१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
चिन्तन राजनीति विरासत

गणेशमान सिंहको अदालती बयान

इतिहासलाई सही स्थानमा राख्‍न खोजेको हुँ

गणेशमान सिंहको अदालती बयान
तस्बिर सौजन्य: गणेशमान सिंह फाउण्डेसन

नेपाली कांग्रेस यतिखेर चौधौं महाधिवेशनको रस्साकस्सीमा छ । यही बेला विचारलाई थाँती राखेर नेता छान्‍ने कर्मकाण्डमा केन्द्रित भएको आलोचना कांग्रेसभित्रै र बाहिरबाट समेत भइरहेको छ । यस परिप्रेक्ष्यमा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको अदालती बयान एक असल अध्ययन सामग्री हुन सक्छ । एक निष्ठावान् र कर्मठ नेताको रूपमा परिचित सिंहका दृष्टिकोण र निष्ठा यस बयानमा लबालब झल्किएको छ । २०३६ सालकाे जनमत संग्रह अगाडि प्रजातान्त्रिक आन्दोलनलाई मुलुकमै बसेर अघि बढाउने मनसायले बीपी कोइरालासँगै गणेशमान पनि निर्वासनबाट स्वदेश फर्केका थिए । लगत्तै जेल परेका गणेशमान पनि जनमत संग्रहको घोषणापछि छुटेका थिए । तत्कालीन पञ्‍चायती सरकारले लगाएका विभिन्न मुद्दामा उनले दिएकाे चित्रमय बयान इतिहास अध्ययनका निम्ति महत्त्पूर्ण सामग्री हुनसक्छ । सामग्री सौजन्यः प्रदीप गिरि ।

विशेष अदालत मुकाम सिंहदरबारका अतिरिक्त न्यायाधीश श्री जनकमान श्रेष्ठको इजलासमा श्री गणेशमान सिंह श्रेष्ठले गरेको बयानः

जवाफ नं. १

मेरो पिताजीको नामः श्री ज्ञानमान सिंह श्रेष्ठ, मेरो नामः गणेशमान सिंह श्रेष्ठ, जातः श्रेष्ठ, उमेरः ६२ वर्षको भएँ, पेसाः समाजसेवा, घरः काठमाडौं क्षेत्रपाटीमा छ । 

जवाफ नं. २

श्री ५ को सरकारविरूद्ध गणेशमान सिंह र विश्वेश्वरप्रसादसमेत अभियुक्त भएकोे गणेशमानसमेतले श्री ५ को सरकारलाई पल्टाउन मिटिङ्ग गरे अनुसार हातहतियार लिई कप्तान यज्ञबहादुर थापासमेतका मानिस ओखलढुङ्गामा पसेको ‘राजकाज अपराध’ सम्बन्धी मुद्दामा अभियोग लागी बयान गर्न उपस्थित भएको हुँ ।

जवाफ नं. ३

भारतको फर्विसगञ्‍जमा श्री ५ को सरकारका विरूद्ध हातहतियार पठाइदिने, श्री ५ को सरकार अप्रजातान्त्रिक भएको कारण नेपाल अधिराज्यको सार्वभौमसत्तामा खलल पार्ने नेपाली कांग्रेसको उद्देश्य भएकोले कप्तान यज्ञबहादुर थापालाई फौजी कमाण्डर, महेश कोर्मोचालाई राजनैतिक अधिकृत भएर जाने प्रस्ताव गिरिजाप्रसाद कोइरालाले राखेकोमा भद्रकाली मिश्र र गणेशमान सिंहसमेतका जवानले समर्थन गरेर पारित भए अनुसार गिरिजाप्रसादको निर्देशानुसार हतियारसहित नेपालको ओखलढुङ्गामा आक्रमण गरेका हौँ भन्‍ने कप्तान यज्ञबहादुरको बयानबाट देखिएकोले अवैध कार्य गरे–गराएको भनी गणेशमान सिंहसमेत माथि ‘राजकाज अपराध सजाय ऐन, २०१९’ को दफा ४(१) अनुसार सजायको माग भएको मिति ०३१/११/२४ को प्रहरी प्रतिवेदन थान १ समेत देखाउँदा देखी–सुनी पाएँ । आज बयान गर्न समयले नभ्याउँदा स्थगित गरिएको ठीक छ ।

जवाफ नं. ४

उपरोक्त लिखित बयान मैले भने अनुसार लेखिएको ठीक छ र झूटो ठहरे कानुनबमोजिम बुझाउँला भनी सही गर्ने निजः

गणेशमान सिंह ..........................१

इति सम्वत् २०३४ जेठ ६ गते रोज ५ शुभम् ।



जवाफ नं. ५

जवाफ नं. ३ मा सोधिएको मिति ०३१/११/२४ को प्रहरी प्रतिवेदन आज पनि पढी–वाची सुनी पाएँ । यसको जवाफ दिनुभन्दा अगाडि नेपालको राजनैतिक पृष्ठभूमिको बारेमा पनि म केही उल्लेख गर्न चाहन्छु । मैले विसं १९९७ अघिदेखि राजनीतिमा काम गर्दै आएको छु । राणा शासकले प्रजातन्त्रका लागि स्वर्गीय श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवको पनि सदिच्छा रहेको थाहा पाएर विसंं १९९७ सालको काण्डमा राजा र युवराजाधिराज सरकारलाई हाम्रो सामुन्‍नेमा राखी हामीहरूलाई केरकार गरेझैँ विभिन्‍न अभियुक्तसँग सोधपुछसमेत गराई कारकेर गरेको त्यस दिनको तथ्य घटनाबाट त्यसबेलाका राणा शासकले राजासित कुन किसिमको दुर्व्यवहार गर्थे भन्‍ने प्रस्ट हुन्छ । सधैँझै एक दिन हामी बन्दीहरूमध्ये कसैलाई राजाको सामुन्‍ने राखेर राणाहरूले केरकार गर्दा राजाले समेत ‘यी विचराहरूले मैले नै भनेर यी सबै काम गरेका हुन् भने यी विचराहरूलाई यत्रो यातना किन दिने ? यिनीहरूले यो काम मेरो आदेशमा गरेको भएपछि यी विचराहरूको त केही दोष भएन, त्यसको पूरा जिम्मेवारी त मेरो नै ठहरिन्छ । त्यसैले तिमीहरूले यिनीहरूमाथि जे जति दुर्व्यवहार गरिराखेका छौ, त्यो ममाथि गरे पनि हुन्छ, यिनीहरूलाई गर्नुपर्ने कुनै आवश्यकता छैन’ सम्म भन्‍न पनि राजालाई कर लाग्यो । विसंं १९९७ को आन्दोलनलाई राणा शासकहरूले निर्ममतापूर्वक दबाए । १९९७ सालको त्यो आन्दोलन पनि प्रजातन्त्रको आन्दोलन थियो ।

त्यतिबेला गंगालालले मतिर हेरेर भनेका थिए, ‘गणेशमान सिंह दाइ, डु नट फर्गेट माई ब्लड अर्थात् मेरो रगतलाई नबिर्सिनु होला ।’ अनि, मैले रूँदै भनेको थिएँ, ‘नेभर गंगालाल, नेभर अर्थात्् कहिल्यै बिर्सिने छैन ।’

