१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
चिन्तन महिला सम्पादकको रोजाइ

पितृसत्ताको जरो काट्न ज्ञानको हतियार चाहिएको छ

पितृसत्ताको जरो काट्न ज्ञानको हतियार चाहिएको छ
तस्बिरः रेजा/चेतलुङ

सामाजिक न्याय र लैंगिकताका विषयमा प्रखर कलम चलाउँदै आएकी कैलाश राई मूलतः समाज विज्ञानकी अध्येता हुन् । उनको लेखन, सम्पादन र सह-सम्पादनमा पाँच पुस्तक प्रकाशीत छन् । उनको सह-सम्पादनमा प्रकाशीत पछिल्लो पुस्तक समानताको रिले दौड (२०७८) हो । उनै राईसँग चेतलुङका लागि प्रणेताले गरेको कुराकानी । 

प्रणेताः इतिहासका पानाहरू पल्टाउँदै गर्दा मनमा जहिल्यै एउटा प्रश्‍न आइरहन्छ । यी पानाहरूमा महिला किन अटाएनन् ? मानव इतिहासमा महिलाहरूले कुनै वीरता नै नदेखाएर हो वा उनीहरूबारे नलेखिएर ?

कैलाश राईः इतिहास लेखनको प्रवृत्ति नै पुलिङ्गी स्वरूपको छ । इतिहासको संरचना पनि त्यस्तै छ । इतिहास लेखनको विचारसमेत पुलिङ्गी स्वभावले सिर्जना गरिएको छ । जतिबेला इतिहास लेखियो र जसले लेखे उनीहरूको परिभाषामा मात्रै महिलाले ‘वीर’ काम नगरेका हुन् । इतिहास लेखनको कर्म पुरुषकै जिम्मेवारी हो भने जसरी बुझियो र पुरुषले ‘वीर’ काम गर्छन् भन्‍ने भाष्यलाई मलजल गरियो । पुरुषले ‘पुरुषार्थ’ देखाउने गरी काम गरे भन्‍ने गरिन्छ किनभने पुरुषार्थ पुरुषसँगै जोडिएर आउने गर्छ । महिलाले ‘वीर’ कर्म गर्ने होइन बरु ‘वीर’ हरूलाई सघाउने हो भनी रीत चलाइयो । अनि उनीहरूलाई तल्लो तहमा राखियो । महिला हिरो वा नायक हुँदैनन् भन्‍ने धारणा आज पनि मानिसमा व्याप्त छ ।

इतिहासदेखि नै हरेक धर्मका धर्मग्रन्थ पुरुषले लेख्‍ने, कण्ठस्थ पार्ने र त्यसमा भएको ज्ञान पुरुषले मात्रै ग्रहण गर्ने गरियो । धर्मग्रन्थ होस् या इतिहास दुवैको लेखन, अध्ययन र मननमा महिलालाई सहभागी गराउनु जरुरी ठानिएन ।

वीरताको परिभाषा नै एकतर्फी रूपमा उकेरिएको परिभाषा हो । सामाजिक परिभाषामा महिला-पुरुषका आ-आफ्नै भूमिका र काम निर्धारित गरिएका छन्, जसअन्तर्गत पुरुषको काम वीरतापूर्ण हुने गर्छ भनी वर्गीकरण गरियो भने महिलाका कामलाई त्यस कोटिमा राखिएन । यसो गरिएपछि स्वाभाविक रूपमा महिला वीरको खेमाबाट बाहिरिन पुगे । युद्ध लड्नु, विजयी हुनु वा सहादत प्राप्त गर्नु वा घरका सदस्यलाई कज्जाएर राख्‍न सक्ने खुबीलाई वीर अथवा साहसीले गर्न सक्ने भनियो । यही परिभाषालाई पटक-पटक लेखन, पुनर्लेखन र पुनःपरिभाषित गरियो तर त्यही काम महिलाले गरेमा त्यसलाई नकारात्मक रूपमा अर्थ्याइयो । उदाहरणका लागि कुनै काम पुरुषले गरेमा त्यसलाई वीर, आँटिलो, साहसी भनिन्छ भने त्यही काम महिलाले गरेमा साँढे पल्टेको भनिन्छ । इतिहासको यो एकपक्षीय व्याख्या आजसम्म निरन्तरतामै छ ।

प्रणेताः ‘इतिहास विजेताको लेखिन्छ’ भन्‍ने अर्थमा बुझ्‍ने हो भने के महिला इतिहासभर हरूवाको रूपमा मात्र आफ्नो अस्तित्व जोगाइरहन विवश छन् वा उनीहरूलाई बलात इतिहासका पानाबाट नामेट पारिएको हो ?

कैलाश राईः नेपालको इतिहासमा धेरै आँटिला महिलाहरू छन् । सन् १८१४-१६ मा बेलायती उपनिवेशवादीविरूद्ध राष्ट्र जोगाउन युद्ध लड्ने महिलाको वीरतापूर्ण गाथा खै त ? महिला र पुरुष भन्‍ने भेद नराखी लडाइँमा राष्ट्रवादी भावनाका साथ सबै सामेल भए । विभिन्‍न दस्तावेजमा लडाइँको नेतृत्व गर्नेमा कमलाको नाम उल्लेख गरिए पनि अन्य महिलाहरूले पनि लडाइँ लडेका थिए तर इतिहासका पानाहरूमा अरु गुमनाम पारिए । इतिहास निर्माणको प्रारम्भिक कालमा महिलाको कथा लेखन योग्य छैन भनेर नियोजित रूपमै नलेखिएको साँचो हो । वैचारिक रूपमै महिलालाई पाखा लगाइएकै हो । इतिहास अभिलेखीकरणको प्रस्थानविन्दुबाटै महिला हटाइए वा ढोकामै उनीहरूलाई रोकियो इतिहास लेखनको गल्ती त्यहीँबाट शुरु भएको हो । समयक्रममा त्यही नियोजित अभ्यास संरचनामा रूपान्तरित हुन पुग्यो । 

