११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
सौन्दर्यवोध मधेस-थरुहट कला

सरिता साहस

रंगमञ्चबाट चेतनाको दियो जलाउँदै

सरिता साहस
तस्बिरः छम गुरुङ/चेतलुङ

१० माघ ०७८ को चिसिँदो साँझमा नाटक सकिएलगत्तै दर्शकहरू शिल्पी थिएटरबाहिर यसरी निस्के, मानौँ- उनीहरूभित्र अशान्त समुद्र छचल्किरहेछ, जहाँ हजारौं नागरिकताविहीन परिचयका टुक्राहरू तैरिँदै छन्- डुब्दै छन् । नाटक थियो- ढकिया मे नागरिकता । 

कोभिडले थला पारेको महामारीग्रस्त परिस्थितिमा रंगमञ्‍चहरू बन्द थिए । तर, सरिता साहले नाट्य-गतिमा कुनै विश्राम-चिन्ह लाग्‍न दिइनन् । लकडाउन हुँदा उनले ‘अनलाइन चौतारी’ भन्‍ने ‘प्लेब्याक थिएटर’ जारी राखिन् । 

त्यही क्रममा महोत्तरीका एक दर्शकले आफ्नो जीवन अनुभव सुनाए, जसले १३ वर्षदेखि नागरिकताकै लागि लगातार संघर्ष गर्नु परेको थियो । नागरिकताका लागि व्यक्तिगत वा पारिवारिक रूपमा ती दर्शकले जति संघर्ष गर्नु परेको थियो, सायद त्यति संघर्ष कसैले गर्नु परेको थिएन । मधेसका नागरिकले झेलिरहेको नागरिकताको संघर्षले उनलाई झक्झकाइदियो । 

त्यसपछि नै साहले ढकिया मे नागरिकता लेखिन् । उनले निर्देशिन गरेको यो नाटकमा उनी स्वयं मुख्य पात्र थिइन् । नागरिकताका लागि बेला-बेला भइरहने आन्दोलनमा उनले पनि रंगमञ्‍चमार्फत ऐक्यबद्धता जनाउन चाहिन् । सुरुमा नागरिकताको विषयलाई रंगमञ्‍चबाट नभएर सिनेमामार्फत अघि बढाउने सोच उनको थियो । तर, लकडाउन खुलेसँगै उनले पटक-पटक आफैँसँग मन्थन गरिन् । 

उनलाई लाग्यो- विषयवस्तुलाई अघि बढाउन नाटक नै बलियो माध्यम हो, जसमा दर्शकसँग जीवन्त संवाद गर्न सकिन्छ । यो नाटकभन्दा पहिले साहले दुईवटा नाटक निर्देशन गरिसकेकी थिइन् । सुरुमा उनले नयनराज पाण्डेकृत उपन्यास लूलाई नाटकमा ढालेर निर्देशन गरेकी थिइन् । दोस्रो नाटकमा काशीदेवीलाई रोजिन्, जुन नाटक सहिद दुर्गानन्द झाकी श्रीमती काशीदेवीको जीवनीमा केन्द्रित छ । काशीदेवीको भूमिकामा पनि सरिता आफैँ थिइन् । 

सयौँ वर्षदेखि संस्कारको रूप धारण गरिसकेको रुढिलाई सरिताले आफ्नो बुताले सकेसम्म चुनौति दिने गर्थिन् । तर, विभेदलाई काँधमा बोकेर हिँडेको पितृसत्तात्मक समाजले घरी-घरी उनलाई होच्याउँथ्यो । उनी सम्झन्छिन्, ‘दाजुभाइले कुट्दा उनीहरूले कुटे भनेर गुनासो गर्दा पनि अभिभावकले भन्थे- अनि के भो त ? छोरा मान्छेले कुटिहाल्छ नि !’ 

