२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
एजेन्डा पर्यावरण

‘आदिवासीहरूका संगठन र आन्दोलनले पनि ठीक ठाउँमा आवाज उठाइदिनु पर्‍यो’

चेतलुङ–वार्ता

‘आदिवासीहरूका संगठन र आन्दोलनले पनि ठीक ठाउँमा आवाज उठाइदिनु पर्‍यो’
तस्बिरहरूः छम गुरुङ/चेतलुङ

लामो समयदेखि प्रकृति संरक्षणको क्षेत्रमा सक्रिय कमल थापा हिउँचितुवाविज्ञ हुन् । हिउँचितुवा अनुगमन विधि (सन् २००७) नामक पुस्तक र लगभग दुई दर्जन लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरूमा प्रकाशित गरिसकेका लेखक थापा ‘हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट बच्‍न नाउर र झारलले अपनाउने अनुकूलित रणनीति’ शीर्षकमा विद्याविरिधि पनि गर्दै छन् । त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत वनविज्ञान अध्ययन संस्थानमा अध्यापनरत थापा फोटाग्राफी र यात्राका सौखिन छन् । उनै जीवशास्त्री थापासँग हिउँचितुवा, पर्यावरण, आदिवासी ज्ञान र वैयक्तिक जीवन–पाटोमा गुरुङ सुशान्तले गरेको चेतलुङ–वार्ताः

हिउँचितुवालाई दुर्लभ प्रजातिमै सूचीकरण गरिएको थियो । नेपालमा हिउँचितुवा र यसको मुख्य आहार प्रजाति नाउरको संख्या के कति छ ? त्यसको गणना गर्ने विधिहरू के हुन् ? 

पहिले हिउँचितुवालाई इन्टरनेसनल युनियन फर कन्जर्भेसनन अफ नेचर (आइयुसीएन) द्वारा दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको थियो । विश्‍वमा १२ वटा देशको खासगरी हिमाली क्षेत्रमा मात्रै पाइने यस जीवलाई वैज्ञानिकहरूले पहिले दुर्लभ भने । त्यस बेला कति संख्यामा छन् भन्‍ने अनुमान पनि थिएन । देख्‍न पनि एकदमै गाह्रो थियो । अहिले हेर्दा यसको संख्या ६/७ हजारभन्दा पनि बढ्दै गएकाले दुर्लभको सट्टा असुरक्षित प्रजातिको रूपमा लिइन्छ । 

नेपालको हकमा भने संरक्षित वन्यजन्तु हो, यो । बाघ र गैंडाजस्तै संरक्षित जनावर भएकाले कसैले मार्‍यो या व्यापार गर्‍यो भने लगभग १५ वर्षै जेल बस्‍नुपर्ने प्रावधान छ । नेपालमा करिब ३० वर्षअगाडि विदेशी वैज्ञानिकले ३ सयदेखि ५ सयको संख्यामा दाबी गर्थे । तर, अहिले ३ सयदेखि ४ सयसम्म होला भन्‍ने खालको अनुमान छ । ८ वर्षअघि विश्‍व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ) मा हुँदाताका हामीले आंकलन गरेको यो अनुमानित संख्या हो ।

नेपालमा हिउँचितुवा खासगरी पूर्वी ताप्लेजुङ देखि पश्‍चिम दार्चुला जिल्लाको हिमाली क्षेत्र १२/१३ हजार वर्गकिलोमिटर क्षेत्रमा पाइन्छ । हिउँचितुवा ट्रि–लाइनको ३ हजारभन्दा माथि र हिमरेखा (स्‍नो–लाइन) भन्दा तलको बीचमा हुने खाली ठाउँ या पहरामा पाइन्छ । नेपाल सरकारले यकिन तथ्यांक भन्‍न सकेको छैन ।
 
हिउँचितुवा खाने मुख्य आहार मासु नै भइहाल्यो । यसको मुख्य आहार जन्तु नाउर हो । लगभग ३० देखि ४० प्रतिशत नाउर यसले खान्छ । झारल पनि खान्छ । सगरमाथा र लाङटाङमा झारल मात्रै पाइन्छ, नाउर पाइँदैन । तर, कञ्‍चनजंघामा नाउर बढी पाइन्छ । यसका साथै तिब्बती खरायो, साना मुसा, डाँफे, मुनाल, तिब्बती कुखुरा पनि हिउँचितुवाका खान्कीमा पर्छन् । यीचाहिँ उसको प्राकृतिक आहारा हो । 

हजारौं वर्षदेखि मानिस र हिउँचितुवा सँगसँगै संघर्ष गर्दै बस्दै आएको पनि हो । त्यसैले हिमाली क्षेत्रको खर्कमा पालिने याक, लुलु गाई, च्याङ्ग्रा पनि हिउँचितुवाले धेरै खाइदिन्छन् । आफ्ना बाख्रा या वस्तु खाइदिएपछि त्यसलाई मानिसले बदलाको भावमा मार्ने गरेको पाइन्छ ।

ती आहारा प्रजाति र हिउँचितुवाको गणनामा राज्यले कतिको पहलकदमी लिएको छ ?

नेपालमा मात्र होइन, विश्‍वमै पनि हिउँचितुवा एकदम भीर या पहरा बस्छ । हिउँचितुवाको कतिपय बासस्थानमा त मानिस जानसमेत एकदमै कठिन हुन्छ । उसको बासक्षेत्र ठूलो हुन्छ । हिउँचितुवाको अनुसन्धान विधि मान्छेमाथि गरिने अनुसन्धानभन्दा फरक छ ।

हिउँचितुवा बिरालो प्रजाति पर्दछ । यो जीव एकदमै दुर्गम ठाउँमा बस्‍ने र यसको अनुसन्धानका लागि बजेट नै धेरै लाग्‍ने भएकाले यो अनुसन्धान कठिन भएको हो । सरकारी तहबाटै समेत पूर्ण अनुसन्धान गरेको देखिँदैन । बरु ठाउँ–ठाउँमा वैज्ञानिकहरूले व्यक्तिगत रूपमा पहल गरिरहेको पाइन्छ ।

यसको परम्परागत विधिमा पदचिन्‍हद्वारा संख्‍याको अनुमान गरिन्थ्यो । तर, त्यो वैज्ञानिक होइन । पछिल्लो समयमा भने स्वचालित क्यामेरा जडान गरेर महिनौँ राखी अध्ययन गरिन्छ । त्यसैगरी उसको दिसाबाट आनुवंशिक अनुसन्धान गर्न सकिन्छ । यसबाट भाले र पोथी पत्ता लगाउने विधि नेपालमा पनि आइसकेको छ । तर, नेपालभर चाहिँ यो विधि अपनाएको देखिँदैन । तर, सगरमाथा राष्ट्रिय निकुन्ज, कन्चनजंघा, अन्न‍पुर्ण, मनास्लु, डोल्पा र लाङटाङतिर प्रयोग गरिएको पाइन्छ । नाउर र झारल पनि गन्‍न त अप्ठेरै छ । तर, तिनीहरूलाई चाहिँ प्रत्यक्ष गणना दूरबिनले हेरेर अनुमान गरिन्छ । यो पनि नेपालभरि नभई एकदम निश्‍चित क्षेत्रमा मात्र गणना गरिएको छ । 

संरक्षणको कुरा त परैको भयो । नेपाल सरकारले राम्रोसँग गणनासमेत गर्न सकेको रहेनछ, हैन ?

