२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
चिन्तन महिला

भाषिक दृष्टिले साहित्यमा नारी

भाषिक दृष्टिले साहित्यमा नारी
तस्बिर सौजन्‍यः महेन्द्र ओझा/एन.एस.टेलिभिजन

विषयारम्भ

साहित्यलाई लिएर गरिने बहस तथा छलफलहरूमा अधिकांशतः साहित्यको विषयवस्तु र यसको समसामयिकतालाई केन्द्र बनाइने गरेको पाइन्छ । भाषामा नै केन्द्रित भएर र अझ नारीकेन्द्रित साहित्यिक भाषालाई लिएर साहित्यको बहस कमै मात्र हुने गर्दछ । साहित्यमा विषयवस्तु जति महत्त्वपूर्ण हुन्छ, भाषा पनि त्यति नै महत्त्वपूर्ण हुन्छ ।

साहित्यलाई अन्य विषयबाट पृथक् देखाउने र विशिष्ट बनाउने पक्ष भनेकै भाषाशैली हो । यसैले पनि साहित्यको बहसमा भाषाको बहस हुनु पनि जरुरी देखिन्छ । साहित्यमा प्रयोग हुने भाषालाई विभिन्‍न कोणबाट अध्ययन विश्लेषण गर्न सकिन्छ । भाषा अभिव्यक्तिको माध्यम त हो नै, यो सामाजिक जीवनलाई गतिशील बनाउने माध्यम पनि हो । कुनै पनि व्यक्ति वा समुदायले प्रयोग गर्ने भाषामा उसको संस्कृति, संस्कार र सोचको समेत प्रतिबिम्वन भएको हुन्छ ।

भाषाले प्रयोगकर्ताको शिष्टता, बौद्धिकता र सभ्यताको परिचय दिनुका साथै जाति, लिङ्ग, स्थानीयता, क्षेत्रीयता, पेसा आदिको समेत सङ्‍केत गरेको हुन्छ । यसरी साहित्यको भाषामाथि केन्द्रित भएर लेखिएको यस कार्यपत्रमा साहित्यमा प्रयोग गरिने भाषाले नारीलाई कस्तो रूपमा उभ्याएको छ त ? भन्‍ने जिज्ञासाको उत्तर खोज्‍ने प्रयास गरिएको छ ।

यसक्रममा सिधै साहित्यमा मात्र केन्द्रित नभई साहित्यमा प्रभाव पार्ने प्रभावक तत्त्वहरूका भाषिक पक्षलाई पनि विवेचना गरिएको छ । सम्प्रेषणको माध्यम मात्र नभई संस्कृतिको प्रतिबिम्वनका रूपमा भाषा, समाजले नारीमाथि गर्ने भाषिक व्यवहार, नेपाली साहित्यमा नारीहरूको भाषिक स्थिति, साहित्यिक भाषाले उभ्याएको नारी तस्बिर, भाषिक हिंसामा नारी, नारीमाथि प्रयुक्त भाषाको भाष्य, शब्दकोशको अर्थमा लैङ्‍गिक विभेद, सार्वजनिक सम्बोधनमा भाषिक विभेद र अबको साहित्यमा प्रयोग गरिने भाषाको अपेक्षाजस्ता विविध पक्षमा आधारित रही प्रस्तुत कार्यपत्र तयार गरिएको छ ।

भाषाः माध्यम होइन, संस्कृति हो

भाषा मूलतः अभिव्यक्तिको माध्यम वा विचार सम्प्रेषणको माध्यम हो । साथमा यसले संस्कृतिलाई पनि सम्प्रेषण गरिरहेको हुन्छ । संस्कृतिले नै भाषा र अर्थको उत्पादन गर्छ । त्यसको वितरण र प्रसारण पनि गर्दछ । त्यसैले भाषासँगै संस्कृति पनि जोडिएर आएको हुन्छ । संस्कृति मानवीय जीवनशैलीको प्रकटीकरण हो ।

संस्कृति मूर्त र अमूर्त हुन्छन्, परम्परित र निर्मित हुन्छन् । अमूर्त संस्कृति विचार, दर्शन, सौन्दर्य, आस्था, विश्‍वास, शिक्षा आदिका रूपमा भाषाका माध्यमबाट प्रस्तुत भएको हुन्छ ।हाम्रो संस्कृति पितृसत्तात्मक समाजद्वारा निर्मित संस्कृति हो । समाजशास्त्री ग्राम्चीले बल र दबावको प्रयोग नगरीकनै आफ्नो प्रभुत्व र मान्यतालाई स्थापित गराइरहन चाहने शासकहरूबाट शासित हुन तयार भएको अवस्थालाई ‘प्रभुत्व’ भनेका छन् ।

यस्तै प्रभुत्वको प्रयोग गरेर पितृसत्ताद्वारा जे-जस्तो संस्कृतिको निर्माण गरियो त्यसैअनुरूपको भाषा स्थापित भयो । समयको लामो कालखण्डसम्म आफैलाई उपेक्षा गरिएको, निरीह र कमजोर देखाइएको भाषा र संस्कृतिलाई नारीले चुपचाप आत्मसात् गरिरहेको यथार्थलाई पनि प्रभुत्व मान्‍न सकिन्छ ।

जोन स्टुअर्ट मिलले भनेजस्तै नारीमाथिको पुरुषको सत्ता अन्य सत्ताभन्दा फरक यसकारण भयो कि, विनाविरोध नारीहरूले नै यसलाई स्विकारिरहे तर जब उनीहरू शिक्षित र सचेत हुन थाले तब मात्र उनीहरूले थाहा पाए- नारीहरू कसरी शासित र शोषित भएका रहेछन् । वास्तवमा अर्थको निर्धारण र सत्यको निर्माण समाजमा त्यसले मात्र गर्न सक्छ जोसँग सत्ता र शक्ति हुन्छ ।

त्यसैले हाम्रो संस्कृतिले शक्ति र सत्ताको बागडोर लिएकोे पुरुषलाई प्रभुत्वशाली र नारीलाई सीमान्तीकृतका रूपमा प्रस्तुत गरेको छ । यस कुरालाई तलको कथांशले पुष्टि गर्दछः

हामी आइमाईहरू खाली लोग्‍नेमान्छेकै लागि मात्र हुनुपर्ने ? लोग्‍नेले छोड्दा छोडिने, परचक्रीले जबर्जस्ती हाम्रो इच्छाविरुद्ध घिसारेर लग्यो, हात समात्यो भने अर्काले छोएकी भनेर आफ्ना लोग्‍नेबाट त्यागिनुपर्ने, हामीले सारा इच्छा, आकाङ्‍क्षा, शरीर श्रम सबै लोग्‍नेका लागि अर्पण गरेर पनि हामी उनीहरूका प्रेमका पूर्ण अधिकारी हुन नपाउने, लोग्‍नेले जतिवटै आइमाई पनि छानीछानी स्वास्‍नी पार्न पाउने, आइमाईले बलिया लोग्‍नेमान्छेले चिताएपछि त्यसकी हुनुपर्ने, स्वास्‍नी मर्दा लोग्‍ने फुक्का हुने, लोग्‍ने मर्दा हामी उनीहरूको मुढोसँग जिउँदै जल्नुपर्ने । यो कस्तो थिति (कृष्ण धरावासी, झोला) ?

