१८ माघ २०७९, बुधबार - February 1, 2023 Wednesday
एजेन्डा आदिवासी-जनजाति

'सिरिजङ्गा' कि 'किराँत सिरिजङ्गा ?' : लिपि विवादको चुरो कुरो

'सिरिजङ्गा' कि 'किराँत सिरिजङ्गा ?' : लिपि विवादको चुरो कुरो

गत म‌ङ्सिरमा सम्पन्‍न १२ औं जनगणनाको क्रममा लिम्बू समुदायमा धर्म र जातिको ‘कोलम’ मा किराँत, युमा साम्यो, युमा, किराँत याक्थुङ र याक्थुङ लिम्बूमध्ये कुन महलमा के भर्ने भन्‍ने विषयलाई विवाद र विमर्शको विषय बनाइयो । मुन्धुममा आधारित लिम्बू समुदायमा ‘किराँत धर्म’ र ‘युमा धर्म’ समूहबीच वैचारिक र संस्कारजन्य हिसाबले ‘हामी किराँत हौँ र होइनौँ’ भन्‍ने बहस र विवाद जारी नै छ । यतिखेर यो विवाद सिरिजङ्‍गा लिपिमा आइपुगेको छ ।

किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खालगायत किराँत संघ-संस्थाको पहलमा सिरिजङ्‍गा लिपिलाई ‘किराँत सिरिजङ्‍गा लिपि’ नामकरण गर्न लागेकोमा खासगरी लिम्बू समुदायको एउटा पक्षले असन्तुष्टि जनाउँदै पूर्ववत् नाम नै राख्‍न माग गरिरहेका छन् । लिम्बूवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वाले नयाँ वर्णहरूसमेत समावेश गरेर प्रस्ताव गरिएको ‘किराँत सिरिजङ्‍गा लिपि’ नामकरणलाई जलाएर विरोध जनाएका छन् । अन्य समूहहरूले समेत ‘सिरिजङ्‍गा लिपि बचाऔँ’ भन्दै प्रतिरोध गरेका छन् ।

यो नयाँ नामसम्म आइपुग्‍नुका पछाडि कसले के-कति कसरत गर्‍यो भनेर बुझ्नुपर्ने हुन्छ ।

किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा, सुनुवार सेवा समाज, किराँत राई यायोक्खालगायत संस्था सम्बद्ध किराँत समन्वय समितिले भाषाशास्त्री डा. तारामणि राईको सयोजकत्वमा गठन गरेको ‘किराँत सिरिजङ्‍गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल- २०७८’ केही महिनादेखि विभिन्‍न किराँत भाषाका निम्ति साझा लिपि र वर्णमाला तय गर्ने काममा जुटेको थियो ।

भर्खरै उक्त विज्ञ कार्यदलले ‘किराँत सिरिजङ्‍गा लिपि समायोजनसम्बन्धी प्रतिवेदन’ सँगै ‘किराँत सिरिजङ्‍गा लिपिमा किराँत भाषाहरूको प्रस्तावित संयुक्त वर्णमाला’ सार्वजनिक गरेको छ । अहिले प्रयुक्त २८ व्यञ्‍जन वर्णमध्ये २४ वटा मात्रै लिम्बू भाषामा प्रयोगमा रहेको बताइन्छ । अहिले प्रस्तावित वर्णमालामा पुरानोमा केही नयाँ वर्ण थपेर ४८ व्यञ्‍जन र १२ स्वर वर्ण पुर्‍याइएको छ ।

यो खबर आउनासाथ याक्थुङ लिम्बू समुदायको संस्था युमा साम्यो महासभाले यो प्रस्तावको भत्सर्ना गर्दै प्रेस विज्ञप्ति जारी गर्यो । थपिएका नयाँ स्वर र व्यञ्‍जन वर्ण (अक्षर) हरू लेखन तथा पठनपाठन प्रक्रियामा अनुपयुक्त मात्रै होइन, पूर्ण असान्दर्भिक रहेको विज्ञप्तिमा ठहर गरिएको छ ।