नेपालका नारीवादीको विचार धारिलो नहुनुको कारण उनीहरूले वैचारिक खुराक नपाउनाले हो । झण्डै २५ वर्षको हुँदासम्म कुनै युवती पितृसत्ताले निर्माण गरेको भाष्यमा रुमल्लिरहेको हुन्छे तर जहाँबाट उसले आँखा उघार्न शुरु गर्छे, उसले चाहेको अध्ययन सामग्री नै पाउँदिन, जसले उसलाई पितृसत्ताको चक्रबारे बुझाओस् । पितृसत्तात्मकसँग विद्रोह गरौँ भने पनि ऊसँग वैचारिक शक्ति नै हुँदैन ।

‘सन्तुलित इतिहास’ लेखिनुपर्छ भन्‍ने इतिहासकारको मान्यताकै कारण पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा पुरुष योद्धालाई माथ दिने महिलाको नाम छिटफुट रूपमा मात्रै अध्ययन गर्न पाइन्छ । तर, यथार्थ इतिहास लेख्‍नुपर्छ भन्‍ने इतिहासकारकै कारण केही महिला भने इतिहासका पानामा उल्लेखित हुन पुगे । इतिहास लेख्‍ने भनेकै दरबारीया शासकको हुन्थ्यो वा जोसँग स्रोत साधन छ, उसकै मात्र लेखिन्थ्यो । विजेताको गाथा सबैमाझ पुर्‍याउनुपर्छ तर पराजितको त कुनै गाथा नै हुँदैन भन्‍ने युरोपेली समाजको इतिहास लेखन परिपाटीबाट हाम्रो इतिहास लेखन प्रभावित छ । त्यसैले यहाँ पनि विजेताको इतिहास लेखिन्छ न कि पराजितको । जितारुको कथा र पहिचान संसारभर फैलाउन, त्यसलाई जीवित राख्‍न तथा सबैमा जित्‍ने प्रेरणा भर्न लिखित इतिहास लेख्‍न थालिएको हो । अर्थात् मानव सभ्यतामा अघि बढ्न जित्‍नैपर्छ भनियो । टाउकाले टेकेर भए पनि जित्‍नैपर्छ भन्‍नुको अर्थ पराजयलाई सजिलै नस्विकार्ने प्रवृत्ति हो । जितसँगै हार पनि आउँछ भनेर सहज ढंगले स्विकार्न थालिएको पछि मात्रै हो ।

त्यसो भए महिलाको भूमिका कहाँ थियो त ? भन्‍ने प्रश्‍न उठ्नु स्वाभाविक छ । महिलालाई न अग्रपंक्तिमा लड्ने अनुमति थियो न उनीहरूलाई विजयी पात्रका रूपमा हेरिन्थ्यो । महिलाले जितेका युद्धमा पुरुषकै नाम अगाडि राखियो । जस्तैः अनुभव र विवेकपूर्ण हिसाबले राजकाज सम्हाल्ने आमा हुँदाहुँदै पनि उनको दुई वर्षे नाबालक छोराको नाममा राजकाज चलाउनुपर्ने बनाइन्छ । बच्चा बालिग नभइन्जेलसम्म गरिएका कामलाई महारानीले गरेको पनि भन्‍न खोजिएन । छोरी जन्मनासाथ महिला बन्‍न सिकाउने र छोरा जन्मनासाथ पुरुष बन्‍न सिकाउने जस्ता बनावटी आधार नै कालान्तरमा प्राकृतिक बन्‍न पुगे । सबैलाई यस्तै अभ्यास गर्न अभ्यस्त बनाइयो । अनि महिलाहरूलाई उनका पिता, पति, पुत्र र नातिहरूमा वीरताको अंश खोज्‍ने बनाइयो । यो समग्र परम्परालाई धर्मद्वारा निर्देशित गर्न थालिएपछि महिलाहरू पुरुषले लादेको नियमलाई सहर्ष स्विकार्ने स्थितिमा पुगे । जबकि, महिलाहरू कहिल्यै पनि कायर थिएनन् । 

जनजाति समुदायको विवाहमा केटाले अनेक झुट बोलेर केटीलाई पत्याउने बनाउँछ । त्यसपछि भागी-बिहे हुन्छ । केटीले झुट पक्रिएपछि सासु-ससुराले भन्छन्- ‘लोग्‍नेमान्छे भनेको ढाँट्ने जात, आइमाई भनेको आँट्ने जात । मेरो छोराले ढाँटिहाल्यो, तिमीले पनि पत्यायौ र आँटिहाल्यौ, अब गरिखाओ !’ इतिहास लेखनमा ठ्याक्कै यही लागू हुँदै आएको छ । पुरुषले गुणात्मक रूपमा जति गरेका छन्, त्यसको दुई गुणा बढाइ-चढाइ गरेर उनीहरूलाई वीर बनाइएको छ । महिलालाई बाबु, श्रीमान् वा छोराका गौरवपूर्ण कर्ममा गौरव मानेर बस्‍न सिकाइयो किनभने महिलालाई छुट्टै अस्तित्वका रूपमा होइन कि त्यसलाई टेको दिने संरचनाका रूपमा सीमित गराइएको हुन्छ । 

