१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
सौन्दर्यवोध समाज संस्कृति महिला सम्पादकको रोजाइ

‘सुन्दरी प्रतियोगिता’ भित्र लुकेको कुरूप अनुहार

‘सुन्दरी प्रतियोगिता’ भित्र लुकेको कुरूप अनुहार

‘विश्‍वसुन्दरी’ प्रतियोगिताको एउटा एकाईका रूपमा नेपालमा पनि गत १० वर्षदेखि यता कथित सुन्दरी प्रतियोगिता हुँदै आएको छ । यस वर्ष पनि आउँदो साउन २३ गतेका दिन काठमाडौंमा हिडेन ट्रेजर र काठमाडौं जेसिजको आयोजना र डाबर वाटिकाको प्रायोजनमा ‘डाबर वाटिका नेपाल सुन्दरी प्रतियोगिता- २००४’ हुँदैछ । किन यो भैरहेको छ ? यसको उद्देश्‍य के हो ? र, देशको एउटा खास समुदाय र सरकारले किन यसको प्रचार-प्रसारमा जोड दिंदै आएको छ ? यी सबैका बारेमा सचेत रहनु प्रबुद्ध नागरिकको दायित्व हो ।

वास्तविक र सही सौन्दर्यको खोजी गर्नु वा सुन्दरतालाई उत्प्रेरित गर्नु सुन्दरी प्रतियोगिताको मूल उद्देश्‍य नै होइन । यो पूर्णरूपमा राजनीतिक र आर्थिक गतिविधि हो र यसमा विशेष किसिमको सांस्कृतिक राजनीतिले भूमिका खेलेको छ । विश्‍वव्यापी रूप लिएको खुलाबजार अर्थतन्त्र, उदारीकरण, ढान्चागत समायोजन, वित्तीय पूँजीको खेल र यसले विकसित गर्ने गरेको राजनीति र उपभोक्तावादी संस्कृतिसँग यो नराम्ररी जेलिएको छ । 

नारीहरूमा सुन्दर हुने होडबाजी चलाएर आफ्नो सत्ता, शोषण र आर्थिक-सांस्कृतिक स्वार्थ पूरा गर्ने शासकवर्गको यस कार्यलाई नेपालबाहिर हिजोआज ‘सुन्दरताको राजनीति’ भन्‍ने नाम दिइने गरेको छ । सन् १९६०को दशकपछि नारीवादी र नारीमुक्तिवादीहरूको संघर्षको परिणामस्वरूप युरोप र अमेरिकाका नारीहरू घरको चुलोचौकोबाट बाहिर निस्केर सार्वजनिक कार्यमा संलग्न हुन थालेपछि त्यहाँका शासकहरूले नारीहरूलाई नियन्त्रण गर्न अघि सारिएको यो नयाँ किसिमको हतियार थियो । 

त्यसैले सुन्दरी प्रतियोगितालाई ‘सुन्दरताको हतियार’ पनि भन्‍ने गरिन्छ । नारीलाई कुनै न कुनै किसिमले नियन्त्रण गर्न स्वार्थ मिलेका व्यवसाय, राजनीति र सुन्दरताका व्यापारीहरूको त्रिकोणात्मक सम्बन्धलाई यस किसिमका देशका सरकारहरूले प्रोत्साहन दिँदै आउनुमा यही कारण रहेको छ । नेपालमा पनि भएको यही नै हो । सुन्दरी प्रतियोगिताका विरोधीहरूमाथि सरकारले किन आक्रमण गर्दछ र यसका आयोजक-प्रायोजकलाई किन संरक्षण प्रदान गर्दछ  भन्‍ने कुराले पनि यस तथ्यलाई राम्ररी नै प्रस्ट पार्ने गरेको छ ।

सुन्दरी प्रतियोगिताको भित्री तहमा सम्पूर्ण साम्राज्यवादी-पूँजीवादी आर्थिक प्रणाली क्रियाशील रहेको हुन्छ । पूँजीपतिहरूले उत्पादन गरेका सामग्री बढी भन्दा बढी बिक्री गर्नका लागि बजार र बजार विस्तारको आवश्‍यकता हुन्छ, बजार विस्तारका लागि विज्ञापन गर्नुपर्ने हुन्छ र विज्ञापनका लागि मोडेलको आवश्‍यकता पर्छ । सुन्दरी प्रतियोगिताको वास्तविक उद्देश्‍य यही मोडेल उत्पादन गर्नु मात्र हो । 

त्यसैले यसमा नाफाखोरहरूको नाफाको उद्देश्‍य लुकेको हुन्छ, नारीको आत्मविश्‍वास, क्यारियर निर्माण, मानवीय सौन्दर्यको प्रतिनिधित्वको खोजीसँग यसको केही चासो हुँदैन । उल्टै यस्ता प्रतियोगिताले सुन्दरतासम्बन्धी विकृत धारणा विस्तारित गर्छन्, सौन्दर्यको भ्रम खडा गरेर समाजको ठूलो भागमाथि जबर्जस्ती थोपर्ने काम मात्र गर्छन् । मोडेल उत्पादनलाई सुन्दरी प्रतियोगिता भनेर ढाँटछल गरेबाट नै आयोजक-प्रायोजकको वास्तविक स्वार्थलाई बुझ्न नसकिने होइन ।

