२५ साउन २०७९, बुधबार - August 10, 2022 Wednesday
एजेन्डा आदिवासी-जनजाति शिक्षा

एउटा कविताले ल्याएको हलचल

‘हरिनन्द र माटो’ कवितालाई पाठ्यक्रमबाट हटाउने कसरत

एउटा कविताले ल्याएको हलचल

नेपालका विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमले विद्यार्थीमा व्यावहारिक ज्ञान र सीप प्रसार नगरेको बहस चली नै रहन्छन् । यो बहस कहिले गर्माउँछ, कहिले सेलाउँछ । तर, हराएर जाँदैन । यति मात्र नभएर पाठ्यक्रमले सधैँभरि शासकका बैगुन लुकाएर ती शासकलाई ‘हिरो’ करार गर्ने खाले सामग्री मात्र पस्किने गरेको आलोचना पनि हुन्छ । पाठ्यक्रमले शासक र शासकीय जातजाति धर्म र समुदायबारे एकलौटी व्याख्या गर्ने र ती इतरका सबै प्रतिको पूर्वाग्रहलाई निरन्तरता दिएको भन्दै पछिल्लो दशकदेखि त आदिवासी–जनजातिदेखि सीमान्तकृत विविध समूह र समुदायले व्यापक आलोचना गर्न थाले ।

उनीहरूले अबदेखि आधारभूत तहबाटै आलोचनात्मक चेतसहितका साहित्य र विविधतायुक्त समाजको वास्तविक मुहार पनि पाठ्यक्रममा समेटिनुपर्छ भनेर बोल्न थाले । गणतन्त्र स्थापित भइसकेको परिप्रेक्ष्यमा पाठ्यक्रमले पनि आफूलाई परिमार्जन गरेर वास्तविक सामाजिक मुद्दालाई पाठ्यक्रमको विषय बनाइनुपर्ने कुरामा धेरैले जोड दिए । यसको प्रभाव पाठ्यक्रम विकास केन्द्रले तयार गरेको नयाँ पाठ्यक्रममा देखियो ।

कविताको एक पंक्तिका कारण खोटाङका खार्पाली पोखरेलहरूले आफ्ना पुर्खा ‘हरिनन्द पोखरेल’ को अपमान भएको भन्दै पाठ्यक्रमबाट अविलम्ब हटाउनुपर्ने माग राखेको कुरा चर्चामा आयो ।

नारीवादी, स्वच्छन्दतावादी, प्रगतिवादी आदि धाराका सिर्जनाहरू र सीमान्तकृत चेतनालाई व्यक्त गर्ने रचनाहरूलाई पनि पाठ्यक्रमले स्थान दिएकोे छ । यही क्रममा ‘सीमान्तकृत चेतना’ धाराअन्तर्गत कक्षा १२ को ‘ऐच्छिक नेपाली’ विषयमा भूपाल राईलिखित ‘हरिनन्द र माटो’ शीर्षकको कविता राखियो । पाठ्यक्रममा समाविष्ट भई हाल अध्ययन–अध्यापन हुँदै आइरहेको उक्त कविता यतिखेर भने विवादको केन्द्रमा छ ।

विवादबारे थप छलफल गर्नुअघि कविता पढौं ः

हरिनन्द र माटो

हरिनन्द
निषेध गर्छ माटोलाई
तर, पूजा गर्छ मालिकलाई

ऊ– बिनाहावा
बिनापानी
बिनामाटो
फुलाउँछ फूल
माटो नाछोई
उमार्छ फसल
भर्छ भकारी
र, छुट्याउँछ माटोबाट राजभक्तिको फूल

माटोको बङ्करभित्र
खडा गर्छ माटोकै महल
खान्छ माटै
बिस्ट्याउँछ माटै
तैपनि माटोकै विरुद्धमा
तय गर्छ धमिराको भूमिगत यात्रा

हरेक विकल्प छ माटोको ऊसँग
त्यसैले द्रोह गर्छ माटोसँग
त्यसैले भेटी चढाउँछ
आफैले शरण लिएको एक मुठी माटो
नुवाकोटको दरबारमा

ऊ– एक द्रोह उर्फ दारा
पूरा नाम– हरिनन्द पोखरेल
ठेगाना– खार्पा, माझ किरात, खोटाङ
द्रोह वर्ष सन् १७७३

