२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
एजेन्डा विज्ञान-प्रविधि

'गुरुत्वाकर्षण' कसले पत्ता लगायो ?

'गुरुत्वाकर्षण' कसले पत्ता लगायो ?

'गुरुत्वाकर्षण' कसले पत्ता लगायो भन्‍ने बहस बेला–बेला सुनिन्छ । हाम्रोतिर यो बहस विश्वविद्यालयमा भन्दा पनि बाहिर र प्राज्ञिक क्षेत्रभन्दा भिन्‍न राजनैतिक नेताहरूले सुरु गरिदिन्छन् । मुलुक र जातिको गाथा गाउन र इतिहासको गौरवको आवरणमा राष्ट्रियताको बखान गर्न यस्ता अभिव्यक्तिहरू सुनिन्छन्  । पश्‍चिममा विज्ञानले गरेका अनेकौँ चमत्कार पूर्वमा पहिल्यै भइसकेको र पश्‍चिमी विज्ञानले त्यसैबाट जानकारी लिने गरेको तथा प्रभावित भएर नयाँ–नयाँ विचार र सिर्जनाहरू आविष्कार गर्न सकेको कथा वाचन गरेर हामी थाक्दैनौँ ।

चल्तीको डिस्कोर्समा न्युटनको नामसँग जोडिएर आउने गुरुत्वाकर्षणको सिद्धान्त यिनैमध्येको एउटा विषय हो । बाह्रौँ शताब्दीका भाष्कराचार्य (द्वितीय) ले पत्ता लगाएको र न्युटनले 'चोरेर' त्यसलाई आफ्नो बनाएको न्यारेसनमा हामी मख्ख पारिराखेका छौँ । हामीलाई 'मेरा बाजेले घ्यू खाएका थिए, मेरो हात सुँघ् सुँघ् !' भन्‍नेमा असीम आनन्द छ । उसो त यो विषय नयाँ पनि होइन, पूर्वी र पश्‍चिमा धेरै विद्वानहरूले गुरुत्वाकर्षणको इतिहासमाथि लेखिसकेका छन् । तर, हामी अल्मलिएको विषयचाहिँ 'गुरुत्वाकर्षण' र 'गुरुत्वाकर्षण सिद्धान्त' भेदको बारेमा हो ।

गुरुत्वाकर्षण अर्थात् माथितिर फालिएको वस्तु पृथ्वीको सतहतिर खस्‍ने विषय धेरै अघिदेखि मानिसलाई कुतुहलको विषय थियो । भाष्कराचार्य र न्युटन त्यही परम्पराका तर फरक समयमा व्यक्तिहरू हुन् । गुरुत्वाकर्षण (gravity) को अवधारणासँग मूलतः दुईवटा चासो महत्त्वपूर्ण छन् । माथितिर फ्याँकिएको वस्तु किन तलतिर खस्छ भन्‍ने एउटा सामान्य जिज्ञासा हो भने, त्यसप्रकारको घटनालाई के कस्ता नियमले सञ्‍चालन गरिराखेको हुन्छ भन्‍ने दोस्रो चासो हो । दोस्रो चासो गुरुत्वाकर्षणको सिद्धान्त अर्थात् गुरुत्वाकर्षणलााई व्याख्या गर्ने चासो हो ।

इतिहासमा कसले के गरे, कसले के विचार व्यक्त गरे भन्‍ने कुरा फेला परेका डकुमेन्टले पुष्टि गरेपछि मात्र प्रमाणित हुने हुन् । डकुमेन्ट नभएका, नष्ट भएका वा डकुमेन्टेसन परम्पराभन्दा पहिलाका मानिसहरूको समयमाथि आधिकारिक रूपले यसै हो भन्‍न सकिन्‍न । यद्यपि उनीहरूले यस विषयमा सोचेनन्, तर्क गरेनन् र विचार दिएनन् भन्‍ने पनि हुँदैन । तर, प्रमाण नभएपछि भन्‍न सकिने अवस्था हुँदैन । पश्‍चिमी चिन्तनको कुरा गर्दा गुरुत्वाकर्षण बारेको सोचाइ अरिस्टोटलसम्म पुग्‍ने रहेछ ।

