साप्ताहिक खबर

साप्ताहिक खबर (जेठ १-जेठ ७)

चेतलुङले साताका चर्चित समाचारलाई छनोट गरी संक्षिप्‍त रूपमा पाठकसामु पुर्‍याउने जमर्को गरेको छ । यस पटक १ जेठ देखि ७ जेठसम्‍म विभिन्‍न सञ्‍चारमाध्यमले प्रमुखताका साथ प्रकाशन गरेका राजनीतिक, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय, खेलसम्बन्धी विविध खबरलाई बुलेटिनका रूपमा यहाँ प्रस्तुत गरिएको छः

राजनीति 

  • एमाले बिनासर्त संसद् फर्कियो

पार्टी विभाजनमा समामुख अग्‍निप्रसाद सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि देखाउँदै नवौं र दसौं अधिवेशनमा अवरोध नछाडेको एमालेले जेठ ३ मा सुरु भएको ११ औं अधिवेशनमा बिनासर्त भाग लियो ।  समाचार माध्यमले यसलाई स्थानीय तह निर्वाचनमा ‘अप्रत्याशित धक्का’ महसुस गरेपछि एमाले ९ महिनापछि संसदीय काम कारबाहीमा फर्केको उल्लेख गर्‍यो । 

  • भारतीय प्रधानमन्त्री मोदीको भ्रमणः नेपाल र भारतबीच ६ सम्झौता-समझदारी

जेठ २ गतेका दिन २५६६ औं बुद्ध जयन्तीको उपलक्ष्यमा बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भए । मोदीको लुम्बिनी भ्रमणका क्रममा जेठ २ मा  नेपाल-भारतबीच ६ वटा समझदारी र सम्झौता भए । खबरमा उल्लेख भएअनुसार काठमाडौं, त्रिभुवन तथा लुम्बिनी बौद्ध विश्‍वविद्यालय र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच शैक्षिक क्षेत्रसँग सम्बन्धित चार समझदारी र एउटा सम्झौता भयो ।

जसअन्तर्गत, नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच संखुवासभास्थित अरुण-४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्ने सम्झौता भयो  ।

खबरमा उल्लेखित स्रोतका अनुसार नेपालको काठमाडौं विश्‍वविद्यालय (केयू) को स्कुल अफ इन्जिनियरिङ र भारतको आईआईटीएम मिलेर नेपालमा ऊर्जा प्रणाली विषयमा स्‍नातकोत्तर तहमा संयुक्त इन्जिनियरिङको कक्षा सञ्‍चालनका लागि सम्झौता भयो । 

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र त्रिभुवन विश्‍वविद्यालयको एसियाली अध्ययन केन्द्र (सिनास) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने समझदारी भयो । खबरमा उल्लेख गरिएअनुसार सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले ‘यो समझदारीले नेपाल-भारतबीचको सम्बन्धबारे अध्ययन गर्न सहयोग पुग्‍ने’ बताए । 

त्यस्तै, लुम्बिनी बौद्ध विश्‍वविद्यालय र आईसीसीआरबीच बौद्ध अध्ययन गर्न डा. अम्बेडकर चेयर स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भयो । बौद्ध विश्‍वविद्यालयका सूचना अधिकारी चन्द्रमणि पोखरेलले नेपाल भारतको बौद्ध अध्ययन संस्कृतिको अनुसन्धान गर्न उक्त सम्झौता गरिएको जानकारी दिए । 

नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच संखुवासभास्थित अरुण-४ अर्ध जलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्ने सम्झौता भयो । उक्त सम्झौतामा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा जेठ २ मा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध-सञ्‍चालक नन्दलाल शर्माले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरे ।

  • काठमाडौंमा अमेरिकी उपमन्त्री जिया

अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जिया ६ वैशाखमा नेपाल आइन् । 

खबरअनुसार एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनसँगै नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा जियाको नेपाल भ्रमण भएको हो ।

  • मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा 

जेठ २ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन गरियो । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ २ गते बिहान विमानस्थलको उद्घाटन गरे । 

विमानस्थलको उद्घाटन हुनुअघि कुवेतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि व्यावसायिक उडान भरेको जजीरा एयरलाइन्सको एयरबस ३२० विमान सोही दिन बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण गर्‍यो  ।  

