२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
एजेन्डा मिडिया सम्पादकको रोजाइ

युक्रेनमा देखिएको पश्‍चिमा मिडियाको नस्लवाद

युक्रेनमा देखिएको पश्‍चिमा मिडियाको नस्लवाद

युक्रेनमा रुसले सैन्य हस्तक्षेप गरेपछि कति मानिस (सर्वसाधारण र सैनिक) मारिए, कति घाइते भए, कति शरणार्थीका रूपमा विदेश पलायन भए या विश्‍वको कुन–कुन देशमा यस युद्धको विरोध/समर्थन भइरहेको छ भन्‍ने बुझ्‍नहामी भर पर्ने मुख्य आधार समाचार नै हो । तर, प्रश्‍न उठ्छ कि हामीसम्म आइपुग्‍नेसमाचार कत्तिको विस्वश्‍नीय छ ? कत्तिको तथ्यपरक छ ? त्यसले प्रस्तुत गर्ने आयाम कत्तिको फराकिलो छ ? आफ्नो देशको विदेशनीतिसँग समाचारको साइनो हुन्छ कि हुँदैन ? र, घुमीफिरी त्यस समाचारले कसको पक्षधरता लिइरहेको छ ?

भारतीय टेलिभिजन एनडीटिभीका पत्रकार तथा म्यागासेसे पुरस्कार विजेता रवीश कुमार ‘प्राईम टाइम विथ रवीश’ चलाउने गर्छन् । उनी बारम्बार भन्छन्– ‘तपाईंले टिभी हेर्न छाडिदिनुस् । यसले तपाईंलाई भीडमा रूपान्तरित गरिदिनेछ ।’ उनले संकेत गरेको सन्दर्भलाई अलि फराकिलो आयामबाट हेर्ने हो भने के समाचार उत्पादक कम्पनीहरूले तपाईंलाई अर्थात् समाचारका उपभोक्ताहरूलाई भीडमा रूपान्तरित गर्न लागिपरेका त छैनन् भन्‍ने प्रश्‍न उठ्छ । रवीशले ‘भीड’ शब्दको प्रयोग गर्नुको आशय मूलतः समाचार उद्योगहरूले तपाईंलाई विवेकहीन, चेतनाहीन, अन्धभक्त मानिसका रूपमा रूपान्तरण गरेर आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेकाले दर्शक/पाठक सचेत हुनुहोस् भन्‍ने हुनुपर्छ ।

अब जाऔँ, युक्रेनको विषयमा । युक्रेनमा के भइरहेको हो र किन ? त्यसले अन्तर्राष्ट्रिय राजनीतिको शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्नेछ ? हाम्रो पेट र जीवनको शान्तिलाई यसले प्रभाव पार्छ कि पार्दैन भन्‍ने विषय अन्तर्राष्ट्रिय राजनीतिको विषय भयो । अतः यो लेखोट त्यसमा केन्द्रित नभई मिडियामा केन्द्रित हुनेछ ।

युक्रेन युद्धलाई विषय बनाएर पश्‍चिमा मिडिया उद्योगमा जति–जति समाचार उत्पादन भइरहेका छन्, पश्‍चिमा मिडिया त्यति–त्यति नाङ्गिँदै गएका छन् । यी समाचारसँगै पश्‍चिमा मिडियामा नस्लवादी, श्‍वेत–सर्वोच्चतावादी र उपनिवेशवादी सोच कति हाबी छ भनेर देख्‍न सकिन्छ । तर, उनीहरूको यो सोच के सबै दर्शक, पाठक, स्रोताले ठम्याउन सक्छन् ?
उत्तर सहजै निस्कन्छ– सक्दैनन् । 

जसरी कुनै कालखण्डमा दास प्रथा स्वयं अश्‍वेतलाई अस्वाभाविक लाग्दैनथ्यो, जसरी कुनै कालखण्डमा नेपालमा महिलालाई महिनावारी बार्दा अस्वाभाविक लाग्दैनथ्यो, जसरी पुरुषले आफ्नै श्रीमतीसँग पनि बलात्कार गर्न सक्छन् भन्‍ने लाग्दैनथ्यो, त्यसरी नै आम पाठकलाई पनि पश्‍चिमा मिडियाले व्यक्त गरिरहेको नस्लवाद, श्‍वेत–सर्वोच्चतावाद र उपनिवेशवादी सोच अस्वाभाविक लाग्दैन ।

