२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
चिन्तन राजनीति

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?
तस्बिरः रेजा/चेतलुङ

अतीतको कटुतालाई मानिसले भरसक बिर्सने चेष्टा गर्छ । र, अतीतका राम्रा सम्झनालाई उसले जहिले पनि स्मृतिमा ल्याइराख्‍न चाहन्छ । राजतन्त्र यहाँ पुरानो विषय भइसक्यो । राजतन्त्र भोग्‍नेलाई यो अस्ति भर्खरको विषय लाग्छ । तर, जो २०६० सालमा जन्मे, उनीहरू अहिले कति वर्षका भए होलान् ? उनीहरूले न राजतन्त्र देखे, न त भोगे । राजतन्त्रको अन्तिम अवस्थामा उनीहरू शिशु थिए । त्यो उनीहरूका लागि जीवन्त अनुभव होइन । त्यसो भए उनीहरूका लागि जीवन्त अनुभव के हो त भन्दा उनीहरूले अहिले जे खराबी देखिरहेका छन्, जे भोगिरहेका छन्, त्यो नै उनीहरूका लागि अव्यवस्थाको परिचायक हो । त्यसैले उनीहरूका लागि राजतन्त्रले दमन गर्थ्यो, राजतन्त्र भ्रष्ट थियो भन्ने पुरानो विषय हो ।

अहिले तपाईंले दिनभरि पत्र–पत्रिकामा नेताहरूको जस्तो भाषण सुन्नु हुन्छ, उनीहरूको जस्तो खाले हिँडाइ, डुलाइ, बसाइ, देख्नुहुन्छ, त्यसले एउटा भाष्यको निर्माण गरिरहेको हुन्छ । यसैले आममानिसमा अथवा भन्नुस् युवामा निराशा र आक्रोश ल्याइरहेको छ । हिजोसम्म प्रतिगामी भनिएको राप्रपा र बालेनहरूजस्ता व्यक्ति सतहमा देखिनुमा यही जिम्मेवार छ । यसले फेरि पनि चिच्याइ–चिच्याइ विकल्प छैन नै भनिरहेको छ । विकल्प हुन्थे भने मानिस विकल्पतर्फ लाग्थे । विकल्प भएन भने घरचाहिँ छोडेँ–छोडेँ भने जस्तै हो । कहाँ जाने कुनै टुङ्गो छैन तर घरमा बसी नसक्नु भयो भनेर घर छोडेजस्तै हो ।

तपाईंले दिने विकल्प भनेको अन्ततः वैचारिक विकल्प नै हो । सोचको विकल्प हो । चिन्तनको विकल्प हो । वैचारिकताको विकल्प हो । तर, हाम्रो देशमा ‘विचारभन्दा देश ठूलो’ भन्छन् । विचार नभई समाज त बन्दैन, देश कहाँबाट बन्‍नु ? मानिस अलिकति चेतनशील भएपछि मात्रै समाज बनेको हो । बाँदर, कुकुरको समाज कहाँ छ ? भालु, हिमचितुवाको समाज कहाँ छ ? त्यसैले हरेक समाजका लागि विचार प्रधान हुन्छ । मानिसलाई हेर्ने, उनीहरूको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने अर्थतन्त्रलाई हेर्ने, सामाजिक न्यायलाई हेर्ने, श्रमिक र पुँजीपतिलाई हेर्ने कस्तो विचार, कसको पक्षको विचार, कुन धरातलमा उभिएको विचार भन्ने मात्र फरक हो । देशको उन्नतिका लागि त झन् विचार नभई हुँदैन । त्यसैले विचारभन्दा देश ठूलो भन्नु हावादारी कुराबाहेक केही होइन । सजिलो शब्दमा भन्ने हो भने यी राजतन्त्रवादीकै विभिन्‍न संस्करणहरू हुन् ।

पाँच वर्षका लागि चुनिएर आउने जो कोहीले फेरि पनि पर्यावरणको बेस्सरी दोहन गर्ने निश्‍चित छ । पर्यावरणको सर्वनाश गर्नेबाहेक कसैसँग केही नयाँ योजना छैन । कुनै राजनीतिक दल र उम्मेदवारले हामी ‘इकोफार्मिङ’ मा जान्छौँ भन्‍न सक्दैन । हामीले अब पर्यावरणमैत्री पर्यटनलाई बढावा दिन्छौँ भनेर भन्‍न सक्ने कोही छैन किनभने त्यति भन्‍न न त उनीहरूसँग सोच छ, न विचार छ, न जाँगर नै छ ।