साँच्चै भन्‍ने हो भने सुन्दरी प्रतियोगितामा विजयी हुने युवतीले सर्वश्रेष्ठ सुन्दरी भएका कारणले मुकुट लगाउन पाएकी हुन्‍न । उसले त यो मुकुट खासमा निश्‍चित पूँजीपतिको हातमा एक साल वा निश्‍चित समयावधिका लागि बेचिएको कारणले पाएकी हुन्छे । सुन्दरी प्रतियोगितामा सहभागी हुने युवतीले निश्‍चित अवधिका लागि वा तोकिएको संख्यामा आयोजक-प्रायोजकको विज्ञापनको मोडेल सित्तैमा गर्ने र उसकै निर्देशन अनुरूप चलखेल गर्ने र विजयी भएमा निश्‍चित अवधिसम्म विवाह नगर्ने शर्तलाई पहिले नै सकारेपछि मात्र यसमा भाग लिन पाउँछे । 

सुन्दरी प्रतियोगिताको भित्री तहमा पूँजीवादी आर्थिक प्रणाली क्रियाशील रहेको हुन्छ । पूँजीपतिले उत्पादन गरेका सामग्री बिक्री गर्न बजार, बजारका लागि विज्ञापन र विज्ञापनका लागि मोडेलको आवश्‍यकता पर्छ । सुन्दरी प्रतियोगिताको वास्तविक उद्देश्‍य यही मोडेल उत्पादन गर्नु मात्र हो । 

त्यसैले सुन्दरी प्रतियोगितामा पहिलो हुनु भनेको निश्‍चित समयका निम्ति बेचिएकी मोडेल हुनु हो । मान्छे बेच्ने यस्तो परिपाटीलाई विवेकशील कसैले पनि समर्थन जनाउन सक्तैन ।

जतिसुकै बौद्धिकताको कुरा गरे तापनि सुन्दरी प्रतियोगितामा सुन्दरताको कसौटी भाग लिने युवतीको बाहिरी रूप वा यौवनलाई बनाइन्छ । जुन युवतीले आफ्नो शारीरिक बनोटका आधारमा बढी भन्दा बढी पुरुषहरूलाई आकर्षित गर्न सक्तछे र जुन युवती सबै भन्दा कामोत्तेजक लाग्दछे त्यही युवतीले विज्ञापन गरेको सामग्री बढी बिक्छ र धेरै नाफा आर्जन गर्न सकिन्छ भन्‍ने पूँजीपतिको आशयलाई नै निर्णायकहरूले अन्तिम रूप यस्ता प्रतियोगिहरूमा दिने गर्छन् । 

नारीहरूको इज्जत, गरिमा र हैसियतलाई कमजोर पार्ने, अपमान गर्ने, तल्लो स्तरमा खसाल्ने र उनीहरूको परिचयलाई शरीरमा मात्र सीमित गर्ने यस्ता प्रतियोगिताहरूको विरोध नारी समानता र स्वतन्त्रताको पक्षमा रहेकाहरूले गर्नु अस्वाभाविक होइन । उनीहरूको विरोध नै आधुनिकताको नाममा नारी सौन्दर्यलाई शरीर र अनुहारमा सीमित गर्न खोजिएकोमा, बजारमा बेच्ने सामानको अनुकूल सुन्दरतालाई परिभाषित गर्न खोजिएकोमा हो । 

उट्पट्याङ् प्रश्‍नहरूको उत्तर हाजिरजवाफीका रूपमा दिनुले ‘सोद्देश्‍य सौन्दर्य’ वा बौद्धिकताको प्रतिनिधित्व गर्दैन । यो वौद्धिकताको उपहास मात्र हो । कुनै व्यक्तिको बौद्धिकताको परीक्षण एकाध मिनेट हुन सक्छ भन्‍ने ठान्‍नु बौद्धिक टाटपल्टाइ मात्र हो । जसले आफ्नो छाती, नितम्ब र तिध्राको नाप दुरुस्त पार्न सम्पूर्ण समय लगाउँछ, त्यसले फलाक्ने आदर्श र समाजसेवाको वाचा बकवास बाहेक केही हुनै सक्तैन । 

पूँजीपतिको सामान बिक्रीको साधन बन्दा व्यक्तित्वविकास भएको देख्ने र आफ्नो मानवीय मूल्य आफ्नो यौन आकर्षण एवम् बाहिरी अनुहारमा छ भनेर घोषणा गर्ने प्रतियोगीलाई कसरी सुन्दरी मान्‍न सकिएला ? एक जना व्यक्तिले कुनै व्यवसाय भेट्टाउनुलाई सम्पूर्ण नारीको विकास ठान्‍ने दृष्टिकोण पनि एकदमै गलत छ ।