दुर्भाग्य !
म माटो ढोग्छु
त्यसैले माली छु
ऊ माटो टेक्छ
त्यसैले ऊ मालिक छ ।

(‘आगोले जन्मोत्सव मनाउँदैन’ कविता संग्रहबाट)

विवादको सेरोफेरो

कविताको एक पंक्तिका कारण खोटाङका खार्पाली पोखरेलहरूले आफ्ना पुर्खा ‘हरिनन्द पोखरेल’ को अपमान भएको भन्दै पाठ्यक्रमबाट अविलम्ब हटाउनुपर्ने माग राखेको कुरा चर्चामा आयो । उक्त पंक्ति हो–

पूरा नाम– हरिनन्द पोखरेल
ठेगाना– खार्पा, माझ किरात, खोटाङ
द्रोह वर्ष सन् १७७३ ।

सामाजिक सञ्‍जालमा कवितालाई लिएर अनेक तर्क–वितर्कहरू पनि गरिएको भेटिन्छ ।खार्पाली बाबु नामको फेसबुक आईडीबाट प्रश्‍न गरिएको छ – ‘यो कविताबाट हामी खार्पाली पोखरेलको नाक उँचो भएको हो कि नाक कटेको हो, मैले त बुझ्‍नै सकिनँ !’ प्रतिक्रियामा डुकेन्द्र पोखरेलले प्रत्युत्तर दिएका छन्, ‘यस कविताले खार्पाली पोखरेलको नाक उँचो हैन, काटेको छ । हरिनन्द दरबारिया चाकडीबाज र स्थानीय हैकमका नाइके हुन् । देखे–टेकेकै भरमा भूमि हडप्‍ने र अर्काकै पसिना खाने माटो बराबर दाँजिएको कविता बेइज्जतीको व्यंग्यात्मक पराकाष्ठा हो । जे होस्, खार्पाली हरिनन्द सुरवीरको प्रतीक र खार्पा मौजाको नायक रहेछ्न् । त्यसैले आज पनि खार्पाली पोखरेल भन्ने शब्द उँचो छ । कसैले नकारात्मक सोचबाट बयान गर्दा झन् मलिलो बन्दै छ, खार्पाली पोखरेल !’

यसैगरी रोहिणी रसिक नामको आईडीबाट बाबुराम पोखरेललाई ट्याग गर्दै कविताको तस्बिरसहित भनिएको छ, ‘यस्तो कविता १२ कक्षाको पाठ्यक्रममा ।’ यही स्ट्याटसमुन्तिरका अनेक प्रतिक्रियामध्ये ध्रुव पोखरेलको तर्क यस्तो छ– ‘नरमाइलो लाग्यो । पोखरेलहरूको संगठनले पहल गरी पाठ्यक्रमबाट हटाउनु पर्छ ।’ शम्भु पोखरेलले कवितालाई हरूवाहरूको प्रतिशोधको उपज र एकीकृत नेपाल नचाहनेको खेल भएको आरोप लगाएका छन् । उनको थप प्रतिक्रिया छ, ‘पाठ्यक्रम विकास केन्द्रले गम्भीरतापूर्वक पुनरावलोकन गर्नुपर्छ । हरिनन्दको जन्म १७९५/९६ तिर मात्र भएकोले तथ्यपरक नभई कुण्ठापूर्ण आक्रोशजस्तो छ ।’
यसरी कविताको सन्दर्भमा खासगरी खार्पाली पोखरेलहरूले प्रतिशोधको साहित्य मात्रै भनेका छैनन्, कवि राईलाई धिक्कारेका पनि छन् । उनीहरूका लागि आफ्नो अग्रज हरिनन्द पोखरेल नेपाल ‘एकीकरण’ मा गोरखाली राजा पृथ्वीनारायण शाहलाई सघाउने ‘नायक’ र ‘गौरवपूर्ण’ पात्र हुन् । यही आशय निवास पोखरेलको पनि छ, ‘एकीकरणको अभियन्ता हरिनन्द नभइदिएका भए आज यो भाग नेपाल रहने थिएन । साँच्चै भन्नुपर्दा एकीकरणका अभियन्ताको ऐतिहासिकताको चर्चा गराई दिदैँ छन्, कुन्ठावादीहरूले ।’

खार्पाली पोखरेलहरूमा हलचल ल्याउने र आक्रोश जन्माउने यस कवितामा वर्णित हरिनन्द आखिर को हुन् त ?

