११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
सौन्दर्यवोध सिनेमा

सिनेमा सोच

सिनेमा सोच
स्केचः लेखक

अमेरिकाको भर्जिनिया बस्‍ने पत्रकार गिरिश पोख्रेलको अनलाइन पत्रिका नेपाली पोस्टले आफ्नो ट्विटर खाताबाट नियमित रूपले ‘स्पेस बहस’ चलाएर विचार निर्माण र विचार मन्थनको एउटा वातावरण र मौका जुटाउँछ । मन्थन गर्न त्यहाँ निम्त्याइन्छन्– नेपालभित्र र नेपालबाहिर नाम कमाएका विभिन्न काम, कर्म र पेशाका नेपाली व्यक्तित्वहरू । यस लहरोमा म पनि कुनै बेला आफूलाई कुरा गर्न मन लागेका विषय वा व्यक्तिले प्रेरित गर्दा पाहुना लिएर जोडिन्छु ।

यही सिलसिलामा मैले सिने लेखक–निर्देशक मनोज पण्डितसँग ट्विटर बहस चलाएको थिएँ, एक महिना पहिले । सिनेमा के हो, सिनेमाले के गर्नुपर्छ, राम्रो सिनेमाको परिभाषा के हो आदि विषयमा बहस भएको थियो । मैले सामान्य ढंगले सोझो उत्तर खोज्‍ने उक्त बहसमा गरेका अनेक प्रश्नमा जनताले बुझ्‍ने भाषामा उहाँले उत्तर दिएजस्तो लागेन मलाई । राजनीतिक र समाजशास्त्रीय दर्शन अध्ययनको उहाँको रुचि र लगावको बोझले हाम्रो सिने–बहसलाई नराम्रोसँग जकडेको जस्तो महसुस गरेँ मैले । एक सयभन्दा ज्यादा स्रोता सहभागी भएको र झन्डै अढाई घण्टा चलेको प्रत्यक्ष बहसको संचालकको रूपमा त्यहाँ ‘राम्रो सिनेमा’ भन्ने वाक्यांश मैले चेतन, अचेतन पटक–पटक गरेँछु । सायद कुनै सिनेमा पारखीको कन्पारा नै तात्‍ने गरी !

अनि एक जना सहभागी  श्रोता साथी यायावरले सोध्नुभयो, ‘लौ, तपाईं नै भन्नु न त राम्रो सिनेमा भनेको के हो ?’

भिट्टो रियो दे सिकाको दोस्रो विश्वयुद्धपछि प्रदर्शन भएको इटलीयन सिनेमा बाइसिकल थिफ्स राम्रो लाग्छ । आज ७० वर्षपछि हेर्दा नि त्यो सिनेमाले हाम्रो पुस्तालाई त्यो काल परिवेशको जीवनभोगबारे धेरै सूचना लिन र धारणा बनाउन प्रभावकारी कथा भन्छ ।

मैले एउटा उत्तर भरेँ यायावरजीको प्रश्नमा । ‘राम्रो सिनेमा भनेको त्यो कथावाचक ‘चलचित्र’ हो, जसले एउटा काल र परिवेशको कथालाई विभिन्न पुस्तामाझ उत्तिकै प्रभावकारी ढंगले पस्किरहन सकोस् !’

यो भनाइको अर्थ अनेक होलान् । मेरो अर्थ के भने, कुनै जुग जमानामा बनेको एक सिनेमाले अर्को जुग जमानाका दर्शकले हेर्दा नि त्यसबाट सूचना, धारणा, अनुभूति, संवेग, मनोरन्जन, जीवन भोगाइको सम्बन्ध  जम्मै थोक पाओस् । अर्थात् समय बित्तैमा त्यो काम नलाग्‍ने नठहरियोस् ! त्यस्तो हुनलाई दर्शकले निर्देशकको कथा भन्ने पारालाई मन पराएको हुनुपर्‍यो, पात्रको अभिनय उत्कृष्ट हुनुपर्‍यो, संवादले आज पनि छुनुपर्‍यो र त्यसमा देखाइएको कथा र परिवेशलाई मान्छेले आज पनि कतै न कतै जीवनमा जोडिएको भेट्नु पर्‍यो । यति भयो भने सिनेमा राम्रो ठहरिएला कि जस्तो लाग्छ ।