इतिहासकै कुरा गर्दा पृथ्वीनारायण शाहले राज्य-विस्तार गर्दा जित्‍नका लागि कतै मितेरी साइनो गाँसे, कतै बिहेबारीको सम्बन्ध जोडे । यसरी शाहले जति तिकडम गरे, त्यसलाई उनको रणनीतिक चतुर्‍याइँ र बुद्धिमानी ठानियो । शाहको त्यही तिकडम र चलाखीलाई आज उनको कूटनीतिक क्षमता भनेर पढाइन्छ । तर, आजको समयमा एउटा प्रदेशको महिला प्रमुखले अर्को प्रदेशको पुरुष प्रमुखसँग त्यस्तै व्यवहार गरेमा त्यसलाई महिलाको कुटनीतिक चातुर्यतासँग होइन कि चरित्रसँग जोडेर हेर्ने गरिन्छ । इतिहासमा पृथ्वीनारायण शाह पुरुष भएकै कारण उनका प्रत्येक गतिविधिलाई ‘गौरव गाथा’ को रूपमा कथिएको हो । पृथ्वीनारायणको शेखपछि उनकी बुहारी राज्यलक्ष्मीदेवी शाहले उनकै शैलीलाई अपनाएर छोराको तुलनामा बढी सक्रिय भएर शासन गरेकी थिइन् । तर, आज पृथ्वीनारायण शाहबारे अध्ययन गर्न जति सामग्री उपलब्ध छन् राज्यलक्ष्मीदेवी बारे भने छैनन् । धन्‍न उनले इतिहासमा त्यस्तो काम गरेकी थिइन् कि उनलाई भुलाउन खोजेर पनि भुलाउन नसकिने स्थिति छ । 

नेपालमा योगमायाको इतिहास खोतल्न थालिएको ५० को दशकदेखि हो । नेपाली समाज र नारीवादी आन्दोलनमा योगमायाको इतिहास छिटफुट रूपमा बाहिरिन थालेको पनि त्यति बेलैदेखि हो । त्यसअघि योगमाया न्यौपानेको नाम कतै उल्लेख हुँदैन्थ्यो । तर, इतिहासका पानामा कैयौँ योगमायाहरूको वीरता अझै पुरिएकै छ । उनीहरूको इतिहास खोतल्नका लागि अनेक दसी-प्रमाण चाहिन्छ तर दसी-प्रमाण कसैले जोगाइदिएको भए पो ! शिलालेखमा पुरुषकै वर्चश्‍व छ अनि महिलाको गाथा कसले कहने ?

प्रणेताः विगतदेखि वर्तमानसम्म ज्ञान उत्पादनमा महिलाको सहभागिता हुँदै नभएको होइन । तर, जुन स्तरमा उनीहरूको हस्तक्षेप हुनुपर्ने थियो त्यो नभएकै कारण उनीहरूले वर्तमानको अवस्था भोग्‍नु परेको हो ?

कैलाश राईः जति पनि महिला ज्ञान निर्माणमा संलग्‍न भएर विचारलाई खाकामा ढाल्न अभ्यासरत छन्, त्यस प्रक्रियामा उनीहरूले आवश्यक बौद्धिक खुराक नै पाइरहेका छैनन् । तपाईंले सोध्नु भएको प्रश्‍नको उत्तर यसैमा निहित छ । नेपालका नारीवादी वा महिला अधिकारकर्मीको विचार धारिलो नहुनुको कारण उनीहरूले वैचारिक खुराक नपाउनाले हो । झण्डै २५ वर्षको हुँदासम्म कुनै युवती पितृसत्ताले निर्माण गरेको भाष्यमा रुमल्लिरहेको हुन्छे । तर, जहाँबाट उसले आँखा उघार्न शुरु गर्छे, उसले चाहेको अध्ययन सामग्री नै पाउँदिन, जसले उसलाई पितृसत्ताको चक्रबारे बुझाओस् । पितृसत्तात्मक विचारधाराबाट निर्देशित परिवार, समाज र पुरुष साथीसँग विद्रोह गरौँ भने पनि ऊसँग वैचारिक शक्ति नै हुँदैन । त्यसैले पितृसत्ताको जरो काट्न हामीलाई ज्ञानको हतियार चाहिएको छ । जहिल्यै पुरातन भाष्यलाई चिर्न मानिसलाई वैचारिक हतियारको खाँचो पर्छ तर नेपालको सन्दर्भमा वैचारिक खुराकहरू एकत्रित छैनन् । 

नयाँ पुस्ताका छोराछोरीलाई अभिभावकले रूप-रंगले केही फरक पर्दैन भनेर हुर्काउन खोजे पनि उनीहरूले प्रयोग गर्ने ग्याजेटहरूमा देखाइने विज्ञापनले उनीहरूको धारणा जबर्जस्त ढंगले परम्परागत रूपमा विकसित गराइदिन्छ । विज्ञापन हेर्दाहेर्दै त्यस्तै युवतीको सपना सजाउनतर्फ छोरा लाग्छ भने विज्ञापन सुन्दासुन्दै त्यस्तै सुन्दरी बन्‍ने धुनमा पल्किन्छे छोरी । विज्ञापनले महिलालाई विचारले सुसज्जित बन्‍नुमा होइन कि शारीरिक रूपमा आकर्षक बन्‍न प्रेरित गरिरहेको हुन्छ ।

