२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
एजेन्डा महिला

आह्वानको आह्वान

आह्वानको आह्वान
तस्बिरहरूः आह्वानको फेसबुक पेजमार्फत

साहित्यमा महिलाको उपस्थिति विगतभन्दा सन्तोषजनक छ भन्‍न सकिन्छ । तर, महिलाका साहित्यिक कर्मले सार्वजनिक वृत्तमा कत्तिको मूल्य पाउँछन् भन्‍ने विषय सोचनीय छ । पुरुषको वर्चस्व देखिने बहसहरूमा महिलालाई मूलतः ‘थपडी बजाउने’ संख्यामा सीमित गरिएको छ । राज्यको चौथो अंग मानिने मिडिया नै महिलामैत्री नहुनु विडम्बना हो । परिणाम– लामो समयदेखि निरन्तर लेखनमा लागिरहेका महिलासमेत सार्वजनिक फोरममा ओझेल पारिन्छन् । यस्तो माहोलमा प्रश्‍न त तेर्सिन्छ– महिलालाई स्थान कसले दिने ?

यही प्रश्‍नले जन्मिएको मञ्‍च हो, आह्‍वान । 

पुरुषवादी वातावरणलाई चिर्ने उद्देश्यले लेखक डा अर्चना थापा, कुमारी लामा र उमा सुवेदीको पहलकदमीमा ‘आह्‍वान’ जन्मिएको हो । यस मञ्‍चले विविध विषयमा छलफल, आलोचना/समालोचना, बहस, विमर्श र संवाद कार्यक्रम सञ्‍चालन गर्दै आएको छ । उद्देश्य पनि त्यही थियो– साहित्य, समाज र संस्कृतिमा महिला र महिला–लेखनलाई केन्द्रविन्दुमा राखेर मन्थन गर्न सकियोस् । यसको अर्थ यो होइन कि आह्‍वानले पुरुष र पुरुष–लेखनलाई छेकबार लगाउँछ । खासमा साहित्यिक कार्यक्रममा ‘पुरुष अघि–अघि, महिला पछि–पछि’ देखिने दृश्यलाई भत्काउन आह्‍वानको परिकल्पना गरिएको थियो । कुनामा पारिएको महिला–लेखनलाई सबैले देख्‍ने गरी उज्यालोमा ल्याउनु थियो, यस समूहलाई ।

डा थापा ७ वर्षअघिको परिवेश सम्झन्छिन्– ‘सन् २०१२ सम्म नियाल्दा साहित्य समालोचनामा समीक्षकका रूपमा अधिकांश पुरुषकै बाहुल्य थियो । पुस्तकको समीक्षादेखि विमोचनसम्म पुरुषमार्फत नै आउनुपर्ने माहोल थियो । पुरुष साहित्यकारकै लेख तथा पुस्तक पढ्नुपर्ने निरस वातावरण थियो ।’ हुन त कला–संस्कृति र साहित्यसम्बन्धी उनी आफैँ पनि समीक्षा गर्थिन् । तर, पनि समीक्षक भन्‍नेबित्तिकै दिमागमा पुरुषकै विम्ब किन आउँछ भन्‍ने प्रश्‍नले थापालाई चिमोट्थ्यो । पारिजातबाहेकका महिला साहित्यकारको खासै चर्चा नहुने बेला उनले पर्यटन बोर्डमा ‘महिला र नेपाली साहित्य समालोचना’ शीर्षकमा ३ वटा बहस चलाइन् । त्यसमा वक्ताको रूपमा महिलालाई निम्त्याइन् । धेरैले ‘अनौठो’ माने । उमा सुवेदीलगायत लेखकहरू यो शृंखलाबाट उत्साहित भए । र, थापालाई हौस्याए पनि ।

अस्तित्वमा रहेको मूलधारे साहित्यिक गतिविधिभन्दा भिन्‍न गर्ने उद्देश्यले कुनै अनुभव तथा वित्तीय पर्याप्तताबिना नै आह्‍वान समूहको वैचारिक अवधारणा तयार हुन पुग्यो । आफ्नो अध्ययन, अनुभूति, अनुसन्धान मिहिनेत खन्याइएको महिला लेखनलाई उकास्‍ने सुरुआती उद्देश्य थियो, आह्‍वानको । महिलाले उचित स्पेस नपाइरहेको अनुभूति सुनाउँदै आह्वानकी अभियन्ता कुमारी लामा भन्छिन्, 'महिलाका मुद्दा र महिला सहभागिताको आफ्नै स्पेस बनाउने उद्देश्यले आह्वानको परिकल्पना गरिएको थियो ।'

महिला भन्‍नेबित्तिकै प्रायः एउटा मौन ‘इमेज’ कल्पनामा आउँछ, जसले संवादमा सहभागिता जनाउँदैन । समारोहहरूमा मौन उपस्थिति मात्रै जनाउँछ । अब आह्‍वानले महिलालाई मौनता तोड्न आह्‍वान गर्ने भयो ।