यसै भन्‍न पर्‍यो । हिउँचितुवा राम्ररी गणनै गर्न सकेको छैन । आहार प्रजातिको पनि त्यही हो । संरक्षणै नभएको भन्‍न त मिल्दैन, एक तहको संरक्षणचाहिँ भएको छ । 

अर्को कुरा, गुम्बाजस्ता क्षेत्रमा नाउरहरू अलि बढी संरक्षण भएको जस्तो देखिन्छ । राज्यले एउटा तहमा संरक्षण गरेको छ । संरक्षण क्षेत्र र निकुन्जहरू बनाएर केही जनचेतना जगाउने कार्य गरेको कुरालाई राम्रै मान्‍नु पर्छ । हिउँचितुवा संरक्षण समितिजस्ता सामुदायिक संस्था बनाएको छ । 

आफूलाई एकदमै अब्बल खालको र जंगली जनावरचाहिँ अर्कै खालको ठान्यौँ । मानव जातिचाहिँ अलग्गै बुद्धिवान् हौँ भन्‍ने गलत बुझाइ भयो । वास्तवमा हामी पनि त्यही प्रकृतिकै हिस्सा हौँ, यसबाट अलग हुनै सक्दैनौँ ।

अर्को मध्यवर्ती संरक्षण समिति बनाएर बीमा गराउने कार्य पनि गरेको छ । माथिल्लो भेगमा धार्मिक कारणले पनि प्रभावकारी भएको हो । गुम्बाका रिन्पोछेहरूले बुद्धको अहिंसावादी ज्ञान आफ्‍नो क्षेत्रमा फैलाइरहेका देखिन्छन् । उदाहरणका लागि सगरमाथा क्षेत्र र गोरखाको चुमभ्याली क्षेत्रमा जंगली मात्रै होइन, घरपालुवा जनावर पनि काटमार गर्न निषेधित छ । अहिले म काम गरिरहेको मनाङको नार–फु क्षेत्र पनि त्यस्तै हो । 

यसरी हेर्दा सरकारभन्दा पनि स्थानीय सरोकारवालाको संरक्षण बढी प्रभावकारी देखिन्छ । मनाङमा हिउँचितुवा मार्‍यो भने ‘पाप’ सर्छ भन्‍ने भने किंवदन्ती पनि रहेछ । हिउँचितुवाले बाख्रा खान्छ, बाख्राले घाँस । हिउँचितुवा मार्दा घाँसको ‘पाप’ समेत जोडिएर दोब्बर–तेब्बर ‘पाप’ सर्छ भन्‍ने विश्‍वास पद्धति रहेछ । यसलाई विज्ञानमा ‘वायो एक्युमुलेसन वायो-ट्रान्सफर्मेसन’ पनि भनिन्छ । जस्तै, हामीले गरेको फोहोर खोलामा पुगेपछि माछाले खान्छ र त्यही प्रदूषण तेब्बर भएर जान्छ । त्यही माछालाई चराले खान्छ । त्यही प्रदूषणग्रस्त चरा मान्छेले खायो भने प्रदूषण थपिएर आउने नै भयो ।

कतिपय प्रसंगमा हिउँचितुवा आफ्‍नो गोठालोको रूपमा पनि लिइने रहेछ । खेतबारीमा हिउँचितुवा आउजाउ हुँदा भेडा–बाख्राले बालीनाली नखाँदो रहेछ । यस्तै अनेक ज्ञान र विश्‍वासले गर्दा पनि हिउँचितुवाको अप्रत्यक्षतः संरक्षण भइरहेको छ ।

मानव समाजमा वन्यजन्तुलाई दुई कोणबाट बढी हेरिने रहेछ–अवलोकन र पर्यटन । यसबाहेक मानव समाजमा वन्यजन्तुको महत्त्व के कस्तो छ ?


 
खासगरी पारिस्थितिक प्रणालीको सन्दर्भमा हामी मानव समुदायले चाहिँ आफैंलाई प्रकृति होइनौं भन्‍ने कुरा बुझेछौँ । आफूलाई एकदमै अब्बल खालको र जंगली जनावरचाहिँ अर्कै खालको ठान्यौँ । मानव जातिचाहिँ अलग्गै बुद्धिवान् हौँ भन्‍ने गलत बुझाइ भयो । वास्तवमा हामी पनि त्यही प्रकृतिकै हिस्सा हौँ, यसबाट अलग हुनै सक्दैनौँ । हिउँचितुवा त झन् ‘टप प्रेडटर’ हो अर्थात् खाद्यशृंखलाको उपल्लो जनावर हो । 

हामीले नबुझेको एउटा कुरा– संरक्षण गर्ने या यसले दुःख दिइरहेकाले मार्ने भन्‍ने मात्रै बुझिरहेका छौँ । अचेल हिउँचितुवा जोगाएमा पर्यटन प्रवर्दन हुने कुरा बढी बुझ्‍ने गर्छन् । पर्यटकका लागि देखाउने एउटा वस्तु बनाइएको देखिन्छ । पर्यटनले स्थानीयका लागि आयआर्जन बढ्ने नै भयो । तर, त्यति मात्रैमा सीमित छैन हिउँचितुवाको कुरा । पारिस्थितिक प्रणालीमा हिउँचितुवा भएन वा संख्यामा ह्रास आयो भने त्यसभन्दा मुनिका नाउर–झारलजस्ता आहार प्रजातिको संख्या बढेर जानुका साथै घाँस सखाप हुँदै जान्छ । यसले खेतीबालीमा समेत असर गर्छ । बोटबिरुवा घटेपछि पहिरो जाने र पानीका मुहान सुक्ने सम्भावना हुन्छ । त्यसैले पारिस्थितिक प्रणालीको सन्तुलन जरुरी हुन्छ । यी कुरा धेरैले बुझेका हुँदैनन् । साँच्चै संकट आई परेपछि निकै नराम्रो हुन्छ । 

हिमाली क्षेत्रमा हिउँचितुवालाई सूचक प्रजाति भन्दो रहेछ । यसको अहिलेको संख्या हेरेर हिमाली पर्यावरणलाई कसरी व्याख्या गर्नुहुन्छ ? 

हिउँचितुवालाई सूचक प्रजाति भनिनुको पहिलो कारण यो खाद्यशृंखलाको सबभन्दा माथि परेर हो । यदि त्यहाँ त्यसको उपस्थिति राम्रै छ भने उसले खाने चीज पनि ठीकठाकै छ भन्‍ने बुझ्‍न सकिन्छ । उसको आहारको संख्या राम्रो छ भन्‍ने पनि हो । आहार राम्रो हुनु र स्वास्थ्य राम्रो हुनुमा चाहिँ घाँसहरूसँग बढी सम्बन्ध रहेको हुन्छ । पानी पनि राम्रो रहेको बुझ्‍न सकिन्छ । यी सबैले त्यहाँको पर्यावरण राम्रै रहेछ भन्‍ने बुझाउँछन् ।

हिमाली क्षेत्रका जनजातिहरूको आफ्नै जीवनशैली छ । उनीहरूको मुख्य पेसा पशुपालन हो । हिउँचितुवाले घरपालुवा जीवलाई आक्रमण गर्नुको कारण के हो ? वन्यजन्तुको संख्या घटेर हो ?

यो गजबको प्रश्‍न हो । वैज्ञानिक सिद्धान्तले के भन्छ भने प्राकृतिक आहारजन्य जीव यथेष्ट छ भने हिउँचितुवा त्यसै आहारमै रमाउँछ । ऊ आफूलाई स्वाद परेको आहारामै लाग्‍नु पर्ने हो । तर, हिमाली भेगमा पशुपालन गरेर जीविका चलाउने जनजाति र हिउँचितुवा सदियौंदेखि सँगसँगै छन् । तैपनि हिउँचितुवाले गाईवस्तु, भेडा, चेङ्ग्राहरू किन मार्छ त ? 