  • स्थानीय निर्वाचन २०७९

यस साता विभन्‍न सञ्‍चायरमाध्यममा स्थानीय निर्वाचनमा मददान प्रक्रिया सम्पन्‍न भएपश्‍चात् मतपेटिका संकलनदेखि मतगणना र अन्तिम नतिजासम्मका खबरहरू प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरिए । यसैक्रममा ‘मतपेटिका संकलन गर्नै तीन दिन’ शीर्षकमा कान्तिपुरले खबर प्रकाशित गर्‍यो । उक्त खबर गोरखाको चुमनुब्री गाउँपालिकाबाट मतपेटिका संकलन गरेर मतगणनास्थलसम्म ल्याइपुर्‍याउनै तीन दिन लागेको उल्लेख थियो ।
यसैगरी कान्तिपुर दैनिकले निर्वाचनसम्बन्धित खबरहरूलाई ‘६ सय पालिकामा तारजाली’, ‘प्रधानमन्त्रीको वडामै हार्यो कांग्रेस’ लगायतका शीर्षक दिएर प्रकाशित गर्‍यो । प्रधानमन्त्री पत्‍नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रधानमन्त्रीको गृह जिल्लामा चुनावी अभियानमा गरेको अराजनीतिक सम्बोधनको परिणामस्वरूप यो नतिजा आएको धेरैको विश्लेषण रह्‍यो । 

  • महानगरका मतमा ‘महाक्रस’

कान्तिपुर दैनिकले ‘महानगरका मतमा महाक्रस’ शीर्षकमा प्रमुख पृष्ठमा खबर प्रकाशित गर्‍यो । जसमा काठमांडौ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अप्रत्याशित मत हासिल गर्दै साताको तेश्रो दिनसम्म पनि अग्रता कायमै राखेका र उनले ‘स्वतन्त्र मत’ मात्रै नभएर, एमाले र कांग्रेसका परम्परागत मत पनि ठूलो संख्यामा पाएको उल्लेख गरिएको छ । 

यससंगै उक्त खबरमा सत्ता र विपक्षी गठबन्धनभित्र तालमेल गरेकै दलहरूबीच पनि धोकाधडी, गठबन्धनकै उम्मेदवारहरूले पाएको मतमा फराकिलो अन्तर रहेको प्रसंग पनि उल्लेख छ । 

  • टिकट वितरणमा भेदभाव गर्ने दल, एकजुट भएर वडामा जित्‍ने दलित

जुम्लाको कनकासुन्दरी-८ मा मुख्य दलको दबदबा चिर्दै एकजुट भएर उम्मेदवारी दिएका दलितहरूले प्यानल नै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका र वडाध्यक्ष सहित ४ सदस्यको सोही प्यानल नै विजय भएपछि कनकासुन्दरी ८ को दलित बस्तीमा खुसी छाएको खबर प्रकाशित भयो ।

कान्तिपुरमा प्रकाशित उक्त खबरका अनुसार स्वतन्त्र उम्मेदवार धनबहादुर कामीले २ सय ८८ मत ल्याएर वडाध्यक्ष पद जिते । धनबहादुर पहिले एमालेकै सक्रिय कार्यकर्ता थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका मातृकाप्रसाद उपाध्यायले भने २ सय २० मत ल्याए । वडा सदस्यमा गोल दमाई र कर्णजित सार्कीले जिते । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भइन् । एक मात्र महिला सदस्य पद भने कांग्रेसकी रामुदेवी काफ्लेले जितिन् । ०७४ को स्थानीय तहको निर्वाचनमा यहाँ एमालेले जितेको थियो ।

  • २२ वर्षीय गाउँपालिका अध्यक्ष

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट २२ वर्षीय राजाबाबु यादव विजयी भए । प्रकाशित खबरअनुसार उनी सर्लाहीमा सबैभन्दा कम उमेरमा पालिका प्रमुख बन्‍न सफल भए । २२ वर्षीय यादव रामनगर गाउँपालिकाको अध्यक्षमा ४ हजार ८१ मत ल्याएर विजयी भए ।

उनले नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादव  लाई १ हजार ६ सय ८९ को फराकिलो मतान्तरले पराजित गरे । आफ्नै काकालाई फराकिलो मतान्तरले जितेका यादव संविधानसभा सदस्य शिवपुजन राय यादवका छोरा हुन् । 