विवाद बढ्दै जाँदा सामाजिक सञ्‍जालसमेत पक्ष-विपक्षको तर्कले तातिएको छ । प्रस्तावको पक्षमा रहेकाहरूले याक्थुङ (लिम्बू) भाषामा पनि ट, ठ, ड, ढ, ण लगायतका ध्वनि नै नभएको तथ्य सम्झाउँदै किराँत समन्वय समितिमा रहेका वा अरु जोसुकैलाई ४८ वटा व्यञ्‍जन वर्ण (अक्षर) चलाउनै पर्छ भन्‍ने बाध्यता नभएको तर्क गरेका छन्  ।

तर, कार्यदलका सदस्य भाषाशास्त्री डा. लाल श्याँकारेलु रापचा भन्छन्, 'समाजको आवश्यकताअनुसार भाषाशास्त्रीय मूल्य-मान्यतामा रहेर किराँत भाषाहरूको विशेषता केलाएर लिपि समायोजन प्रस्ताव गरिएको हो ।' उनको थप भनाई छ, ‘लिम्बू भाषामा प्रयोग गरिँदै आएका चिन्हहरू जस्ताको तस्तै राखी अन्य किराँत भाषाहरूका लागि आवश्यक चिन्‍ह, उपचिन्‍हहरू थपिए पनि कुनै नयाँ लिपि थपिएको छैन ।’

नयाँ वर्णमाला बनेपछि ‘किराँत सिरिजङ्‍गा लिपि' मा  तीन दर्जनभन्दा बढी किराँत भाषाहरू लेख्‍न सकिने कार्यदलको दाबी छ । तर, युमा साम्यो महासभाले लिपिको नाम परिवर्तनले सहिद सिरिजङ्‍गाको त्याग र बलिदानको अपमान हुने बताएको छ । ‘सिरिजङ्‍गा लिपि’ नामको अघि-पछि कुनै फुर्का र शब्दावली आवश्यक नरहेको महासभाको जिकिर छ । तसर्थ लिपिको नाममा किराँत थपिएको विषयमा नै मूख्य विवाद देखिन्छ ।

प्रस्तावको पक्षमा रहेकाहरूले याक्थुङ (लिम्बू) भाषामा पनि ट, ठ, ड, ढ, ण लगायतका ध्वनि नै नभएको तथ्य सम्झाउँदै किराँत समन्वय समितिमा रहेका वा अरु जोसुकैलाई ४८ वटा व्यञ्‍जन वर्ण (अक्षर) चलाउनै पर्छ भन्‍ने बाध्यता नभएको तर्क गरेका छन्  ।

यसबारे मुन्धुमविद् तथा युमा साम्यो महासभाका सल्लाहकार अर्जुनबाबु माबुहाङ भन्छन्, ‘लिपिका अन्वेषक, प्रचारक तथा प्रवर्तक सहिद सिरिजङ्‍गाको योगदानलाई उच्च कदर गर्दै उनले चलाएको लिपिलाई सिरिजङ्‍गा लिपिबाहेक अरू कुनै नामले नामकरण गर्न अनुचित छ ।' उनी जोड्छन्, 'किराँत लिपि नामकरण गर्दा उनको शहादतको अपमान हुन जान्छ ।'

लिम्बू/किराँत भाषा तथा साहित्य लेखनमा समृद्ध सिरिजङ्‍गा लिपिको पुनर्जागरण सिरिजङ्‍गाको त्याग र बलिदानले सुरु भएको मानिन्छ ।

लिम्बू जातिको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेलाका अनुसार लिपिको न्वारान नेपालको पुरातत्त्व विभागले ‘किराँत लिपि’ भनेर गर्‍यो । पछि सन् १९२५ मा किराँत भाषा, लिपि, साहित्यको प्रचार-प्रसार गर्ने क्रममा इमानसिं चेम्जोङको पहलमा ‘याक्थुङहाङ चुम्लुङ सभा’ ले ‘सिरिजङ्‍गा लिपि’ नामकरण गर्‍यो । चुम्लुङको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष बीबी चेम्जोङको कार्यकालको माइन्युटमा ‘किराँत लिपि’ (सिरिजङ्‍गा) भनी लेखिएको पाएपछि नाम सच्याएर ‘किराँत सिरिजङ्‍गा लिपि’ नामकरण गर्ने चुम्लुङको संस्थागत निर्णय २०५२ सालमा भयो । यसलाई वर्तमान नेतृत्वले ‘किराँत सिरिजङ्‍गा लिपि’ बनायो भनेर नबुझिदिन र झुटको खेती नगर्न उनले अनुरोध गरेका छन् ।