संस्कृतिका रूपमा व्यवहृत हुँदै आएका (केही लोप भइसकेका समेत) सती प्रथा, विधवा प्रथा, दाइजो प्रथा, छाउ प्रथाजस्ता प्रथाहरू र संस्कृतिका नाममा नारीमाथि बनाइएका रीतिरिवाज, अङ्‍कुश र आरोपहरूबारे बनेका भाषा र भाष्यहरूले पुरुषकेन्द्री संस्कृतिलाई प्रतिबिम्वन गरेका छन् ।

यस्तै सिन्दुर हाल्नु, गोत्र फेर्नु, कन्यादान दिनु, भुँडी बोक्नु, दुई जिउकी हुनु, सिन्दुर पुछिनु, कोख बाँझो हुनु, चुरा फुट्नु, घर खानु, कुनामा बस्‍नु, ऐना हेर्नु, भण्डार देखाउनु, बिटुली हुनु... जस्ता सांस्कृतिक सन्दर्भहरूले पनि पुरुषको केन्द्र शक्तिसँग र महिला उसका लागि सहयोगीका रूपमा हुने मान्यताभित्र नेपाली समाज र सांस्कृतिक सन्दर्भको आधार बनेको देखिन्छ (शर्मा, २०७७ः ४४४) । यसरी सांस्कृतिक भाषाले प्रस्तुत गरेको नारीबिम्ब र मान्यतालाई आजको शिक्षित भनिएको समुदायले ‘महान् संस्कृति’ का रूपमा लिनु झनै बिडम्वना हो ।

त्यस्तै, भारतीय साहित्यकार महादेवी बर्माले भनेकोजस्तो समयको अनवरत प्रवाहमा ठूलाठूला साम्राज्यहरू बिलाए, कैयौँ संस्कृतिहरू लोप भए, कैयौँ जातिहरू हराएर गए, संसारमा अनेक असम्भव परिवर्तनहरू सम्भव भए तर पितृसत्ताले नारीमाथि बनाएको जुन सांस्कृतिक चित्र छ, त्यो आज पनि उस्तै छ ।

समाजको भाषिक व्यवहार र नारी

समाज नै साहित्यको स्रोत हो । समाजका विविध यथार्थहरूको प्रस्तुतीकरण साहित्यमा हुनेभएकाले साहित्यमा प्रवेश गर्नुअघि नारीप्रति गरिने समाजको भाषिक व्यवहारको चर्चा गर्नु सान्दर्भिक हुन्छ । नारी र पुरुष जैविक अर्थात् प्राकृतिक रूपमा मात्र पृथक् हुन् । त्यसैले ती जैविक पृथकतालाई बुझाउने भाषिक व्यवहारलाई प्राकृतिक नै मान्‍नुपर्छ ।

यसरी प्राकृतिक पृथक्ताभन्दा अगाडि गएर सांस्कृतिक रूपमा गरिएका विभेदप्रति भने सहमत हुन सकिँदैन । पितृसत्ताले बनाएको आफूअनुकूलको संस्कृति र त्यस संस्कृतिले निर्माण गरेको भाषा लैङ्‍गिक रूपले विभेदकारी देखिन्छन् । जसरी हाम्रा सांस्कृतिक मूल्य मान्यताले पुरुषलाई पहिलो दर्जाको सर्वश्रेष्ठ बनाएको छ र नारीलाई दोस्रो दर्जाको सहायक बनाएको छ, त्यसैगरी भाषिक संरचनाको निर्माण र भाषिक व्यवहारको प्रयोग गरिएको छ ।

पुरुषलाई गरिने सम्बोधन र व्यवहारहरू विशिष्ट हुन्छन् भने नारीलाई सम्बोधन गरिने शब्द पुरुषसँग जोडिएर आएका हुन्छन् । जस्तै श्रीमान्-श्रीमती, पण्डित-पण्डित्‍नी, सञ्‍चालक-सञ्‍चालिका, मालिक-मालिक्नी, ढकाल-ढकाल्नी आदि । यसरी पुलिङ्‍गी शब्दमा अधीनस्थ भएर स्त्रीलिङ्‍गी शब्दको प्रयोग भएको पाइन्छ । केही समयअघिसम्म त नारीको आफ्नो नामसमेत नभएको स्थिति देखिन्छ । फलानाकी छोरी, फलानाकी स्वास्‍नी र फलानाकी आमा सम्बोधनमा नै नारीको जीवन समाप्त हुन्थ्यो ।

समाजको भाषिक व्यवहारमा प्रयोग हुने उखान-टुक्का आदिमा पनि भाषिक विभेद गरिएको पाइन्छ । ‘बुद्धिमता किसिमले सत्य र नैतिक शिक्षा प्रकट हुने सूत्रात्मक अभिव्यक्ति’ भनेर अर्थ्याइएको उखानमा पनि पुरुषलाई पौरखी, मर्द, साहसीका रूपमा चित्रण गरिएको हुन्छ भने नारीलाई उपेक्षा र अपमानित किसिमले प्रस्तुत गरिएको हुन्छ ।

जस्तैः मर्दकी दशवटी, छोरा भए बुहारी कतिकति, ढिलो होस्, छोरै होस्, ज्यातिषीको छोरी राँड, बैद्यकी छोरी गलगाँड, घर बिग्रन्छ राँडले भात बिग्रन्छ माडले, भाग्यमानीका भैँसी बर्सौटे अभागीका स्वास्‍नी बर्सौटे, हुप(आँट) बिनाको छोरो र रूपविनाकी छोरी, अँगारभन्दा काली दश ठाम्मा टाली, अनुहार न दनुवार पोइ खोज्‍न थालीजस्ता अनेकौँ उखानहरूले हाम्रो समाजको सोच र त्यसले नारीमाथि गर्ने भाषिक व्यवहारलाई देखाउँछ ।

छोरी मान्छेलाई ‘अर्काको घरमा जाने जात, अर्काको कर्म खाने जात’ भनेर भनिन्छ । छोरीको ‘कन्यादान’ दिइन्छ । ‘मारे पाप, पाले पुण्य’ भनेर अपरिचितसँग पठाइन्छ । लोग्‍नेले गरेको हिंसालाई ‘परालको आगो’ भनेर छोपिन्छ । लोग्‍ने मरे ‘विधवा’ बनाइन्छ । निःसन्तान भए ‘बाँझी’ भनेर दुत्कारिन्छ । कतै ‘कमलरी’ बस्‍न पठाइन्छ, कतै ‘देउकी’ बनाएर राखिन्छ । जोबन सुम्पने, अस्मिता लुटिने, बलात्कृत हुने, बेश्या हुने, अलच्छिना हुने, बोक्सी हुने, छाउ बार्ने, कुलङ्गार हुनेजस्ता पदावलीसँग जोडिएर आएका अर्थहरू सांस्कृतिक अर्थ हुन् ती अर्थहरू पितृसत्ताले बनाएका भाषिक व्यवहार हुन् ।

अधिकांश नारी-स्रष्टाका लेखनले पितृसत्तात्मक एकाधिकारमाथि असहमति देखाए पनि त्यसबाट फड्को मार्न नयाँ धारको विकास गर्न सकेको भने देखिँदैन ।

