध गरे पनि सार एकै आउँथ्यो- यो प्रतिगमन हो । प्रतिगमनको तरंगले सबैलाई झैँ कार्टुनिस्टलाई पनि नछुने कुरै भएन । फलस्वरूप त्यसपछिका कार्टुनहरू प्रतिगमनका विरुद्धमा सिर्जना भए । वास्तवमा कार्टुनिस्टहरू नै ती पेसाकर्मी हुन्, जसले एकपछि अर्को सिर्जनाद्वारा प्रतिगमनको निरन्तर प्रतिवाद गरिरहे ।

सुरुआतः

प्रतिगमनको रिहर्सलको रूपमा ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशपछि नै कार्टुनमा प्रतिगमनको झल्को देखिन थालिसकेको थियो । १८ डिसेम्बरको कान्तिपुरमा छापिएको अविनको कार्टुनमा नेकपा कार्यालयमा अखबार पढ्दै देशको भन्दा अध्यादेशको चिन्तामा रहेको देखाउँछ । क्याप्सनमा कार्टुन चरित्र बोल्छ- ‘देशको कुरा काम छैन क्या ! अध्यादेशको सुनाउनोस् न अध्यादेशको !’ १९ डिसेम्बरमा नयाँ पत्रिकामा छापिएको कार्टुनमा देशरूपी डुङ्गा आफ्नो सनकमा डुबाएर प्रधानमन्त्री विजयी मुद्रामा अध्यादेश देखाइरहेका हुन्छन् । पार्टीभित्र र बाहिर यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पूरै यु-टर्न भएर अध्यादेशरूपी गाडीलाई ब्याक गरेको देखाउँछ- अन्‍नपूर्ण पोस्टमा २० डिसेम्बरमा छापिएको वासु क्षितिजको कार्टुनले ।

त्यहीबीचको सन्‍नाटामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरिदिन्छन् । त्यसपछिका कार्टुन सिर्जनाहरू प्रतिगमनप्रति आक्रामक देखिन्छन्, जसलाई केही प्रतिनिधि चार प्रमुख दैनिक अखबारका कार्टुनहरूका थिम तथा संवादमा आधारित रहेर ४ वटा कार्टुन स्टोरीमा हेर्न सकिन्छ ।

स्टोरी १ः प्रमको प्रतिगमन यात्रा

भुइँमा संसद् लडेको छ । उसमाथि छुरा रोपिएको छ, जहाँबाट रगत बगेर भुइँसम्म पुगेर जमेको छ । त्यसको केहीअघि प्रधानमन्त्री र राष्ट्रपति रगत लत्पतिएको हात रगतकै छिटाले रंगिएको अनुहार लिएर ज्ञानेन्द्रपथतिर अघि बढ्दैछन् । आकाश कालो छ । छेउमा सुकेको रुखमा बसेर गिद्ध सोध्दैछ- हिँडेर जाने कि बयलगाडामा ?

नेम्बाङको पनि आफ्नै दुःख थियो । ‘किन मौन ?’को चर्को कोलाहलपूर्ण प्रश्‍नको नेम्बाङकै कार्टुन चरित्रको मसिनो र निरीह आवाज निस्कन्छ माइकअघि- ‘पहिले पो मुखबाट बोली निस्कन्थ्यो र बोलिन्थ्यो । अहिले ओली मात्र निस्कन्छ ।’

