१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
सौन्दर्यवोध साहित्य

डायरीभित्र र बाहिरको रामप्रसाद राई

डायरीभित्र र बाहिरको रामप्रसाद राई

ऐतिहासिक महत्त्‍वका पात्र रामप्रसाद राईका बारेमा धेरै आलेख लेखिए र पुस्तकहरू पनि प्रकाशित भए । तर, धेरै रचनामा उनको वैचारिक स्पष्टता नपाइने समस्या त छँदै छ, वास्तविकताभन्दा परको बनावटीपन पनि रहेका छन् । प्रश्‍न उठ्छ– किन त्यसरी लेखिए ? गणेश अधिकारीलिखित उपन्यास ‘डायरीमा रामप्रसाद राई’ (२०७८) भने रामप्रसाद राईको खास वैचारिक धारसहित आएको छ । उपन्यासभित्र माझकिराँतको ऐतिहासिक गाथा तथा ००७ सालमा सुरु भएको राणाविरोधी आन्दोलनको लिखित इतिहासभन्दा नितान्त फरक एउटा आन्दोलनको महत्त्वपूर्ण पृष्ठभूमि भेटिन्छ । यस पुस्तकको खास महत्त्व र मूल्य पनि यही हो । समाजसँग भिजेको रामप्रसाद राईकोे जीवन लयलाई उपन्यासकारले जस्ताको तस्तै समात्‍ने प्रयत्न गरेका छन् । पूर्ववर्ती रचनाभन्दा फरक भएकै कारण यो लेख जन्मिएको हो ।

यसकारण कि कांग्रेस, राणा र राजाले गरेको दिल्ली सम्झौता नै भारतीय विस्तारवादको पहिलो पाइला थियो । यही सम्झौता नै कांग्रेसको राजनीतिक जग थियो, जसलाई रामप्रसाद राईले देश र जनतामाथिको धोका हो भने ।

रामप्रसाद राई एक गतिशील व्यक्ति भएकाले त्यस बेला अस्थिरतामाझ पटक्कै बस्‍न रुचाएनन् । घरबाट भागेर बेलायती सेनामा भर्ती हुनु, त्यहाँबाट फर्केर राणाको सेनामा भर्ती हुनुका साथै राजनैतिक तथा कूटनैतिक पहल गर्नु र मुक्तिसेना गठनको पहलकदमी लिनुजस्ता महत्त्वपूर्ण भूमिकाका आधारमा उनको अर्थपूर्ण क्रियाशीलतालाई मूल्यांकन गर्न सक्छौँ । 

रामप्रसाद राई बेलायती सेनामा भर्ती हुनुपूर्व नै उनको कलिलो मस्तिष्कमा कहीँ न कहीँ राजनैतिक भ्रुणहरू थिए भन्‍ने आभास हुन्छ । संवादको क्रममा कमाण्डर जेफरेडले उनीसँग भनेछन्– ‘तिमीहरू मासिन्या जातिको मान्छे हौ र तिमीहरूजस्तो लडाकु समुदायलाई तिम्रो देशमा उपेक्षा गरेको कारण हामीले आफ्नो देशको स्वार्थमा प्रयोग गर्न पाइरहेका छौँ ।’ यही वाक्यले रामप्रसादभित्र राजनीतिक चेतनाका भ्रुणहरूलाई विद्रोहमा विकसित हुन सघाएको देखिन्छ । यसपछि नै ईओरा समुदायको नायक पेमुलमा अट्टलसिंह खम्बुको विम्ब देख्‍ने, ईओरा समुदाय र किराँत समुदाय एउटै लाग्‍ने, आफू र आफ्नो समुदाय विभेदमा परेको महसुस गरेको देखिन्छ । बिस्तारै उनमा गोर्खा ब्रिटिस सेनाहरूलाई संगठित गरेर विदेशी भूमिमा आर्जन युद्धज्ञान र क्षमतालाई प्रयोग गर्दै राणाविरोधी आन्दोलनसँगै राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्ने विचार बीजारोपण भएको देखिन्छ । ‘हाम्रो दुस्मन राणा मात्र होइन, हाम्रो मुख्य दुस्मन राजा हो’ भन्‍ने वाक्यांशले उक्त कुरा पुष्टि गर्छ । पुस्तकले ती इतिहासमा लिखित केही कुराको खण्डन गर्दै नयाँ वास्तविकताको रहस्योद्घाटन गर्दछ ।