यी पदावलीहरूले नारीको आत्मसम्मान, आत्मविश्‍वास र स्वतन्त्रतामाथि प्रहार मात्र गरेका छैनन्, नारीलाई कमजोरसमेत बनाएका छन्, तर पुरुषको हकमा भने यस्ता कुनै पनि नकारात्मक प्रभाव पार्ने र उनीहरूको व्यक्तित्व र चरित्रमा आँच आउने शब्दको प्रचलन पाइँदैन । संस्कृतिका आडमा निर्मित यस्ता भाषिक व्यवहारले समाजमा नारीलाई दोस्रो दर्जाका रूपमा उभ्याउन सहयोग गरेको छ र यस्ता भाषिक पक्षको पुनर्व्याख्‍या गरिनुपर्ने आवश्यकता छ ।

औपचारिक सभा, गोष्ठी, सेमिनार, कार्यक्रम र लेखन आदिमा भाषाका यस्ता प्रयोगहरू नभए पनि अनौपचारिक रूपमा गरिने भाषिक व्यवहारमा यस्ता शब्दको प्रयोगले निरन्तरता पाइरहेकै देखिन्छ । इज्जत लुटियो, अस्मिता खोसियो, जोबन सुम्पियो जस्ता भाषा नारीका लागि मात्र प्रयोग हुन्छन्, पुरुषको त कहिल्यै पनि केही खोसिँदैन । पोइला गएको कुरा विकराल हुन्छ तर पोइले ल्याएको कुरा सामान्य हुन्छ । सुशील र सहनशील हुनु राम्रो कुरा हो तर नारी मात्र हुनुपर्छ र पुरुषचाहिँ नभए पनि हुन्छ भन्‍नु गलत हो ।

पितृसत्तात्मक समाजको उदय भएदेखि नै महिलामाथि विभेदयुक्त भाषिक व्यवहार गरिएको भए पनि महिला स्वयं चुपचाप त्यसप्रकारको भाषा प्रयोग गर्न बाध्य भइरहे । सत्ता र शक्तिले जुन कुरालाई स्थापित गरिदियो उनीहरूले त्यसैलाई सत्य मानिरहे । यसमाथि कुनै आँच नआओस् भनेर नारीले वेद पढ्न हुँदैन, अर्काको घर जाने जातले पढ्नै पर्दैन भनेर महिलालाई घरभित्रै बन्दी बनाइरहँदा यस्तो भाषिक व्यवहारले झन्झन् प्रोत्साहन पाउँदैगयो ।

जब नारीहरूको पहुँच शिक्षासम्म पुग्यो, उनीहरूले आफूमाथि भएको विभेद र अपमानजनक भाषिक व्यवहार, आफ्नो हराएको पहिचान, छोपिएको अस्तित्व आदिका बारेमा सचेत भएर बोल्न थाले । आफ्नो आत्मसम्मान र अस्तित्वका लागि बोल्नेहरूलाई आजका दिनमा त मन पराइन्‍न र अनावश्यक कुराका रूपमा लिइन्छ भने त्यतिबेलाका नारीले यसबारे विमति प्रकट गर्ने साहस जुटाउन कसरी सक्थे र !

साहित्यमा नारीस्रष्टाहरूको भाषिक स्थिति

पश्‍चिमी साहित्यका नारीस्रष्टाले धेरै पहिलेदेखि नै साहित्यमा प्रयोग भएको भाषाले नारीलाई कसरी सम्बोधन गरेको छ र नारीस्रष्टाको भाषिक स्थिति कस्तो छ भन्‍ने सम्बन्धमा व्यापक अध्ययन अनुसन्धान गरेका छन् । नेपाली साहित्यमा भने बल्ल यसको प्रारम्भ भएको छ । यस सम्बन्धमा भर्जिनिया उल्फले पितृसत्तात्मक समाजमा नारीको स्थितिका बारेमा गम्भीर विश्लेषण गर्दै ‘सौन्दर्य, साहित्य, परम्परा, मूल्यजस्ता विषयलाई पुरुष लेखक वा समालोचकहरूले पितृसत्तावादी धारणा अनुकूल बनाएर व्याख्या गरेको’ विचार व्यक्त गरेकी छन् ।

आजको दिनसम्म आइपुग्दा नेपाली साहित्यका सचेत भनिएका नारी स्रष्टाहरू यस कुरामा कत्तिको सचेत छन् त ? उनीहरूले पितृसत्ताले निर्माण गरेको विभेदयुक्त परम्परित भाषालाई नै प्रयोग गरिरहेका छन् वा आफ्‍नो वास्तविक पहिचानलाई व्यक्त गर्न भाषाको प्रभुत्वलाई भत्काएर नयाँ भाषाको पनि निर्माण गरेका छन् त भन्‍ने कुरा अहिलेका परिप्रेक्ष्यमा महत्त्वपूर्ण विषय हो ।

नेपाली साहित्यमा नारीहरूको भाषिक स्थिति मूल रूपमा परम्परित नै रहेको छ । २० को दशकबाट पारिजात, प्रेमा र बानीराले परम्परित सोच र मान्यताभन्दा पर गएर भाषिक प्रयोग थालेको भए पनि त्यसले व्यापकरूपमा झाङ्‍गिने अवसर पाएन । ‘बुद्धजस्ता छोरा होऊन् सीताजस्ती छोरी’ भनेर जुन किसिमका भाष्यहरू बनाइएका थिए, अधिकांश नारी लेखकहरूले पनि त्यही भाष्यलाई आदर्श मानेर पछ्याइरहे ।

तर, पछिल्लो समय भने यसमाथि प्रश्‍न गर्न थालिएको छ । ‘बुद्धजस्ता छोरा’ त ठीक छ तर ‘सीताजस्ती छोरी’ किन ? उही अपमान, दुःख र पीडा खेप्‍न ? यस सन्दर्भमा कुन्ता शर्माको ‘पोथी बास्‍नु हुँदैन’ कविता पनि पितृसत्तालाई चुनौती दिएर लेखिएको एउटा प्रतिनिधि आवाज हो । यस्तै पितृसत्तात्मक मान्यतालाई भत्काएर प्रकाशित भएको अर्को कृतिको नाम हो ‘कठपुतला’ ।

यसमा अर्चना थापाले कृतिको शीर्षकमा मात्र नभएर कथाको विषयवस्तु र भाषामा पनि नयाँ प्रयोग गरेकी छन् । सीमा आभासले कवितासङ्ग्रहको शीर्षक नै ‘म स्त्री अर्थात् आइमाई’ राखेर ‘आइमाई’ शब्दमाथि पितृसत्ताले जुन उपेक्षित भाव प्रकट गरेको छ, त्यसलाई चुनौती दिइन् । यसरी पछिल्लो समयका केही नारी स्रष्टाहरू यसतर्फ सचेत देखिन्छन् भने अधिकांश नारी स्रष्टाहरूले अझै पनि परम्परालाई नै पछ्याइरहेका देखिन्छन् । उदाहरणका रूपमा यहाँ केही साक्ष्यहरूलाई प्रस्तुत गरिएको छ ।

(१) हामीसँग शरीरबाहेक के नै छ र ? शरीरबाहेक अरु केही भए पो त्यो बेच्‍नु । हामी जस्ता आइमाईसँग घर जग्गा हुँदैन, बेच्‍ने कुरो केही हुँदैन । शक्ति हुँदैन, मान र पद्वी हुँदैन । हामीलाई राज्यले के दिएको छ र ? समाजले के दिएको छ र ? परिवारले के दिएको छ र ? हामीसँग छ नै के र, के बेच्‍नु ? सिवाय शरीर । हाम्रो भागमा त केवल श्रम, अपमान, अवहेलना र मात्र शरीर एउटा छ । मैले देश बेचेर होइन आफ्नै शरीर र इमान बेचेर खाएकी छु । मेरो शरीरमाथि मेरो अधिकार हुन्छ, तेरो होइन (मञ्जु काँचुली, धरहरामुन्तिर मान्छेको मोल) ।