हाम्रो सन्दर्भमा अहिलेसम्म जति विकल्पको छलफल भयो ती विकल्प बन्‍न सकेनन् । विकल्प हुने हो भने विद्यमान नेताहरूको विचारभन्दा फरक, उन्‍नत, सुसंस्कृत भएर आउनु जरुरी छ । विकल्प दिने नेताहरूको जीवनशैली, काम गर्ने शैली पनि भिन्‍न हुनु जरुरी छ । तर, यहाँ त नेताको चिन्ता गर्नै परेन, म छँदैछु, तपाईंहरूले युवा, महिला, आदिवासी, जनजाति, किसान, मजदुर ल्याउनुस्, पार्टी बनाउनुस् भन्‍न थालियो । त्यस्तो पार्टी डेमोक्रेटिक पार्टी बन्छ ? डेमोक्रेटिक पार्टी बनाउने हो भने हामी सबै जम्मा होऔँ, काम गर्न थालौँ, त्यसले नेतृत्व पैदा गर्ला अथवा चक्रिय प्रणालीमा नेता बनौँ पनि भन्दैनन् ।

मार्क्सले पेरिस कम्युनलाई आदर्श राज्य किन भने भन्दा त्यहाँ चक्रिय प्रणालीमा सरकारको नेतृत्व हुन्थ्यो । त्यो ७१ दिनको सरकार फेरि पनि अहिलेको भन्दा धेरै उत्कृष्ट थियो । त्यहाँ कुनै पनि नेतामा तानाशाह हुने भोक थिएन । त्यसो त, आजका दिनमा प्रयोग गरिने ‘डिक्टेटरशिप’ को अर्थ हिजो बिल्कुलै भिन्‍न थियो । पछि लेनिनले ‘एभ्री कुक क्यान रुल’ अर्थात् एउटा भान्सेले पनि शासन गर्न सक्छ भन्‍ने विचार अघि सारे । यसलाई एन्टोनियो ग्राम्शीले निकै सुसंगत ढंगले व्याख्या गरेका छन् । उनले संगठन बनाउँदा अगुवा र पछुवाको निर्माण गरिने सोच नै गलत हो भनेका छन् । समाजमा बसोबास गर्ने प्रत्येक व्यक्ति, तप्काका मानिससँगै अघि बढ्ने भनेको हो न कि कोही विशिष्ट र कोही निकृष्ट हुन् ।

राजनीतिमा जीवनका झण्डै पाँच दशक खर्च गरेपछि मैले के बुझेँ भन्दा हामीले पढ्नै पर्ने व्यक्ति ग्राम्शी रहेछन् । त्यसपछि हामीले रोजा लक्जम्बर्गलाई पढ्न छुटाउन हुँदैन । हामीले एउटा डेमोक्रेटिक अल्टरनेटिभ पार्टी बनाउने हो भने हामीले यो कोणबाट सोच्‍नै पर्छ । अहिलेका पार्टीहरू नोकरशाही भन्दा भिन्न छैनन् । त्यसैले यी पार्टीका नेताहरूलाई पूर्वतिर ‘चुक्सा राजा’ भनिन्छ । त्यसैले अहिले जनता हतास छन् । निराश छन् । उनीहरूसँग विकल्प छैन । जनतालाई राजनीतिक दलहरूले मात्र होइन, खास गरेर गैरसरकारी संस्थाले पनि असाध्यै कमजोर बनाइदिएका छन् ।

समुदायसँग आफ्नो भन्‍ने खानेपानी, जंगल, अस्पताल, शिक्षालय, वाचनालय केही छैन । सबै पार्टीले कब्जा गरेका छन् । देशैभर खानेपानीका समिति पार्टीको कब्जामा छ । त्यहाँ पार्टीको भन्दा डरलाग्दो चुनाव हुन्छ । त्यो चुनाव अरु कसैले गराउने होइन, पार्टीहरूले नै गराउँछन् । तपाईंले जंगलबाट हलो काट्नुपर्‍यो भने पार्टीको नेताको घरमा गुहार्न जानुपर्छ किनभने बनको अध्यक्ष ऊ नै हुन्छ । विद्यालय, अस्पताल उसैले कब्जा गरेको छ । त्यसैले समुदाय कमजोर भयो । नेताहरूको खबरदारी जसले गर्नुपर्थ्यो ऊ नै त्यो अवस्थामा रहेन । आखिर मानिसलाई मुक्त गर्ने भनेको उसको आलोचनात्मक चेतलाई बढाई प्रोत्साहित गर्ने त हो । तर, यहाँ त मुक्तिको नाममा जनतालाई र सिङ्गो समुदायलाई नै कज्याएर राखिएको छ । त्यसैले अब समुदायलाई नै यो अवस्थाबाट मुक्त गर्ने विकल्प आउनुपर्छ ।

विकल्प दिने नेताहरूको जीवनशैली, काम गर्ने शैली पनि भिन्‍न हुनु जरुरी छ । तर, यहाँ त नेताको चिन्ता गर्नै परेन, म छँदैछु, तपाईंहरूले युवा, महिला, आदिवासी, जनजाति, किसान, मजदुर ल्याउनुस्, पार्टी बनाउनुस् भन्‍न थालियो । त्यस्तो पार्टी डेमोक्रेटिक पार्टी बन्छ ?