  • आफ्नो पालिकामा बिरासत गुमाउँदै गुल्मीका केन्द्रीय नेता

नेकपा एमालेको किल्ला मानिने गुल्मीको रूरू क्षेत्र (गाउँपालिका) जुन पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पालिका पनि हो । स्थानीय निर्वाचनमा भने उक्त पालिकामा एमालेलाई पछि पार्दै गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका यदु ज्ञवालीले नेतृत्व लिए । कान्तिपुर दैनिकमा उल्लेख गरिएअनुसार पालिकाबाहेक प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्रमा पर्ने गुल्मी दरबार, चन्द्रकोट, कालीगण्डकी र रेसुंगा एमालेले गुमायो । 

यता पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टको इस्मा गाउँपालिकामा पनि कांग्रेसले प्रमुख र उपप्रमुखसहित बहुमत वडा जित्यो । तीन दशकदेखि वर्चश्‍व कायम राखेको इस्मा एमालेले गुमायो । गाउँपालिका प्रमुखमा कांग्रेसका भगतसिंह खड्काले एमालेका हिरा एसीलाई एक सय २५ मतान्तरले पराजित गरे । उपप्रमुखमा कांग्रेसकै पार्वती कुँवरले एक कार्यकाल राम्रो काम गरेकी विमला खत्रीलाई सात सय ८८ को ठूलो मतान्तरले पराजित गरिन् । पूर्वमन्त्री गोकर्ण विष्टको पालिकासँगै मदाने, मालिका र रेसुंगा एमालेले गुमायो ।

त्यसैगरी गुल्मिका कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीको छत्रकोट गाउँपालिकामा एमालेका रामप्रसाद पाण्डेय विजयी भए । उनले गठबन्धनका अनन्तराम पौडेललाई ६ सय ३८ मतान्तरसहित पराजित गरे । उपप्रमुखमा एमालेकी सावित्रा ज्ञवालीले गठबन्धनका गुमानसिंह पुन मगरलाई पराजित गरिन् । 

खबरअनुसार सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीको पालिका मदानेमा समाजवादीका कुनै उम्मेदवार नभए तापनि समाजवादीले धुर्कोट र मुसीकोटमा उपप्रमुख पाएको थियो । तर, धुर्कोटमा उपप्रमुख चन्द्र सुनार र मुसिकोटको उपप्रमुख श्रीराम महत पराजित भए । 

स्थानीय पालिकाको आधारमा गुल्मीमा एमाले तेस्रो दल बनेको छ । 

  • दोश्रोमा खुम्चियो एमाले 

अघिल्लो स्थानीय चुनावमा पहिलो भएको र संघीय संसद्को समेत सबैभन्दा ठूलो दल नेकपा एमाले दोस्रोमा खुम्चिन पुगेको अवस्थालाई राजनीतिक विश्लेषकहरूले विभिन्‍न कोणबाट प्रतिक्रिया दिए । जसमध्ये केहीले ‘करिब पाँच वर्षदेखि आक्रामक राजनीतिक गर्दै आएका ओलीलाई ‘रक्षात्मक’ अवस्थामा पुर्‍याएको’ केहीले ‘स्थानीय तहको नतिजाले एमाले अध्यक्ष ओलीलाई अब एक्लै अघि बढ्ने मार्गबाट पछि धकेलेको’ विश्लेषण गरे । 

२०७४ को स्थानीय निर्वाचनमा मधेस र गण्डकी प्रदेशमा बाहेक बाँकी पाँचै प्रदेशमा एमालेले जितेको थियो । समग्रमा २ सय ९४ स्थानीय तह जितेको एमाले ३९ प्रतिशतसहित पहिलो स्थानमा थियो ।

  • जनमत पार्टीबाट पहिलो मेयर

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भए । ४ जेठसम्म घोषित मत परिणामअनुसार जनमत पार्टीबाट नगरप्रमुखमा निर्वाचित हुने माझी पहिलो हुन् । 

खबरमा माझीले विकास र भ्रष्टाचार अन्तको मुद्दा लिएर मतदातामाझ गएको उल्लेख गरिएको छ । 

  • राजपुरमा आलमका कान्छा उत्तराधिकारी

कान्तिपुर दैनिकमा ‘राजपुरमा आलमका कान्छा उत्तराधिकारी’ शीर्षकको खबर प्रकाशित भयो । जसअनुसार ज्यान मुद्दामा पक्राउ परी न्यायिक हिरासतमा रहेका रौतहटको राजपुर नगरपालिकाका मोहम्मद अफताब आलमको क्षेत्रमा कांग्रेस उम्मेदवार २७ वर्षीय मोहम्मद राजिक आलम प्रमुखको रूपमा निर्वाचित भए । राजिक आलमका बुबा तथा पूर्वमन्त्री अफताब २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला भएको विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोग खेपिरहेका छन् ।