महिला भन्‍नेबित्तिकै प्रायः एउटा मौन ‘इमेज’ कल्पनामा आउँछ, जसले संवादमा सहभागिता जनाउँदैन । समारोहहरूमा मौन उपस्थिति मात्रै जनाउँछ । अब आह्‍वानले महिलालाई मौनता तोड्न आह्‍वान गर्ने भयो । आह्‍वानको अर्थ चुनौती पनि हो, जसले आन्दोलनकारी आवाज निकाल्न बल प्रदान गरोस् ।

आह्‍वान भन्छ– ‘मौनता’ को विपरीत महिलाले सार्वजनिक स्थलमा आएर बोल्नु पर्छ । साहित्यमा स्थापित सामाजिक सांस्कृतिक साहित्यिक मूल्य र मान्यताविरुद्ध बोल्न आउने महिलाले ‘मौनता’ तोड्नुपर्छ । यसरी आह्‍वान नाम फुरेपछि समूहले एकै स्वरमा भन्यो– ‘लेट्स डु इट !’

१२ सेप्टेम्बर २०१६ मा आह्‍वानले तीजको बेला महिलालाई आह्‍वान गर्ने अवसर छोप्यो । बहसको शीर्षक थियो– ‘समकालीन तीज महोत्सवः भावना, कल्पना र पुनर्व्याख्या’ । आधुनिक समयमा तीजले कसरी परम्परागत धार्मिक मान्यता र नारीत्वको मानकलाई स्थापित गरिरहेको छ भन्‍नेबारे मन्थन भयो । अनि, त्यो बहस मासिक रूपमा निरन्तर बढ्यो, फरक विधा र विषयमा ।

यस समूहले महिला, लैङ्गिकता, पहिचान, साहित्य, आमसञ्‍चार, लोकप्रिय संस्कृति, आधारभूत अधिकार, नागरिकता, राष्ट्रिय सीमासम्बन्धी समस्या तथा समकालीन सामाजिक सांस्कृतिक मान्यता, अभ्यास, वैचारिकता तथा अन्यान्य मुद्दाहरूमा आधारित भई उपर्युक्त विषयसँग अन्तर्सम्बन्धित शीर्षकहरूमा अर्थपूर्ण, छलफल, बहस, अन्तरक्रिया, संवाद तथा अन्तर्वार्ताहरूको आयोजना गर्ने गर्छ । पुराना भ्रमहरू र नयाँ चुनौतीबीच सत्य र ज्ञानको अन्वेषण, उत्पादन तथा सीमा निर्धारणको प्रयत्‍न गर्दछ । यस समूहसँग यस्तो पनि अनुभव छ कि सुरु–सुरुमा घरभँडुवा या उग्र नारीवादी समूह भनेर पुरुषहरू सहभागी हुनसम्म डराउँथे । बहसमा वक्ता चुनेर निम्ता दिइसकेपछि पनि कतिपय पुरुष आइदिएनछन् । थापा अनुमान लगाउँछिन्,आह्‍वानको कार्यक्रममा बोलाएपछि खुइल्याउँछन् भन्‍ने लाग्दो हो । उनका अनुसार महिलालाई सुन्‍न ठूलै जमात तयार छैन । महिलाका कुरालाई ‘गन्थन’ का रूपमा मात्रै बुझ्‍ने पुरुष प्रवृत्ति र चिन्तन अझै हाबी छ । यस्ता सोच बोक्नेहरूलाई विश्वस्त पार्न सफल रह्‍यो, आह्‍वान । परिवर्तनका लागि इमानदार भएर बौद्धिक बहस गर्ने आह्‍वानको सिद्धान्तले पुरुषलाई नआइरहन र नबोलिरहन दिएन ।

सरकारी दर्ता नम्बर लिएर चलेको औपचारिक संस्था होइन, आह्‍वान । मूलतः महिला र समाजप्रति आफ्नो जिम्मेवारीको गहिरो बोध भएको समूह हो । यसमा पदको ‘हाइरार्की’ छैन । तीनै जनाले आलोपालो कार्यक्रम रोज्‍ने, स्वेच्छाले वक्ता छनोट गर्ने र कार्यक्रमको डिजाइन गरिन्छन् ।

महिलासँग महत्त्वपूर्ण विषयवस्तुको ज्ञान समाजमा प्रसार गर्नु नै आह्‍वानको खास ध्येय हो ।

यो समूह के कुरामा सचेत भयो भने मूलधारमा छाइरहने महिलाभन्दा कम ‘स्पेस’ पाएका महिलालाई ‘स्पेस’ दिनुपर्छ । समावेशिताको मर्म नभुलीकन वक्ता र विषयवस्तुको छनोटमा अलि बढी ध्यान दिइयो । महिला वक्तालाई प्रधानता दिइए पनि पुरुषलाई बन्देज लगाइएको छैन ।