लिखित इतिहासबारे

रामप्रसाद राईबारे लेखिएका सम्पूर्ण इतिहास तथा ००७ सालवरपर सम्पन्‍न जनक्रान्तिको इतिहासको खण्डन हो, यो पुस्तक । बीपी कोइराला र धोकेबाज डा केआईसिंहहरूलाई नायक बनाई लेखिएको ००७ सालवरपरको इतिहासको पुनर्लेखनको रूपमा यो पुस्तक प्रस्तुत छ । साथै, ००७ सालमा कांग्रेस जनतामा कति लोकप्रिय थियो र देशभरि कांग्रेसको प्रभाव कति थियो भन्‍ने कांग्रेसको बनिबनाउ इतिहासप्रति पनि यस पुस्तकले प्रश्‍न उठाएको छ, जुन लिखित इतिहास भजाएर कांग्रेसले अहिलेसम्म पनि खाइरहेको छ । धेरै पुस्तकमा लेखिएको रामप्रसाद राई कांग्रेस थिए भन्‍ने कुरालाई पनि खारेज गर्दै यस पुस्तकले रामप्रसाद राई कांग्रेस थिएनन् भनी जोडदार खण्डन गर्दछ । बरु सामन्ती राजतन्त्रसँग घाँटी जोड्ने कांग्रेसभन्दा नितान्त फरक र अग्रगामी बिचारबाट उठेको नेताका रूपमा रामप्रसाद राईलाई यस उपन्यासमा पाउन सकिन्छ । र, नेपाली समाजको सम्पूर्ण विभेद र अन्तरविरोधहरूको हल गणतन्त्रले मात्र गर्न सक्छ भन्‍ने बुझाइमा उनी दृढ थिए भन्‍ने कुराको बोध गराउँछ । यसलाई उनका हरेक क्रियाकलापले पुष्टि गर्दछन् । मुख्य कुरा ००८ सालमा भएको त्रिपक्षीय दिल्ली सम्झौता देश र जनताको हितमा छैन भन्‍ने उनको निष्कर्ष थियो । जबकि त्यो ऐतिहासिक ठगी, साँठगाठ र व्यक्तिगत सत्ता स्वार्थसँग जोडिएको सम्झौताको चंगुलबाट अझै देश निस्किन सकिरहेको छैन । उक्त कुरा महान् नेता भनिएका न बीपीले देख्‍न सके, न त अरुले नै । तर, अरुले नदेखेको कुरा रामप्रसाद राईले देखेका थिए । त्यही जनविरोधी र राष्ट्रघाती सम्झौताको विरोध गर्दै बढ्ने क्रममा आफ्नै निकट सहकर्मीहरूले साथ छोड्दासमेत गणतन्त्रका लागि अन्तिम समयसम्म लड्दा–लड्दै देशी–विदेशी षड्यन्त्रकारी शक्तिहरूको फन्दामा परेर उनी सिंहदरबारभित्रै मारिए । उनी मारिएपछि उनको मुक्तिसेनाले आत्मसमर्पण गर्‍यो भन्‍ने कुराको यथेष्ट प्रमाणहरूको दाबीपत्र पनि हो, यो पुस्तक ।

