२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
एजेन्डा महिला कला

‘पिर’ मा छताछुल्ल यौनिक बुझाइ

‘पिर’ मा छताछुल्ल यौनिक बुझाइ
तस्बिरः प्रकाश सपुतको फेसबुक वालबाट

माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरण भएको पनि झन्डै १६ वर्ष भइसकेको छ । तर, जुन वर्गका लागि भनेर जनयुद्ध लडिएको थियो, त्यस वर्गको जनजीविकामा अहिले पनि तात्त्विक भिन्‍नता आउन सकेको छैन । १० वर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि सीमित वर्गको कब्जामा छ । उनीहरूको दिन-दशामा आमूल अझ अपूर्व फेरबदल भएको छ । तर, परिवर्तनका लागि लडेको ठूलो तह र तप्का दैनन्दिनीकै लागि छटपटाइरहेको दुखद स्थिति छ । उनीहरू गाँसकै लागि मुग्लान जान बाध्य छन् । 

यसै परिवेशलाई कथानक श्रव्य-दृष्य बनाएर गीतका माध्यमबाट प्रकाश सपुतलगायतका कलाकारले पस्किएको रचना अहिले चर्चामा छ । सपुतको युट्युबमार्फत सार्वजनिक ‘पिर’ नामक गीति रचनाले चुनाव सन्‍निकट नेपाली राजनीतिको बजारमा विवाद र बहसको सानोतिनो तुफानै छेडेको छ । उसो त जनयुद्धमा माओवादी नेतृत्वले कबोल गरेका वाचा, देखाएका सपना पूरा नभएको भनिएका कथा, कविता, गीत, आलेख आदिको सृजना यसअघि पनि भएकै हुन् । 

तर, सपुत नेतृत्वको कलाकार टोलीले भिडियोमार्फत कलात्मक ढंगले जनयुद्धका ठूलो संख्याका मुक्तियोद्धाको पछिल्लो दयनीय स्थिति पस्किदिँदा ‘पिर’ भाइरल हुन पुग्यो । केही कमी-कमजोरीका बाबजुद यसले एउटा नमिठो सत्यलाई जोडदार उठाएकै छ ।

करिब १६ मिनेटको सांगीतिक भिडियोले अन्तरजातीय विवाह गरेका जनयुद्धका घाइते एवं उपेक्षित एउटा जनमुक्ति सेनाका दम्पत्तिको परिवारको दुःखान्त कथा बोल्छ । केहीबाहेकले यो सृजनालाई सराहना गरेका छन्, यथार्थलाई पस्किएको भनेर । विरोध गर्नेहरूले पनि जनयुद्ध लडेको आम तहको स्थिति यस भिडियोमा देखाएजस्तै दारुण नरहेको भन्‍न सकिरहेका छैनन् । जनयुद्ध लडेकी एउटी क्रान्ति नायिकाले हात-मुख जोर्नकै लागि ‘यौन धन्दा’ गरेको देखाएर आन्दोलनकै अपमान गरिएको र यो माओवादी पार्टीविरुद्धको सुविचारित आक्रमण भएको उनीहरूको आरोप छ । 

स्वदेशमा आफ्नी छोरीलाई भरपेट खुवाउनसमेत नसकेर वैदेशिक रोजगारीमा गएकी कमरेड उर्जाको अत्तोपत्तो नहुँदा ‘निराश श्रीमान् कमरेड बाबू’ भट्टी चाहर्छन् र एक यौनकर्मीसँग यौन कुण्ठा बिसाउन जान्छन् । तर, ती यौनकर्मी कमरेड उसैकी सहयोद्धा हुन पुग्छिन् । 

‘वेश्यावृत्ति’ को सिर्जना मानवीय पतन हो न कि ‘वेश्यावृत्ति’ अपनाउनेको चरित्रको पतन । यौनकर्ममा बाँच्‍न अभिशप्तप्रति कमरेडहरूका दृष्टिकोण रद्दी ब्राम्‍हणवादी पितृसत्तात्मक सोचबाट निर्देशित छ नकि श्रमिकमैत्री मानवीय दृष्टिकोणबाट ।

