१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
सौन्दर्यवोध राजनीति समाज साहित्य

साहित्यमा राजनीति

पृथ्वीमा हावा हुन्छ, समाजमा राजनीति

साहित्यमा राजनीति
तस्बिर सौजन्‍यः महेन्द्र ओझा/एन.एस.टेलिभिजन

फागुन २१ गते मकवानपुरको हेटौंडामा ‘आँचल साहित्य तथा कला पुञ्‍ज’ को बहस कार्यक्रममा राखिएको एक शीर्षक थियो- साहित्यमा राजनीति । त्योभन्दा निकै पहिले उन्मुक्त पुस्ताले पनि यसै शीर्षकमा चलाएको कार्यक्रममा सहभागी हुने अवसर मिलेको थियो । एउटै आशयका दुई छुट्टाछुट्टै कार्यक्रममा एउटै व्यक्तिले विचार प्रवाह गर्ने अवसर प्राप्त गर्नु मेरा लागि सुखद संयोग थियो । 

साहित्यमा राजनीतिको कुरा गर्नुअघि, सर्वप्रथम यो कुरा बुझ्‍न जरुरी छ कि राजनीति भनेकै के हो ? अर्थात् हामीले बुझेको राजनीति के हो ? धेरै अर्थमा के भन्‍न सकिन्छ भने हामीले बुझेको राजनीति, झरीका च्याउझैं खुलेका अनेकौँ राजनीतिक पार्टी र तिनले भाग लिने आवधिक निर्वाचन हो । खास-खास समयमा चुनाव हुन्छ र खास-खास राजनीतिक पार्टीलाई भोट दिनु नै राजनीति हो । निर्वाचनमा कांग्रेस, एमाले, माओवादी, राप्रपा भनिने आदि-इत्यादी पार्टीलाई भोट दिएपछि हाम्रो राजनीतिक कर्म अर्थात् हाम्रो भूमिका सकिन्छ।

त्यसपछि हामी बिर्सन्छौँ कि हाम्रो भोटको बलले कोही प्रतिनिधि जितेर जान्छन्, माननीय, मन्त्री हुन्छन्, हाम्रै करले जम्मा भएको राजस्वले पोषित हुन्छन्, हेलिकप्टर चढ्छन्, भ्रष्टाचार गर्छन् । हामी मौन भएर हेरिरहन्छौँ र राजनीति गर्नलाई फेरि अर्को चुनाव पर्खन्छौँ । यही कारणले पछिका पुस्ता राजनीतिप्रति अलगाव-भाव राख्छन् । राजनीति भन्‍नासाथ टाढा भाग्छन् । उनीहरू भन्छन्- ‘पोलिटिक्स इज अ डर्टी गेम’ । 

तस्बिर सौजन्‍यः महेन्द्र ओझा/एन.एस.टेलिभिजन

खासमा हामीले हाम्रा पछिल्ला पुस्तालाई सिकाउन सकिरहेका छैनौँ कि राजनीति भनेको त्यति मात्र होइन । सिकाउन पनि कसरी सक्नु ? जब कि खुद हामीले बुझेको राजनीति भनेकै यत्ति हो । हामीले भन्‍न सकिरहेका छैनौँ कि राजनीति भनेको समाज रूपान्तरण गर्ने एक निरन्तर र अविच्छिन्‍न औजार हो । समाजमा व्याप्त विभेद, विसङ्‍गति र अन्तर्विरोधसँग लड्ने वैचारिक हतियार हो । समाजलाई उन्‍नत, समतामुलक, न्यायपूर्ण र विवेकशील बनाउने दर्शन हो, जो तथाकथित चुनावभन्दा धेरै पर र धेरै पुरानो कित्ताको निरन्तर प्रक्रिया हो ।

मानव सभ्यता कृषि क्रान्तितर्फ उन्मुख भएपछि मानिस स्थायी र रैथाने समाजको खाकामा बाँधिए । अनेक सामाजिक नियमहरू बने । निजी सम्पत्तिको उदय भयो । वर्गहरू जन्मिए । वर्गको अभ्याससँगै राज्यको उत्पत्ति भयो । त्योभन्दा अघि स्वतन्त्र सत्ताका रूपमा रहेका महिला, निजी सम्पत्तिको अवधारणामा खुम्चिँदै गए । यो लगभग आठ हजार वर्षभन्दा पुरानो परिघटना हो ।