युक्रेन युद्धलाई विषय बनाएर पश्‍चिमा मिडिया उद्योगमा जति–जति समाचार उत्पादन भइरहेका छन्, पश्‍चिमा मिडिया त्यति–त्यति नाङ्गिँदै गएका छन् । यी समाचारसँगै पश्‍चिमा मिडियामा नस्लवादी, श्‍वेत–सर्वोच्चतावादी र उपनिवेशवादी सोच कति हाबी छ भनेर देख्‍न सकिन्छ ।

यसलाई उदाहरणका साथ भन्‍नुसान्दर्भिक होला । अमेरिकाको सीबीएस न्युजका वरिष्ठ पत्रकारले युक्रेनको किभबाट रिपोर्टिङ गर्दै भने, ‘यो कुनै इराक र अफगानिस्तानजस्तो ठाउँ होइन । बरु यो त अपेक्षाकृत युरोपको शहर हो, जहाँ तपाईं यस्ता खाले चीजको अपेक्षा नै गर्नुहुन्‍न ।’ 

युक्रेनबाट लाइभ रिपोर्टिङ गरिरहेका अर्का रिपोर्टरले युक्रेनबारे भने, ‘म उभिएको यो ठाउँ विकासशील तेस्रो विश्‍वको कुनै राष्ट्र होइन । यो युरोप हो ।’

त्यसैगरी ब्रिटेनको लण्डनमा हेडक्‍वाटर रहेको द टेलिग्राफका रिपोर्टर युक्रेनबाट पोल्याण्ड, स्लोभाकिया, हंगेरी तथा रोमानिया गइरहेका शरणार्थीलाई देखाउँदै भन्छन्, ‘यी समृद्ध मध्यमवर्गीय मानिस हुन्, यी उत्तर अफ्रिकाजस्ता मुलुकबाट आएका मानिस होइनन् । लाग्छ– यी युरोपकै छिमेकीहरू हुन् ।’

यहाँनेर तपाईंहरूका लागि प्रश्‍न छ– आजको दुनियाँमा कसैमाथि सेना–प्रहरी लगाएर नियन्त्रण गर्नुको सार्थक परिणाम आउँछ कि ज्ञानले नियन्त्रण गर्नुमा ? आजको सूचना र ‘डेटा’ को युगमा तपाईंलाई हतियार दिनु बढी खतरनाक हो कि तपाईंको मोबाइललाई नै हतियारमा परिणत गरिदिनु ? तपाईंको जासुसीका लागि व्यक्ति खटाउनु उपयुक्त हो कि मोबाइल/कम्प्युटरमै स्पाईवेयर इन्स्टल गरिदिनु ? अन्त्यमा तपाईंको सोचमा नियन्त्रण कायम गरेपछि सत्ता र शक्तिमाथि कुण्डली मारेर बसेकाहरूलाई कत्तिको सहज हुन्छ, शासन गर्न ?

वर्तमान युगलाई सूचनाको युग मान्‍ने हो भने विश्‍वका सबैभन्दा ठूला–ठूला सूचना उद्योगहरू कसको नियन्त्रणमा छन् त ? र, तिनले कस्तो समयमा कस्तो सूचना उत्पादन गरी विश्‍वभर प्रसार गर्छन् ? यी दुई प्रश्‍नले तपाईंलाई जवाफ खोज्‍नतिर डोर्‍याए भने तपाईं भ्रामक, एकपक्षीय र आफूअनुकूलको सूचना उत्पादनका त्यस्ता कारखानासम्म पुग्‍नु हुन्छ, जसले आफ्नो र अन्ततः आफ्नो मुलुकको राजनीतिक विचारधारा, अर्थतन्त्र र सांस्कृतिक मान्यतालाई नै तपाईंसम्म पुर्‍याउनका लागि अहोरात्र काम गर्छन् ।

युक्रेनमा चलिरहेको युद्ध र पश्‍चिमा मिडियाद्वारा समाचारका भरमा नायक बनाइएका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबारे समाचार पढ्दै गर्दा ‘एनमी एट द गेट’ भन्‍ने सिनेमा हेर्नु सान्दर्भिक हुन सक्छ । स्टालिनग्रादमा जर्मनसँग युद्ध हार्दै गरेका रुसी सैनिकको मनोबल बढाउन र कमाण्ड गर्न आइपुगेका सेनाका कमाण्डर निकिता ख्रुस्चेभ भन्छन्– मलाई यो युद्ध जित्‍नेनायक चाहिएको छ । कोही छैन त्यस्तो ?