हिजो पुर्खौँदेखि भेडा–च्याङ्ग्रा चराउँदै आएको आफ्नो भूमिमा आज स्थानीयले छिर्न समेत पाएका छैनन् । नाउरलाई चाहिँ सिकार हान्‍न दिइयो । विदेशीहरू हेलिकप्टर चढेर सिकार गर्न जाने भयो । उनीहरू हेलिकप्टरका लागि काठमाडौंमा डलर खर्च गर्छन्, राजधानीले नै फाइदा पायो ।

एउटा कारण– प्राकृतिक आहार कमी हुनु हो । अर्को कुरा के बिर्सनु हुन्‍न भने आहार राम्रो भएपछि हिउँचितुवाको संख्या पनि बढ्छ । र, हिउँचितुवाका बुढाखाडा बच्चाहरूको संख्या पनि बढ्ने नै भयो । गाईवस्तु तिनका लागि सुरुमा सजिलो आहार हुन्छन् । प्राकृतिक आहारभन्दा च्याङ्ग्राहरू सजिलै खान सकिने हुन्छन् । आमाले बच्चाहरूलाई सिकाइरहेका हुन्छन् । ती बच्चाहरू सुरुमा तिनै घरपालुवा आहार प्रजातिमै पुग्छन् । अर्को कुरा– ती बुढ्यौली लागेका हिउँचितुवालाई नाउर या झारल लखेट्न बडो गाह्रो हुने मात्रै होइन, अरुसँग प्रतिस्पर्धा गर्न एकदम कठिन हुन्छ । यसकारण पनि उनीहरूलाई गोठतिर छिर्न सजिलो लाग्‍ने गर्छ । गर्भवती हिउँचितुवा पनि त्यही सजिलो उपाय खोज्‍न लाग्‍ने भयो । 

अर्को रोचक कुरा– नाउर हिउँचितुवाभन्दा चलाख हुन्छ । हिउँचितुवाका लागि नाउर ‘लन्च’ हो । तर, नाउरका लागि आफ्नो ज्यान जोगाउनु नै जिन्दगी हो । त्यसैले उसले बच्‍न भरमग्दुर संघर्ष गर्छ–गर्छ । ऊ सफल पनि हुन्छ । हिउँचितुवाले एउटा सिकार पाउन थुप्रै आक्रमण गर्नुपर्ने हुन्छ । ५० प्रतिशतजति हिउँचितुवाले मात्र सफलता हासिल गर्न सक्ला । 

पहिले–पहिले मानिसहरू वस्तुभाउ पछि–पछि लाग्थे । गोठ पनि राम्रो तरिकाले हेर्थे । कुकुरहरू पाल्थे । अचेल गोठालाले पनि छोडिदिन्छन् । युवाहरू पनि छैनन् । कोही शिक्षाको लागि सहर पसे । धेरै त वैदेशिक श्रम बेच्‍न हिँडे । बाँकी रहे, बुढाबुढी । अर्को, हाम्रो संस्कृति पनि बिग्रिँदै गयो । कुकुर पाल्नसमेत कम भइसक्यो । 

एउटा हिउँचितुवालाई आहाराका लागि कतिसम्म मासु चाहिन्छ ? एक दुई नाउर/झारलले पुग्‍ने भए एउटै हिउँचितुवाले किन ३०–४० वटासम्म भेडा–च्याङ्ग्रा मार्छ ?

तस्बिरःकमल थापा

एउटा हिउँचितुवाले दिनमा २ देखि ३ केजीसम्म मासु खाँदो रहेछ । वर्षमा उसलाई २० देखि ३० वटा नाउर भए पुग्छ । एउटा नाउर चाहिँ लगभग ४० केजीको हुन्छ । तर, उसले ठूला याकचाहिँ मार्न सक्दैन । एक दुई वर्षको याक मात्र मार्न सक्छ । हिउँचितुवा आफैं पनि ३०–४० केजीको मात्रै हुन्छ । अनि च्याङ्ग्राहरू २० केजीभन्दा बेसी हुँदैनन् । तर, उसले दुई–तीन दिन लगाएर खान्छ, त्यो । एउटा नाउर या झारल मार्दा कसैले खलल पुर्‍याएन भने एक हप्तासम्म त्यहीमा भुल्छ, ऊ । तर, हिउँचितुवाले आफ्नोे सिकार ऊ एक्लैले खान पाउँदैन । त्यहाँ गिद्ध, स्याल, ब्वाँसो आदि आएर फटाफट खाइदिन्छन् । कतिपय सिकारचाहिँ मानिसले पनि लगेर खाइदिन्छन् । त्यसैले आफ्नो आहारा पूरा खान नपाउँदा हिउँचितुवाले फेरि अर्को सिकार गर्नुपर्ने हुन्छ । 

तर, एक रातमा ४४ वटा मारेको भेटेको थिएँ । भोलिपल्ट फेरि रात थप १२ वटा वस्तु मारेको थियो । मुस्ताङमा एकै रातमा १०० वटा मारेको पनि रेकर्ड छ । अध्ययन के देखाउँछ भने उसले खोजेको त एउटै हो । तर, हिमाली क्षेत्रमा गोठको संरचना फरक खालको हुन्छ भित्र छिरेपछि बाहिर निस्कन नसकिने तरिकाले बनाइएको गोठका कारण हिउँचितुवाले मारिरहन्छ । ऊ खासमा रौस्याएर त्यस्तो गरेको होइन । धेरै चिसो ठाउँ भएकाले अनुकूलन रणनीतिअनुरूप गोठमा झ्याल राखिएको हुँदैन । रातको अँध्यारोमा गोठभित्र एउटा च्याङ्ग्रा मारेपछि भागदौड सुरु हुन्छ । त्यसपछि आफूमाथि नै आक्रमण गर्न आएको ठानेर हिउँचितुवाले प्रतिरक्षार्थ मार्दै जान्छ । 

जीववैज्ञानिकहरू भन्छन् कि हिउँचितुवाले मारेको सिकार भोलिको लागि पनि राख्छ । आज दस वटा मारे पनि आज सबै खाने भन्‍ने हुँदैन । उसले आफ्‍नो सन्ततिका बारे पनि सोच्छ । तर, हिउँचितुवा वा बाघ रगत तानेपछि बहुलाउँछ भन्‍ने आम धारणा पाइन्छ । यो त साँचो होइन । पहिलो कुरा– हिउँचितुवाले रगत चुस्दै चुस्दैन, घाँटीको हड्डी भाँच्छ । मासु मात्रै खाने हो । काटिएपछि चोट परेपछि रगत नदेखिने त कुरै भएन । तैपनि खाएर लठ्ठिएपछि अलि भावुक भइहाल्छ । जस्तो कि मान्छे पनि सिकार गर्न जाँदा हात परेपछि अलि उत्तेजित हुँदै जान्छ । यस्तो कुरा जनावरमा पनि हुँदो हो । कुनै कुराचाहिँ स्थानीयको पनि मेल खाँदैन ।

केही समयअघि एक वैज्ञानिकले आफ्नो स्टाटसमा लेखे, ‘यस्तो लजालु जनावरले कहाँ मान्छे मार्छ र ?’ अनि मैले त्यसमा लेखेँ– ‘बाघ साँच्चिकै लजाउँदो हो त ! अथवा, हामी काठमाडौंवासीसँग लजाउँदो हो । तर, त्यहाँका बासिन्दालाई त हान्दो रहेछ नि !’ अब हिउँचितुवाको आक्रमणबाट बच्‍ने खाले गोठ बनाउन पर्‍यो ।

हिउँचितुवाको स्वभावचाहिँ कस्तो हुन्छ ? संसर्गको बेलाबाहेक एक्लै–एक्लै हिँड्छ भनिन्छ । यसको सिकार गर्ने तरिका कस्तो हुन्छ ? अनि, आमाले बच्चालाई च्याङ्ग्रा आक्रमण गर्न लगाएर सिकारको अभ्यास गराएको हो ?