 

आज बयान गर्न समयले नभ्याउँदा यहाँ स्थगित गरिएको छ र बाँकी बयान क्रमशः दिँदै जानेछु । 

जवाफ नं. ६

उपरोक्त लिखित बयान मैले भने अनुसार लेखिएको ठीक छ र झूटो ठहरे कानुनबमोजिम बुझउँला भनी सही गर्नेः

निज गणेशमान सिंह श्रेष्ठ.................................१

इति सम्वत् २०३४ जेष्ठ ७ गते रोज ६ शुभम् ।



जवाफ नं. ७

यसरी नेपाल प्रजापरिषद्ले पनि नेपालको राजनैतिक जनचेतनाको उषाकालमा आफूले सक्दो योगदान गर्‍यो र राणाशाहीको क्रूर दमनचक्रको सामु बाध्य भएर आफ्नो गतिविधिहरू स्थगित गर्नुपर्‍यो । जेल गइसकेपछि ज्यान सजाय पाएर चाँडै नै शहीद हुने भएका मेरा ती साथीहरू भनौं वा नेताहरूसित छुट्टिन लाग्दा उनीहरूले मलाई अन्तिम सन्देशको रूपमा एउटा कुरा भनेका थिए । हामी जेलमा फर्कन लागेका सबै साथीहरूले छुट्टिने बेलामा आँखाबाट बलिन्द्र आँसुधारा निकाल्नुका अतिरिक्त सिंहदरबार नै थर्किने गरी डाको छोडेर रून लाग्दा दशरथ चन्द्रजीले मतिर हेरेर भन्‍नुभएको थियो, ‘जा लाछी, कहीँ रोएर आँसु बगाएर पनि हामीप्रति सहानुभूति दर्शाइन्छ ? हामीहरूप्रति साँच्चै नै सहानुभूति दर्शाउने हो भने हामी जुन उद्देश्यको लागि चाँडै नै शहीद हुन लागेका छौं, हामीले अधुरो छोडेर जान लागेको त्यो आदर्शलाई पूरा गरेस् । हाम्रो निम्ति त्यही नै ठूलो श्रद्धाञ्‍जलि हुनेछ ।’ त्यतिबेला गंगालालले मतिर हेरेर भनेका थिए, ‘गणेशमान सिंह दाइ, डु नट फर्गेट माई ब्लड अर्थात् मेरो रगतलाई नबिर्सिनु होला ।’ अनि, मैले रूँदै भनेको थिएँ, ‘नेभर गंगालाल, नेभर अर्थात् कहिल्यै बिर्सिने छैन ।’ त्यसपछि जेल फर्कन लागेका साथीहरूमध्ये एकजना साथीतिर हेरेर गंगालालले भनेका थिए, ‘हरिकृष्ण, टेक केयर अफ योर सिस्टर अर्थात् तपाईंंकी बहिनीको हेरविचार गर्नुहोला ।’ धर्मभक्तसित बिदा लिन जाँदा उहाँले भन्‍नुभएको थियो, ‘हेर, गणेशमान सिंह, देशको निम्ति जति बलिदान गर्ने विचार थियो, चाहेर पनि त्यो गर्न नपाउँदै हामी यस संसारबाट बिदा लिँदै छौँ । तर, जेहोस् मातृभूमिका निम्ति केही गर्न नसके पनि हामी भविष्यमा हाम्रो अनुसरण गर्ने देशका सपुतहरूका निम्ति आवश्यक परेको खण्डमा मातृभूमिको चरणमा आफ्नोे ज्यानसमेत कसरी अर्पण गर्नुपर्छ भन्‍ने बाटो त अवश्य पनि देखाएर जाँदै छौं, होइन त ?’ माथि उल्लेख गरिएझैँ यी भनाइहरू मेरो मनमा जहिले पनि झल्झली आइरहन्थे । ‘हाम्रा शहीद साथीहरूले अह्राएर गएका कुराहरू के यहाँ जेलमा सडेर हामीले पूरा गर्न सकौँला ?’ एक दिन मैले साथीहरूसँग यस्तो भन्दा साथीहरूले ‘अरू उपाय पनि के छ र ? यो पनि त्यही उद्देश्य पूरा गर्नका निम्ति नै त हो’ भन्‍ने जवाफ दिए । तर, मलाई साथीहरूको जवाफ चित्त बुझेनँ । करिब ४ वर्ष जति जेलमा बसेर पूरा एक वर्षको प्रयासबाट २००१ सालमा म जेलबाट भागेर उम्कन सफल भएँ । त्यसपछि हिन्दुस्तानमा पुगेर लुकीछिपी नै किन नहोस्, एउटा संस्था खोल्नका निम्ति प्रवासी र नेपालभित्रका मानिसहरूसँग सम्पर्क राखिरहेँ । तर, संस्था खोल्ने हिम्मत गर्ने र त्यस काममा प्रोत्साहित गर्ने कोही पनि निस्केनन् ।