उनीहरू केमा गए थाहा छैन । तर, यसैको परकम्पले नेकपा फुट्छ । मुठी कस्दै प्रचण्ड-नेपाल समूह देखा पर्छन् । नेकपा (आन्दोलनवादी) बन्छन् । लाठी बोकेर ओली देखा पर्छन् । नेकपा (हान्दोलनवादी) बन्छन् । यता वामदेव र बादल भागको साइज हिसाब गर्दै कता जाने अन्योलमा नेकपा (खान्दोलनवादी) बन्छन् । खान्दोलनवादकै अर्को शाखा शेरबहादुर देउवाले कांग्रेसमा खोल्छन् । पार्टीका नेता कार्यकर्ता आन्दोलित हुँदा पनि देउवा अन्योलमा रहन्छन् । ‘संसद् विघटन मुर्दावाद !’ लेखिएको प्लेकार्ड बोकेका देउवा बालुवाटार नजिक पुग्छन् । भित्रको वासनाले लोभिन्छन् र भन्छन्- ए, बाबा ! के पकाए फेरि ? ह्वास्स वासना आउने गरी । अग्रगमनविरुद्ध एकपछि अर्को विनासको शृंखला मच्चाएका प्रधानमन्त्री भ्यु-टावर उद्घाटन गर्न पुग्छन् । टावरको भरपुर उपयोग गर्दै टावरमाथिबाट हेर्दै भन्छन्- ‘विनाश गर्न बाँकी कता छ ?’

‘कर्नर किक’ कार्टुन कोलमको अर्को दृश्यमा प्रधानमन्त्री नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई जति धोए पनि सफा गर्न सकिएन भन्दै प्रतिगमनको फोहोर पोखरीमा डुबुल्की मार्छन् ।

कदम प्रतिगामी र संविधान विरोधी भन्‍ने संविधान निर्माणको नेतृत्व गरेका दल, तिनका नेतादेखि संविधानविद् मात्रै होइन, थोरै मात्र संविधान बुझ्नेको पनि मत थियो । तर, जुन संविधानसभाबाट संविधान बन्यो, त्यही सभालाई दुई-दुई पटक नेतृत्व गरेका सुवास नेम्बाङको ओली-कदमप्रति वाक्य बसेको थियो । नेम्बाङको मौनता अनपेक्षित थियो । आम प्रश्‍न थियो- सुवास नेम्बाङ किन मौन ? नेम्बाङ भन्थे- मेरो मौनता संविधानसम्मत नै छ ।

नेम्बाङको पनि आफ्नै दुःख थियो । ‘किन मौन ?’ को चर्को कोलाहलपूर्ण प्रश्‍नको नेम्बाङकै कार्टुन चरित्रको मसिनो र निरीह आवाज निस्कन्छ माइकअघि- ‘पहिले पो मुखबाट बोली निस्कन्थ्यो र बोलिन्थ्यो । अहिले ओली मात्र निस्कन्छ ।’

संकटले च्याप्दै गएपछि, भुमरीमा फस्दै गएपछि ओलीजीको राष्ट्रवाद फुर्न थाल्छ । यसपालि आफूले खनेको खाल्डो जाकिने डर बढ्दै गोश्वामी आयात गरेर राष्ट्रवाद फुलाए । आफ्नै कार्टुन चरित्रसँग घरी हास्य त घरी व्यंग्यमा निरन्तर प्रतिस्पर्धा गरिरहने ओलीजीको जीन्युज ‘राष्ट्रवाद’ को बेलुन फुलेर मुखबाट के फुस्केको हुन्छ- केही दिनमै सगरमाथामा राधानाथको रूप लिन्छ । 
पोडियममा माइकअघि ओली उभिएका हुन्छन् । धारा उल्लेख नगरी गरिएको संसद् विघटनबारे उनकै शैलीमा उनको कार्टुन क्यारेक्टर बोल्छ- ‘धारा रे ? किन चाहियो धारा ? चुनावमा जान पो विघटन गर्‍या त ? नुहाउन जान हो र ?’

प्रतिगमनको विरुद्धमा नागरिकहरू सडकमा उत्रिन्छन् । विरोधमा बालुवाटार घेराउ गर्न निस्कन्छन् । निर्मम दमन हुन्छ । संसद्को हत्या गरिएको हुन्छ । संविधान आईसीयुमा हुन्छ । प्रमको चरित्र बोकेको कार्टुन यसपछि भाटा लिएर नागरिकमाथि जाइलाग्छ । 
दम्भ, अहंकार र अयोग्यताको सागरमा व्यवस्थाको डुंगा डुबाएका ती माझी अर्को कार्टुनमा आत्मप्रशंसामा शब्द खर्चिन्छ- ‘के मात्र गरिएन ३ वर्षमा ?’

