व्यक्ति–इतिहास अन्तर्सम्बन्ध
व्यक्तिको प्रत्यक्ष नेतृत्वबिना इतिहास निर्माण हुँदैन। तर, इतिहासमा व्यक्तिको भूमिका प्रधान मान्ने कि तत्कालीन वस्तुगत परिस्थिति भन्ने विषय अझै पनि बहसकै घेरामा छ । इतिहासका घटनाहरू जे जसरी घटित भए र आजको परिस्थिति निर्माण भयो, यसमा तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको भूमिका कति हो ? व्यक्तिको चेतनास्तर र नेतृत्वक्षमताले ठूलो प्रभाव पारेको थियो भन्न त कठिन हुँदैन । खास समयमा खास व्यक्तिको सचेत प्रयत्नले पनि इतिहासलाई ‘त्यस्तो’ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तर, समग्र परिस्थितिको तुलनामा अमुक व्यक्ति नै इतिहास निर्माता हुनसक्छ ?
‘इतिहास पुरुष’ भन्ने भाष्यलाई यहाँ केलाउन जरुरी छ । इतिहासबोधमा केवल केही व्यक्तिका कारण इतिहास बदलिएको हो भन्ने एउटा जबरजस्त जिरहले स्थान बनाएको छ । त्यस्तो सोचको चस्माबाट हेर्दा लाग्छ– हाम्रो अस्तित्व, पहिचान सबै तिनै अमुक व्यक्तिहरूको निर्देशनमा बनेको सिनेमाजस्तै हो । नेतृत्वकर्ताको सचेत प्रयत्नले इतिहास निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्छ र दिएको पनि छ । सकारात्मक या नकारात्मक जस्तो परिणाम भए पनि नेतृत्व र वैयक्तिक चेतनाको उपज बनेर बदलिएका इतिहासका थुप्रै मोडहरू छन् । यो स्वीकार्य मान्यता हो ।
तर, यही मान्यताको टेको लाएर ‘व्यक्तिगत नेतृत्व र वैयक्तिक चेतना’ बाहेक अरू सबै तत्त्वलाई निषेध गरियो भने इतिहासबोधमा गम्भीर त्रुटि हुन्छ । इतिहास पठन र लेखनको मूल समस्या यही हो । इतिहासका विभिन्न सन्दर्भमा भिन्नभिन्न कोणबाट बहस उठेपछि अचेल नेपालमा यो समस्या झनै उजागर भएको छ ।
व्यक्ति निर्माण प्रक्रिया
व्यक्तिको चेतना र क्षमता निर्माण व्यक्तिगत हुन्छ कि सामूहिक ? व्यक्तिको स्वत्व नै चेतना र क्षमता निर्माणको आधारविन्दु हो कि तत्कालीन सामाजिक, भौतिक परिस्थिति ? यो महत्त्वपूर्ण प्रश्नमा हिजोआज गम्भीर बहस पनि भइरहेको छ । व्यक्ति आफैँमा समाज या पर्यावरणसँगको अन्तर्सम्बन्धको निर्मिति हो । इतिहास लेखनका सिद्धान्तकार ईएच कार आफ्नो प्रख्यात प्रवचन ‘इन्डिभिजुआलिज्म एन्ड सोसलिज्म’ मा भन्छन्, ‘समाज र पर्यावरणको सम्पर्कमा आउनुअघि व्यक्ति केवल जैविक थुप्रो मात्र हुन्छ । आज ‘व्यक्ति’ शब्दले जुन अर्थ दिन्छ, त्यो ‘जैविक थुप्रो’ मात्र हुँदै होइन । मानिसको चेतना र क्षमता निर्माण प्रक्रियाबाट समाज अनि घटनाहरू हटाइदिने हो भने यो निर्माण प्रक्रिया दुर्घटनामा पर्छ ।’