हामीले भन्‍न सकिरहेका छैनौँ कि राजनीति भनेको समाज रूपान्तरण गर्ने एक निरन्तर र अविच्छिन्‍न औजार हो । समाजमा व्याप्त विभेद, विसङ्‍गति र अन्तर्विरोधसँग लड्ने वैचारिक हतियार हो ।

राज्यको अवधारणा र अभ्यासले कसैलाई शासक बनायो, कसैलाई शासित । कसैलाई मालिक बनायो, कसैलाई दास । राज्यले आफ्नो शासन अक्षुण राख्‍नका लागि अनेक संहिताको रचना गर्‍यो । अनेक नीति परख गर्‍यो । त्यसैलाई राजनीति भनियो । त्यति पुरानो समयदेखि प्रत्येक व्यक्ति राज्यको एक इकाईको रूपमा बन्धित हुन पुग्यो । त्यति नै पुरानो समयदेखि महिलामाथि पितृसत्ताको अभेद्य व्यूह खडा गरियो । ३५ सय वर्षदेखि मानव समूहको एक ठूलो हिस्सा अछूत भएर बाँच्‍न विवश भए । राज्यसत्ताको अभ्यासकै क्रममा कोही मूलधारमा समाहित भए, कोही सीमान्तकृत हुन पुगे । प्रकृति, समाज, उत्पादन-सम्बन्ध, यौन, प्रेम, अर्थतन्त्र राज्यका एक-एक हिस्सा बने । तिनलाई राज्यको नीतिले नियन्त्रण गर्‍यो ।

राजनीतिको विषयमा यतिका छलफल गरिसकेपछि अब अर्को प्रश्‍न खडा हुन्छ- साहित्य भनेको के हो ? 

साहित्य भनेको तिनै समाजका घटना-परिघटनाद्वारा निसृत अनुभूतिको भाषिक अनुकृति हो । भाषामा अभिव्यक्त हुने हुनाले घटनाप्रद अनुभूतिको भट्टीमा भाषा खारिने भयो । खारिएको भाषामा व्यक्त हुने हुनाले ती साहित्य भए । अर्कोतर्फ साहित्य निर्माणमा जब भाषा खार्ने उपक्रम चल्छ, त्यसपछि ती भाषा निरपेक्ष या स्वतन्त्र नरहने भए । खारिएको शब्दले सापेक्षित अर्थ बोकेर हाजिरी जनाउँछ । उदाहरणका लागि गोपालप्रसाद रिमालको सानो हरफलाई हेरौँ !

आमा ! त्यो आउँछ र ?
हो बा त्यो आउँछ

यहाँ ‘त्यो’ भन्‍ने एउटा सानो शब्द जुन सचेतन रूपले प्रयुक्त छ, त्यो कविको कलमले पक्रिनुसाथ अर्कै भएर प्रकट हुन पुग्छ । एकैछिन अघिसम्म निरपेक्ष मानिएको शब्द एक खास लक्षणामा उपस्थित हुन्छ । ‘त्यो’ ले बेग्लै किसिमको राजनीतिक परिदृश्यको सङ्‍केत गर्छ । अथवा, त्यसमा पूरापूर राजनीति समाहित हुन आइपुग्छ । 

भनिरहनु पर्दैन, मानिस सामाजिक प्राणी हो । सामाजिक हुनुको अर्थले ऊ समाजको एक सदृश्य त हो नै, ऊ समाजप्रतिको एक सक्रिय सदस्य पनि हो । फरक यति कि राज्यको उत्पत्ति या आधुनिक राज्यको अवधारणापछि उसको दायित्व राज्यको निगरानीभित्र रह्‍यो । यसरी मानिसका पीडा, कुण्ठा, उत्पीडन, सुख, दुःख यहाँसम्म कि उनीहरूका यौन, प्रेम पनि कुनै न कुनै नियमको नियमनभित्रै पर्छ ।

