११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
एजेन्डा शिक्षा सम्पादकको रोजाइ

कोरोनाले दिएको शिक्षा र गन्तव्य

कोरोनाले दिएको शिक्षा र गन्तव्य
तस्बिर : रेजा/चेतलुङ

सोचिलो हलीको देशमा सोचहीन नेतृत्व

समस्याले सोच जन्माउँछ । मनोविद् त्यसै भन्छन् । अहिलेको समस्या हो, कोरोना । त्यसबारे के सोच बन्यो या बनाइयो त ? मैले देखेँ– हाम्रा नेतृत्वहरू सोच बनाउँदा रहेनछन् । समस्या मात्रै बनाउँदा रहेछन् । कोरोना आएपछि सबै डराए । स्कुल क्वारेन्टाइनमा । प्रविधिको सुविधा छैन । शिक्षक तथा प्राध्यापकहरूमा प्राविधिक ज्ञान छैन । प्रविधि प्रयोग गरिबमुखी हुँदैन । बरु विभेदकारी हुन्छ । यी र यस्ता कुरा गर्नु समस्या बनाउनु हो । समस्यीकरण गर्नु हो । सरकार, विश्वविद्यालय, राजनीतिक दलका जिम्मेवार पदाधिकारीहरू त्यही कोटीका हुन् । घाउमा नुन छर्कनेहरू । त्यो सोच हो र ? यो स्थितिको समाधान के हो भनी सोच्नु पो सोच होला त । मधेसको बारीमा हलीले हलो नउठाइकन घुमाएर जोत्छ । पहाडको कान्ले बारीमा हलीले हलो फर्काएर एकोहोरो जोत्छ । हिमाली फगटे बारीमा हलीले हलो उचाल्दै छेउ–कुनामा दाब्दै जोत्छ । ती महान सोचवाला हलीलाई सलाम गर्छु । कोरोनाको समस्या मात्र देखाउनेहरूलाई कसरी सोचवाला विद्वान् भनौँ ? कसरी देश हाँक्ने नेता भनौँ ? बुद्धिजीवी भनौँ ? मार्गदर्शक भनौँ ?

म त भन्छु– उनीहरू सोचहीन नेतृत्व हुन् । सोचहीन बुद्धिजीवी हुन् । सोचहीन राजनीतिक दल हुन् । सोचहीन क्रान्तिकारीहरू भ्रान्तिकारी मनोदशा हो । घडीको पेण्डुलमजस्तो बुद्धिको परिचायक हो ।

असंगठित विचारक र एककाँधे नेतृत्व

कोरोना अप्रत्याशित थियो । तर, आयो । यो रोगबाट कसरी बच्ने ? त्यसविरुद्ध शरीरमा क्षमता कसरी बढाउने ? कसरी यो बेला पढ्ने ? कसरी पढाउने ? निजी लगानीका स्वास्थ्य सेवा, स्कुल–कलेजबारे के गर्ने ? यी र यस्ता कुराहरू स्वतःस्फूर्त रूपमा बजारमा आए, समाधानसहित । ती विचारकहरू असंगठित थिए । तर, उपयोगी । तिनलाई संगठित गर्ने सोच नेतृत्वमा रहेन । केही उदाहरणहरू हुन्ः