यसको अर्को पक्ष के छ भने महिला मुक्ति र अधिकारका क्षेत्रमा काम गर्छु भन्‍नेहरू नै पितृसत्तालाई मलजल गरिरहेका छन् । यस्तो किन भइरहेको छ भन्दा महिलालाई पितृसत्तात्मक संरचनामा खुम्च्याएर वा जसोतसो एउटा कुनामा थन्क्याएर ज्ञान निर्माण भइरहेको छ । यसकारण प्रतिरोधको यात्रा धेरै पुस्ताले तय गरिसक्दा पनि पितृसत्ताको संरचनालाई भत्काउने विद्रोही विचारले जन्म लिन सकेको छैन । राष्ट्रपति जस्तो संस्थामा महिला पदासीन हुँदासमेत आफ्नो विवेक प्रयोग गर्नुको साटो प्रधानमन्त्रीको ‘रबर-स्ट्याम्प’ बनेर संसद् विघटनमा कसैले किन सहमति जनाउँछ भन्दा पितृसत्तात्मक मानसिकता नअँगाल्ने हो भने ऊ त्यो पदमै अटाउन गाह्रो छ । कि त ऊसँग पितृसत्तासँग लड्ने वैचारिक हतियार चाहियो कि पदको रक्षाका लागि पितृसत्तात्मक सोच । 

पितृसत्तामक राज्य संरचनालाई सञ्‍चालन र निरन्तरता दिन नसक्ने महिलालाई राजनीतिमा मात्र होइन, सामाजिक रूपमा समेत अघि नल्याइएका उदाहरणहरू छन् । त्यसैले महिला हुँदाहुँदै पनि राष्ट्रपतिमा टिक्नकै लागि पितृसत्ताको धेरथोर टेको बन्‍नुपर्छ भन्‍ने विषयलाई आश्‍चर्यको रूपमा नलिँदा हुन्छ । आममहिलाले महिला राष्ट्रपतिबाट अपेक्षा गर्नु स्वाभाविक हो, तर पितृसत्तासँग एक जनाले मात्र लडेर हुँदैन । यसका लागि सामूहिक प्रयास र विद्रोह जरुरी छ । मूलतः प्रजातन्त्रपछि महिला केन्द्रित ज्ञान निर्माण हुन थालेको हो । महिलामा विद्रोही चेतना जगाउने किसिमको ज्ञान अति न्यून निर्माण भएको छ । छरिएका टुक्राटुक्री र भाषिक हिसाबले सबैको पहुँचभन्दा बाहिर रहेको अंग्रेजी भाषामा केही सामग्री छन् । यी सामग्रीहरू भुइँ तहमा काम गर्नेहरूले बुझ्‍ने खालको छैन । 

प्रणेताः समाजमा आमरूपमा स्थापित भाष्य निर्माणमा ज्ञान उत्पादनको कस्तो प्रभाव रहेको हुन्छ र त्यसमा महिलाको दृष्टिकोण शून्य हुन पुग्दा त्यसले अन्ततः कस्तो चिन्तन प्रणालीलाई बल पुर्‍याइरहेको हुन्छ ?

कैलाश राईः नेपालमा विचार निर्माणको पुरातन शैली छ । बौद्धिकताको एकरेखीय चिन्तन प्रणालीले एकदम कठोर र पितृसत्तात्मक मानसिकता बोकेको छ । यसले बाबु, लोग्‍ने वा छोराकै सत्तालाई अनुकूल मानेर अगाडि बढ्ने महिला जन्माइरहेको हुन्छ । समाज अलिक खुकुलो देखिए पनि यसले महिलावादी दृष्टिकोण राख्‍ने र महिलाकै जीवन-जीविकालाई सहज बनाउने हिसाबले गम्भीर भएर सोचेको पाइँदैन । यता महिलाका गतिविधिलाई पुरुषसरह मान्यता दिलाउन त्यसको पैरवी गर्ने चित्तबुझ्दो मात्रामा महिला उत्पादन भइसकेका छैनन् । फेरि पनि महत्त्वपूर्ण काम संरचनागत परिवर्तन नै हो । तर, आमाले बाँचेको तुलनामा आफूले केही सहजतासाथ बाँचेको छ भने त्यसमै सन्तुष्टि लिएर बस्‍ने अधिकांश छोरीहरू छन् । 

योगमायाले एक शताब्दीअगाडि बाल विधवाको अन्त्य र विधवा विवाहको माग राखेकी थिइन् । आज पनि नेपाली महिलाको एउटा खेमा यही माग राखेर संघर्ष गरिरहेको छ । प्रगतिशील विचारलाई अघि डोर्‍याउने पुस्ता छैन भने जति नै पुस्ता बिते पनि के अर्थ ? भन्‍नुको अर्थ के भने महिलाबीच ज्ञानको हस्तान्तरण र पुस्तान्तरण ठीक ढंगले हुन सकेको छैन । कतिसम्म भने एउटै परिवारमा हजुरबुबाका विचार नाति/पनातिसम्म जसरी हस्तान्तरण हुन्छ, त्यसको तुलनामा हजुरआमाका कथा नातिनी/पनातिनीसम्म पुग्‍न सकेको हुँदैन । हजुरबुबाको पो सात पुस्तै भन्दै टिपाउँदै आउनुपर्छ । तर, हजुरआमाको न नाम छ,न तस्बिर । अनि उनको कुरा नयाँ पुस्तासम्म कसरी पुग्‍ने ? उनलाई कसले चिन्‍ने ? हजुरबाको विचार हामीसँग आइपुग्‍नु तर हजुरआमा गुमनाम हुनुमै समस्या छ । 

प्रणेताः शैक्षिक पाठ्यक्रम र मिडियाले महिलामैत्री ज्ञानको प्रवाहमा कस्तो भूमिका खेलेको देख्‍नुहुन्छ ?