दम्भको पम्पले फुलाइएको आफ्नो बाहुबली रूपको प्रदर्शन गर्दै- ‘अदालतले हेरेकै त होला नि ?’ भन्दाभन्दै अदालतको पहिलो प्रतिनिधिसभा विघटन बदर गर्ने आदेश आउँछ । र, प्रतिगमनको पहिलो यात्रा त्यहीँ थच्चिन्छ ।

(नयाँ पत्रिकामा छापिएको लेखककै कार्टुनको आधारमा)

स्टोरी २ः घातमाथिको साथ

टिभीमा संसद् भंग छ । खबर छ- कामै गर्न दिएन । एक जोडी घरमा टिभी हेर्दैछन् र खबरमा सही थाप्दैछन्- ‘हो नि ? ओलीजीलाई कामै गर्न नदिने ? चुट्किलै भन्‍न नदिने ? 

समृद्धि र स्थायित्वको नारा दिएर दुई तिहाइ मत उछिट्याउन सफल प्रधानमन्त्री ओलीप्रति दुनियाँको आश मरिसकेको थियो । तर, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको आश अझ मरेको थिएन , परिणाम- उनी त्यस कदमप्रति मुखर भएनन् । एउटा कोठामा प्रधानमन्त्री र राष्ट्रपति संसद् विघटन केक काटेर उत्सव मनाइरहेका हुन्छन् । ढोकामा देउवाजी लुकेर प्लेट थाप्दै र्‍याल चुहाइरहेका हुन्छन् । 

प्रतिनिधिसभा विघटन गरेका ओली राष्ट्रियसभामा देखिन्छन् र संसद्प्रति विषवमन गर्छन् । कारण के हो ? बोल्दाबोल्दै थुक्छन् । कार्टुनमा चाहिँ उनकै क्यारेक्टर बोल्छ- ‘गणतन्त्र, संविधान, कानुन, नैतिकतालाई हाक थु !’ 

बाटोमा एक व्यक्तिको वकिलसँग भेट हुन्छ । भेट्ने व्यक्ति भन्दै हुन्छ- ‘किन नचिन्‍नु ! हजुर, उही सरकारी वकिल हैन ? देशको संविधान नपढ्ने, विदेशको संविधान कण्ठ पार्ने!’

जब शासकमा तानाशाही भूत सवार हुन्छ । ऊ आफैँ तर्सिन थाल्छ- त्यतिबेला कालो झन्डा मात्रै होइन, ओलीजी कालो मास्कसँग आत्तिएका थिए । उनका कार्यक्रममा कालो मास्क लगाएर जानेलाई समेत रोकिएको थियो । तर, जेसँग डराउनुपर्थ्यो- अनियमितता भ्रष्टाचार । त्योचाहिँ ग्रहण गरिरहेका थिए । एक कार्टुनमा त्यही दृश्य देखा पर्छ । राजनेताको सम्बोधन भन्‍ने ब्यानर हुन्छ । त्यहाँ जान लागिरहेकालाई ढोकैमा चुल्ठो पालेका र मुन्द्रा लगाएहरूले रोक्छन् र भन्छन्- ‘कालो सुटकेसबाहेक कालो मास्क, टोपी, गलबन्दीभित्र लान मनाही छ, हजुर !’ 

अदालतमा संसद् विघटनसम्बन्धी मुद्दामा बहस हुँदै थियो । तर, सरकार पक्षीय वकिल भनेर संविधानभन्दा बाहिरको तर्क पेस गर्दै थिए । कहिले विदेशको संविधानबारे कुरा गर्थे, कहिले खारेज भइसकेको ०४७ को संविधानको कुरा गर्थे । एउटा घरमा श्रीमती काम गर्दै हुन्छिन् । श्रीमान्‌चाहिँ यस्सै उभिएर चिया खाइरहेका हुन्छन् । व्यंग्य गर्दै श्रीमती भन्छिन्- ‘श्रीमान्‌हरू न घरको कुरा बुझ्छन्, न त देशको !’