आमिर खानको थ्री इडियट मेरो बुझाइको यस्तै एउटा राम्रो सिनेमा लाग्छ । भिट्टो रियो दे सिकाको दोस्रो विश्वयुद्धपछि प्रदर्शन भएको इटलीयन सिनेमा बाइसिकल थिफ्स राम्रो लाग्छ । आज ७० वर्षपछि हेर्दा नि त्यो सिनेमाले हाम्रो पुस्तालाई त्यो काल परिवेशको जीवनभोगबारे धेरै सूचना लिन र धारणा बनाउन प्रभावकारी कथा भन्छ । हल्काफुल्का मनोरन्जनको जस्तो लागे पनि परेश रावलको अतिथि तुम कव जाओगे मलाई खुब मन पर्‍यो । यसले कथा अहिले भने पनि धेरैपछिको पुस्तालाई पनि उत्तिकै प्रभावकारी ढंगले कथा भन्छ । इरानी चलचित्र सेपेरेसन पनि राम्रो लाग्यो ।

विश्वव्यापीकरणको जुगमा सुख–सयलको सपना बोक्ने समाजका पात्रहरूले कसरी हण्डर खान्छन्, उनको परिवार, धर्म र संस्कृतिका तगारा छिचोल्न कति कठोर मनोदसाबाट मान्छे गुज्रिन्छ आदि भन्न खुब सफल लाग्यो, सेपेरेसन । त्यसो त चीरकाल बाँचिरहने सिनेमा मात्रै राम्रो सिनेमा पनि होइन । तात्कालिक समाजलाई प्रशस्त मनोरन्जन दिन ग्राह्य भएको र समकालीन उद्योगलाई एउटा दिशा वा धारमा डोर्‍याउन सफल भएको छोटो आयुको चलचित्र पनि राम्रो चलचित्र हो, मेरो बुझाइमा । जस्तै तुलसी घिमिरेको दर्पण छायाँ, निश्‍चल बस्‍नेतको लुट, दिपेन्द्र पुरुष खनालको चपली हाइट, खगेन्द्र लामिछानेको पशुपति प्रसाद आदि । राम्रा लागेका अन्य सिनेमा पनि धेरै होलान् । यद्यपि, राम्रो र मिठोको परिभाषा अत्यन्तै वैयक्तिक कुरा हो ।

कलाको एउटा अद्भूत आविष्कार सिनेमासम्बन्धी अनगिन्ती प्रश्न, मनन र बहस गर्न सकिन्छ ।

सिनेमाले सन्देश नै दिनुपर्छ ? सिनेमाले कुनै जातजातिको जीवन संस्कृतिको बृहत्तर चित्र उतारेको हुनुपर्छ ? सिनेमाले कुनै काल र परिवेशमा घटित घटनाको मिहिन विश्लेषणमा आधारित कथा भन्नुपर्छ ? सिनेमाले गरिब मान्छेका भाग्य र भोगाइको कहानी देखाउनुपर्छ ? सिनेमाले सभ्रान्त वर्गले लाउने, खाने, सम्बन्ध बनाउने र जिउने शैलीको कुरा गर्नुपर्छ ? सिनेमाले मान्छेका मनोगति, प्रेम, हैरानी वा अन्य संवेगको चलचित्र उतारेर देखाउनुपर्छ ? सिनेमाले कतै न कतै समाज र जीवनका वास्तविक भोग र अनुभव संगालेकै हुनुपर्छ ? कि सिनेमाले कल्पनामा आधारित लौकिक, अलौकिक लीला देखाएर मनोरन्जन मात्रै दिए पुग्छ ?