अरिस्टोटलले वस्तुहरू पृथ्वीतिर झर्नुको कारण त्यसको संरचना हो भनेका थिए । कुनै पनि वस्तु पृथ्वी (माटो), पानी, हावा र आगो चार तत्त्वले बनेको हुन्छ भन्‍ने अरिस्टोटलको मत थियो । ती तत्त्वहरूमा आफ्नो स्रोततिर फर्कने वा स्रोतसँग एकाकार हुने प्रवृत्ति हुन्छ भन्‍ने तर्क अरिस्टोटलले गरेका थिए । पृथ्वी तत्त्वमा भार (गुरुत्व) भएको कारण यो पृथ्वीतिर फर्किन खोज्छ, अग्‍नि तत्त्व अन्तरिक्ष (स्वर्ग) मा उत्पन्‍न भएकोले माथितिर जान खोज्छ भन्‍ने अरिस्टोटलको तर्क थियो । अरिस्टोटलका अनुसार पृथ्वीबाट छुट्टिएर अन्तरिक्षतिर गएको (माथितिर फ्याँकिएको) वस्तु त्यसमा भएका तत्त्वहरूको गुणधर्मिताको कारण मूल स्रोततिर फर्किएको हो ।

उसो त यो विषय नयाँ पनि होइन, पूर्वी र पश्‍चिमा धेरै विद्वानहरूले गुरुत्वाकर्षणको इतिहासमाथि लेखिसकेका छन् । तर, हामी अल्मलिएको विषयचाहिँ 'गुरुत्वाकर्षण' र 'गुरुत्वाकर्षण सिद्धान्त' भेदको बारेमा हो ।

कुनै पनि घटनाको पछाडि कारण हुन्छ भन्‍ने तर्कको आधारमा अरिस्टोटलले वस्तु तलतिर खस्‍नुको पनि कारण हुन्छ भनेका हुन् । वस्तुमा पृथ्वी तत्त्वको कारण पैदा हुने गुरुत्वभावको कारण वस्तु तलतिर खसेको हो, न कि कुनै बलले तानिएर । घटनाको व्याख्या गर्ने यो प्रयास आज हामीलाई सामान्य लाग्‍न सक्छ, अथवा हाँसो उठ्न पनि सक्छ । तर, वैज्ञानिक दृष्टिले यो चानचुनेचाहिँ होइन । अरिस्टोटलपछि पनि विभिन्‍न दार्शनिक, वैज्ञानिकहरूले यसमाथि तर्क गर्न र विकल्प दिन प्रयास नगरेका होइनन् । ग्यालिलियो, केप्लर, न्युटनका अवधारणा यही अविच्छिन्‍न परम्परा र पछिल्लो पुस्ता पूर्वजको काँधमा उभिएर पूर्वजका ज्ञान र चिन्तनलाई अघि बढाउँदै विकास भएका हुन् । उनीहरूले अकस्मात (out of blue) पत्ता लगाएका होइनन् ।

पूर्वमा पनि चिन्तकहरूले यो समस्यामाथि विचार गरेका, व्याख्या गर्ने प्रयास गरेका थिए । सातौँ शताब्दीका ब्रह्‍‍‍मगुप्तको कृति हामीसँग छ । ब्रह्‍‍‍मगुप्तले वस्तु तलतिर खस्‍नुलाई पृथ्वीको आकर्षण (attraction) को कारण हो भने । यो 'आकर्षण' एक प्रकारको बल (Force) हो भनेर बलको परिभाषा र बलका प्रकारहरूको चर्चा गरेको चाहिँ भेटिएको छैन । ब्रह्‍‍‍मगुप्तभन्दा अघि पनि चिन्तन भएको थियो होला । केही ग्रन्थमा परोक्ष रूपमा उल्लेख गरिएको दाबी गरिए पनि स्पष्ट थिएन । भेटिएन भन्‍नुको मतलब थिएन भन्‍न सकिन्‍न, न थियो भनेर दाबी नै गर्न सकिन्छ । चिन्तन र विचारहरू अविच्छिन्‍न परम्पराका कडीहरू हुन्। यो कुनै अनौठो कुरा भएन ।