वैचारिक स्पष्टता र दृढता

मानिस आफ्नो सभ्यता, समुदाय वा समाजको ऐतिहासिक शिक्षाबाट नै अगाडि बढिरहेको हुन्छ । सोहीअनुसार तीक्ष्ण राजनीतिक विवेक बोकेका रामप्रसादले पनि आफ्नो समुदाय, सभ्यता, राष्ट्र र राष्ट्रिय चरित्रबाट तत्कालीन राज्यसत्ताको चरित्रलाई बुझेका थिए । उनी तत्कालीन राज्यसत्ताले एउटा गर्विलो इतिहास बोकेको आफ्नो समुदायप्रति विभेद गरेको निष्कर्ष निकाल्छन् । उनले त्यति बेला निकालेको निष्कर्ष अहिले पनि हाम्रो समाजमा समस्याका रूपमा अझै विद्यमान छ । निरंकुश राणाशासन यो देश र समाजको समस्या मात्र होइन, बरु मुख्यतः निरंकुश सामन्ती राजतन्त्र नै समस्या हो भन्‍ने निष्कर्षमा पुग्दै जनक्रान्तिद्वारा एकैचोटि राणा र राजालाई फालेर जनताको शासन स्थापना गर्ने मूल राजनीतिक दृढ संकल्पका साथ उनी अगाडि बढेको कुरा यस पुस्तकमा प्रस्तुत छ । यस क्रममा त्रिपक्षीय सम्झौता गर्ने कांग्रेस र पूर्वमा किराँतीहरूले गठन गरेको जनक्रान्तिको अग्रदस्ता रामप्रसाद राईबीच वैचारिक बेमेलको स्थिति देखिन्छ । तर, यसलाई कसैले लेखेनन् । कारण– कांग्रेस अलग पार्टी, अलग सांगठनिक दस्ता र विचारबाट निर्देशित थियो भने रामप्रसाद अलग वैचारिक पृष्ठभूमिबाट सोभियतहरूजस्तै स्वतःस्फूर्त ढंगले युद्ध मोर्चामा अगाडि आएका थिए । रामप्रसादहरूले लिएको अलग विचारसहितको सशस्त्र विद्रोहको गुणात्मक धक्काले कांग्रेसको राणाविरोधी गतिविधिलाई ओझेलमा पार्ने निश्‍चित देखेपछि नै होला, अत्तालिएर कांग्रेस, राणा र राजाबीच अकस्मात दिल्ली सम्झौता भयो । राजाविनाको कांग्रेस हुनै सक्दैन भन्‍ने बीपीले बारम्बार दोहोर्‍याएर बोल्ने शब्दहरूलाई चिन्तन र मनन गर्नै पर्छ कि यो शब्दावली बीपीले बारम्बार किन दोहोर्‍याए ? यसकारण कि कांग्रेस, राणा र राजाले गरेको दिल्ली सम्झौता नै भारतीय विस्तारवादको पहिलो पाइला थियो । यही सम्झौता नै कांग्रेसको राजनीतिक जग थियो, जसलाई रामप्रसाद राईले देश र जनतामाथिको धोका हो भने । वास्तवमा दिल्ली सम्झौताको मुख्य उद्देश्य देशमा प्रजातन्त्र स्थापना गरी अमनचयन कायम गर्ने होइन, पूर्वमा स्वतःस्फूर्त उठेको गणतन्त्रवादी आन्दोलनलाई निस्तेज पार्नु थियो ।

हजार वर्षपछि नै किन नहोस्, निष्पक्षताको मानक नबनेका इतिहासहरूको कमजोरी र पक्षधरताप्रति समयले निर्मम प्रश्‍नहरू गर्नेछ र एक पक्षीय बनिबनाउ इतिहासले समयको कठघरामा उभिएर एक दिन जवाफ दिनै पर्छ । त्यही पछिल्लो मान्यताको जगमा उभिएको निर्मम प्रश्‍न हो, ‘डायरीमा रामप्रसाद राई’ ।