के गर्दा सिनेमा सफल र उत्कृष्ट भएको मानिन्छ ? गुदीभन्दा बढी ब्राण्डको भरमार प्रचारबाजी गर्ने कला, पैसा र रणनीतिले एक भेल प्रदर्शनीबाटै अकुत पैसा कमाउन सफल हुने सिनेमालाई राम्रो भन्दा हुँदैन ? राम्रो सिनेमाको यो परिभाषाले भेट्ने अक्षय कुमारको ‘सूर्यवंशी’ जस्तो पत्रु मानवताद्वेशी सिनेमालाई जति पैसा कमाए पनि राम्रो सिनेमा भन्न भने म सक्दिनँ ।

क्रिटिकहरू किन लेख्छन् ? सिनेमा–निर्देशकले आफ्नो सिनेमालाई कुनै समीक्षक वा बक्सअफिसबाट सुपरहिट को ट्याग नपाउन्जेल त्यो सिनेमा बनाउनुको कुनै अर्थ हुन्न ? करोडौँ खर्चेर, कमाइ र करियरको धेरै आश गरेर एउटा सिनेमा बनाएको हुन्छ निर्माता, निर्देशकले । प्रदर्शन भएको भोलिपल्ट कुनै टापनटिपन समीक्षकले त्यसलाई रसातलमा पुर्‍याइदिन सक्छ । कि सिनेमा कस्तो बन्यो भनेर लेख्‍ने पेसा गरेर बसेका औंलामा गन्न सकिने बुद्धिजीवीका लागि बनाउने हो सिनेमा ? कि दर्शकले औसत मानेर हेरिदिएर लगानी उठ्ने वा थोरबहुत नाफा कमाउने हैसियत पायो भने पुग्यो ? सिनेमा हेर्दै नहेरेर नि पुग्छ मान्छेलाई ?

सिनेमाबारे सोच्दा यस्तै अनेक प्रश्न आउँछन् मेरो मनमा ।

सिनेमाका कतिपय व्याकरण र ढर्रा दर्शकलाई बेवकुफ ठानेर नाटक मन्चन गरेजस्तो लाग्छ मलाई ।

अनि हामी उठ्दा बस्दा, दाहिने घुम्दा, देब्रे फर्किंदा टुंगटुंग ढिसढिस गरेर कसले बाजा बजाउँछ वास्तविक जीवनमा ? दृश्य सन्नाटाबाट जोगाएर दर्शकको रुचिलाई सजीव राख्‍न केही मुलायम पृष्ठध्वनि बजाउनु त लौ ठिकै होला । तर, मान्छे चलेपिच्छे, बोलेपिच्छे ढ्यांग्रो ठोक्नुपर्छ जस्तो नि लाग्दैन ।

सिनेमाको संसारले मान्छेको वास्तविक जीवन र भोगाइको संसारलाई छुँदै नछुने पनि कति हुन्छ कति । वास्तविक जीवनमा चुरोट खाँदा मान्छेले ‘धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ’ भन्ने साइनबोर्ड एउटा हातमा बोकेर अर्को हातले चुरोट खाँदैन । मद्यपान गर्दा हामीले टेबलमा कहिले पनि ‘मद्यपान स्वास्थ्यका लागि हानिकारक छ’ लेखिएको बोर्ड झिकेर ठड्याइँदैन । तर, सिनेमामा त्यो देखाउनु सामाजिक दायित्वभित्र पर्छ ।

एक अर्काको आँखामा जिन्दगीका सबै रंग, खुसी र सफलता हेरेर कफी पसलमा प्रेमालाप गरिरहेका युवायुवतीको आँखामा बिस्तारै फुलो पर्दै गएजस्तो धमिलो देख्छौं हामी दर्शकले । त्यहाँबाट एक्कासी अप्ठ्यारे छाँगामा झ्याइँ–झ्याइँ बाजा बजेको सुनिने तर बाजागाजा नदेखिने ठाउँमा पुर्‍याउँछन् र एउटा कुनाबाट हिरोनी र अर्को कुनाबाट हिरो फाल तोड्दै आएर गले लाग्छन् र गीत गाएर नाच्‍न थाल्छन् । हाम्रो वास्तविक जीवनमा गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड त बनाइएला तर हामीलाई त्यसरी अदृश्य हरितालले जस्तो बाजा कसले बजाइदिन्छ नाच्‍नलाई ? गीत कसले ठिक पार्दिन्छ मेरो र मेरी गर्लफ्रेन्डको लभ पर्‍यो भनेर ? लौ, गीत त कुनै युट्युबकै टिपूँला रे के प्रेम प्रीति परेको छ भनेर मगज ठिकमा नभएजस्तो नाचिन्छ त पार्क र पहरातिर गएर ? घुम्दै जाँदा कुनै नाचगान भएको ठाउँमा पुगेर मिसिनु बेग्लै कुरा ।