(२) ‘म आफ्नो जीवनको आफैँ मालिक हुँ । लोग्‍नेमान्छेविना आइमाई मान्छे बाँच्‍न सक्छे कि सक्दिन लोग्‍नेले छाडिदिएकी तिम्री आमालाई सोध ।’ पत्‍नी ब्याग बोकेर बाहिरिन्छे (आन्विका गिरी, आडम्बर) ।

अब नारी स्वयमले पनि भाषा प्रयोगका सन्दर्भमा मभित्र कतै पुरुषसत्ता त हुर्किरहेको छैन ? भनेर आफैंलाई प्रश्‍नगर्ने र सोच्‍ने बेला आएको छ ।

(३) समाज बलेको आगो ताप्छ । म निभेकी थिएँ । नारी थिएँ । शिर उठाउन अप्ठेरो थियो । त्यसैले मैले डि.भी. भरेँ । पर्‍यो पनि । त्यसपछि परिवारसहित अमेरिकाबासी हुन पुगेँ (गङ्गा सुवेदी, इच्छा) ।

(४) जान्दछु निकै ठूलो आघात पार्नेछ तिमीलाई मेरो यसकिसिमको व्यवहारले । हुनसक्छ मसँग बदला लिने प्रण पनि गरौला । मलाई मनपरी सरापौला तर मलाई कुनै कुराको वास्ता छैन । म समाजको अघि तिमीले लगाइराखेको नक्कली मुखौटो च्यातेर तिम्रो असली रूप देखाउनेछु (माया ठकुरी, युद्ध) ।

माथि प्रस्तुत गरिएका चारवटा उद्धरण नारी कथाकारहरूका कथाबाट उद्धरण गरिएका हुन् । यी कथामध्ये पहिलो र दोस्रो साक्ष्यमा नारीचेतना र विद्रोही रूप प्रकट भएको छ भने पछिल्लो तेस्रो र चौथो साक्ष्यमा उही दमित र परम्परित रूप प्रकट भएको छ । कथांशमा प्रयुक्त भाषा र शब्दचयनका माध्यमबाट नै नारीसाहित्यको नवीन भाषा र परम्परित भाषाको निक्र्योल भएको देखिन्छ ।

खास गरी आख्यानमा भन्दा पनि कवितामा नारी-चेतना र भाषाको नवीनता अझ बढी प्रभावी बनेर प्रकट भएको छ । नारी स्रष्टाले मौलिक र नवीन बिम्व, प्रतीक र मिथकहरूका माध्यमबाट नारीका विविध यथार्थ, संवेदना मात्र व्यक्त गरेका छैनन् परम्परित सोचलाई चुनौती पनि दिएका छन् । कतिपय नारी स्रष्टाहरूको भाषाले नारीभाषाका सन्दर्भमा पितृसत्ताले बनाएको सोच र मान्यतालाई पनि भत्काएको छ । नारीहरू भावुक हुन्छन्, कोमल हुन्छन् र उनीहरू मस्तिष्कबाट होइन हृदयबाट लेख्छन् भन्‍ने मान्यताहरू पनि भत्किएका छन् ।

साहित्यिक भाषाले उभ्याएको नारी-तस्बिर

साहित्य चैतन्यको प्रकाश हो । साहित्यले जीवन र जगत्का यावत् कुरालाई प्रकाशमा त ल्याउँछ नै, त्यसमाथि पनि समाज, सामाजिक विश्‍वदृष्टि र चेतनाको स्तरलाई पनि अभिव्यक्त गर्दछ । नेपाली साहित्यमा सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले पुरुष साहित्यकारद्वारा लेखिएका कृतिहरूको नै वर्चस्व देखिन्छ (पछिल्लो समय नारी स्रष्टाहरू प्रतिस्पर्धात्मक रूपमा आइरहेका छन् यो छुट्टै कुरा हो) ।

मान, सम्मान र नाम पनि उनीहरूकै अगाडि आउँछ । यसर्थ साहित्यमा उभ्याइएको नारी-तस्बिर पनि अधिकांशतः पुरुष साहित्यकारहरूको पितृसत्तावादी सोचबाट निर्मित भएको देखिन्छ । अधिकांश साहित्यिक कृतिहरूमा नारीको तस्बिर या त प्रेमिकाका रूपमा या त श्रीमतीका रूपमा आएका हुन्छन् । यस कुरालाई पुष्टि गर्न तल केही साक्ष्यहरू प्रस्तुत गरिएका छन्ः

(१) तलाउजस्ता उनका आँखामा मैले आफ्नै अनुहार देखेँ । अझ उनको अनुहारमा सर्माउँदाको सुन्दरता थपियो । लाजले थोरै मुन्टो घुमाइन् । हातले मुख छोप्दै थोरै मुस्कुराइन् । मिलेका दाँत, ठूलो निधार उनका सुन्दर गहना थिए । केश छाडेकी थिइन्, उनका प्रायः तस्बिरहरूमा जस्तै । लाग्यो- मेरो अहिलेसम्मको अधिकतम खुसीको क्षण यही हो (आचार्य, मोचन, ६३) ।

(२) बालामयजु हाम्रै टोल, गल्लीमा हुर्केबढेकी पाटनकी चेली हो । अहिलेको यो रूप त के नै पो हो र ? बैँसमा ऊ अझै लोभलाग्दी थिई । ज्यादै गोरी भएकीले बच्चामा उसलाई सबैले तुयुमचा भन्‍ने गर्थे । नेवारीमा काली बच्चीलाई हाकुमचा र गोरीलाई तुयुमचा भनिन्छ । तुयुमचालाई तरुनी भएपछि सबैले बालामयजु भन्‍न थाले । बालामयजु अर्थात् सुन्दर युवती । बालामयजु त्यस्ती हिउँझैँ गोरी किन थिई भने ऊ पाटन ढुङ्गेधाराको जलले आफ्नो मुहार पखाल्थी (नगरकोटी, ज्ञ, पृ. ५३) ।

(३) भक्तपुर बसपार्क नजिकै भेट भो । नाइटोलाई निधारको टीकाजस्तै बनाएर अलिक माथिसम्म आउने कालो जिन्स प्यान्ट दुवै घुँडामा च्यातिएका थिए, जहाँबाट देखिएको सेतो घुँडाले साँच्चै नै नवीन सौन्दर्यको कसरी व्याख्या गर्थे होलान् ? कल्पिएँ एकछिन । नौ-दश कक्षा पढ्दा हिन्दी नेपाली सिनेमाका पोस्टकार्ड हेरेर हामी यसै गरी कल्पिन्थ्यौँ । माथितिरको भेस्टले पनि यो सुन्दरताको अनन्त मादकतालाई आफूभित्र समेटेको नाभीलाई लुकाउन अस्वीकार गरिरहेको थियो । दिमागमा काउकुती लाग्यो- अरे ! यति सानो खोपिल्टोले यति धेरै सुन्दरता बोकेर बस्दोरहेछ ! वषौँवर्ष त्यही सुन्दरताको वर्णन गरेरै सिङ्गो जीवन बिताइदिऊँ जस्तो लाग्‍ने (अधिकारी, निर्वेद पृ. १८२-१८३) !