बाबुराम आचार्य लगायत विभिन्न इतिहासकारहरुका अनुसार हरिनन्दले चौदण्डी ठकुराई (तत्कालीन किराँत राज्य) को माटो ल्याएर नुवाकोट दरबारमा गोर्खाली राजा पृथ्वीनारायण शाहलाई चढाएका थिए । साथै उनी किराँत राज्यमाथि आक्रमण गरेर गोरखा राज्यमा मिलाउन उक्साहट दिँदै तत्कालिन गोर्खाली राज्यविस्तार अभियानमा यथासम्भव धनको सहायता गर्ने वचनसमेत दिएका पात्र मानिन्छन् । त्यसबखत उनी चौदण्डीका सेन राजाका शक्तिशाली राजपुरोहित थिए ।

दुर्गाहाङ याख्खाराईले आफ्नो पुस्तकमा हरिनन्दबारे लेखेका छन्–

अहिन्दु राज्य–रजौटाहरूलाई सखाप पारेर असिल हिन्दुस्तानाको निर्माणमा निस्केका गोर्खाली राजा पृथ्विनारायणका हिन्दु राज्यतन्त्र’ नीति बुझेका खोटाङ–खार्पा निवासी चौदण्डी राज्यका राजगुरु एवम् धनाढ्य हरिनन्द उपाध्याय (पोखरेल) र त्यसै राज्यका चौतरियापछिको उच्च सैनिक पदाधिकारी स्वरुपसिंह कार्की मिलेर आफ्ना चौदण्डी मातृभूमिप्रति द्रोह (दुस्मनी) गरी नुवाकोट पुगेर राजा पृथ्वीनारायण समक्ष आफ्नो राज्यमा चढाउन पुगेका थिए (१७६९ ई.) (किरातः हिजो र आज, पृष्ठ ५६)।

हरिनन्दको ‘माटो–भेटी’पश्‍चात स्वरूपसिंह कार्कीले तत्काल गोर्खाली सैनिक सेवाको उच्च पदवी सरदारमा नियुक्ति पाएको समेत उनले उल्लेख गरेका छन् ।

दूधकोसीदेखि अरूणकोसीसम्मको खम्बु बस्ती भएको माझकिराँतको मुख्य प्रशासन सेनवंशी राजाले चौदण्डी गढीबाट चलाउँथे । पहाडतर्फ स–साना गढ़ी र थुममा भने विभिन्न किराँती राजाहरूले राज्य गर्दथे । गोरखा, तनहुँ तथा मकवानपुरपट्टिबाट माझकिराँतमा बसाइँ सरेर पुगेका खस ब्राह्मणहरु भने सेन राजालाई मान्दथे । तर, किराँती मन्त्रीहरूको दबदबा स्वीकार गर्न हिच्किचाउँथे ।

कौशल चेमजोङका अनुसार यस्तै मनमुटावका कारण कर्ण सेनका प्रमुख कर्मचारी स्वरूपसिंह कार्की र खार्पाका धनाढ्य ब्राह्मण हरिनन्द पोखरेल सन् १७६९ मा नुवाकोट गई पृथ्वीनारायण शाह समक्ष आश्रय लिन पुगे । कार्कीलाई सरदारी दिई सैनिक अफिसर बनाइयो । चेमजोङले आफ्नो पुस्तकमा चौदण्डी राज्यको महत्वपूर्ण पद (राजपुरोहित) मा रहेका पोखरेल र कार्की (सैन्य प्रमुख) दुवै जनाले ‘चौदण्डी घात गर्ने मनसुवा लिएर गोर्खालीको शरणमा पुगेको’ लेखेका छन् (उदयपुरको इतिहास, पृष्ठ २४९) ।

सिमान्तकृत समुदायको दृष्टिबाट इतिहासको नयाँ व्याख्या पस्किँदै चेम्जोङ लेख्छन् –

तर किन हो, राजपुरोहित हरिनन्द पाध्या चौदण्डी–द्रोही बने । उनी चौदण्डी–द्रोही हुन् भन्ने कुरा उनको विभिन्न क्रियाकलापले पुष्टि गर्छन् । ती हुन्, एक– चौदण्डीको माटो चढाएर गोर्खाली राजा पृथ्वीनारायण शाहलाई चढाइको निमन्त्रणा दिने, दुई– बन्दुकलगायतका अत्याधुनिक हतियार किनेर विरोधी फौजलाई दिने, तीन– गोर्खाली सिपाहीबीच असन्तोष व्याप्त नहोस् भनी युद्ध मैदानमै पटना रूपैयाँ तलब बाँड्न सहयोग गर्ने, चार– स्याडो आक्रमण गरी तर्साउन मान्छे भेला गर्ने, पाँच– गोर्खाली फौजलाई कोसी तार्ने र बाटो देखाउने स्काउटको काम गर्ने, छ– स्वरूपसिंह कार्कीलाई पनि पक्राउ गर्न वा सल्लाहले दिने र सात– आक्रमणको अवरोध खुलाउन अग्रसर हुने (उही, पृष्ठ २४९) ।