हो । त्यस बेला बच्चाका लागि आमा गार्ड बसेको हुन्छ । सिकार भएको स्थानसम्मै चाहिँ आमा जाँदैन । आमाले सुरु–सुरुमा बच्चालाई आफैं बाँच्‍नका अभ्यासमा लगाउँछ । कहिलेकाहीँ केही दिन दुःख पनि दिँदो हो । मार्न सक्दैनस् भने किन बाँच्छस् भन्‍ने आशय पनि हुँदो हो । तर, पछि–पछि हेरिरहेकै हुँदो रहेछ । यो मैले आफ्नै अध्ययनबाट थाहा पाएँ । सन् २०१९ मा लिइएको एउटा भिडियोमा दुई वर्षे बच्चा छ । हुन त आमा पनि छेउमै थियो । हाम्रो क्यामरा ट्र्यापमा परिरहेको थियो । त्यसले आफ्नो बच्चालाई रखवारी गरिरहेको थियो ।

तर, हिउँचितुवा एकल–यात्री जीव नै हो । जब दुई वर्ष पुग्छ, उसको संघर्ष सुरु हुन्छ । एउटै आमाको दुई दाइभाइ र आफ्नै बाउबीच पनि संघर्ष र द्वन्द्व सुरु हुन्छ । 

एउटा जंगलको राजा भनेजस्तो यिनीहरूले पनि एउटा निश्‍चित क्षेत्र निर्धारण गर्ने गर्छन् । भाले र पोथी दुवैले आफ्‍नो सिमाना बनाउँछन् । पिसाबले सिमाना तोक्छन् । ‘स्क्र्याब’ ले पनि छुट्याउँछन्, जसलाई गाउँघरमा ‘आज खान पाउँछ कि पाउँदैन भनेर हिउँचितुवाले आफ्नो जोखना हेरेको’ भन्दा रहेछन् । मान्छे खाने बाघ र कुकुर खाने चितुवाले चाहिँ रुख पनि कोपर्ने गर्छन् । त्यस्तो संकेत दिनुको अर्थ चाहिँ ‘म यहाँभित्र छु है !’ भनेर देखाएको हो । पोथी–पोथी बीचमा पनि त्यस्तो सिमाना निर्धारण गर्ने चलन हुन्छ । एउटा भालेको आफ्‍नो क्षेत्रभित्र तीन–चार वटा पोथी पनि हुन सक्छन् । भालेले अर्कैको पोथी भए पनि खासै केही गर्दैन । यदि ऊ कुनै क्षेत्रमा छिर्नु पर्‍यो भने त्यहाँ जित्छु नै भन्‍ने आत्मविश्‍वास भए मात्रै छिर्ने गर्छ । आफ्नै बाउहरू बूढो भइसकेपछि युवाहरूले क्षेत्र बाँड्ने गर्छन् ।

यिनीहरूले हड्डी खाँदैनन्, मासु मात्रै खान्छन् र छाला पनि अलग्गै राख्छन् । भुँडी पनि अलग्गै बाहिर निकालेर छाड्छन्, जसलाई स्याल या फ्याउराहरूले पनि खान्छन् । खासगरी गिद्धहरूले खान्छन् । 

हिउँचितुवाको सिकार गर्ने तरिका अलि फरक छ । यो समूहमा हिँड्दैन । त्यसैले लखेटेर कहिल्यै पनि खाँदैन । ठूल्ठूला ढुङ्गाको आडमा लुकेर दाउ छोपेर झुक्याएर खान्छ । उफ्रेर एकै चोटि हान्‍न सक्ने खुबी हुन्छ । पछाडिको खुट्टा बलशाली हुन्छ । उसको चालबाजी नाउरलाई थाहा नै हुँदैन । अलि–अलि लखेट्ने भन्‍ने त हुन्छ नै । तर, पछि–पछि खेद्‍ने गर्दै गर्दैन । आफ्नो शक्ति गुमाउन चाहँदैन किनकि ऊभन्दा नाउरहरू बढी दौडिन सक्छन् । 

हिउँचितुवाको संरक्षण गर्न नाउरको पनि संरक्षण गर्नुपर्ने होला । तर, नाउरको सिकार अनुमति पो दिएको छ, राज्यले !

हो । राज्यले हिउँचितुवाको संरक्षण गर्ने भनेर नीति त बनाएकै छ । विरोधाभास यही छ– हिउँचितुवाको प्रमुख आहार प्रजातिलाई वैध रूपमा सिकार गर्ने अनुमति दिइएको छ । त्यसको संख्या घट्दै गएपछि हिउँचितुवालाई पनि असर पर्छ होला नि ! 

हिउँचितुवा जीव एकदमै दुर्गम ठाउँमा बस्‍नेर यसको अनुसन्धानका लागि बजेट नै धेरै लाग्‍ने भएकाले यो अनुसन्धान कठिन भएको हो । सरकारी तहबाटै समेत पूर्ण अनुसन्धान गरेको देखिँदैन ।

नेपालको हकमा ढोरपाटन सिकार आरक्षण छ, जुन बाग्लुङ, म्याग्दी र रुकुम जिल्लामा पर्छ । सिकारका लागि जीवशास्त्रीले नाउरका भाले, पोथी र बच्चाहरूको संख्या सबै छुट्याएर गनेको थियो । त्यसपछि अलि बूढा भालेहरूलाई कोटामा कम्तीमा वर्षको २० जति भाले बूढाहरूलाई सिकार गर्न दिँदा यस प्रजाति संख्यालाई खासै फरक नपर्ने भनियो । वैज्ञानिक या दिगो संरक्षणको दृष्टिकोणले दिने यस्तो प्रणालीलाई ‘सस्टेनेबल हार्भेस्टिङ मेकानिज्म’ भनिन्छ । नेपालमा भने करिब ४० वर्षअघि दिइयो । तर, ढोरपाटनमा हिउँचितुवाको संख्याबारे वैज्ञानिक अभिलेख नै छैन । त्यसैले यो राम्रो भइरहेजस्तो लाग्दैन ।

नेपालमा नाउरको सिकारको लागि कञ्‍चनजंघामा दिने कि भन्‍ने पनि भएको थियो । यसो हुँदा हिउँचितुवालाई नपुग्‍ने संख्यामा नाउर भएमा आखिरमा याक, च्याङ्ग्रामाथि खतरा आइलाग्‍ने हो । अनि हिउँचितुवा मर्ने स्थिति पनि आउने भयो । पैसा मात्र हेरेर हुँदैन । त्यसको वैज्ञानिक विधिबाट अभिलेख र संरक्षणमा ध्यान दिनुपर्छ । प्रकृतिको स्थिति र मानिससँगको सम्बन्धलाई बढी ख्याल राख्‍नुपर्ने हुन्छ । जस्तो कि ढोरपाटन सिकार आरक्षरणकै कुरा गर्दा, त्यहाँ मानव अधिकारको कुरा पनि छ । यसबारे म पनि बोल्ने तयारीमा छु । आरक्षण क्षेत्रका स्थानीय बासिन्दा मगर र कामीहरू नै हुन् । मगरहरूको परम्परागत भेडा–च्याङ्ग्राका लागि चरिचरण–खर्क थियोे । सिमेभूमेहरूमाथि पनि प्रतिबन्ध गरियो । 

हिजो पुर्खौँदेखि भेडा–च्याङ्ग्रा चराउँदै आएको आफ्नो भूमिमा आज स्थानीयले छिर्न समेत पाएका छैनन् । नाउरलाई चाहिँ सिकार हान्‍न दिइयो । विदेशीहरू हेलिकप्टर चढेर सिकार गर्न जाने भयो । उनीहरू हेलिकप्टरका लागि काठमाडौंमा डलर खर्च गर्छन्, राजधानीले नै फाइदा पायो । खानेकुरासमेत यहीँबाट आयोजकले नै बोकेर लैजाने रहेछन् । त्यसैले पैसा पनि गाउँमा जाँदैन । स्थानीयलाई त केही पनि फाइदा छैन, उल्टै अन्यायमा परेका छन् । आफ्नो थातथलो त छोड्न पर्‍यो–पर्‍यो, उनीहरू आर्थिक लाभबाट बञ्‍चित पनि भए र अन्यायमा परे । यो ठूलो मुद्दा बनेको छ । त्यहाँ पहिला त आर्मी थिएन, पछि त्यो पनि राखियो । एक जना गाउँलेले मलाई सुनाए– ‘आफ्नै मान्छेले पो गडबड गरिदियो नि !’ माओवादीबाट गृहमन्त्री भएका रुकुमकै नेताले गडबड गरिदियो भन्‍ने गाउँलेको गुनासो थियो । 

संरक्षणलाई वन्यजन्तुइतर जनजीविकाको दृष्टिकोणबाट हेर्दा गाह्रै हुँदो रहेछ है !