बल्ल–बल्ल सन् १९४६ तिर विश्वेश्वरप्रसाद कोइराला हिन्दुस्तानको जेलबाट छुटेर आइसकेपछि उहाँसँग सम्पर्क राखेँ र संस्था खोल्ने कुरामा उहाँ तयार हुनुभयो । त्यसपछि सन् १९४७ को जनवरी महिनामा जुट्न सक्ने जति जुटेर हामीले ‘नेपाली राष्ट्रिय कांग्रेस’ नामको संस्था स्थापना गर्‍यौं । फेरि, यसभन्दा पहिले हामी जेल गइसकेपछि प्रजापरिषद्का सदस्यहरूबाहेक सरकारी इजाजतबिना स्कुल, सामाजिक संस्थाहरू खोलेको अभियोगमा जेल परेका अरू साथीहरूले जस्तो नेपाली कांग्रेसलाई कसैले पनि खिल्ली नउडाऊन् भन्‍ने विचारले मैले घोषणा–पत्र निकाल्ने कुरालाई प्राथमिकता दिनुपर्छ भनी सबै साथीहरूसँग अनुरोध गरेँ । जेलमा खिसी गर्ने साथीहरूले मलाई भन्थे, ‘हेर्नुहोस्, गणेशमानजी, तपाईंंहरूजस्ता युवकहरूलाई यो बाहुनले (टङ्कप्रसादलाई सङ्केत गर्दै) ठग्‍नुसम्म ठगेछ ।’ जवाफमा म भन्थेँ, ‘किन ठग्यो, ठगेको त केही पनि छैन, संस्थाको उद्देश्य प्रजातन्त्र ल्याउनु नै भएको हुनाले हामी सबै जना आफ्नोे राजीखुसीले त्यसमा सामेल भएका थियौं, यसमा कसैले फकाउने र ठग्‍ने प्रश्‍न नै उठ्दैन ।’ उनीहरू फेरि भन्थे, ‘ठगिसकेपछि त्यसो नभनी कहाँ सुख पाइन्छ र ! बडो संस्था खोलेको भन्छन्, सिङ न पुच्छर !’ अनि, म नदबी प्रश्‍न गर्थेंँ, ‘सिङ न पुच्छर भन्‍नुको अर्थ के हो ?’ उनीहरू भन्थे, ‘देशमा त्यतिका सपुतहरूको अनाहकमा प्राणसमेत जाने गरी कुन उद्देश्यका निम्ति संस्था खोल्नुभएको हो, त्यसको अर्थ यही हो ?’ मैले भनेको थिएँ, ‘प्रजातन्त्रको उद्देश्यका निम्ति’ । अनि, उनीहरूले खिल्ल हाँसेर भनेका थिएँ– तपाईंहरू ठगिनुभयो भनेको त्यही त हो । घोषणा–पत्र खोई त ?’ त्यसबेला केही मानिसले त्यसरी खिल्ली उडाएझैँ खिल्ली नउडाऊन् भन्‍ने विचारले मैले सबैभन्दा पहिले घोषणा–पत्र निकाल्नुपर्छ भनेर कराएको थिएँ । घोषणा–पत्र निक्ल्यो पनि । त्यसमा नेपाली राष्ट्रिय कांग्रेसको उद्देश्य (१) श्री ५ महाराजाधिराजको वैधानिक नायकत्वमा उत्तरदायी शासन स्थापना गर्ने, (२) शोषणविहीन सामाजिक व्यवस्था कायम गर्नेलगायतका उद्देश्यहरू थिए । उक्त घोषणा–पत्रअनुसार वाक–स्वतन्त्रता, संघ–संस्था खोल्न पाउने स्वतन्त्रता, विवेकको स्वतन्त्रता, काम र माम प्राप्त गर्ने स्वतन्त्रता, यी चार प्रकारका स्वतन्त्रताको प्रतीकको रूपमा चारतारे झण्डा पनि बनाइएको थियो । २००७ सालको क्रान्ति सम्पन्‍न भएपछि श्री ५ महाराजाधिराज त्रिभुवनबाट सोही बमोजिमको ‘अन्तरिम शासन विधान’ घोषणा पनि भयो ।

क्रान्तिपछि ‘नेपाली कांग्रेसको घोषणा–पत्रको प्रथम उद्देश्यबमोजिम प्रजातन्त्रलाई दीगो बनाउने मात्र होइन, दोस्रो उद्देश्यबमोजिम जनतामाथि पीरमर्का पारिराखेको शोषण प्रथालाई पनि बिस्तार–बिस्तारै समाप्त गर्दै लग्‍नुपर्छ र विशेषगरी हाम्रा छिमेकी राष्ट्रहरूसँग गाई–गङ्गा बराबरको व्यवहार गर्नुपर्छ, कसैले कुनै बखत पुनीत कार्यको निम्ति मद्दत गरेको थियो भन्दैमा देशको इज्जत र स्वतन्त्र अस्तित्वको कुनै ख्याल नगरी कसैको पिछलग्गू भई अर्को छिमेकी मित्रराष्ट्रलाई धोखा हुने काम पनि गर्नुहुँदैन’ भन्‍ने हाम्रो चाहना थियो । पार्टीभित्र यसैमा मतभेद सुरू भयो र पछि त पार्टीभित्र मात्र होइन, पार्टीभन्दा बाहिर क्रान्तिमा गद्दीको समेत बाजी राखेर सहयोग गर्ने व्यक्ति राजासम्म पनि यो मतभेद पुग्यो । अब पार्टीले घोषणा–पत्र र क्रान्तिको उद्देश्यअनुरूप काम नहुने देख्यो र कमसेकम इतिहासले दोष दिन नपाओस् भन्‍ने विचारले हामीले सरकारबाट राजीनामा दियौं । अनि पार्टीको अनुशासन नमान्‍ने तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद र उनका सहयोगी मन्त्रीहरूलगायतका व्यक्तिलाई पार्टीबाट निष्कासित गरी पार्टीमाथि आउनसक्ने दोषबाट पार्टीलाई अछूतो राख्‍ने प्रयास गर्‍यौँ । अरूको त के कुरा, स्वयं राजा त्रिभुवनले पनि उनीहरूलाई साथ दिएको देख्दा त्रिभुवनप्रति मेरो मनमा रहेको अगाध श्रद्धा र विश्‍वासमा समेत ठूलो आघात पुग्यो । र, मलाई लाग्यो, ‘आदर्शको निम्ति मर्नु जति त्यसलाई साकार बनाउन सजिलो हुँदो रहेनछ, त्यसमा अन्तसम्म टिकेर बस्‍न त्यति सजिलो हुँदो रहेनछ ।’

‘हामीले घोषणा–पत्रमा सरकारलाई वैधानिक शासकको रूपमा राख्‍ने विचार गर्‍यौँ, यसमा सरकारलाई कस्तो लाग्छ ? सरकारको मनसाय बुझ्‍न पाए हुन्थ्यो’ भनेर मैले राजा त्रिभुवनलाई खबर पनि पठाएको थिएँ । ‘अब आउने नेपालको प्रजातान्त्रिक व्यवस्थामा मलाई वैधानिक शासक पनि नबनाउने, मभन्दा पछिका मेरा सन्तानहरू के–कस्ता निस्केलान्, त्यसैले रिपब्लिकन (गणतन्त्र) नै किन नगर्ने ?’ भन्‍ने जवाफ राजाबाट मैले पाएको थिएँ ।