यसरी किराँत राज्यहरू मार्न सहयोग गरेबापत शाहवंशीय राजाबाट बिर्तासमेत पाएका हरिनन्दले लोभले काम (द्रोह) गरेको आँकलन गर्छन्, अधिकांश किराँत लेखकहरू । यिनै कारण हुन्, जसले गर्दा हरिनन्द किराँत राज्यवासी/किराँतीका निम्ति ‘चौदण्डीघाती’ थिए र छन् । जुन माटोमा रहे, त्यही माटोप्रति द्रोह गरे, हरिनन्द पोखरेलले ।

किराँत माटोमा जीवन फूलाएर त्यही ‘माटो’ कसैको पाउमा अर्पिनु किराँतीहरूका निम्ति ‘सह’ र ‘आत्मा’ बुझाउनु सरोबरी हो । यही भाव र चेतनाले जबरजस्त ‘हिरो’ बनाइएको पात्र ‘द्रोही’ भनेर चिनिन्छ ।

तर, खसआर्य समुदायको बाक्लो र सबैभन्दा पहिलो उपस्थिति रहेको इतिहास–लेखन कार्यमा हरिनन्दलाई ‘एकीकरणको योगदानकर्ता’ भनेर मानियो र चिनाइयो । यही परिभाषाप्रति घोर विमति राख्दै हरिनन्दलाई किराँतभूमिको ‘खलपात्र’ ठान्ने समुदायको प्रतिनिधित्व गर्ने कवि राईको कविताले इतिहासको त्यही भाष्यलाई चिर्न र आलोचनात्मक दृष्टिले हेर्न आह्वान गरेको कुरा पोखरेल परिवारलाई अपाच्य हुन पुगेको अनुमान गर्न सकिन्छ । यही कारण नै पाठ्यक्रमबाट कवितालाई नै हटाउन माग गरिएको छ । 

कविताको वैचारिक पक्ष

कवि भूपाल राई र हरिनन्द पोखरेलको भूगोल एकै हो । हरिनन्दले माटो बोकेर गएको इतिहासलाई कविको समुदायले द्रोह देख्नु स्वाभाविकै हो । त्यसैले कवि आन्दोलित भए ।

पृथ्वीनारायण शाहलाई किराँत भूमितिर प्रवेश गर्न गाह्रो भइरहेको बेला किराँत थलोको माटो गोर्खाली शासकको पाउमा चढाउँदै किराँत कब्जा गर्न हरिनन्दको व्यवहारले भरपुर सघाएको प्रसंगले कविमा हरिनन्दप्रति आवेग दन्कन्छ र कवितामार्फत छताछुल्ल पोखिन्छन् ।

पृथ्वीनारायण शाहलाई एकीकरणकर्ता भन्ने कि आन्तरिक उपनिवेशकारी भन्नेबारे ‘डिस्कोर्स’ जारी छ ।

एकीकरणबारे पञ्‍चायतकालले निर्माण गरेको इतिहासदृष्टि अनुसार त हरिनन्दको योगदान ऐतिहासिक ठहरिन सक्छ  । पोखरेलहरूका लागि पनि आफ्नो पुर्खाले नेपाल ‘एकीकरण’ मा पृथ्वीनारायण शाहलाई सघाएको गर्ववोध हुनसक्ने भयो, जसको ब्याज र जस आजसम्म लिन पाइरहेकै छन् । यसखाले एकदम ‘सहयोगी’ र ’असल पात्र’ लाई कवि राईको कुन नजरले अर्कै देख्यो त ?

