२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
एजेन्डा महिला

महिला स्वयं पितृसत्ताको एजेन्ट भएर हिँडिरहेका छन्ः प्रा. डा. बिन्दु पोखरेल

महिला स्वयं पितृसत्ताको एजेन्ट भएर हिँडिरहेका छन्ः प्रा. डा. बिन्दु पोखरेल

त्रिभुवन विश्‍वविद्यालयको मानविकी तथा समाजशास्त्र विभागमा झण्डै तीन दशकदेखि प्राध्यापनरत प्राध्यापक डा. बिन्दु पोखरेल महिला अधिकारको क्षेत्रमा प्रखर आवाजका रूपमा स्थापित छिन् । पोखरेलसँग ‘जेन्डर स्टडिज’ मा खारिएको अनुभव छ । उनको सहलेखनमा ‘लैङ्गिक अध्ययन’ नामक पुस्तक प्रकाशित छ । उनै पोखरेलसँग चेतलुङका लागि प्रणेताले गरेको कुराकानीको सम्पादित अंश ।

नेपालको महिला आन्दोलन कमजोर हुँदैछ भन्‍ने आशंकाबीच तपाईंले यसलाई कसरी हेरिरहनु भएको छ ?

विश्‍वका अधिकांश आन्दोलनहरूको हकमा के हुने गर्छ भने यो कुनै बेला वेगमा हुन्छ भने कुनै बेला शान्त ढंगले अघि बढिरहेको हुन्छ । उदाहरणका लागि महिला हिंसासँग सम्बन्धित मुद्दाहरूमा यो वेगवान् हुन्छ भने त्योभन्दा बाहेकको समयमा सतहमा नदेखिने गरी अघि बढिरहेको हुन्छ । तर, स्पष्ट शब्दमा के भन्‍न सकिन्छ भने यो पूर्ण रूपमा सेलाएको भने हुँदैन । कुनै न कुनै रूपमा त चलिरहेकै हुन्छ । त्यसकारण नेपालको महिला आन्दोलन पनि कमजोर भयो भन्‍न मिल्दैन ।

नेपाली महिला आन्दोलनको इतिहासलाई कसरी समीक्षा गर्न मिल्छ ?

दुःखको विषय के हो भने नेपालमा महिलाको दृष्टिविन्दुबाट अथवा उनीहरूलाई नै नायक बनाउने गरी इतिहास लेखिएकै छैन । हामीसँग विगतमा कति महिला आन्दोलनमा होमिए भन्‍ने बारे स्पष्ट जानकारी छैन । संघर्षको थालनी गर्नेहरूमा योगमायाको नाम आउने गर्छ । त्यो पनि धेरैपछि खोतलेर निकालिएको हो । जुनसुकै व्यवस्थाले, जब दमनको बाटो अख्तियार गर्छ,  त्यहीँबाट आन्दोलनको आवाज पनि उठ्न थाल्छ । त्यसैले सामान्य अवधारणामा टेकेर हामी के भन्‍न सक्छौँ भने पितृसत्तात्मक व्यवस्थाको आरम्भ भएदेखि नै महिला आन्दोलन सुरू भयो । हाम्रा हजुरआमा तथा उहाँभन्दा पनि पहिलेका पुस्ताले संघर्ष र आन्दोलन गरेकै हुनाले त यहाँसम्म परिवर्तन हुँदै आयो । महिलाहरूले त्यति बेला पनि आन्दोलनलाई अघि बढाइरहेका थिए । तर, त्यसको अभिलेखीकरण हुन सकेन । 

जकडिएको सामाजिक व्यवस्थाबाट महिलालाई स्वतन्त्र बनाउँदै आत्मनिर्णयको अधिकारसम्म पुर्‍याउन के गर्नु पर्ला ? 