माथि प्रस्तुत गरिएका साक्ष्यहरू पछिल्लो समय प्रकाशित उपन्यासका अंश हुन् । यहाँ नारीपात्रलाई बडो महत्वका साथ प्रस्तुत गरिएको छ । पहिलो साक्ष्यमा तलाउजस्ता आँखा, मिलेका दाँत, ठूलो निधार, छाडिएको केश अनि शर्माउँदा थपिएको सुन्दरताको बयान गरेर नारीको तस्बिर बनाइएको छ र यो देख्दा पुरुष पात्र जीवनकै अधिकतम खुसी भएको छ ।

दोस्रो साक्ष्यमा पाटनमा हुर्के बढेकी बालमयजु अत्यन्तै गोरी भएकी सुन्दर देखिएकी, बैँसमा अझै लोभलाग्दी भएकी भनेर उसको सौन्दर्यको बयान गरिएको छ । र, तेस्रो साक्ष्यमा नारी पात्रको नाइटोलाई लिएर यति उपमा गाँसिएको छ कि, पुरुष पात्रलाई त्यही नाइटोको सुन्दरताको वर्णन गरेर जीवन नै बिताइदिऊँजस्तो लाग्छ ।

यी साक्ष्यहरूमा नारीको दैहिक अर्थात् शारीरिक सौन्दर्यको बयान गरेर यहाँ नारीको यस्तो तस्बिर उतारिएको छ कि, नारीको श्रेष्ठता भनेको केवल रूप र बाह्‍य सौन्दर्य हो । नारीलाई रूप-सौन्दर्यका आधारमा मात्र हेरेर नारीको बाह्‍य सुन्दरताको मापन र मूल्याङ्‍कन गर्ने यस पुरुष-दृष्टिकोणले नारीका क्षमता, साहस, योग्यता आदि अनेकौँ आन्तरिक सौन्दर्यलाई कहिल्यै हेर्न नसकेको कुरा माथिका उद्धरणहरूले स्पष्ट पार्छन् ।

तस्बिर सौजन्‍यः महेन्द्र ओझा/एन.एस.टेलिभिजन

आजका सचेत नारीहरूको खास विमति यहीँनेर हो कि, नारीलाई एउटा आकर्षक मासुको थुप्रोका रूपमा चित्रण नगरियोस् । उनीहरूका भावना, संवेदना, सङ्‍घर्ष र अभिव्यक्तिको चित्रणले मात्र उनीहरूको वास्तविक चित्र उतार्न सक्छ । आजको नेपाली साहित्यमा पनि नारी बाह्‍य रूप-सौन्दर्यको प्रदर्शनकारी वस्तु हुनु विडम्बना हो ।

भाषाका माध्यमबाट गरिने अपमानजनक व्यवहार र त्यसबाट उत्पन्‍न हुने तनावलाई भाषिक हिंसा भनिन्छ । भाषिक हिंसाले मनोवैज्ञानिक रूपमा असर गर्छ र कमजोर बनाउँछ । घरभित्र होस् या घरबाहिर, सबैभन्दा बढी भाषिक हिंसाको सिकार नारी नै हुने गर्दछन् ।

कवितामा भने नारीको तस्बिर केही फरक रूपमा आएका छन् । कवितामा देखिने नारीका बिम्बचित्र यस किसिमका रहेका छन्ः

तिनी चुपचाप थिइन्

मैले तिनको हात नियाँले-

भालेको पहिलो डाँकसँगै सचेत तिनका हात ।

रात्रिको प्रथम प्रहरसम्मै सक्रिय तिनको हात ।

पानीले खाएका औँलाका कापहरू

सुम्सुम्याइ हेरेँ- कठोर चट्टानझैँ हत्केला

र, भान्सा र बारीको काममा प्राप्त पारिश्रमिक

काटिएका दागहरू

दायाँ हातको चोर औँलामा

गाउँमा गतवर्ष लागेको मेलामा किनेको पित्तलको औँठी ।

(प्रधान, मैले प्रेम गरेकी केटी पृ.४९३ )

युगयुगदेखि

चुपचाप चुपचाप उमेरहरू बितायौ

कोपिलामै टिपे पनि चुप

फुलेर टिपे पनि चुप

ओइलाएर झर्दा पनि चुप

बगैँचाबाट बैठकमा सजिँदा पनि चुप

यतिन्जेल जति चुप भयौ भयौ तिमी

अब त केही बोल !

फूलहरू केही त बोल !

(प्रेरणा, फूलहरू ! केही त बोल पृ.४७८)

यी कवितांशहरूमा विभिन्‍न बिम्व र प्रतीकद्वारा नारी-तस्बिर प्रस्तुत गरिएको छ । पहिलो कवितांशमा बिहानदेखि आधारातसम्म काममा सक्रिय हुने केटीको चित्र उतारिएको छ । कामले थिचिएको हात, पानीले खाएको औँलाका कापहरू, कठोर चट्टानजस्तो हत्केला, बारी र भान्साको काम गर्दा पारिश्रमिकस्वरूप पाएको काटिएका दागहरू, दायाँ हातको चोर औँलामा लगाइएको पित्तलको औँठीजस्ता बाह्‍य पक्षको चित्रण गरिएको यस साक्ष्यमा सोझी, निरीह, परिश्रमी नारीको तस्बिर उतारिएको छ भने दोस्रो कवितांशमा फूललाई नारीका प्रतीक बनाएर प्रस्तुत गरिएको छ ।

युगयुगदेखि चुपचाप उमेरहरू बिताइरहने, कोपिलामै टिपिए पनि, फुलेर टिपे पनि, ओइलाएर झरे पनि, बैठकमा सजिए पनि चुपचाप भइरहने युवतीको चित्र उतारिएको छ र बोल्न अर्थात् विद्रोह गर्न भनिएको छ । साहित्यिक कृतिहरूमा नारीमाथि प्रयोग गरिएका भाषामाथि आपत्ति जनाउँदै पश्‍चिमी साहित्यमा पनि समालोचनाहरू प्रशस्त लेखिएका छन् ।

साहित्यकार केट मिलेटले पुरुषले पितृसत्तात्मक दृष्टिकै आधारमा नारीलाई प्रस्तुत गरिएकामा असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले डि.एच्. लरेन्स, हेनरी मिलर र नर्मन मेलरका औपन्यासिक कृतिहरूको अध्ययन गर्दै पुरुष लेखनमा नारीलाई कमजोर र पुरुषलाई महिमामण्डन गरी प्रस्तुत गरिएको निष्कर्ष निकालेकी छिन् ।

नेपाली साहित्यिक कृतिहरूमा पुरुषसत्ताले बनाएका वा निर्माण गरेका नारीका बिम्वचित्र र भाषाका भाष्यहरूमाथि गम्भीर विमर्श गर्न अब विलम्ब भइसकेको छ ।

भाषिक हिंसामा नारी

भाषाका माध्यमबाट गरिने अपमानजनक व्यवहार र त्यसबाट उत्पन्‍न हुने तनावलाई भाषिक हिंसा भनिन्छ । भाषिक हिंसाले मनोवैज्ञानिक रूपमा असर गर्छ र कमजोर बनाउँछ । घरभित्र होस् या घरबाहिर, सबैभन्दा बढी भाषिक हिंसाको सिकार नारी नै हुने गर्दछन् । होच्याएर बोल्नु, अपमानजनक शब्दहरू प्रयोग गरिनु, धम्की दिनु, दोषहरू थोपर्नु, लगातार आलोचना गर्नु, आरोपहरू लगाउनु, द्विअर्थी, झट्ट हेर्दा-सुन्दा अश्लील नलाग्‍ने तर अश्लील अर्थ लुकेको भाषा प्रयोग गरेर अपमान गर्नु, भाषामा व्यङ्ग्यात्मक रूपमा होच्याउनु जस्ता गतिविधिहरू भाषिक हिंसाअन्तर्गत पर्दछ ।