महोत्तरीस्थित टिम्किया भन्‍ने सानो गाउँमा जन्मिएकी साहको परिवार भने ठूलो थियो । बुबाका पाँच दाइभाइ संयुक्त परिवारमा बस्थे । परिवार नछुट्दै उनी जन्मेकी थिइन् । त्यहाँको चलनअनुसार, घरभित्र कसैले जन्म लिइरहँदा आफन्तहरू बाहिर कुर्ने गर्छन् । घरबाहिरको त्यो कुर्ने ठाउँलाई ‘दुरा’ भनिन्छ । उनी जन्मिँदा पनि आफन्तहरू दुरामा पर्खिरहेका थिए । अपेक्षित छोराको ठाउँमा उनले जन्म लिएकी थिइन् । उनी जन्मिएलगत्तै हजुरआमाबाहेक दुरामा बसेका सबैले एक-एक गर्दै छोडेर गए ।

‘छोरा जन्माउनका लागि बुबालाई अर्को बिहे गर्ने दबाब थियो, तर बुबाले मान्‍नु भएन ।’ उनले भनिन् । पुरानो पुस्ताको भए पनि साहलाई हजुरआमा संघर्षकी प्रतीक लाग्छिन् । घरमा महिला र पुरुषका बीचमा हुने असमान व्यवहारमा हजुरआमा जहिले पनि छोरी पुस्ताको पक्षमा उभिइन् ।

संयुक्त परिवारमा साहकी आमा कतिसम्म व्यस्त हुन्थिन् भने घरधन्धाबाट समय निकालेर उनी आफ्नै छोरीहरूलाई समेत खाना खुवाउन भ्याउँथिनन् । खुवाउने काम कान्छी काकीको हुन्थ्यो । 

सामाजिक मनोविज्ञानलाई देशमा भएका विभिन्‍न सामाजिक आन्दोलन या राजनीतिक क्रान्तिले समेत फेर्न सकेको थिएन । छोरी मात्र हुने परिवारलाई हेर्ने सामाजिक दृष्टिकोण उही पुरातनपन्थी थियो । कहाँसम्म भने घरमा कोसेली लिएर आउँनेहरूमा समेत यो विभेदले जरा गाडेको थियो । छोरा हुने परिवारमा धेरै कोसेली र छोरी मात्र हुने परिवारमा थोरै कोसेली ल्याउने चलनले तिनताका समाजलाई निर्देशित गरिरहेको थियो ।

कुनै दिन रंगमञ्‍चमा उभिएर अभिनय गर्नेछु भन्‍ने लाग्थ्यो त ? भन्‍ने प्रश्‍नमा उनी भन्छिन्, ‘यहाँसम्मको यात्राको कल्पना मैले सहजै गरेकी थिइनँ किनभने अभिनय गर्नु एक प्रकारको अपराध मानिन्थ्यो त्यहाँ ।’ 

विभेदको जब्बर जालो च्यात्‍नु उनका लागि सहज थिएन । सयौँ वर्षदेखि संस्कारको रूप धारण गरिसकेको रुढिलाई उनले आफ्नो बुताले सकेसम्म चुनौति दिने गर्थिन् । तर, विभेदलाई काँधमा बोकेर हिँडेको पितृसत्तात्मक समाजले घरी-घरी उनलाई होच्याउँथ्यो । उनी सम्झन्छिन्, ‘दाजुभाइले कुट्दा उनीहरूले कुटे भनेर गुनासो गर्दा पनि अभिभावकले भन्थे- अनि के भो त ? छोरा मान्छेले कुटिहाल्छ नि !’ 

जोडले हाँसेको थाहा पाएमा कुटाइ खानुपर्ने । साइकल चलाउन नपाइने । टिभी हेर्न बन्देज । छोरामान्छेसँग शिर निहुर्‍याउनु पर्ने । अथवा भनौँ, ती सबैथोक जे पुरुषले गर्न पाउँछन् ती गर्न नपाइने र जे पुरुषले गर्नु हुँदैन भनिन्थ्यो त्यही नै छोरीले गर्नुपर्ने सामाजिक संस्कारको नियन्त्रणमा उनी हुर्किनु पर्‍यो । त्यति ठूलो बन्देज र अवरोधबीच उनको रंगमञ्‍चसम्मको यात्रा आफैँमा कुनै सिनेमाभन्दा कम छैन । 