योचाहिँ अलिकति गाह्रै छ । हिउँचितुवा संरक्षण गर्दै गएपछि संख्या बढ्दै जाने भयो । संख्या बढेपछि प्राकृतिक आहाराले मात्र नपुग्‍ने स्थिति आउन सक्ने भयो । अनि हिउँचितुवा बढ्दा उनीहरूकै बीचमा पनि प्रतिस्पर्धा बढेर जाने भयो । अन्तरप्रजातीय द्वन्द्व पनि बढेर जाने भयो ।

त्यस्तै मानिसको जुन मुख्य स्रोतमाथि आक्रमण हुने भो । लाखौं पर्ने याक मारिदिन्छ । घोडालाई पनि मारिदिन्छ । च्याङ्ग्रालाई मारिदिने भयो । आयस्रोत नै सखाप पारिदिने भयो । स्थानीयको मुख्य आजीविका नै नभएपछि के गर्ने ? ठूलो असर पर्ने भयो । संकट नै निम्त्याइदिने भयो नि ! 

नेपाल सरकारको नीतिमा क्षतिपूर्तिको के कस्तो व्यवस्था छ ?
 
नेपालमा वन्यजन्तुले गोरु या साँढे मार्‍यो भने ३० हजारसम्म दिने क्षतिपूर्तिको व्यवस्था छ । बाख्राहरू मारेमा १० हजारसम्म दिने व्यवस्था गरिएको छ । यो राष्ट्रिय निकुञ्जको नियममै उल्लेखित छ । तर, लागूचाहिँ कति भए होलान् भन्‍ने आशंका छँदै छ किनभने त्यसको लामो प्रक्रिया छ । जस्तो कि याकको बच्चालाई मार्‍यो भने त्यसलाई साँच्चिकै मारेको हो कि होइन भन्‍ने प्रमाणका लागि विभिन्‍न फोटोसहितको मुचुल्का चाहिने हुन्छ । एउटै वस्तुकोे २०/२५ हजारसम्म पर्ने हुन्छ तर सबै प्रमाण पुगेमा बढीमा १० हजार मात्रै पाउन सकिने भयो । प्रक्रिया त साह्रै झन्झटिलै भइहाल्यो । डोल्पाको से–फोसुन्डो क्षेत्रका स्थानीय त दुई चार दिनै हिँडेर बल्ल तल बुझाउने ठाउँमा आउन सक्ने स्थिति छ । सम्बन्धित कार्यालयमा आइपुग्‍नै त्यस्तो हुन्छ भने क्षतिपूर्ति प्रक्रियाको लागि समय लाग्‍ने भयो । त्यसमाथि हदम्याद पनि हुन्छ । त्यसरी हेर्दा १० हजार क्षतिपूर्तिको आशमा आफ्नै पो उल्टो २० हजार खर्च हुने देखिन्छ । यो ठाउँ हेरेर फरक हुन्छ । लाङटाङमा अलि सजिलो होला । 

भेडा गोठालोले आफ्नो जीविका रक्षाका लागि हिउँचितुवालाई पासोमा पारिदिनेदेखि आहारामै विष हालेर मारिदिने गरेको खबरहरू सुन्छौँ । यस्तोमा राज्यको निगरानी के कस्तो छ ?

बदलाको भावमा मार्ने त पक्कै पनि छ । यो निगरानी पनि एकदमै गाह्रो छ । सरकारी अफिसहरू एकातिर छ भने खर्कहरू ४/५ हजार मिटर माथिको उचाइमा हुन्छन् । स–साना पोस्टहरू त छन् । जस्तो लाङटाङका लागि धुन्चेमा छ । तर, घटनाहरू हुन्छन्, खर्कतिर । स्थानीयहरू पनि मिलेर प्रायः गुपचुप राख्‍ने गर्छन् । जस्तो हिउँचितुवा संरक्षण समितिहरूले केही न केही त गरिरहेका छन् । 

विष खुवाइएको हो/होइन, पोस्टमार्टम नगरी कसरी थाहा होला र !
 
विष खुवाइएको सन्दर्भमा त्यही नै हो । जस्तो लाङटाङमा पनि एउटा घटना भएको थियो । हिउँचितुवा मरेपछि धुन्चेमा ल्याइएको थियो । तर, परीक्षणको व्यवस्था नभएका कारण मृत्युको कारण थाहा भएन । प्राकृतिक मृत्युले उति फरक पार्दैन । तर, जब विष हालेर मारिन्छ, त्यतिखेर मृत हिउँचितुवा खानेजति प्राणी सबै मर्ने खतरा हुन्छ । गिद्धहरू पनि लोप हुन सक्छन् । खोलामा विष हाल्दा सारा जलप्राणीलाई असर परेजस्तै हो, यस्तो घटना । यसो हुँदा सारा पारिस्थितिक प्रणालीमा नै नराम्रो असर पुर्‍याउने हुन्छ ।
 
बाघ अफ्रिकाबाट आएको मानिन्छ । हिउँचितुवाको ‘ओरिजिन’ बारे नेपालमा कत्तिको अध्ययन भएको छ ?

हिउँचितुवाको ठ्याक्क निश्‍चित एउटा स्थान या क्षेत्र भन्‍ने छैन । हामीले चाहिँ यसको ‘ओरिजिन’ १२ ठाउँमा भएको मान्छौँ । यो त कुनै ‘रिइन्ट्रोड्युस’ भएको जीव होइन । यो प्राकृतिक रूपमा सदियौंदेखि नेपालको पनि हो । चीन, भारत र भुटानको पनि हो । हाल एउटा वैज्ञानिक अनुसन्धान के भएको छ भने यिनीहरूमा पनि अलिअलि भिन्‍नताहरू छन् । तर, त्यति गहिराइमा अध्ययन भएको भने होइन । पहिलो कुरा– हामीले यसका वास्तविक संख्या नै लिन सकिरहेका छैनौँ । तैपनि यसका तीन किसिमका ‘सब–स्पेसिज’ या उपप्रजाति छन् । नेपाल र चीन एउटै भइहाल्यो, खासगरी तिब्बतमा भएकासँग मिल्दछ । चीन विशाल भएकाले त्यहाँ अर्को उपजाति पनि छ, त्यहाँको सीमा रसियातिर जोडिएकाले पनि त्यसो हुन सक्ने भयो । 

हिमाली क्षेत्रमा हिउँचितुवा चीनबाट हुलका हुल यता आउने र उता जाने पनि हुन्छ कि हुँदैन ? 

यस्तो हुन्छ । एउटा सगरमाथाको उदाहरण दिन सकिन्छ । त्यहाँ झारलहरू धेरै सिकार गर्ने गर्दा झन्डै सिद्धिएको थियो । त्यहीँ हिउँचितुवा, ब्वाँसो आदि थिए । त्यसपछि हिउँचितुवा नाङपाला पास हुँदै उता तिब्बततिर गयो, फर्केरै आएन र लोपसमेत भयो । त्यहाँ थुप्रै वर्षसम्म हिउँचितुवै भएन । तर, अहिले फेरि त्यहाँ झारलहरू बढिसकेपछि हिउँचितुवा आयो र बस्‍नका लागि उपयुक्त बन्यो । संसर्ग भयो, संख्या पनि बढ्दै छ । कहिलेकाहीँ तिब्बतमा पनि त्यस्तै समस्या र तनाव हुने रहेछ । अनि नेपालतर्फ बसाइँ आउँछ । जस्तो ब्वाँसोचाहिँ समूहमा हिँड्छ । यो जीव पाँच–सात वटा एउटै ग्रुपमा हिँड्छ । यो ‘ग्रुप हन्टर’ हुन् भने हिउँचितुवा ‘सिंगल हन्टर’ । सिंगल हन्टरलाई त्यति जोखिम छैन, जति ग्रुप हन्टरलाई छ । जब ग्रुप हन्टरले अरुलाई सताउन थाल्छ, त्यति बढी विष हाल्ने सम्भावना रहन्छ । अनि त्यो समूह मात्रै होइन, जाति नै सखाप हुने खतरा बढ्छ । 

बेला–बेला कार्यशालामा आदिवासी ज्ञान तथा प्रकृतिमैत्री प्रथाबारे केही थाहा नभएका मान्छेहरू भेटिन्छन् । बुझ्‍नैनचाहनेसम्म हुन्छन् । त्यस्तै मानिसहरूको बाहुल्यमा हामीले बोल्ने मौका नै कसरी पाउनू ?