त्यसपछि एउटा समाचारपत्रबाट नायकको निर्माण सुरु हुन्छ । र, त्यसलाई हजारौँ समाचारपत्रमार्फत आममानिस र सैनिक जवानहरूसम्म इन्जेक्ट गरिन्छ । त्यस्तो नायक, जसलाई देखाएर युद्धप्रति सबैमा आकर्षण भर्न सकियोस् । त्यस्तो नायक, जसलाई देखाएर राष्ट्रभक्तिको मानक तय गर्न सकियोस् । त्यस्तो नायक, जसलाई देखाएर शत्रुलाई तर्साउन सकियोस् । त्यस्तो नायक जसका दुर्बलता कतै नदेखाइयोस् । तर, उनका महानताबारे सबैलाई भनियोस् । त्यसपछि नायक भ्यासिली जाइत्जेभको जन्म हुन्छ । 

आजका पश्‍चिमा समाचारपत्र र राज्य निर्देशित तर स्वतन्त्रझैं देखिने अनलाइन पोर्टलहरू हेर्दा दोस्रो विश्‍वयुद्धको पृष्ठभूमिमा निर्माण भएको सिनेमाका नायक भ्यासिली जाइत्जेभ र जेलन्स्कीबीच समानता देखिएमा आश्‍चर्य नमान्दा हुन्छ किनभने समाचारपत्रले नायक र खललायकको निर्माण एकै पटक गर्छन् । नपत्याए समाचारपत्र र अनलाईन पोर्टलहरू नियालेर हेर्नुस् । त्यसो त समाचारपत्रका अधिकांश सम्पादकहरूमा युद्धोन्माद हाबी हुन्छ । तर, यो अर्कै विषय हो कि उनीहरू प्रत्यक्ष युद्धमा सहभागी हुन भने डराउँछन् । जेर्मी बोएन त्यसका सबैभन्दा असल उदाहरण हुन् । बीबीसीका मिडिल इस्ट सम्पादक बोएन आफ्नो एक ट्‍वीटमा फोटो पोस्ट गर्दै रुसी ट्याङ्कमा पेट्रोल बम कहाँ हान्‍नुपर्छ भनेर सिकाउँछन् ।

युद्धको विभीषिका आममानिसका लागि जति नारकीय र त्रासदीपूर्ण हुन्छ, समाचारपत्र र हतियार उत्पादक कम्पनीहरूका लागि भने त्यति नै स्वर्णकाल हुने गर्छ । ओहो ! समाचार उत्पादक कम्पनी र हतियार उत्पादक कम्पनीको साइनोबारे के तपाईंले यसभन्दा पहिले सोच्‍नुभएको थियो ? नसोचेको भए अब सोच्‍नुस् किनभने युद्धले तपाईंलाई त्यो पनि सोच्‍नबाध्य पार्दै छ ।

वर्तमान युगलाई सूचनाको युग मान्‍ने हो भने विश्‍वका सबैभन्दा ठूला सूचना उद्योगहरू कसको नियन्त्रणमा छन् त ? र, तिनले कस्तो समयमा कस्तो सूचना उत्पादन गरी विश्‍वभर प्रसार गर्छन् ?