अदालतमा एक वकिल बहस गर्दै हुन्छन्-‘पछिल्लो समय सांसदहरूले प्रधानमन्त्रीको कुरामा हाँस्न छोडेर सरकारलाई असहयोग गरेका थिए, श्रीमान् !’

बाटोमा एक व्यक्तिको वकिलसँग भेट हुन्छ । भेट्ने व्यक्ति भन्दै हुन्छ- ‘किन नचिन्‍नु ! हजुर, उही सरकारी वकिल हैन ? देशको संविधान नपढ्ने, विदेशको संविधान कण्ठ पार्ने!’ 

सिजन ‘आइ लभ यु, केपी बा !’ को थियो, ओली समर्थकका लागि । एकातिर ओली-कदमको विरोधमा सडक तातेको थियो । सँगै समर्थक पनि सडकमा निस्किन थाले- ‘आइ लभ यु, केपी बा !’ भन्दै । कार्टुनमा भने एउटा चिने-चिनेजस्तो लाग्ने ‘शेर’ एकान्त जंगलमा पल्टिएको हुन्छ । मख्ख पर्दै कुर्सी सम्झिरहेको हुन्छ । र, मनमनै भनिरहेको हुन्छ- ‘आइ लभ यु, केपी ओली !’

(नागरिक दैनिकमा छापिएको रविन सायमीको कार्टुनको आधारमा)

स्टोरी ३ः प्रतिगमनको डुबुल्की/लोकतन्त्रको फोहोर

लोकतन्त्रको सुखानुबोध जनताले उति गर्न नपाइरहेको बेला प्रधानमन्त्री केपी ओली आरामदायी लोकतन्त्रमा बसेर त्यसको मजा लुटिरहेका हुन्छन् । लोकतन्त्रकै हत्केलामा शयन गरी अङ्गुर चपाइरहेका हुन्छन् । जब अघाउँछन्, प्रतिगमनको हिलोमा फाल छोड्छन् । त्यस हिलोमा ती आफू मात्र डुबुल्की मार्दैनन्, हाम फाल्दा परेको छिटाले लोकतन्त्रलाई नै दुषित गर्छन् । उनको यस कदमको परकम्प स्वरूप नेकपा फुट्छ । फुट्दा तीनथरी देखिन्छन्- एकथरी खुद ओलीलाई साथ दिन्छन् । अर्काथरी प्रचण्ड-माधव समूहतिर लाग्छन् । अर्काथरी अन्योलमा हुन्छन् । नेकपा लेखिएको बोर्डमुनि दुई नेताहरू कुरा गरिरहेका हुन्छन्- ‘तपाईंचाहिँ कता नि ? नेकपा यता कि ? नेकपा उता कि ? यता न उता कि ? जता-जता सत्ता कि ?’

यहाँ नेकपा पार्टी कार्यालयमा फोन आएको हुन्छ । बोल्दै हुन्छन्- ‘हेलो! नेताज्यूलाई खोज्नु’भा ? सरी ! रंग नम्बर ! यो पार्टी कार्यालयमा पर्‍यो । पार्टी प्यालेस हैन !’