एउटा व्यक्तिको जन्म जैविक नै हुन्छ । तर, तत्कालै उसको सामाजिकीकरण सुरु हुन्छ । यस प्रक्रियामा आमा, परिवार, समाज, पर्यावरण, उक्त देशकालमा घटित घटना/दुर्घटना सबैको भूमिका हुन्छ । सबै प्रकारका सामाजिक अवयव तथा घटनासँगको अन्तरक्रिया एउटै देशकालमा हुन असम्भव हुने भएकाले हरेक व्यक्तिको चेतना र क्षमतामा विविधता भेटिन्छ । अर्कोतिर व्यक्तिको आनुवंशिक गुणमा हुने भिन्नताले पनि चेतना र क्षमता–निर्माणको प्रक्रियालाई फरक पार्छ ।
व्यक्ति समाज निरपेक्ष हुँदैन र हुन पनि सक्दैन । त्यसैले इतिहास निर्माणमा व्यक्तिको भूमिका प्रधान हुन पनि सक्तैन । तर, आफ्नो सचेत प्रयत्नले इतिहासको दिशा बदल्न कुनै व्यक्ति सफल हुनसक्छ । उक्त सचेत प्रयत्नले अपरिपक्व भौतिक परिस्थितिलाई समेत परिपक्व बनाउँदै परिवर्तनको बाटो बनाउन सक्छ । यहाँ ख्याल गर्नुपर्ने कुरा के भने त्यो ‘व्यक्ति’ आफैंमा सामाजिक अन्तरक्रियाको निर्माण हो र उसको सचेत पहलमा पनि सामूहिक चेतना र प्रयत्न लागेकै हुन्छ ।
इतिहासः एक सामूहिक प्रयत्न
केही प्रश्नलाई मनन गरौँः धरहरा कसले बनाएका हुन् ? नालापानीको लडाइँमा अंग्रेजलाई हायलकायल कसले पारेका हुन् ?
यी बारम्बार सोधिने हाजिरीजवाफी प्रश्न हुन् । यिनीहरूका बनिबनाउ जवाफ छँदै छन् । साथसाथै यी प्रश्नको जवाफ खोज्ने भिन्न कोसिसले नयाँ बहस पनि जन्माएका छन् । चलनचल्तीको कुरा गर्ने हो भने इतिहास निर्माणमा सामूहिकतालाई निषेध गर्नु यी प्रश्नहरूको साझा विशेषता हो । त्यति मात्र होइन, यी र यस्ता प्रकृतिका प्रश्न वरपर रहेरै हाम्रो समाजमा इतिहास पठन हुने गरेको छ । राज्यले प्रोत्साहन र लगानी गरेको इतिहास लेखनमा पनि यही प्रयत्न छ । यस्तै इतिहास लेखन र पठनको प्रक्रियाले लाखौँ मानिसको मस्तिष्कमा इतिहास व्यक्तिहरूको मात्र योगदान हो भन्ने अवधारणा स्थापित गरेको छ ।
जब इतिहास नै व्यक्तिकेन्द्री बनाइन्छ, तब वस्तुसंगत अध्ययनको माध्यमबाट मुक्ति वा प्रगतिको बाटो पहिल्याउने भन्दा पनि मुक्तिदाता, भाग्यविधाताको खोजी गर्नु नै आममानिसको काम हुनपुग्छ । नेताहरू आफूलाई मुक्तिदाता ठान्दै आममानिसलाई गुलाम करार गर्न पुग्छन् । मुक्तिदाताको अवतरणका किस्सा लेख्दालेख्दै बौद्धिकहरू लेखनदासमा रूपान्तरित हुन्छन् ।
धरहरा निर्माणको कुरा गर्दा त्यसमा योगदान गर्ने इन्जिनियर, मजदुर आदिको चर्चा नगर्ने, नालापानीको युद्धमा रातदिन खटेका भान्छे, भरिया र सिपाहीको योगदानलाई शून्य बनाइदिने, सडक आन्दोलनका सन्दर्भमा जनता र कार्यकर्तालाई बिर्सिदिने इतिहास नै अहिलेको मूलधारे इतिहास हो । इतिहासको अध्ययन विगतका समस्या चिन्न, वर्तमानका अप्ठ्याराको सामना गर्ने ज्ञान पत्ता लगाउन नै गर्ने हो । अन्यथा इतिहास किन लेख्ने, किन पढ्ने ? परम्परागत इतिहास लेखन र पठन त्यसैले रुचिकर र आवश्यक सावित हुन सकेको छैन ।