दिल्ली सम्झौतापछि नेपालको वैचारिक समाज दुई ध्रुवमा बाँडिन पुग्यो । एकातर्फ– राणालाई ‘ब्यालेन्स’ मा राखी राणाशासन हट्यो भन्दै सामाजिक धार्मिक र सांस्कृतिक तथा वर्गीय विभेदहरू जस्ताको तस्तै राखेर परिवर्तनको डंका पिट्ने कांग्रेस र राजा त्रिभुवनहरू थिए । अर्कातर्फ– सम्पूर्ण विभेदहरूको समूल अन्त्य गर्ने अठोटका साथ लडिरहेको गणतन्त्रवादी आन्दोलनको नेतृत्व गरिरहेका रामप्रसाद राईहरू थिए । यही कारणले आफ्नो भविष्य राम्रो नदेखेका राजा त्रिभुवनले ‘प्रजातन्त्र आइसक्यो, अब तपाईंहरू फर्किनुहोस्’ भन्दै काभ्रेको धुलिखेलमा मुक्तिसेनासँग हात जोड्न पुगेका थिए । मुक्तिसेनाका होनाहार कमाण्डर किताबसिंह राईहरूजस्तालाई ढोगेर अनुनय–विनय गरेर फर्काउन सफल भएका थिए । पछि मुक्तिसेना र कांग्रेसको सेना एउटै हो भनी सेना समायोजनको नाटक मञ्‍चन गरेर रक्षा दल नामक बन्दी शिविर बनाए । यही क्रममा रामप्रसादको सहयोद्धा नारदमुनि थुलुङलाई बीपीले चवानी सदस्यको टिकट दिएर मन्त्रिमण्डलमा सहभागी गराउने प्रलोभनमा आफूतिर तानेको देखिन्छ । यसको बाबजुद पनि रामप्रसाद राई आफ्नो सञ्‍चित शक्तिलाई उपयोग गर्दै अन्ततः सिंहदरबार कब्जा गर्न सफल भए । र, पूर्ण रूपमा राज्यसत्ता कब्जा गर्न अन्तिम लडाइँ लड्दा–लड्दै उनी मारिए । यसरी गणतान्त्रिक राजनीतिक प्रणाली स्थापनाका लागि एउटा जबर्जस्त र सशक्त पहिलो आन्दोलन तुहियो, जुन गणतन्त्र प्राप्तिका लागि १७ हजार मान्छेले फेरि बलिदानी गर्नु पर्‍यो । त्यसैको परिणाम आज करिब ६ दशकपछि गणतन्त्र प्राप्त भएको छ । र, यही प्रणालीका निम्ति नै रामप्रसाद राईको उच्च सहादत थियो भन्‍ने कुरा ‘डायरीमा रामप्रसाद राई’ उपन्यासकोे वैचारिक अडान हो ।

अस्ट्रेलियाको आदिवासीहरूले बेलायत पुर्‍याएको आफ्नो प्रिय नेता पेमुलको टाउको फिर्ताको माग अझै गरिरहेको इतिहाससँग जोडेर हेर्ने हो भने अटलसिंहको विरासतबाट उठेको रामप्रसाद राई किराँती समुदायका पेमुल हुन् । गणतन्त्रवादी तथा क्रान्तिकारीहरूको आन्दोलनको पृष्ठभूमिबाट हेर्दा रामप्रसाद राई गणतन्त्रवादी नेता तथा गणतन्त्रवादी शहीद हुन् । तसर्थ नेपाली क्रान्तिका चे ग्वाभारा रामप्रसाद राईको मृत्युबारे तत्कालीन सत्ताको बागडोर सम्हाल्ने कांग्रेसलगायत यस राज्यसत्ताले अब बोल्नु पर्छ । यसको अर्थ हो– रामप्रसाद राईको सत्यतथ्य इतिहास बताउनु पर्छ र लेख्‍नु पर्दछ ।

बिस्तारै उनमा गोर्खा ब्रिटिस सेनाहरूलाई संगठित गरेर विदेशी भूमिमा आर्जन युद्धज्ञान र क्षमतालाई प्रयोग गर्दै राणाविरोधी आन्दोलनसँगै राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्ने विचार बीजारोपण भएको देखिन्छ । ‘हाम्रो दुस्मन राणा मात्र होइन, हाम्रो मुख्य दुस्मन राजा हो’ भन्‍ने वाक्यांशले उक्त कुरा पुष्टि गर्छ ।

