१६ असार २०७९, बिहीबार - June 30, 2022 Thursday
चिन्तन दर्शन राजनीति संस्कृति

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ
तस्बिर: गौतम राईको फेसबुकबाट 

आजको संकट र कम्युनिस्ट आन्दोलनबारे बोल्दै गर्दा म खास गरी अहिलेको मूलप्रवाहमा रहेका पार्टीको वरपर रहेर अबको बाटोका विषयमा आफ्ना कुरा राख्‍नेछु । नेपालको कम्युनिस्ट पार्टी र आन्दोलन धेरै माथि थियो, विभाजित भएर स्थानीय तहको चुनावमा गएपछि यसले अलिकति ठक्कर खाएको छ । धेरैले भन्दै छन्, आउने ठक्कर अझै ठूलो हुनेछ । अहिले हामी कान्लाबाट खसेका हौँ, भीरबाट खस्‍न बाँकी नै छ । यस विषयमा मैले थोरै चर्चा गर्नेछु । 

कति साथीहरू निरास देख्छु मैले- जेसुकै होस अझै यिनको सत्यानाश होस, त्यसपछि केही होला भन्‍नेमा हुनुहुन्छ । सत्यानाश अरुको के हुन्छ र ? यिनै नेताको सत्यानाश होस, त्यसपछि केही बाटो निस्केला भनी । भावनाका हिसाबले क्रान्ति भईदिए हुन्थ्यो, मुलुक राम्रो भईदिए हुन्थ्यो भन्‍ने सोच्‍ने छ उहाँहरूमा तर हाम्रा नेताहरूका कर्मले दिक्क भएर त्योसम्म भनिएको हो । के सबै सकिएकै हो ? म त्यस्तो देख्दिन । हामीसँग अझै केही अजस्र सम्भावना छ । हो हामीसँग संकट छ । अप्ठेरो छ । तर, यो समाधान हुनै नसक्ने ठाउँमा हाम्रो मुलुक र आन्दोलन पुगीसकेको होइन ।

भावनाको कुरा गरेर मात्रै भएन अबको बाटो के हो भन्‍ने हुनुपर्‍यो । जसले हामीलाई, यो मुलुकको राजनीति, समाज, अर्थतन्त्रलाई यहाँको कम्युनिस्ट आन्दोलनको बौद्धिक संस्कृतिलाई अघि बढाओस । आज युवाहरूमा भयंकर निराशा र छटपटी छ । हाम्रा नालायकीले अर्थात राजनीतिक पार्टीका नालायकीले निराश भएर एक खालको बदलाभावले सामाजिक सञ्‍जालमा आफ्ना आक्रोश पोखिरहेका साथीहरूको दृश्य एकातर्फ छ भने अर्कातर्फ युवाहरू नेताको पछाडि कुदेको दृष्य पनि छ । 

सोच्‍न, चिन्तन गर्न, समाज, परिवारबारे अध्ययन गर्न, आफू कहाँ हिँडेको हो ? किन हिँडेको हो ? के बोल्दै छु ? के नारा लगाउँदै छु ? कसको पक्षमा, कसको विरुद्धमा नारा लगाएको छु भन्‍नेसमेत थाहा नभएको लम्पट युवाको समूह पनि छ । ऊ एक मात्र कुरा जान्दछ- केही हुन्छ भने नेताले भनेरै हुन्छ । किनभने हिजो त्यो नेता पनि हामीसँगै सडकमा थियो, नारा लगाउँदै थियो, कसैका पछि दौडदै थियो । तर, आज नेता कहाँ पुगीसक्यो । पछि मेरो जिन्दगी पनि त्यस्तै होला भन्‍ने आशमा, लोभमा निरन्तर कुदीरहेको युवाको पंक्ति पनि छ । 