आह्‍वानले ‘ज्येष्ठ दिदी पुस्ता र कनिष्ठ बहिनी पुस्ता’ बीच ‘सेतु’ बन्‍न कसरत गरिरहेको छ । समूहको बुझाइ छ– मान्छेहरूलाई आह्‍वान र अरु उस्तै होइनन् भन्‍ने विश्‍वास जगाउन पनि सफल भइयो ।

अधिकांश कार्यक्रमहरू महिलामैत्री नभएको अनुभव धेरैले गरेका थिए । समयको हेक्का नराख्‍ने, असमयमा कार्यक्रम थाल्ने र असमयमा समापन गर्ने रीति थियो । घरभान्सादेखि बालबच्चा व्यवस्थापन गरेर आउने महिलासँग प्रशस्त समय हुने कुरै भएन । यही अप्ठ्यारोलाई ध्यानमा राखेर आह्‍वानले सम्बोधन गर्ने, बत्ती बाल्ने र लामा–लामा भूमिकाजस्ता कर्मकाण्डलाई पन्छाएर सामूहिक सम्बोधन गर्ने शैलीको थालनी गर्‍यो । समूहले महिलाको सक्रियता र नियमित सहभागितालाई बढाउन उपयुक्त समय (दिउँसो) र बार (शनिबार) देखि यातायातको पायक पर्ने स्थानमा कार्यक्रम गर्न थाल्यो । परिणाम– उत्साहजनक महिला सहभागिता हुन थाल्यो ।

यस समूहसँग यस्तो पनि अनुभव छ कि सुरु–सुरुमा घरभँडुवा या उग्र नारीवादी समूह भनेर पुरुषहरू सहभागी हुनसम्म डराउँथे ।

पुरुष वक्ता रहेको समारोहमा महिलाहरूले प्रश्‍नोत्तर गर्न दकस मान्‍ने गरेको भेटिन्छ । तर, महिला वक्ता रहेको कार्यक्रम बढी अन्तरक्रियात्मक हुन्छन् भन्‍ने कुरा आह्‍वानका बहसहरूले साबित गरिदिए । यस्ता कार्यक्रमहरू एकजना ‘ज्ञाता’ ले ज्ञान बाँडिरहेजस्तो देखिन छाडे ।
महिलाको जमघट, छलफल, विमर्शलाई फगत ‘आइमाई गन्थन’ को बिल्ला लाग्‍ने गरेकै थियो । महिलाले महिलाकै खुट्टा तान्छन् भन्‍ने ‘स्टेरियोटाइप्स’ बदल्न र तोड्न पनि आह्‍वानको आह्‍वानहरूले गहिरो अर्थ राख्छन् ।

भनिन्छ, पाठक बजार खासै नभएको मुलुकमा महिलाका कृतिले पाठक पाउन मुस्किलै छ । स्थापित लेखकहरूले समेत महिला लेखकको पुस्तकलाई हियाउने गरेको प्रसंग सुनिन्छ । यस्तै मनोविज्ञानलाई परास्त गर्न समूहले महिला लिखित उत्पादनमा छलफल गर्ने ‘फोरम’ उपलब्ध गराउँदै आएको छ । थापा सम्झन्छिन्– ‘विगतमा आफ्ना पुस्तकको समीक्षा/समालोचना कुनै ‘दाइ’ ले गरिदिन्छ कि भनेर आश गर्ने अवस्था थियो । अब महिलाका कृतिहरू ‘आस’ (आह्‍वान समूह) को आश गर्ने परिवेश बनेको छ ।’

विभिन्‍न जात, वर्ग, उमेर र धर्ममा विभक्त महिलाका नश्लीयता, यौनिकता, अशक्तता, भौगोलिकता, क्षेत्रीयतालगायत अन्य सामाजिक सांस्कृतिक कारकसहितका सामाजिक राजनीतिक पहिचानका पक्षहरूमा गहिरो चासो राख्‍ने ‘आस’ ले लेखनमा बामे सर्दै गरेकाहरूलाई भ्याएसम्म मार्गनिर्देश गर्दै आएको छ । नवोदित महिला साहित्यकारले यस्तो अभ्यासमार्फत आत्मविश्‍वास जगाएको अनुभूति साझा गर्दा समूह प्रफुल्ल बन्छ ।