  • मुसहरबाट वडाध्यक्ष

सुनसरीको सीमावर्ती कोसी गाउँपालिका-७ मा माओवादी केन्द्रबाट मुसहर समुदायका २४ वर्षीय लालदेव सदा (मुसहर) प्रदेश १ कै पहिलो वडाध्यक्ष जनप्रतिनिधिको रूपमा प्यानलसहित विजयी भए । सदाले  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र महतोलाई १ सय ७० मतले पछि पारे । 

  • हायु जातिबाट पहिलो वडाध्यक्ष

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार हायु जातिको जनसंख्या २ हजार ९ सय २९ रहेको छ । लोपोन्मुख हायु जातिबाट उदयपुरमा एक जना वडाध्यक्ष र सिन्धुलीमा दुई जना वडा सदस्य पदमा निर्वाचित भए । कान्तिपुरमा प्रकाशित खबरअनुसार कटारी नगरपालिका- ११ को वडाध्यक्षमा एमालेबाट निर्वाचित ३८ वर्षीय अनन्त हायु यो समुदायबाट वडाध्यक्ष निर्वाचित हुने पहिलो हुन् । जसले गठबन्धनबाट माओवादीका उम्मेदवारलाई ३ मतको अन्तरले पराजित गरे । 

यसैगरी सिन्धुलीमा एमालेबाट कमलामाई नगरपालिका-३ को सदस्यमा खेमबहादुर राई हायु (राजन) दोस्रो कार्यकालका निम्ति निर्वाचित भए ।  यस्तै, सिन्धुलीकै गोलन्जोर गाउँपालिका-३ वडा सदस्यमा लक्ष्मी हायु निर्वाचित भइन् ।

छरिएर रहेका हायु जातिको पुर्ख्यौली थलो रामेछाप र सिन्धुली मानिन्छ ।

  • जवन्ती महाउतस् मगन्ता समुदायकी एक्ली प्रतिनिधि

बाँकेको डुडुवा गाउँपालिका-६ बाट महिला सदस्य (एमाले उम्मेदवार) मा जवन्ती महाउत निर्वाचित भइन् । महाउत अति विपन्‍न र अल्पसंख्यक मगन्ता समुदायबाट विजयी एक्ली जनप्रतिनिधि बनिन् । 

मगन्ता समुदायका अधिकांश ज्याला मजदुरी गरेर जीविका चलाउँछन् । खबरअनुसार महाउतको गाउँमा फुसका छानाका मात्रै १ सय १२ घर छन् । मगन्ता जातिका धेरै परिवार वर्षौंदेखि गरिबीको चपेटामा छन् ।

  • स्थानीय सरकारमा ६ जेठदेखि नयाँ प्रतिनिधि

स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल ६ जेठबाट सुरु भयो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ जेठ मध्यरातदेखि सकियो । खबरमा उल्लेख गरिएको स्रोत निर्वाचन आयोगले निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल ६ जेठमा शुक्रबार सुरु भएको मानिने जनायो ।

५ जेठ रातिसम्म ६०३ पालिकाको परिणाम आएको थियो । उक्त समयसम्म सत्तारूढ दल कांग्रेसले सबैभन्दा धेरै पालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । 

  • विजय घोषणाको ५ दिनपछि भेटियो बन्द मतपेटिका

महोत्तरी बर्दिबास-८ मा माओवादीका वडाध्यक्ष शमशेर सिंह निर्वाचित भएको घोषणा भइसकेर मतदातामाझ विजयको खुसी बाँडिरहेको अवस्थामा निर्वाचन कार्यालयका कर्मचारीले सिंहलाई एउटा बाकसमा रहेको मत गन्‍नै बाँकी रहेको जानकारी दिए ।

ती बाकसका मत गनिसक्दा एमालेका सो पदका एमाले उम्मेदवार र सिंहबीच बरोबर मत आएपश्‍चात् गोलाप्रथा अपनाइएको र फेरि पनि सिंह नै विजयी भएको खबर प्रकाशित भयो । 