यहाँनेर राजनीतिक, सांस्कृतिक पहिचानको पछिल्लो आन्दोलनले इतिहासप्रति फरक दृष्टि निर्माण गरिसकेको हेक्का राख्नु जरुरी छ । एकीकरण नामको ‘आक्रमण’ सहनु नपर्दासम्म किँरात प्रदेश किराँत समुदायको स्वायत्त देश थियो, जो आफ्नै बलबुतामा बाँचेको थियो । त्यसमाथि द्रोह गर्ने ‘देशद्रोही’, ‘किराँत राष्ट्रद्रोही’ दाबी गरिन्छन्, हरिनन्द नामका पात्र ।

पृथ्वीनारायण शाहले विभिन्न आदिवासी जनजातिमाथि अतिक्रमण, अत्याचार, उपनिवेश लादेको हो भन्ने चेतनाले यो कविता जन्मिएको देखिन्छ । किराँत माटोमा जीवन फूलाएर त्यही ‘माटो’ कसैको पाउमा अर्पिनु किराँतीहरूका निम्ति ‘सह’ र ‘आत्मा’ बुझाउनु सरोबरी हो । यही भाव र चेतनाले जबरजस्त ‘हिरो’ बनाइएको पात्र ‘द्रोही’ भनेर चिनिन्छ ।

इतिहासकारले शासकलाई खुसी पार्न र आफ्नो दुनो भर्नका लागि लेखेको पूर्वाग्रही इतिहासलाई आज गणतान्त्रिक नेपालका कुनै पनि सीमान्तकृत समुदायले स्विकार्दैनन् । ‘हरिनन्द र माटो’ यसैको उदाहरण हो ।

मुलुकमा गणतन्त्र बहाली हुनुभन्दा पहिले नै वि.सं. २०५० को दशकमै नेपालको राज्यसत्तालाई नै बदल्नुपर्ने दृष्टिकोण अगाडि आइरहेको थियो । २०६० को दशकमा त राज्य पुनर्स‌ंरचनाको मुद्दा एउटा सर्वसम्मत राजनीतिको हिस्सा भैसकेको थियो । ‘हरिनन्द र माटो’ पनि ०६८/६९ तिर लेखियो, जतिबेला राज्यसत्ता बदल्ने दृष्टिकोणले एकीकरणको दृष्टिकोणलाई पूरै खारेज गर्ने बाटोमा अग्रसर थियो । यति मात्रै होइन, पहिचान र स्वायत्तताको दृष्टिकोणलाई पकड्दै थियो ।

अतः इतिहासको घटनाले निर्माण गरेको वैचारिकीसँग पहिचानको राजनीति गाँसिएर नै यो कविता रचियो ।

कवितामार्फत भूपाल राई र उनले प्रतिनिधित्व गर्ने समुदायको पहिचानको दर्शन गाँसियो, इतिहाससँग । यही कविता अन्ततः इतिहास निर्मित परम्परागत भाष्यलाई ब्रेक गर्ने वा खारेज गर्ने सैद्धान्तिक कोसिस बन्न पुग्यो । नयाँ दृष्टिकोणसहितको इतिहासको नयाँ भाष्य पनि निर्माण गर्न खोज्यो, यो कविताले । तर, इतिहासको एकलकाँटे भाष्य सुन्न/हेर्न/बोल्न र अध्ययन गर्न रुचि राख्‍ने शासकीय समुदाय र जातिका समूहलाई सीमान्त आवाज र सीमान्त चेतसँग अभ्यस्त हुन गाह्रो परिरहेको भान हुन्छ । यसकारण उनीहरू भिन्न–भिन्न ठाउँमा भिन्न रूपले प्रस्तुत भइरहेका भेटिन्छन् ।

पाठ्यक्रममा पर्नुको ऐतिहासिक परिप्रेक्ष्य

विगतका विविध जनआन्दोलन, दसवर्षे जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मधेस आन्दोलन, महिला आन्दोलन र दलित आन्दोलनका कारण सीमान्तीकृतको सहभागिता राज्यका हरेक निकायमा गराउनैपर्ने बाध्यकारी व्यवस्था संस्थागत भएको छ । यिनै आन्दोलनको रापतापमा सीमान्तकृतको दृष्टिकोणलाई पनि समेट्ने साहित्यिक रचना राख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले ‘क्राइटेरिया’ बनाउनु वा ‘क्लस्टर’ छुट्टयाउनुलाई एउटा उदाहरण मान्न सकिन्छ । यसै ‘क्राइटेरिया’ भित्र भूपाल राई पनि परे । र, उनको कविता ‘हरिनन्द र माटो’ पनि पर्‍यो ।