प्रतिरोधमा उत्रिने पक्षको जिकिर छ, सबै भाषालाई ‘सिरिजङ्‍गा लिपि’ प्रयोग गर्ने अधिकार छ तर लिपिको नाममा कुनै सम्झौता हुन सक्दैन । उता कार्यदल समूहको दाबी यो छ कि नयाँ नामकरण गर्ने निर्णय गर्दाको बखत नेपालको यो मौलिक लिपि लिम्बूले मात्रै नभई अरुले पनि चलाउनेछन् भनेर पूर्वानुमान गरिएको थियो ।

सिरिजङ्‍गा/किराँत लिपि भनिए पनि समुदायमा लिम्बू लिपि वा याक्थुङ लिपि भनिँदै आएको र अनौपचारिक/औपचारिक शिक्षामा यही लिपि प्रचलन गरिएको उल्लेख गर्दै निरन्तर अभ्यास र मानकीकरणमार्फत यो लिपि आजसम्मको बृहत्, विकसित र समृद्ध अवस्थामा आएको उल्‍लेख गर्छन्, याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बू ।

संसारभर ल्याटिन, अरबी, चिनियाँ, देवनागरीलगायतका लिपिहरू धेरै भाषाहरूले एकैसाथ प्रयोग गरिरहेका छन् । देवनागरीकै कुरा गर्दा हिन्दी, नेपाली, भोजपुरी, मैथिलीजस्ता धेरै भाषाले यो लिपि प्रयोगमा ल्याउँछन् । त्यसैले अहिलेको विवाद लिपि कसले प्रयोग गर्न पाउने भन्दा पनि नाम बदलिएको विषयमा भएको तर्क अध्येता बालकृष्ण माबुहाङको रहेको छ । उनका अनुसार सिरिजङ्‍गा लिपिमा फरक क्यारेक्टर (चिन्ह) थपेर पनि प्रयोगमा ल्याउन सकिन्छ तर लिपिकै नाम बदल्नु वा किराँत ‘क्‍वालिफायर’ विशेषण थप्‍नु भनेको लिपि र भाषाको पुनरुत्थानदेखि प्रचार-प्रसारमा हिँड्दा-हिँड्दै सहादत प्राप्त गरेका सहिद सिरिजङ्‍गाको योगदानलाई अवमूल्यन र अनादर गरेसरहको चिन्ताजनक विषय हो ।

कार्यदल बनाउने र नयाँ वर्णमालाको प्रस्ताव तयार पार्ने स्थिति कसरी निर्माण भयो भन्‍ने बारे चुम्लुङ उपाध्यक्ष तिगेलाको दाबी यस्तो छ:

सुखिमका लिम्बूले यो लिपिलाई 'लिम्बू लिपि' भन्दै राई समुदायलाई चलाउन दिएनन् । त्यसपश्चात् दोर्जेलिङमा राई लिपि बनाए । यता सुनुवारमा पनि लिपि भर्खरै बनाइएको छ । दुईवटा लिपि बनाइएकाले विवाद नै छ । साथै याक्खा समुदायमा पनि लिपि बनाईयो । तर, किराँत राई यायोक्खा, याक्खा छुम्मा, सुनुवार सेवा समाज आदिले भने संस्थागत 'किराँत सिरिजंगा लिपि' नै प्रयोग गर्दै आएका थिए । विशेष गरेर किराँत राई यायोक्खाले लिपि प्रयोगको बहस प्रारम्भ ग-यो । नेपालमा प्रयोगमा भएको 'किराँत सिरिजंगा लिपी' लाई 'किराँत लिपि' मात्र नामकरण गरेर घोषित रूपमा चलाउने भन्‍ने यायोक्खाको प्रस्ताव थियो । यसलाई किराँत याक्थुङ चुम्लुङले 'सिरिजंगा' नामेट गरेर 'किराँत लिपि' बनाउने कुरो ठाडै अस्वीकार ग-यो ।