इतिहासको भाष्यले आम मान्छे मात्र नभएर नेता, बौद्धिकलगायत सबैको चौतर्फी दृष्टिकोण निर्माणमा महत्त्वपूर्ण योगदान गर्छ । जब इतिहास नै व्यक्तिकेन्द्री बनाइन्छ, तब वस्तुसंगत अध्ययनको माध्यमबाट मुक्ति वा प्रगतिको बाटो पहिल्याउने भन्दा पनि मुक्तिदाता, भाग्यविधाताको खोजी गर्नु नै आममानिसको काम हुन पुग्छ । नेताहरू आफूलाई मुक्तिदाता ठान्दै आममानिसलाई गुलाम करार गर्न पुग्छन् । मुक्तिदाताको अवतरणका किस्सा लेख्दा–लेख्दै बौद्धिकहरू लेखनदासमा रूपान्तरित हुन्छन् ।
इतिहासको अवधारणा
असली हिन्दुस्ताना वा हिन्दु राष्ट्रको व्याकरणमा अढाई सय वर्ष शासन चलाइएको नेपालमा चेतना निर्माणको बलियो जग बसाउने स्वस्थानी, रामायण, महाभारतजस्ता काव्यहरू प्रचलित छन्् । पाठ्यपुस्तक, साहित्य, कला, संगीत आदिमार्फत् राज्यकै प्रायोजन र प्रोत्साहनमा यी काव्यका कथा र चरित्रहरू व्यापक प्रचार गरिएका छन् । मूलतः देव र दानव, सुर र असुरजस्ता अवधारणामा आधारित यस्ता काव्यहरूले नै व्यक्तिलाई देवत्वकरण गर्ने सीप विकास गरिदिन्छन् । देवता स्थापित गर्न दानव तत्त्व पनि आवश्यक पर्छ । त्यसैले यी ग्रन्थहरूमा देवपक्ष सुरुदेखि अन्तिमसम्म ‘देवता’ नै रहने, असलकै प्रतिनिधि रहने गरेका छन् । दानव–पक्षहरू पनि सुरुदेखि नकारात्मक र खराव आचरणको प्रतीकका रूपमा चित्रित छन् ।
बालमस्तिष्कबाटै छाप पारिएका यी ग्रन्थको प्रभाव यति गढेर रहन्छ कि त्यो प्रभावबाट मुक्ति पाउन आफैँसँग ठूलो विद्रोह गर्नुपर्छ । यी ग्रन्थहरूको पठन या श्रवणले एकातिर व्यक्तिहरूको भूमिका नै हरेक स्थानमा प्रधान हुने अवधारणा अचेतनमै विकास गराइसकेको हुन्छ भने अर्कोतिर असल र खराब निरपेक्ष हुन्छ भन्ने अवधारणा पनि विकास गराएको हुन्छ । येशु ख्रिस्टबिनाको बाइबल, महादेवबिनाको स्वस्थानी, रामबिनाको रामायण अनि कृष्णबिनाको महाभारत कल्पनातीत हुन्छ । व्यक्तिकेन्द्री यी ग्रन्थहरूले इतिहासप्रतिको धारणा निर्माणमा अब्बल भूमिका निर्वाह गरिरहेका छन् । परिवार पहिलो पाठशाला हो भने परिवारमा बालकको सिकाइ यस्तै ग्रन्थबाट हुन्छ र त्यसै अनुसार चेतनाको अंकुरण हुने गर्छ । त्यसैले चेतना निर्माणको प्रक्रिया बुझ्न यस्ता धार्मिक ग्रन्थको आलोचनात्मक अध्ययन आवश्यक पर्छ ।