माथि मैले सीबीएस न्युजसहित द टेलिग्राफका रिपोर्टरले गरेको रिपोर्टिङबारे कुरा गर्दै थिएँ । उनीहरूले भनेको– ‘यो कुनै इराक र अफगानिस्तानजस्तो ठाउँ होइन ।’, ‘यो विकासशील तेस्रो विश्‍वको कुनै राष्ट्र होइन ।’ तथा ‘यी समृद्ध मध्यमवर्गीय मानिस हुन् । यी उत्तर अफ्रिकाजस्ता मुलुकबाट आएका मानिस होइनन् ।’ भन्‍ने कथ्यले के प्रस्ट्याउँछन् भने विश्‍वका सबै मानिस समान हुँदैनन् । हामी अर्थात् युरोप/अमेरिकाका गोरा, समृद्ध र ‘सभ्य’ हौँ र तिनीहरू अर्थात् अफ्रिकी/एसियाली/विकासशील मुलुकका गरिब र ‘काला’ ‘असभ्य’ हुन् । 
सभ्य र असभ्यको पश्‍चिमा मिडियाको भाष्यभित्र त्यस्तो विषाक्त उपनिवेशवादी विचार घोलिएर आउँछ, जसले विश्‍वमा अन्त्य भएको उपनिवेशवादको महिमागान गाउन पाउँदा आफूलाई गौरवान्वित ठान्छ, जसले दास बनाएर बेचिएको अश्‍वेतको जीवनलाई तुच्छ साबित गर्दै खरिद–बिक्रीमा संलग्‍नहरूलाई गौरव गर्ने धरातल उपलब्ध गराउँछ, जसले श्‍वेतहरू विश्‍वका असल नस्ल भएकोमा गर्व गर्छ । तर, हिटलरबाट आफूलाई अल्ग्याउँदै आफ्नै मुलुकमा नवनाजीवादलाई हुर्काउन मलजल गरिरहन्छ ।

तस्बिरः हनी मोहम्मद

विश्‍वभर साम्राज्यवादी शासन खडा गरेर दक्षिण अमेरिकादेखि अफ्रिका हुँदै एसियासम्मका अधिकांश तेस्रो विश्‍वका मुलुकमा बलात्कार र नरसंहार मच्चाउँदै उनीहरूको साधन स्रोतलाई लुटेर आफूलाई कथित सभ्य भनिन रुचाउनेहरूले सन् २००१ यता मात्रै इराक, अफ्गानिस्तान, सिरिया, लिविया, यमन, सोमालिया, पाकिस्तानमा युद्ध निर्यात गरिरहँदा पश्‍चिमा मिडियालाई त्यसमा कुनै आपत्ति भएन । तर, जब युद्ध त्यहाँबाट सर्दै–सर्दै युरोप आइपुग्यो, पश्‍चिमा मिडियाका अधिकांश सम्पादकमा अचानक दिव्यदृिष्ट पलायो– युद्ध मानवताको विरुद्धमा हुने गर्छ । युद्ध शान्तिको विरुद्धमा हुने गर्छ । र, हुँदाहुँदा उनीहरूलाई के पनि लाग्यो भने युद्धमा सर्वसाधारणमाथि हुने हमला नरसंहार हो । 

यो अहिलेसम्मकै सबैभन्दा भद्दा मजाकबाहेक केही होइन । 

लोकतन्त्र, मानवअधिकार, वाक स्वतन्त्रता र भोट खसाल्न पाउने अधिकार ती सबै–सबै नागरिकहरूका अघिल्तिर यति ठूलो मजाक हो, जसले अमेरिकी आणविक र नापाम बमको भत्भताउँदो तातो सहेका छन्, डढेको प्लास्टिकझैँ आफ्नो शरीरबाट मासु पग्लिएको देखेका छन्, सहेका छन् । र, पश्‍चिमा मिडियाले ङिच्च दाँत देखाउँदै भनिरहे– विश्‍वयुद्ध अन्त्यका लागि एउटा आणविक बम । लोकतन्त्रका लागि अर्को नापाम बम । त्यस्तै मानवअधिकारका लागि यो अर्को बम । अन्त्यमा, मानवता जोगाउनका लागि यो अर्को एयरस्ट्राइक ।

युद्धको विभीषिका आममानिसका लागि जति नारकीय र त्रासदीपूर्ण हुन्छ, समाचार र हतियार उत्पादक कम्पनीहरूका लागि भने त्यति नै स्वर्णकाल हुने गर्छ ।