बाह्रौँ शताब्दीका भाष्कराचार्यले वस्तुहरू पृथ्वीतिर खस्‍नुको कारण पृथ्वीको आकर्षण हो भन्‍ने विचारबाट अघि बढेर ग्रहहरू आफ्ना स्थानमा रहनुलाई एकार्काको आकर्षणको परिणाम हो भनेर बताए । ब्रह्‍‍‍मगुप्त वा भाष्कराचार्यले यो आकर्षण कस्तो खालको प्रवृत्ति हो भनेर व्याख्या गरेका थिएनन् । इस्लामिक विश्वमा पनि गुरुत्वमाथि चिन्तन भएको थियो । एघारौँ शताब्दीका अल-बिरुनीले पृथ्वीको जस्तै अन्य ग्रहहरूको पनि गुरुत्व प्रभाव हुने बताएका थिए । बाह्रौँ शताब्दीका अल-खाजिनीले गुरुत्वको प्रभाव गुरुत्व केन्द्रदेखिको दूरीअनुसार फरक पर्ने बताएका थिए । अर्थात् केन्द्रबाट जति पर गयो, गुरुत्वको प्रभाव घट्दै जान्छ भन्‍ने थियो । कुन दरमा घटबढ हुन्छ भनेर चाहिँ बताएका थिएनन् । उनीहरूको लागि गुरुत्वको केन्द्र पृथ्वी थियो, अर्थात् उनीहरू पृथ्वी केन्द्रित (geocentric) धारणाबाट प्रेरित थिए । यता भाष्कराचार्यले सूर्य केन्द्रमा रहने वैकल्पिक चिन्तन प्रस्तुत गरिसकेका थिए ।

गुरुत्वबलसँग जोडिएर आउने एउटा महत्त्वपूर्ण अवधारणा हो मुक्त गिरावट (free fall) । अरिस्टोटलले गुरुङ्गो वस्तु छिटो खस्‍ने र हलुका वस्तु ढिलो खस्‍ने अवधारणा प्रस्तुत गरेका थिए । उनका अनुसार ठूलो फलामको डल्लोभन्दा फलामकै सानो डल्लो उत्तिकै उचाइबाट खसाल्दा बढी समय लगाएर सतहमा आइपुग्छ । तर, यो अवधारणा गलत साबित भयो । अरिस्टोटलले नै कुनै परीक्षण गरेका थिए भने यो तुरुन्तै खारेज हुन्थ्यो । यो विचारले युरोपी ज्ञान इतिहासको पन्ध्र सय वर्षभन्दा बढी राज गरिरह्यो ! ग्यालिलियोको पिसाको झुकेको धरहरासँग जोडिएको प्रसङ्गसँग यो विचार-परीक्षण (thought experiment) प्रसिद्ध छ ।

ग्यालिलियोको उक्त परीक्षणपछि पृथ्वीतिर झर्दै गरेको वस्तु बढ्दो गतिमा झर्ने र गतिमा हुने उक्त बढोत्तरी (acceleration) एकनासको हुने प्रमाणित भयो । पृथ्वीमा त्यो मान ९.८१ मिटर प्रतिसेकेन्ड प्रतिसेकेन्ड रहने स्थापित भयो । यसलाई गुरुत्वबलले गर्दा हुने प्रवेग (acceleration due to gravity) भनिन्छ । पृथ्वीबाहेकका ग्रह, उपग्रहहरूमा पनि गुरुत्वबल हुन्छ र त्यसले पैदा हुने प्रवेग पनि समान हुन्छ, तर पृथ्वीको भन्दा फरक मानको हुन्छ । मुक्त गिरावटको अवधारणामा आइन्स्टाइनको सापेक्षतावादको सामान्य सिद्धान्तपछि परिवर्तन भइसकेको छ । ब्रह्‍‍‍माण्डमा वस्तुको मुक्त गिरावट कुनै 'गुरुत्वबल' को कारण नभएर देश-काल (space-time) को वक्रता (curvature) को कारण उत्पन्‍न हुने परिणाम हो भन्‍ने स्थापित भइसकेको छ । गुरुत्वसम्बन्धी चिन्तन परम्पराको यो पछिल्लो उत्कर्ष हो ।

बाह्रौँ शताब्दीका भाष्कराचार्यले वस्तुहरू पृथ्वीतिर खस्‍नुको कारण पृथ्वीको आकर्षण हो भन्‍ने विचारबाट अघि बढेर ग्रहहरू आफ्ना स्थानमा रहनुलाई एकार्काको आकर्षणको परिणाम हो भनेर बताए । ब्रह्‍‍‍मगुप्त वा भाष्कराचार्यले यो आकर्षण कस्तो खालको प्रवृत्ति हो भनेर व्याख्या गरेका थिएनन् ।