यस दृश्यले सधैं मार्क्‍स र माओवाद पढिरहने क्रान्ति नायकहरू कसरी छिनभरमै भ्रष्टीकरण भएका छन् भन्‍ने पनि देखाउँछ । वास्तवमा, क्रान्तिकारी संस्कृति कसरी विसर्जन भएको छ र हिजोका क्रान्ति नायकहरू या चरम निराशको स्थितिमा या त सत्ताको वरिपरि भएको दुई थरी यथार्थलाई कसैले अस्विकार गर्न नसक्ला । 

आमूल परिवर्तनका लागि युद्ध लडेको एउटा योद्धा पेट पाल्नकै खातिर खाडीदेखि कतिपय यौनकर्मसमेतमा दरदर भड्किरहेको सत्यलाई कसैले ढाकेर ढाक्न सक्दैन । उर्जावान् समय जनताका लागि युद्धमा होमिएका हजारौँ हजार हिजोका लडाकुहरू अहिले अँध्यारो जीवन बिताइरहेका छन् । तर, यो दुःसाध्य परिस्थितिका लागि कस्ता प्रवृत्ति र कस्ता पात्र जिम्मेवार होलान् सोच्‍नै पर्ने विषय हो ।  

नेकपा (माओवादी केन्द्र) र सम्बद्ध नेताले यस भिडियोले महिला जनमुक्ति सेनालाई देह बेच्‍ने ‘चरित्रहीन महिला’ का रूपमा प्रस्तुत गरियो भनेर चर्को आपत्ति जनाए । यसलाई युट्युबबाट हटाउन र सर्जकलाई सार्वजनिक रूपमा माफी माग्‍नसमेत चेतावनी दिए । सपुतले कसैको आत्मसम्मानमा आघात पुगेको भए माफी चाहन्छु भनिसकेका छन् । 

एकथरी, संविधानतः स्वीकारिएको माओवादी आन्दोलन र त्यससँग जोडिएका मुद्दाको जवाफदेहिता माओवादीबाट खोजिएकोमा खुसी पनि देखिएका छन् । केहीले भिडियोमा विज्ञापनको विद्रुप प्रयोग र आँसुको व्यापार गरेको टिप्पणी गरेका छन् । यद्यपि, यो लेख माओवादी आन्दोलनको स्वामित्व एवं जिम्मेवारी र विद्रुप आँसुको बजारमा नभई भिडियोमा देखाइएको यौनकर्मको दृश्य र माओवादी कमरेडका प्रतिक्रिया जनित भाष्यमा केन्द्रित छ ।

जनजाति महिलाको ‘एक्जोटिसाइजेसन’

गीतको दृश्यमा यौनकर्ममा लाग्‍न बाध्य महिलालाई जनजाति देखाइएको छ । सो दृश्यमा यौनकर्मी देखाइएकी महिला जनजाति नै हुनु कुनै स्वाभाविक पात्र चयन वा संयोग होइन । यो पात्र चयनका पछाडि लामो संकथन एवं भाष्यको गैर-मितिगत इतिहास छ, जहाँ यौनकर्मी हुने भनेकै मूलतः जनजाति महिला हुन् भन्‍ने मनोविज्ञानले काम गर्छ ।

यसका पछाडि आदिवासी जनजाति महिला वा समष्टिमा आदिवासी जनजाति संस्कृतिलाई हेर्ने ब्राम्‍हणवादी दृष्टिकोण हाबी हुन जान्छ । यस दृष्टिकोणलाई जनजाति महिलामा खोजिने ‘एक्जोटिसाइजेसन’ अर्थात् इतर क्षेत्रीय रोमाञ्‍चकताले निर्माण गरेको हो । राज्य र सामाजिक सत्ता ब्राम्‍हणवादी चरित्रको प्रधानताले निर्मित छ । आखिर सत्ताले सत्तासीनको संस्कृति, विश्‍व दृष्टिकोणलाई नै ‘स्वाभाविक’ सत्य बनाउने न हो ।  

ब्राम्‍हणवादी सत्ताको मूल सिद्धान्त भनेकै पवित्रता हो । यो पवित्रताले ब्राम्‍हणवादी समाजका सदस्यको जीवनका सबै आयामलाई नापजोख गरेर नियमन गर्छ । अर्थात् विवाह, यौनिकता, पेसा, खान्की, कला-संगीत, हिँडाइ, बसाइलगायतका सबै अवयवमा पवित्रता आन्तरीकृत हुन्छ । यही पवित्रताले पुरुष एवं महिलाको यौनिकतालाई नियन्त्रण गर्छ, जहाँ पवित्रताको कठोर नियमन महिलामाथि मात्रै लागू गरिन्छ । 