अटलसिंह, पेमुल, चे ग्वाभाराको प्रतिविम्बित क्रान्तिकारी नायक राईलाई किन क्रांग्रेसको ‘ट्याग’ लगाइयो ? त्यसको पुनर्लेखन तथा पुनर्मूल्यांकन गरिनु पर्दछ । धनीहरूको मात्र होइन, गरिबहरूको पनि । जित्‍नेहरूको मात्र होइन, हार्नेहरूको पनि । बाँच्‍नेहरूको मात्र होइन, मर्नेहरूको पनि । सबै–सबैको सही मूल्यांकन गरेर न्यायपूर्ण इतिहास लेखिनु पर्दछ किनकि इतिहास नै भविष्यको जग हो । यही निष्कर्ष यस पुस्तकको अर्को सशक्त वैचारिक पक्ष हो । साथै, माझकिराँत मुक्त गराउने अभियानसम्म नारदमुनि थुलुङ र रामप्रसाद राईको नङ–मासुको सम्बन्ध एकाएक दिल्ली सम्झौतापश्‍चात् किन बिग्रिँदै गयो ? नारदमुनि थुलुङ किन रामप्रसाद राईको साथ छोड्दै–छोड्दै बीपीको ‘क्याम्प’ मा पुगे ? कतै आफ्नै सहयोद्धा रामप्रसाद राईप्रति नारदमुनि थुलुङको धोका त थिएन ? किन रामप्रसाद राईले कांग्रेससँगको संवादमा जाँदा नारदमुनि थुलुङलाई पटक–पटक सजग हुन सुझाउँथे ? बीपीले थुलुङलाई महत्त्वहीन र उपेक्षित व्यवहार गर्दा पनि थुलुङको कांग्रेसप्रति जबर्जस्त आसक्तिको कारण के थियो ? रामप्रसाद राईको सहादतको समय थुलुङ मन्त्री थिए । तर, सत्ताको त्यस हैसियतमा पुग्दा पनि उनले आफ्नो सहयोद्धाको बारेमा किन सत्यतथ्य छानबिन गर्ने तत्परता देखाएनन् ? रामप्रसाद राईको एक असल सहयोद्धाको हैसियतबाट पहिले नै नारदमुनि थुलुङले बोल्नुपर्ने र लेख्‍नुपर्ने कुरा किन अहिले गणेश अधिकारीले लेख्‍नु परिरहेको छ ? यी माथिका वैचारिक प्रश्‍नहरूले उठाएका उत्तर खोज्‍न नारदमुनि थुलुङ र रामप्रसाद राईबारे गम्भीर समीक्षा गर्ने ठाउँ भने लेखकले खुला राखिदिएका छन् । यी दुई पात्रबीचको चारित्रिक तथा वैचारिक योगदान र भूमिकाको गम्भीर र निर्मम समीक्षा नगरी किराँत समुदायभित्रको वैचारिक तथा राजनीतिक आन्दोलनले अब निकास नपाउने अवस्था पनि त्यतिकै छ ।