गुरुत्वबलबाहेक अरू कुनै बाह्य बलको प्रभाव नभएको वस्तु गुरुत्वबलको केन्द्रतिर सोझै झर्ने प्रक्रिया फ्री फल अर्थात् मुक्त गिरावट हो । उदाहरणको लागि पृथ्वीको सतहमाथि उडिरहेको जहाज एकाएक बिग्रियो भने सोझै तल झर्छ पृथ्वीको गुरुत्वबलको कारण । जति तल झर्दै गयो, उति त्यसको गति बढ्दै जान्छ । यो गतिको वृद्धि (प्रवेग) माथि भनिएझैँ एकसमान हुन्छ । ब्रह्‍‍‍माण्डको कुनै पनि विन्दुबाट कुनै वस्तु नजिकको गुरुत्वबलको केन्द्रतिर त्यसै गरी झर्छ, यदि त्यसमा अरू बल, अन्य आकाशीय पिण्डहरूको विपरीत प्रभाव परेको छैन भने । यो फ्री फलको अवधारणा भयो, आइन्स्टाइन अघिको । आइन्स्टाइनले गुरुत्व भनेको बल होइन भन्‍ने कुरा स्थापित गरे सापेक्षतावादको सिद्धान्तबाट ।

ब्रह्‍‍‍माण्डमा स्पेस (देश) र समय चतुरआयामिक संरचनामा अविभाज्य छ, जसलाई देश-काल (space-time) भनिन्छ । त्यसको मतलब समय र स्पेसलाई अलग्याउन सकिन्‍न । त्यसको अर्थ हो, ब्रह्‍‍‍माण्डको कुनै विन्दुको पहिचान अर्थात् त्यसको कोअर्डिनेट (निर्देशांक) समय र स्पेस दुवैद्वारा मात्र बताउन सकिन्छ । जस्तो कि सादा कागजमा, वा हाम्रो दैनिक व्यवहारमा पृथ्वीको सतहमा नै, कुनै विन्दुको निर्देशाङ्क एक्स-अक्ष (x-axis) र वाइ-अक्ष (y-axis) को मानबाट थाहा पाउँछौँ । कुनै स्थान फलानु विन्दुबाट यति उत्तर र फलानु स्थानबाट यति पश्‍चिम भनेपछि त्यो स्थान नक्सामा पत्तो लाग्छ ।

यो दुई आयामको कुरा भयो, सतह (plane) बुझिन्छ यसबाट । तर, पृथ्वी सतहमाथिको हावामा कुनै विन्दु निर्दिष्ट (लोकेट) गर्नु पर्यो भने त्यसलाई तीन ठाउँबाट दूरी तोकिनुपर्छ - यति उत्तर, यति पश्‍चिम र यति माथि ! यो तीन आयामको निर्देशाङ्क भयो । योचाहिँ ठोस रूप (solid) भयो, स्पेस मात्र भयो । ब्रह्‍‍‍माण्ड बृहत् स्केलमा निरन्तर विस्तारित भइरहेको छ । फुक्दै गरेको बेलुनसँग यसलाई तुलना गर्ने गरिन्छ । तर, यो तुलना वास्तविकता बुझ्‍न प्रवेश गर्ने विन्दुको रूपमा ठान्‍नुपर्छ, बेलुन फुकेजस्तो ठ्याक्कै चाहिँ होइन ।

अन्तरिक्षको कुनै विन्दुको पहिचानको कुरा गर्दा दूरीको तीन आयामले मात्र पहिचान खुल्दैन, कुन समयमा भन्‍ने पनि प्रष्ट हुनुपर्छ । त्यो समय र त्यो स्थान आफैँमा निरपेक्ष विन्दुको सापेक्षमा मापन गरिएको होइन । निरपेक्ष समय र स्थान (absolute time and space) को अनुपस्थितिमा तिनीहरू स्वयं सापेक्षित मान ठहरिन्छन् । अर्थात् ब्रह्‍‍‍माण्डको कुनै विन्दुको पहिचान त्यसको सापेक्षिक स्थान र समयको संयुक्त अवस्था हो । विस्तार भइरहेको ब्रह्‍‍‍माण्डमा दुई विन्दुको अन्तर भनेको समय र स्पेसको संयुक्त अन्तर हो । ब्रह्‍‍‍माण्डको विस्तारको कारण जसरी फुक्दै गएको बेलुनका दुई विन्दुहरू बिस्तारै पर–पर हुँदै जान्छन्, त्यसैगरी ब्रह्‍‍‍माण्डका पिण्डहरू पनि आपसमा पर–पर हुँदै गइरहेका हुन्छन् ।