अधिकांशतः नारीमाथि गरिने भाषिक हिंसा उसको चरित्र र इज्जतलाई विषय बनाएर गरिएको हुन्छ । (यसै विषयमा सरिता तिवारीद्वारा लिखित ‘भाषिक हिंसा र भालेवाद’ शीर्षकको लेख ०७६ असोज १४ को कान्तिपुरमा छापिएको छ) यस्ता भाषिक हिंसा प्रत्यक्ष रूपमा साइबर सञ्‍जालमा व्यक्त गरिएका प्रतिक्रियाहरूमा र केही अनलाइन पत्रिकाका लेखहरूमा व्यक्त गरिएका हुन्छन् भने अप्रत्यक्ष रूपमा साहित्यिक रचनामा पनि व्यक्त भएका हुन्छन् ।

भाषिक हिंसाको सिकार राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पदमा बसेका महिलामाथि समेत भएका छन् भने सीमान्तीकृत नारीहरूको स्थिति कस्तो हुन्छ ? सहजै अनुमान र कल्पना गर्न सकिन्छ ।

नारीमाथि भएका नारी हिंसा होस् या नारी शोषण र नारी अधिकारका विषयमा लेख्‍नेबित्तिकै नारीवादी भनिदिने र त्यसलाई नकारात्मक रूपमा हेर्ने प्रवृत्ति हाम्रा विद्वान्हरूमा पनि पाइन्छ । महिलाका हकहितका बारेमा बोल्नासाथ त्यसलाई एनजिओ वा आइएनजिओसँग जोडेर प्रतिक्रिया दिने गरिन्छ । नेपाली समाजमा नारीवाद पदावली लोकप्रिय पदावली होइन ।

उच्चशिक्षाको पाठ्यक्रम, साहित्यिक समालोचना, एनजिओ/ आइएनजिओका दस्तावेजहरू तथा एनजिओ/ आइएनजिओद्वारा प्रशिक्षित र प्रभावित महिला तथा महिला सङ्गठनहरूले यसको प्रयोग बढी गर्ने गरेको पाइन्छ । त्यसमा पनि वैचारिक पक्षभन्दा लैङ्‍गिक पक्षमा जोड दिने पढे-लेखेका तथा राजनीतिक सुख-सुविधा भोगेका महिलाहरूले नारीवाद, समावेशीजस्ता पदावलीहरूलाई बढी मन पराएको देखिन्छ (बराल, भृकुटी, पृ १०२) ।

लेखन तथा अभिव्यक्तिमा परम्पराको सीमा मिचिएको र अमर्यादित भएको आरोपमा कतिपय नारीस्रष्टा र अभियन्ताहरू समेत भाषिक हिंसामा पर्ने गरेका छन् । पुरुषले त्यही विषय र त्यस्तै शब्दको प्रयोग गर्दा ऊ कसैको नजरमा पर्दैन र त्यसलाई अति सामान्य मानिन्छ तर नारीले बोल्दा वा लेख्दा भने घरपरिवारदेखि सामाजिक सञ्‍जालसम्म गालीगलौज र आलोचना सुरु हुन्छ । यसको अर्थ नारीहरूले त्यस्तै लेख्‍नुपर्छ भन्‍ने होइन, यसको मतलब नारीहरूलाई बोल्न र लेख्‍न त्यति सजिलो र सहज छैन जति पुरुषलाई हुन्छ । प्रतिरोधी चेतना नै आलोचनाको कारक बन्छ नारीहरूका लागि ।

शब्दकोशः अर्थमा लैङ्‍गिक विभेद

विश्‍वको पहिलो शब्दकोश मानिने संस्कृत भाषाको निघण्टुदेखि यता जति पनि शब्दकोशहरू लेखिएका छन् ती सबैका कोशकार पुरुष नै छन् । ०३३ सालबाट तयारी सुरु गरेर ०४० मा प्रकाशित भएको नेपाली बृहत् शब्दकोश सरकारी स्तरबाट प्रकाशित आधिकारिक र मानक शब्दकोश मानिन्छ ।

नेपाली साहित्यका सचेत भनिएका नारी स्रष्टाले पितृसत्ताले निर्माण गरेको विभेदयुक्त परम्परित भाषालाई नै प्रयोग गरिरहेका छन् वा आफ्‍नो वास्तविक पहिचानलाई व्यक्त गर्न भाषाको प्रभुत्व लाई भत्काएर नयाँ भाषाको निर्माण गरेका छन् भन्‍ने महत्त्वपूर्ण विषय हो ।

०४० देखि यता सातौँ पटकसम्म संशोधित र परिमार्जित भएको यस कोशको सम्पादक मण्डलमा नारीलाई निषेध गरिएको छ । हरेक मान्छेले आमाको काखमा बसेर नै पहिलोपटक भाषा सिक्छ र त्यसै आधारमा मातृभाषा भनिन्छ । यहाँ भने ती आमाहरूलाई नै निषेध गरेर शब्दका कोशीय अर्थको निर्धारण गरिएको छ ।

कोशकारहरूले शब्दको अर्थ निर्धारण गर्दा त्यही मात्र गर्न सक्छन्, जुन समाजमा चलेको छ र उनीहरूलाई लाग्छ । उनीहरूलाई लाग्‍ने र समाजले तोकेको अर्थ त त्यही हो, जुन पितृसत्ताले निर्धारण गरेको छ । शक्ति र प्रभुत्वमा रहेकाहरूले जुन अर्थ लगाए त्यसैलाई सर्वमान्य रूपमा स्वीकार गरियो । के एकाङ्‍गी रूपमा पुरुषसत्ताद्वारा यसरी निर्धारण गरिएका कोशीय अर्थ सही छन् ? अब प्रश्‍नगर्ने बेला भएको छ ।

शब्दकोशमा दिइएका लैङ्‍गिक शब्दको तुलनात्मक अध्ययन गर्दा के देखिन्छ भने पुलिङ्ग जनाउने शब्द विशेष, प्रधान र खास हो भन्‍ने अर्थ दिइएको छ भने स्त्रीलिङ्ग जनाउने शब्द सामान्य वा सहायक हो भन्‍ने तरिकाले अर्थ्याइएको छ । साथै हरेक स्त्रीलिङ्‍गी शब्दको अर्थ दिने क्रममा पुलिङ्‍गी शब्दको अधीनमा रहेको वा त्यससँग जोडिएर बनेको शब्दका रूपमा अर्थ्याइएको छ ।