तपाईंले महत्त्वपूर्ण प्रश्‍नसोध्नुभयो । हाम्रो जस्तो समाजमा परिवारको निकै ठूलो भूमिका रही आएको छ । संयुक्त परिवारमै मिलेर सबै बस्‍नुपर्छ भन्‍ने धारणाले बलियो गरी जरा गाडेकै कारण परिवार टुक्रिनुलाई राम्रो मानिँदैन । परिवार टुक्रिन पुगेमा त्यसको दोष महिलालाई नै दिने खालको हाम्रो सामाजिक बनोटमा, जब अधिकांश नेपाली घुम्‍न, अध्ययन गर्न र कामका सिलसिलामा देश–विदेश जान थाले त्यसपछि सामाजिक संरचनामा पनि फेरबदल देखिन थाल्यो । स्वभाविक रूपमा यसले नेपालको महिला आन्दोलनमा पनि प्रभाव पार्‍यो । 

जुनसुकै व्यवस्थाले, जब दमनको बाटो अख्तियार गर्छ,  त्यहीँबाट आन्दोलनको आवाज पनि उठ्न थाल्छ । त्यसैले सामान्य अवधारणामा टेकेर हामी के भन्‍न सक्छौँ भने पितृसत्तात्मक व्यवस्थाको आरम्भ भएदेखि नै महिला आन्दोलन सुरू भयो ।

पहिले महिलाहरू घरमा मात्र सीमित हुने गर्थे । तर, पछिल्ला केही दशकहरूमा उनीहरू विभिन्‍न क्षेत्रमा नेतृत्व गर्ने गरी नै अघि बढ्न थाले । ती महिलाहरू, जसले देश–विदेशमा काम गर्ने अवसर पाए, उनीहरूले हामी दमित हुनु परेको कारण भाग्य होइन रहेछ भन्‍ने बुझे । उनीहरूले अघिल्लो जन्मका कारणले भन्दा पनि शिक्षाको अभावमा हामी पछि पारेका रहेछौँ भन्‍ने बुझे । सँगसँगै उनीहरूले विश्‍वका कुना–कुनामा भइरहेका महिला आन्दोलनलाई पनि नजिकदेखि नियाले । यो सबैको प्रभाव नेपाली महिला आन्दोलनमा पर्नु स्वभाविक थियो । तपाईंले सोध्नुभएको प्रश्‍नको एक वाक्यमा जवाफ दिने हो भने हामीले महिलालाई शैक्षिक र आर्थिक रूपमा आत्मनिर्भर नबनाईकन उनीहरूलाई अधिकारसम्पन्‍न बनाउन सकिँदैन भन्‍नुपर्ने हुन्छ ।

महिला आन्दोलनलाई राजनीतिक आन्दोलनकै रूपमा बुझ्नु सान्दर्भिक हुन्छ वा त्योभन्दा भिन्‍न ?

महिला आन्दोलनलाई हामीले राजनीतिक आन्दोलनभन्दा भिन्‍न रूपमा होइन कि राजनीतिक आन्दोलनकै रूपमा बुझ्नुपर्ने हुन्छ । विभेदको अन्त्य, भोट हाल्न पाउने अधिकार, संसद्‍मा प्रतिनिधित्वको सवाल राजनीतिक सवाल हुन्, जसलाई महिलाहरूले आजपर्यन्त उठाइरहेकै छन् । 

हामीले कुनै एउटा विभेद हटाउँदैमा समाज समतामुलक र विभेदरहित भइहाल्दैन । त्यसैले हाम्रो प्रयत्‍न सबै खाले विभेद र असमानता हटाउनुमै केन्द्रित हुनुपर्छ । कहाँसम्म भने प्रकृतिमाथिकै विभेद हटाउनका लागि पनि हामीले प्रयत्‍न गर्नु जरुरी छ ।

