२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
एजेन्डा राजनीति समाज

बालेनः बेथितिको अभिव्यक्ति

बालेनः बेथितिको अभिव्यक्ति

यस पटकको स्थानीय तहको चुनावमा विभिन्न प्रकारको मिश्रण देखिए पनि धेरै अनपेक्षित परिणाम होइन यो । धेरै ठाउँको परिणामका आधारमा मूलतः यसले कतातर्फ संकेत गरिरहेको छ भन्‍ने आकलन गर्न सकिन्छ । यद्यपि सबै परिणाम आइसकेको छैन । यति हुँदाहुँदै पनि केही विषय यसपटकको चुनावमा उल्लेखनीय छन् । परिणाम अनपेक्षित होइन भन्‍नुका पछाडि सत्तामा भएका र नभएका दलहरूले आ-आफ्नो चुनावी गठबन्धन तथा तालमेल गरे । यसलाई हेर्दा भोटको विजय-यात्रालाई अनपेक्षित होइन भन्न खोजिएको हो किनभने गठबन्धनको पक्षमा बढी भोट आउनु स्वाभाविक मानिन्छ ।

पाँच दल एकजुट हुँदा पनि जित्दैनन् भने गठबन्धनको केही अर्थ हुँदैन्थ्यो । त्यसमा पनि नेपाली कांग्रेसले प्रमुख दलकै रूपमा विगतमा पहिलो र दोस्रो शक्तिकै रूपमा चुनावी प्रतिस्पर्धा गरिरहेकै हो । माओवादीको भोट पनि स्थिर खालको छ । उसले लडेका विगतका तीनवटा चुनावलाई हेर्दा करिब १५ प्रतिशत मत माओवादीको स्थिर देखिन्छ । यसर्थ यो नयाँ के-के न गर्‍यो अथवा केही पनि होइन भनिरहनु परेन । गठबन्धनले अपेक्षित मत परिणाम ल्याइरहँदा यद्यपि केही अपवाद भने छन् । त्यसले केही निकै महत्त्वपूर्ण संकेतहरूतर्फ इंगित गरेको छ । काठमाडौं महानगरको चुनावमा बालेन साहको जुन किसिमको अग्रता देखिएको छ, त्यसलाई हेर्दा यहाँ गठबन्धनप्रति असन्तुष्ट मानिसको अभिव्यक्ति जाहेर भयो भन्न सकिन्छ । यो ट्रेन्ड आज आएर देखिएको होइन, यो विगतदेखि नै छँदैछ । 

असन्तोषका अभिव्यक्तिहरू अरु पनि केही होलान् तर स्पष्ट कुरा के हो भने चित्त नबुझेको विषयमा मतदाताले त्यसलाई अभिव्यक्त गर्ने ठाउँ खोज्नछन् । पञ्चायतकालमा त्यस्तो असन्तुष्टि नानी मैयामा गएर प्रतिविम्बित भएको थियो । त्यो स्वाभाविक अभिव्यक्ति थियो । त्यो बेग्लै खालको नमुना हुँदाहुँदै पनि भन्न खोजिएको के हो भने काठमाडौंमा राजनीतिक रूपमा असन्तोषको मात्रा पहिलेदेखि नै रहँदै आएको छ । यस्तो अभिव्यक्ति ००७ सालदेखि नै हेर्‍यौँ भने पनि देखिन्छ । प्रजा परिषदको पर्चा काण्डदेखि ००४ सालको सत्याग्रहमा काठमाडौंको जस्तो खाले सहभागिता भयो, त्यो असन्तोषको स्पष्ट संकेत थियो । 

युवाहरूका लागि अहिले ठूलो संकटको अवस्था छ । सामाजिक, राजनीतिक, आर्थिकलगायत कुनै पनि क्षेत्रमा देशका राजनीतिक दलहरूले कुनै रोल मोडेल प्रस्तुत गर्न सकेका छैनन्, जबकि युवाहरूले त्यो खोजिरहेका हुन्छन् ।