अन्यत्र मरेका मानिसलाई मानिस नठानेर अंक ठान्‍ने तर अमेरिका–युरोपमा मरेका गोरालाई येशुका सन्तान ठान्‍ने पश्‍चिमा मिडियाको यो रोग सत्ता, शक्ति र नस्लवादी सोचको पराकाष्ठा हो । यसमा उनीहरूको दोहोरो चरित्रको सबैभन्दा विद्रुप अनुहार देखिन्छ । तर, ‘लोकतन्त्र’, ‘मानवअधिकार’ र ‘वाक स्वतन्त्रता’ जस्ता शब्दले उनीहरूको यो विद्रुप नरसंहारकारी अनुहारलाई यसरी छोपिदिन्छन् कि हामी उनीहरूले सिर्जना गरेको शब्दमा उनीहरूलाई ‘सभ्य’, ‘सुसंस्कृत’ र ‘ज्ञानी’ भन्ठान्छौँ । यही कामलाई मिडियाले बडो कुशलताका साथ निर्वाह गर्छ ।

र, यो २१ औँ शताब्दीको मिडिया हो ।

पश्‍चिमा मिडियामा नस्लवादी सोच नभएर मानवतावादी सोच हुन्थ्यो, उनीहरू साँच्चै युद्धलाई तिरस्कार गर्थे भने के उनीहरू रसियाले युक्रेनमा बमबारी गरिरहँदा अमेरिकाले सोमालियामा, साउदी अरबले यमनमा, इजराइलले प्यालेस्टाइनमा हमला गरिरहेको छ भन्दैनथे ? जस्तो कि २२ जनवरी २०२२ मा साउदी अरबले गरेको हवाई हमलामा ८७ जनाको हत्या गरिएको छ, जसमा अधिकांश गैरसैनिक छन् ।

मूलतः मूलधारका पश्‍चिमा मिडिया आफ्नो मुलुकको विदेश–नीति र विचारलाई अघि बढाउने प्रमुख अस्त्र हुन् । त्यसैले उनीहरू आफूअनुकूलको घटनालाई टिप्छन् र आममानिसको मस्तिष्कमा इन्जेक्ट गर्छन् । तर, जुन विषय उनीहरू आफ्नो हित देख्दैननन्, त्यसमा उनीहरू आँखा चिम्लन्छन् । उनीहरूको वैश्‍विक नीति गाउँको कुनै सामन्तको चरित्रसँग मेल खान्छ, जहाँ उसको छोराले दलितकी छोरीलाई बलात्कार गर्दा पहिले नदेखेझैँ गर्छ, देख्‍नै पर्ने भएमा उसको भूमिका बलात्कारलाई साम्य पार्नमा केन्द्रित हुन्छ, न कि न्यायको पक्षमा उभिन । तर, कसैले सामन्तकी छोरीसँग प्रेम गर्‍यो भने ऊ छोरीको प्रेमीलाई अपराधी करार गरेर, चारपाटा मुडेर नौ डाँडा कटाउँछ । र, फेरि पनि गाउँको त्यस सामन्तलाई आफ्नो छवि जोगाइराख्‍ने चिन्ता सदैव हुन्छ । त्यसैले ऊ गाउँमा आमा समूहलाई चन्दा दिन्छ, मन्दिर बनाउन आफैँले पहलकदमी लिन्छ । आधुनिक दुनियाँमा यसैलाई परोपकारी दान भन्‍ने गरिन्छ । यसले दाता मुलुकको नेतृत्वकारी भूमिका अथवा भनौँ– शक्तिलाई स्थापित राखिराख्‍न सफलतापूर्वक काम गर्छ । यो २१ औँ शताब्दीमा नरसंहार लाद्‍ने मुलुकले अपनाएको परोपकार हो । तर, साँच्चै यो कतिको परोपकारी हुन्छ भन्‍ने हामीले देखिसकेका छौँ ।

अब जाऔँ– पत्रकारितामा हामीले मानक मानेका ती कर्पोरेट मिडिया उद्योगतर्फ, जसलाई बारम्बार उद्धृत गर्दा हामी बौद्धिक देखिन्छौँ । अमेरिकाबाट प्रकाशित हुने सबैभन्दा प्रतिष्ठित समाचारपत्रमध्ये न्युयोर्क टाइम्स, वासिङटन पोस्ट र वाल स्ट्रिट जर्नलसहित फक्स न्युज, एमएसएनबीसीले ‘युक्रेन संकट’ लाई कसरी पस्के त ? 