(क) आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीका डाक्टरहरूले आ–आफ्ना जानकारीअनुसारका कोरोना प्रतिरोधी क्षमता बढाउने कुरा सुझाए । पेट्रोमेडिसिन/एलोप्याथीका विज्ञ, व्यापारी, अभ्यस्त आधुनिकतावादी तथा नेतृत्व सम्हालेका एककाँधेहरूले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीका डाक्टरहरूको खिल्ली उडाए । तर, तिनै पेट्रोमेडिसिन/एलोप्याथीका पक्षधरहरूमा कोरोना संक्रमण हुँदा आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीका डाक्टरहरूले सुझाएकै तरिका प्रयोग गरे । डा भोला रिजालको कोरोना अनुभवमा उनको शिक्षादीक्षाले काम गरेको देखिएन । त्यस्ता अनुभव भएकाहरूले पनि जनतालाई शरीरमा कोरोनाविरुद्ध क्षमता बढाउन यसो गरौँ भन्‍ने हिम्मत गरेनन् । यो बिन्दुसम्म आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीका डाक्टरहरूले ‘यो तरिका अपनाऊ’ भनेनन् । पेट्रोमेडिसिन/एलोप्याथीका डाक्टरहरूको हालीमुहाली हुँदाहुँदै उनीहरूले नेतृत्व लिएनन् । आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीका डाक्टरहरूलाई पनि नेतृत्व गर्न दिएनन् । परिणामतः जनताहरू अन्योलमै रहन बाध्य छन् । मुखौटो लगाउने, साबुनले हातधुने तथा रक्सी हातमा दल्ने र छुवाछुत गर्ने कुरामा मात्रै बाँच्‍न उनीहरू बाध्य भए । यसको असर भोलिका दिनमा देखिने पक्का छ । अक्सिजनको कमीले निम्तिने रोग बोक्ने । छालाको रोग बोक्ने । सामाजिक विभेद झन् बढाउने । हाम्रो नियति त्यही हुनेछ ।

मधेसको बारीमा हलीले हलो नउठाइकन घुमाएर जोत्छ । पहाडको कान्ले बारीमा हलीले हलो फर्काएर एकोहोरो जोत्छ । हिमाली फगटे बारीमा हलीले हलो उचाल्दै छेउ–कुनामा दाब्दै जोत्छ । ती महान सोचवाला हलीलाई सलाम गर्छु । कोरोनाको समस्या मात्र देखाउनेहरूलाई कसरी सोचवाला विद्वान् भनौं ? कसरी देश हाक्ने नेता भनौं ? बुद्धिजीवी भनौँ ? मार्गदर्शक भनौँ ?

 
(ख) घरमै बसेर जीवन, काम र पढाइ जोड्ने अनेकन उपायहरू शिक्षा विज्ञहरूले सुझाए– पठनपाठन, अनुसन्धानका । अनुसन्धान, अनुभव र पढाइ जोड्ने विधिका । काममै पढ्ने तरिकाका । उपलब्ध प्रविधिहरूमा पढ्ने–पढाउने विधिका । त्यसरी पढ्दा–पढाउँदा देखिने विभेद हटाउने उपायका । थरिथरिका परिवेशका विद्यार्थीको पढाइमा समकक्षता सुनिश्चित गर्ने तरिकाका ।

केही शिक्षकहरूले अभ्यास गरे । केहीले सिर्जना पनि गरे । प्राध्यापकले पनि त्यसै गरे । ती सोच तथा अभ्यासलाई संकलित गरेर क्याप्सुल बनाई लागू गर्ने चिन्तन बोली बिकेका विज्ञलाई आएन । तीनै तहका सरकारहरूलाई आएन । परिणामतः अबको नियति हो– जाने पनि, नजाने पनि पास । कक्षा चढ्ने । तह बढ्ने । गुणस्तरमा सम्झौता गर्ने–गराउने । 

(ग) जसरी पनि पढाउनुु पर्छ भन्‍ने शिक्षक तथा प्राध्यापकहरू औँलामा गन्‍ने संख्यामा छन् । तिनले काम पनि गरेका छन् । तर, ‘हुन्‍न, सकिन्‍न र सम्भव छैन’ भन्‍नेहरूको बोली नेतृत्वले बोक्यो । पत्रकारले बोक्यो । सरकारहरूले बोके । राजनीतिक दलहरूले बोके । कोही त अपवाद भई नै हाल्छ । यसले गर्दा हाम्रा ८७ लाख विद्यार्थी निरीह भए र बनाइए । तिनको पक्षमा बोल्नेहरू आँखी बने र बनाइए । भोलिको नियति हो– काम नगरी दाम खाने र खुवाउने संस्कारको वर्चस्व ।

