साप्ताहिक खबर

साप्ताहिक खबर (जेठ ८-जेठ १४)

चेतलुङले साताका चर्चित समाचारलाई छनोट गरी संक्षिप्त रूपमा पाठकसामु पुर्‍याउने जमर्को गरेको छ । यस पटक ८ जेठ देखि १४ जेठसम्म विभिन्‍न सञ्‍चारमाध्यमले प्रमुखताका साथ प्रकाशन गरेका राजनीतिक, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय, खेलसम्बन्धी विविध खबरलाई बुलेटिनका रूपमा यहाँ प्रस्तुत गरिएको छः

  • पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि 

भारतले कर कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य एक सय ६३ मुल्य निर्धारण गरिएको छ । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १८ सय पुर्‍याइएको छ । इन्धनमा यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यससँगै इनधनमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै गतसाता विभिन्‍न विद्यार्थी संगठन तथा संघ-संस्थाहरुले आन्दोलन तथा प्रदशर्न गरेका छन् । उपभोक्ता हक-हितका लागि आवाज उठाउँदै आएका विभिन्‍न संस्थाहरुले आन्दोलनलाई अघि बढाएका हुन् । 

  • बलात्कार उजुरीमा हदम्याद हटाउन माग 

महिला सांसदले नाबालिकामाथि हुने बलात्कारलगायत जघन्य अपराधका घटनाको उजुरीमा हदम्याद लगाउने कानुनी व्यवस्था हटाउन सरकारसँग माग गरेका छन् । आठ वर्षअघिको सुन्दरी प्रतियोगिताकी प्रतिस्पर्धीले आफूलाई आयोजकले लठ्याउने जुस खुवाई बलात्कार गरेको सार्वजनिक गरेपछि संसदमा बोल्दै महिला सांसदहरुले हदम्याद हटाउन माग गरेका हुन् । 

यससँगै बलात्कार पीडित महिलालाई न्याय दिनका लागि तथा दोषीलाई कारवाहीको माग गर्दै गतसाता बालुवाटार तथा माइतिघरमा विभिन्‍न प्रदर्शनहरु भएका छन् । हदम्यादले पीडित महिलाको न्याय पाउने अधिकार बञ्‍चित भएको भन्दै हदम्याद हटाउन माग गरिएको थियो । 

  • चुनावी नतिजा सार्वजनिक 

स्थानीय तह निर्वाचनको केही स्थान बाहेक सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । देशभरका कुल सात सय ५३ स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भएको हो । एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदातामध्ये ६४ प्रतिशतले अर्थात एक करोड १३ लाख जनताले आफ्नो मताधिकार प्रयोग गरेर आगामी पाँच वर्षका लागि स्थानीय नेतृत्वको चयन गरेका छन् ।

  • आफैलाई मत नदिने उम्मेदवार

हालै सम्पन्‍न दोस्रो स्थानीय तहको निर्वाचनमा सहभागी भएका कञ्‍चनपुरका १४ जना उम्मेदवारले एक मत पनि ल्याउन सकेनन् अर्थात उनीहरुले आफूलाई समेत मत नदिएको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिमाण अनुसार प्रमुख, उपप्रमुख र वडाध्यक्षका पदमा उम्मेदवार बनेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले एक मत पनि ल्याउन नसकेका हुन् ।

  • हर्क साम्पाङः पहिले लाठीचार्ज, अहिले फूल वर्षा 

एक वर्ष अघि धरानको खानेपानीसम्बन्धी ज्ञापनपत्र लिएर जाँदा सामाजिक अभियन्ता हर्कराज साम्पाङ राईलाई नगरपालिकाको जुन प्रवेशद्वारबाट भित्र छिर्न दिइएको थिएन, मंगलबार त्यही प्रवेशद्वार उनका लागि सजाएर राखिएको थियो । धरानको खानेपानी तथा सरसफाईका विषयमा लामो समयदेखि अभियान चलाई रहेका साम्पाङलाई मुद्दा उठाएकै कारण उनी कयौँ पटक लाठी चार्जको सिकार भए तर निर्वाचनमा स्वतन्त्र उठेका उनी मेयरमा निर्वाचित भएपछि अहिले उनीमाथी फुल-मालाको वर्षा भई रहेको छ ।

  • पाठ्य पुस्तकमा सधैं बहाना

‘भर्नाकै बेला विद्यार्थीको हात-हातै पाठ्यपुस्तक’ भने नाराबाट सजिलै बुझिन्छ- विद्यार्थीलाई समयमै पाठ्य पुस्तक उपलब्ध गराउन सरकारलाई हम्मे-हम्मे पर्छ । यसो हुँदैन्थयो भने शैक्षिक सत्र सुरु हुँदा स्वचालित चक्रबमोजिमै नयाँ पाठ्य पुस्तकहरू बजार-विद्यालयसम्म पुगिसक्नु पर्ने हो । यसका निम्ति नारा नै बनाएर विशेष प्रण गरिरहनु नपर्ने हो । तर, बर्सेनी शैक्षिक सत्र बितेका कैयौं महिनासम्म पनि मुलुकका कति भेगका विद्यार्थीले पाठ्य पुस्तक नै पाउँदैनन् । 