यो त नेकपाको कुरा हो । यसको तरंग कांग्रेसमा पनि पर्‍यो, पार्टी आन्दोलित भयो । तर, सभापति देउवामा विरोधाभास देखियो । अर्को कार्टुनको फ्रेमभित्र देउवा एक हातमा आन्दोलनको प्लेकार्ड बोकेर ‘लोकतन्त्र जिन्दावाद !’ भन्दै हुन्छन् । अर्को हात ओलीसँग मिलाएर लोभतन्त्र जिन्दावाद भन्दै हुन्छन् । देउवालाई हाइसन्चो छ । ओली र प्रचण्ड-माधव समूह लडेका छन् । दुवैलाई उनी हातैमा खेलाइरहेका छन् । उसो त कांग्रेसको पनि तनाव कम छैन । नेपाली कांग्रेस कार्यालयमा एक आगन्तुक पुगेका हुन्छन् । उनलाई पालेले सोधिरहेको हुन्छ- ‘ओली पक्ष खोज्नु’भा कि प्रचण्ड नेपाल पक्ष ? प्रतिपक्ष ? खै त्यो त थाहा भ’न ।’

देश कोभिडले आक्रान्त थियो । शासक ओली प्रतिगामी लयमा निर्मम ठट्टा गर्दै थिए । उनलाई एकपछि अर्को जोक फुरिरहेको थियो । ‘गजब छ बा !’ कोलममा एउटा कक्षा-कोठा हुन्छ, जहाँ शिक्षक समास र विग्रह पढाइरहेका हुन्छन् । शिक्षक भन्छन्- ‘रात +यौली = रत्यौली’ । विद्यार्थी सोध्छन्- अनि ठट्टा प्लस ओली ठट्यौली हो सर ?’ ओलीको ठट्टा यतिसम्म पुग्छ कि उनी ऐना हेर्दै ‘सेल्फ पोट्रेट’ बनाइरहेका हुन्छन् । क्यानभासमा बन्छ- जोकर !

संसद् विघटनसँगै ओली समूह र प्रचण्ड-माधव समूह पार्टी प्यालेसहरूमा आफ्नो गुटको भेला राख्दै एकको ‘श्राद्ध’ गर्दै थिए । त्यसबेला नेकपा कार्यालय त सुनसान नै थियो होला । कार्टुन हेर्दा त्यो पक्का हुन्छ । यहाँ नेकपा पार्टी कार्यालयमा फोन आएको हुन्छ । बोल्दै हुन्छन्- ‘हेलो ! नेताज्यूलाई खोज्नु’भा ? सरी ! रंग नम्बर ! यो पार्टी कार्यालयमा पर्‍यो । पार्टी प्यालेस हैन !’

ओली समूह र प्रचण्ड माधव समूह शक्ति प्रदर्शनमा लागेका थिए- ‘आमसभा कस्तो हुन्छ, हामी देखाउँछौ !’ भनेर । एकातिर ओली आमसभाकै हँसिया बोकेर प्रचण्डलाई प्रहार गर्दैछन् । अर्कातिर प्रचण्ड आमसभाकै हथौडा बोकेर ओलीलाई प्रहार गर्दैछन् । अर्को कार्टुन दृश्यमा ओलीले संसद् विघटनको प्लेकार्ड बोकेर ‘आयो ! आयो !!’ भनेर एकातिर लागेका हुन्छन् । प्रचण्ड ‘आयो ! आयो !!’ भन्दै सडक आन्दोलनको प्लेकार्ड बोकेर अर्कोतिर लागेका हुन्छन् । जनतालाई दुवैले तानिरहेका हुन्छन् । जनता भन्दै हुन्छ- ‘आया ! आया !!’

यहीँनेर प्रतिगमनको अर्को डाइमेन्सन फेला पर्छ, जहाँ महिला समानताको तराजुलाई प्रतिगमनले कुल्चिएर अनब्यालेन्स गरिरहेको दृश्य देखा पर्छ ।

अर्कोमा ओलीजी कामै गर्न दिएन भनेर भनिरहेका हुन्छन् । कार्यकर्ताहरू हाँस्ने कि नहाँस्ने द्विविधामा हुन्छन् । अन्त्यमा माक्र्सवाद प्लेकार्ड बोकेर आन्दोलनमा हुन्छ । लेनिनवाद पनि प्लेकार्ड बोकेर आन्दोलनमा हुन्छ । माओवाद पनि प्लेकार्ड बोकेर आन्दोलनमा हुन्छ । यता देउवाको ‘पुँजीवाद’ ले प्लेकार्ड लिन इन्कार गर्दै भन्छ- पैसा छैन ! 