अनि, मेरो सामुन्‍ने राणा–शासनमा प्रजापरिषद्को आन्दोलनसम्बन्धी गतिविधिमा लागेको आरोपमा थुनिएका हामी थुनुवालाई केरकार गर्दा अति नै ज्यादती गरेको देखेर असह्य भई ‘यिनीहरूले मैले अह्राए बमोजिम काम गरेका हुन् भने यी व्यक्तिहरूको के दोष ? यी विचराहरूलाई दिने जे–जति सजाय छ, त्यो मलाई किन दिँदैनौ, साँच्चै भन्‍ने हो भने, मुख्य दोषी त गर्नेभन्दा पनि गराउने नै ठहरिन्छ’ भन्‍ने त्रिभुवनको त्यो उद्गार सम्झना आयो । त्यसपछि फैसलाको दिन, हामीलाई फैसला सुनाउनुभन्दा पहिले नेपालको इतिहासमा पहिलोपल्ट हामीहरूलगायत भाइभारदारहरू, जङ्गी–निजामती हाकिमहरू भेला गरेर हामीलाई दिएको सजायमा उनीहरूको समेत एक किसिमको स्वीकृति लिएको जस्तो देखिने गरी नाटक रचिएको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले हामीतर्फ देखाई त्यहाँ उपस्थित भाइभारदारहरूसँग ‘हिन्दुस्तानमा नीच जातिको सोसलिस्टसँग मिलेर हाम्रो स्थापित सरकारलाई पल्टाउने षड्यन्त्र गर्ने यी देशद्रोहीहरूलाई कुन किसिमको सजाय दिने हो ? भन्‍ने प्रश्‍न गरेपछि महाराजाधिराजतिर हेरेर ‘यिनीहरूलाई के गर्ने भन्‍नेमा अब सरकारबाट पनि हुकुम हुनुपर्‍यो’ भन्दा महाराजाधिराजबाट रातो मुख पारेर ‘के गर्ने ? मोर्डनाइज गर्ने ।’ भन्‍ने त्यो निर्भीक उद्गार आएको पनि म झल्झली सम्झन्छु । ‘प्रजापरिषद् राजनैतिक पार्टी भएको भए त्यस संस्थाको उद्देश्य प्रस्ट रूपमा खोलिएको घोषणा–पत्र हुनुपर्ने थियो, तसर्थ प्रजापरिषद्को नेपालको परम्परागत चलनबमोजिम एउटाको हातबाट शासन खोसेर अर्काको हातमा शासन सुम्पेर आफ्नो निजी स्वार्थसिद्ध गर्ने एउटा षड्यन्त्र मात्र थियो, संस्थाको उद्देश्य प्रस्ट रूपमा खोलिएको घोषणा–पत्र नहुनु नै यो राजनैतिक पार्टी होइन भन्‍ने प्रस्ट छ । यो एउटा दरबारिया षड्यन्त्र गर्ने पार्टी मात्र हो’ आदि राणाहरूका आरोपको जवाफ दिने हाम्रो त्यस पार्टीका तत्कालीन सभापति टङ्कप्रसादजीसित मैले जेलमा त्यसबारे पनि प्रश्‍न गरेको थिएँ । ‘होइन, गणेशमानजी, घोषणा–पत्र निकाल्न आँटेको मात्र थिएँ, त्यसैबखत सिंहदरबारमा घिसारेर ल्याइहाले । अरूले के–के भन्छन् के–के भन्दैनन्, कसको मुख कसले पो थुन्‍न सक्छ र ? तर, वास्तविकता यस्तो थियो, ‘हामीले घोषणा–पत्रमा सरकारलाई वैधानिक शासकको रूपमा राख्‍ने विचार गर्‍यौँ, यसमा सरकारलाई कस्तो लाग्छ ? सरकारको मनसाय बुझ्‍न पाए हुन्थ्यो’ भनेर मैले राजा त्रिभुवनलाई खबर पनि पठाएको थिएँ । ‘अब आउने नेपालको प्रजातान्त्रिक व्यवस्थामा मलाई वैधानिक शासक पनि नबनाउने, मभन्दा पछिका मेरा सन्तानहरू के–कस्ता निस्केलान्, त्यसैले रिपब्लिकन (गणतन्त्र) नै किन नगर्ने ?’ भन्‍ने जवाफ राजाबाट मैले पाएको थिएँ । त्यस्ता राजाले आफ्नोे हातमा शासन–सत्ता हत्याउनका निम्ति हामीलाई साथमा लिएको भन्‍नु कति उचित होला ? त्यसैले कागले कान लग्यो भन्दैमा कागको पछि दगुर्ने कि आफ्नोे कान छाम्‍ने ?’, मेरो प्रश्‍नको जवाफमा टङ्कप्रसादजीले राजाको सम्बन्धमा भन्‍नुभएको त्यो सम्झना पनि मसँग छ ।

यसका अतिरिक्त २००७ सालको क्रान्तिमा राणा–शासन समाप्त भएपछि राजा त्रिभुवनबाट जारी गरिएको अन्तरिम शासन विधानको मसौदा तयार हुँदा ‘क्रान्तिको सौजन्य गरेको नाताले हामीले सरकारलाई वैधानिक शासक बनाउने विचार गरेका छौं, त्यसमा सरकारबाट केही हुकुम हुन्छ कि ?’ भनेर जिज्ञासा राख्दा श्री ५ त्रिभुवनले ‘जनतालाई सक्दो बढ्ता अधिकार दिँदा म अति खुसी हुन्छु, मलाई त्यस विषयमा केही पनि भन्‍नु छैन’ भन्‍ने जवाफ बक्सेको सम्झना पनि मसँग छ । यस्ता अनेक सम्झनाहरू एकेक गरेर मूर्त रूपमा मेरो सामुन्‍ने आउन थाले । तर, त्यसभन्दा विपरीत राजा त्रिभुवनले पार्टी र क्रान्तिको लक्ष्यबाट विचलित हुन थालेको जमातलाई साथ दिन लागेको देख्दा मलाई माथि उल्लेख गरेझैँ ठूलो आघात परेको मात्र नभई, राजा त्रिभुवनप्रतिको मोह पनि भङ्ग भयो । 

यस सम्बन्धमा मेरो बयान क्रमशः दिने नै छु । आज बयान गर्न समयले नभ्याउँदा यहाँ स्थगित गरिएको ठीक छ । 

जवाफ नं. ८

उपरोक्त उल्लेखित बयान मैले भने अनुसार लेखिएको ठीक छ झूटो ठहरे कानुनबमोजिम बुझाउँला भनी सही गर्नेः