ऐतिहासिक रूपमै महिलामाथि भइरहेको दमन, शोषण र हिंसाको राजनीतिलाई जब महिलाले बुझे त्यसपछि त्यसका विरुद्ध आन्दोलन संगठित हुँदै गयो । शुरुमा यो एक जनाको सोचमा मात्र सीमित थियो । तर, जब महिलाहरू एक–आपसमा कुरा गर्न थाले, आफ्ना भावनाहरू साटासाट गर्न थाले अनि उनीहरूले बुझे– यो त हामीमाथि व्यवस्थाद्वारा लादिएको रहेछ । त्यसपछि यो चेतनाले आन्दोलनको रूप ग्रहण गर्दै गयो । विभिन्‍न खाले व्यवस्थाले महिलाको शोषण गरिरहेका छन् भने सँगै यो राजनीतिक सीमा नाघ्दै अघि बढ्न थाल्यो । यहीँबाट यसले आफ्नो राजनीतिक स्वरूप ग्रहण गर्न थाल्यो भन्दा हुन्छ । 

नेपाली महिला पहिले आफ्नो दुःख–पीडा तीजको गीतमार्फत पोख्‍ने गर्थे । त्यहाँ भाग्य र कर्मलाई दोष दिने परिपाटीले संस्कारकै रूप ग्रहण गरेको थियो । महिलाले गुनासो पोख्थे तर हुँकार गर्ने साहस गर्दैन्थे । आजका दिनमा भने नेपाली महिलाको अवस्था फेरिएको छ । उनीहरू तीज गीतमार्फत समाजलाई चुनौती दिइरहेका छन् र अधिकारका लागि हुँकार पनि गरिरहेका छन् । मार्क्सले ‘सर्वहारावादी चेतना’ भने जस्तै महिलामा पनि आफूलाई हेर्ने, बुझ्‍ने र व्याख्या गर्ने चेतनको विकास भएको छ । त्यसैले उनीहरू आफ्नो अधिकारका लागि विश्‍वभर संघर्षरत छन् ।

पितृसत्ताले गाँजेको हाम्रो जस्तो समाजमा समेत महिलाहरू पूर्ण स्वतन्त्रताका लागि संघर्षरत छन् भन्‍न मिल्ला र ?


विश्‍वभरका महिला आफ्नो अधिकारका लागि संघर्षरत छन् भन्‍न हिचकिचाउनु पर्दैन । यति भन्दाभन्दै, कुनै पनि आन्दोलनमा त्यहाँका नागरिकको शतप्रतिशत सहभागिता हुँदैन भने जस्तै यहाँको आन्दोलनमा पनि सबै सहभागी छैनन् भन्‍न मिल्छ । कतिपय महिलाले पितृसत्तबाटै फाइदा लिइरहेका हुन्छन् । कति सन्दर्भमा महिलाहरू स्वयं पितृसत्ताको एजेन्ट भएर हिँडिरहेका छन् । जब उनीहरूलाई यो पितृसत्ता सामान्य लाग्छ र त्यसबाट फाइदा पाइरहेका हुन्छन् भने उनीहरू यसलाई परिवर्तन गर्ने आन्दोलनमा सहभागी हुँदैनन् । शिक्षित महिलालाई समेत यस्तै विचारले गाँजेको छ । कसैले बुझेर त कसैले नबुझेरै पितृसत्तालाई जीवनको हिस्सा बनाउन पुगेका छन् । हामीले बुझ्नुपर्ने विषय के हो भने पितृसत्ता परिवारको खुशीका लागि जन्मेको होइन । 

महिला नै पितृसत्ताको एजेन्टका रूपमा काम गरिरहेका छन् भन्‍नुभयो । यसलाई उदाहरणसहित व्याख्या गरिदिनुस् न ! 

यस प्रश्‍नको जवाफ पितृसत्ता भनेकै के हो भन्‍नेमा निहित छ । पितृसत्ता शक्ति सम्बन्धसँग जोडिएको हुन्छ । शक्तिशालीले आफूभन्दा कम शक्तिशालीमाथि गर्ने थिचोमिचो नै पितृसत्ता हो । हाम्रो पारिवारिक सम्बन्धमा सासुले बुहारीलाई, अमाजुले भाइबुहारीलाई गर्ने हेलाहोचो, कार्यालयभित्र हाकीमले कर्मचारीलाई, पुरुष कर्मचारीले महिला कर्मचारीलाई शक्तिका आधारमा गर्ने उचनिचपूर्ण व्यवहार पनि पितृसत्ताकै स्वरूपहरू हुन् । यसको फाइदा कतिपय महिलाले पनि लिइरहेका हुन्छन् । विभेद गर्ने तप्का र विभेद झेल्ने तप्कामा जो पनि विराजमान हुन सक्छ र उसले पितृसत्तावादी सोचलाई सामान्य ढंगले नै अभ्यासमा ल्याइरहेको हुन सक्छ ।

आजका दिनमा नेपाली महिला आन्दोलनका मुख्य सैद्धान्तिक सवाल के–के हुन् ?