ज्ञानको अर्को स्रोत विद्यालयदेखि नै पढाइने इतिहासको पाठ हो । ‘नसुती चारै प्रहर, लडे बलभद्र कुँवर’ भनेर इतिहाससम्बन्धी विशिष्ट अवधारणा कक्षाकोठाबाटै विकास गराइन्छ । पहिल्यैदेखि व्यक्तिकेन्द्रित ‘देव’ भावनाबाट प्रेरित ज्ञानचक्षु लिएर आएको विद्यार्थीलाई फेरि उही गोलचक्करमा फसाइन्छ । ‘बलभद्रबाहेक अरू सबै मस्त निद्रामा छन् र केवल बलभद्र लड्दै छन्’ भन्ने आशय छ उक्त पंक्तिमा । इतिहाससम्बन्धी सम्पूर्ण पाठहरू यस्तै व्यक्तिकेन्द्रित भावले ओतप्रोत भई लेखिएका छन् । विद्यार्थीको ज्ञानको बलियो आधार निर्माण गर्ने ठाउँबाटै इतिहास निश्चित व्यक्तिकै पेवा हो भन्ने अवधारणा सिकाइन्छ । इतिहासमा राम्रो योगदान रहेका व्यक्तिहरूको खराबी नै हुँदैनन् भन्ने अर्को घातक भावसमेत विद्यालयमै सिकेका हुन्छौँ हामी धेरैले । अनि उनीहरूमाथि प्रश्न गर्नुलाई नै अपराध करार गरिदिन्छौँ, जसरी जिसस, कृष्ण या राममाथि प्रश्नहरू लगभग प्रतिबन्धित छन् ।
एउटा अनौपचारिक आंकलनअनुसार संख्यात्मक हिसाबले नेपालमा धेरै मानिस राजनीतिमा प्रत्यक्ष संलग्न भएको मानिन्छ । राजनीतिक दलको प्रशिक्षण, मुखपत्र, नेताहरूका भाषण, विश्वको राजनीतिक घटनाक्रम, ऐतिहासिक क्रान्ति विद्रोहका इतिहासहरू पनि ज्ञान निर्माण र इतिहाससम्बन्धी अवधारणा निर्माणको महत्त्वपूर्ण पाटपुर्जा बन्न पुगेको छ । अपवादलाई छाडेर ती सबै स्रोतहरूले समग्रमा सिकाउने अन्धसमर्थन, नेताभक्ति, देवत्वकरण आदि नै हुन् । व्यक्तिकेन्द्रित यी अवधारणाले पनि इतिहासलाई ‘सामूहिक साझा प्रयत्न’ भन्दा पर ‘व्यक्तिगत चमत्कार’ मा सीमित गरिदिन्छन् । अझ महत्त्वपूर्ण सवाल यो छ– कम्युनिस्ट विचारधारा बोकेका राजनीतिक संगठनहरूले आफ्ना कार्यकर्तालाई सैद्धान्तिक रूपमा सांगठनिक शक्तिमा विश्वास गरे मात्र परिवर्तन सम्भव हुने बताउँछन् र व्यवहारमा व्यक्तिपूजा सिकाउन सक्ने हदसम्मको चतुर छन् । जनक्रान्ति, जनयुद्ध, जनआन्दोलन, जनमुक्ति, जनसेना, जनमिलिसिया, जनअदालतजस्ता भाष्यहरूले जनतालाई निर्णायक शक्ति स्वीकार गर्छन् । यदाकदा यस्तै अभ्यासहरू पनि भएका छन् । तर, यति मीठा भाष्यका भाष्यकारहरू नै व्यक्तिकेन्द्री देवत्वकरणको अभियानमा लामबद्ध हुनुले उदेकलाग्दो अवस्था सिर्जना गरेका छन् ।
साहित्यमा प्रारम्भिक कालका महाकाव्य, खण्डकाव्य आदिबाट भक्तिधारा र वीरगाथाको अभ्यास गरियो । पछि कथा, उपन्यास अनि निबन्धबाट व्यक्तिपूजनलाई निरन्तरता दिइयो । नायकत्वलाई विकृत गरियो र प्रायः कृतिमा नायकलाई कमजोरीविहीन अलौकिक रूपमा खडा गरियो । भत्किँदो भए पनि त्यो क्रम अद्यापि जारी छ । ऐतिहासिक उपन्यासहरू पनि यो प्रवृत्तिबाट अलग रहन सकेनन् । अर्कोतिर कलाका