१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
सौन्दर्यवोध साहित्य

मुन्धुम साहित्यको चार किल्ला

मुन्धुम साहित्य आन्दोलनको अवधारणा-पत्र

मुन्धुम साहित्यको चार किल्ला
किराँत याक्थुङ चुम्लुङ, ललितपुरमा राखिएको नमूना सिलाम साक्मा। तस्बिर : रेजा/चेतलुङ

नेपाल र उत्तर–पूर्व भारतका सभ्यताहरू (किराँत, सनातनी र बौद्ध) मध्ये एक ‘किराँत सभ्यता’ हो । नेपालका ‘किराँत’ मात्र नभएर दक्षिण एसियाका (ककेसियाई र आस्ट्रेयाई बाहेकका) धेरै जातको सभ्यता नै ‘किराँत सभ्यता’ हो । किराँत सभ्यता आफ्नै मौलिक मुन्धुमहरूका आधारमा व्यवस्थित, विकसित र सामाजिक उपयोग हुँदै आएको छ । किराँत सभ्यताका आफ्नै जीवन दर्शनशास्त्रहरू छन्, जीवन तथा प्रकृतिको चक्रअनुसार जीवन यापनका निम्ति सम्पादन गरिने अनुष्ठान तथा कर्मकाण्डका विधि–विधान, नियम–संहिताहरू छन् । किराँत जातिहरू मूल रूपमा मंगोल जाति हुन्, जसको नृशास्त्रीय विभाजन गरेर पनि राख्ने गरिन्छ ।

किराँतीहरूको मुन्धुममा उल्लेखित (खगोलीय ज्ञान, सांसारिक ज्ञान, वनस्पति र प्राणीसम्बन्धी ज्ञान, मानव उत्पत्ति र किराँती जातिबारेका दस्तावेजहरू) ज्ञान तथा हाल किराँती समाजले भोगिरहेका सवाल, दुःख–सुख र उमंग उत्सवहरू सञ्‍चार–सम्प्रेषण गर्ने उपकरणका रूपमा भाषा र व्याकरण, लिपि, गीत–संगीत, मिथकमा आधारित लोकवार्ता, साहित्य (कथा, कविता, निबन्ध, उपन्यास, खण्डकाव्य, महाकाव्य) हरू नै हुन् ।

जुन बेला लिपि थिएन, किराँतीहरूको मुन्धुम साहित्य थुतुरी (मुखमुखै सुन्ने/सुनाउने र कण्ठ गरेर आफ्नो साहित्यलाई श्रुति–परम्परामा बचाएर निरन्तरता दिने) विधि अपनाएरै संरक्षण गरियो । सिरिजंगा लिपि आविष्कार भएपछि मुन्धुम साहित्यको पनि दस्तावेजीकरण या लेख्य–परम्परामा प्रवेश गर्‍यो । तर, शासकहरूले आफ्नै सनातनी धर्म, संस्कृति, लिपि र साहित्य फैलाउन किराँतीहरूको मुन्धुम साहित्यहरूलाई बन्देज लगाई नष्ट गर्न आदेश–हुकुम गरेर मास्‍ने प्रयासहरूसमेत भए । मुन्धुम साहित्यको निम्ति काम गर्ने जमर्को गर्नेहरूलाई राणा शासनकाललगायत पञ्‍चायतकालमा गिरफ्तार गरेर जेलनेल हालियो र यातना दिइयो । देशद्रोही र अराष्ट्रिय काम गरेको आरोप लगाइयो । तर, मुन्धुम साहित्य नष्ट–निमिट्यान्न भएन, बरु बाँचेरै आयो । उसो त अहिले पनि नेपाल सरकारले मुन्धुम साहित्यलाई हेर्ने टेढो–आँखा कायमै छ ।

मुन्धुम साहित्यलाई जोगाएर ल्याउनका निम्ति इतिहासका पेचिला कालखण्डहरूमा युद्ध मोर्चा सम्हाल्ने धेरै ‘क्याप्टेन’हरूले स्मरणीय योगदान गरेका छन् । जस्तैः सिरिजंगाले किराँत लिपिको विकास र प्रचार–प्रसार गरे, जुन अहिले कम्प्युटर सफ्टवेयरमा समेत विकास गरी निरन्तर अभ्यासमा छ । फाल्गुनन्द लिङ्देनले किराँत संस्कृतिमा सनातनी विधि–विधान मिसाएर धर्म र दर्शनको प्रचार–प्रसार गरे, जुन परम्पराले नेपालमा एउटा छुट्टै धार्मिक सम्प्रदायको समेत विकास गरी निरन्तरता पाइरहेको छ । इमानसिंह चेम्जोङले किराँतोलोजिष्टका रूपमा मुन्धुम, इतिहास, भाषा, व्याकरण, साहित्य, लिपि, लोकसाहित्यहरूको संकलन तथा अभिलेखीकरण गरे, जसले मुन्धुम साहित्यको भण्डार (Database) लाई बलियो बनायो ।