स्थान र समय (देश र काल) अविच्छिन्‍न रहेको यो अर्थमा ब्रह्‍‍‍माण्डलाई चार आयामको मानिन्छ । हाम्रो मस्तिष्कले यसलाई ठ्याक्कै अनुभूत (visualization) गर्न सक्दैन, त्यो बेग्लै कुरा भयो । किनभने हाम्रो मस्तिष्क त्रिआयामको मात्र अनुभूति गर्न सक्छ । तर, गणीतीय सूत्रमा त्यसलाई अभिव्यक्त गर्न सकिन्छ । गणितीय सूत्रको विवेचना (interpretation) मार्फत वास्तविकतालाई साक्षात्कार गर्न सकिन्छ । ब्रह्‍‍‍माण्डको यो वास्तविकता स्पेस-टाइमको अनवरत गतिशीलताको वास्तविकता हो । समय र स्थान सँगसँगै फुक्दै विस्तारित भइरहेको छ । बेलुन फुक्दा तीन आयाममा विस्तारित भए जस्तै, ब्रह्‍‍‍माण्ड स्पेसको तीन आयाम र समयको चौथो आयामसहित चार आयाममा विस्तारित हुन्छ । किनभने बेलुनको लागि निर्धारित स्पेस पहिल्यै उपस्थित छ । बेलुन त्यही स्पेसमा फुक्ने हो । तर, ब्रह्‍‍‍माण्डको लागि पहिल्यै निर्धारित स्पेस छैन । समयसँगै स्पेस पनि निर्माण हुँदै जान्छ ! स्पेस निर्माण हुँदै जानु नै ब्रह्‍‍‍माण्ड फुक्नु हो ।

जसरी बेलुनको आकार वक्रित (curved) देखिन्छ, ब्रह्‍‍‍माण्डको फुकाइ पनि यस्तै वक्रित हुन्छ स्पेसटाइममा । त्यो किन वक्रित छ भन्‍ने कुरा पनि गणितीय सूत्रबाट व्याख्या गर्न सकिन्छ । ठूलो फलकमा पृथ्वीको एउटा टुक्रा हेर्दा सतह समथर देखिन्‍न, यो वक्रित छ । त्यसैले जसरी पृथ्वीमा तानिने कुनै पनि लामो रेखा पृथ्वीको धरातलजस्तै वक्रित हुन्छ तीन आयाममा, ब्रह्‍‍‍माण्डको कुनै पनि रेखा स्पेस–टाइममा वक्रित नै हुन्छ । स्पेस–टाइमको यो वक्रतालाई नै स्पेस–टाइम 'कर्भेचर' भनेको हो । रमाइलो कुरा के भने यो वक्रता एकसमानको भने छैन । यसलाई पनि पहाडी शृङ्खलाहरूसँग तुलना गरेर बुझ्‍न सकिन्छ । पृथ्वीको सतहमा अग्ला–होचा डाँडा, पहाड, उपत्यका, खोँचहरू त्रिआयामिक हुन्छन् भने ब्रह्‍‍‍माण्डका 'डाँडा', 'खोँच', 'उपत्यका' हरू चतुर्आयामिक हुन्छन् !