महिला यौनिक पवित्रता पिता, पति र पुत्रको नियन्त्रणमा रहने गर्छ । यो नियमनमा अन्य पवित्रताका अवयव पनि पर्छन् र यस नियमनको उल्लङ्घन हुन्छ भने महिला दण्डित एवं लाञ्छित हुन पुग्छन् । ब्राम्‍हणवादी समाज इतर अर्थात् आदिवासी जनजाति समाजमा तुलनात्मक रूपमा महिला यौनिकता, हिँडडुल, परिवार, श्रम, अभिव्यक्तिलगायतका मामिलामा स्वायत्त हुन्छन् । 

पवित्रताको ‘स्वाभाविक’ सत्यको कसीबाट ब्राम्‍हणवादी समाजका मानिस आफ्नो राज्य-सत्तामा अधीनस्थ तर पृथक आदिवासी जनजातिको संस्कृति र समुदायका महिलालाई इतर एवं अचम्मका रूपमा देख्छन् । यस अचम्मपनले एक काल्पनिकीको निर्माण गर्छ । 

अनुसन्धाता कैलाश राईको भाषामा आदिवासी जनजाति महिला ‘मनोरञ्‍जनका लागि उपयुक्त हुन पुग्छन्, यौनका लागि खुला रूपमा उपलब्ध हुन पुग्छन्’ भन्‍ने आम भाष्य, साहित्य, कला, चलचित्र, मिडियालगायतका क्षेत्रमा वर्षौँदेखि गढेर बसेको छ । उदाहरण, बीपी कोइरालाको सुम्‍निमा उपन्यासमा नायिका रहेकी किरात समुदायकी सुम्‍निमालाई एक उन्मत्त नाङ्गो यौनिक वस्तुका रूपमा चित्रण गरिएको थियो ।

केही वर्षअघि ‘लैजाउँला ठमेल बजार ट्याउसी चढाउँदै’ भन्‍ने आइटम गीतमा जनजाति नचाइनुलाई उदाहरणका रूपमा लिन सकिन्छ । यो निरन्तरताको काल्पनिकी चलचित्र, गीत, मिडियामा यौनिकता सम्बन्धित छविमा पाउने गरेका छौँ र यसले अर्को ‘स्वाभाविक’ सत्यको निर्माण गरिदिएको छ अर्थात् यौनकर्मको विषय आउँदा आदिवासी जनजाति महिलाको छवि मानसपटलमा आइपुग्छ । 

यस विषयमा गैर-ब्राम्‍हणवादी पृथक संस्कृति मात्रै नभई शक्ति सम्बन्धले पनि राजनीतिक अल्पसंख्यक बन्‍न पुगेका समुदाय बहुसंख्यकका आँखामा ‘फेटिसाइज्ड’ (अधिक यौन अपेक्षित) वस्तु बन्‍न पुग्छन् । यस तर्कलाई विश्‍वभरिको परिस्थितिले पनि पुष्टि गर्छ । हाम्रै छिमेकी मुलुक भारतलाई लिऔँ, जहाँ अल्पसंख्यक मुस्लिम समुदायका महिलालाई पछिल्लो एक वर्षमा ‘सुल्ली’ डिल्स र ‘बुल्लीबाई’ एपबाट गरिएको सांकेतिक अनलाइन लिलाम बढाबढ वा उत्तर-पूर्वी भारतका आदिवासीप्रति गरिने व्यवहारलाई ‘फेटिसाइज्ड’ दृष्टिकोणको उदाहरणका रूपमा  लिन सक्छौँ ।

तस्बिरः प्रकाश सपुतको फेसबुक वालबाट 

 

यस अर्थमा आफ्ना यौनकुण्ठा र काम वासना बिसाउने यो रुढीबद्ध (स्टेरियोटाइप) ‘स्वाभाविक’ छविलाई भत्काउनु अत्यन्त आवश्यक छ । प्रकाश सपुतकै भिडियोमा यो टिप्पणी किन भन्‍ने प्रश्‍न उठ्न सक्छ र यसका दुई जवाफ छन् । पहिलो, यो गम्भीर मद्दा भिडियो भाइरल भएको अवस्थामा उठान गर्दा मुद्दाले महत्त्व पाउने सम्भावना अधिक हुन्छ । दोश्रो, जवाफदेहिताका लागि बनेको गीति भिडियोको समस्याग्रस्त रुढिबद्ध छवि चित्रणका सम्बन्धमा पनि जवाफदेहिता खोजिनुपर्छ ।