‘स्मल इज ब्युटिफुल’ भन्छन् नि, त्यसर्थ साना समूहलाई जोखिम पनि कम हुने हुन्छ । जस्तो कञ्‍चनजंघा छ, त्यो त ‘ट्राइनेसन’ हो– भारत, सिक्किम र तिब्बतसँग जोडिएको क्षेत्र । त्यहाँ सुरुमा हामीले एउटा हिउँचितुवालाई ‘स्याटेलाइट जीपीएस कलर’ गरेका थियौँ । त्यो त उता सिक्किम गएर १५ दिन बस्यो । सिक्किममा समात्यो, जसमा हामीले कलर गरेका थियौँ । त्यसलाई हाम्रो भन्‍ने कि उताको भन्‍ने ?

पिटर म्याथिसनको पुस्तक ‘द स्‍नो लियोपार्ड’ ले नेपाली हिउँचितुवाको अध्ययनमा के कति योगदान गर्‍यो ?

त्यस किताबका लेखक पिटर म्याथिसन खासमा पत्रकार हुन्, आफैँचाहिँ जीवशास्त्री होइनन् । तर, उनी जीववैज्ञानिक जर्ज स्यालरसँग गएका हुन् । स्यालर संसारकै एक  जीववैज्ञानिक हुन् उनी अहिले पनि जीवित छन्, जोसँग मेरो पनि बेला–बेला ईमेल–वार्ता हुन्छ । उनी नब्बे वर्ष काटिसके । उनीहरू सन् १९७३ तिर पोखराबाट हवाईमा र ढोरपाटन हुँदै हिँड्दै गएका थिए । त्यस किताबले नेपालमा हिउँचितुवा पाइन्छ भन्‍ने कुरा सबैभन्दा पहिले दुनियाँभर परिचित गराइदियो । साधारण मान्छेलाई समेत थाहा भयो । हिउँचितुवाको अध्ययनका लागि यस पुस्तकको योगदान ठूलो छ ।

हिउँचितुवाको नामकरण कसरी भयो ?

हामीले यहाँ के बुझिरहेका हुन्छौँ भने हिउँचितुवा भनेको हिउँमै बस्‍नेजीव बुझ्छौँ । तर, त्यो त होइन । हिमाली क्षेत्रमा बस्‍नेचाहिँ हो । ऊ स्थायी हिमरेखाभन्दा तल बस्‍न मन पराउँछ । प्रश्‍न उठ्छ, त्यसो भए नाम किन हिउँचितुवा भयो ? सायद सुरुमा देख्‍नेले हिउँमा देखेको हुनुपर्छ । नत्र यसको नाम त अर्कै हो नि । ‘हिउँ’ र ‘चितुवा’ ‘खसकुरा’ का शब्द भए । यसको खास तिब्बती नाम ‘साँबो’ हो । सायद सबभन्दा पहिले नाम राख्‍ने उनीहरू हुन सक्छन् । त्यस्तै मनाङमा ‘पाङ्जे’ भनिन्छ । 

हिउँचितुवाको संरक्षण गर्न यसको आहारा प्रजातिलाई पनि संरक्षरण गर्नु पर्ने हुन्छ । नाउरहरूमा लाग्‍ने खोरेतजस्ता बिमारले छुँदो रहेछ । यसका लागि भेटेरिनरीको व्यवस्था हुन किन सकिरहेको छैन ?

महत्त्वपूर्ण प्रश्‍न हो, यो । यहाँ सुरुमा हिमाली क्षेत्रको वस्तुभाउलाई पनि भेटेरिनरी सेवा दिन सकिरहेका छैनौँ । नाउरलाई पनि खोरेत लाग्छ । त्यो रोग त सर्छ पनि । घरपालुवालाई लागेछ भने वन्यजन्तुलाई पनि त्यो सर्छ । मैले देखेको छु– बाख्रा या च्याङ्ग्रालाई लाग्यो भने याकलाई पनि सर्दो रहेछ । हिउँचितुवालाई साझा रूपमा लाग्‍ने दुइटा रोग छन्– खोरेत र आँखा पाक्ने । अर्को सरुवा रोग हो, लुतो । घरपालुवा जनावर स्वस्थ भएमा जंगलको पनि स्वस्थ हुन्छ । पारस्पारिक कुरा हो, रोग पनि । तर, नेपालको हिमाली क्षेत्रमा घरपालुवा जनावरमै उपचार पुगेको छैन । कतिपय मर्छन्, कतिपय प्राकृतिक रूपमै ठीक हुन्छन् । यसबारे कदम चाल्नैपर्छ । प्रश्‍नहरू उठिरहेका छन् । 

राज्यले संरक्षणमा पहलकदमी लिनुअगाडि पनि हिउँचितुवा, नाउर या झारलहरू जोगिएकै थिए । त्यसमा आदिवासी या रैथाने ज्ञानको देन पनि थियो होला । त्यसलाई हामीले सैद्धान्तीकरण गर्न सकेका छौँ त ? 

समस्या भनेकै यही हो । नेपालको हकमा सकिएन । हाम्रो परम्परागत ज्ञान, संस्कृति, प्रथा आदिमा ध्यानै पुगेन । उदाहरणका लागि, राष्ट्रिय निकुन्ज स्थापना हुनुभन्दा अगाडि सगरमाथा क्षेत्रमा हिउँचितुवा थियो, झारल पनि थियो नै । उनीहरूको ‘सिङे नवा’ पद्धति थियो । त्यो ‘बन हेरालु’ प्रथा भन्‍ने रहेछ । त्यस पद्धतिमा पनि राम्रा पक्षहरू छन् नि । कहिले दाउरा काट्न हुने, कहिले नहुने र कहिले चाहिँ काटमार भन्‍ने खालका कुरा थिए/छन् । त्यस्तै मनाङको ‘घम्बा ङेर्बा’ प्रथा छ । यस्तो पद्धति छ कि उपल्लो मनाङको त्यो ‘सिस्टम’ मा कुनै बेला त त्यहाँ हँसिया पनि लगाउन पाइँदैन । हँसिया लगायो भने पूरै सखाप हुन्छ भन्‍ने उखान रहेछ । घाँस कति पो उखाल्न सकिन्छ र ! यस्ता ज्ञान लिइएन । 

नेपालको सामुदायिक वन संसारलाई देखाउने एउटा उदाहरण हो । हाम्रै आदिवासी ज्ञान र पद्धतिलाई अलि परिमार्जन गरी संस्थागत गरिदिएको न हो । तर, मुख्य–मुख्य लिइएको छैन । नाम सामुदायिक भयो तर लाभ लिने त अर्कै भयो । यदि आदिवासी अभ्यास लागू गरिएको भए स्थानीय बासिन्दाको स्वामित्वसहितको दिगोपन हुन्थ्यो । नाउर, हिउँचितुवा र झारलको अध्ययन र खोज सबै विदेशबाट आएको पैसाले नै गरिन्छ । सरकारको ध्यानै छैन । सरकार आफैं सक्रिय भएर आदिवासीमाथि ध्यान पुर्‍याएको भए परनिर्भर हुनुपर्ने थिएन । स्वामित्व पनि हुने थियो । जंगल जोगिन्थ्यो । वन्यजन्तु जोगिन्थ्यो ।  

फिडेल क्यास्ट्रोले सन् १९९२ को पृथ्वी सम्मेलनमा एउटा सम्भाषण दिए– ‘टुमरो विल बी टू लेट’ । त्यसमा उनले उपभोक्तावादी समाजकै कारण पर्यावरण विनाश हुँदै छ भने । मानव प्रजाति नै लोप हुने खतरासम्म औंल्याएका छन् । पछिल्लो समय बढिरहेको वैश्‍विक तापमानमा पनि पुँजीवादलाई नै मुख्य दोषी ठहर्‍याइन्छ । पारिस्थितिक प्रणाली र राजनीतिक विचारधारालाई प्रत्यक्ष जोडेर हेर्दा के देख्‍नुहुन्छ ?