(घ) शिक्षक, प्राध्यापक, कर्मचारी, विद्यार्थी, स्थानीय सरकार सबै दलकै कार्यकर्ता हुन् । लाज नपचाई भने हुन्छ– तिनीहरू स्वविवेकले काम गर्दैनन् । र, चाहँदैनन् पनि । चाहने र गर्नेहरू अपवाद हुन् । तिनको बोली बिकेको छैन । अपवाद बाहेककाहरूको अभिमुखीकरण हो– नेतृत्वको इसारा कुर्नु । ती इसारा कुर्ने बानी लागेका र लगाइएकाहरूलाई राजनीतिक दलका माउ नेताहरूले पेसागत रूपमा जिम्मेवार बन्‍ने आदेशै दिएनन् या दिन चाहेनन् ।

भोटवादीहरूले कामवादी बनाउने आवश्यकतै देखेनन् । परिणति हो– भोलि पनि पेसाइतरका कुरामा काम गर्नेकै हालीमुहाली हामीले देख्नुपर्छ । उदासीन नेतृत्वकै पछि लाग्नु पर्छ ।

(ङ) स्वास्थ्य र शिक्षामा निजीकरणको विरोध देखावटी रहेछ भन्‍ने जनताले बुझिसक्यो । त्यसको नजीर हो–दलका साथीहरूले निजी शिक्षा तथा स्वास्थ्यमा गरेको लगानी । तिनै निजीको लगानीमा राजनीतिक दलहरूले कार्यकर्ता पालेको कुरा सबैले बुझेका छन् । लगानी गरेर, कार्यकर्तालाई गरिखाने ठाउँ दिएर, निर्वाचनमा रकम मागेर र खनखाँचोमा रकम उठाएर सबै राजनीतिक दलहरूले निजी विद्यालय तथा स्वास्थ्य संस्थाको रकम पेटमा हालेका छन् । कसैको नियमित, कसैको पटके रूपमा, कसैको धम्क्याएर गोप्य रूपको रकम हात पारेका छन् । यो यथार्थले गर्दा निजी शिक्षा र स्वास्थ्यबारे सरकारको स्पष्ट बोली आएन । आउने सम्भावना पनि छैन । त्यसैले शिक्षा तथा स्वास्थ्य क्षेत्रका निजी लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’ को स्थितिमा छन् । यसले निम्त्याउने नियति हो– निजी लगानी कहाँ गर्ने/कहाँ नगर्ने ? गरेका लगानीको व्यवस्थापन कसरी गर्ने र कसले गर्ने भन्‍ने कुरा अन्योलमै राख्‍ने । जनतालाई हिजोकै कुरा सुनाउने । निजीलाई पनि तालको पानी बनाउने । नफुटुन्जेल कुरै नगर्ने ।

माउ तातेमा हुने सम्भावना

जनताको स्वास्थ्यका लागि तीनवटा काम गर्नु पर्छ । पहिलो– पेट्रोमेडिसिन/एलोप्याथीका एकलकाँधे डाक्टरहरूले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीका डाक्टरहरूसँग सहकार्य गर्नुपर्छ ।

कोरोनासँगको सावधानी कसरी अपनाउने ? कोरोना लाग्नै नसक्ने गरी शरीरमा क्षमता कसरी बढाउने ? लागिहाल्यो भने कुन तहसम्म आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीका डाक्टरहरूको सल्लाह मान्‍ने ? कुन तहदेखि पेट्रोमेडिसिन/एलोप्याथीका डाक्टरहरूको सल्लाह मान्‍ने ? ती सल्लाहहरू के–के हुन् भनी टुंगो गरी जनतालाई सुसूचित गर्ने । दोस्रो– अथर्ववेदले सुझाएका तथा आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीले अभ्यासमा ल्याएका औषधिहरूमा थप अध्ययन–अनुसन्धान गर्ने र त्यसलाई ‘हो/हैन’ को विन्दुमा स्थापित गर्ने । तेस्रो–विदेशमा भए/गरेका नाकमा राख्‍ने, मुखमा राख्‍ने र सुई लगाउने औषधिहरूको परीक्षणमा सहकार्य गरी नेपालमा पनि उत्पादन थाल्ने ।