अन्य विधा नाटक र चलचित्रहरू त झन् यो प्रवृत्तिका प्रवक्ता नै बने । पछिल्लो समय चेतना निर्माणको हस्तक्षेपकारी भूमिकामा चलचित्र देखिएको छ । सवैभन्दा बढी अलौकिकता, व्यक्तिगत चमत्कारको प्रचार गर्ने र सामूहिक प्रयत्नको धज्जी उडाउने काम पनि मूलधारे भनिने चलचित्रले नै गरेका छन् । साहित्य र कला पनि इतिहाससम्बन्धी अवधारणा निर्माणका औजार हुन्।
यसरी ज्ञान निर्माणको समग्र कोर्स नै व्यक्तिगत चमत्कारलाई अंकमाल गर्दै सामूहिक प्रयत्नलाई पाखा लगाउन तल्लीन रहेको देखिन्छ । यस्तो कोर्सबाट दीक्षितहरूको इतिहाससम्बन्धी अवधारणा ‘व्यक्तिवादी’ हुनु नौलो कुरो होइन ।
नायक खोज्ने इतिहास
एउटा चर्चित गीतको बोल छ– ‘यो देशमा म एउटा मानिस खोजिरहेछु !’ यस गीतको पात्र सारा काम छाडेर एउटा मानिस खोज्दै हिँडेको बताउँछ । त्यो पात्रलाई जनताको प्रतिनिधि मान्ने हो भने जसको तागत, श्रम, सीप, चेतनाले नयाँ आविस्कार गर्न सक्छ, समाज र पूरै देशलाई चलायमान पार्न सक्छ, अझ भनौँ– अरबको मरुभूमिमा चमत्कारिक शहर खडा गर्ने पात्रहरूले सात काम छाडेर चमत्कारी कुनै मानिस खोजिहिँडे भने समाज वा देशको गति के होला ? त्यस्तो देशको गति भनेकै दुर्गति हुने हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । तर, देशप्रेमका नाममा देशलाई दुर्गतिमा लैजान सक्ने गीत कसरी बिनाप्रश्न चर्चित भइरह्यो त ?
देशप्रेमको नाममा व्यक्तिपूजा यस गीतको मूल मर्म हो । साथै यस गीतले भाग्यवादको वकालत गर्छ अनि अलौकिक शक्तिमाथि विश्वासको मसिनो रेखा पनि कोर्छ । आफ्नै शक्ति, जनताको साझा तागतलाई अवमूल्यन गर्छ । समाजको सम्पूर्ण उत्पादन, श्रम प्रक्रिया एवम् अहिलेसम्मका परिवर्तनमा निहित जनसहभागिता र जनयोगदानको धज्जी उडाउँछ । यस्ता गीतहरू लेखिनु, गाइनु अनि लोकप्रिय पनि हुनु इतिहासलाई व्यक्तिकेन्द्रित अवधारणामा खुम्च्याउनुको स्वाभाविक प्रतिविम्बन हो ।
यस्तै नायकप्रधान छ, हाम्रो मूलधारे इतिहास । यसले तथ्यलाई आफूअनुकूल प्रयोग गर्ने, कतिपय अवस्थामा तथ्यलाई बंग्याउने या अस्वीकार गर्नेसम्मको हर्कत गर्छ । खास ऐतिहासिक पात्रप्रतिको इतिहासकारको पूर्वधारणा या अनावश्यक अनुरागका कारण खास ऐतिहासिक व्यक्तिको कमजोरी देखिने तथ्य/तथ्यांक अनदेखा गर्ने र अप्रकाशित राख्ने चेष्टा नेपालमा धेरै भएका छन् ।