ब्रह्‍‍‍माण्डमा पदार्थहरू समान रूपले विचरित छैनन् । असमान विचरणले कतै पदार्थ थुप्रिएका छन्, कतै कम छन्, कतै छैनन् भन्दा हुन्छ ! पदार्थको असमान वितरणले त्यसको वरिपरिको स्पेस–टाइम वक्रित भएको हो । यो वक्रताले गर्दा थुप्रिएका (concentrated) ती पिण्ड स्वयम् र ती पिण्डहरूका बीचमा आइपुग्‍ने कुनै पनि पिण्ड स्थिर हुन पाउँदैन । जसरी पानी भिरालोतिर बग्छ, त्यसैगरी ती पिण्ड पनि स्पेस–टाइमको वक्रता जता 'भिरालो' छ, त्यतै गतिशील हुन्छन् । यो गतिशीलतालाई न्युटनको भाषामा गुरुत्वले गर्दा भएको भन्छौँ । आइन्स्टाइनको आँखाबाट यो गतिशीलताको कारण गुरुत्व वा कुनै नामको बल (force) होइन, स्पेस–टाइमको वक्रता (curvature) हो । गुरुत्वबल भन्‍ने हुन्‍न, छैन ।तर, सानो स्केलमा ठूला पिण्डहरूतिर साना पिण्डहरू तानिए जस्तो देखिन्छ । त्यो अवस्थामा न्युटनको धारणा हाबी हुन्छ र हामी गुरुत्वबल भन्छौँ ।

जसरी बेलुनको आकार वक्रित (curved) देखिन्छ, ब्रह्‍‍‍माण्डको फुकाइ पनि यस्तै वक्रित हुन्छ स्पेस–टाइममा । त्यो किन वक्रित छ भन्‍ने कुरा पनि गणितीय सूत्रबाट व्याख्या गर्न सकिन्छ । ठूलो फलकमा पृथ्वीको एउटा टुक्रा हेर्दा सतह समथर देखिन्‍न, यो वक्रित छ ।

न्युटनले वस्तुहरू (जुनसुकै साना, ठूला र ग्रह आदि आकाशीय पिण्डहरूसमेत) बीच हुने गुरुत्वबल कति हुन्छ र त्यो कसरी पत्ता लगाउन सकिन्छ भन्‍ने सिद्धान्त अघि सारे । जसअनुसार जुनसुकै दुइटा वस्तुहरूबीचको आकर्षण तिनीहरूको पिण्ड (mass) र दूरी (distance) अनुसार घटबढ हुन्छ भन्‍ने थियो। गुरुत्वबल परम्परागत परिभाषाको जस्तो (भाष्कराचार्यको जस्तो) पृथ्वी वा ठूलाले सानालाई तान्‍ने बलमा मात्र सीमित रहेन । सानाले ठूलालाई पनि तान्छ ! पृथ्वीको सतहबाट माथि रहेको कुनै फलामको डल्लालाई पृथ्वीले आफ्नो केन्द्रतिर तान्‍ने मात्र होइन, त्यो फलामको डल्लाले पनि पृथ्वीलाई आफूतिर तानिरहेको हुन्छ । पृथ्वीको पिण्डको कारण सानातिना वस्तुको पिण्ड नगण्य भएकोले पृथ्वीको बलको दाँजोमा उक्त फलामको डल्लोले पृथ्वीलाई तान्‍ने बल पनि नगण्य हुन्छ र परिणामस्वरूप उक्त डल्ला पृथ्वीतिर खस्छ ।

न्युटनको सूत्रमा गुरुत्वाकर्षण बलको परिमाण वस्तुहरूको पिण्डको गुणनफलसँग सोही अनुपातमा बढ्ने (जुनसुकै एउटा वस्तुको पिण्ड बढे त्यही दरमा बढ्ने, पिण्ड घटे सोही दरमा घट्ने) र वस्तुहरूको दूरीको वर्ग (square) को अनुपातमा घट्ने (अर्थात् दूरी १ बाट २ हुँदा चारगुणा घट्ने, ३ भयो भने गुरुत्वबल ९ गुणा घट्ने) हुन्छ । गुरुत्वबलको परिमाण घटबढ हुने यो प्रवृत्तिलाई एउटा स्थिर राशी (constant value) ले सन्तुलनमा राख्दछ । यसलाई गुरुत्वाकर्षणको विश्वव्यापी स्थिर राशी (universal gravitational constant) भनिन्छ । यसको मान जहिल्यै, जहाँसुकै उही हुन्छ । यसको पहिलो प्रयोग न्युटनले आफ्नो गुरुत्वाकर्षण सुत्रमा गरेका थिए ।