अनि हामी उठ्दा बस्दा, दाहिने घुम्दा, देब्रे फर्किंदा टुंगटुंग ढिसढिस गरेर कसले बाजा बजाउँछ वास्तविक जीवनमा ? दृश्य सन्नाटाबाट जोगाएर दर्शकको रुचिलाई सजीव राख्‍न केही मुलायम पृष्ठध्वनि बजाउनु त लौ ठिकै होला । तर, मान्छे चलेपिच्छे, बोलेपिच्छे ढ्यांग्रो ठोक्नुपर्छ जस्तो नि लाग्दैन । अझ ‘मल्टिप्लेक्स बिग सिनेमा’ हरूमा त यस्तो ‘साउण्ड इफेक्ट’ को भूकम्पीय गर्जनले कानको जाली नै पड्केला जस्तो हुन्छ । भित्र अगेनाबाट बाहिर सिकुवामा आइपुग्‍न झन्डै एक महिना लाग्छ कुनै सिनेमामा । हामी एक फड्केमा आइपुग्छौँ । साथी सिनेमामा राजेश हमालले माथि कन्यामबाट हानेको लात्तिले उछिट्टिएर एउटा गुण्डो तल मधेशको बर्ने आएर झरेको देखायो भनेर इलाममा खुब दिल्लगी गर्थे साथीहरू उः बेला । सिनेमामा नाटकीय मृत्यु र जन्मका प्रसंग यति धेरै हुन्छन् कि ‘फिलिम’ गरेको प्रस्टै बुझिन्छ ।

अनमोल केसी र सुहाना थापाले सिनेमामा देखाउने सम्भ्रान्त जीवनशैलीका प्रेमका बान्कीले पटक्कै छुँदैन मलाई । केटा र केटीबीचमा प्रेम पर्‍यो भनेर माइनस डिग्री तापक्रम भएको सेतै हिउँ फुलेको पहाडमा गएर केटीलाई चाहिँ लुगै लाउन नदिइकन अनि केटाले चाहिँ शाही विवाहमा हिँडेको जन्तीले जस्तो ठाँटमा सजिएर कोही नाचिन्छ ? हाम्री प्रेमिकालाई सकेसम्म कम लुगा लगाऊ, टांग फारेर, बाहु फैलाएर, छाती तेर्स्याएर कठांग्रिने जाडोमा जाडो फिटिक्क नमानी तिमी फाल हानेर आऊ म तिमीलाई बोक्छु, तिम्रो एउटा नाङ्गो खुट्टो भुइँमा अर्को खुट्टो मेरो कम्मरमा टाँस भन्छौँ हामी वास्तविक जीवनमा ? कसलाई उल्लू बनाउन बनाइन्छ खोइ यस्ता सिनेमा ?

नेपाली उद्योगले बनाउन सक्ने सिनेमाका विधा भनेका हास्य, सामाजिक कथा (ड्रामा), प्रेमालाप र सांगीतिक सिनेमा हुन् । हाम्रो जस्तै हाल–हविगत भएको इरानी सिनेमा उद्योगले यिनै पछिल्ला अझ खासगरी सामाजिक कथा (ड्रामा) विधामा सिनेमा बनाएर संसारभरि रुचिपूर्वक हेरिने सिनेमाको निर्यात गरेको वर्षौँ भयो ।