अहिले रामप्रसाद राईको विचार

हरेक विचारधाराको अन्तिम लक्ष्य तथा उद्देश्य हुन्छ । के रामप्रसाद राईको विचारधारा उनको सहादतसँगै सकियो त ? तर, रामप्रसाद राईको विचार सकिएको छैन । बरु ००७/००८ सालतिरको रामप्रसाद राईको विचारधारा तथा वैचारिक लाइनले नै ०६२/६३ सालको जनआन्दोलनको माध्यमद्वारा गणतन्त्र स्थापना गर्‍यो । माओवादीले सशस्त्र जनयुद्धको माध्यमबाट र पूर्वमा खम्बुवान हुँदै किवपाले सशस्त्र संघर्षको माध्यमबाट रामप्रसाद राईको अधुरो मुद्दाको उठान गरेको थियो । माओवादी र किवपाका रूपमा अलग–अलग पृष्ठभूमिका राजनीतिक शक्तिजस्तो देखिए पनि सारमा यी दुई शक्ति एउटै थिए । त्यसैले यिनको एकता सम्भव भयो । साथै एकतापछि त्यो पार्टी पूर्ण वैचारिक साथै वैज्ञानिक पार्टी पनि बन्यो । यसरी पार्टी एकतापछि रामप्रसाद राईको विचारलाई सशस्त्र संघर्षद्वारा राष्ट्रिय राजनीतिमा स्थापित गराउँदै तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड र किवपाका अध्यक्ष गोपाल किराँती ‘साइँला’ ले रामप्रसाद राईको उत्तराधिकारीको पहलकदमी लिए । यो किवपा र माओवादीबीचको पार्टी एकता मात्रै थिएन । रामप्रसाद राईको वैचारिक विकासको एउटा महत्त्वपूर्ण कडी पनि थियो । ती दुई पार्टी एकतापश्‍चात् प्रचण्ड बीपीको भूमिकामा र साइँला रामप्रसाद राईको भूमिकामा देखिए । यहाँ फरक के छ भने बीपीले रामप्रसाद राईलाई बेपत्ता बनाए । तर, प्रचण्डले रामप्रसाद राईलाई आफ्नो वैचारिक विरासतको हैसियतमा स्वीकार गरे । दोस्रो संविधानसभाको मुखमा समाजवादी आन्दोलनमा आफ्नो जीवनको अधिकांश समय व्यतीत गरेका तत्कालीन एमालेका नेता अशोक राईले घोर दक्षिणपन्थी पार्टी नेकपा एमालेबाट गरेको उच्च र सानदार विद्रोह पनि सामान्य घटना थिएन । तत्कालीन एमाले नेता अशोक राईको विद्रोह पनि रामप्रसाद राईकै विचारधाराको एक उपज थियो । त्यत्ति मात्र होइन, गणतन्त्र स्थापना र जातीय मुक्तिको सवालमा साहित्यिक तथा सामाजिक आन्दोलनको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको छ । उक्त साहित्यिक आन्दोलनमा बैरागी काइँला, गोपाल छाङ्छाहरूको वैचारिक लाइन पनि वास्तवमा रामप्रसाद राईकै वैचारिक लाइन थियो, जुन विचारलाई साहित्यिक आन्दोलनद्वारा भूपाल राईले जबर्जस्त उचाइमा पुर्‍याए । तसर्थ, राजनीतिक योगदानको हिसाबले किराँती समुदायका लागि गोपाल किराँती दोस्रो रामप्रसाद राई, पेमुल तथा क्रान्तिकारी चे हुन्, जसले आफ्नो समुदाय र वर्गको मुक्तिका लागि आंशिक रूपमा आफ्नो राजनीतिक मुद्दाहरू स्थापित गर्दै सयौंको संख्यामा सचेत नेतृत्व जन्माइसकेका छन् भने भूपाल राई किराँत समुदायको मात्रै नभई उत्पीडित समुदायको गोर्की हुन् । भूपालले साहित्य मात्रै लेखेनन्, सबै खाले विभेदविरुद्धमा समेत लडे । विशेषतः जातीय उत्पीडनद्वारा प्रताडित समुदायको मुक्तिबारे लेखे । त्यस अवस्थाबाट भूपाल राईले सुरु गरेको साहित्यिक आन्दोलन तथा विद्रोहको पक्षमा कलम नचलाउने अहिलेको साहित्यकार को छ ? तसर्थ, गोपाल किराँती, अशोक राई र भूपाल राई सांस्कृतिक तथा राजनीतिक आन्दोलनको परिपूरक पात्रहरू हुन् । उनीहरूले रामप्रसाद राईको अधूरो विचारलाई बोकेर लेखे । समाजलाई सचेत गराउँदै मुद्दाहरूलाई समाजमा स्थापित गराउँदै एउटा महत्त्वपूर्ण समयको नेतृत्वको पहलकदमी लिए । त्यसैले यो आंशिक उपलब्धि हासिल गर्दै गरेको पछिल्लो जातीय राजनीतिक परिवर्तनको संवाहक दुई पात्र गोपाल किराँती र भूपाल राई नै हुन् भन्‍न सकिन्छ ।