निज गणेशमान सिंह श्रेष्ठ...............................१

इति सम्वत् २०३४ जेष्ठ ९ गते रोज १ शुभम् ।



जवाफ नं. ९

जवाफ नं. ८ को जवाफ क्रमशः लेखाउँदै छु । 

तैपनि ‘क्रान्तिको लक्ष्यबाट देश विमुख हुँदैछ, सरकारले यस्तो देशघाती क्रमलाई रोकी नबक्सेको खण्डमा प्रजातन्त्र मात्र होइन, देशको स्वतन्त्र अस्तित्व पनि कायम रहलाजस्तो देखिँदैन’ मैले बेलामौकामा यस्तो भन्‍ने क्रम जारी राखेको थिएँ । तर, त्यो पनि फलदायी भएन । देशको स्थिति हरेक दृष्टिले झन्–झन् बिग्रिदैँ गयो । यही अवस्थामा श्री ५ महेन्द्रले शासन सम्हाल्नासाथ त्रिभुवनको पालामा खोसिएको न्यायालयको अधिकार पुनः स्थापना त भयो । तर, अर्कोतिर चुनाव गराएर देशको राजनैतिक समस्या निदान गर्नेतिर भने त्यति गहकिलो कदम उठाउने वातावरण देखिएन । तसर्थ, राजा त्रिभुवनको पालामा विरोध प्रदर्शनमा मात्र सीमित रहेको नेपाली कांग्रेसले चुनावको निम्ति देशव्यापी सत्याग्रह गर्न बाध्य हुनुपर्‍यो । त्यही सत्याग्रहको फलस्वरूप देशमा चुनाव हुने भयो । तर, २००७ सालको अन्तरिम शासन विधानअनुसार विधानसभाको चुनाव नगरी त्यसको सट्टा राजाबाट प्रदत्त संविधानको आधारमा ससंद्को चुनाव भयो । एकाध पार्टीबाहेक नेपाली कांगे्रससहित सत्याग्रहमा भाग लिने प्रायः सबैजसो पार्टीहरूले राजाबाट प्रदत्त सो संविधानको आधारमा हुने चुुनावको स्वागत गरे । त्यस बेलासम्ममा देशको स्थिति यति नाजुक भइसकेको थियो कि राजा र जनताबीच उत्पन्‍न भइरहेको फाटोलाई अझै बढ्न दिएको खण्डमा देशको अवनति मात्र हुन्थ्यो । तर, उक्त चुनावमा दुई तिहाई बहुमत ल्याएर विजयी भएको तथा राम्रो काम गरिरहेको नेपाली कांगे्रसको सरकारलाई १८ महिनामै निराधार र कपोलकल्पित आरोपहरू लगाएर सैनिक बलको आडमा भङ्ग गरियो । त्यसपछि फेरि देशको परिस्थिति २००७ साल भन्दाअघिको स्थितिमा पुग्‍न गयो र चुनावपछि टालिएको राजमुकुट तथा जनताबीचको फाटो पहिलेको भन्दा झन् उग्र रूपमा बढ्न थाल्यो । जेलबाहिर रहेका नेपाली कांग्रेसका मानिसहरूले प्रजातन्त्रको पुनःस्थापनाका निम्ति श्री सुवर्णशमशेरको नेतृत्वमा संघर्ष सुरू गरे । अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा नेपाली कांग्रेसको त्यो सङ्घर्ष सफल हुन सकेन । फलस्वरूप देशमा पञ्‍चायती अधिनायकवादी व्यवस्थाको स्थापना भयो । पञ्‍चायती संविधानमा केही मौलिक हकहरूको उल्लेख छ, तर कानुनद्वारा ती मौलिक हकमाथि पनि प्रतिबन्ध लगाइयो । ती हकहरू कार्यान्वयन हुन नपाउने अवस्था सिर्जना गरियो । त्यसकारण चाहे मौन बसेर होस्, चाहे जेल बसेर होस् वा चाहे सङ्घर्षमा सक्रिय रूपमा भाग लिएर होस्, जनताले पञ्‍चायती व्यवस्थाको विरोध गर्न जारी राखे । पुगनपुग आठ वर्षपछि हामी जेलबाट बिनासर्त छुट्यौँ ।

हामीलाई छोड्नुभन्दा अगाडि राजाबाट पञ्‍चायती संविधानमा लेखिएका मौलिक हकहरू बिस्तारै–बिस्तारै देशमा लागू गर्दै जाने र अन्तमा प्रजातान्त्रिक व्यवस्था फेरि कायम गर्ने आश्‍वासन पनि दिइएको थियो । राजाबाट बिस्तारै–बिस्तारै प्रजातन्त्रको पुनःस्थापना गरिने आश्‍वासन पाए अनुसार नेपाली कांग्रेसका तत्कालीन कार्यकारी सभापतिले राजालाई समर्थन गर्ने गरी सन् १९६८ को मई १५ तारिखका दिन दिनुभएको वक्तव्यको हामीले पनि समर्थन गरेका थियौं । राजा र हाम्राबीचमा यससम्बन्धी छलफल गिरिजाप्रसाद कोइरालामार्फत् भएको थियो । तर, राजाबाट त्यो आश्‍वासनअनुरूप कुनै काम पनि भएन र त्यस अवस्थामा हामीले पनि राजालाई साथ दिने कुरा रहेन । त्यस अवस्थामा हाम्रो निम्ति देशमा प्रजातन्त्र पुनःस्थापनाका लागि क्रान्ति गर्नुबाहेक अर्को कुनै बाटो नै बाँकी थिएन । त्यसैले विश्वेश्वरप्रसाद कोइरालाले अधिनायकवादी मुलुकमा गान्धीवाद चल्दैन, अब नेपालमा प्रजातन्त्र स्थापना गर्नका निमित क्रान्तिबाहेक अरू कुनै बाटो बाँकी रहेन भन्‍ने सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । तर, यसबीच पनि हामीले समस्या समाधानका लागि राजासँग सम्पर्क नराख्‍ने नीति लिएका थिएनौँ । र, हामीले बीच–बीचमा आफ्नोे तरिकाबाट राजा महेन्द्र र त्यसपछिका राजा वीरेन्द्र वीर विक्रम शाहदेवसँग पनि सम्पर्क राख्‍ने प्रयास जारी नै राख्यौं । तर, त्यसको पनि कुनै प्रतिफल निस्केन । त्यसपछि एक दिन गिरिजाबाबु म भएको ठाउँमा आउनुभयो र ‘तपाईंहरूले क्रान्तिको आह्वान गर्नुभएको हुँदा मानिसहरूले ठाउँ–ठाउँमा आफ्नै प्रयासबाट त्यसका निम्ति सङ्गठन गरिरहेका छन् । तिनीहरूमध्ये एकथरी मकहाँ सम्पर्क गर्न आएका छन् र मैले उनीहरूलाई सकेको मद्दत गर्ने आश्‍वासन पनि दिइसकेको छु । अब उनीहरू तपाईंसित भेट्न चाहन्छन् । तपाईंले एकपटक भेट दिनुपर्‍यो’ भन्‍नुभयो । मैले त्यसको जवाफ यसरी दिएको थिएँ, ‘हेर्नुहोस् गिरिजाबाबु, जहाँसम्म मैले सम्झेको छु, बीपी कोइरालाले क्रान्तिको आह्वान गर्नुभएको छैन, खाली तानाशाही मुलुकहरूमा गान्धीवाद चल्दैन मात्र भन्‍नुभएको छ । उहाँले नेपालको वर्तमान राजनैतिक सन्दर्भमा कस्तो क्रान्ति हुनुपर्छ भनेर क्रान्तिको एउटा थेसिस मात्र प्रतिपादन गर्नुभएको हो । साँच्चै भनौँ भने क्रान्तिको आह्वान उहाँ एकजना व्यक्तिले मात्र गरेर हुने पनि होइन, त्यो त पार्टीले नै गर्नुपर्छ । तर, अहिलेसम्म पनि त्यस थेसिसलाई पार्टीले समर्थन गरेको छैन । अर्को कुरा, फेरि यस्तो कुनै काम छिटपुट गर्नुको मतलब आफ्नोे शक्तिलाई कमजोर बनाउनु मात्र हुन्छ । बरू, देशव्यापी सङ्गठन बनिसकेपछि हुने क्रान्तिमा समावेश गर्नका निम्ति अहिले उनीहरूलाई बचाएर राख्‍नु उचित होला । उनीहरू तयार छन् भन्दैमा उनीहरूलाई व्यर्थमा फाँसीमा चढ्न पठाउनु हाम्रो धर्म होइन ।’ मैले यस्तो भन्दा गिरिजाबाबुले भन्‍नुभएको थियो, ‘आखिर २००७ सालमा पनि त त्यस्तै छिटपुट, सानोतिनो कामबाटै त्यत्रो क्रान्ति सम्पन्‍न भएको हो, त्यसबेला कांग्रेसका २०–३० जना मुक्तिसेनाका व्यक्तिले वीरगन्ज कब्जा गरेका थिए । अनि अरू विभिन्‍न ठाउँमा एकैसाथ क्रान्तिको सूत्रपात भयो र यस्तै सानातिना डफ्फाले त्यो क्रान्ति गरेको थियो । विराटनगरमा तपाईँहरू नै लाग्‍नुभएको थियो, उदयपुर कब्जा गर्न कृष्णप्रसादजी लाग्‍नुभएको थियो । त्यस्तै, अरू ठाउँमा पनि हाम्रा साथीहरू पार्टीको आदेशअनुसार लागेका थिए । काठमाडौँमा म आफैँ खटिएको थिएँ, सफल हुन सकिएन, त्यो अर्कै कुरा हो ।’