महिलाले आँटेको काम होस् वा उनीहरूले नेतृत्व गरेको कुनै संस्था, त्यसप्रति पितृसत्तात्मक समाजमा शंका र अविश्‍वासको नजर लगाउने काम गरिन्छ । आह्‍वानले पनि अनेकन गालीगलौज पायो । केहीले शहरकेन्द्रित ‘एलिट’ को बसिबियाँलो भनिदिए भने केहीले हुने–खानेहरूले पैसा पोख्‍ने बाटो देखे । तर, थापाको बुझाइ फरक छ । भन्छिन्, ‘विशेषाधिकार पाएकै कारण अरुप्रति विशेष दायित्व पनि मेरै छ ।’

‘आस’ साहित्यिक समूह भए पनि महिला हिंसा, बलात्कार, लैंगिकता, आदिवासी महिला, नेपाली सिनेमाजस्ता सामाजिक–सांस्कृतिक विषयमा विमर्शको अगुवाइ लिइसक्यो । 

कुनै पनि अभियानको गतिमा आर्थिक पाटो पनि उत्तिकै महत्त्वपूर्ण पाटो हो । आह्‍वानले पनि केही जटिलता बेहोर्‍यो । यसका बाबजुद पनि समूहले कुनै स्रोतबाट आर्थिक सहयोग नलिने निर्णय गर्‍यो । लगानीकर्ताको दबाब वा स्वार्थ हाबी हुन सक्ने भएकाले त्यसतर्फ रुचि नभएको बताउँछिन्, सुवेदी ।

मार्टिन चौतारी, पर्यटन बोर्ड र विभिन्‍न विद्यालयलाई अनुरोध गरी कार्यक्रम गरेको यस समूहका सदस्यहरूले पालैपालो चियापानीको जिम्मा लिँदै आएका छन् । चियापानीको भरमा कार्यक्रम गरिछाड्ने आदत बसाल्यो । कसैको आश नगर्ने भएपछि कम्तीमा आत्मनिर्णय गर्न सक्ने स्वतन्त्रता मिल्छ भन्‍ने अवधारणाले काम गरेको छ । तर, अल्छी बन्‍ने हो कि भन्‍ने डर पनि आह्‍वानसँग छँदै छ ।

महिलाको जमघट, छलफल, विमर्शलाई फगत ‘आइमाई गन्थन’ को बिल्ला लाग्‍ने गरेकै थियो । महिलाले महिलाकै खुट्टा तान्छन् भन्‍ने ‘स्टेरियोटाइप्स’ बदल्न र तोड्न पनि आह्‍वानको आह्‍वानहरूले गहिरो अर्थ राख्छन् ।

महामारीको ‘छर्रा’ ले आह्‍वानलाई पनि हान्यो । पुरानै गतिमा लान नसके पनि ‘भर्चुअल’ दुनियाँबाट कार्यक्रम गरिए । ‘महाव्याधि र समाजको सम्बन्ध’ जस्तो पेचिलो बहस भयो, यो बेला ।

चुनौतीहरू अंगाल्दै–संगाल्दै यस यात्रामा आह्‍वानले धेरथोर प्राप्ति, विश्‍वास र महिलाहरूको आडभरोसा आर्जन गरेको छ ।

आह्‍वानमा पूरा ६ वर्षको समय र पसिना लगानी गरेकी थापाले अबदेखि बृहत् नागरिक आन्दोलनबाट बोल्ने निधो गरिन् । आह्वानलाई अघि बढाउने जिम्मेवारी अब संस्थापकद्वय कुमारी लामा र उमा सुवेदीको काँधमा आइपुगेको छ । 

लामा र सुवेदीले ‘आस’ लाई अझै व्यापक ‘मास’ मा पुर्‍याउने त्रिवर्षीय योजनासहित खाका कोरिसकेका छन्, जसमा युट्युबमा जाने, उपत्यकाबाहिरका महिलासँग अन्तरक्रिया गर्ने, अध्ययनमा रुचि राख्‍नेहरूको महिला समूह गठन गर्ने र उनीहरूसँगै पुस्तक समीक्षा कार्यशाला आयोजना गर्ने र महिला समीक्षकहरु तयार पार्ने जस्ता कार्यसूची छन् । यसका अतिरिक्त पुस्तान्तर हटाउन फरक पुस्ताका महिलाका लागि पुलको काम गर्ने सिर्जनात्मक एवं अन्तरक्रियात्मक मार्गको अन्वेषण गर्ने योजना पनि छ । समूहको ‘अन्तिम’ योजना हो– ‘वित्तीय कोषको व्यवस्थापन गर्ने’ । जसरी पनि ‘आस’ लाई अविराम अविचलित लयमा हिँडाइरहन सदस्यहरू कटिबद्ध र प्रतिबद्ध छन् । समाज जुन तौरतरिका र मानसिकताबाट निर्देशित छ, तिनलाई चिर्न अझै धेरै प्रतिबद्ध ‘आस’ हरूको खाँचो छ ।
 

प्रकाशित: १९ माघ २०७८ १८:०० बुधबार

चेतलुङ
चेतलुङ