कैलाश राईः पछिल्लो समयमा मिडियाले केही हदसम्म सकारात्मक भूमिका खेलेको छ । विविधतालाई सम्बोधन गर्नुपर्छ भनेर आन्दोलन उठेपछि यसले नयाँ पुस्तालाई ठाउँ दिएको छ । भलै नयाँ पुस्ताले पाइरहेको स्थानमा धेरै जसो पुरुष हाबी छन् । ती पुरुष जोसँग पहिले नै साधन-स्रोतको कमी थिएन, मिडियाले तिनलाई नै अघि ल्याइरहेका छन् । संरचना, जात, भूगोलका आधारमा किनारामा पारिएकाहरू अझै पनि संघर्षरत छन् । महिला लेखनमा कैयौँलाई पत्रिकाको स्विकारोक्ति बढाउनका लागि त कैयौँलाई यत्तिकै स्थान दिएको देखिन्छ । अझै कतिपय सन्दर्भमा स्थापित पुरुषले ‘यो पढ्नलायक छ’ भनी ठप्पा लगाइदिएकै भरमा सामग्रीको मुल्य र महत्त्व बढ्ने देखिन्छ । मोफसलका मिडियामा पनि यसलाई लिएर केही काम भइरहेका छन् । यहाँ मिडियाको आफ्नै खाले दबदबा कायम छ । स्पष्ट शब्दमा भन्‍ने हो भने मिडियाले सकारात्मक भूमिका खेले पनि अपेक्षाकृत छैन ।

पुँजीवादले एउटा परिवारलाई रोजगारीदेखि रोजगारीसम्म यसरी गाँजेको छ कि परिवारमा सबैले काम नगरेसम्म परिवार चलाउनै धौ-धौ पर्ने अवस्था छ । त्यसैले महिलाले पढ्नुपर्छ, जागिर खानुपर्छ भनेर सोचिन्छ र बाहिर काम गर्न जानबाट सायदै रोकिन्छ । तर, महिलाले ज्ञान निर्माण गर्नुपर्छ, सार्वजनिक रूपमा विचार-विमर्शमा सहभागी हुनुपर्छ, महिलाले हाँक दिनुपर्छ भनेर जिम्मेवारी कहिल्यै दिइएन ।

पाठ्यक्रमले हामीलाई एकदमै एकांकी बनायो । महेन्द्रीय शिक्षाले राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रवादकै जगेर्ना गर्नुपर्छ भनेर रटान गर्न लगायो । पाठ्यक्रममा राष्ट्रवादको धङधङी चिर्ने गरी सामग्री नै छैनन् । राष्ट्रियताको विषयमा महिलाले कस्तो भूमिका खेल्नुपर्छ भनेर मज्जाले पढाइयो । समावेशिताको मुद्दामा राष्ट्रिय बहस भइरहँदा एकातर्फ महिलाको प्रतिनिधित्व र त्यसमा पनि सीमित समुदायको वर्चश्‍व कसरी तोड्ने भनेर आवाज उठेको छ । तर, पाठ्यक्रममा यी विषय कहीँ उल्लेखित छैनन् । लैङ्गिक अध्ययन विभागमा पढाउने सामग्रीको अभाव भएको कुरा विगत दुई दशकदेखि उठिरहेको छ । नेपालमा केही काम नभएको होइन तर त्यसलाई स्विकार्ने सन्दर्भमा खोई केले रोकेको छ ? डेभिड गेल्नरले यिनै कथा लेखिदिए पाठ्यक्रमको विषय बन्‍ने तर नेपाली महिलाले लेखे पाठ्यक्रम बनाउन हिचकिचाउनुले गम्भीर प्रश्‍नतर्फ इंगित गरिरहेको छ । महिलाका सिर्जनालाई हल्का रूपमा लिने परिपाटीले गर्दा हो कि भनी आशंका गर्नुपर्ने हुन्छ । 

प्रणेताः पीठो, कोकाकोला हुँदै साबुन र सौन्दर्य प्रसाधनको विज्ञापनमा महिलालाई नै महत्त्वका साथ किन देखाइन्छ ? यसले निर्माण गर्ने धारणा कत्तिको घातक पाउनुहुन्छ ?

कैलाश राईः अत्यन्त घातक छ किनभने त्यस्ता विज्ञापनले सुन्दरताको एकैखाले परिभाषालाई सधैँ निरन्तरता दिइरहेको छ । पुरुषको दृष्टिविन्दुबाट महिला सुन्दर हुनुपर्छ भनिन्छ । पुँजीवादी नजरले पनि महिला आकर्षक हुनुपर्छ भन्छ । बजार वा पुँजीवादी संरचनाले शारीरिक बनोट, गोरो छाला, रङ हालेको कपालदेखि पहिरन पहिल्यै निर्धारित गरिदिएको हुन्छ, जहाँ महिलाले आफूलाई फिट गराउनुपर्छ । आजका दिनमा महिलाको छनोट पनि बाध्यकारी हुँदै गएको छ । कोही महिलाको खाइलाग्दो शरीर छ भने पुँजीवादी बजारमा ऊ फिट हुँदैन । त्यसैले उसको शारीरिक बनोटलाई लिएर हियाउने गरिन्छ । जबकि, कोही कालो हुन्छ, कोही गोरो । कोही अग्लो हुन्छ कोही होचो । यी सबै प्राकृतिक हुन् भनेर बजारले आत्मसात् गर्दैन ।

