१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
एजेन्डा महिला विरासत

वैचारिक र मानसिक शोषणको विरूद्ध

वैचारिक र मानसिक शोषणको विरूद्ध
तस्बिर : एलिजावेता दुसेस्किना/pexels.com

आर्थिक, सामाजिक र राजनैतिक शोषणबाहेक महिलाहरू परिवार–परिवारमा शारीरिक र मानसिक रूपले पनि पुरुषहरूबाट शोषित नै हुन्छन् । ‘तिमीहरू शारीरिक रूपले अशक्त छौ, तिमीहरू कोमल र कमजोर प्रकृतिको हुन्छौ साथै मानसिक रूपले तिमीहरू पुरुषहरूभन्दा हीन हुन्छौ, असक्षम हुन्छौ’ भनी महिलाहरूलाई आफ्नो शक्तिबोध हुनदेखि वञ्‍चित राखिएका हुन्छन् । ‘आइमाई केटाकेटी’ भन्‍ने शब्द महिलाहरूका निम्ति प्रयोग गरिने एउटा हीन विशेषण हो । नेपाली समाजमा पनि स्वास्‍नीमान्छेहरूलाई कुखुरा, खसी, बोका, फर्सीसम्म काट्न, सर्प मार्न दिइँदैन । हलो जुवा, दाँते, दाम्लो तथा कुकुर नाघ्‍न दिइँदैन । धुरीमा चढ्न, घर छाउन दिइँदैन । यस्ता थुप्रै–थुप्रै हाँसोउठ्दा प्रचलनहरू छन्, जसले अन्त्यमा गएर स्वास्‍नीमान्छेलाई नै शक्तिहीन ठान्‍ने काममा जोड पुर्‍याइरहेका हुन्छन् । तर, विडम्बना के छ भने यहाँ शक्तिहीन स्वास्‍नीमान्छेहरू घरभित्र र केही हदसम्म बाहिर पनि बढीभन्दा बढी शारीरिक काम गरिरहेका हुन्छन् । संसारमा कुनै पनि लोग्‍नेले स्वास्‍नीलाई निर्मम तरिकाले पिटिरहेका हुन्छन् । जन्माउनु त प्राकृतिक काम भयो; हुर्काउनु र स्याहार्नुजस्ता कठिनतम काम पनि स्वास्‍नीमान्छेहरूले नै गर्नुपर्छ । आपसिक शारीरिक सम्बन्ध पनि लोग्‍नेमान्छेकै इच्छा र सनकअनुसार कायम राखिन्छन् । स्वास्‍नीमान्छेसँग शारीरिक थकान यति हुन्छ भनेर साध्य छैन ।

अर्कोतिर महिलाहरूमाथि हुने मानसिक शोषण पनि परिवार–परिवारमा व्याप्त छ । आइमाईहरूको कुरा सुन्‍न हुँदैन भनी लोग्‍नेमान्छेहरू स्वास्‍नीमान्छेहरूसँग छलफल, विचार–विमर्श गर्न रुचाउँदैनन् । स्वास्‍नीमान्छेहरूमा निर्णयकारी क्षमता हुँदैन भन्छन् । त्यसैले विचार पोख्‍नेदेखि उनीहरू वञ्‍चित नै हुन्छन् । यसरी घर–घरमा पनि महिलाहरूको वैचारिक स्वतन्त्रता हनन भइरहेको हुन्छ । वास्तवमा महिलाहरूमा पनि विचार पोख्‍ने र निर्णय दिने क्षमता हुन्छ । तर, यस क्षमताको बोध उनीहरू गर्नै पाउँदैनन् ।

परिवारभित्र थुप्रै–थुप्रै अन्तर्विरोधहरू हुन्छन् र यस्ता अन्तर्विरोधहरूले मान्छेहरूको व्यक्तिगत जीवनलाई नराम्रोसँग असर पारिराखेका हुन्छन् । तल्लो वर्गका परिवारहरूबाहेक अरू वर्गका (उच्चमध्यम तथा निम्‍नमध्यम) परिवारहरूले घरेलु द्वन्द्वमाथि पर्दा हाल्ने परम्परा बसालेको हुन्छन् । परिणामस्वरूप प्रायःजसो परिवारका जिम्मेदार व्यक्तिहरू तनाउपूर्ण जीवन बाँचिरहेका हुन्छन् । यस तनाउपूर्ण मानसिक यातनाको पनि ठूलोचाहिँ भाग महिलाहरूले झेलिरहेका हुन्छन् । अव्यक्त असन्तुष्टिहरूलाई मनभरि सहेर महिलाहरू शारीरिक श्रम गरिरहेका हुन्छन् । कहीँ–कहीँ त महिलाहरूको व्यक्तिगत जीवन यति दुःखद, करुण र समाधानहीन मनस्थितिहरूले भरिएका हुन्छन् । बुझ्‍नेलाई सायद कहालीलाग्दो हो । आर्थिक चिन्ताबाहेक यो थप मानसिक चिन्ताले कतिपय स्वास्‍नीमान्छेहरूको जीवन जर्जर मरुभूमि बनेको हुन्छ । जीवनको यो पक्ष हिसाब गरेर मिल्दैन साथै नारा लाएर पनि मिल्दैन ।