यसका साथै हरेक आन्दोलनमा काठमाडौंको सहभागिता निर्णायक भएर आएको छ । परिवर्तनपछि केही समय मत स्थिर देखिए पनि तत्कालै उसले प्रतिक्रिया दिन थालेको देखिन्छ । उदाहरणस्वरूप, ००७ सालको क्रान्ति भयो तर असन्तोषका सबैभन्दा ठूला-ठूला प्रदर्शन काठमाडौंमै भए । ०१५ सालको चुनावमा मत आ-आफ्नो आस्थाअनुसार पार्टीमा एकत्रित भयो । ०४६ सालको आन्दोनलपछि ०४८ मा भएको चुनावसम्म मूलधारका राजनीतिक पार्टीहरूले नै समग्र मतको प्रतिनिधित्व गरिरहेका थिए तर पछि त्यसमा पनि असन्तोष देखिन थाल्यो । ०६२/०६३ को आन्दोलनपछिको अवस्था पनि त्यस्तै देखिन्छ । संविधानसभाको दुवै निर्वाचनमा असन्तोष अभिव्यक्त भएको थिएन तर संविधान लागू भएर चुनावमा आइसकेपछि त्यो अभिव्यक्ति देखिन थाल्यो ।

गत स्थानीय तहको चुनाव र संसद्को चुनावमा यो राम्रैगरी प्रकट भयो । यद्यपि, त्यसले परिणाममा खासै असर पारेन । त्यति बेला विवेकशील र साझाले जुन मत ल्याएका थिए, त्यो पार्टीगत रूपमा आएको मत नभई असन्तोषकै अभिव्यक्ति थियो । अहिले बालेन साहले पाएको मतलाई स्वतन्त्र भनिएको छ तर यो राजनीतिक बेथितिले निम्त्याएको आक्रोशको मत हो । वास्तवमा युवाहरूका लागि अहिले ठूलो संकटको अवस्था छ । सामाजिक, राजनीतिक, आर्थिकलगायत कुनै पनि क्षेत्रमा देशका राजनीतिक दलहरूले कुनै रोल मोडेल प्रस्तुत गर्न सकेका छैनन्, जबकि युवाहरूले त्यो खोजिरहेका हुन्छन् ।

बीचमा कोही त्यस्तो निस्कियो भने युवाहरू त्यसका पछाडि आकर्षित हुन्छन् । जस्तो केही समयअघि गगन थापाको पछाडि देखिन्थ्यो । भलै, आज त्यो क्रेज पनि बिस्तारै घटेजस्तो देखिन्छ । बालेनका पछाडि केही युवाहरूको नेटवर्कहरू देखिन्छ । उनीहरूले अलिक योजनाबद्ध ढंगले नेटवर्किङ गरेका हुन् कि भन्‍ने लाग्छ । यसभन्दा अघि कोभिडको बेलामा राजनीतिप्रतिको आक्रोश ‘इनफ इज इनफ’ बाट अभिव्यक्त भएको थियो । त्यति बेला नै उनीहरूले सामाजिक सञ्जालमार्फत एक लाखको संख्यामा युवाहरूलाई आफ्नो नेटवर्कमा जोडेका थिए । बालेन साहको चुनावी अभियानमा त्यो नेटवर्कले पनि काम गरेको देखिन्छ । मलाई लाग्छ, यो स्वतःस्फूर्त र स्वाभाविक खालको आक्रोश हो, जुन व्यापक राजनीतिक बेथिति, शासकीय बेथितिले जन्मायो । बालेन त्यसैको प्रतिक्रियामा उभिएकाहरूका प्रतीक हुन् । चुनाव असन्तुष्टि व्यक्त गर्ने सबैभन्दा ठूलो अवसर हो ।  

उनी पढे-लेखेका छन् । युवा हुन् । संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । भनेपछि युवाहरूको आकर्षणका लागि उनी कुनै पार्टीको नेता भइराख्नु पर्दैन । त्यसकारण, उनी सबै कोणबाट आक्रोश अभिव्यक्त गर्ने व्यक्तिका रूपमा देखिन पुगे । हो, परीक्षण नभई कसैका बारेमा पहिले नै अभिव्यक्ति दिनु अँध्यारोमा ढुंगा फाले सरह हो । तर, एकैछिनलाई मानौँ बालेनले चुनाव जिते । अब उनले शासन-प्रशासन कसरी चलाउँछन् ? व्यक्तिगत क्षमताका आधारमा डेलिभरी कसरी गर्छन् ? काठमाडौं महानगरलाई सुन्दर, स्वच्छ र व्यवस्थित बनाउन उनीसँग के योजना छन् ? भने जस्तै व्यापक प्रश्‍न उठ्न सक्छ किनभने पार्टीबाट जित्ने व्यक्तिले आर्थिक, सामाजिक, राजनीतिक चिन्तनको प्रतिनिधित्व गरिरहेको हुन्छ । उसको एक खाले आफ्नो संगठन र समर्थकको ढाँचा हुन्छ, जसले त्यो व्यक्ति र पार्टीको कार्यक्रमलाई व्यवस्थित गर्न भूमिका खेल्छ । तर, दुःखद नै भन्‍नुपर्छ यति ठूलो इतिहास बोकेर आएका कांग्रेस र कम्युनिस्ट पार्टीमा समेत यो चिन्तन र काम गर्ने योजनाबद्ध तौर-तरिका देखिँदैन । यस्तोमा बालेनले कसरी काम गर्लान् भन्‍ने प्रश्‍न उठ्नु स्वाभाविक हो । 