अहिले ग्लोबल वार्मिङ र प्रकृति दोहनका कुरा छन् । विज्ञान आफैंमा राम्रो हो । तर, त्यसलाई कसरी प्रयोग गर्ने भन्‍ने मात्रै हो । जस्तै एटम बमको प्रयोग गलत भयो । हाम्रो ‘हार्ड कोर साइन्स’ मानव र सम्पूर्ण जीवको अस्तित्वका लागि ‘गुड साइन्स’ मा रूपान्तरण हुनुपर्‍यो । हामीसँग ‘कन्भेन्सनल साइन्स’ भन्‍ने पनि छ । अभ्यास गर्दा–गर्दै आर्जन गरेको ज्ञान पनि विज्ञानै हो । आखिर त्यो पनि ठूलो ‘नेचुरल ल्याब’ मा प्रयोग गरेर आएको हो नि । त्यसैले गुड साइन्सलाई चाहिँ असल नियतले नै प्रयोग हुनुपर्‍यो । 

तस्बिरः कमल थापा

भनिन्छ नि, हाम्रो खोला निरन्तर बग्‍नुपर्छ । हाइड्रो प्रोजेक्ट बनाउँदा पनि थुप्रै मापदण्ड पुर्‍याउनु पर्छ । जलचरमैत्री होस् । तर, बनाउँदा पानी नै सुक्ने तरिकाले गरिदिने गर्छन् । यो खराब नियत भयो । उदाहरणका लागि भनौँ– नेपालले गोहीका बच्चाहरू सयौंको संख्यामा छोड्छ । तर, ती सबै बगेर भारत जान्छ । अनि त्यो फर्केर आउने संरचना नै छैन । यार्सागुम्बाको कुरा पनि बहस गर्नुपर्ने छ । मानिस यति लोभी भए कि उपभोक्तावादीहरू आफ्नै अस्तित्वलाई ख्याल गरेका छैनन् । 

नेपालमा पहिले वातावरणसम्बन्धी विषय उत्तरआधुनिकतावादीहरूको फेसनजस्तो थियो । विशेषगरी मार्क्सवादीहरूले बेवास्ता गर्थे । तर, पछिल्लो समय यो विषय साझा समस्या रहेछ भन्‍ने आवाज मुखर हुँदै आयो, होइन ?
 
हो, पहिले त्यस्तो थियो । तर, अबको अर्थराजनीतिक सिद्धान्तहरू जुनसुकै होस्, ‘उपभोग गर र नाफा कमाऊ’ भन्‍ने कुरा सख्त गलत साबित भइसकेको छ । भावी पिँढीलाई केही पनि दिइएन भने के अर्थ भयो ? लाग्छ– केही न केही परिवर्तनचाहिँ भइरहेको नै छ । 

तपाईंको वैयक्तिक पाटो कोट्याऔँ । जीवनको कुन ‘टर्निङ पोइन्ट’ ले गर्दा हिउँचितुवाको अध्ययनमा लाग्‍नुभयो ? 

सायद मानिसमा सानैमा आ–आफ्नो रुचि हुँदो रहेछ । भित्री एउटा लक्ष्य पनि हुँदो रहेछ । म गाउँ–ठाउँ हुर्कें । सात कक्षासम्म उहीँ बाग्लुङमा पढेँ, जुन बेला घरमा गाईबाख्रा हुन्थ्यो । मचाहिँ साह्रै अल्छी थिएँ, बाख्रा हेर्न त जानै म नलाग्‍ने ! चराको गुँड खोज्‍न भने अल्छी थिइनँ । गुलेली लिएर सिकारको पछि–पछि लागेर जान मन लाग्‍ने । पोखरा आएर आईएस्सी पढ्दा वनविज्ञान लिएँ, लहलहैमा । पढेपछि बाध्यताले जागिर गरियो । त्यहाँ काम गर्दा मेरो ‘रिसर्च’ को मात्र नभई अरु काम पनि हुन्थ्यो । खासै जंगलमा रुचि थिएन । तर, पछि–पछि मलाई चरा हेर्न मन लाग्‍ने, भीडभाडमा भन्दा यसो जंगलतिर पस्‍न मन लाग्‍न थाल्यो ।

मेरा कामका बारेमा बासम्मले केही बुझ्‍नुहुन्छ होला । आमाहरूलाई बुझाउन गाह्रै छ । आफैँ पनि धेरै व्याख्या गर्दिनँ । सायद आफ्नै घरमा बुझाउन सकेको छैन ।

हिउँचितुवाको अध्ययन गर्दा पनि कहिलेकाहीँ त महिनौं जंगलमा बस्‍नुपर्ने हुन्छ । माथि–माथि क्याम्प नै बनाएर बस्‍नुपर्ने हुन्छ । कहिलेकाहीँ एक जना साथी हुन सक्छ । थाकिन्छ । प्याक–खाना खाइन्छ, हिउँचितुवा खोजी गरिन्छ र सुतिन्छ । यसो आफूमाथिको आकाश देखिन्छ । हावा फुरुर्र चल्छ । हिमाल देखिन्छ । कहिलेकाहीँ यस्तो पनि लाग्छ– ‘होइन, कुन ठाउँमा पो छु ?’

सुरुमै मेरो रुचि नभए पनि पेसाले बाँध्दै लाँदा हिउँचितुवामा दिल बस्दै गयो । अबचाहिँ यसमै निर्भर भइसकेँ । एक महिना मात्र काठमाडौं बसेँ भने टाउको दुख्‍न सुरु हुन्छ । कहाँ जाऊँ कहाँ जाऊँ हुन्छ । मलाई तनहुँ या सौराहतिर घुमेर अर्थै छैन, माथि नै जानुपर्छ । नत्र त सस्तो पनि र सजिलो पनि तराईतिर छ नि । त्यतै बाघको अनुसन्धान गर्दा पनि हुन्थ्यो । तनहुँमै पनि चितुवाले मान्छे धेरै खायो । त्यतै अध्ययन गर्दा पनि हुन्थ्यो । तर, मेरो इच्छा हिमाली क्षेत्रमै हुन्छ । मलाई त्यो बिहान–बिहान टुथ–ब्रस चलाएजस्तै सहज लाग्छ, हिमाली क्षेत्रमा । 

तपाईंको बुबा पूर्वप्रहरी अधिकृत, लेखक र कलाकार हुनुहुन्छ । भाइ पनि संगीत र प्रहरी सेवामै हुनुहुन्छ । तर, तपाईं त महिनौंसम्म पनि हिमाली क्षेत्रमा हराउनु हुन्छ । यसरी हराउँदा परिवार र समाजको कस्तो प्रतिक्रिया हुने गर्छ ? 