बजारको मानकअनुसार बदलिनुपर्ने भएपछि महिला सधैँभरि पुरुषअनुकूल देखिनुपर्ने हुन्छ । आकर्षक हुनुपर्ने हुन्छ । महिला के चाहन्छन् भन्‍नेमा कसैको चासो हुँदैन । त्यसैले त एयर होस्टेज हुनका लागि पनि मापदण्ड तोकिएको हुन्छ । यसले महिलाको वैचारिक पक्षलाई पूर्ण रूपमा ओझेलमा पारिदिन्छ । वास्तवमा भन्‍ने हो भने विज्ञापनले आधुनिकताको लेप लगाएर महिलालाई पुरातनवादी दृष्टिविन्दुबाट सबैमाझ पेश गरिरहेको हुन्छ । दुःखद कुरा के हो भने भर्चुअल विज्ञापनलाई सत्य मानेर सुन्दर देखिने होडबाजीमा महिलाहरू नै छन् । पुरुषका लागि सुन्दरताको मानक नतोकिने विज्ञापनहरूमा महिलाका लागि सुन्दरताको मानक किन तोकिन्छ भन्‍ने प्रश्‍नको जवाफ सजिलो छ- किनभने पुरुषले उपभोग गर्ने बस्तुलाई उनीहरू जस्तो रूपमा भोग्‍न चाहन्छन्, त्यस्तै बनाउन चाहन्छन् ।

हामीकहाँ महिलावादी दृष्टिकोणबाट वैचारिक मन्थन अति कम हुने गर्छन्, अनि पुँजीवादको जति आलोचना गरे पनि वैचारिक हतियारको अभावमा त्यो लडाइँ निम्छरो हुन पुग्छ । पितृसत्तात्मक संरचनामा महिलाले अघि सारेका तर्क र बहसहरू सैद्धान्तिक जगमा उभिएन भने कसैले पनि त्यसलाई सुन्‍न कर लाग्दैन ।

नयाँ पुस्ताका छोराछोरीलाई अभिभावकले रूप-रंगले केही फरक पर्दैन भनेर हुर्काउन खोजे पनि उनीहरूले प्रयोग गर्ने ग्याजेटहरूमा देखाइने विज्ञापनले उनीहरूको धारणा जबर्जस्त ढंगले परम्परागत रूपमा विकसित गराइदिन्छ । विज्ञापन हेर्दाहेर्दै त्यस्तै युवतीको सपना सजाउनतर्फ छोरा लाग्छ भने विज्ञापन सुन्दासुन्दै त्यस्तै सुन्दरी बन्‍ने धुनमा पल्किन्छे छोरी । विज्ञापनले महिलालाई विचारले सुसज्जित बन्‍नुमा होइन कि शारीरिक रूपमा आकर्षक बन्‍न प्रेरित गरिरहेको हुन्छ । के विज्ञापनमा देखाइने कारको मुल्य महिलाको आत्मसम्मानको मुल्यभन्दा बढी हो ? तर, विज्ञापनले जहिल्यै महिलालाई कारको सहायकका रूपमा प्रस्तुत गरिएको हुन्छ । समाजमा महिलालाई हेर्ने दृष्टिकोण वस्तुभन्दा माथि उक्लन नसकेपछि विज्ञापन त्यसैमा टेकेर पुनर्उत्पादित भइरहनु कुनै नौलो भएन ।

प्रणेताः हजुरआमा र आमाको पुस्ताले ‘पढ्न नपाएर पछि पर्‍यौँ’ भनिरहँदा आजको पुस्ता तुलनात्मक रूपमा उनीहरूभन्दा धेरै पढेको ठानिन्छ । के शिक्षामा उनीहरूको पहुँचले सोचेजस्तो समाज निर्माणमा सघाउ पुर्‍याइरहेको छ ?

कैलाश राईः पुरातन समाजको तुलनामा हिजोआजका परिवार केही लचक अवश्य छन् । यसैकारण केही आमा, छोरी र बुहारीले अलिक खुकुलो अनुभूत गर्न पाएका छन् । सार्वजनिक क्षेत्रमा महिलाको उपस्थिति बढाउनुपर्ने प्रावधानले नै बाँधिएका महिलाहरू खुला रूपमा हिँडडुल गर्ने अवसरको उपभोग गरिरहेका छन् । महिलाहरूलाई योग्यता र क्षमता विकास गर्ने अवसर पनि मिलेको छ । तर, योग्यता र क्षमता विकासको कुरा गर्दै गर्दा महिला अनुकूलको ज्ञान निर्माण भएको छ कि छैन भन्‍ने प्रश्‍न आउँछ ।

पुँजीवादले एउटा परिवारलाई रोजगारीदेखि रोजगारीसम्म यसरी गाँजेको छ कि परिवारमा सबैले काम नगरेसम्म परिवार चलाउनै धौ-धौ पर्ने अवस्था छ । त्यसैले महिलाले पढ्नुपर्छ, जागिर खानुपर्छ भनेर सोचिन्छ र बाहिर काम गर्न जानबाट सायदै रोकिन्छ । तर, महिलाले ज्ञान निर्माण गर्नुपर्छ, सार्वजनिक रूपमा विचार-विमर्शमा सहभागी हुनुपर्छ, महिलाले हाँक दिनुपर्छ भनेर प्रमुख जिम्मेवारी कहिल्यै पनि दिइएन ।

प्रणेताः पुँजीवाद र बजारवादको अन्योन्याश्रित सम्बन्धले महिलाप्रतिको सौन्दर्यबोधलाई कसरी निर्माण गरिरहेको छ ? ‘महिला बौद्धिक होइन, सुन्दर हुनुपर्छ’ भन्‍ने अवधारणाको जग यहीँबाट निर्मित हुन्छ वा हुँदैन ?