हाम्रा सिनेमाले दाह्री पाकेका नायक, नायिकाको प्रेम जोडी अकाट्य र अविच्छिन्न रूपले देखाएको जुगौँ बित्यो । समाजले त्यसलाई मनोरन्जनका नाममा पैसा तिरेर हेरेको पनि उस्तै जुग भयो । अझ बलिवुडका सिनेमाले ‘प्यार करना’ सिकाएको र हामीले सिकेको त शताब्दी नाघ्यो । यति हुँदा पनि हाम्रो समाज हाम्रा छोरी–चेलीलाई सितिमिति प्रेममा पर्न अनुमति दिइँदैन । प्रेमका लागि जीवन ‘आहुति’ दिने सिनेमाका नायक नायिकाप्रति सहानुभूतिका आँसु सिनेमा हलमा खसाले पनि बाहिर आएपछि खोइ त प्रेम गर्नेलाई हामीले खुल्लमखुल्ला स्वीकार गरेको ? प्रेमजोडीलाई बाँदर धपाएजस्तो प्रहरी लाएर लखेटिरहेको छ, समाज अझै पनि । यो हेर्दा त सिनेमाले समाज बदल्न सहयोग गर्छ जस्तो नि देखिन्न ।

हाम्रा सिनेमामा नयाँ पुस्ताका प्रतिभा र व्यापारी मनग्ये आउँछन् । एउटा काम गर्न राम्ररी पाएको छैन तिनलाई हामी यति धेरै पगरी र श्रीपेचका थुप्रोले थिच्‍न थाल्छौँ कि ऊ फेरि अर्को राम्रो काम लिएर आउनै नसक्ने गरी अतिशयोक्ति प्रसंशा र पगरीको मारले फुलेर थला पर्छ । कोही ‘मेगा स्टार’, कोही ‘ब्याक टु ब्याक ब्लक बस्टर डाइरेक्टर’, कोही सिनेमाको ‘भीष्म पितामह’, कोही ‘सिनेविज्ञ’, कोही के कोही के । लिम्बू संस्कृतिमा नुमाफुंग बनाउने नवीन सुब्बा, लूट बनाएर नेपाली सिनेमाको दिक्दारलाग्दो एकनासको परम्परागत ढर्रा भत्काउने निश्‍चल बस्‍नेत आदि यस्तै पगरी र अतिशयोक्तिपूर्ण प्रसंशाको मारले थला परेका सिनेमा मेकर्स हुन् । उनीहरूलाई अर्को उल्लेख्य सिनेमा लिएर आउन महाभारत नै भयो अहिलेसम्म ।

हाम्रा सिनेमाका विधा पनि धेरै विविधतायुक्त छैनन् । ‘एक्सन’ सिनेमा बनाउन अब पहिलेजस्तो सजिलो छैन । हाते फाइट र रजनीकान्त स्टाइलका गोली उडेर गई ताकेको मान्छेलाई ठोकेर फर्की आई  बन्दुकभित्रै पस्‍ने ‘फ्यान्टसी’ र उडन्ते उल्टीसुल्टी किकलाई अब कसले पत्याउने ? अहिलेको प्रविधि र पैसाको मापदण्डमा पुगेर द डार्क नाइट, मिसन इम्पोसिबलजस्ता हाइटेक एक्सन सिनेमा बनाउन उद्योगले र मानव संसाधनले सक्दैन । लिसिपिसी बनाएर अब चल्दैन । एडभेन्चर विधा नि उस्तै खर्चिलो र प्रविधियुक्त विधा भयो हाम्रो उद्योगको बसको बात नहुने । इन्डियाना जोन्स सिरिज हेरेका नेपाली दर्शकलाई के एड्भेन्चर विधाका सिनेमा पस्किनु काठमान्डुले । अपराध विधाका सिनेमा बनाए पनि थोरै बजेट, कमसल अनुसन्धान र काम चलाउ कल्पनाशीलताले गर्दा सिक्लाई गरेजस्ता मात्रै सिनेमा बन्ने हुन् । द गड फादर, अमेरिकन ग्याङ्गस्टरजस्ता अपराध विधाका सिनेमा हेरिसकेकालाई छुनेगरी बनाउनु पर्‍यो अपराध सिनेमा । अन्य विधाहरू इतिहास, हरर, स्वैरकल्पना (फ्यान्टसी), रहस्य, विज्ञान, युद्ध विधामा पनि गतिला सिनेमा बनाउन हाम्रो उद्योग र मानव संसाधनलाई गाह्रो हुने कुरा हुन् । नेपाली उद्योगले बनाउन सक्ने सिनेमाका विधा भनेका हास्य, सामाजिक कथा (ड्रामा), प्रेमालाप र सांगीतिक सिनेमा हुन् । हाम्रो जस्तै हाल–हविगत भएको इरानी सिनेमा उद्योगले यिनै पछिल्ला अझ खासगरी सामाजिक कथा (ड्रामा) विधामा सिनेमा बनाएर संसारभरि रुचिपूर्वक हेरिने सिनेमाको निर्यात गरेको वर्षौँ भयो । सिनेमाको अन्तर्राष्ट्रिय मन्चमा इरानी सिनेमाको उपस्थिति र हल्लीखल्ली लोभलाग्दो छ ।