सुन्दरी प्रतियोगिताको अर्काे अति नकारात्मक पक्ष यसले संसारभर फैलाउने सांस्कृतिक आक्रमण र अतिक्रमण समेत हो । ‘विश्‍वसुन्दरी’, ‘ब्रह्माण्डसुन्दरी’का नाममा हुने गरेका सुन्दरी प्रतियोगिता र तिनकै सिको गर्दै विभिन्‍न देशमा गरिने सुन्दरी प्रतियोगिताले एकातिर सौन्दर्य र सुन्दर वस्तुका बारेमा गलत र भ्रामक विचारहरू फैलाउने काम गरिरहेका छन् भने अर्कातिर पश्‍चिमा, त्यसमा पनि खासगरी अमेरिकी उच्चवर्गको खास रूप र मानदण्डलाई सारा संसारमा एक मात्र सौन्दर्य हो भनेर थोपर्ने काम गर्छन् । 

अझ शारीरिक श्रम नगरेको, अनुभवहीन, ठेला नउठेको, दुःख नपाएको, पाउडर, लिपिस्टिकले छाला छोपेको, बच्चा नजन्माएको उन्मत्त यौवन भएको १९ देखि २४ वर्षको नारी शरीर मात्र सुन्दर हुन्छ भन्‍ने चिन्तन आफैंमा कुरूप र विकृत चिन्तनको परिणाम हो । विशुद्ध क्यारियर र पैसाको थुप्रोद्वारा जीवन सपार्ने गहिरो उपभोक्तावादी चिन्तन सुन्दरी प्रतियोगिताको विशेषता हो । यसले भूमण्डलीकरण गरिएको साम्राज्यवादी संस्कृतिका बेरोकटोकको छाडापन, जीवनको उद्देश्‍यहीनता, सामाजिक समस्याप्रतिको उदासीनता, चरम आत्मकेन्द्रिततालाई नै प्रश्रय दिने काम गर्छ । यसले जीवनका हरेक पक्ष, मनुष्य, उसको शरीर र मानवतासमेत उपभोग्य वस्तु मात्र देख्छ । 

पूँजीपतिको सामान बिक्रीको साधन बन्दा व्यक्तित्वविकास भएको देख्ने र आफ्नो मानवीय मूल्य आफ्नो यौन आकर्षण एवम् बाहिरी अनुहारमा छ भनेर घोषणा गर्ने प्रतियोगीलाई कसरी सुन्दरी मान्‍न सकिएला ?

सुन्दरी प्रतियोगिताका पक्षधरहरू आफ्नो देशको, आफ्नो समाजको र आम नेपाली नारीहरूको वास्तविकताप्रति बेवास्ता गरिरहेका छन् । देश वर्गीय, जातीय, लैङ्गिक शोषणमा मात्र होइन, हत्या-हिंसाको चपेटामा समेत छ । देशका नारीहरू सबैभन्दा बढी शोषित र पीडित छन् । उनीहरूले एकातिर संस्कृति र धर्मको नाउँमा स्थापित अन्धविश्‍वासहरू, रूढिहरू र पुरुषप्रधान रीति र नीतिहरूका विरुद्ध आन्दोलन गरिरहनु परेको छ भने अर्कातिर समानता र स्वतन्त्रताको लडाइँ लडिरहनु परेको छ । 

तर, यी कथित सुन्दरी प्रतियोगिताका आयोजक एवम् कथित सुन्दरीहरू नारीहरूका यस्ता समस्या र आवाजहरूलाई पिठ्यूँ फर्काउने काम गरिरहेका छन् । शान्तिको कामना किन स्वाङ् मात्र हो भने युद्ध समाप्त पार्ने काममा उनीहरूको प्रत्यक्ष सहभागिता र राजनीतिक हस्तक्षेप  गर्न कत्ति पनि तयार देखिंदैनन् ।  

यसरी सुन्दरी प्रतियोगिताले महिला र पुरुषहरूका साथै सम्पूर्ण मानिसहरूको समानता प्राप्तिको संघर्ष विरोधी संस्कृतिको प्रतिनिधित्व गरेको छ । यसले सबै मानवीय र सामाजिक सम्बन्धहरूलाई व्यापारीकरण गर्ने व्यवस्थामाथि टिकेको शोषणकारी संस्कृतिको प्रतिनिधित्व गरेको छ । त्यस कारण नाफाखोर साहुहरू र कम्पनीहरूको मात्र होइन सुन्दरी प्रतियोगिताका क्रममा तिनीहरूसँग कमिसन खाने र तिनको सेवा गर्ने सरकारको विरोध पनि जरुरी छ । नारीहरूलाई आधुनिकताको नाममा पैसाको कुम्लो थुपार्न जे गर्नु पनि ठीक हुन्छ भन्‍ने मानसिकता र त्यस्तो  चिन्तन राख्ने सामाजिक संघसंस्था एवम् राजनीतिक पार्टीहरूका विरुद्ध आवाज उठाउनु पनि आवश्‍यक छ ।

सौजन्यः निनु चापागाईं

प्रकाशित: ९ जेठ २०७९ ०८:१५ सोमबार

चेतलुङ
चेतलुङ