(कान्तिपुर दैनिकमा छापिएको अविन श्रेष्ठको कार्टुनको आधारमा)

स्टोरी ४ः एक प्रहारः अनेक परकम्प

संविधान नामको धारैधारमा ओली र प्रचण्ड पानी थाप्न गएका हुन्छन् । पानी कुनैमा आएको हुँदैन । दुवै अलमल र अन्योलमा हुन्छ । संसद् विघटनको धाराको अन्योल त्यही थियो । नेकपा फुट्छ । पार्टी कार्यालमा ताला लाग्छन् । कोही नेकपा ओली ताला, कोही नेकपा प्रचण्ड ताला । नेकपा भन्‍ने घरै फुट्छ । एउटामा ओली बसेका हुन्छन् । अर्को भाग नाम्लो लगाएर प्रचण्ड हिँड्छन् । यहीँनेर चीनको प्रयास देखिन्छ । फुटेको धुरीबाट चाइनिज सुपरग्लु खन्याइरहेकोे देखिन्छ । तर, काम गरिराखेको हुन्छ । ओली कुर्सीमा मस्त देखिन्छन् । तल कुर्सी भाँचिइसकेको हुन्छ । ओली र प्रचण्डको गाली प्रतिस्पर्धा नै चल्छ । ज्यादा विवाद सूर्य-चिह्नमा हुन्छ । ‘चियो चर्चो’ मा देखिन्छ- ‘गाली गलौज प्रतियोगिता जित्नेलाई घाम । हार्नेलाई छाया !’

कार्टुनमा देखिएका प्रचण्ड, माधव नेपालका क्यारेक्टर हारेका जुवाडेजस्ता लाग्छन् । मणि हराएका नागजस्ता फिटफिटे देखिन्छन् । उनीहरू आफ्नै कमजोरीले बर्बाद भएका वियोगान्त नाटकका पात्रजस्ता लाग्छन् ।

वामदेवको अन्योल थामिनसक्नु छ । एकातिर ‘ने’ छ । अर्कातिर ‘कपा’ अब जाने पो कता ?

ओलीको प्रहसन थामिसक्नु छैन । हुँदा-हुँदा ओली कार्टुन नेटवर्कमा पुगेका छन् । केटाकेटी हेर्दै हाँसिरहेका छन् । फुटेको नेकपा ‘बाजेको पेडा’ सरह थियो । कुन सक्कली ? कुन असली ? जुलुसको होडबाजी छ । दलले कार्यकर्तालाई कन्भिन्स गर्न सकेका छैनन् । स्थिति भाडामै मान्छे मगाउने ।

शक्ति प्रदर्शनलाई बसबाट मान्छे उतारेको देख्दा लाग्छ- यो बससभा हो कि जनसभा ? 

(अन्‍नपूर्ण पोस्टमा छापिएको वासु क्षितिजको कार्टुनको आधारमा)

चरित्र-चित्रण 

अखबारहरूमा छापिएका कार्टुनमा तत्कालीन प्रधानमन्त्री केपी ओली प्रतिगमनको विम्बको रूपमा देखा परेका छन् । कार्टुनमा चित्रित उनको क्यारेक्टरमा एक किसिमको दम्भ, अहंकार देखिन्छ । कुनैमा उनको अनुहार एउटा भावहीन ठट्यौलो देखाइएको छ । यो उनको अनुहारमा होइन, पूरै चित्र र पूरै कार्टुनमा पनि देखिन्छ । कार्टुनहरूमा उनी बादसाहजस्तै देखिन्छन् । कुनैमा उनैको आमसभामा प्रदर्शन गरिएका उनकै बुख्याँचाभन्दा पनि शानदार देखिन्छन् । ओलीजी आफैँमा ठट्यौलो व्यक्ति हुनाले कुनै-कुनै कार्टुनमा उनको पात्र उनीभन्दा अलि सिरियस देखिन्छन् । उसो त शासकले आफ्नो शक्तिको खेलमा राम्रो-नराम्रो हेर्दैन । तर, कार्टुनको उद्देश्य राम्रो सन्देश दिनुपर्ने भएकोले पात्र जति गैरजिम्मेवार कार्टुन पात्र हुन सक्दैन ।