अहिलेको मुख्य सवाल नै समानता हो । समानताका बाधकहरू के–के हुन् भनेर हामीले नियाल्नुपर्ने हुन्छ । महिलाले घरभित्र बेतलबी रूपमा गर्ने कामलाई यदि चिन्हित गर्ने हो भने केही महिला घरबाहिर निस्केर पनि काम गरिरहेका छन् । देशको राष्ट्रपति, सभामुख पनि महिला भए । कतिपय ठाउँहरूमा महिला हाकिम भएर पनि काम गरिरहेकै छन् तर विभेदको अन्त्य अझै भएको छैन । 

महिलाले आफ्नो सक्दो सामर्थ्य लगाएर अघि बढ्न चाहँदा पनि उसलाई रोक्ने अवयवहरू समाजमा विद्यमान रहँदासम्म महिला अधिकार सम्पन्‍न हुन सम्भव देखिएन । त्यसैले आजका दिनमा महिलालाई समाजमा अघि बढ्न नदिने सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अवरोधक के–के हुन् भनेर खुट्याउनु र त्यसको अन्त्य गर्नु नै महिला आन्दोलनका सैद्धान्तिक सवाल हुन् ।

पितृसत्ताको विरोधमा आवाज उठाउँदाउठाउँदै हामीले वर्णव्यवस्थाले निम्त्याएको विभेदबारे बोल्नैपर्छ । सहअस्तित्वको जगमा उभिएको समाज निर्माणका लागि प्रभुत्ववादी, नियन्त्रणमुखी र प्राधिकार स्थापित गर्न खोज्‍ने सबै प्रकारका वैचारिक सत्ता ढल्नु जरुरी छ । पितृसत्ता तिनै मध्येको एक हो ।

विभेदको भागी महिला स्वयं छ भने उसले शक्ति सम्बन्धका जराहरू खुट्याउनुपर्ने हुन्छ । त्यसका लागि सबभन्दा पहिले महिला नै सचेत हुनु जरुरी छ । राज्यकै स्तरबाट महिलालाई अघि बढ्ने अवसरहरू उपलब्ध गराइनुपर्छ । ऐतिहासिक रूपमा भएको विभेद र हिंसाको क्षतिपूर्तिस्वरूप उनीहरूलाई अघि बढाउन के–के गर्न सकिन्छ भनेर राज्यले गम्भीरतापूर्वक सोच्‍नु र पहल लिनु जरुरी छ कि छैन भन्‍ने नै आजको मूल सवाल हो । 

आजसम्म अभ्यास गरिएको सबभन्दा उच्चतम व्यवस्थाका रूपमा रहेको लोकतान्त्रिक व्यवस्थाभित्रै महिलाको स्वतन्त्रता र मुक्ति सम्भव छ कि छैन ?

यो व्यवस्था अहिलेसम्मकै सबभन्दा उच्चतम प्रयोग हुँदाहुँदै पनि यसको कार्यशैलीमा निकै ठूलो परिवर्तन गर्नै पर्नेछ । समानतालाई व्यवहारमै महसुस गराउनका लागि धेरै नीति बनेका छन् । तर, त्यसलाई कार्यान्वयन गराउने मानसिकता कस्तो छ भन्‍ने प्रश्‍न हाम्रा अघिल्तिर आइपुग्छ । हाम्रो सामाजिक मानसिकतामा परिवर्तन नआईकन महिलाले आफ्नो स्वतन्त्रताको अभ्यास गर्न कठिन देखिन्छ । महिलाले महिलाकै हितमा सोच्छन् र पुरुषले उनीहरूको विरुद्धमा सोच्छन् भन्‍ने हुँदैन । समग्रमा कुनै पनि मानिसमा महिलाप्रतिको दृष्टिकोण कस्तो छ भन्‍नेले अर्थ राख्छ ।

