११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
चिन्तन राजनीति समाज विज्ञान-प्रविधि

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?
सांकेतिक तस्विर

भारत र चीन दुई छिमिकी राष्ट्र हुन् । वर्तमान अवस्थामा चीन १४.७२ ट्रिलियनसहित विश्वको दोस्रो धनी राष्ट्र हो भने भारत २.६६ ट्रिलियनसहित छैटौँ धनी राष्ट्र हो । तर, एआईको दुनियाँमा भारत चीनभन्दा धेरै पछि छ ।

ग्लोबल एआई इन्डेक्समा चीन दोस्रो स्थानमा छ भने भारत १७ औँ स्थानमा छ । त्यसैगरी, भारतले प्रविधिको क्षेत्रमा पछिल्लो समयमा गरिरहेको विकासलाई अध्ययन गर्ने हो भने उद्यम, कृषि, शिक्षा, स्वास्थ्य, सेवा र यातायातको क्षेत्रमा जस्तै यसमा पनि दु्रूत विकास गर्न खोजिरहेको देखिन्छ । 

एआईको क्षेत्रमा सकारात्मक पाइला अघि बढाउनुमा उसको एआईसम्बन्धी नीतिगत परिवर्तनलाई महत्त्वपूर्ण पानीढलो मान्न सकिन्छ । विभिन्न प्रतिवेदनअनुसार केही वर्ष अन्तरालमा भारतको एआई इनोभेसनमा २ सय ३० प्रतिशतले प्रगति भएको देखिन्छ । तर, अझै पनि चीन र अमेरिकाजस्ता देशको तुलनामा भारत निकै पछि छ ।

सन् २०१९ को नीति आयोगको छलफल पत्र ‘कृत्रिम बुद्धिमत्ताका लागि राष्ट्रिय रणनीति’ अनुसार एआई विकास नीतिले स्वदेशी ढाँचामा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरेको छ । व्यवहारवादी दृष्टिकोण स्थापित गरेकाले यो नीति विकासशील देशको अर्थव्यवस्थाका लागि फलदायी हुने आँकलन गर्न सकिन्छ । 

सन् २०१७ को एक्सेन्चरको प्रतिवेदनमा एआईको आर्थिक प्रभावको सन्दर्भमा विशेष गरी जी–२० देशहरूमा भारतको वार्षिक वृद्धिदर सन् २०३५ सम्ममा नौ सय ५७ अर्ब अमेरिकी डलर थपिने प्रक्षेपण गरिएको छ । यो उत्तरी छिमेकी चीनको ७ ट्रिलियनभन्दा निकै कम हो । यस प्रक्षेपणले भारतजस्ता छिमेकी देशले एआईको क्षेत्रमा लगानी बढाउनु पर्ने दबाब सिर्जना गरेको छ । 

भारत विभिन्न समस्याका बाबजुद यो क्षेत्रमा पछि रहे पनि अनुसन्धान तथा प्रकाशनका क्षेत्रमा भने १२ हजार एक सय ३५ पेपरका साथ विश्वमा तेस्रो स्थानमा छ । चीन ३७ हजार नौ सय १८ सहित पहिलो र अमेरिका ३२ हजार ४ सय २१ साथ दोस्रोमा छ ।

भारतका कम्पनीहरूले स्थानीय आविष्कारलाई बढावा दिए र विकासशील मुलुकका समस्याको समाधानमा जोड दिए भने भारत एआई महाशक्तिको स्वाभाविक हकदार बन्नेछ ।
 

यसका, साथसाथै एआई विज्ञका सन्दर्भमा भारत सम्पूर्ण विश्वमा एआईको २२ हजार ४ सय ट्यालेन्टमा ५ सय ५५ का साथ ९औँ स्थानमा छ । एआई वैज्ञानिकको ठूलो संख्या अमेरिकासँग रहेको छ । १० हजार दुई सय ९५ सहित अमेरिकासँग कुल एआई वैज्ञानिकको ५० प्रतिशत संख्या रहेको छ । चीन २ हजार ५ सय २५ वैज्ञानिकसहित दोस्रो स्थानमा छ ।