क्रान्तिकारी पाखण्ड 

क्रान्तिकारी पाखण्ड असंगत शब्दावली हो । तर, यस असंगतिलाई हाम्रा कमरेडले दिएको गीतका प्रतिक्रियाले सुसंगत बनाइदिएका छन् । महान् जनयुद्ध लडेका महिला लडाकु ‘देह व्यापार’ गर्ने ‘चरित्रहीन नारी’ हुनै सक्दैनन् भन्‍ने मार्काको टिप्पणीले महिला मुक्तिका लागि १० वर्ष सशस्त्र संघर्ष गरेका नेताहरूको यौन कर्मलाई हेर्ने पाखण्डी दृष्टिकोण उदाङ्गो पारिदिएको छ ।

महान् जनयुद्ध लडेका महिला लडाकु ‘देह व्यापार’ गर्ने ‘चरित्रहीन नारी’ हुनै सक्दैनन् भन्‍ने मार्काको टिप्पणीले महिला मुक्तिका लागि १० वर्ष सशस्त्र संघर्ष गरेका नेताहरूको यौन कर्मलाई हेर्ने पाखण्डी दृष्टिकोण उदाङ्गो पारिदिएको छ ।

यौनकर्मको कमरेडी बुझाइ आम बुझाइभन्दा भिन्‍न छैन । तथापि, महिला मुक्तिका लागि संघर्ष गरेको दाबी गर्ने यस तप्कामाथि प्रश्‍नको तीर सोझ्याउनै पर्ने हुन्छ । एक जना पनि जनमुक्ति सेनाका महिलाले यौनकर्म नरोजेको नै किन नहोस् अर्थात् कति संख्यामा जनमुक्ति सेनाका महिला यौनकर्मलाई पेसा बनाउन बाध्य भए भन्‍ने प्रश्‍न गौण हो । 

मुख्य प्रश्‍न मार्क्‍सवादीले यौनकर्मलाई कसरी हेर्ने भन्‍ने हो । दुःखसाथ, यिनै कमरेडका पार्टी स्कुलिङमा पढाइने मार्क्‍स र एंगेल्सलाई उद्धृत गर्नुपर्ने हुन्छ । पंक्तिकारको उद्देश्य ती कमरेडहरूलाई उनीहरूले पढेका तर विस्मृतिमा गएका केही सामग्रीलाई स्मरण गराउनु हो । 
सरल भाषामा मार्क्‍सवादको राजनीतिक उद्देश्य निजी सम्पत्तिको उन्मुलन गरेर त्यस्तो साझा सम्पत्ति सिर्जना गर्ने, जहाँ श्रमिकको श्रमबाट निसृत नाफा श्रमिकमै फर्काउने काम होस् । कार्ल मार्क्‍सले जर्मन आइडियोलोजीमा निजी सम्पत्ति  अवधारणा परिवारबाट सुरु भएको हो र जहाँ श्रीमती एवं बालबालिका पुरुषका दास हुन् भनेर लेखेका थिए । यही अवधारणालाई पछि फ्रेडरिक एंगेल्सले आफ्नो चर्चित पुस्तक ‘द अरिजिन अफ द फ्यामिली, प्राइभेट प्रोपर्टी एन्ड स्टेट’ मा सविस्तार वर्णन गरेका छन्। 

आदिम समयमा निजी सम्पत्ति थिएन र तिनताका आदिम साम्यवादको स्थिति थियो । महिला एवं पुरुषको यौनिकतामा कुनै किसिमको बन्देज थिएन तर जब हजारौँ वर्षपछि सभ्यताको विकास हुन थाल्यो तब निजी सम्पत्तिको पनि सिर्जना हुन थाल्यो । आदिमकालमा रहेको समतामुलक लैंगिक श्रम विभाजन निजी सम्पत्तिको प्रादुर्भावसँगै श्रम विभाजनले पुरुषको प्रभुत्व स्थापित गराउँदै लग्यो । 