उच्च जातकी महिलाले पितृसत्तासँग लड्नु परिरहेको हुन्छ । तर, मधेसी दलित महिलाले त एकै पटक तीनवटा विभेदजनित अवधारणासँग लड्न परिरहेको हुन्छ, यसको समाधान कसरी पहिल्याउने ? 

ठीक भन्‍नुभयो । हामीले कुनै एउटा विभेद हटाउँदैमा समाज समतामुलक र विभेदरहित भइहाल्दैन । त्यसैले हाम्रो प्रयत्‍न सबै खाले विभेद र असमानता हटाउनुमै केन्द्रित हुनुपर्छ । कहाँसम्म भने प्रकृतिमाथिकै विभेद हटाउनका लागि पनि हामीले प्रयत्‍न गर्नु जरुरी छ । जबसम्म प्राकृतिक दोहन र त्यसको असमान वितरणले निम्त्याएको भोकमरी, गरिबीबारे हामी बोल्दैनौँ, महिलामाथि हुने विभेदले निरन्तरता पाइरहन्छ । घरको पल्लो कोठामा आगो लागिरहँदा वल्लो कोठामा कोही आरामले निदाउन सक्दैन । प्रकृतिमाथि भइरहेको यो स्तरको अन्यायबीच हामीले आफ्नो मुद्दा उठाउँदै त्यसको पक्षमा बोल्नुपर्ने भएको छ ।

पितृसत्ताको विरोधमा आवाज उठाउँदाउठाउँदै हामीले वर्णव्यवस्थाले निम्त्याएको विभेदबारे बोल्नैपर्छ । सहअस्तित्वको जगमा उभिएको समाज निर्माणका लागि प्रभुत्ववादी, नियन्त्रणमुखी र प्राधिकार स्थापित गर्न खोज्‍ने सबै प्रकारका वैचारिक सत्ता ढल्नु जरुरी छ । पितृसत्ता तिनै मध्येको एक हो । त्यसैले हाम्रो नारीवाद अन्य मुलुकको नारीवादभन्दा भिन्‍न ढंगले अघि बढ्न जरुरी छ । हामीकहाँ विविधता छ । ती विविधतासँग जेलिएका रुढिवादी विचार पितृसत्तासँग समागम गर्न पुग्छन् र अनेकौँ विभेदहरूलाई जन्म दिन्छन् । त्यसैले यहाँको नारीवादी आन्दोलन यहीँको विशिष्टतामा अघि बढ्नुपर्छ ।

आर्थिक आत्मनिर्भरताले मात्र महिला स्वतन्त्र हुन सक्छन् भनिन्छ । महिला विशुद्ध आर्थिक प्राणी मात्र हो र ?

हामी मानव पूर्ण स्वतन्त्र त कहिल्यै हुन सक्दैनौँ । मेरो पूर्ण स्वतन्त्रताले अरुलाई पनि बाधा पुर्‍याउन सक्छ । विद्यमान संरचनाहरूले महिला र पुरुषलाई कति स्वतन्त्रता दिएका छन् भन्‍ने विषय महत्त्वको हो । महिलाकै हकमा कुरा गर्दा उनीहरूलाई ऐतिहासिक रूपमै पछि पारिएको हो भन्‍ने विषयलाई हामीले आत्मसात गर्नुपर्छ । त्यसपछि बल्ल उनीहरूलाई समान हैसियतमा ल्याउन के गर्ने भन्‍ने प्रश्‍नआउँछ । 