कैलाश राईः यसले बिल्कुलै नकारात्मक भाष्यको निर्माण गरिरहेको छ । महिलालाई वस्तुकरण गरेको पुँजीवादी समाजले वैचारिक हिसाबले कुनै पनि महिला सशक्त र बुलन्द होस् भन्‍ने चाहँदैन । यसखाले बजार व्यवस्था र समाजले महिला सधैँ सुन्दर र पुरुषको उपभोग लायकको वस्तु भइरहोस् भन्‍ने मान्यता राख्छ । महिलाहरू सधैंभरि भेषभुषाले होस् वा साजसज्जाले पुरुषलाई आकर्षित गर्ने भूमिकामै बसिरहुन् भन्‍ने चाहन्छ । पुरुषको चस्माबाट गरिएको सुन्दरताको व्याख्या उनीहरूकै अनुरूप व्यवहारमा लागू गरिँदै आएको छ, जुन असाध्यै हानिकारक छ ।

प्रणेताः के पुँजीवादले महिलाको चेतनामा पनि बिर्को लगाइदिने गर्छ ? होइन भने विरोधको स्वर यति झिनो र मसिनो किन ?

कैलाश राईः यो चलिरहने प्रक्रिया हो । विद्रोह र प्रतिरोध गर्न पर्याप्त मात्रामा सोच वा वैचारिक हतियार चाहिन्छ । मन्थन र बहस हुनुपर्छ । हामीकहाँ महिलावादी दृष्टिकोणबाट वैचारिक मन्थन अति कम हुने गर्छन् । अनि पुँजीवादको आलोचना गरे पनि वैचारिक हतियारको अभावमा त्यो लडाइँ निम्छरो हुन पुग्छ । पितृसत्तात्मक संरचनामा महिलाले अघि सारेका तर्क र बहसहरू सैद्धान्तिक जगमा उभिएन भने कसैले पनि त्यसलाई सुन्‍न कर लाग्दैन । यसर्थ महिलाले आफ्ना कुरा उठाउँदै गर्दा प्रचुर मात्रामा वैचारिक ढंगले उठाउनुपर्छ । यसका लागि महिलाले पर्याप्त पहल लिनै पर्नेछ ।

तपाईंले इंगित गरेको चेतनामा बिर्को नै लागेको त होइन । तर, त्यसलाई चिर्न सक्ने गरीको ज्ञान र तर्कको निर्माणमा नेपाली महिला आन्दोलनपछि परेकै हो । त्यो वैचारिकीको कमीले विरोध र आलोचनाको स्वर पनि झिनो हुन पुगेको हो । त्यसैले वैचारिकीको निर्माणका लागि महिलाले अतिरिक्त समय निकाल्नु पर्नेछ । महत्त्वपूर्ण विषय यो छ कि तपाईं एक्लैले आफ्ना विचार राख्दा समाजबाट ‘ब्याक-फायर’ हुन सक्छ तर पनि तपाईं आफैं एक्लै उभिनु पर्नेछ । जब तपाईं एक्लै उभिएर आफ्नो विचार राख्‍ने साहस बटुल्नु हुन्छ तब तपाईंको विचारमा मानिसहरू जोडिँदै जान्छन् र त्यसले सामाजिक स्विकारोक्ति पाउँछ । यसका लागि साहसको निरन्तरता आवश्यक पर्छ । 

प्रणेताः विश्‍वमा ‘रेड-लाइट एरिया’ हुनुपर्छ र हुनुहुँदैन भन्‍ने बहस छ । तपाईंलाई के लाग्छ हुनुपर्छ भने किन ? हुनुहुँदैन भने किन ? यसमा पुँजीवादी बजारशास्त्रले कस्तो भूमिका खेलेको देख्‍नुहुन्छ ?

कैलाश राईः रेड-लाइट एरियालाई त्यतिखेर वैधानिकता दिइनुपर्छ, जतिखेर महिलाहरू आफैं आफ्नो शरीरमा पूर्ण नियन्त्रण गर्ने अधिकार प्राप्त गर्छन् । यसका साथै यौन व्यवसायलाई पनि सम्मानित पेशाको रूपमा लिइनुपर्छ । तर, आजकै जसरी यौन पेशालाई तुच्छ मानिरहने हो भने यसले घातक परिणाम निम्त्याउँछ ।

अहिलेकै अवस्थामा रेड-लाइट एरिया घोषणा गर्ने हो भने समाजबाट बहिष्कृत अर्को समुदाय र समूह जन्मिन्छ । यौन व्यवसायलाई वैधानिकता दिइसकेपश्‍चात् राज्यले यसको व्यवस्थित ढंगले व्यवस्थापन गर्न सक्नुपर्छ । नत्र यौन व्यवसायमा संलग्‍नहरू परित्यक्त नागरिक बन्‍न पुग्छन् । बाहिर यौनवृत्तिलाई बढावा दिनुहुँदैन भने पनि भित्री रूपमा यसका खास उपभोक्ता पुरुष नै भएकाले यस व्यवसायमा लाग्‍ने महिलालाई हेर्ने आममनोविज्ञानमा परिवर्तनको खाँचो छ ।

प्रणेताः एउटा पुरुषले जति सजिलो गरी आफ्नो कपाल खौरने निर्णय लिन सक्छ, त्यति नै सजिलो गरी महिलाले कपाल खौरनेबारे निर्णय लिन किन सक्दिन ? सामाजिक मनोविज्ञानका त्यस्ता कुन-कुन पत्रहरूले महिलालाई गाँजेको पाउनुहुन्छ ?