यसरी यायोक्खाको 'किराँत लिपि' नामकरण गर्ने प्रस्ताव ठाडै अस्वीकार भएपछि कार्यदलको कुरो अगाडि आयो । जुन कार्यदलमा किराँत याक्थुङ चुम्लुङको कार्यसमितिको तर्फबाट भाषा हेर्न अमर तुम्याङ र कियाचु बाहिर रहेर कियाचुलाई सहयोग गरिरहने डीवी आङबुङलाई पठाइयो । यो कार्यादलमा डा तारामणि राईको संयोजकत्वमा सदस्यहरू डा लाल रापचा सुनुवार, डा गणेश जिमी याक्खा, इन्दिरा जिमी याक्खा, अमर तुम्याङ लिम्बू, डीवी आङबुहाङ लिम्बू, गणेश राई, तीर्थराज मुकारुङ राई, उत्तम सुनुवार, रहेका छन् ।

अनुसन्धाता एवं सांस्कृतिक अभियन्ता विश्‍वासदीप तिगेला पनि सबै भाषाको आफ्नै लिपि हुनु नपर्ने र धेरै भाषाले एउटै वैज्ञानिक लिपि चलाउने गरेको तथ्यमा जोड दिँदै भन्छन्, 'यो लिपिलाई लिम्बू लिपि मात्र भन्‍ने बुझाइ छ । अहिले यो लिपिलाई धेरै किराँत भाषामा परिमार्जित रूपमा चलाउने प्रयास गर्नु सकारात्मक पहल हो ।'

तर, थपिएका वर्णहरूसँगै विभिन्‍न अभिलेख, लिखत तथा अभ्यासहरूमा रहेको ऐतिहासिक लिपिको नाम फेरबदलमा असन्तुष्ट पक्षको बरोबर असन्तुष्टि र आपत्ति छ । उनीहरू नयाँ नाम अनुपयुक्त र अस्वीकार्य रहेको बताउँछन् । मुन्धुमविद् माबुहाङ बताइरहेका छन् कि सिरिजङ्‍गाले दिएको बलिदानीपूर्ण उच्च योगदानको मर्म र भावनाविपरीत राख्‍न लागिएको किराँत सिरिजङ्‍गा नामकरण अनुपयुक्त छ ।

लन्डनको ब्रिटिस इन्डिया अफिस लाइब्रेरीमा रहेको हड्सन पाण्डुलिपि (ब्रायन हड्सनको संकलन) मा किराँत लिपिमा लेखिएको ‘मुन्धुम साप्ला’ पाण्डुलिपि पाइएको छ । उक्त पाण्डुलिपि सिरिजङ्गा सिङ थेबे (१७०४ ई.) ले लेखेको मुन्धुमविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको आंकलन छ । इतिहासकार इमानसिंह चेम्जोङका अनुसार थेबे तिनै व्यक्ति हुन्, जसले प्रथम सिरिजङ्‍गा राजाले आविष्कार गरेको र करिब हजार वर्षसम्म हराएर रहेको ‘सिरिजङ्‍गा लिपि’ लाई प्रयोगमा ल्याएर पुनर्जागृत गरे ।