शिक्षाको दर्शन माटोमै छ, थियो र हुन्छ । तर, हाम्रो नेतृत्व पश्चिमी दर्शनको भरिया बन्यो । कम्प्राइडोर बुर्जुवा । यस दर्शनले वेद, मुन्धुम, त्रिपिटक तथा कुरान बनाउने पुर्खाको दर्शन चिनेन । राजर्षि जनक, याज्ञवल्क्य, कपिलमुनिको दर्शन जानेन । पश्चिमी दर्शन नै सिकाइयो । फलतः ती दर्शनहरू हाम्रो माटोमा मिलेनन् । शिक्षामा त्यही भयो । स्वास्थ्यमा त्यही भयो । कृषिमा त्यही भयो ।

विद्यार्थीलाई न्याय गर्न पढाइको मोड उनीहरूलाई नै छान्‍न  दिनुपर्छ– घरै बसेर पढे पनि हुने गरी, बेलामौकामा संवादका लागि कक्षामा आउने गरी, स्कुल–कलेजमै धाउनेगरी र आधुनिक प्रविधिमा पढ्ने–पढाउने गरी ।

शिक्षक तथा प्राध्यापकलाई पनि त्यही तरिकामा अभ्यस्त गराउनुपर्छ– पढाउनलाई, सिकाउनलाई र सिक्ने तरिकामा अभ्यस्त गराउनलाई । परीक्षा पनि त्यसैगरी लिने प्रबन्ध गर्नुपर्छ– आधुनिक प्रविधिमा जाँच लिएर, वास्तविक जिन्दगीमा जाँच गरेर, वास्तविक जिन्दगी र कक्षाको पढाइ जोड्नमा मद्दत गरेर । संविधानको धारा ५० को ‘ज’ को ‘क’ लाई अक्षरशः पालना गरेर । अर्थात्, पढाइलाई जनमुखी, वैज्ञानिक, व्यावहारिक तथा उत्पादनमुखी बनाउन शिक्षक तथा प्राध्यापकलाई तयारी गर्नु पर्छ । प्रविधि प्रयोगमा खुर्रांट बनाउनुपर्छ । ‘सकिन्‍न, हुँदैन, गर्दिनँ, जान्दिनँ’ भन्‍ने शिक्षक तथा प्राध्यापकलाई जागिरबाट ससम्मान बिदाइ गर्नुपर्छ । यसो गर्दा प्रविधिको पहुँच हुने र नहुने बीच वा निजी तथा सरकारी लगानीका स्कुल–कलेजका विद्यार्थीको शैक्षिक स्तरमा आउने फरकलाई मिलाउन सक्षमतामा आधारित स्तरीय परीक्षा (कक्षा ८, १०, १२, बीए, एमए) सञ्चालन गर्नुपर्छ । आफूले आफैँलाई जाँच्न मिल्ने गरी त्यस्ता परीक्षाहरू स्वचालित हुनुपर्छ । यसैको आधारमा प्रवृत्ति पहिचानका स्तरीय परीक्षा बनाई तदनुसार विद्यार्थीलाई इच्छित विषयमा जान दिने गर्नु पर्छ । त्यसका लागि स्तरीय तथा प्रवृत्ति परीक्षामा अपेक्षित क्षमता नहुनेहरूका लागि पुलेसो कक्षाको प्रबन्ध गर्न सकिन्छ । आफैँले पढ्ने, संस्थाले पढाउने, प्रविधिमा पढ्ने प्रवन्ध गर्ने या सम्बन्धित स्कुल–कलेजले नै पढाउने व्यवस्था गर्नुपर्छ ।