  • पालिकाको नेतृत्वमा दलित समुदाय

उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका ४५ वर्षीय ढुंगराज विश्‍वकर्मा (गठबन्धन उम्मेदवार) दलित समुदायबाट पालिका प्रमुख जित्‍ने प्रदेश १ कै पहिलो व्यक्ति बने । 

विश्‍वकर्माले एमालेका बाबुराम राईलाई ३८ मतले पछि पारे । 

अर्थ 

  • १० महिनामा बजेट खर्च ५५.६६ प्रतिशत मात्रै

चालु आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजित रकमको ५५.६६ प्रतिशत बराबर देखिएको खबर प्रकाशित भयो । चालु आवका लागि सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । खबरमा ‘अहिलेको खर्चको अवस्था हेर्दा संशोधित लक्ष्य पनि पूरा हुन नसकिने देखिएको’ उल्लेख छ ।

महिला

  • ‘सुन्दरी प्रतियोगिताका आयोजकबाट किशोरीमाथि बलात्कार’

आठ वर्ष अघि (सन् २०१४) भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक प्रतिस्पर्धीले आफूलाई आयोजक मनोज पाण्डेले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको घटना सार्वजनिक गरिन् । 

न्यायिक लडाइँमा उजुरीका लागि ‘हदम्याद’ बाधक रहेकोले हदम्याद नराख्‍न, बलात्कार र यौनजन्य हिंसाका मुद्दाका निर्णयहरू अबिलम्ब गर्न ‘फास्ट ट्रयाक कोर्ट’ को स्थापना गर्न, पीडितलाई तत्काल न्याय र पीडक पाण्डेलाई कारबाही गर्न माग गर्दै विभिन्‍न स्थानमा प्रदर्शन गरिए । 

संसद्‍मा विभिन्‍न  सांसदले उक्त घटनाका सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराए । कांग्रेस महासचिव गगन थापाले संसद्‍मा पीडकलाई कारबाही गर्न अनुसन्धानको दायरामा ल्याउन माग राखे । सभामुख अग्‍निप्रसाद सापकोटाले पीडित युवतीले सार्वजनिक गरेको घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिए । 

यसै साता प्रहरीले अभियुक्त मनोज पाण्डेलाई पक्राउ गर्‍यो । तर, बलात्कृत युवतीलाई न्याय खोज्न कानुनी हदम्याद तगारो रहेको खबरहरू प्रकाशित भएका छन् । 

  • मुगुकै पहिलो महिला वडाध्यक्षस कुञ्जुमा कुमाइ

मुगुको छायानाथ रारा नगरपालिका-११ को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) पार्टीकी कुञ्जुमा कुमाइ मुगुकै पहिलो महिला वडाध्यक्ष बनिन् । 

  • सन्थाल समुदायबाट निर्वाचित पहिलो पालिका उपाध्यक्ष

मोरङको जहदा गाउँपालिकाको उपाध्यक्षमा हन्‍ना सोरेन (कांग्रेस उम्मेदवार) अल्पसंख्यक सन्थाल समुदायबाट निर्वाचित हुने पहिलो व्यक्ति बनिन् । 

'पुरानो बसोबासी भए पनि सन्थाल समुदाय राजनीतिमा गतिलो स्थान बनाउन पछाडि परेको मानिन्छ' खबरमा लेखिएको छ । 

  • लोकप्रिय मत आमा-छोरीलाई

अर्घाखाँचीमा स्थानीय तह निर्वाचनअन्तर्गत एउटै पार्टी (एमाले) बाट आमा-छोरी वडा सदस्यमा लोकप्रिय मत पाएर निर्वाचित भएको खबर प्रकाशित भयो । खबरमा मालारानी गाउँपालिका-३ खनदहमा आमा रेमकला विक र वडा-५ बाँगीमा छोरी अनिता विक वडा सदस्य चुनिएको उल्लेख छ ।

  • ‘सिद्धबाबा’ को पक्षमा भएको फैसला बदर

महिला अनुयायीमाथि जबर्जस्ती करणीको मुद्दामा सहमतिमा नै शारीरिक सम्बन्ध भएको ठहर गर्दै जिल्ला अदालत सुनसरीले  २०७७ मंसिर २२ मा सफाइ दिएको सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दाको फैसलालाई उच्च अदालत विराटनगरले बदर गर्‍यो । 

