२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
चिन्तन राजनीति समाज

‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?

‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?
तस्वीरः हिमाल केसी

यो स्थानीय तहको निर्वाचन अघिल्लो निर्वाचनभन्दा विभिन्‍न कारणले फरक थियो । राजनीतिक दलहरूभित्रको समीकरण, महत्त्वाकांक्षा, र एजेण्डाका कारणले तथा अघिल्लो पटक जनमत प्राप्त गरेर पनि सही ढंगले काम नगरेकाले उनीहरूप्रति व्यक्त भएको निराशा आदिले गर्दा यो चुनौतीपूर्ण नै थियो, सबै दलका लागि ।

०७४ सालको निर्वाचनमा म नेकपा (एमाले) मा सक्रिय भएको एउटा सदस्य थिएँ । त्यति बेला कांग्रेस-माओवादी केन्द्रको गठबन्धन हुँदा पनि हामीले धेरै ठाउँमा ‘क्लिन स्विप’ गरेका थियौँ । एमाले त्यति बेला बलियो शक्तिका रूपमा थियो । पछि संघ र प्रदेशको निर्वाचनमा दुई ठूला वाम शक्तिको चुनावी गठबन्धन भयो । एमाले-माओवादीको एकता हुने भनेपछि त्यसले मतदातामा अब वाम गठबन्धनले परिवर्तनको नयाँ आभाष दिनेछ, मुलुकले सही गति समाउने छ, राजनीतिमा भनिँदै आएको सुशासन, जवाफदेहिता, विकास, समृद्धिसहित सुखका दिन आउने छ भन्‍ने आशा दियो ।

जतिबेला कमरेड केपी ओली दुई तिहाइको नेतृत्व गर्दै सरकारमा जानुभयो, त्यतिबेला उहाँले वास्तविक धरातलमा भन्दा पनि सुन्दै रोमाञ्‍चकारी लाग्‍ने, सुखानुभूति हुने गफहरू धेरै गर्न थाल्नुभयो । समुन्द्रमा नेपाली पानीजहाज, चुच्चे रेल, मनोरेल मात्र होइन स्याटालाइटमा पनि के-के गर्ने जस्ता कुराहरू मात्रै गर्नु भयो । मानिस अधिक रोमाञ्‍चित भए तर क्रमशः उहाँ सुशासनमा खस्कँदै जानुभयो । भ्रष्टाचारमा चुर्लुम्म ढुब्नुभयो । उहाँले वास्तविक संकल्पहरू बिर्सनु भयो ।

कोभिडको पहिलो लहरमै त्यो असन्तुष्टि जनतामा चुलिँदै गयो । त्यसपछि हामीले पार्टीमा प्रश्‍न गर्न खोज्यौँ । उहाँले दल विभाजन गर्ने अध्यादेश ल्याउनु भयो र आफ्नै विरुद्ध फायर खोल्नुभयो । आज ओली सरको अवस्था कस्तो छ भनिरहनु पर्दैन । 

त्यही पृष्ठभूमिमा पार्टीभित्र प्रणाली तथा कम्युनिस्ट मुल्यका लागि आन्तरिक लडाइँ लड्दै गर्दा हामी यहाँसम्म आइपुग्यौँ । नयाँ पार्टी गठन गर्ने हाम्रो प्लानिङ थिएन । त्यसैले त गत चैत्र १-२ गते काठमाडौंको भेलामा पार्टी ब्रेक गर्नुपर्छ भन्‍ने जनमत हुँदासमेत हामीले पार्टी विभाजन गर्नु हुँदैन भनेर बस्यौँ । परिस्थिति कस्तो बन्दै गयो भने ओलीजीले गरेको पहिलो संसद् विघटनलाई त हामीले पराजित गर्‍यौँ ।