मुन्धुम साहित्यको निम्ति काम गर्ने जमर्को गर्नेहरूलाई राणा शासनकाललगायत पञ्चायतकालमा गिरफ्तार गरेर जेलनेल हालियो र यातना दिइयो । देशद्रोही र अराष्ट्रिय काम गरेको आरोप लगाइयो । तर, मुन्धुम साहित्य नष्ट–निमिट्यान्न भएन, बरु बाँचेरै आयो ।

पीएस मुरिङलाको नेतृत्वमा भारतको दार्जिलिङ र सिक्किममा पाठ्यपुस्तकहरू तयार गरेर पठन–पाठन गर्ने–गराउने कामलाई सुव्यवस्थित गर्नुका साथै मुन्धुम साहित्यका अनेक विधाहरू अघि बढाए, जुन परम्परालाई अहिले सिक्किममा विद्यालयदेखि विश्वविद्यालयसम्म पठन–पाठनमा समेत रूपान्तरण गरी निरन्तरता दिइरहेका छन् । वैरागी काइँलाले मुन्धुमहरू संकलन, सम्पादन तथा प्रकाशन गरेर मुन्धुम साहित्यको भण्डारमा थप सामग्री थप्ने काम गरे । अमर तुम्याहाङले किराँत (याक्थुङ) भाषा र सिरिजंगा लिपिमा पहिलो महाकाव्य लेखेर मुन्धुम साहित्य भण्डारमा सम्पदा थपे । नवीन सुब्बाले ‘नुमाफुङ’ चलचित्रमार्फत किराँती (याक्थुङ) जीवनको कथालाई सिनेमाको ठूलो पर्दामा सुनाएर–देखाएर मुन्धुम चलचित्रको सुरुआत गरे । झुमा लिम्बुले मुन्धुम संगीतलाई नेपालको ‘एथ्नोम्युजिक’का रूपमा ‘खासाम’ नामक एलबममार्फत दस्तावेजीकरणको सुरुआत गरेकी छन् ।

उल्लेखित प्रमुख केही नमुना कदम–कार्यलगायत अनेकौँ अनुसन्धान तथा साहित्यिक लेखन र प्रकाशनहरू मुन्धुमी जनस्तरबाटै हुँदै आएका छन् । तर, नेपाल सरकारले मुन्धुम साहित्यलाई नेपालकै एक प्रमुख सभ्यताको साहित्य भनी अनुमोदन गर्ने र मान्यता दिने काम गर्न सकेको छैन । यसबाट नेपालका शासकहरू अहिले पनि नेपालका मौलिक (सनातनी, बौद्ध र किराँत) सभ्यताहरूमध्ये किराँत सभ्यतालाई विभेदकारी नियत र नजरले हेरिरहेछन् र विभेद गरिरहेछन् भन्ने बुझिन्छ । नेपालका शासकहरूले लिच्छविकाल (२४२१ वर्ष पूर्व, जुन लिच्छविहरूले किराँतहरूलाई जिते) देखि गर्दै ल्याएका यी अपमानपूर्वक हरकतहरू असंवैधानिक, मानव अधिकार विरोधी, मौलिक अधिकार विरोधी, नागरिक अधिकार विरोधी, एकात्मक चिन्तनले ग्रस्त समावेशिता विरोधी थिए र रहँदै आएका छन् भन्ने कुरा जग जाहेरै छ ।

यो नेपालमा चल्दै आएको सांस्कृतिक संहार (Cultural Genocide) हो । अहिलेको २१ औँ शताब्दीमा समेत नेपालमा प्रजातन्त्र, मानव अधिकार, गणतन्त्र, समावेशीजस्ता कुरा गर्दै) सनातनी हिन्दु भनिने आर्य बाहेकका संस्कृति साहित्यहरूलाई सखाप पार्ने ‘बर्बर शासन’ कायम छ । कैयौँ भाषा र संस्कृतिहरू मारी पनि सके, कैयौँलाई योजनाबद्ध किसिमले पन्साउने र मार्ने काम जारी रहेको सरकारी नीति र बेवास्ता गरिरहेको बुझिन्छ । नेपालका शासक–सरकारहरूले इतिहासमा किराँती सभ्यताप्रति गर्दै आएको दमन र अपमानको निम्ति क्षतिपूर्ति (Reparations) समेत तिर्नुपर्छ भनेर किन नभन्ने भनेर बोल्ने बेला भइसकेको छ ।