उदाहरणका लागि ‘प्रेमी’ शब्दको अर्थ आफूसँग प्रेम गर्ने वा माया लगाउने पुरुष/प्रियतम भनिएको छ भने ‘प्रेमिका’ शब्दको अर्थ आफूलाई प्रेम गर्ने स्त्री, आफूसँग आत्मसमर्पण गर्न तत्पर रहेकी स्त्री, प्रेयसी भनेर अर्थ्याइएको छ । यी दुई शब्द बराबर हैसियत र महत्त्वका शब्द हुन्, तर यहाँ नियतवश ‘प्रेमिका’ शब्दमा आफूसँग आत्मसमर्पण गर्न तत्पर रहेकी स्त्री भनेर अर्थ लादिएको छ । के प्रेममा आत्मसमर्पण स्त्रीले मात्र गर्नुपर्ने हो ? पुरुषले गर्नुपर्दैन ? यस्तै अर्को उदाहरण हेरौँ- ‘आमा’ शब्दको अर्थ आफूलाई जन्म दिने स्त्री, जननी भनिएको छ भने ‘बाबु’ शब्दको अर्थ आफूलाई जन्माउने व्यक्ति, बुबा, पिता, कानुनअनुसार धर्मपुत्र राख्‍न पाउने व्यक्ति भनेर अर्थ्याइएको छ ।

यहाँ कानुनअनुसार धर्मपुत्र राख्‍न पाउने व्यक्ति पदावली थपेर बाबुलाई आमाभन्दा प्रभुत्वशाली र शक्तिशाली भन्‍ने अर्थ लादिएको छ । के आमा कानुनअनुसार धर्मपुत्र राख्‍न नपाउने व्यक्ति हुन् ? किन ? यस्ता विरोधाभास र पूर्वाग्रही अर्थले शब्दकोशको विश्‍वसनीयतामाथि प्रश्‍नउठाउनुका साथै कोशकारहरूको सङ्‍कीर्णतालाई पनि उजागर गरेको छ । यस्तै पुरुष/महिला, श्रीमान्/श्रीमती, नायक/नायिका, नेता/नेत्री जस्ता शब्दको अर्थलाई तुलना गरेर हेर्ने हो भने यति विभेदयुक्त देखिन्छन् कि कति त भाषिक हिंसाको तहमा देखिन्छ ।

जस्तै ‘किचकन्‍नी’ शब्दको अर्थमा भनिएको छ पैताला पछाडिपट्टि फर्किएको र पिठिउँ खोक्रो हुने कल्पित सुन्दरी, स्त्रीका रूपमा रहने एक प्रेत योनी, अगतिमा परेका स्त्रीहरूको प्रेतात्मा । यसरी यहाँ ‘किचकन्‍नी’ लाई एकातिर कल्पित सुन्दरी भनिएको छ भने अर्कोतिर अगतिमा परेका स्त्री-प्रेतात्मा पनि भनिएको छ । ‘किचकन्‍नी’ को पुरुष रूप नहुनुले के देखाउँछ भने महिला मात्र अगतिमा पर्छन् र प्रेतात्मा हुन्छन् ।

यसरी कतै नारीको अवमूल्यन गरेर त कतै नारीलाई पुरुषअनुकूल बनाएर गरिएको अर्थको निर्धारण प्राचीन कालका मनुले होइन, आजका हाम्रै महान् विद्वान् पुरुषहरूले गरेका हुन् । यस्ता कयौँ विभेदयुक्त शब्दहरूले शब्दकोशका पानाहरू भरिएका छन् । तिनको विश्लेषण गर्दै जाने हो भने शब्दकोशभन्दा बृहत् अर्को ग्रन्थ बन्‍न पुग्छ । लोकतन्त्र-गणतन्त्रको प्राप्ति पश्‍चात् परिमार्जन भएका शब्दकोशहरूमा समेत यस्ता अर्थनिर्धारण यथावत् रहनु दुखद मात्र होइन, लज्जास्पद कुरा पनि हो ।

नारीमाथि प्रयुक्त भाषाको भाष्य

नारीमाथि प्रयुक्त भाषाका सम्बन्धमा विभिन्‍न भाष्यहरू निर्माण गरिएका छन्, जसले नारीलाई बलियो होइन कमजोर बनाउँछन् । यस्ता भाष्यहरूमा प्रायः नारीको प्रशंसा गरेको जस्तो देखाएर तल पारिएको हुन्छ । समाजमा केटा र केटीका बारेमा सोधपुछ गर्ने क्रममा केटो के गर्छ ? र केटी कस्ती छ ? जस्ता प्रश्‍न सोधिएका हुन्छन् ।

सधैँ केटोलाई बलियो र केटीलाई कमजोर देख्‍ने सामाजिक मान्यताले लैङ्‍गिक विभेदलाई पृष्ठपोषण गरेको छ । आजसम्मको पुरुषप्रधान समाज वा पितृसत्ताले चिनेकी र चिनाइएकी नारी जम्माजम्मी यत्ति हो भन्‍ने निष्कर्ष देखिन्छः

(१) नारीको सबैभन्दा ठूलो प्राप्ति रूप हो ।

(२) नारीको सबैभन्दा ठूलो गुण लज्जा हो ।

(३) नारीको सबैभन्दा ठूलो विशेषता कोमलता हो ।

(४) नारीको सबैभन्दा ठूलो उद्देश्य असल पतिको प्राप्ति हो ।

(५) नारीको सबैभन्दा ठूलो कमाइ चरित्र वा अस्मिता हो ।

(६) नारीको सबैभन्दा ठूलो परिचय छोरी, श्रीमती, आमा र समग्रमा गृहणी हो आदिआदि ।

भृकुटी र सीताजस्ती छोरी हुनु, धरती र समुद्रजस्तो सहनशील बन्‍नु, भद्र र शालीन हुनु, वस्त्र र सौभाग्यवती हुनु, पुत्रवती हुनु, सति सावित्रीजस्तो बन्‍नु, संस्कारी हुनु, ठूला (पुरुष) को इज्जत र सम्मान गर्नुजस्ता भाषामा आदर्शहरू रटाउने समाज र परिवारले कहिल्यै यो भन्दैन कि, स्वाभिमानी हुनु, स्वावलम्बी बन्‍नू, सपनाहरू साकार पार्नु, कसैसँग नडराउनु, प्रगति गर्दैजानु, आफ्नै विवेकले निर्णय गर्नू, स्वतन्त्रतापूर्वक बाँच्‍नू, आफ्नो नाम र पहिचान बनाउनू आदिआदि ।

तस्बिर सौजन्‍यः महेन्द्र ओझा/एन.एस.टेलिभिजन

पछिल्लो समयमा आइपुग्दा पितृसत्ताले निर्माण गरेका विभिन्‍न भाष्य र भाषाहरूले निरन्तरता पाइरहनुमा सम्पूर्ण रूपमा पुरुष मात्र दोषी छन् भनेर भन्‍नुचाहिँ पूर्वाग्रह हुन जान्छ । किनकि यसतर्फ सचेत नहुनु, यस्ता विभेदकारी भाषाहरूलाई पनि सामान्य रूपमा लिइदिनु, आफूहरूले पनि यस्ता विरोधासपूर्ण भाषाको प्रयोग गर्नु, नारीलाई अर्थ्याउन सक्ने नवीन भाषाको प्रयोग गर्न नसक्नु, नारीसाहित्यकार तथा प्राज्ञिक नारीसमुदायको पनि कमजोरी हो । अब नारी स्वयमले पनि भाषा प्रयोगका सन्दर्भमा मभित्र कतै पुरुषसत्ता त हुर्किरहेको छैन ? भनेर आफैंलाई प्रश्‍नगर्ने र सोच्‍ने बेला आएको छ ।

निष्कर्ष

साहित्यमा प्रयोग गरिने नारी र पुरुषको भाषा लैङ्‍गिक आधारमा फरक हुन्छ र यो फरक सामान्य किसिमको हुन्छ । सामान्यतया पुरुषले प्रयोग गर्ने क्रियापदमा छ/यो/एको प्रत्यय लागेको हुन्छ भने नारीले प्रयोग गर्ने क्रियापदमा छे/ई/एकी प्रत्यय लागेको हुन्छ ।