कैलाश राईः पुरुष दृष्टिविन्दुबाट महिलामा सुन्दरता र सौम्यता दुवै हुनुपर्छ भनिन्छ, यही अवधारणाले मूलतः सबै महिलाको सोच र निर्णय क्षमतालाई नियन्त्रित गरिरहेको हुन्छ । तपाईं हामीले जति नै क्रान्तिकारी विचार राखे पनि हामीलाई बाल्यकालदेखि नै खाँदी-खाँदीकन छोरी बन्‍ने आवश्यक मन्त्रहरू सिकाइएको छ । हक अधिकारको कुरा गर्न, आफ्नाबारे निर्णय गर्न त बल्ल आज आएर सिक्दैछौँ । आफ्नै पक्षमा, न्यायको पक्षमा आफूलाई उभ्याउन पनि हामीले निकै बलपूर्वक प्रयत्‍न गर्दा बल्ल यो चेत आएको हो । जबकि, यही ज्ञान पुरुषले स्वाभाविक रूपमा आर्जन गरे । पुरुषले दैनिकी बनाएको काम महिलाले गर्नुपर्‍यो भने सयौँ पटक सोच्‍नुपर्छ । वर्षौँ कुर्नुपर्छ । यही समाजमा हिँड्नुछ, त्यही परिवारमा बाँच्‍नुछ अनि मनका केही आकांक्षाहरू पूरा गर्नुअघि कतै उठिबास लगाइने पो हो कि भनेर पटक-पटक सोच्‍नुपर्ने हुन्छ महिलाले । किनभने परिवारको इज्जत पुरुषले होइन महिलाले धानिदिनु परेको हुन्छ ।

जति नै क्रान्तिकारी विचार राखे पनि हामीलाई बाल्यकालदेखि नै खाँदी-खाँदीकन छोरी बन्‍ने मन्त्रहरू सिकाइएको छ । हक अधिकारको कुरा गर्न, आफ्नाबारे निर्णय लिन बल्ल सिक्दैछौँ । आफ्नै पक्षमा, न्यायको पक्षमा आफूलाई उभ्याउन पनि हामीले निकै बलपूर्वक प्रयत्‍न गर्दा बल्ल यो चेत आएको हो । जबकि, यही ज्ञान पुरुषले स्वाभाविक रूपमा आर्जन गरे ।

यो सामाजिक संरचनामा महिलाका लागि निश्‍चित सीमा कोरिएका छन् भने यसको तुलनामा पुरुष सीमाविहीन प्राणी हो । छोरालाई परिवारबाट बेदखल गर्दाको परिस्थिति र छोरीलाई परिवारबाट बेदखल गर्दाको परिस्थिति समान छ त ? पक्कै छैन । त्यही भएर तपाईंले कपाल काट्नुअघि मैले कपाल काटेमा मलाई के भनेर डामिनेछ भनेर सोच्‍न थाल्नु हुन्छ । तर, पुरुष आर्थिक, सामाजिक, सांस्कृतिकलगायत कैयौँ संरचनागत लाभांशबाट लाभान्वित छ । मेरो १६ वर्षको उमेरमा टाइफाइडले सबै कपाल झार्‍यो । म आफैंले स्याहार्ने अवस्था नभएपछि बचेका कपाल परिवारका सदस्यले खौरिदिए । अनि त्यतिबेला मेरो आँखाबाट आँसु खसे । किनभने मभित्रको छोरी जाग्यो । 

कपालसँग धेरै विषय जोडिन्छन् । कपाल तपाईंको सामाजिक मान्यताको स्विकारोक्ति हो । कपाल खुला छोड्नु भनेको उत्ताउलो हुनु हो, ‘अलच्छिनी’ हुनु हो । कपाल खुला नछोड्नुको अर्थ ‘महिला स्वतन्त्र हुनु हुँदैन’ भन्‍नु हो । महिलाले कपाल लामो पाल्नैपर्ने, काटे परिवारका पुरुष सदस्यको आयु घट्ने जस्ता पुरातन मान्यता आज पनि गाउँघर या सहरमा समेत प्रचलित छन् । कपाल बाट्नुको सांकेतिक अर्थ महिला नियन्त्रणमा बस्‍नुपर्छ भन्‍नु हो । महिलालाई नियन्त्रणमा राख्‍नका लागि जुगौँदेखि धर्म र संस्कृतिले भूमिका खेलेकै छन् । महिलाको कपाललाई त्यस्तो सामाजिक पहिचान दिइयो कि मानौँ कपालबिनाका महिला नै हुँदैनन् । समयसँगै यी पुरातन मान्यतामा धमिरा लाग्दै गएका छन् र महिलाहरू स्वतन्त्रताको मार्गमा एक-एक पाइला लम्किरहेकै छन् । 

प्रकाशित: २७ बैशाख २०७९ १२:५७ मंगलबार

चेतलुङ
चेतलुङ