डा एलन मेकलियोडले यसबारे एउटा अध्ययन गरेका छन् । सबैभन्दा पहिले मेकलियोडले के काम गरेका छन् भनेर जान्‍नुसान्दर्भिक होला । उनका दुई पुस्तक छन्– ‘प्रोपगान्डा इन द इन्फर्मेसन एजः स्टिल म्यानुफेक्चरिङ कन्सेन्ट’ र ‘ब्याड न्युज फ्रम भेनेजुएलाः ट्‍वान्टी इयर्स अफ फेक न्युज एन्ड मिसरिपोर्टिङ’ । 

२१ देखि २७ फेब्रुअरीका बीच गरेको एक अध्ययनमा न्युयोर्क टाइम्स, वासिङटन पोस्ट, वाल स्ट्रिट जर्नलसहित फक्स न्युज एमएसएनबीसीले कुल १३ सय स्टोरी उत्पादन गरे । तर, त्यति नै बेला सिरियामा भइरहेको हमलाबारे दुई, सोमालियामा अमेरिकाले गरेको हमलाबारे एक र साउदी अरबको नेतृत्वमा यमनमाथि गरिएको हमलालाई उनीहरूले कुनै स्थान नै दिएनन् ।

अध्ययनले के देखाउँछ भने पत्रिकामा प्रकाशित ९० प्रतिशत उत्पादित सामग्रीमा युक्रेनलाई अमेरिकाले नेटो, हतियार र सेनामार्फत सहयोग गर्नुपर्ने विचार व्यक्त गरिएको छ । तर, ती कुनै पनि पत्रिका र टेलिभिजनमा अहिलेका राष्ट्रपति जेलेन्स्की नवनाजीवादी विचार राख्छन् र तिनलाई सत्तामा ल्याउन अमेरिकाले यसअघिका राष्ट्रपति भिक्टर यानुकोभिचको निर्वाचित सरकारलाई अपदस्त गरेको कुरा उल्लेखसमेत गरिएको छैन । 

आज संसारको कुनै पनि कुनामा लडिने युद्ध तथा मूलधारका समाचारपत्रमा लेखिने समाचारको प्रत्यक्ष सम्बन्ध बजारसँग हुन्छ र बजारको सम्बन्ध मुनाफासँग हुन्छ । मुनाफाको सम्बन्ध पुँजीसँग हुन्छ र पुँजीमाथि जसको नियन्त्रण हुन्छ, समाचार उसकै पक्षमा लेख्‍नुपर्ने हुन्छ ।

यसपछि सबैभन्दा महत्त्वपूर्ण अर्को पक्षबारे चर्चा गर्नै पर्छ । विश्‍व बजारमा कुनै पनि सामानलाई उपभोक्तासम्म पुर्‍याउन थोक विक्रेता र खुद्रा व्यापारी हुन्छन् भने समाचारको दुनियाँमा यस्तो हुन्छ कि हुँदैन ? जवाफ सजिलो छ– यही बजारतन्त्रमा आफ्नो उत्पादन बेच्‍ने हो भने तपाईंलाई थोक र खुद्रा व्यापारी दुवै चाहिन्छ । त्यसो हो भने समाचारको दुनियाँका थोक व्यापारी को हुन् त ? यसका लागि तपाईंले धेरैको नाम सम्झिनु पर्दैन । तपाईंले एजेन्सी फ्रान्स प्रेस (एएफपी), एसोसिएट प्रेस (एपी) र रोयटर्सलाई सम्झिए पुग्छ । 

‘फ्रम द विग थ्री टु एलिट न्युज सोर्सेसः ए सिफ्ट इन इन्टरनेसनल न्युज फ्लो...’ शीर्षकको एक अध्ययनमा अली रफिक र डा सुजुन जियाङ लेख्छन्, ‘मूलतः विश्‍वको सबै मिडिया उद्योगमा एएफपी, एपीरोयटर्सले प्रभुत्व कायम गरेका छन् ।’ 