तर, उहाँले फेरि संसद् विघटन गरिदिनु भयो । त्यसपछि यस प्रकारको धुन्धुकारी, दम्भी र अहंकारी व्यक्तिलाई यहीँ भित्रै बसेर परास्त गर्न सकिँदैन भनेर हामीले विश्‍वासको मत दिएनौँ । पहिले सरकारबाट ओराल्यौँ र तानाशाहलाई भुईंमा झार्‍यौं, त्यसपछि साईजमा आउलान्  कि भन्‍ने सोच्यौँ तर त्यतिले उहाँका पाइला रोकिएनन् । 

कानुनमा कि त ‘नो भोट’ को व्यवस्था राख्‍नु पर्‍यो कि राजनीतिक दलहरू सुध्रिनु पर्‍यो । मलाई विश्‍वास छ कि कमजोरीहरूबाट सिकेर पार्टीहरूले आफूलाई सही ठाउँमा उभ्याउने छन् । निर्णयहरूलाई पारदर्शी बनाउने छन् । जवाफदेहिताको विकास गर्नेछन् । जनअपेक्षालाई सम्बोधन गर्नेछन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ अथवा भन्‍नुस् राजनीतिक स्थिरतासँगै आर्थिक फड्को मार्ने जुन हाम्रो सपना थियो, त्यसको रक्षार्थ पार्टीभित्र विद्रोह गर्दै नयाँ पार्टी बनाउने ठाउँसम्म आइपुगेका हौँ । पार्टी गठन भएको आठ महिनामा हामीले स्थानीय निर्वाचनको सामना गर्दैछौँ । चुनावको सामना गर्दैगर्दा पार्टी युवा छ तर पार्टीमा उही पुरानै मान्छे छन् । त्यसैले यो पार्टीमा पनि केही पात्र र प्रवृत्ति उस्तै छन् किनभने आखिर एउटा भाँडाको भात केही प्लेटमा र केही थालमा राखिएको न हो !

यसकारण, अवश्य हामीमा पनि केही कमजोरी छन् । सामान्यतः निर्वाचनमा जितेपछि समीक्षा हुँदैन तर हारेपछि कैयौँ कोणबाट यसको समीक्षा हुन्छ । सायद यही भएर होला शीर्ष नेताहरूले केही-केही बोलिरहेको सुनिन्छ । मलाई भने यो अपेक्षित परिणाम नै लाग्छ । एमालेको हकमा उहाँहरूको अहंकार र दम्भलाई जनताले राम्रै मूल्यांकन गर्नुभयो ।

स्थानीय तहको निर्वाचनलाई हामीले यो अग्रगमन र प्रतिगमनबीचको एजेण्डाको मतदान हो भनेर जनतामाझ जान सकेनौँ । खास गरेर स्वेच्छाचारी, अहंकारी, प्रतिगमनकारीका विरुद्धको ‘यो प्रोग्रेसिभ, डेमोक्रेटिक एलाइन्स हो’ भनेर हामीले वडासम्म सन्देश लैजान सकेनौँ । यति हुँदाहुँदै पनि म गठबन्धनको समीक्षा गर्नुपर्छ र एक-अर्कोलाई आक्षेप लगाउने गरी छलफल गर्नुपर्छ भन्‍ने ठान्दिनँ ।

६ प्रतिशत ठाउँमा उम्मेदवारी दिएको पार्टीले ५ प्रतिशतसम्म सकारात्मक परिणाम ल्याउँछ भने त्यसलाई नराम्रो कसरी भन्‍ने ? हामीले सबै ठाउँमा उम्मेदवारी नै दिएका छैनौँ । त्यसकारण अर्कोले एक सय ठाउँमा जित्यो र हामीले १० ठाउँमा जित्यौँ भनेर चिन्ता गर्न पर्दैन । उम्मेदवारी नै धेरै ठाउँमा नदिएको पार्टीले धेरै अपेक्षा गर्नु परेन । बरु यो अवसरलाई प्रयोग गरेर हामीले आफ्नो संगठन विस्तारमा जोड दिनुपर्छ । 