स्थानीय तहको चुनावपछि यत्तिका मानिस नेतृत्वमा आए तर उनीहरूलाई योजनाबद्ध रूपमा प्रशिक्षित गर्ने संयन्त्र नै बन्न सकेन । राज्यले स्थानीय प्रशिक्षण केन्द्र भन्‍ने संस्था नबनाएको होइन तर त्यहाँबाट के-कति काम भयो भन्न सकिने अवस्था छैन । कुनै पनि राजनीतिक दलले आफ्नो तात्कालिक राजनीतिक उद्देश्य र सत्ता स्वार्थका लागि दिने अभिव्यक्तिबाहेक थप काम गरेका छन् भन्‍ने नै लाग्दैन । गाउँपालिका, नगरपालिका तथा महानगरहरूमा यो कार्यकालभित्र कम्तीमा यत्ति उद्देश्य हासिल गर्नैपर्छ भनेर निर्वाचित प्रतिनिधिहरूलाई प्रशिक्षित गर्ने, त्यसको निगरानी गर्ने, उनीहरूलाई व्यवस्थापकीय ज्ञान दिने तथा निर्वाचित भएर आएपछि उनीहरूको काम-कर्तव्य के हो भन्‍ने विषयमा काम गरेकै देखिएन । 

दुःखद नै भन्‍नुपर्छ यति ठूलो इतिहास बोकेर आएका कांग्रेस र कम्युनिस्ट पार्टीमा समेत चिन्तन र काम गर्ने योजनाबद्ध तौर-तरिका देखिँदैन । यस्तोमा बालेनले कसरी काम गर्लान् भन्‍ने प्रश्‍न उठ्नु स्वाभाविक हो ।

यसको उल्टो कम्युनिस्ट पार्टी अझै त्यसमा पनि माओवादीका अध्यक्ष प्रचण्डले कहिलेकाहीँ बोलेको भाषण सुनिन्छ । त्यो भाषण उनले कहाँ दिएका रहेछन् भनेर हेर्दै जाँदा पार्टीको प्रशिक्षणमा बोलेको रे ! भाषणवाजी र प्रशिक्षण एउटै होइन । समाजमा प्रत्येक व्यक्ति र संस्थाको आ-आफ्नै भूमिका हुन्छ भनेजस्तै राजनीतिक दल र तीनका नेताको पनि सन्दर्भ/संस्थाअनुसार भूमिका बदलिँदै जान्छ । निर्वाचित भएर आएपछि प्रत्येक पार्टी र तिनका नेताको भूमिका बदलिन पुग्छ । कुनै नेताको आन्दोलन वा विद्रोह गर्दा एउटा भूमिका होला, चुनावका बेला अर्को भूमिका होला र निर्वाचित भएर आएपछि उसको अर्कै भूमिका होला । यसलाई आत्मसात् नगरेसम्म राजनीतिक दल र नेताहरूले जनतामा डेलिभरी गर्न गाह्रो हुन्छ । 

हाम्रोमा एक प्रकारले आन्दोलनमुखी पार्टी मात्रै छन् । आन्दोलन गर्दा उनीहरूका भाषण तेजिला भएर आउँछन् तर डेलिभरीको सन्दर्भमा शून्य हुन पुग्छन् । उनीहरूको क्षमता यसमा निकै कमजोर देखिन्छ । समग्रमा भन्‍ने हो भने राजनीतिक दलहरूमा वैचारिक चिन्तनको कमी छ भन्न सकिन्छ । बालेनले यो चुनौती झेल्नुपर्ने हुन सक्छ । यी सबै विषयमा छलफल गर्दैगर्दा बालेन जितको नजिक कसरी पुगे त भन्‍ने प्रश्‍न आउनु स्वाभाविक हो । पहिलो, आममतदाता अथवा भन्‍नुस् युवा मतदातामा देखिएको राजनीतिक दलप्रतिको आक्रोश । दोस्रो, राजनीतिक दलहरूले उपयुक्त उम्मेदवार दिन नसक्नु । म आफैं महानगरको मतदाता हुन्थेँ भने पनि मेरा लागि उत्तम छनोटको विकल्प थिएन । 