यसरी न्युटनसम्म आइपुग्दा गुरुत्वाकर्षणको परिमाण निकाल्ने तरिका भने स्पष्ट भयो । यो थियो गुरुत्वाकर्णको सिद्धान्त (Theory of gravitation) । गुरुत्वाकर्षण एउटा अवधारणाको रूपमा त धेरै अघिदेखि स्थापित थियो भन्‍ने कुरा माथि बताइसकिएको छ । न्युटनको सिद्धान्त पनि वर्णनात्मक (descriptive) मात्र थियो । अर्थात् यो सिद्धान्त कारण (cause) को नभएर परिणाम (effect) को अवलोकनबाट निसृत वर्णन थियो - पृथ्वीलगायत आकाशीय पिण्डहरू सबैको गुरुत्वबल हुन्छ, जसको कारण वस्तुहरू यसको केन्द्रतिर तानिन्छन् ।

न्युटनले गुरुत्वाकर्षण बललाई परिमाणित गर्ने (quantification) सूत्र विकास गरेका हुन्। गुरुत्वाकर्षणको व्याख्या (explanation) हुन सकेको थिएन । गुरुत्वाकर्षण साँच्चै के हो, किन पैदा हुन्छ भन्‍ने मानिसहरूलाई अझै थाहा थिएन । गुरुत्वाकर्षणलाई मापन गर्ने सूत्र थाहा भएको दुई सय वर्षभन्दा बढी समयसम्म त्यो थाहा हुन पनि सकेन । न्युटनपछि पनि गुरुत्वाकर्षणमाथि चिन्तन भए, प्रयोग भए । तर, गुत्थी सुल्झिन सकेन । आइन्स्टाइनको सापेक्षतावादको सामान्य सिद्धान्त (general theory of relativity) सँगै गुरुत्वाकर्षण 'बल' (force) नभएर वस्तुको जडता (inertia) र देश-कालको वक्रताको परिणाम भएको स्थापित भयो ।

देश-कालको वक्रताको स्वरूप (topography) मा भएको असमानताले ब्रह्‍‍‍माण्डका 'ठाउँ' (देश-काल) अनुसार गुरुत्वप्रभाव (पिण्डहरूको गति) को परिमाणमा पनि फरकपन (variation) हुन्छ । जहाँ देश-काल वक्र हुन्‍न, अर्थात् देश-कालको वक्रताको प्रभाव नगण्य (negligible) हुन्छ, त्यहाँ न्युटनको सूत्र पूर्ण प्रभावी हुन्छ । पृथ्वी र मानिसको अनुभूतिको कुरा गर्दा सिङ्गो ब्रह्‍‍‍माण्डको सापेक्षमा यिनीहरूको अस्तित्व नगण्य हुन्छ । यिनको वरिपरिको ब्रह्‍‍‍माण्डको अंश वक्रित रूपमा अनुभूति हुन्‍न । त्यसैले हाम्रा वरिपरिका गतिविधिहरू न्युटनको नियमानुसार नै सञ्‍चालन भइरहेका हुन्छन् ।

पश्‍चिमा विज्ञानको यो अविच्छिन्‍न परम्परा हाम्रो पूर्वमा रहेन । किन रहेन भन्‍ने व्याख्या, विश्लेषण गर्न सकिन्छ, भएका पनि छन् । तर, हाम्रा पुर्खाले यो गरे, त्यो गरे भनेर घिरौँला जत्रो नाक बनाउनुअघि हामीले त्यो परम्परालाई अघि बढायौँ कि बढाएनौँ भन्‍ने सोच्‍नु मनासिव हुन्छ । चिन्तन परम्पराहरू समानान्तर र बहुकेन्द्रित हुन्छन् । कुनै एउटा परम्परा त्यसका पछिल्ला पिँढीले टुङ्ग्याइदिन्छन्, कुनै परम्परा निरन्तर हुन्छ । खास समयमा तिनीहरूबीच अन्तरक्रिया भयो होला, ज्ञानहरू आदान–प्रदान भयो होला । त्यो बहसको विषय हुन सक्ला । तर, टुङ्गिएको परम्पराका उत्तराधिकारीले अविच्छिन्‍न परम्परालाई आफ्ना पूर्वजको ज्ञानको विस्तार भनेर कृत्रिम गौरव गर्नु बाजेले घ्यू खाएको सम्झिएर नाति / नातिनीको पुस्ताले हात सुँघे जस्तै हो ।

प्रकाशित: २३ पुष २०७८ १६:२० शुक्रबार

चेतलुङ
चेतलुङ