आज उनको अभिनय-कला र निर्देशन गर्ने सीप देखेर काठमाडौंका दर्शक मात्र होइनन्, टिम्कियाका आममानिससमेत आश्‍चर्य मान्छन् । उनी भन्छिन्, ‘फिल्म हेर्न नपाइने भने पनि म आफ्नी ठूल्दिदीसँग लुकी-लुकी टिभी हेर्न पुगिहाल्थेँ । फिल्म हेर्दा मलाई पनि त्यस्तै नक्कल गर्न मन लाग्थ्यो ।’ कुनै दिन रंगमञ्‍चमा उभिएर अभिनय गर्नेछु भन्‍ने लाग्थ्यो त ? भन्‍ने प्रश्‍नमा उनी भन्छिन्, ‘यहाँसम्मको यात्राको कल्पना मैले सहजै गरेकी थिइनँ किनभने अभिनय गर्नु एक प्रकारको अपराध मानिन्थ्यो त्यहाँ ।’ 

तस्बिर सौजन्यः सरिता साह

उनी थप्छिन्, ‘तर, यहाँसम्मको यात्रा म एक्लैले मात्र गरेको होइन । मसँगै मेरो समाजले यात्रा गरिरहेको छ । त्यसैले मलाई यहाँसम्म बढाउन धेरै जनाको हात छ ।’ स्पष्ट रूपमा के बुझ्‍न सकिन्छ भने उनको रंगमञ्‍चसम्मको यात्रामा बाल्यकालीन संघर्ष र आमा-बुबाको साथले पनि उनलाई निरन्तर उत्प्रेरित गरिरहेको छ । 

देशमै सबभन्दा ठूलो असमानताको मार मधेसी दलित समुदायका महिलाले बेहोर्नु परेको बताउँछिन्, उनी । आक्रोशसहित एक सासमा भन्छिन्, ‘महिलाहरूका लागि पितृसत्ताबाट संरक्षित जातव्यवस्था नै सबभन्दा ठूलो बाधक हो ।’ 

उनलाई सानैदेखि पढाइमा गहिरो रुचि थियो । दलित र नेवारलगायत समुदायको बाक्लो उपस्थिति रहेको बस्तीमा उनले आफ्नो बाल्यकालीन शिक्षा लिइन् । ‘शिक्षकहरू गाउँघरकै भएको हुनाले हामीलाई अलि सजिलो भयो । मैथिलीमै पढाइदिन्थे । पाठ्यपुस्तक भने नेपाली भाषामै थियो । म जहिले पनि पहिलो बेन्चमै बस्थेँ’, उनी सम्झन्छिन् । त्यति मात्र होइन बुबाले खोलेको पसलमा समेत उनी पढी बस्थिन् । पसलमा सामान पोको पार्न राखिएका कागज या किताबका पानाका केही अंश पढ्दा-पढ्दै ग्राहक भन्थे- ‘पहिले हामीलाई सामान दे न ! अनि पढ !’

काठमाडौंमा पुगेपछि थिएटरमा नपढी सुखै भएन । पठन गति थप तीव्र हुँदै गयो । धेरैजसो किताबचाहिँ उनले शिल्पीमा आएरै पढिन् । विशेषतः नाटक, उपन्यास र कथा । रङ्गकर्मसँगै लेखन-निर्देशनमा समेत सक्रिय रहेर अघि बढिरहेकी उनलाई राम्रो पुस्तक पढेसँगै त्यस्तै लेख्‍न लोभ जागेर आउँछ । उनी महिलामाथि हुने हिंसाजन्य विभेद र असमानतालाई चिर्न शिक्षालाई सशक्त हतियार ठान्छिन् । भन्छिन्, ‘विभेद, हिंसा, अन्याय र असमानताको जरा उखेल्ने पहिलो औजार भनेकै शिक्षा हो ।’

देशमै सबभन्दा ठूलो असमानताको मार मधेसी दलित समुदायका महिलाले बेहोर्नु परेको बताउँछिन्, उनी । आक्रोशसहित एक सासमा भन्छिन्, ‘महिलाहरूका लागि पितृसत्ताबाट संरक्षित जातव्यवस्था नै सबभन्दा ठूलो बाधक हो ।’ 