निजी सम्पत्तिको अवधारणाले आफ्नो आकार ग्रहण गरेसँगै महिलाका लागि एकपतित्वको व्यवस्था लादियो र माथिको खण्डमा भनिएझैँ यौनिकतामाथि नियन्त्रण कायम गरियो । एकपतित्वले निजी सम्पत्तिका लागि पितृत्व प्रत्याभूति गर्थ्यो र पुरुष सन्तान निजी सम्पत्तिको ‘प्राकृतिक’ हकदार बन्‍न पुग्यो । एंगेल्सका अनुसार एकपतित्वको अवधारणा आउँदै गर्दा ‘वेश्यावृत्ति’ ले पनि व्यापक ठाउँ पायो किनभने ‘वेश्यावृत्ति’ का उपभोक्ता कमरेड बाबूजस्तै पुरुष थिए ।   

यो त भयो हालको ‘वेश्यावृत्ति’ को संक्षिप्त इतिहास । ‘वेश्यावृत्ति’ लाई मार्क्‍सवादी कोणबाट कसरी हेर्ने ? यसका लागि श्रमिक भनेका को हुन् भनेर बुझ्नुपर्ने हुन्छ । श्रमिक एक ‘स्वतन्त्र’ व्यक्ति हो, जोसँग पुँजीपति वर्गलाई मात्र श्रम बेच्‍ने अर्थात् देह बेच्‍ने स्वतन्त्रता हुन्छ । त्यसबापत श्रमिकले ज्याला पाउँछन्् । ‘वेश्यावृत्ति’ मा पनि देह बेचिन्छ र सतही रूपमा अन्य श्रम र ‘वेश्यावृत्ति’ मा तात्त्विक भिन्‍नता छैन । 

श्रमिक एक ‘स्वतन्त्र’ व्यक्ति हो, जोसँग पुँजीपति वर्गलाई मात्र श्रम बेच्‍ने अर्थात् देह बेच्‍ने स्वतन्त्रता हुन्छ । त्यसबापत श्रमिकले ज्याला पाउँछन्। ‘वेश्यावृत्ति’ मा पनि देह बेचिन्छ र सतही रूपमा अन्य श्रम र ‘वेश्यावृत्ति’ मा तात्त्विक भिन्‍नता छैन ।

यस सन्दर्भमा मार्क्‍सले श्रमिकलाई ‘इकोनोमिक एन्ड फिलोसोफिक म्यानुस्क्रिप्ट अफ १८४४’ मा ‘वेश्यावृत्ति’ सँग तुलना गरेका थिए । तर, मार्क्‍सको बुझाइ यतिमै सीमित थिएन । श्रम-बजारमा श्रमिकको माग न्यून हुने अवस्थामा आफ्नो स्वत्व र आत्मसम्मानलाई तहसनहस गर्दै श्रमिक आफूलाई वस्तु बनाउँदै एकदमै असुरक्षित पेसा अपनाउन बाध्य हुन्छ । यस्ता पेसा अपनाउनेलाई मार्क्‍स ‘विध्वस्त सर्वहारा’ (र्‍युन्ड प्रोलेटेरियन) को संज्ञा दिन्छन् । वेश्यावृत्ति पनि सोही कोटीमा पर्न आउँछ ।

यहाँनेर ध्यान दिनुपर्ने विषय के छ भने ‘वेश्यावृत्ति’ गर्ने महिलालाई हाम्रा कमरेडले चारित्रिक प्रमाणपत्र दिएझैँ मार्क्‍सले कहिल्यै पनि चरित्र र नैतिकताको फैसला गरेका थिएनन् । पितृसत्ता र पुँजीवादको मिश्रणबाट सिर्जित ‘वेश्यावृत्ति’ लाई उनले पवित्रताको कोणबाट नहेरी मानवीय संवेदना एवं ‘विध्वस्त श्रम शोषण’ को कोणबाट हेरेका थिए । 

तसर्थ ‘वेश्यावृत्ति’ को सिर्जना मानवीय पतन हो न कि ‘वेश्यावृत्ति’ अपनाउनेको चरित्रको पतन । यसबाट के निष्कर्ष निस्किन्छ भने यौनकर्ममा बाँच्‍न अभिशप्तप्रति कमरेडहरूका दृष्टिकोण रद्दी ब्राम्‍हणवादी पितृसत्तात्मक सोचबाट निर्देशित छ नकि श्रमिकमैत्री मानवीय दृष्टिकोणबाट ।

प्रकाशित: ६ चैत २०७८ १२:३३ आइतबार

चेतलुङ
चेतलुङ