मेरो पुर्खाको लहरामा भारतीय लाहुरे धेरै थिए । जिजुबाजेदेखि छोराहरूसम्म पेन्सन हुनुपर्ने सोचाइ । मेरो बाचाहिँ नेपालमै जागिर गर्न आउनु भयो । त्यस बखतको एक खाले विद्रोह नै थियो, त्यो । काठमाडौंमा आफ्नो मान्छे कोही थिएन । मेरा बा खासमा चित्रकार हुनुहुन्छ । त्यस बेला देहरादुनको आर्मी स्कुलमा पढ्नुहुन्थ्यो । त्यहाँ प्रत्येक विद्यार्थीलाई एउटा–एउटा विधा दिने रहेछ । अरु विधामा पोख्त नेपालीहरू रहेछन् । मेरा बा ‘आर्टिस्ट’ बनेर नेपाल आउनुभएको रहेछ । पछि प्रहरी सेवामा प्रवेश गरेपछि आर्ट कतै ओझेलमा परेछ । म यस क्षेत्रमा आउनुमा मेरा बाको हात छ । उहाँले मलाई सरकारी जागिरमा धकेल्नै खोज्‍नुभएन । सुरुमा मैले प्रोजेक्टमा जागिर खाएँ । त्यो अस्थायी थियो । प्रोजेक्टमा मलाई थोरै लोभ पनि लागेको थियो । अलि सुकिला–मुकिला पनि हुने र पैसा पनि कमाइने भन्‍ने सुनेँ । यसो हेर्दा, ब्रिटिसको लाहुरेजस्तै पनि लाग्‍ने भन्‍ने भयो ।

अहिले त फ्रीलाइन्सर छु । तर, नेपाली समाजमा ‘म फ्रीलाइन्सर हुँ’ भन्‍नु बडो अमिल्दो कुरा रहेछ । सानोतिनो कन्सल्टेन्सी गर्छु भन्‍ने पनि ठेक्कापट्टाजस्तै भयो । सामाजिक प्रतिष्ठा नै नभएजस्तो सोच्‍ने रहेछ । हाम्रो समुदायमा त लाहुरे भएन भने गन्दै नगन्‍ने पनि छ । मास्टरलाई समेत हेप्छन् । अहिले म त्रिविमा मास्टर डिग्रीलाई इको–टुरिज्म पनि पढाउने गर्छु । त्यो मेरो फुलटाइम त होइन । तर, अहिले कसैले सोध्दा ‘पढाउँदै छु’ भन्छु । जबकि मेरो यता ट्रेकिङ अफिससमेत छ, त्यो त भन्दिनँ नै । त्यसलाई समाजले खासै मान्दै मान्दैन । 

मेरो मावलतिरको बजै हुनुहुन्थ्यो । उहाँले सोध्नुहुन्थ्यो– ‘हैन, तँ माथि–माथि जान्छस्, के गर्छस् ?’ नपढेकी बजैलाई नाउर र हिउँचितुवाको कुरा कसरी भन्‍नू ? पर्यटन या पर्यावरणको कुरा उति बुझ्‍नहुन्‍नथ्यो । अनि म जवाफमा बजैलाई भन्थेँ– ‘पहिला–पहिला हाम्रो गाउँमा बाख्रा हेर्थें । अहिलेचाहिँ म माथि हिमालतिर जंगली बाख्रा, देउताले दिएको बाख्रा हेर्न जान्छु ।’

म माथितिर गएको थाहा बजैले पाउनुभयो भने अरुलाई भन्‍नुहुँदो रहेछ–‘कमल माथि हिमालतिर बाख्रा हेर्न गा’छ के !’

मेरा कामका बारेमा बासम्मले केही बुझ्‍नुहुन्छ होला । आमाहरूलाई बुझाउन गाह्रै छ । आफैँ पनि धेरै व्याख्या गर्दिनँ । सायद आफ्नै घरमा बुझाउन सकेको छैन । तर, आत्मविश्‍वास के छ भने सही बाटोमा छु । 

मैले आजसम्म आवाजै उठाउन सकेको त छैन, ‘गुड साइन्स’ को । जस्तो वन्यजन्तु नै जोगाउनेभन्दा पैसा मात्र कमाउनेहरू पनि छन् । समाजलाई दुःख दिने पनि छन् । मलाई लाग्छ, हामीले प्रथाजनित कानुनको कुरा किन नगर्ने ? बेला–बेला कार्यशालामा आदिवासी ज्ञान तथा प्रकृतिमैत्री प्रथाबारे केही थाहा नभएका मान्छेहरू भेटिन्छन् । बुझ्‍नै नचाहनेसम्म हुन्छन् । त्यस्तै मानिसहरूको बाहुल्यमा हामीले बोल्ने मौका नै कसरी पाउनू ?

संरक्षणको क्षेत्रमा ‘गुड साइन्स’ र ‘इन्डिजिनस नलेज’ चाहिँ हुनैपर्छ । आदिवासी ज्ञान र प्रथालाई कुनै पनि हालतमा नकार्नै सकिँदैन । तर, आफैंले पनि यो कुरा बुझाउनै सकेको छैन । मैले आफ्‍नै परिवारलाई बुझाउन सकेको छैन ।

केही समयअघि नै मनाङको नार–फुमा एउटा घटना भयो । दुई दिनमा ५५/५६ वटा च्याङ्ग्रा मार्ने चितुवाको उद्दार गर्न खोज्दा झन्डैले कुटाइ खाएको ! लामो समयदेखि आउजाउ गरिरहेको मलाई खानासमेत दिन छाडे । प्रहरी र  लालु गुरूङ भाइसहित पाँच जनाले चितुवा रुँग्यौँ । भोक र निद्राको कुरा छँदै थियो । दुई रातपछि अलि गाह्रो भएका कारण ‘मान्छे बोलाउन जान्छु है’ भनेर प्रहरीलाई झुकाउन पारि गएँ र खुकुरी रम खाएँ । अलिकति बल मिल्यो । फेरि गाह्रो पर्ला ठानेर गाउँमा बसिएन ।
 
त्यसैले मुख्य सरोकारवाला स्थानीयहरूलाई बुझाउन सकेनौँ भने काम हुँदै हुँदैन । यहाँ बुझाउनु पर्ने विभिन्‍न तह छन् । जस्तो पिटर म्याथिसनको पुस्तक स्थानीयले बुझ्दैनन् । यो कामबारे परिवार होस् या समाजलाई बुझाउन कठिनै छ । 

अन्त्यमा, राज्यलाई केही भन्‍नुपर्ने छ कि ?

नेपालमा संरक्षणको क्षेत्रमा मात्र नभई अरु क्षेत्रको पनि नेपालमा आफ्नै खालका ज्ञान छन् । आदिवासी ज्ञान छ । प्रथा र संस्कार छन्, जसले पर्यावरण जोगाउनलाई सघाउँछ नै । त्यही कुरालाई सरकारले औपचारिकता दिन हेलचक्रयाइँ गर्न भएन । गुड साइन्स हुनुपर्‍यो । जे गर्दा पनि जनमुखी र प्रकृतिमैत्री दृष्टिकोणबाट गर्नुपर्‍यो । त्यो दिगो खाले हुनु पनि अनिवार्य सर्त हुनुपर्‍यो । जस्तो प्रकृति नै बिगारेर फाइदा लिनु भएन । कसैले भनेको सुनेँ– ‘कस्तुरी मृग पाल्छु ।’ ती जनावर जंगलमै रमाउँछ र बाँच्छ । सुन्दै छु, मनाङ–मुस्ताङमा यस्तो काम चिनियाँहरूले सुरु गर्दै छ । यसले जंगल पनि हडप्‍ने भयो । वन्यजन्तुलाई घरेलुकरण गर्नु त अपराधै हो । 

अर्को कुरा– बाहिरी लगानी र कोषबाट कार्यक्रम गर्दा या योजना बनाउँदा कहिल्यै पनि दिगो हुँदैन, बरु स्थानीयलाई सहभागी गराएर त्यहीँको संरक्षणसम्बन्धी ज्ञानलाई ध्यान दिनुपर्‍यो । प्रवर्दन गर्नुपर्‍यो । सिकार गर्ने कुरा पनि वैज्ञानिक हुनुपर्‍यो र स्थानीय जनताले स्वीकार्ने खालको हुनुपर्‍यो । हिंसा निषेधित क्षेत्रमा सिकार आरक्ष लागू गर्नु भएन । आदिवासीहरूका संगठन र आन्दोलनले पनि ठीक ठाउँमा आवाज उठाइदिनु पर्‍यो । भुइँ तहका मानिसलाई सशक्तीकरण गर्नु मूल कुरा हो ।

प्रकाशित: ५ फागुन २०७८ १७:४२ बिहीबार

चेतलुङ
चेतलुङ