त्यसको अतिरिक्त मैले भनेको थिएँ, ‘त्यो तपाईंंले भन्‍नु भए बमोजिम सानो–सानो छिटपुट क्रान्तिको सूत्रपात पनि त कुनै एक व्यक्तिको आश्‍वासन वा एक व्यक्तिको निर्णयमा भएको थिएन नि ! त्यो त पार्टीको कार्यसमिति, पार्टीको सम्मेलन आदि बैठकबाट पारित भएको थियो । तपाईंले यस्तो कुरा किन सोच्‍नुभएको ? त्यसैले गिरिजाबाबु, २००७ सालको जस्तो देशव्यापी क्रान्ति गर्ने धारणाको म विरोधी होइन, तर यस किसिमको छिटपुट काम गर्ने कुरामा म सहमत छैन । किनभने यो त मिन्स अफ वेस्टेज अफ इनर्जी (शक्तिहीन हुने) मात्र हुन्छ ।’ मैले यस्तो भन्दा गिरिजाबाबुले अलिक झर्किएर भन्‍नुभयो, ‘सान्दाजु (विश्वेश्वरप्रसाद कोइराला) पनि त्यस्तै भन्‍नुहुन्छ, तपाईंं पनि त्यस्तै भन्‍नुहुन्छ, तपाईंंहरू रोक्नुहुन्छ । झापामा विचरा ढकालहरूको ज्यान गयो, साथै उनीहरूको ज्यान लिने व्यक्तिहरूले पनि बिनसित्ति आफ्नोे ज्यान गुमाए । साँच्चै भनौं भने तिनीहरू पनि पहिले मलाई भेट्न आएका थिए । मैले सोध्दा सान्दाजुले पनि तपाईंंले जस्तै यस्तो छिटपुट सानोतिनो आतङ्ककारी खालको कामले क्रान्ति हुँदैन, आतङ्क मात्र फैलिन्छ र हाम्रो उद्देश्य पूरा हुँदैन भन्‍नुभयो । उहाँले पनि तपाईंले जस्तै ‘बरू, हाम्रो देशव्यापी क्रान्तिको निम्ति सङ्गठन तयार भएपछि उनीहरूलाई पनि त्यसमा समावेश गर्नका निम्ति अहिले सम्झाएर आफ्नोे साथमा राखेर काम गर, कुनै हालतमा पनि छिटपुट एक्शनको निम्ति उनीहरूलाई उत्साहित नगर’ भन्‍नुभएको हुँदा मैले उनीहरूलाई त्यही किसिमले सम्झाउन त सम्झाएँ, तर उनीहरूको चित्त बुझेनछ भन्‍नुपर्‍यो । नत्र, उनीहरूले झापामा त्यो काण्ड गर्ने नै थिएनन् । यिनीहरू पनि ‘नक्सलाइट’ नबन्लान् भन्‍न सकिँदैन । जेहोस्, तपाईंं एकपटक उनीहरूले चाहेअनुसार उनीहरूसँग किन भेट गर्नुहुन्‍न ?’ गिरिजाप्रसादको भनाइ सुनिसकेपछि मैले भनेँ, ‘मैले भेट्नै नचाहेको होइन । मैले त केवल यस्तो सानोतिनो छिटपुट एक्शन गरेर आफूलाई शक्तिहीन बनाउने काम गर्नुहुँदैन पो भनेको त ! अर्को कुरा, मैले बुझेअनुसार कोइरालाजीले क्रान्तिको आह्वान गरेको होइन भन्‍ने मात्र तपाईंंलाई बताएको हुँ ।’ मेरो यो भनाइ सुनेपछि गिरिजाबाबु अत्यन्त खिन्‍न हुनुभयो र भन्‍नुभयो, ‘मैले उनीहरूलाई मनाउन सकूँला जस्तो छैन ।’ अनि मैले भने, ‘तपाईंलाई भनिसकेको छु, हामी क्रान्तिका विरोधी होइनौँ, यस्तो छिटपुट एक्सन गरेर हाम्रो शक्ति घटाउने काम नगरौँ भनेका मात्र हौँ ।’ मैले फेरि भनेँ, ‘होइन गिरिजाबाबु, उनीहरूलाई पनि गुमाउनु नपर्ने एउटा काम गरौँ, उनीहरूलाई चित्त बुझ्‍ने खालको कुनै काम राजाबाट गराउन सकेको खण्डमा उनीहरू हाम्रो साथमा रहँदैनन् र ?’
त्यसपछि गिरिजाबाबुले भन्‍नुभयो, ‘यस्ता खालको काम राजाबाट गराउन सक्नुहुन्छ र ? त्यस्तो कुनै काम गर्ने खालको राजा भइदिएको भए सान्दाजुले देशमा परिवर्तनको निम्ति केही सुझावहरूसहितको विचार प्रकट गरेर उहाँलाई समवेदना पठाउँदा समवेदना–पत्रको जवाफ सान्दाजुलाई सोझै नलेखे पनि कमसेकम अरूलाई, जस्तोः रेडियो र अखबारमार्फत् भए पनि त्यो प्राप्त भएकोे सूचनासम्म पनि दिइएन भने अब तपाईंं अहिलेको राजाबाट के गराउन सकूँला भन्‍ने आशा गर्नुहुन्छ ?’ मैले भनें, ‘त्यो त हो, कोइरालाजीले जवाफ पाउनुभएन । तर, अब मैले एकपटक कोसिस गर्दा के नोक्सानी हुन्छ र ? त्यसैले म तपाईंलाई अनुरोध गर्दछु, जसो गरेर भए पनि उनीहरूलाई अहिले रोकेर राख्‍नुहोस् ।’ मैले यसो भन्दा गिरिजाबाबुले ‘एक–दुई महिनासम्म उनीहरूलाई आलटाल गरेर रोक्न सक्छु होलाजस्तो मलाई लाग्छ । म कोसिस गर्छु । ठीक छ, तपाईंं प्रयास गर्नुहोस्, हेरौँ, तपाईं कतिसम्म सफल हुन सक्नुहुन्छ ।’ अनि, मैले भनें, ‘हेर्नुहोस् गिरिजाबाबु, स्वर्गीय राजाको समयमा दरबारसँग नजिक भएको मेरो एउटा साथी छ । अहिलेका राजासित उनको कतिको आवत–जावत छ, त्योचाहिँ मलाई थाहा छैन । तर, उसलाई एकपल्ट बोलाएर राजाकहाँ मेरो कुरा पुर्‍याउने प्रयास गर्दा के हानी हुन्छ र ? किनभने, त्यो मानिस हाम्रो हितैषी हो, उसले आफूले सक्ने प्रयास अवश्य गर्छ । कथंकदाचित् त्यो काम गर्न सकेन भने पनि हामीलाई धोखा त कुनै हालतमा पनि दिँदैन ।’ मैले यस्तो भन्दा गिरिजाबाबुले भन्‍नुभयो ‘त्यसको त मैले कहाँ विरोध गरेको छु र, प्रयास गर्नुहोस् ।’ 