मुन्धुम साहित्य लिम्बूवान क्षेत्रका विद्यालयहरूका पाठ्यक्रमहरूमा अनिवार्य रूपले समावेश गर्ने र मुन्धुम साहित्यलाई नेपालका सबै विश्वविद्यालयका पाठ्यक्रममा राख्नु पर्ने, मुन्धुम साहित्य विभाग खोलेर दरबन्दीसहित सञ्चालन गर्नु पर्ने, नेपालका तीनवटै (प्रज्ञा, संगीत–नाट्य र ललितकला) प्रतिष्ठानका (ऐन संशोधन गरेर भए पनि) मुन्धुम संस्कृति (साहित्य, संगीत–नाटक र ललितकला) विभागहरू स्थापना गरी समावेशी संविधानलाई ऐन र नियमले व्यवस्थित गरेर कार्यान्वयन गर्नु पर्ने जोडदार माग–आवाजसहित किराँत सभ्यताका मुन्धुम साहित्यकारहरूले मुन्धुम साहित्य आन्दोलन सञ्चालन गर्नु पर्दछ, जसको अभीष्ट निम्न कुरा हासिल गर्नु हुनुपर्छः

१) किराँत सभ्यताका दर्शन, सहित्य, संगीत, भाषा, लिपिको संरक्षण र संवर्धन गर्न सरकारले हरेक वर्ष बजेट छुट्याएर काम गरोस् । किनभने किराँत सभ्यता पनि मानव सभ्यताकै धरोहर हो, नेपालकै सांस्कृतिक पहिचानको पुँजी हो ।

२) किराँत सभ्यताका दर्शन, संस्कृति, धर्म, सहित्य, संगीत, भाषा, लिपि, समाजशास्त्र, मानवशास्त्र, इतिहास, लोकसाहित्यबारे विश्वविद्यालयहरूमार्फत किराँती जनजाति अध्येताहरूलाई मात्र भनी तोकेर अनुसन्धान (पीएचडी गराउने) बजेटसहितको सकारात्मक विभेद (Affirmative action) को सिद्धान्तअनुसार आगामी ५० वर्षका निम्ति व्यवस्था सरकारले गरेर मुन्धुम साहित्यको उन्नयनका खातिर विशेष कार्यक्रम सञ्चालन गरोस् ।

३) किराँतजन्य संस्था (चुम्लुङ, यायोक्खा, यक्खा छुम्मा, सुनुवार) हरूले पनि किराँतोलोजी तथा ‘मुन्धुम साहित्य’ र किराँत सभ्यताका दर्शन, संस्कृति, धर्म, सहित्य, संगीत, भाषा, लिपि, समाजशास्त्र, मानवशास्त्र, इतिहास, लोकसाहित्य, किराँत समाजका समस्या र सवालहरूबारे प्रतिवर्ष अध्ययन अनुसन्धान गरून् ।

४) हरेक किराँत (महिला÷पुरुष) विद्यार्थीले एमए र पीएचडीको थेसिस लेख्दा किराँतोलोजी, ‘मुन्धुम साहित्य’, किराँती प्रथाजनित कानुन, किराँती समाजको रैथाने (Indigenous) आर्थिक प्रणाली र व्यवस्था, किराँतहरूको राजनैतिक–सांस्कृतिक अधिकार, किराँत संस्कृति र वातावरण संरक्षण, किराँत संस्कृति र कृषि, वन तथा पर्यावरण, किराँत सभ्यताका संगीत, किराँत सभ्यताका हस्तकला, किराँत सभ्यताका वास्तुशास्त्र, किराँत सभ्यताका पहिरन तथा गरगहना, किराँत सभ्यताका खानाका विशिष्ट (जस्तैः किनेमा, याङ्बेन, तोङ्बा आदि) परिकारजस्ता विषयमा लेखून् । यसका निम्ति किराँतजन्य संस्थाहरूले पनि थेसिस लेख्नेलाई विद्वद्वृत्ति प्रदान गरून् ।

५) विदेशमा रहेका हरेक किराँतहरू र किराँत संगठनहरूले तत्तत् मुलुकका सम्बन्धित विषयगत विश्वविद्यालयहरूमा किराँती विद्यार्थीका निम्ति उच्च शिक्षा तथा अनुसन्धान तहको विद्वद्वृत्तिको निम्ति सक्रिय संयोजन गरून् ।

किराँत सभ्यताका दर्शन, सहित्य, संगीत, भाषा, लिपिको संरक्षण र संवर्धन गर्न सरकारले हरेक वर्ष बजेट छुट्याएर काम गरोस् । किनभने किराँत सभ्यता पनि मानव सभ्यताकै धरोहर हो, नेपालकै सांस्कृतिक पहिचानको पुँजी हो ।

६) किराँतीहरूले आफ्नो भाषा, साहित्य संस्कृतिको अध्ययन–अनुसन्धानका निम्ति आ–आफ्ना जातिगत संस्थाहरूमा कम्तीमा १ करोडसम्मको अक्षय कोष स्थापना गरी अध्ययन–अनुसन्धानका निम्ति लघु सहयोग (Small Grants) सञ्चालन गर्ने काम गरून् ।