हामीले फेरि पनि समुदायलाई नै बलियो बनाउनुपर्छ । जल, जंगल, जमिन मात्र होइन, विद्यालय र अस्पताल पनि समुदायसँगै रहनुपर्छ । यो सबैबाट कटेको समुदाय अहिलेको चुनावमा सहभागी त छ तर निर्बल छ । बिचरा भएको छ । त्यसैले यो चुनावमा मानिसमा अथवा भन्‍नुस् आम मतदातामा हताशा छ । यसको विकल्प कसैसँग छैन । पाँच वर्षका लागि चुनिएर आउने जो कोहीले फेरि पनि पर्यावरणको बेस्सरी दोहन गर्ने निश्‍चित छ । पर्यावरणको सर्वनाश गर्नेबाहेक कसैसँग केही नयाँ योजना छैन । कुनै राजनीतिक दल र उम्मेदवारले हामी ‘इकोफार्मिङ’ मा जान्छौँ भन्‍न सक्दैन । हामीले अब पर्यावरणमैत्री पर्यटनलाई बढावा दिन्छौँ भनेर भन्‍न सक्ने कोही छैन किनभने त्यति भन्‍न न त उनीहरूसँग सोच छ, न विचार छ, न जाँगर नै छ ।

सामाजिक जीवनको विभिन्न पहलुमा गणतन्त्र पुग्यो ? विद्यालयमा, कृषि कर्ममा, कारखानाका मजदुरमा, बुढा–बुढीको जीवनमा गणतन्त्र कसरी आयो ? देखिनु पर्दैन ? क्रोकोदेखि चिहानसम्म गणतन्त्रको अनुभूति जनतालाई नभएसम्म यो व्यवस्था टिकाउ हुँदैन ।

हामी त बिजुली बेचेर धनी हुने सपना पालिरहेका छौँ । जुन देशमा यत्तिका डाँडा–काँडा छन्, विद्युत् उत्पादन गरेर यहाँका जनतालाई बलियो बनाउनुको साटो विदेशमा विद्युत् बेचे धनी भइन्छ भन्‍ने जानिफकारहरूको भनाइ छ । वल्लो डाँडाबाट पल्लो डाँडा जानका लागि दिनभर हिँड्नुपर्ने ठाउँमा रञ्जुमार्ग बनाएर जनतालाई सुविधा दिए देश समृद्ध हुन्छ कि विद्युत्‌बाट आएको पैसा संगालेर ? देश समृद्ध हुने भनेको यहाँका जनता समृद्ध हुनु होइन ? जनतालाई समृद्ध बनाउने हो भने २० औँ हजार मेघावाट बिजुलीको खाँचो पर्छ नेपाललाई किनभने कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रमा विद्युत्‌लाई जोड्नै सकिएको छैन । तर, यहाँ यस्ता वाहियात जानिफकारहरू छन् कि उनीहरू बंगलादेश र भारतलाई बिजुली बेचेर धनी हुनुपर्छ भन्छन् । यसो गर्दा जनता धनी हुन्छन् कि हुँदैनन् उनीहरूलाई राम्रोसँग थाहा छ तर त्योभन्दा राम्रो गरी उनीहरूलाई आफू धनी भइन्छ भन्ने पनि थाहा छ । जनता यहाँका पपेट बुद्धिजीवी देखेर पनि उद्विग्‍न छन् ।

विकल्पहीन अवस्थामा जनता सर्कसमा देखाइने चिड, इट, तासजस्तै एउटा नेता रोज्‍न बाध्य छन् । त्यसैले यहाँ कोही जितेर धेरै उत्साहित हुनुपर्ने र कोही हारेर धेरै दुःखी हुनुपर्ने अवस्था छैन । पार्टीको नेता भएर बोल्ने हो भने म मेरो पार्टीले जित्‍नै पर्छ भन्छु तर मैले भनेको कुराबाट अर्को व्यक्ति सहमत हुनुपर्छ भन्‍ने मलाई लाग्दैन । यो आलेख पढ्दै गरेका जो कोहीले मनमनै सोच्‍नुस् त ! हामीले ल्याएको संघीयता, गणतन्त्र, समावेशिताले जनताको दैनन्दिन पहलुलाई सम्बोधन गर्नु पर्दैन ? हामीले ल्याएको गणतन्त्र, समावेशिता, संघीयताको हाम्रो आफ्नो व्याख्या के हो ? नेपालको सन्दर्भमा गणतन्त्र भनेको के हो ? सामाजिक जीवनको विभिन्न पहलुमा गणतन्त्र पुग्यो ? विद्यालयमा, कृषि कर्ममा, कारखानाका मजदुरमा, बुढा–बुढीको जीवनमा गणतन्त्र कसरी आयो ? देखिनु पर्दैन ? क्रोकोदेखि चिहानसम्म गणतन्त्रको अनुभूति जनतालाई नभएसम्म यो व्यवस्था टिकाउ हुँदैन ।

प्रकाशित: ३ जेठ २०७९ ११:५२ मंगलबार

चेतलुङ
चेतलुङ