त्यसपछि मैले त्यो मानिसलाई गोरखपुरमा बोलाएँ र भनेँ ‘अहिले देशमा कोइरालाजीले क्रान्तिको आह्वान गर्नुभयो भन्‍ने गलत अर्थ लगाएर ठाउँठाउँमा आफ्नो तरिकाबाट सङ्गठन गरेर क्रान्तिको नाउँमा केही न केही सानोतिनो एक्शन गर्न मानिसहरू उद्यत भएका छन् । झापामा धर्मप्रसाद ढकालको हत्या पनि त्यस्तै खालका मानिसहरूबाट भएको हो । त्यस्तै खालका विभिन्‍न ठाउँका मानिसहरू गिरिजाबाबुसँग केही न केही हिंसात्मक कारबाही (भ्वाइलेन्ट एक्शन) गर्ने कुरा गर्न समूह–समूहमा आइरहेका छन् । उनीहरूलाई पनि ढकालकाण्ड गर्नेहरूलाई जस्तो निराश बनाएर पठाइयो भने त्यस्तै खालका काममा नलाग्लान् भन्‍न सक्दिनँ । त्यसो हुनाले अब देशमा यस किसिमको काम हुन नदिने हो भने त्यसलाई रोक्न अब एक जना व्यक्ति मात्र समर्थ छन्, त्यो को हो भने, स्वयं राजा वीरेन्द्र । किनभने, हामीले उनीहरूलाई रोक्न खोजे पनि झापामा ढकालकाण्ड गर्नेहरूले जस्तै त्यस्ता पार्टीमा लागेर उत्पात नमच्चाउलान् भन्‍ने कुनै ग्यारेन्टी छैन । मेरो विचारमा त्यस्तो काण्डबाट देशलाई ठूलो नोक्सान हुन्छ । मैले यो कुरा राजालाई धम्की दिएर, आफ्नोे कुनै स्वार्थसिद्ध गर्न खोजेर भनेको पनि होइन । यो मेरा बिन्ती–पत्र पनि होइन । यो त केवल देशमा हुन लागेको सम्भावित खतराहरूको यथार्थ तथ्य मात्र मैले जाहेर गर्न खोजेको हुँ । मैले यस्तो सानोतिनो घटनाबाट देशमा कुनै किसिमको नोक्सानी हुनु उचित नठानेकोले एक देशभक्तको नाताले यो यथार्थ राजासमक्ष पुर्‍याउन खोजको मात्र हो । त्यसो हुँदा मेरो विचारमा अहिले कम्तीमा पनि राजा महेन्द्रसित भएको समझदारी (अन्डरस्टाडिङ्ग) अनुसारको माग राजाले पूरा गरिदिएको खण्डमा यस्ता घटनाहरू सायद रोकिन जान्छ, नत्र अब देशमा यस्ता किसिमका घटनाहरू अवश्य पनि हुँदै जानेछन् । सुवर्णजीमार्फत् अहिलेका राजासम्म हाम्रो माग तपाईंले पुर्‍याइसकेको हुँदा त्यो तपाईंलाई थाहा नै होला । पञ्‍चायती संविधानमा पनि उल्लेख भएको तर अहिले वास्तवमा प्रशासनले रोकेको छ भन्‍ने बहानामा राजाबाट समेत विभिन्‍न ऐनद्वारा रोकिएका मौलिक अधिकारहरू देशमा पाउनुपर्छ भन्‍ने हाम्रो माग हो । ती मौलिक अधिकारहरूलाई निर्बाध फुकुवा गरिदिनुपर्‍यो । दोस्रो, राष्ट्रिय पञ्‍चायतको चुनाव बालिग–मताधिकारको आधारमा गरिनुपर्‍यो । तेस्रो, आममाफी पाउन जे–जति अझै बाँकी छन् उनीहरूले पनि आममाफी पाउनुपर्‍यो । चौथो, आजसम्म ०१७ सालदेखि छुटकारा नपाई जेलमा त्यसै सडिरहेका राजनैतिक बन्दीहरूलाई छोड्नुपर्‍यो । पाँचौं, आममाफी पाएकाहरूको सम्पत्ति फिर्ता गरिनुपर्‍यो । अहिलेलाई यति कुरा राजाबाट भइदिएको खण्डमा सायद देशको धमिलिँदै गएको राजनीतिलाई सम्हाल्न सकिएला कि ! तपाईंले यो काम राजाबाट गराउन सक्नुहुन्छ ?’ 

मैले यसरी सोध्दा उनले भने, ‘म त्यसको ग्यारेन्टी तपाईंलाई दिन त सक्दिनँ, तर यो तपाईंको कुरा श्री ५ को जुनाफमा पुर्‍याउनसम्म सक्छु ।’ 

मैले भनेँ ‘ठीक छ ! तपाईंले यति काम गरिदिनु भयो भने राम्रै हुन्छ । तर, यो कुरा तपाईंं, म र राजाबाहेक कसैलाई पनि थाहा हुनुहुँदैन ।’ 

उनले भने, ‘म यो कुरा राजासमक्ष पर्‍याइदिन्छु, अरूलाई किन भन्छु र ! त्यसैले यो कुरा म राजाबाहेक अरू कसैलाई भन्दिनँ, तपाईं यसमा निर्धक्क हुनुहोस् ।’

देशको इतिहास नै बनिसकेको वा बन्‍ने त्यस्तो कुरालाई आफ्नोे जिम्मेवारीबाट पन्छिन खोजेर वा आफूले गर्दै नगरेको र गर्न पनि नचाहेको कामको निम्ति कसैले अनुचित बढी श्रेय दिएर कसैलाई बेलुन फुकेझैँ फुलाउन खोज्यो भने आफू पनि त्यसरी फुल्न खोजेर इतिहासलाई बङ्ग्याउन खोज्‍नु कमसेकम नेपालको राजनीतिमा ठूलो जिम्मेवारी बोकेर हिँड्ने मानिसका निम्ति कुनै हालतमा पनि उचित हुँदैन । त्यसैले वास्तविक तथ्य प्रस्तुत गरेर इतिहासलाई सही स्थानमा राख्‍न खोजेको हुँ