खबरमा उल्लेखित स्रोतका अनुसार लोभ, मोह, काम, क्रोध त्याग गरेर संन्यासी भएर हिँडेको अवस्थामा सहमतिमै शारीरिक सम्बन्ध भएको फैसलाले आफू अन्यायमा परेको भन्दै गिरीले पुनरावेदनमा दिएका थिए । 

स्वास्थ्य 

  • आइतबार सबै संस्था बन्द हुँदैनन् 

१ जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी घोषणाअनुसार आइतबार (जेठ २०) सरकारी कार्यालय बन्द भए । तर, चिकित्सकहरूले सरकारी निर्णयको स्वागत गरे तापनि अस्पताल प्रशासनले नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आइतबार ओपीडी खुला गरेको खबर प्रकाशित भयो ।

जसअनुसार त्रिविले आइतबार बिदा नगर्ने, भक्तपुर नगरपालिकाभित्रका शैक्षिक संस्थाले तत्काल कार्यान्वयन नगर्ने, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले दुई महिना मात्रै  उक्त सरकारी निर्णय कार्यान्वयन गर्ने लगायतका विषयहरू उक्त खबरमा उल्लेख गरियो । 

  • स्वास्थ्य संस्थामा तोडफोड र आगजनी गर्नेविरूद्ध ५ वर्षसम्म कैद र ५ लाख रूपैयाँसम्म जरिवाना 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गत वैशाख २५ मा जारी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’ मा  स्वास्थ्य संस्थामा तोडफोड र आगजनी गर्नेविरूद्ध ५ वर्षसम्म कैद र ५ लाख रूपैयाँसम्म जरिवाना गरिने प्रावधान समेटिएको खबर प्रकाशित भयो । 

कृषि

  • हतोत्साहीत कृषक

पछिल्ला दुई आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार किसानले अनुदान, सहुलियतपूर्ण ऋण, किसान क्रेडिट कार्डदेखि कृषि उपज बजारीकरणका लागि सबै पालिकाबाट पूर्वाधार निर्माणलगायत सुविधा पाइसकेको हुनुपर्ने भए तापनि त्यसो नभएको र कृषक हतोत्साही भएको बारे कान्तिपुर दैनिकले विस्तृत रिपोर्ट लेख्यो ।

जसअनुसार सरकारले विगतमा घोषणा गरेकै कार्यक्रम कार्यान्वयन नहुँदा किसान नयाँ कार्यक्रमप्रति आशावादी छैनन् । दुई वर्षमा दुई दर्जन कार्यक्रम घोषणा हुनु ती कार्यक्रम कार्यान्वयन भएर किसान तहसम्म नपुग्‍नुले सरकारी सबै कार्यक्रम गफमै सीमित हुन पुगेको विषय उक्त रिपोर्टमा उल्लेख छ ।

शिक्षा 

  • साढे ४३ अर्ब विदेश अध्ययनमै बाहिरियो

दोस्रो चरणको लकडाउन खुले यता विदेशमा अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य बढेको छ । यसै सन्दर्भमा कान्तिपुर दैनिकले चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मुलुकबाट विदेशमा अध्ययन शीर्षकमा ४३ अर्ब ६७ करोड रुपैयाँ बाहिरिएको तथ्य प्रकाशित गर्‍यो । जसअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त रकम १०६.३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ९ महिनामा उक्त रकम करिब १४ प्रतिशत घटेको देखिएको थियो ।

खबरमा उल्लेख गरिएअनुसार ‘ठूलो रकम खर्चेर विदेश गए पनि ती जनशक्तिबाट रेमिट्यान्स आप्रवाहमा न्यून योगदान पुगेको’ तथ्यांकले देखाएको छ । 

अन्तराष्ट्रिय 

  • विश्‍वको दोश्रो ठूलो गहुँ उत्पादक देश भारतले रोक्यो गहुँ निर्यात

भारत सरकारले आफ्नो देशको समग्र खाद्य सुरक्षा व्यवस्थापनका लागि र छिमेकी तथा जोखिमयुक्त देशहरूलाई सहयोग गर्न गहुँ निर्यातलाई ‘प्रतिबन्धात्मक’ कोटामा राखेको खबर प्रकाशित भयो ।  

खबरअनुसार युक्रेनमाथि रसियाको आक्रमणका कारण गत फेब्रुअरीदेखि ब्ल्याक सी क्षेत्रबाट हुने ढुवानी घटेपछि विश्‍वभरका खरिदकर्ताले भारतबाट गहुँ किन्‍न खोजिरहेको बताइएको छ ।