भारतका चुनौती

अहिले भारत प्रविधिमा लगानी गर्नका लागि केही हदसम्म आर्थिक अभावका कारण पछि परेको देखिन्छ । यस्तो समस्याका बाबजुद अनुसन्धानको क्षेत्रमा ऊ चीन र अमेरिकाको स्तरमा पुगी नै सकेको छ । तर, उद्यमका क्षेत्रमा हुनुपर्ने आर्थिक लगानी उत्तरी छिमेकी मुलुक चीनको तुलनामा साह्रै न्यून छ । जसरी चीनमा समाजको तल्लो तहदेखि नै यो क्षेत्रमा क्रान्ति भइरहेको छ, भारत र विशेषगरी दक्षिण एसियामा त्यो अवस्था देखिँदैन । 

भारतको सन्दर्भमा कुरा गर्ने हो भने भारतीय समाज नयाँ क्षेत्रमा लगानीको जोखिम मोल्न तयार भई नसकेको देखिन्छ । यसले नवप्रवर्तनको दौडमा भारतलाई पछाडि पार्दै गइरहेको बुझ्न सकिन्छ । त्यस्तै, अहिले भारतमा स्थापित भइरहेका धेरै कम्पनीहरू ‘कपी–क्याटिङ मोडेल’ मा छन् । यसले नयाँ र समाज अनुकूल वास्तविक आविष्कारलाई जोड दिँदैन । यसले दीर्घकालमा भारतलाई एआईको विकासमा तगारो लगाउने निश्चित छ । 

योसँगै एआईको विकासका लागि भारतमा प्राविधिक रूपमै आधारभूत चुनौतीहरू छन् । भारतमा एआई विकासको प्रमुख समस्या भनेकै ‘प्लेटफर्म’ को अभाव हो । एआई विकासका लागि चाहिने ‘डाटा इकोसिस्टम’ को अभाव हुनु भनेको आधारभूत प्राविधिक विकासमा यसले अनुसन्धानको क्षेत्रमा ल्याउने रोकावट नै हो भन्न सकिन्छ ।

विज्ञको संख्याका आधारमा विश्लेषण गर्ने हो भने पहिलेको तुलनामा सुधार भएको पाइन्छ । तर, चीन र अमेरिकाजस्ता देशको तुलनामा एआई विशेषज्ञको संख्या धेरै कम छ । विश्वका महत्त्वपूर्ण संस्थानहरूमा भारतीय जनशक्ति हुने तर आफ्नै मुलुकमा उच्च क्षमता भएको जनशक्ति नहुनुलाई त्यहाँ साधन–स्रोतको अभाव रहेको मान्न सकिन्छ । 

विश्वका अरु लोकतान्त्रिक देशको तुलनामा डाटाको गोपनीयता र सुरक्षाको क्षेत्रमा भारतले चुनौतीको सामना गरिरहेको विगतका केही अनुभवहरूले देखाएका छन् । यसबाहेक अनुसन्धानका क्षेत्रमा न्यून बजेटलाई पनि एआई विकासका लागि अर्को चुनौती मान्न सकिन्छ ।

तर, चीनलाई हेर्ने हो भने उसले शेन्जेनजस्तो सानो सहरलाई पनि चीनको सिलिकन भ्यालीको नाम दिइसकेको छ । जुन सहर अहिले विश्वको रोबोटिक्स र एआईसम्बन्धी आविष्कार गर्ने प्रमुख सहरहरूमध्ये पर्छ । सन् २००० सम्म यो सहर विश्वको पिछडिया सहरहरूमध्ये एक थियो । 

यस सहरमा एक दशकभित्र भएको तीव्र परिवर्तनलाई हेर्दा एआईको सन्दर्भमा चीनको नीति र चासो कति उच्च छ भन्ने बुझ्न सकिन्छ । यद्यपि केही समय अघिसम्म शेन्जेन कपी–क्याट प्रविधिका लागि उत्पादन केन्द्रका रूपमा प्रसिद्ध थियो । तर, अहिले ऊ विश्व–स्तरीय प्रोग्रामिङ, डिजाइनिङ गर्ने एआई स्टार्ट–अपको नयाँ हबका रूपमा चिनिन्छ । 

यस्तै, अहिले चीनमा प्राविधिक क्षेत्रमा रहेका कम्पनीहरू जस्तैः टेनसेन्ट, हान्स लेसर, शेन्जेन ईनोभेन्स, होलीसीस अटोमेसन, जेडीडटकम र वाईडु विश्वको अग्रणी कम्पनीमध्ये एक हो । यस सन्दर्भमा पनि भारत चीनभन्दा धेरै पछि छ । हाल भने केही घरेली कम्पनीहरू टिसियास, इन्फोसीस, वाईप्रो, याचसिएल टेक र टेक महीन्द्राजस्ता कम्पनी भारतमा एआई विकासका लागि भरपूर प्रयास गरिरहेका छन् ।

महाशक्ति बन्ने सम्भावना कति ?