नेपाली सिनेमा बनाउनेहरू साह्रै हतपतको काम गर्छन् जस्तो लाग्छ । ४० दिनमा सुटिंग सकेर ‘फ्लोर’ बाट कुनै हालतमा फर्किने हो बरु सिनेमा जेसुकै बनोस् भन्ने बाचा गरेर हिँड्छन् क्यार उनीहरू । सोभित बस्‍नेत मार्काका सिनेमा बन्नु र नबन्नुको कुनै फरक अर्थ छैन तर बनेका मध्ये यस्तै सिनेमा धेरै हुन्छन् । धेरै वर्षअघि बसाइँ सिनेमा हेर्न एक्लै सिनेमा हलमा छिरेँ म । विश्वविद्यालयको पाठ्यक्रममा पढेको लीलबहादुर क्षेत्रीको उपन्यासमा बनेको त्यो सिनेमा हेर्न म निक्कै उत्साहित हुँदै गएको थिएँ । सिनेमा यति झूर बनाएका रहेछन् कि निर्देशक सुभास गजुरेल नजिकै भेटे टुप्पीमा समातेर र्‍वाइँर्‍वाइँ घुमाउन पाए नि हुन्थ्यो जस्तो भयो । आधा नि नपुग्दै निस्केर हिँडेँ म । न पात्र र पहिरन स्वाभाविक लाग्छन्, न दृश्य, परिवेश निर्माणमा अनुसन्धान र मेहनत छ, न संवाद सम्प्रेषण र अभिनयमा जीवन छ, न त निर्देशकको बौद्धिकता, कल्पनाशीलता, व्यावसायिक दिग्दर्शनको झल्को आउँछ कुनै दृश्यमा । हतार–हतार गरेर रात परिसक्दा सिनेमा बनाइसकेर सुत्‍नलाई बितेजस्तो गरेर बनाइएको ताइ न तुइको बसाइँ रहेछ त्यो । ‘सुझ न बुझ, सिनेमा बनाएर सुत’ भन्न मिल्ने त्यो सिनेमा । मैले हेरेका धेरै नेपाली सिनेमा यो उखानलाई सुहाउने पाएको छु ।

अझ नेटफ्लिक्स, युट्युब र अमेजन प्राइमजस्ता वैश्‍विक सिनेपर्दाले गर्दा त सिनेमाको भाषा र भूगोलको राष्ट्रियता पनि भत्कियो । अब आफूलाई मन पर्ने र उपयोगी लाग्‍ने जुनसुकै भाषाको श्रव्य–दृश्य चलचित्र तपाईंको र मेरो सिनेमा हुने दिन आए ।