त्यसपछि दिनहरू बित्दै गए । बीच–बीचमा गिरिजाबाबुले मसँग ‘खोई केही जवाफ आयो कि भनेर सोध्ने पनि गर्नुहुन्थ्यो । म पनि काठमाडौं भएका निज मेरो साथीलाई सोध्थेँ । पछि, एकदिन उनीबाट जवाफ आयो ‘मैले माथिबाट आजसम्म पनि तपाईंका कुराहरूको कुनै जवाफ पाएको छैन । त्यसैले तपाईंकहाँ रित्तो किन आउनु भनेर नआएको हुँ, तपाईं मलाई गलत नसम्झिनु होला ।’
मैले गिरिजाबाबुलाई त्यहीअनुसार काठमाडौंबाट त यस किसिमको जवाफ पो आयो भन्‍ने खबर गरेँ । अनि, गिरिजाबाबुले गोरखपुरमा मकहाँ आएर भन्‍नुभयो, ‘मैले उनीहरूसँग अहिलेसम्म आलटाल गरिरहेँ, तर अब उनीहरू मबाट एकदम निराश भएको जस्तो देखिन्छ । अब चाँडै नै उनीहरू भित्र पस्‍ने तर्खरमा छन् । त्यसैले मेरो विचारमा उनीहरूलाई चिढ्याउनु मुनासिब हुँदैन र तपाईंले पनि उनीहरूलाई एकपटक भेट्नु राम्रो हुन्छ । त्यसैले तपाईं फलानो दिन पटना पुग्‍नुहोस् ।’

गिरिजाबाबुले भनेको दिन म पटना पुगेँ । र, त्यही प्रस्तावबाट क्याप्टेन यज्ञबहादुर थापासित मेरो चिनाजानी गिरिजाबाबुमार्फत् भएको हो ।

उनलाई मसित परिचय गराउँदा गिरिजाबाबुले भन्‍नुभयो, ‘उहाँ ०१७ सालमा गरेको पापको प्रायश्‍चित गर्न चाहनुहुन्छ । त्यसैले अब नेपाली कांग्रेसबाट क्रान्तिको आह्वान भयो भने त्यसमा सहयोग गर्नुपर्छ भनेर उहाँहरू मकहाँ आउनुभएको हो । मैले उहाँहरूलाई तपाईंले भने अनुसार नै नेपाली कांग्रेसले त होइन, सान्दाजुले चाहिँ व्यक्तिगत रूपमा ‘अब नेपालमा परिवर्तन ल्याउनका निम्ति क्रान्तिबाहेक अर्को कुनै बाटो छैन भन्‍ने सिद्धान्तको प्रतिपादन गर्नुभएको हो । क्रान्तिको आह्वान गर्नुभएको होइन’ भनेर राम्ररी सम्झाएको छुु । त्यसैले अब उहाँहरू पनि सानातिना ‘एक्शन’ गर्ने पक्षमा हुनुहुन्‍न । तर, विदेशमा बसेर नेपालभित्र क्रान्ति गर्ने कुरामा भने उहाँहरू सहमत हुनुहुन्‍न । त्यसैले उहाँहरूले आफ्नै मुलुकभित्रको कुनै ठाउँमा आफ्नोे राजनैतिक आधार बनाएर त्यहीँबाट क्रान्तिको सूत्रपात गर्ने निधो गर्नुभएको हो । मैले पनि ‘ठीक छ’ भनेँ । तपाईंहरूले देशभित्र नै कुनै राजनैतिक आधार इलाका कायम गर्न सक्नुहुन्छ भने गर्नुहोस् भनेर मैले पनि सहमति दिएको छु ।’ 

अनि मैले भनेँ, ‘उहाँहरूले राजनैतिक आधार इलाका बनाउन लाग्दा नेपाल सरकार त्यसै टुलुटुलु हेरेर बस्ला र ?’ जवाफमा गिरिजाबाबुले भन्‍नुभयो, ‘होइन कथंकदाचित् त्यस प्रक्रियामा कसैसित मुठभेट (Confrontation) हुन गयो भने उहाँहरू त्यसको बचाउमा मुकाबिला गर्न पनि तयार हुनुहुन्छ र उहाँहरूले मलाई कुनै हालतमा पनि अर्घेलो भएर नेपाल सरकारसँग जोरी नखोज्‍ने वचन दिनुभएको छ । पहिले त उहाँहरूको जोरी खोज्‍ने नै विचार थियो, तर अहिले मैले ‘कुनै हालतमा पनि नेपाल सरकारसँग जोरी खोजेर आफ्नोे भएको शक्तिलाई क्षीण गर्नु उचित हुँदैन, बरू त्यसलाई देशव्यापी क्रान्ति हुँदाका निम्ति सँगालेर राख्‍नुहोस्’ भनेर राम्ररी सम्झाएको छु । उहाँहरूले अब चित्त बुझाउनुभएको छ । भोलि अरूलाई पनि भेटेर तपाईंले बिदा गरिदिनुपर्‍यो ।’

त्यसको भोलिपल्ट क्याप्टेन यज्ञबहादुर थापा र उहाँका अरू साथीहरूसित दरभङ्गामा भेटघाट गरेर उहाँहरूलाई बिदावारी पनि गरेको थिएँ । मेरो जिम्मेवारी भेट्ने र बिदावारी गर्ने सम्ममा सीमित थियो । आरोप लगाइएको भनेर सुनाइएको अरू विषयमा मलाई केही थाहा छैन । ती विषयहरूमा गिरिजाबाबु र अरूहरूले मलाई केही भन्‍न पनि भनेनन् । र, मलाई उनीहरूले नभनेका कुनै कुराहरू मैले पनि खोतलेर सोधिनँ । उनीहरूसँग भेट्ने र बिदा गर्नका लागि मात्र गिरिजाबाबुले मलार्ई बोलाउनुभएको थियो । त्यो मैले माथि भनिसकेको छु । आफ्नोे जिम्मेवारीबाट पन्छिनका निम्ति मैले अदालतको सामुन्‍ने यस किसिमको बयान दिएको पनि होइन । किनभने हामीले त इतिहासको न्यायालयमा पनि खडा हुनुपर्छ । 

देशको इतिहास नै बनिसकेको वा बन्‍ने त्यस्तो कुरालाई आफ्नोे जिम्मेवारीबाट पन्छिन खोजेर वा आफूले गर्दै नगरेको र गर्न पनि नचाहेको कामको निम्ति कसैले अनुचित बढी श्रेय दिएर कसैलाई बेलुन फुकेझैँ फुलाउन खोज्यो भने आफू पनि त्यसरी फुल्न खोजेर इतिहासलाई बङ्ग्याउन खोज्‍नु कमसेकम नेपालको राजनीतिमा ठूलो जिम्मेवारी बोकेर हिँड्ने मानिसका निम्ति कुनै हालतमा पनि उचित हुँदैन । त्यसैले वास्तविक तथ्य प्रस्तुत गरेर इतिहासलाई सही स्थानमा राख्‍न खोजेको हुँ । मैले यसो भन्‍नुको अर्थ यज्ञबहादुर थापाजीको नियतमाथि शङ्का गरेको पनि होइन ।

जवाफ नं. १०

उपरोक्त उल्लेखित बयान मैले भने अनुसार लेखिएको ठीक छ झूटो ठहरे कानुनबमोजिम बुझाउँला भनी सही गर्नेः

निज गणेशमान सिंह श्रेष्ठ................................१

इति सम्वत् २०३४ जेष्ठ १० गते रोज २ शुभम् ।



 

प्रकाशित: २६ मंसिर २०७८ १५:३८ आइतबार

चेतलुङ
चेतलुङ