सिरिजङ्‍गाको जन्म मितिलाई लिएर मत भिन्‍नता छ । एउटा कथनअनुसार १८ औं शताब्दीको उत्तरार्धमा सिङ थेबे लिम्बू परिवारमा वर्तमान ताप्लेजुङ जिल्लाको तेल्लोकमा बाबु पारुजंगा र आमा पुःधाहाङ्‌माको सन्तानको रूपमा सिरिजङ्‍गाको जन्म भएको थियो । उनलाई प्रथम राजा सिरिजङ्‍गाको अवतार मानेर तेअङ्सी सिरिजङ्‍गा तथा दोस्रो सिरिजङ्‍गा भनिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकसमेत रहेका अध्येता बालकृष्ण माबुहाङका अनुसार लिम्बूवान र गोर्खाली फौजबीच पछि १७-१८ वर्षसम्म लडाइँ जारी हुँदा सिरिजङ्‍गा सिक्किमतिर निर्वासित भएका थिए ।११ ब्रिटिस लेखक एचएच रिस्ले (सन् १८९४-१९७२) ले त्यस समयमा प्रतापसिंह शाह वा उनका बाबु पृथ्वीनारायण शाहको शासनको चर्चा गरेका छन् । विसं १८४५ मा चयनपुरबाट लिम्बू भाषा, लिपि पढाउने सिरिजङ्‍गालाई गोर्खालीहरूले लखेटेका भनेर प्रेमबहादुर माबोहाङ र भुपेन्द्र शर्मा ढुंगेल (विसं २०११-२०४७) ले लेखेका छन् । निर्वासित सिरिजङ्‍गा सिक्किममा लिम्बू लिपि लेख्‍नेदेखि प्रचार गर्ने क्रममा लिम्बू भाषा र लिपि सिक्ने आफ्ना आठ जना चेला बनाएको थिए भन्‍ने पनि इतिहासकारहरूको दाबी छ ।

'लिपिकै नाम बदल्नु वा किराँत ‘क्‍वालिफायर’ विशेषण थप्‍नु भनेको लिपि र भाषाको पुनरुत्थानदेखि प्रचार-प्रसारमा हिँड्दा-हिँड्दै सहादत प्राप्त गरेका सहिद सिरिजङ्‍गाको योगदानलाई अवमूल्यन र अनादर गरेसरहको चिन्ताजनक विषय हो ।'

सिरिजङ्गाको हत्या सिक्किममा भएको बताइन्छ । एउटा कथनअनुसार लिम्बू लिपिको पुनर्जागरण र प्रचार गर्दै शिक्षादीक्षा दिन शुरु गरेपछि लिम्बूहरूलाई जगाएर आफ्नो विरुद्ध विद्रोह उठाउँछ भन्‍ने आशंकामा लामाहरूले उनको हत्या गरेका थिए । उनको हत्याबारे अर्को कथन पनि छ । सिक्किमका पाँचौँ राजा फुन्छयोग् नामग्यालको शासनकालको कुरा हो । त्यतिखेर सिक्किममा तिब्बती लिपि र बौद्ध धर्मको प्रभाव थियो । किराँत वंशी लिम्बूहरूमा आफ्नो धर्म, भाषा र लिपिप्रति सिरिजङ्गाले रुचि र प्रभाव बढाइदिएपछि तिब्बती लिपि पढ्ने र बौद्ध धर्म मान्‍ने लिम्बूहरूको संख्या घट्न थाल्यो । त्यसैले लामाहरू सिरिजङ्‍गासँग रिसाए र उनको हत्या गर्न लगाए ।

यसरी आफ्नो लिपि र भाषाको उत्थानमा काम गर्दागर्दै पश्‍चिम सिक्किमको मार्ताममा षड्यन्त्रपूर्वक मारिएका सिरिजङ्‍गाको देनलाई चटक्कै बिर्सेर सिरिजङ्‍गा लिपिको नाम परिवर्तन गर्नुलाई सहिदको अवमूल्यन र अपमान गरिएको रूपमा लिइएको छ ।

याक्थुङ चुम्लुङका अध्यक्ष लिम्बूले २०५२ सालकै निर्णयलाई कार्यान्वयन गरेर ‘किराँत सिरिजङ्‍गा लिपि’ प्रस्ताव गरिएको बताए पनि प्राध्यापक माबुहाङ प्रश्‍न गर्छन्, ‘२६ वर्षअगाडिको निर्णय असंशोधनीय वा अपरिवर्तनीय भन्‍ने त हुँदैन होला नि ?’ उनी अझै थप्छन्, ‘संविधानमा त नागरिकका असन्तुष्टिहरू सम्बोधन गर्ने पहल गरिन्छ भने संस्थाको नेतृत्वकर्ताले सरोकारवालालाई लिएर प्रस्तावमाथि प्रजातान्त्रिक शैलीमा छलफल गरेर राय लिँदै सो अनुरूप अघि बढ्नुपर्छ । गणतन्त्रमा पञ्‍चाययतकै जसरी हिजोको निर्णय नै अन्तिम मान्‍न हुँदैन ।'