सारा नियन्त्रण र नियमनको जिम्मा राज्यसँग हुने भएपछि भन्‍न सकिन्छ कि जीवनका अधिकांश आयाम राजनीतिसम्मत हुन् । अझ मार्क्सले भन्‍नु भएको छ- मानिस आर्थिक प्राणी हो । यसबाट झन् स्पष्ट हुन्छ कि मानिसका सारा उत्पादन-सम्बन्ध र आर्थिक संरचना राजनीतिक विषय हुन् । 

अब कल्पना गरौँ, त्यतिका समयदेखि राज्यको इकाईका रूपमा रहेको मानिसले व्यक्त गर्ने कुनै विषय कसरी गैर राजनीतिक हुन्छ ? कसरी निरपेक्ष हुन्छ ? माथी भाषाको कुरा गर्यौँ । लामो समयसम्म हाम्रोमा राज्यको भाषा छुट्टै रह्‍यो/रहेको छ । राज्यको छुट्टै धर्म, संस्कृति, राष्ट्रियता र एकल जातीय शासन रहेपछि त्यो भित्रका जनता कसरी राजनीतिभन्दा निरपेक्ष रहन्छन् ? 

राज्यको आफ्नै विशिष्ट भाषा भएपछि भाषाले राजनीति गर्ने नै भयो । लामो समयसम्म राज्यले राज्य संचालनको एकात्मक सूत्र घोकायो । हिमाल, पहाड, डाँफे, गुँरास, मेची-कालीको महिमा-गान गाएर शासकीय राष्ट्रवादको राजनीति गरिरह्‍यो । हामीले त्यसका विरुद्ध सामाजिक समावेशिता र सहअस्तित्वको साहित्य लेखेर प्रतिरोधी राजनीति गरिरह्‍यौँ।

आज नेपालमा मुख्यतः तीन खाले साहित्य/कलाकर्मीहरू भेटिन्छन् । पहिलो, संस्थापन पक्षीय साहित्यकार, जसले स्थापित सत्ता र मुल्यको सेवा गर्छन् तथा साहित्यको नाममा ठाडो हिसाबले शासकीय राजनीति गर्छन् । दोस्रो, प्रतिपक्षीय साहित्यकार, जसले शासन सत्ताले लादेको सबै खाले वञ्‍चिती र उत्पीडनका विरुद्धमा कलम चलाएर अर्को ढंगको राजनीति गर्छन् । तेस्रो, शुद्धतावादी साहित्यकार, जो विशुद्ध कलाको जिकिर गर्छन् । उनीहरू त्यस्ता शुद्धतावादी साहित्यकार हुन्, जसले साहित्यमा राजनीति लेख्‍नु हुँदैन भनेर उठ्दै गरेको मुक्ति र विद्रोहको स्वरलाई दबाउन सबभन्दा ठूलो राजनीति गर्छन् । यसरी हरेक कित्ताका साहित्यकारले आ-आफ्नो पक्षको राजनीति गरिरहेका हुन्छन् ।

लामो समयदेखि राज्यको इकाईका रूपमा रहेको मानिसले व्यक्त गर्ने कुनै विषय कसरी गैरराजनीतिक हुन्छ ? कसरी निरपेक्ष हुन्छ ? राज्यको छुट्टै धर्म, संस्कृति, राष्ट्रियता र एकल जातीय शासन रहेपछि त्यो भित्रका जनता कसरी राजनीतिभन्दा निरपेक्ष रहन्छन् ? 

आममानिस भन्‍ने गर्छन्, विशुद्ध माया प्रेमको गीत/कवितामाथि राजनीतिक हिलो नछ्यापौँ । किनभने त्यहाँ राजनीति हुँदैन । त्यसो भए प्रश्‍न गरौँ- नवराज विकको प्रेमोत्सर्गलाई के भन्‍ने ? किन उसले प्रेमकै नाममा बलि हुनुपर्‍यो ? के त्यहाँ राजनीति छैन ? प्रेमीहरू अक्सर प्रेममा असफल भएपछि कतिले उदासी र विरहको गीत गाउँछन् । विछोडको कथा गर्छन् । झट्ट सुन्दा त्यहाँ राजनीति छैन जस्तो लाग्छ । 

तर, यसो सोँचौ त किन उनीहरू नचाहँदा नचाहँदै पनि छुट्टिन पुग्दा हुन् ? असमेल प्रेम, अन्तरजातीय प्रेम, अन्तर्वर्गीय प्रेमले निम्त्याएको विग्रहका लागि के फगत प्रेमलाई मात्रै दोष दिन मिल्छ ? के त्यसको परोक्षमा राजनीति हुँदैन ?