जन्माउनु त प्राकृतिक काम भयो; हुर्काउनु र स्याहार्नुजस्ता कठिनतम काम पनि स्वास्‍नीमान्छेहरूले नै गर्नुपर्छ । आपसिक शारीरिक सम्बन्ध पनि लोग्‍नेमान्छेकै इच्छा र सनक अनुसार कायम राखिन्छन् । स्वास्‍नीमान्छेसँग शारीरिक थकान यति हुन्छ भनेर साध्य छैन ।

यो महिला जागरणको युग हो । हामी यो असङ्ख्य शारीरिक र मानसिक शोषणबाट जन्मिएका असंगतिहरूलाई निराकरण गरेर हाम्रो जीवनलाई सुगम, यसो भनौं तनाउमुक्त बनाउन सक्छौँ । यसतर्फ हामीले सचेत हुनैपर्छ । महिला मुक्तिको निम्ति सचेत अथवा प्रगतिशील धारणामा विश्वास राख्‍ने महिलाहरूले अरूलाई सिकाउने नाराबाट मात्र होइन, आफ्नो व्यक्तिगत जीवनबाट पनि आन्दोलन सुरू गर्नुपर्छ । यदाकदा सुनिन्छ, प्रगतिवादमा आस्थावान महिलाहरू पनि वैचारिक स्वतन्त्रताका निम्ति अरू महिला सरह पछि परिरहेका छन् । अथवा मेरो श्रीमान् मभन्दा प्रत्येक क्षेत्रमा उच्च हुनुपर्छ भन्‍ने जस्ता संस्कारग्रस्त रहर च्यापेर बसिरहेका छन् । अथवा सामूहिक रूपमा आएको प्रगतिशील प्रस्तावलाई पनि मेरो श्रीमान्‌को सम्मति लिनुपर्छ भनी अप्रत्यक्ष रूपले अस्वीकार गरिरहेका छन् ।

उत्तरदायी महिलाहरूको यस्तो प्रवृत्तिले वैचारिक शोषणको विरूद्ध उठिरहेको महिलाहरूको आवाजलाई मद्दिम तुल्याउँछ । मुक्ति नारा घन्काएर मात्र पाइँदैन । व्यावहारिकतामा उत्रनु अनिवार्यता हुन्छ । नत्र मुक्तिको सपना नदेखे बेस । हो, हजारौँ वर्षदेखिको यस संस्कारको पहाडदेखि हामी तुरुन्त तुरुन्तै उन्मुक्त हुन सक्दैनौँ । साथै संस्कार यस्तो वस्तु पनि होइन, जो सामाजिक वातावरण फेरियो, मान्छे शिक्षित भए भन्दैमा आफू एक्लै खुसुक्क भागेर जाओस् । यसरी आफैंनखस्कने संस्कारको पहाडअघि बसेर चलमलाउँदैनौं भने हामी कसको हानि गर्छौं ? आफ्नै । उत्तरदायी सचेत महिलाहरूले पायक परेको ठाउँमा बोल्न सक्नुपर्छ । तर्कसंगत र न्यायपूर्ण बुँदाहरूको निम्ति वैचारिक अडान लिन सक्नुपर्छ । वैचारिक स्वतन्त्रताको निम्ति परिवारका सदस्यहरूसँग तर्कयुद्ध चलाउन सक्नुपर्छ । सही तर्कलाई आइमाई जाबोको कुरा भनेर एकातिर नमिल्काइयोस् । यस्तो घटनाले हाम्रो अस्मितालाई होच्याइदिन्छ । कति त यस्तो पनि देखियो सही वैचारिकता अनुरूप हिँडिरहेकी महिलाले उनको लोग्‍ने त्यसबाट विमुख हुनासाथै आफैं पनि तटस्थ बसिदिइन् । उनले आफ्नो लोग्‍नेलाई परास्त अथवा विश्वास पार्ने त कुरै छोडिदिऊँ आफूले पनि वैचारिक अडान लिन सकिनन्, तटस्थ बसिदिइन्, मौन बसिदिइन् । कत्रो वैचारिक हार हो यो ?

हामी शारीरिक मानसिक दुवै पक्षमा सशक्त र सक्षम नै छौँ भने यो हार किन ? पहिले साहस गरौँ संस्कारसँग जुझ्‍ने ।

प्रकाशित: १८ असोज २०७८ २०:२० सोमबार

चेतलुङ
चेतलुङ