‘हरिनन्द र माटो’ को साटो राईकै अर्को कुनै कविता राख्‍नेबारे पनि विषय समितिमा छलफल चलिरहेको अध्यक्ष घिमिरे स्विकार्छन् । राईलिखित अर्को कविता ‘ऐनाभन्दा नितान्त पर’ राख्‍नेबारे विषय समितिमा लगभग टुंगो लागेको पनि बताइएको छ ।

कुनै स्रष्टाको रचनालाई पाठ्यक्रममा समावेश गरिएको कुरा सम्बन्धित स्रष्टालाई जानकारी दिने वा आधिकारिक पत्रमार्फत सूचित गराउने सरकारी प्रावधान हुनुपर्ने हो । यस कविताका लेखक राईले पनि पढाइ भएको आधा वर्षभन्दा बढी समय गुज्रिसकेपश्‍चात मात्रै अन्यत्रबाट थाहा पाए ।

छनोट समितिदेखि विषय समितिसम्मले व्यापक छलफल गरेर नै यो कविता चयन गरिएको होला । यी समितिका हरेक सदस्यले उक्त कविताको आलंकारिकता, मूलभाव वा वैचारिकी र उद्देश्य नबुझीकनै अध्ययन–अध्यापनको विषय बनाइयो भन्नु पक्कै अन्यथा हुनेछ । तर, पाठ्यक्रम विकास केन्द्रका सरकारी अधिकारीबाट खार्पाली पोखरेलकै व्यक्तिगत आग्रह र विमतिलाई सम्बोधन गर्ने प्रयास भइरहेको चर्चा हुनुचाहिँ सोचनीय छ ।

कविता हटाउनुपर्ने मागसहित केन्द्रमा खार्पाली पोखरेलहरूको डेलिगेसनको खबरहरूले यो कविता पाठ्यक्रमबाटै हटाउन केन्द्रमा परेको दबावलाई आँकलन गर्न सकिन्छ । कविताले पोखरेलहरूप्रति नकारात्मक भ्रम फैलाएको भन्दै खोटाङ खार्पा थातथलो भएका केही व्यक्तिले पाठ्यक्रम विकास केन्द्रमा विरोध जनाएका खबर प्रकाशित भयो (रातोपाटी, २४ माघ २०७८ ।

यसबारे केन्द्रका सूचनाअधिकारी गणेश भट्टराईले औपचारिक रूपमा कसैबाट पनि चिठी नआएको तर केन्द्रको भाषा शिक्षा शाखामा यो कुरा पुगिसकेको जानकारी दिन्छन् । उनले हरिनन्द को हुन् भनेर शिक्षकहरूले नै सोध्नु स्वाभाविक भएको बताउँछन् । चलिरहेको विवादबारे उनले यदि पाठ्यपुस्तकमा पारिसकिएको रचनामा कुनै प्रश्‍न या विवाद आउँछ भने लेखकलाई सम्पर्क गरेर लेखनको वैचारिकी र प्रसंग सोधिने बताए । भट्टराई भन्छन्, ‘यदि छनोटमा परिसकेको रचना विविध कारणले उपयुक्त नठहरिएमा यसबारे निर्णय गर्ने आधिकारिक निकाय विषय समिति हो । यसका लागि मौखिक गुनासोभन्दा पनि औचित्यसहितको आधिकारिक पत्र हुनुपर्छ ।’

नेपाली विषय समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरेले पनि कवितामा उल्लिखित व्यक्तिको नाम र ठाउँबारे विवाद आएको र कवितामा आक्षेप भएकाले निश्‍चित पंक्ति फेर्नुपर्ने माग आएको स्विकार्छन् । विषय समितिमा कविता फेर्नेबारे छलफल जारी रहेको बताउँदै अध्यक्ष घिमिरेले कविता हटाउनुपर्ने पर्याप्त कारणहरू मौखिक रूपमा माग गरिएको जानकारी गराउँँछन् । यदि कारणहरू ‘जेन्युइन’ भएमा वा व्यक्ति, जाति विशेष, समाज र राष्ट्रलाई आक्षेप लागेको प्रमाणित भएमा विषय समितिले केन्द्रलाई कविता हटाउने सुझाव दिन सक्ने उनी बताउँछन् ।