जब आममान्छे आफ्नो तागतदेखि बेखबर हुन्छ, तब ‘कोही आउँछ र गर्छ’ ले उसको चेतनालाई छोप्छ । भाग्यवाद र नायकवादको वैचारिकी यिनै जगमाथि टेकेर अग्लिन्छन् । नायकप्रति अन्धविश्वास या अधिक विश्वास सिर्जना हुन्छ । जब नायकको नायकत्व कमजोर हुन थाल्छ, तब उसको विश्वासमा यसरी भुइँचालो जान्छ कि ऊ आफूलाई चरम निराशाबाट बचाउनै सक्तैन । अर्कोतर्फ विचार र एजेन्डामा समर्थन वा विरोधको कुनै मतलब हुँदैन, आफ्नो तागत भुल्ने आममान्छेलाई । निरपेक्ष समर्थन वा विरोधमा उसको चेतना फनफनी घुम्छ ।
अन्ततः उसको नायक ‘देवता’ मा फेरिन्छ । नायकमै आफूलाई विसर्जन गरेपछि नायकमै देवत्व आरोपित हुन पुग्छ । अनि नायकको अकल्पनीय पतनपछि पशुपतिनाथलाई नै अबको भरोसा मान्नुपर्ने हुन्छ । भाग्यवादको जगजगी हुने यसरी नै हो, जसले आम जनतालाई निरीह तुल्याइदिन्छ । परिणामस्वरूप देशले किन स्वाभाविक प्रगति गर्न सकेन भन्ने सवालको सबैभन्दा सहज उत्तर बनिदिन्छ– नेपालीको भाग्य नै यस्तै हो ।
देश–दुनियाँले गरेका उन्नति–प्रगतिमा मेरो पनि भूमिका छ भनेर सोच्नै नसक्ने हालतमा पुर्याइएका यी आममान्छेहरू दुनियाँमा भए गरेका सम्पूर्ण नकारको दोष पनि अमुक खलनायकमाथि थुपार्न रुचाउँछन् । न दुनियाँका सकारात्मक घटनामा उसले आफूलाई उभ्याउँछ, न त नकारात्मकताको थोरबहुत हिस्सा स्वीकार गर्छ । ऊ आफूलाई यी सबैदेखि बिल्कुल अलग सोच्छ । अनि यथार्थबाट कटेका मानिसहरूको समाज निर्माण हुन्छ । यस्तै अवस्थाको लाभ उठाएर दुनियाँमा दक्षिणपन्थी तानाशाहरूको उदय हुन्छ ।
यस्तै नायकप्रधान छ, हाम्रो मूलधारे इतिहास । यसले तथ्यलाई आफूँअनुकूल प्रयोग गर्ने, कतिपय अवस्थामा तथ्यलाई बंग्याउने या अस्वीकार गर्नेसम्मको हर्कत गर्छ । खास ऐतिहासिक पात्रप्रतिको इतिहासकारको पूर्वधारणा या अनावश्यक अनुरागका कारण खास ऐतिहासिक व्यक्तिको कमजोरी देखिने तथ्य/तथ्यांक अनदेखा गर्ने र अप्रकाशित राख्ने चेष्टा नेपालमा धेरै भएका छन् ।
इतिहासको वैकल्पिक भाष्य
दरबारको खोपीमै सिसीटिभी क्यामरा फिट गरेजस्तो गरी राजामहाराजाकेन्द्रित घटनाहरूको चाङ लगाउने र त्यसैलाई इतिहास मान्ने प्रचलनले लामो समय नेपाली इतिहासमा राज गर्यो । इतिहासका पन्नामा जनचासो, आमसमस्या तथा उत्पीडनको कथा कतै खिपिएनन् । वर्तमानमा यस भूगोलको अवस्था किन यस्तो छ ? यस भूगोलका आममान्छेको जीवनस्तर किन यस्तो अवस्थामा छ भनेर केलाउन र कारण खोज्न इतिहास चाहिन्छ । इतिहास विगतबाट सिक्ने र अघि बढ्ने ज्ञान रच्नका लागि उपयोगी हतियार हो । यसर्थ शासकको नजरबाट देखिने घटनाक्रम र शासकको अन्तर्दृष्टिबाट गरिने मूल्यांकनलाई मात्र इतिहास मान्ने मूल परम्परामाथि धावा बोल्नु अबको विकल्प हो । इतिहासलाई व्यक्तिविशेषको चमत्कार होइन सामूहिक प्रयत्नको प्रतिफल मान्ने गरी आमअवधारणा विकास गर्नु अति जरुरी भइसकेको छ ।