सत्ताको शासकले आफ्नो चरित्र निर्माण आफैंले गर्छ । कार्टुनको शासकको चरित्र निर्माण कार्टुनिस्टले गर्छ । शासक विवेकहीन हुन सक्छ, कार्टुनिस्ट हुन सक्दैन । तर, ओली र ओलीजीका धेरै कार्टुनहरूमा व्यंग्य र वास्तविकताको भेद मेटिइरहेको देख्न सकिन्छ । यस अवधिमा बनेका अधिकांश कार्टुनमा ओली प्रतिगमनको विम्बको रूपमा रहेका छन्, जसरी उनी वास्तविकतामा थिए । यसैगरी प्रतिगमनको साझेदार रूपमा राष्ट्रपति चित्रित देखिन्छन्।

कार्टुनमा देखिएका प्रचण्ड, माधव नेपालका क्यारेक्टर हारेका जुवाडेजस्ता लाग्छन् । मणि हराएका नागजस्ता फिटफिटे देखिन्छन् । उनीहरू आफ्नै कमजोरीले बर्बाद भएका वियोगान्त नाटकका पात्रजस्ता लाग्छन् । हतास र विचलित देखिन्छन् ।

देउवा कुनै जीवित पात्र नभई मूर्तिजस्ता लाग्छन् । उनी एक किसिमको आनन्दमा देखिन्छन् । न हर्ष छ, न त विस्मात् । उनको मात्र उपस्थिति छ । भूमिका छैन । जसमा आन्दोलनकारीले एउटा आड पनि देख्न सक्छ । प्रतिगमनकारीले त्यसमै चढेर अर्को उपद्रो मच्चाउने लिस्नो पनि ।

कार्टुनः एक निर्मम सिर्जना

समाजको व्यवस्था बिग्रेमा राजनीतिले समाधान खोज्‍ने हो । राजनीति नै बिग्रिए कता गुहार्ने ? तत्कालीन राजनीतिको केन्द्रमा ओली थिए । उनले गलत कदम उठाउँदा प्रमुख दलका नेतृत्व पंक्ति, विशेषगरी प्रतिपक्षले निर्णायक भूमिका खेल्नु पथ्र्यो । तर, देउवाको मौनता महँगो पर्न गयो, लोकतन्त्रका लागि । जब नेता चुप लाग्छ, तब सर्जकको दिल-दिमागमा कोलाहल मच्चन थाल्छ । अनि, तीखो सिर्जना जन्मिन्छ ।

प्रतिगमनप्रति कार्टुन सिर्जनाका अरू विधाभन्दा निर्मम देखिन्छन् । यसप्रति कार्टुनबाट जति ‘क्वीक रेस्पोन्स’ आयो, त्यति छिटो गीत संगीत, रंगमञ्चदेखि लेखनमा समेत आउन सकेको थिएन । र, प्रतिगमन विरुद्धको सिर्जनात्मक लडाइँमा यो सधैँ अघि नै रह्‍याे । यस समयको कार्टुन हेर्दा प्रतिगमनको नाभी ताकीताकी प्रहार गरेको देखिन्छ । विकृत राजनीतिका अरू पात्रमाथि पनि यो उत्तिकै निर्मम रहेको देखिन्छ । तर, यो निर्ममता जनता र व्यवस्थाप्रतिको प्रेम थियो ।

यहाँ समाविष्ट कार्टुन-चित्रहरु कलाकारकाे अनुमतिमा प्रकाशित गरिएकाे छ।
 

प्रकाशित: १८ असोज २०७८ २०:२४ सोमबार

चेतलुङ
चेतलुङ