‘हरिनन्द र माटो’ को साटो राईकै अर्को कुनै कविता राख्‍नेबारे पनि विषय समितिमा छलफल चलिरहेको अध्यक्ष घिमिरे स्विकार्छन् । राईलिखित अर्को कविता ‘ऐनाभन्दा नितान्त पर’ राख्‍नेबारे विषय समितिमा लगभग टुंगो लागेको पनि बताइएको छ ।

वैचारिक प्रतिगमन

यो कविताको मूख्य विद्रोह नै के हो भने इतिहासकारहरूले बनाएको राजभक्ति र देशभक्ति भाष्य र कथित वीरहरूबारे नयाँ कोणबाट प्रश्‍न उठाउँदै यसले सिमान्तकृत समुदायको नयाँ दृष्टि स्थापित गर्न खोज्छ । पृथ्वीनारायणलाई ‘राष्ट्रपिता’ देख्‍ने दृष्टिले हरिनन्दलाई पनि ‘कुलपिता’ देख्नु नौलो भएन । यो दृष्टिले किराँत भूगोलमाथि भएको ज्यादती र उत्पीडन पनि देख्दैन । न त देखाउन खोज्‍ने पात्र या रचना नै ग्राह्य हुन्छ ।

कवि राईले धेरैपटक सार्वजनिक कार्यक्रममा आफूलाई राज्यसत्तासँग दोहोरो भिडन्त गरिरहने कवि भनेर दाबी गरिरहन्छन् । सीमान्तकृत चेतनाको ‘क्राइटेरिया’ बनाइसकेपछि सीमान्तको चेतनाबारे पाठ्यक्रम निर्माणमा खटिने विज्ञहरू जानकार नै हुनुपर्छ । उत्पीडित राष्ट्रको लेखनमा आक्रोश आउनु स्वाभाविकै हो । यही कुरा अपाच्य लाग्छ भने ‘सीमान्त चेतना’ नामको क्राइटेरिया राख्नुको सार्थकतामै प्रश्‍न उठ्ने  सिमान्तकृत चेतनाका पक्षधरहरुकाे तर्क छ ।

खोतल्दै जाँदा हरेक रचनामाथि प्रश्‍न उठाउने ठाउँ भेटिन सक्छ । प्रश्‍नरहित कुनै रचना नहोला । तर, प्रश्‍न यो हो कि पाठ्यक्रममा शासकीय भक्तिगानले स्थान पाएको छ कि छैन ? यस कविताको पक्षमा युट्युबमा पनि समीक्षा गरिएको पाइन्छ, जसमा हरिनन्द पात्रमाथि कविताकै मर्म अनुसार आलोचना गरिएको छ ।

पञ्‍चायतकालीन शासकीय शक्ति सञ्‍चय गर्न पाठ्यक्रमलाई सहारा बनाइएको थियो भने आजको पाठ्यक्रमले विद्यार्थीमा आलोचनात्मक चेतको बीज रोप्‍ने काम गरेकै हुनुपर्छ । यसका लागि सबै खाले विषयले पाठ्यक्रममा सम्मान र स्थान पाउनुपर्छ ।

आफ्नो कविताले विवाद सिर्जना गरेको कुरा प्रकाशमा आएपछि कवि भूपाल राईले पनि सामाजिक सञ्‍जालमार्फत आफनो धारणा यसरी राखे–

यदि यो (विवाद) सत्य हो भने पुष्टि भयो कि अब कविहरूले कविता लेख्दा आफ्नै गर्धनमाथि सेल्फ–सेन्सरसीपको हतियार सोझ्याएर मात्र लेख्नुपर्ने भयो या कवितामा हारेकाहरूको इतिहास कोट्याउन नमिल्ने भयो । सीधा–सीधा भनु पर्दा कवितामा इतिहास लेख्न नपाइने भयो । यो पाठ्यक्रमको नाममा हुन गइरहेको कवितामाथिको घोर प्रतिगमन हो या अझै पनि ज्ञान निर्माणको क्षेत्रमा स्थापित पुरानै सिन्डिकेटको निरन्तरता हो ।

त्यसैगरी यस प्रकरणमा समालोचक प्राडा रमेशप्रसाद भट्टराईको टिप्पणी यस्तो छ–

ऐच्छिक नेपालीको पाठ्यक्रम भनेको साहित्यको आलोचनात्मक चेतनाको विकास गर्ने, साहित्यको मूल्य बोध गराउने र समाजका वर्गीय, जातीय र लैङ्गिक विभेद चिनाएर त्यसको समीक्षा, विश्लेषण र मूल्यांकन गराउने पाठ्यक्रम हो । सबै प्रकारका चेतनालाई नकारात्मक देख्ने प्रवृत्ति राम्रो होइन र व्यक्ति नामको अर्थलाई सामूहिक वा समूह सन्दर्भबाट नबुझ्नु गलत विषय हो । त्यसैले त्यो कविता कसरी शिक्षण गर्ने भन्ने विषयमा चाहिँ बहस गर्नु राम्रो हो ।