भाषामा लैङ्‍गिक भेद छुट्टिने आधार यत्ति नै हो र यो सामान्य छ । (यसमा पनि खस/आर्यले बोल्ने र नेपाली मानक भनिएको भाषामा बाहेक जनजाति समुदायमा यसप्रकारको लैङ्‍गिक भेदसमेत पाइँदैनन्) तर, सांस्कृतिक रूपमा महिला र पुरुषका बीचमा जुन प्रकारले भेद छुट्याइएको छ त्यो निकै आपत्तिजक र असामान्य देखिन्छ ।

यसरी पुरुषकेन्द्री संस्कृति र त्यसले उत्पादन गरेको भाषाले जहिले पनि नारीभन्दा पुरुष श्रेष्ठ हुन्छ, प्रधान हुन्छ, विशेष हुन्छ भन्‍ने भाष्यलाई स्थापित गरेको छ । नेपाली साहित्यले आधुनिक कालको यात्रा सुरु गरेदेखि यता लेखिएका साहित्यमा भाषाका माध्यमबाट नारीका विविध तस्बिरहरू उतारिएका छन् ।

पितृसत्ताले बनाएको आफूअनुकूलको संस्कृति र त्यस संस्कृतिले निर्माण गरेको भाषा लैङ्‍गिक रूपले विभेदकारी देखिन्छन् । जसरी हाम्रा सांस्कृतिक मूल्य मान्यताले पुरुषलाई पहिलो दर्जाको सर्वश्रेष्ठ बनाएको छ र नारीलाई दोस्रो दर्जाको सहायक बनाएको छ, त्यसैगरी भाषिक संरचनाको निर्माण र भाषिक व्यवहारको प्रयोग गरिएको छ ।

पौराणिक कालका मिथक पात्रका रूपमा, ऐतिहासिक पात्रका रूपमा र सामान्य पात्रका रूपमा नारीलाई प्रस्तुत गरी उनीहरूका विविध पक्षहरूलाई उजागर गरिएका पनि छन् तर केहीलाई छाडेर अधिकांश रचनाहरूमा नारीलाई पुरुषकै सहयोगी, सहायक, आश्रित, अधीनस्थ पात्रका रूपमा उभ्याइएको छ ।

नेपाली साहित्यमा नारीलाई हाम्रा सामाजिक मूल्य-मान्यताअनुरूप नै प्रस्तुत गरिएको पाइन्छ । र यसले नारीको आन्तरिक पक्ष र वास्तविकतालाई प्रकट गर्न सकेको देखिँदैन । अधिकांश नारी-स्रष्टाका लेखनले पितृसत्तात्मक एकाधिकारमाथि असहमति देखाए पनि त्यसबाट फड्को मार्न नयाँ धारको विकास गर्न सकेको भने देखिँदैन ।

(अन्त्यमा, यति लेख्दै गर्दा पनि सम्झिरहेकी छु- ‘कथित नारीवादीहरूले सुन्लान्’ भन्दै होच्याउनेहरूका शब्द, ‘आइमाईहरूको ट्याउँट्याउँ’ भनेर पूर्वप्रधानमन्त्रीले दिएको अभिव्यक्ति, ‘जहाँ पनि भाग मात्र खोजेर कहाँ हुन्छ र, क्षमता भएदेखि पाइहालिन्छ नि !’ भन्दै सम्झाउने अग्रजहरू, ‘खै पुरुषले त कोटा मागेका पनि छैनन्, निहुँ खोजेका पनि छैनन् त’ भन्‍ने साथीहरू सबै-सबैलाई सम्झेकी छु यतिखेर । यसरी नारीलाई कतै हाँसोमा उडाइएको हुन्छ भने कतै नारीप्रति असन्तुष्टि पोखिएको हुन्छ, तर के यस्ता सांस्कृतिक अपमानबोधको पीडा र भाषिक हिंसालाई वर्षौँदेखि झेल्दै आउनु परेको भए यस्ता अभिव्यक्ति आउँथे होलान् त !)

सन्दर्भसूची


अधिकारी, ज्ञानु.सम्पा.(२०७६).प्रज्ञा समकालीन नेपाली कथाविमर्श. काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।

अधिकारी, ज्ञानु (२०७७). समकालीन नेपाली कवितामा पहिचानको स्वर. काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।

अधिकारी, शैलेन्द्र (२०७७). निर्वेद. काठमाडौँः शिखा बुक्स ।

आचार्य, तुलसी (२०७८). मोचन. काठमाडौँः फिनिक्स बुक्स ।

गिरी, आन्विका (२०६६). कम्युनिस्ट. काठमाडौँः साङ्ग्रिला पुस्तक ।

गौतम, लक्ष्मणप्रसाद र एटम नेत्र सम्पा. (२०७४). प्रज्ञा आधुनिक नेपाली कविता. काठमाडौँः नेपाल प्रज्ञा-प्रतिष्ठान ।

जैन, निर्मला (सन् १९९२). साहित्यका समाजशास्त्रीय चिन्तन. दिल्लीः दिल्ली विश्‍वविद्यालय ।

ठकुरी, माया (२०६४). आमा जानुहोस्. काठमाडौँः रत्न पुस्तक भण्डार ।

धरावासी, कृष्ण (२०६०). झोला. काठमाडौँः पैरवी बुक्स एन्ड स्टेसनरी सेन्टर ।

नगरकोटी, कुमार (२०७५). कम्युनिस्ट. काठमाडौँः बुकहिल ।

नायर, प्रमोद के (२०११). कन्टेम्पोररी लिटरेरी एन्ड कल्चरल थियरी. दिल्लीः लङ्गम्यान ।

पौडेल, गोपिन्द्र र शर्मा बिन्दु, सम्पा. (२०७८). समकालीन नेपाली महिला समालोचना. काठमाडौँः नेपाल प्रज्ञा-प्रतिष्ठान ।

बराल, ऋषिराज (२०७७). नारीवाद, उत्तरनारीवाद र सर्वहारा नारीवाद. भृकुटी, पूर्णाङ्‍क २३, पृ.८६ - १०४ ।

मिल, जोन स्टुअर्ट (सन् २००२). स्त्रियों की पराधीनता. नयी दिल्लीः राजकमल प्रकाशन ।

वर्मा, महादेवी (सन् २००८). श्रृङ्खला की कडियाँ. इलाहावादः लोकभारती प्रकाशन ।

शर्मा, सुकुम (२०७७). लैङ्‍गिक भाषिकाः साहित्य सन्दर्भ. भृकुटी, पूर्णाङ्‍क २३, पृ.४३७- ४४५।

सुवेदी, गङ्गा, (२०७५). नियालेर आकास. काठमाडौः डिकुरा प्रकाशन ।

(आंचल साहित्य कलापुञ्‍ज, मकवानपुरले ०७८ फागुन २०–२१ हेटौँडामा आयोजना गरेको बृहत साहित्य महोत्सव ०७८ मा ‘भाषिक दृष्टिले साहित्यमा नारी’ शिर्षकमा समालोचक अधिकारीले प्रस्तुत गरेको कार्यपत्र ।)

प्रकाशित: २६ फागुन २०७८ १६:३९ बिहीबार

चेतलुङ
चेतलुङ