अब रह्‍यो, काठमाडौं र बाहिरका केही जिल्लाको मतदानको प्रवृत्ति हेर्दा त्यसले निर्वाचन प्रणालीमा नभएको तर गर्नुपर्ने ‘नो भोट’ को व्यवस्थातर्फ गरेको संकेत । परम्परागत राजनीतिक दलका विरुद्ध स्वतन्त्र उम्मेदवारले जसरी भोट प्राप्त गरेका छन्, त्यसलाई सबै राजनीतिक दलहरूले गम्भीरतासाथ लिनुपर्छ । राजनीतिक दलले दिएका उम्मेदवारमा जनतालाई चित्त बुझ्दैन भने उनीहरूसँग उनका उम्मेदवारलाई भोट दिँदैनौँ भन्‍ने विकल्प हुनुपर्छ ।

यस्तो हुन्थ्यो भने काठमाडौंमा त्यो भोट बालेन साहलाई नभएर ‘नो भोट’ मा जाने थियो । राजनीतिक दलका क्रियाकलाप, उनीहरूका निर्णयलाई जनता वैधता दिन बाध्य छैनन् भन्‍ने स्पष्ट पार्न नै जनताले बालेनलाई मत दिएका हुन् । तिमीहरूले आफ्नो पार्टीमा निर्णय गर्न सक्छौ होला, तिमीहरूले आफ्नो परिवारमा निर्णय गर्न सक्छौ होला, तिम्रो गुटमा, कटेरीमा निर्णय गर्न सक्छौ होला तर त्यसको फैसला सुनाउने बेला हामी तिम्रो निर्णयलाई वैध बनाइदिन बाध्य छैनौँ भन्‍ने यो धेरै ठूलो सन्देश हो । 

एउटा निर्वाचनमा आशातीत व्यवस्थापन गर्न नसकेकै कारण, आफ्ना कमजोरीको ढाकछोप गर्न ‘उही पार्टी थियो’ भनेर यति छिट्टै निष्कर्ष निकाल्न मिल्छ ? मैले राजनीतिलाई यति सजिलो र छोटो दूरीको बुझेकी छैन । यो त हजार माइलको यात्रा हो ।

बालेनले काठमाडौंका मतदाताको मन जितेर, विकासको सोच र एजेण्डामा सहमत गराएर यो भोट पाएका होइनन् । उनको प्रोफाइल हेरेर पनि कसैले मत दिएका होइनन् । यो स्वतःस्फर्त आएको भोट हो । जनताले राजनीतिक दललाई सचेत गराउन लिएको पहलकदमी हो र यो एकदमै राम्रो संकेत हो । कानुनमा कि त ‘नो भोट’ को व्यवस्था राख्‍नुपर्‍यो कि राजनीतिक दलहरू सुध्रिनु पर्‍यो ।

होइन भने जनताले प्रत्येक पाँच वर्षमा शासकहरूलाई चपरीमुनि राख्‍ने कि हस्तीनापुरमा राख्‍ने निर्णय गर्छन् । मलाई विश्‍वास छ, कमजोरीहरूबाट सिकेर पार्टीहरूले आफूलाई सही ठाउँमा उभ्याउने छन् । निर्णयहरूलाई पारदर्शी बनाउने छन् । जवाफदेहिताको विकास गर्नेछन् । जनअपेक्षालाई सम्बोधन गर्नेछन् ।

हामी राजनीतिक दलमा परम्परागत ढंगले हुर्किएर आयौँ । तर, हामीले अब आफ्नो ट्रयाक, कार्यशैली, चिन्तन प्रणाली सबै फेर्नु पर्नेछ । म आफैं सहभागी भएको पार्टीले पनि यो नगरी हुँदैन । वैकल्पिक भनिएका पार्टीहरूले पनि जनताको अपेक्षालाई जोगाइराख्‍न सक्नु भएन । एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्म नटिक्ने वैकल्पिक शक्तिले जनताको सपना पूरा गर्छन् भन्‍ने भरोसा भएन । वैकल्पिक भनेर नहुने रहेछ ।