इतिहासबारे आलोचनात्मक चेत राख्‍नेहरुका अनुसार हिजोको दिनमा सानाठूला शासकका ‘कु’ र दमनका कथालाई ढाकछोप गरेरै ‘हिरो’ बनाउने भाष्य रचियो र हुर्काउन/फैलाउन मलजल गरियो । जनतामाथिको थिचोमिचो गर्तमा छिराइयो । आज त्यही पाठ्यक्रम लेखनको त्यसखाले राजनीति कतै दोहोराउनु उचित हुँदैन । कविताको विरोधमा अधिकांश ब्राह्मण समुदायकै व्यक्ति देखिनुलाई वास्तविक इतिहासलाई स्वीकार गर्न नसकेको पञ्‍चायतकालिन चेतनाकै एउटा अंशको रूपमा पनि अर्थ्याइएको छ ।

हरेक कविताको आआफ्नै अर्थ र ओज हुन सक्छ । कविता फेर्नु कुनै प्राज्ञिक विकल्प होइन । सीमान्त आवाज बोल्ने साहित्यिक सिर्जनाहरूको भावार्थ सत्ताको भाष्यसँग नमिल्दै पाठ्यक्रमबाट हटाउन खोज्‍नु घोर निन्दनीय कार्य भएको बताउँदै नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल टिप्पणी गर्छन्, ‘सरकारको अंग पाठ्यक्रम विकास केन्द्रले कविता फेर्ने छैन र परिवर्तनलाई आत्मसात गर्नेछ । अन्यथा यसको प्रतिरोध हुनेछ । यथार्थ पढ्न पाउनु कसैको अपमान होइन ।’

अखिल नेपाल लेखक संघका अध्यक्ष डा धनप्रसाद सुवेदी पनि कुनै व्यक्तिको आपत्तिलाई आधार मानेर वर्षैपिच्छे फेर्दै जाने अवस्था निम्त्याउने हो भने पाठ्यक्रम विकास केन्द्रजस्तो सरकारी निकाय र यसका विज्ञ दुवैमाथि प्रश्‍न खडा हुने बताउँछन् । उनको निष्कर्ष छ, ‘पाठ्यक्रमले आधारहरू तयार गरेर विज्ञहरू छनोट गरीकन राखिसकेको अवस्थामा सामाजिक सञ्‍जालका कुराहरूमा अल्झिएर हटाइहाल्नु जुनसुकै हिसाबले गलत हुन्छ ।’

वैचारिक ऐतिहासिक पृष्ठभूमिले कविताले पाठ्यक्रममा ‘स्पेस’ लियो, त्यसको विपरीत वैचारिक प्रतिगमनले सोही कविता हटाउन माग गर्‍यो । तर, आज सम्बन्धित निकायले प्रतिगमनको विचारधारासँगै बहकिनु हुँदैन । पञ्‍चायतकालीन शासकीय शक्ति सञ्‍चय गर्न पाठ्यक्रमलाई सहारा बनाइएको थियो भने आजको पाठ्यक्रमले विद्यार्थीमा आलोचनात्मक चेतको बीज रोप्‍ने काम गरेकै हुनुपर्छ । यसका लागि सबै खाले विषयले पाठ्यक्रममा सम्मान र स्थान पाउनुपर्छ ।

पाठ्यक्रम विकास केन्द्रजस्तो निकायले तयार गर्ने महत्त्वपूर्ण दस्तावेजमा सीमान्तकृत किनाराकृत र विविधताहरूको स्विकार्यता हुनुपर्छ । सत्तासीन वर्ग र जातिको प्रतिनिधित्व गर्ने समूहबाट सीमान्तकृतको आवाजलाई मेटाउने जालझेललाई ठम्याएर इतिहासको यथार्थ ऐना देखाइरहने कर्तव्य निर्वाह गर्नबाट कदापि चुक्नु हुँदैन ।

प्रकाशित: १ फागुन २०७८ १५:०३ आइतबार

चेतलुङ
चेतलुङ