के रामप्रसाद राईको विचारधारा उनको सहादतसँगै सकियो त ? तर, रामप्रसाद राईको विचार सकिएको छैन । बरु ००७/००८ सालतिरको रामप्रसाद राईको विचारधारा तथा वैचारिक लाइनले नै ०६२/६३ सालको जनआन्दोलनको माध्यमद्वारा गणतन्त्र स्थापना गर्‍यो ।

 

निष्कर्ष

जित्‍नेहरूले मात्रै इतिहास लेख्छन् भन्‍ने मानसिकताले हाम्रो समाज ग्रसित छ । र, त्यही मानसिकताअनुसार हाम्रा इतिहासहरू लेखिएका, भनिएका र स्थापित भएका छन् । कुनै समय त्यस मान्यताको मूल्य थियो होला । तर, अहिले त्यस मूल्य–मान्यताहरू गलत हुन् भन्‍ने कुरा इतिहास आफैँले खारेज गर्दै आएको छ । लिखित इतिहासहरू मात्रै सत्य हुँदैनन् भन्‍ने मान्यता स्थापित भइरहेको छ । हजार वर्षपछि नै किन नहोस्, निष्पक्षताको मानक नबनेका इतिहासहरूको कमजोरी र पक्षधरताप्रति समयले निर्मम प्रश्‍नहरू गर्नेछ र एक पक्षीय बनिबनाउ इतिहासले समयको कठघरामा उभिएर एक दिन जवाफ दिनै पर्छ । त्यही पछिल्लो मान्यताको जगमा उभिएको निर्मम प्रश्‍न हो, ‘डायरीमा रामप्रसाद राई’ । यस उपन्यासले इतिहासको सत्यता, निष्पक्षता र सर्वस्वीकार्यतामाथि प्रश्‍नहरू गरेको छ । पुस्तकमा माझकिराँतले द्वैध चरित्र बोकेका हरिनन्द पोखरेलजस्तो द्रोही पात्र मात्र होइन, त्यही नस्लका परमानन्द बाजेजस्तो इतिहाससिद्ध एक असल गुरुको पनि वर्णन गरेको छ, जसले रामप्रसाद राईजस्ता महान योद्धा उत्पादन गर्‍यो । तसर्थ नस्ल, जात र समुदाय दोषी र खोटी होइनन्, पात्र विशेषको चिन्तन, चरित्र र नियतमा भर पर्दछ । सबैलाई एउटै आँखाले हेर्नु हुँदैन भन्‍ने कुराको बलियो प्रमाण पनि यहाँ छ । परमानन्द बाजेको चारित्रिक सिलसिलासँग जोडिएका थुप्रै गणेश अधिकारीजस्ता नयाँ पुस्ताको आवश्यकता माझकिराँतलाई छ र हरिनन्दहरूले पनि आगामी दिनमा आत्मसमीक्षा गर्दै परमानन्द बाजेको भूमिकामा रूपान्तरण हुने माझकिराँतले अपेक्षा राख्‍नु पर्छ । साथै माझकिराँतले परमानन्द बाजे र गणेश अधिकारीजस्ता असल शिक्षक पाएकोप्रति सदैव गौरव गर्नु पर्दछ, जसले हजारौं रामप्रसाद राई, गोपाल किराँती, अशोक राई र भूपाल राईहरू जन्माउने भूमिका निर्वाह गरेका छन् । परमानन्द बाजे र परमानन्द बाजेको नयाँ संस्करणको भूमिकामा रहेको यस पुस्ताका उपन्यासकार गणेश अधिकारीलाई सलाम छ ।
 

प्रकाशित: १८ माघ २०७८ १२:३४ मंगलबार

चेतलुङ
चेतलुङ