निजी स्वास्थ्य सेवाका लगानीकर्ताहरू सुरसाको मुख बनिसकेका छन् । तिनलाई बन्द गर्ने कुरा मधेसको उखानमा ‘पानी पड्काउनु’ हो । त्यसको सट्टा निजी तथा सरकारी जुन स्वास्थ्य-संस्थामा गए पनि बिमाले तिर्ने गरी प्रबन्ध मिलाउनुपर्छ । त्यसका लागि क्यानडाको स्वास्थ्यसेवा नमुना हुन सक्छ ।

निजी लगानीका स्कुल–कलेजलाई मिलान गर्नुपर्छ । तिनलाई जोनिङ गर्नुपर्छ । तहको र विषय तोकेर पढाइका निम्ति निर्देश गर्नु पर्छ । यो क्षेत्रमा जाऊ भन्‍नुपर्छ, ससर्त, बिनासर्त या सरकारी लगानीसहित । चिनियाँ, भारती, पाकिस्तानी तरिका उदाहरण हुन सक्छन् । तर, त्यहाँ कार्यरत जनशक्तिलाई सरकारी लगानीका स्कुल–कलेजमा जान–आउन सक्ने पुलेसो तथा भर्‍याङपद्धति बनाइदिनुपर्छ ।

शिक्षाको दर्शन माटोमै छ, थियो र हुन्छ । तर, हाम्रो नेतृत्व पश्चिमी दर्शनको भरिया बन्यो । कम्प्राइडोर बुर्जुवा । यस दर्शनले वेद, मुन्धुम, त्रिपिटक तथा कुरान बनाउने पुर्खाको दर्शन चिनेन । राजर्षि जनक, याज्ञवल्क्य, कपिलमुनिको दर्शन जानेन । पश्चिमी दर्शन नै सिकाइयो । फलतः ती दर्शनहरू हाम्रो माटोमा मिलेनन् । शिक्षामा त्यही भयो । स्वास्थ्यमा त्यही भयो । कृषिमा त्यही भयो । परिणामतः पश्चिमी आँखाबाट पूर्व बुझ्‍नेसंस्कार मौलायो । यस संस्कारले पहिचान खायो । आफ्नोपना खायो । अझै खाने क्रम जारी छ । अर्थात्, स्वयंसेवी विदेशी भरियाहरूका बोलीको परिणतिले नयाँ मेकालेको खेती गर्दैछ । त्यस खेतीबाट बच्ने बचाउने हो भने हाम्रो शताब्दीको शिक्षा बन्छ । अन्यथा ज्यान हाम्रो हुन्छ, भाषा पराइको । उदाहरण पराइको र शिक्षा पनि पराइको । बेलैमा सोचेकाले माओले शिक्षाको रुसीकरणबाट चीन बचाए । हाम्रा 'माउ' हरू भने रुसीकरणकै बाटोमा छन् । दार्शनिक नियति त्यही हो, भोलिको ।

माथिका सबै कामको एकमुष्ट टुंगो गर्न राजनीतिका माउ नेतृत्वको एकल बोली हुनुपर्छ । अन्यथा, हामी जात्राको नियति बोक्न बाध्य हुन्छौँ । त्यो नियतिमा हुनेहरू छुट्टिन्छौँ । नहुनेहरू पुर्पुरोलाई दोष दिन थाल्छौँ किनकि हिजो आन्दोलन र अवज्ञा सिकाउनेहरू नै आजका माउ नेताहरू हुन् । आगे माउहरूकै मर्जी !

प्रकाशित: १८ असोज २०७८ २०:२१ सोमबार

चेतलुङ
चेतलुङ