७) किराँती साहित्यकारले कम्तीमा एउटा ‘मुन्धुम साहित्य’ (किराँती विषयवस्तु, समस्या–सवाल, भावना–संवेदना, जीवन भोगाइ, गीत–संगीत, भाषा, संस्कृति–धर्म, इतिहास आदिका बारेमा) लेखून् । साथै जिम्मेवार निकायबाट लेखनको आधारमा लेखकहरूको श्रेणी छुट्याएर (जस्तैः वरिष्ठ मुन्धुम साहित्यकार/कवि/कथाकार/संस्कृतिविद्, प्रखर मुन्धुम साहित्यकार/कवि/कथाकार/संस्कृतिविद्, समकालीन साहित्यकार/कवि/कथाकार/संस्कृतिविद् आदि) लेखन क्षेत्रको गुणवत्ता बढाउने कार्यलाई पनि संस्थागत गरियोस् । स्मरण रहोस्, भारतको संस्कृति मन्त्रालयले पनि भारतमा कला–साहित्यकर्मीहरूको Outstanding, Promising, Waiting गरी श्रेणी छुट्याउने काम गरिरहेको छ ।

८) हरेक किराँतहरूले निर्माण गर्ने चलचित्र किराँती सभ्यता र किराँती जीवनको थिममा निर्माण गरून् ।

यो मुन्धुम साहित्य आन्दोलन अमूक सरकार, सरकारका सम्बन्धित विभागहरू, किराँतजन्य संस्थाहरू र किराँती तथा अन्य जातिका (देशी–विदेशी) विद्यार्थी, बुद्धिजीवी, प्राज्ञ तथा अनुसन्धातासमेतको निम्ति जागरुक–मार्गचित्र प्रदान गर्ने उद्देश्यले अघि बढाउने दीर्घकालीन रणनीति हो । वास्तवमा यो आन्दोलन धेरै अघिदेखि सिरिजंगा, फाल्गुनन्द, इमानसिंह चेम्जोङ, पीएस मुरिङला, वैरागी काइँला आदिले अघोषित रूपमा चलाउँदै आएको आन्दोलन हो । तर, त्यही आन्दोलनलाई घोषित रूपमा एक ढाँचा (frame) मा ढालेर अघि बढाउनु अपरिहार्य भएको महसुस गरेर यो अवधारणा–पत्र लिपिबद्ध गरिएको मात्र हो, जसलाई थपघट गर्दै र खार्दै बदलिँदो भविष्यमा समय सापेक्ष बनाउँदै लैजानु पर्दछ।

नोट :


१. जस्तैः ससी मुन्धुम (दर्शनशास्त्र); थुङ्साप मुन्दुम (कथ्य वा मौखिक शास्त्र); पेसाप मुन्धुम (इतिहासशास्त्र); शकशक शास्त्र (साहित्यशास्त्र); साम्यो मुन्दुम (धर्मशास्त्र) आदि ।

२. जस्तैः नावाःचईत मजुन्धुम (सृष्टिशास्त्र); खेदा मुन्धुम (आख्यानशास्त्र); साक्थिम मुन्धुम (संस्कृतिशास्त्र); समुन्धुम येप्मुन्दुम (संगीत तथा नृत्यशास्त्र); किम्मा मुन्धुम (नीतिशास्त्र) आदि ।

३. सुनीतिकुमार चटर्जी, जीपी सिंह र इमानसिंह चेम्जोङका अनुसार समग्र मंगोल जाति र नेपालका लिम्बू, लाप्चा, याक्खा, राई, धिमाल, मेचे, कोच–राजवंशी, सुनुवार, थामी, जिरेल, हायु, चेपाङ, तामाङ (गुर्मी), नेवार, तमु (गुरुङ), मगर, थकाली, शेर्पा–भोटे, दनुवार, थारु, माझी, राजीलगायत दक्षिण एसियाका बोडो, अहोम, आका, मिर्मी, तिपेरा, नागा, मिथाइ, खासी, जैन्तिया, मिजो, गारो, चक्मा, दिम्माचा आदि सबै किराँत हुन् । किराँत जातिहरू मध्य र दक्षिण भारतदेखि श्रीलङ्का, बर्मा, थाइल्यान्ड, कम्बोडिया तथा मलेसियासम्म फैलिएर रहेका छन् ।

४.हेरौँः https://www.hindustantimes.com/india-news/culture-ministry-readies-grading-system-for-artists-writers/story-m3M61QENUiU1v9mqYvqwoO.html

प्रकाशित: ११ कात्तिक २०७८ ११:०१ बिहीबार

चेतलुङ
चेतलुङ