भारतको आईटी क्षेत्रले सन् २०१६ मा भारतको जीडीपीमा ७.७ प्रतिशत योगदान गरेको थियो । जुन ९० को दशकदेखि भारतको आर्थिक विकासका लागि मेरुदण्ड बनेको छ । यो अनुभवलाई हेरेर भारत सरकारको थिंक ट्याङ्क ‘नीति आयोग’ ले सन् २०१८ मा एउटा नीतिपत्र जारी गरेको थियो, जसमा ३ हजार ७३ करोडका साथ एआई क्षेत्रमा पुँजी लगानी गर्ने रणनीति लिइने बताइएको थियो ।

यस नीतिपत्रमा पाँच प्रमुख क्षेत्र निर्धारण गर्दै स्वास्थ्य सेवा, कृषि, शिक्षा, स्मार्ट सहर र पूर्वाधार तथा स्मार्ट मोबिलिटीलाई अघि बढाउन जोड दिइएको छ । 

यो रणनीतिको महत्त्वपूर्ण अंश समावेशिताको नीति हो । एआईमा आर्थिक र सैन्य रणनीतिका वाबजुद सामाजिक समावेशीकरणलाई अघि बढाउने भारतको नीति आफैँमा ऐतिहासिक छ । जसलाई एआईफरअल (#AIforAll) नाम दिइएको छ । यो कार्यक्रम पूर्णतया भारतीय युवाको सशक्तीकरणमा केन्द्रित छ । 

यस्तै, विश्वको अरू लोकतान्त्रिक देशको तुलनामा डाटाको गोपनीयता र सुरक्षाको क्षेत्रमा भारतले चुनौतीको सामना गरिरहेको विगतका केही अनुभवहरूले देखाएका छन् । यसबाहेक अनुसन्धानका क्षेत्रमा न्यून बजेटलाई पनि एआई विकासका लागि अर्को चुनौती मान्न सकिन्छ ।

भविष्यको बजारका लागि विशेषगरी विकासशील विश्वको आवश्यकता पूर्ति गर्न यो कार्यनीति तर्जुमा गरिएको हो । यसका लागि अहीले भारतमा ‘सेन्टर अफ रिसर्च एक्सीलेस्न इन एआई’ स्थापना गरी काम अघि बढाइएको छ । भारत सरकारले ग्लोबल साउथका देशहरूको आवश्यकता मध्येनजर गरी भारतलाई ‘एआई ग्यारेज’ का रूपमा स्थापना गर्ने भिजन पनि अघि बढाएको छ ।

केही प्रतिवेदनहरूका अनुसार भारतमा आर्टिफिसियल इन्टेलिजेन्स, उद्योग क्षेत्रहरूमा सबैभन्दा छिटो अपनाइएको प्रविधिमध्ये एक हो । अहिले झन्डै चार सय कम्पनीहरू यो क्षेत्रमा कार्यरत छन् । अहिले भारतको एआई उद्योगमा करिब १५ करोड डलर लगानी गरिएको देखिन्छ । आगामी दिनमा यो अंक उकालो लाग्नेमा कुनै शंका रहेन । 

एआईको विकासमा डाटा सधैँ त्यसको केन्द्रमा हुन्छ । यो भारतको एक तुलनात्मक लाभ हो । भारत विविधताले भरिपूर्ण विश्वको दोस्रो ठूलो अनलाइन बजार भएकाले डाटा ठूलो मात्रामा निरन्तर उत्पादन हुने गर्छ । यसले भारतको एआई महाशक्ति बन्ने सम्भावनातर्फ पनि इंगित गरिरहेको छ । 

भारतका कम्पनीहरूले स्थानीय आविष्कारलाई बढावा दिए र विकासशील मुलुकका समस्याको समाधानमा जोड दिए भने भारत एआई महाशक्तिको स्वाभाविक हकदार बन्नेछ । 

प्रकाशित: ३ बैशाख २०७९ १३:५९ शनिबार

चेतलुङ
चेतलुङ