फ्रान्समा मुख्यालय रहेको एएफपीको विश्‍वभर १ सय ५१ मुलुकमा २ सय १ कार्यालय छन् । उसले फ्रेन्च, अंग्रेजी, अरबी, पोर्चुगिज, स्पेनिस र जर्मन भाषामा समाचार उत्पादन गर्छ । त्यसैगरी अमेरिकाको न्युयोर्कमा मुख्यालय रहेको एपीको ९९ मुलुकमा २ सय ४८ कार्यालय छन् । उसले अंग्रेजी, स्पेनिस र अरबी भाषामा समाचार उत्पादन गर्छ । रोयटर्सको मुख्यालय लण्डनमा रहेको छ र उसले विश्‍वभर २०० भन्दा धेरै ठाउँबाट समाचार उत्पादन गर्ने गर्छ । यी तीनवटै संस्था समाचारका थोक बिक्रेता हुन् । विश्‍वमा छापिने समाचारको ठूलो हिस्सा यिनै तीन संस्थाबाट उत्पादित भएका हुन्छन् । अथवा सजिलो भाषामा भन्‍ने हो भने विश्‍वका अधिकांश पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार संस्थाहरूले यिनैबाट उत्पादित समाचारको उपभोग गर्ने हुनाले उनीहरूले अंगाल्ने दृष्टिबिन्दुले स्वाभाविक रूपमा हामीलाई प्रभावित, सूसुचित र दूषित गर्छ । 

त्यति मात्र होइन, विश्‍वका १० सबैभन्दा ठूला समाचार कम्पनीहरू कसको नियन्त्रणमा छन् र उनीहरूले वार्षिक कतिको व्यापार गर्छन् भन्‍ने पनि जान्‍नु त्यति नै सान्दर्भिक हुन आउँछ । किनभने आज संसारको कुनै पनि कुनामा लडिने युद्ध तथा मूलधारका समाचारपत्रमा लेखिने समाचारको प्रत्यक्ष सम्बन्ध बजारसँग हुन्छ र बजारको सम्बन्ध मुनाफासँग हुन्छ । मुनाफाको सम्बन्ध पुँजीसँग हुन्छ र पुँजीमाथि जसको नियन्त्रण हुन्छ, समाचार उसकै पक्षमा लेख्‍नुपर्ने हुन्छ । भनिरहनु नपर्ला, आजको पुँजी बजारमा आफ्नो नियन्त्रण कायम राखी राख्‍नका लागि अति ‘उच्च’ कुलीनहरूले आफ्ना बुद्धिजीवीमार्फत केही यस्ता शब्दहरूको सिर्जना गरेका छन्, जसले उनीहरूलाई बजारमाथिको आधिपत्य जमाई राख्‍न सहयोग पुर्‍याउँछ । ती शब्दहरू सुन्दा जति कर्णप्रिय र स्वाभाविक लाग्छन्, तिनको उद्देश्य त्यति अस्वाभाविक र मानवद्वेषी छन् । 

खालिद अब्दुल्लाह/रोयटर्स

विश्‍वका पाँच सबैभन्दा ठूला मल्टिनेसनल न्युज कर्पोरेसनहरूको वार्षिक टर्नओभर झन्डै २० बिलियन बराबरको छ । यसमा क्रमशः पहिलो, दोस्रो, तेस्रो हुँदै पाँचौँ स्थान न्युज कोर्प, द न्युयोर्क टाइम्स कम्पनी, डेली मेल एन्ड जनरल ट्रस्ट, सिक्लेयर ब्रोडकास्टिङ ग्रुप तथा ई डब्ल्यु स्क्रिप्सले ओगट्छन । पाँचमध्ये डेली मेल एन्ड जनरल ट्रस्टबाहेक सबै अमेरिकी संस्था हुन् । डेली मेल लण्डनमा केन्द्रीय कार्यालय रहेको ब्रिटिस संस्था हो । र, अमेरिका तथा ब्रिटेन दोस्रो विश्‍वयुद्धपछि मुख्यतः पूर्वी युरोपमा समाजवादी विचारधारालाई रोक्नका लागि गठित उत्तरएटलान्टिक सन्धि संगठन (नाटो) का सदस्य राष्ट्र हुन् । यति मात्र होइन, विश्‍वका सबैभन्दा ठूला १० बहुराष्ट्रिय मिडिया कम्पनीमध्ये नौ अमेरिकी संस्था हुन् । 