  • जुम्लाकी एक्ली अटो चालक

चन्दननाथ-४ भारतीबाडामा बाबुआमासँग बस्दै आएकी कल्पनासँग अटोचालकको सिटमा आउनुअघि अनेकन दुःखको बाटो पार गरेको अनुभव छ । एसएलसी दिएर बसेका बेला उनको मन रतन रावतसँग साटियो । मायाको लहरमा बग्दै-बग्दै १४ वर्षकै उमेरमा उनले भागी विवाह गरिन । तीन वर्षमै पहिलो सन्तान जन्माइन तर छोरा जन्मेसँगै श्रीमानले दोस्रो बिहे गरे । पतीको माया र सहयोगबाट टाढिन पुगेपछि उनका अघिल्तिर कुनै बाटो र विकल्प थिएन । तर, समय बितेसँगै उनका पनि दिन फेरिएका छन् । उनी हिजोआज अटो चालक बनेकी छन् । उनको परिश्रम देखेर गाउँका अरु महिला-दिदीबहिनीहरु पनि अटो चलाउने र आत्मनिर्भर बन्‍ने सोचमा छन् । 

  • दुई दिने सार्वजनिक बिदा अर्थात भ्वाङै-भ्वाङको व्यवस्था

इन्धन खपत घटाउने नाममा सातामा दुई दिन बिदा दिने सरकारी निर्णयबाट सार्वजनिक सेवा अस्तव्यस्त हुन पुगेको छ । यसका साथै सेवाग्राही पनि मर्कामा परेका छन् । आइतबार पनि बिदा दिन थालेपछि सरकारी अस्पतालका बहिरंग सेवामा भीड बढेको छ । कर्मचारीहरूले थपिएको एक दिने बिदा बराबरको थप काम अरू कार्यदिनमा गर्नुपर्ने हो, तर उनीहरू शुक्रबार दिउँसै हिँड्ने र सोमबार पनि ढिला कार्यालय पुग्‍ने गरेकाले सेवाग्राही मर्कामा परेका हुन् । यो व्यथिति दुर्गम क्षेत्रको मात्र नभएर सुविधासम्पन्‍न सहरको पनि साझा कथा बन्‍न पुगेको छ ।

  • अफ्रिकन स्वाइन फिभरबाट बचौँ

बंगुरपालन तीव्र रूपमा व्यावसायिक बन्दै गरेको परिवेशमा, बंगुरमा देखिएको अफ्रिकन स्वाइन फिभरबाट कयौँ किसान प्रभावित हुन थालेका छन् । ठोस उपचार तथा खोप नभएकाले भाइरसजन्य रोगबाट बंगुर पालक किसान प्रभावित बन्‍न पुगेका हन् । कृषक तथा व्यवसायीहरूका लागि अहिले यो ठूलै टाउको दुखाई बनेको छ । पशु सेवा विभागका अनुसार काठमाडौंको कागेश्‍वरी, मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा र दक्षिणकाली, ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रका बंगुरमा परिक्षण गर्दा यो रोग देखापरेको छ ।

  • लाइसेन्स आवेदन मिति सर्‍यो

नयाँ सवारी अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुल्नेबारे फेरि अन्योल भएको छ । पुरानो लाइसेन्स वैशाख मसान्तभित्र वितरण सकेर जेठ पहिलो साताबाट नयाँ आवेदन खोल्ने बताएको यातायात व्यवस्था विभागले फेरि समय बढाएर जेठ दोस्रो साता पुर्‍याएको छ । तर, विभागले भनेझैं फेरि तोकिएको समयमा लाइसेन्सका लागि आवेदन खुल्ने अवस्था छैन ।

  • अमेरिकाको गोलीवारीमा २१ जनाको हत्या

अमेरिकाको टेक्सस राज्यको रोब एलिमेन्ट्री स्कुलमा एक किशोरले अन्धाधुन्ध गोली चलाएर १९ जनाको हत्या गरिदिएका छन् । मंगलबार भएको घटनामा मारिनेमा १९ विद्यार्थी तथा दुई शिक्षक रहेका छन् । कयौँ दशकदेखि अमेरिकामा यसरी हुने गोलीबारीमा हजारौँको हत्या हुने गरेको छ । यो बर्षको पाँच महिनामा मात्र अमेरिकामा गोलीबारीका २७ घटना भएका छन् । स्कुलमा गोलीबारीको घटना सार्वजनिक हुनु केही समय अघि मात्र अमेरिकाकै बफेलोको एउटा डिपाटमेन्टल स्टोरमा एक युवकले गोली चलाउँदा १० अफ्रिकी अमेरिकीको हत्या गरिदिएका थिए । 

  • स्पेनमा महिलालाई महिनावारी बिदा दिइने

मंगलबार स्पेनको मन्त्रिपरिषदले प्रत्येक महिना महिलाले महिनावारीका दिन अप्ठेरो महशुस भएमा बिदा लिनसक्ने नयाँ कानुन प्रस्ताव गरेको छ । कानूनले महिलालाई उनीहरुको स्वास्थ्य प्रतिकुलतामा बिदा लिने बाटो खोल्ने छ । यो निर्णय पास भएमा महिनावारीमा महिलाले बिदा पाउने पहिलो मुलुक स्पेन बन्‍नेछ । 

  • प्रशंसालाई रजत पदक 

नेपाली टेनिस खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यू-१४ टेनिस प्रतियोगिताको सर्किट-२ मा रजत पदक जितेकी छन् । उनले सिंगल स्पर्धामा पदक जितेकी हुन् । उनको जीतसँगै नेपाली टेनिसप्रेमी खुसी भएका छन् ।