तस्बिर सौजन्‍यः महेन्द्र ओझा/एन.एस.टेलिभिजन

हामी सबैले सुनेको, मन पराएको एउटा गीत छ- ‘चालीस कटेसी रमाउँला’ । त्यसो त गीतका सर्जकले रमाउनका लागि त्यत्रो वर्ष कुर्नुपर्ने परिघटनाको दोष नियतिलाई दिएका छन् । तर, सोचौँ, चालीस कटेपछि मात्रै रमाउन पाउने, त्यसका लागि विदेश गएर रगत-पसिना बगाउनै पर्ने अवस्थाको सृजना के भाग्यको खेल मात्रै हो ? के त्यहाँ राज्यसत्ताको कुनै हात छैन ? 

आठ हजार वर्षदेखि पितृसत्ताको कोपमा परेका कुनै महिलाले, जब साहित्यको नाममा कुनै सृजना लेख्छिन्, के त्यो फगत आत्मरञ्‍जनको चकचक मात्र हो ? तीन हजार वर्षदेखि निरन्तर अछूतको जीवन भोगिरहेको कुनै अछूतले लेखेको ‘दलित’ शब्द के एउटा निर्जीव शब्द मात्र हो ? झन्डै दुई हजार वर्षदेखि हामी आफैं पनि राज्यसत्ताको कथित केन्द्रदेखि अलग-थलग छौँ । र, अहिले जुन भाषा बोलिरहेको छु, के यो आत्मरञ्‍जनका लागि मात्र बोलिएको भाषा हो ? अढाई सय वर्षदेखि कथित देशको परिकल्पनाभन्दा बाहिर रहेर पनि देशकै सुरक्षार्थ खटिरहेका मधेसी समुदायको राष्ट्रवाद के फगत लफ्फाजी हो ?

पृथ्वीको वायुमण्डलमा हावा हुन्छ । समाजको वायुमण्डलमा राजनीति हुन्छ । हावाले हामी सास फेर्छौँ । राजनीतिले कविता लेख्छौँ ।

यो त भयो साहित्यको कुरा । अब योभन्दा पर हटेर पनि एकछिन सोचौं । कहाँ छैन राजनीति ? तपाईं घरबाट निस्केर कार्यालय या कतै जाँदै हुनुहुन्छ, सडकमा तपाईं पसिना पुछ्दै पैदल हिँडिरहनु भएको छ । छेवैबाट तपाईं जस्तै कोही पजेरोमा हुइँकिन्छ । के त्यहाँ राजनीति छैन ? 

तपाईंले थाहै नपाई अचानक तपाईंको भान्छाको ग्यासको भाउ बढ्छ । के त्यो राजनीति होइन ? बागमती र मनहरा खोलाको किनारभरि आलिसान महलको छायाँमुनि बग्रेल्ती छरिएर रहेका सुकुम्बासी बस्ती भेटिन्छन् । के त्यो गैरराजनीतिक विषय हो ? शहरभरि अनेक सुपरमार्केट र मल ठडिएका छन् । त्यहाँ भीड छ तर के त्यहाँ सबैको पहुँच छ ? अथवा नयाँ सडकमा एकछिन टहल्न निस्कनुस् ! के त्यहाँ एकै किसिमका या एउटै वर्गका मानिस भेटिन्छन् ? के त्यहाँ राजनीतिको गन्ध भेटिँदैन ? 

अन्तिममा एउटा बुँदा थपौँ । पृथ्वीको वायुमण्डलमा हावा हुन्छ । समाजको वायुमण्डलमा राजनीति हुन्छ । हावाले हामी सास फेर्छौँ । राजनीतिले कविता लेख्छौँ ।

(आंचल साहित्य कलापुञ्‍ज, मकवानपुरले फागुन २०–२१ हेटौँडामा आयोजना गरेको बृहत साहित्य महोत्सव ०७८ मा  व्यक्त गरिएको मन्तव्यमा आधा‍रित।)

 

प्रकाशित: ८ चैत २०७८ ११:२७ मंगलबार

चेतलुङ
चेतलुङ