अब भन्‍नुस्, तपाईंको दिमागमा समाचारको माध्यमबाट आफूअनुकूलको विचारको इन्जेक्सन कसले लगाइरहेको छ ? यो बेग्लै कुरा हो कि तपाईंले हेर्ने फेसबुकट्‍वीटरमा सिजिटिएन सस्क्राइब गर्नुभएको छ भने त्यसको छेवैमा लेखिएको हुन्छ– ‘चाइना स्टेट–कन्ट्रोल मिडिया’ । तर, भोक्स (Vox), भ्वाइस अफ अमेरिका (Voice Of America–VOA) र बीबीसीजस्ता संस्थाहरूको हकमा त्यस्तो लेखिँदैन । यही नै हो, राजनीति । प्रभुत्ववादको राजनीति । नस्लीवादको राजनीति । उपनिवेशवादको राजनीति ।

अन्यत्र मरेका मानिसलाई अंक ठान्ने तर अमेरिका–युरोपमा मरेका गोरालाई येशुका सन्तान ठान्ने पश्चिमा मिडियाको यो रोग सत्ता, शक्ति र नस्लवादी सोचको पराकाष्ठा हो । यसमा उनीहरूको दोहोरो चरित्रको सबैभन्दा विद्रुप अनुहार देखिन्छ । तर, ‘लोकतन्त्र’, ‘मानवअधिकार’ र ‘वाक स्वतन्त्रता’ जस्ता शब्दले उनीहरूको यो विद्रुप नरसंहारकारी अनुहारलाई यसरी छोपिदिन्छन् कि हामी उनीहरूले सिर्जना गरेको शब्दमा उनीहरूलाई ‘सभ्य’, ‘सुसंस्कृत’ र ‘ज्ञानी’ भन्ठान्छौँ । यही कामलाई मिडियाले बडो कुशलताका साथ निर्वाह गर्छ ।

त्यसैले त युक्रेन युद्धलाई लिएर पश्‍चिमा मिडियाले दोहोरो मापदण्ड अपनाएको भन्दै ‘द अरब एण्ड मिडिल इस्टर्न जर्नालिस्ट एसोसिएसन (एएमईजेए) ले विज्ञप्ति जारी गरेर विरोध जनायो । उसले आफ्नो विज्ञप्तिमा भनेको छ– ‘समाचारमा आएका टिप्पणीहरूले युक्रेनियनको ककेसियन जाति अथवा उनीहरूको आर्थिक अवस्थालाई केन्द्रमा राखेर उनीहरूलाई प्रस्तुत गरी राखिएको छ र उनीहरूलाई मध्यपूर्वी देश वा उत्तर अफ्रिकी मानिससँग तुलना गरिएको छ । यो नस्लवादी सोच हो ।’ 

विदेशको कुनै पनि समाचार र विचारलाई बोक्ने सन्दर्भमा हाम्रा समाचार संस्था यिनै समाचार उत्पादक कम्पनीहरूले उत्पादन गरेको सामग्रीलाई पुनर्उत्पादन गरी बेच्‍ने नाङ्ले व्यापारी हुन् । अर्को शब्दमा भन्‍ने हो भने हाम्रो मूलधारका मिडिया र त्यसमा काम गर्ने अधिकांश पत्रकार पश्‍चिमा मिडियाको सुगा रटाइ गर्ने थप अर्को औजारबाहेक केही होइनन् । यस्तोमा प्रश्‍न उठ्छ, के त्यसो भए समाचार नै नहेर्ने ? उत्तर जति सजिलो छ, अभ्यासमा त्यति सजिलो नहुन सक्छ । हामीले वैकल्पिक मिडिया हेर्ने बानीको विकास गर्नै पर्छ । यस बानीले हामीलाई छिट्टै भुत्ते हुन दिने छैन । योभन्दा पनि महत्त्वपूर्ण विषय के हो भने पाठकले सूचनाको थोक बिक्रेता र उनीहरूबाट सूचना लिएर व्यापार गरिरहेका खुद्रा व्यापार गर्ने संस्थाहरूका बीचको सम्बन्ध र उनीहरू कस्तो एजेण्डालाई प्राथमिकता दिन्छन्/दिँदैनन् भन्‍नेबारे सचेत हुनु जरुरी छ । 
आशा गरौँ– सूचनाको यस युगमा हामी सूचनाको आतंकबाट जोगिनेछौँ । 

प्रकाशित: २५ फागुन २०७८ १२:२० बुधबार

चेतलुङ
चेतलुङ