सङ्गीतकर्मी झुमा लिम्बू र माबुहाङको सहमति एकै कुरामा छ- 'छलफल राख्‍नुपर्छ । एकल निर्णय लिनुहुन्‍न ।' सामाजिक सञ्‍जालमा झुमा लिम्बू लेख्‍छिन् 'माटोको बास्‍ना सहरमा नभए जस्तो भाषा, लिपि प्रेम सहरियालाई हुन्‍न कि खै ?' आधुनिक बन्‍ने कोसिसमा कथित विद्‍वानले संस्कार, संस्कृति सिध्याइसकेको र अब लिपिमा त्यही हुन गइरहेकोमा चिन्ता व्यक्त गर्छिन्, उनी । उनी थप प्रश्‍न गर्छिन्, 'सिरिजङ्गा भाषा-लिपि भत्काउने चाहिँ कहाँको भाषाविद् हो ? पहिला छलफल राख्‍नुपर्छ कि पर्दैन ? हामीलाई मिटिङमा बोलाउन पर्छ कि पर्दैन ?  हामी संस्कृतिमा काम गर्नेलाई थाहै छैन अनि चुम्लुङ हाँक्नेहरू चैं कुन भाषाको मालिक कुन दिनदेखि भयो ?  भाषामा राजनीति घुसेको खै किन नबुझेको ?

विवाद अझै पनि जारी छ । विभिन्‍न लिम्बू संघ-संस्थाले विज्ञप्ति जारी गरेरै सिरिजङ्गा लिपिको नयाँ नामकरणलाई अस्विकार गरिरहेका छन् । यसले सहिद सिरिजङ्गाको अपमान हुने बुझाइ याक्थुङ लिम्बू समुदायमा बलियो देखिन्छ । राई, सुनुवारलगायतका किराँत समुदायको तर्फबाट कुनै संस्थागत प्रतिक्रिया आइसकेको छैन । तर, वर्णमाला परिमार्जन तथा सिरिजङ्गा लिपिलाई किराँत शब्द अगाडि थपेर साझा लिपि बन्‍न सक्ने र समग्र किराँत समुदायको एकताको आधार हुने तर्क पनि उत्तिकै बलियो देखिन्छ । तैपनि के सत्य हो भने व्यापक छलफल, बहस र सामूहिक सहमतिमै मात्र सही निष्कर्षमा पुग्‍न सकिन्छ ।

नोट


१. राई, गणेश (२०७८). तीन दर्जन किराँत भाषा लेखन अब सिरिजङ्‍गा लिपिमा. कान्तिपुर. माघ ३ मा उद्धृत। https://ekantipur.com/news/2022/01/17/164240557363468195.html (माघ ५, २०७८ मा हेरिएको) ।

२.कान्तिपुर (२०७८). सिरिजङ्‍गा लिपिको नाम परिवर्तनप्रति असन्तुष्टि. माघ ३ मा उद्धृत। https://ekantipur.com/pradesh-1/2022/01/17/164238897179113670.html (माघ ५, २०७८ मा हेरिएको) ।

३. कमल तिगेलाका सबै उद्धरण जनवरी १४, २०२२ को फेसबुक पोष्टबाट ।

४. राई, गणेश. उही. मा उद्धृत ।

५. माबुहाङका सबै उद्धरणहरू २०७८ माघ ५ गते गरिएको टेलिफोन संवादबाट ।

६. राई, गणेश (२०७८). उही. मा उद्धृत ।

७. कान्तिपुर (२०७८) . उही. मा उद्धृत ।

८. माबुहाङ, अर्जुनबाबु (२०७८). सिरिजङ्‍गा को हुन् ? लामाले किन हत्या गरे ? अनलाइनखबर. मंसिर २८ । https://www.onlinekhabar.com/(माघ ५, २०७८ मा हेरिएको) ।

९. झुमा लिम्बूको जनवरी १४, २०२२ को फेसबुक पोस्टबाट ।

प्रकाशित: ११ माघ २०७८ १३:४८ मंगलबार

चेतलुङ
चेतलुङ