रंगमञ्‍चमा निर्देशन र अभिनय गर्नुअघि उनले अन्यत्र पनि दुई-चार पाइला हिँडिसकेकी छन् । यसअघि उनी रेडियोमा काम गर्थिन् । ‘एन्टेना फाउन्डेसन नेपाल’ मा ‘ड्रामा प्रोड्युसर’ का रूपमा काम गर्दा आर्जन गरेको ज्ञानले उनलाई आज पनि त्यति नै सहयोग गरिरहेको छ । ‘लेख्‍ने कला एन्टेना फाउन्डेसनबाट सिकेँ र तिखार्ने काम शिल्पीमा गरिरहेकी छु ।’ 

तस्बिर सौजन्यः सरिता साह

साहको जीवनमा नारी  नाटक त्यस्तो मोड बनेर आएको थियो, जहाँबाट उनी रंगमञ्‍चमा पखेटा फिँजाएर उड्न थालिन् । यो यात्रा कहाँ गएर रोकिने हो त ? उनी उनाउँछिन्, ‘मानिसको जीवनको कुनै टुङ्गो नभएजस्तै उचाईको पनि टुङ्गो हुँदैन । तर, यो यात्रामा म सधैँ विभेद र अन्याकै विरुद्ध बोल्छु भन्‍ने निश्‍चित छ ।’ 

रंगमञ्‍चमा निर्देशन र अभिनय गर्नुअघि उनले अन्यत्र पनि दुई-चार पाइला हिँडिसकेकी छन् । यसअघि उनी रेडियोमा काम गर्थिन् । ‘एन्टेना फाउन्डेसन नेपाल’ मा ‘ड्रामा प्रोड्युसर’ का रूपमा काम गर्दा आर्जन गरेको ज्ञानले उनलाई आज पनि त्यति नै सहयोग गरिरहेको छ । ‘लेख्‍ने कला एन्टेना फाउन्डेसनबाट सिकेँ र तिखार्ने काम शिल्पीमा गरिरहेकी छु ।’ 

जनयुद्ध र ०६२/६३ को जनआन्दोलनपश्‍चात् केही न केही परिवर्तन त भएको छ तर पुग्दो छैन । खासगरी नागरिकलाई गर्ने राज्यको व्यवहारमै समस्या छ । कर्मचारीतन्त्रमा मधेसीप्रति हेर्ने दृष्टिकोण पुरातन छ । ‘तैपनि, आज जसरी काठमाडौंमा गर्वका साथ सरिता साहले काम गर्न पाइरहेकी छ, त्यसमा ती आन्दोलनहरूको हात छ’, उनी स्पष्ट शब्दमा भन्छिन् । 

त्यसो त, साँचो परिवर्तन भने अझै आत्मसात् गर्न नपाएको बताउँछिन्, साह । आजसम्म पनि नागरिकतामा असमानता कायमै रहनु ठूलो विडम्बना भएको उनको ठम्याइ छ । फलस्वरूप ढकिया मे नागरिकता भन्‍ने नाटक गर्नु परेको भन्दै थप्छिन्- नागरिकताको समस्या यो देशको वास्तविक समस्या हो, जसले गणतन्त्रप्रति व्यंग्य गरिरहेको छ । जबकि, आमाको नाममा नागरिकता दिन सकिने प्रावधान संविधानभित्र कैफियतमा उल्लेख गरिएको छ । 

फेरि पनि राज्यको सोच-व्यवहार एकात्मक र काठमाडौंकेन्द्रित चिन्तनबाट मुक्त हुन चाहिरहेको देखिँदैन । थिएटर या रङ्गकर्मीहरू पनि त्यसैमा फस्दै गइरहेका हुन् कि भन्‍ने जिज्ञासामा यो संवादको अन्तमा उठ्नै लाग्दा उनले भनिन्- ‘छमजी, मेरा जराहरू टिम्कियामै छन् । त्यसैले त्यहीँ एउटा थिएटर खोल्ने सोच छ ।’
 

प्रकाशित: १५ चैत २०७८ १७:४३ मंगलबार

चेतलुङ
चेतलुङ