यसले के देखाउँछ भने यिनै परम्परागत राजनीतिक शक्तिले आफूलाई आमूल रूपान्तरण गर्नुपर्छ । यसबाट पनि सिकेनौँ भने हामी कसैले आफ्नो अस्तित्व जोगाउन सक्ने छैनौँ । संघ र प्रदेशको निर्वाचनमा देखिन सक्ने यो पूर्वसंकेत हो । हामीसँग आफूलाई सच्याउने र सही बाटो हिँडाउने अझै समय छ । हाम्रा बोलीमा इमान, व्यवहारमा इमान, करनी र कथनीमा इमान छ भनी प्रमाणीत गर्नु पर्नेछ । किनभने मेरो बोली, व्यवहार र प्रयोगलाई जनताले नियालिरहेका हुन्छन् । 

चुनावी नतिजा सार्वजनिक भएसँगै विभिन्‍न कोणबाट एकताको कुरा सुन्‍न थालिएको छ । एकता भन्‍ने शब्द सुन्दा प्रिय लाग्छ सबैलाई । राम्रो पनि लाग्छ । अझै एकताको एजेण्डा जसले उठाउँछ ऊ झनै लोकप्रिय बन्‍न पुग्छ । तर, एकता केका लागि ? कोसँग ? कुन एजेण्डामा ? के गर्नका लागि ? के तपाईं र म मिलेर फेरि शक्ति आर्जन गर्न ? पुरानै कुरा दोहर्‍याउन ? वा योभन्दा अघि बढ्न ? त्यसैले एकताको औचित्य साबित हुनुपर्छ ।

हामीले जुन जोखिमका साथ यो बाटो तय गर्‍यौँ- के हामीलाई यो बाटो हिँड्न मन थियो ? हाम्रो रगत, पसिना र जीवन लगाएर बनाएको पार्टी हो, एमाले । तर, फेरि पनि पार्टी भनेको अमूर्त हुन्छ । मूर्त भनेको व्यक्ति हो । ती प्रत्येक व्यक्तिको सम्बन्ध, व्यवहार, चरित्र, प्रवृत्ति पार्टीमा अभिव्यक्त हुन्छ । त्यही पात्र, प्रवृत्ति र चरित्र सहन नसकेर, त्यसलाई सच्याउने कोसिस गर्दा नसकेर हामी बाहिर आएका हौँ । 

अनि एउटा निर्वाचनमा आशातीत व्यवस्थापन गर्न नसकेकै कारण, आफ्ना कमजोरीको ढाकछोप गर्न ‘उही पार्टी थियो’ भनेर यति छिट्टै निष्कर्ष निकाल्न मिल्छ ? मैले राजनीतिलाई यति सजिलो र छोटो दूरीको बुझेकी छैन । यो त हजार माइलको यात्रा हो । राजनीति धेरै घामपानीको मामिला हो । हामीले नेकपा (एकिकृत समाजवादी) बनाउँदै गर्दा जे-जे एजेण्डा उठाएका थियौँ, ती प्रत्येक मामिलाको जवाफ व्यवहारमा नखोजी, रूपान्तरणमा नखोजी आजै यात्राको अन्त्य गर्ने प्रश्‍नै आउँदैन ।

हिजो भेट भयो, आँखा जुध्यो, आज बिहे भयो, भोली डिभोर्स भनेजस्तो सस्तो प्रेम त टिक्दैन भने समाज रूपान्तरणका लागि गरिने राजनीति सजिलो मामिलो होइन । हो, एजेण्डामा गठबन्धन गर्छौँ । रह्‍यो कुरा, एमालेको नेपालको राजनीतिलाई सही ट्र्याकमा हिँडाउने हो र मुलुक दुर्घटनामा जानबाट जोगाउने हो भने एमालेको ‘कम-ब्याक’ हुनुहुँदैन । एमाले निश्‍चित घेरामा बस्‍नुपर्छ, बल्ल मुलुकमा ‘सिस्टम’ बसाउन सकिन्छ ।

(कुराकानीमा आधारित)

प्रकाशित: ११ जेठ २०७९ १०:२९ बुधबार

चेतलुङ
चेतलुङ