आर्थिक रूपमा आत्मनिर्भर हुँदैमा कोही पनि पूर्ण स्वतन्त्र हुँदैन । त्यसबाहेक पनि कैयौँ खालका स्वतन्त्रता हुन्छन्, जसले तपाईंमा आत्मसम्मानको दियो जलाउने गर्छ । उदाहरणका लागि तपाईं आर्थिक रूपमा निकै सम्पन्‍न हुनुभयो । तर, तपाईंसँग कोही पनि खाना खान चाहन्‍न र सम्बन्ध राख्‍न चाहन्‍नन् भने पनि तपाईं सन्तुष्ट हुन सक्नु हुन्छ । त्यसैले महिलाले खोजेको आर्थिक सम्पन्‍नता मात्र होइन कि आत्मसम्मान पनि हो । आर्थिक आत्मनिर्भरताले तपाईंमाथि हुने विभेदको स्तरलाई न्यूनीकरण गरिदिन्छ ।

भुमण्डलीकृत पुँजीवादले पितृसत्तालाई थप बलियो कसरी बनाएको छ ?

हामी बस्दै गरेको पृथ्वीमा पितृसत्ता सबै थोकमा मिसिएर आउने गरेको छ । पितृसत्ता केमा छैन भन्‍नुस् त ? जात–व्यवस्थामा पितृसत्ता छ । विभिन्‍न जनजातीय समूहमा पितृसत्ता छ । धर्मसँग पितृसत्ता जोडिएर आएको छ । अरु त अरु आजका दिनमा पितृसत्ता सबभन्दा धेरै पुँजीवादसँग मिसिएर आएको छ । पुँजीवादले महिलालाई वस्तुमा परिणत गरिदिएको छ र व्यापारको ढोका सबैका लागि खुला गरिदिएको छ । 

पुँजीवादले महिलाको थप शोषण कसरी गरिरहेको छ भनेर केलाउनु जरुरी भएको छ । घरबाट बाहिर निस्किएर कमाउन जान पाउने पनि पुँजीवादकै कारण सम्भव भयो र महिलालाई सोकेसमा सजाएर बिक्री गर्न पनि पुँजीवादकै कारण सम्भव भयो ।

घरभित्रको पितृसत्ता केही कमजोर भएको छ तर बजार व्यवस्थाले महिलालाई जस्तो काम पनि लगाइरहेको छ । पुँजीवादमा महिला बेचबिखन, यौनकर्म (prostitution), यौनजन्य सिनेमा उद्योगका रूपमा फस्टाइरहेका छन् । यी सब पुँजीवादकै देन हो । त्यसैले पुँजीवादले महिलाको थप शोषण कसरी गरिरहेको छ भनेर केलाउनु जरुरी भएको छ । घरबाट बाहिर निस्किएर कमाउन जान पाउने पनि पुँजीवादकै कारण सम्भव भयो र महिलालाई सोकेसमा सजाएर बिक्री गर्न पनि पुँजीवादकै कारण सम्भव भयो । समग्रमा भन्दा महिला आन्दोलनलाई पुँजीवादले गहिरो गरी प्रभावित पारेको छ ।

वैदेशिक सहायताले महिला आन्दोलन कमजोर बनाइदिएको छ । तर, केही महिला अधिकारकर्मीलाई सबल बनाएको भन्‍ने आलोचना छ नि ?

यो आरोप महिलालाई मात्र किन लगाइन्छ ? एनजीओ/आईएनजीओमा त पुरुष पनि काम गर्छन् । सत्ताको केन्द्रमा बसेर आफ्नो फाइदाका लागि मात्र काम गर्ने पुरुषहरूको आलोचना किन हुँदैनन् ? महिलाले त गाउँ–गाउँमा पुगेर भुँइतहका मानिससँग जोडिएर काम गरिरहेका छन् । उनीहरूले गरेको काम र योगदानको कुनै मूल्याङ्कन नगरीकन एकोहोरो उनीहरूको आलोचना मात्र हुनु राम्रो होइन । रह्‍यो कुरा वैदेशिक सहयोगको, त्यसलाई नियन्त्रण गर्ने काम सरकारको हो ।

प्रकाशित: १६ फागुन २०७८ १७:०९ सोमबार

चेतलुङ
चेतलुङ