समाज खोतलेर, जातजाति, क्षेत्रका संस्कृति र जीवनशैली झिकेर नवीन कथामा र कथा भन्ने फेरिएको शैली लिएर खुब सिनेमा बनेका छन् पछिल्लो दस वर्षमा । तर पनि यिनको सार एउटै–एउटै छः मुख्य पात्रको मरिहत्ते गाउँले जीवन र सहरिया सभ्यता भिडाइदिने, मुख्य पात्रको मरिहत्ते पैसा, तरुनी, जाँड, मुक्कामुक्की र बदलावैरीमा लगाइदिने । एकैनासका कबड्डी सिक्‍वेल अब बन्द गरे हुने हो । जात्रा र जात्रैजात्रा नि अब रोकेर समाजका पत्रैपत्र खोतल्न हिँड्ने बेला भयो । चलेका सिनेमाको सिक्‍वेल बनाउने काम नै खासमा दर्शकलाई गँवार सम्झिने काम हो । हिङ्ग बाँधेको टालो सुँघाएर हिरोइन खुवाउने चाला हो यो ।हलिवुड, बलिवुडले त बनाउँछन् भनिएला । त्यसमा पनि देखासिखी गरेर सिक्‍वेल बनाउनु र साँच्ची नै कथाको क्रममा अर्कै संसार सिर्जना गरेर सिक्‍वेल बनाउनु पनि फरक कुरा होलान् । तैपनि सबै एकै हुन् । उही सर्वव्यापी बूढो बाजेको पेडा देखाएर पेडा बेच्‍नेजस्तै ।

पहिले भाषाको अप्ठ्यारोले गर्दा आफूले जानेका भाषाका सिनेमा मात्रै हेर्नुपर्ने हुन्थ्यो । हामी नेपालीका लागि नेपाली, हिन्दी र छिटफुट बंगाली सिनेमा मात्रै थिए । अब अंग्रेजी जानेको मान्छे भए संसारका सबै सिनेमा हेर्न र त्यसको फाइदा लिन सकिने जमाना आयो ‘सब टाइटल’ ले गर्दा । अझ नेटफ्लिक्स, युट्युब र अमेजन प्राइमजस्ता वैश्‍विक सिनेपर्दाले गर्दा त सिनेमाको भाषा र भूगोलको राष्ट्रियता पनि भत्कियो । अब आफूलाई मन पर्ने र उपयोगी लाग्‍ने जुनसुकै भाषाको श्रव्य–दृश्य चलचित्र तपाईंको र मेरो सिनेमा हुने दिन आए । दक्षिण कोरियामा बनेको ‘स्‍क्‍विड गेम’ ले रैथाने भाषा र मौलिकताको घेरा भत्काएर विश्‍व दर्शकमा मच्चाएको तहल्का एउटा उदाहरण हो । अब नेपाली सिनेमा बनाउनेले पनि नेपाली भाषामा, नेपाली खुराककै सिनेमा विश्‍वदर्शकका लागि बनाउने हो । यो सम्भव भयो अब । सिनेमा निर्माणका राम्रा उत्पादन हेर्न विश्‍वदर्शक आँखा तिखारेर घर–घरको पर्दाअघि तयार बसेको छ । भाषा र बजारको पनि समस्या भएन अब ।

यस दृष्टिले हेर्दा हाम्रो नेपाली सिनेमा राम्रोसँग उद्योग नै बन्‍न नपाई संसारभरिका सिनेकर्मीका उत्पादनको भूमरीमा छिर्न बाध्य भयो । नेपाली दर्शकको पहुँच पनि विश्‍व बजारका सबै भाषाका सिनेमासम्म पुगिसकेकोले उपभोगले उपभोक्तामा निर्माण गर्ने आलोचनात्मक चेत पनि निक्कै माथि पुगिसक्यो नेपाली दर्शकको, जसलाई हामी नेपाली सिनेमाको दर्शक भन्छौँ, ती अब दुनियाँका सिनेमाको दर्शकसमेत हुन् । त्यसमाथि सोसल मिडियाको प्रजातन्त्रमा खल्तीबाट पैसा झिकेर हेरेको सिनेमाले सन्तुष्टि दिएन भने तुरुन्तै निर्मम समीक्षक भएर आफ्नो कुरा लोकलाई सुनाउन निस्किन्छन्, अब हरेक दर्शक । यस्तो घडीमा सपाट प्रेमकथा र तिनलाई रंगीन बनाउन थपिने दुईचार फिल्मी–चकलेटी गीत र आइटमले मात्रै कसरी तान्ला त नेपाली दर्शकलाई चाहिँ ?           

प्रकाशित: ७ फागुन २०७८ २०:२१ शनिबार

चेतलुङ
चेतलुङ