आस्थाका हिसाबले एउटा पार्टीलाई भोट हाल्दै आएको भए पनि मलाई नै पार्टीका उम्मेदवार चित्त बुझ्दा लागेका छैनन् । स्थानीय निर्वाचनमा खुला भएर मत दिनुपर्छ भन्‍ने हो भने पनि न कांग्रेसका उम्मेदवारलाई हेरेर चित्त बुझ्छ न एमालेका । भनेपछि स्वाभाविक रूपमा मजस्ता कैयौँ मतदाताको भोट बालेनलाई जाने भयो । यसका साथै एमालेकी उपमेयरकी उम्मेदवारले जुन खाले भोट ल्याएकी छन्, त्यो एमाले समर्थित भोट होइन । त्यो उनको आकर्षण व्यक्तित्वका कारण आइरहेको हो । यसले मतदातामा स्वतन्त्र मतदानको स्तर बढ्दै गएको तर्फ संकेत गर्छ । म मतदाता स्वतन्त्र हुनुपर्छ भन्‍ने मत राख्छु । त्यसैले स्वतन्त्र चुनावमा अन्तरघात हुनेगर्छ भन्‍ने विषयलाई म मान्‍ने पक्षमा छैन । यो पार्टीले आफू अनुकुल प्रयोग गरेको शब्दावली हो । वास्तवमा यो मतदाता विरोधी शब्द हो । 

मतदाताको जागरुकता र स्वतन्त्रता हेर्दा पार्टीहरूले सबै विषयलाई आफ्नो सजिलोका लागि लिन सक्ने अवस्था अब रहेन । काठमाडौंका मतदाता बालेनको पक्षमा आए भने यो ठूलो पाठ हो, पार्टीहरूका लागि । सत्तापक्षीय गठबन्धन र विपक्षीहरूको तालमेलले पनि बालेनलाई हराउन सकेन भन्‍नुको अर्थ दुवै शक्ति असफल भइरहेका छन् भन्‍नु हो ।

मतदाताको जागरुकता र स्वतन्त्रता हेर्दा पार्टीहरूले सबै विषयलाई आफ्नो सजिलोका लागि लिन सक्ने अवस्था अब रहेन । काठमाडौंका मतदाता बालेनको पक्षमा आए भने यो ठूलो पाठ हो, पार्टीहरूका लागि । सत्तापक्षीय गठबन्धन र विपक्षीहरूको तालमेलले पनि बालेनलाई हराउन सकेन भन्‍नुको अर्थ दुवै शक्ति असफल भइरहेका छन् भन्‍नु हो । पार्टीहरूले आफू खुसी खल्तीबाट सुटुक्क निकालेर उम्मेदवार दिँदैमा मतदातालाई त्यो मन्जुर छैन भनेको हो । अघिल्लो चुनावमै देखिएको संकेतलाई यस पटकसमेत दलहरूले नमान्दा देखिएको परिणाम हो यो । त्यसैले मतदाता झनै आक्रोशित भए । चुनावको अन्तिम परिणाम भने आउन बाँकी छ । 

तथापि के भन्न सकिन्छ भने अब कांग्रेस वा एमाले जसका उम्मेदवारले जिते पनि त्यो जित प्राविधिक मात्र हुनेछ । राजनीतिक रूपमा दुवै पार्टी काठमाडौंको महानगरपालिकामा हारिसकेका छन् । बालेनले जितेपछि मात्र अरुले हारे भन्‍ने अवस्था रहेन । राजनीतिक रूपमा फैसला आइसक्यो । यसबाट ठूला पार्टीहरूले सिक्नु पर्नेछ । अहिले सामान्य पहिरो आएको हो, दलहरू सिक्न तयार नहुने हो भने भविष्यमा कुनै पनि बेला गम्भीर पहिरो जान सक्छ ।

प्रकाशित: ८ जेठ २०७९ १२:४० आइतबार

चेतलुङ
चेतलुङ