यस्तो बेला ‘कम्युनिस्ट आन्दोलनको संकट र अबको बाटो’ के होला भन्दै यहाँसम्म आउने साथीहरू धन्यवादका पात्र हुनुहुन्छ । टंक कार्कीजीले भन्‍नु हुन्थ्यो- यो कस्तो आन्दोलन र समाज भयो भन्दा, पहिले हामी आन्दोलनकारी हुँदा हामी तल्लो वर्गमै थियौँ । त्यसैले हामी क्रान्तिको पक्षमा थियौँ । क्रान्ति हाम्रा लागि वस्तुगत अवस्था थियो । दैनन्दिनको आवश्यकता थियो । क्रान्ति मेरै लागि चाहिएको थियो । क्रान्ति मेरो- भौतिक तात्कालिक वस्तुगत आवश्यकता थियो किनभने म तल्लो वर्गको थिएँ । आजका दिनमा त्यो आन्दोलनबाट हामीले केही आर्जन गर्‍यौँ अथवा हाम्रो भाग्य थियो, हामी माथि पुग्यौँ । अब हामी तल छैनौँ । हिजो हामी तल थियौँ र हाम्रो माथिकासँग अन्तरविरोध थियो । अब हामी माथि पुगीसकेका छौँ, त्यसैले हाम्रो अन्तरविरोध तलकासँग छ ।

कमरेड ओलीले माधव नेपालको नाम लिएर कुल्ला मात्रै गर्नु भयो भने एमालेका खाँटी कार्यकर्ताले बान्ता नगरि उसको योग्यतै पुष्टि हुँदैन । कमरेड कुल्ला गर्नु हुन्छ, कार्यकर्ता बान्ता गर्छन । चाहेर नचाहेर तपाईं त्यो संरचनाभित्र हुनुहुन्छ भने तपाईंको योग्यता त्यही हो ।

प्रत्येक युगको जिन्दगी, एउटा व्यक्तिको जिन्दगी जस्तै हुन्छ । एउटा मात्रै घटनाक्रमले युग बन्दैन, जसरी मानिसको जीवन एउटा घटनाले बनेको हुँदैन । त्यही युगको जीन्दगी बुझ्नका लागि त हो युवाहरू आन्दोलनमा जोडिने । बदलाका लागि आक्रोश पोखीरहेको अथवा सोच्‍ने दिमाग घरमा छोडेर आएको युवा होइन यो । त्यसैले म यहाँ उपस्थित युवालाई विश्वास गर्छु । कुनै बेला पाँच जना व्यक्तिले टुकी बालेर नयाँ सोचेका थिए र त नयाँ युगको सुरुवात भयो । हामी जस्ता व्यक्ति, जो एकखाले प्रणालीमा समाहित भएर आएका छौँ, तपाईंहरूले हामीलाई पनि बदल्नु भएको छ । त्यसैले मैले यस्ता कार्यक्रमहरूलाई सातो फुक्ने कार्यक्रम भन्‍ने गर्छु । 

पद फुस्किन्छ कि भनेर, नियुक्ति पाईदैन कि भनेर डराईरहेका, भागीरहेकाको वर्गमा पर्छु म । मेरो वर्गका धेरै मानिस डराउँछन् । हामी डराउनेहरूको सातो फुक्नका लागि जुन कार्यक्रम राख्नु भएको छ- भयंकर स्तुत्य छ । राजनीतिक पार्टीका नेताहरू वास्तवमा समाजका गुरु हुन् । शिक्षक हुन् । उनीहरूले जे बोल्छन् समाजले त्यही सिक्ने हो । तिनले जस्तो बाटो समाउँछन्, जनताले त्यही बाटो समाउने हो । ‘ठूला मान्छे जता गए, बाटो त्यही हो’ भन्‍ने हाम्रो परम्परा नै छ । तर, हाम्रो राजनीतिक संस्कार हेर्नुस त । मूलप्रवाहका जति पनि राजनीतिक पार्टी र तिनका नेता छन् उनीहरूको दिनचर्या, भाषा, बोल्ने शैली, बौद्धिकता, उनीसँग रहेको दुरदृष्टि हेर्नुस त । त्यहाँ निन्दा, भर्सना, खुट्टा ताना-तान, गाली-गलौज, चरित्र हत्याबाहेक केही छैन । भनेपछि हामी के सिकाई रहेका छौँ त ?

कम्युनिस्ट आन्दोलनभित्र हेर्नुस त- जब प्रचण्ड कमरेडले एमालेको पत्ता साफ गरिदिनुपर्छ भन्‍नुहुन्छ, माओवादी केन्द्रका साथीहरू लाठी-डण्डा लिएर सडकमा आईपुग्‍नु हुन्छ । यही माओवादी हुनुको योग्यता हो । माधव कमरेडले एमालेलाई धुलो चटाईदिन्छु भनेपछि समाजवादीका साथीहरू पुत्ला जलाउन आईपुग्‍नुहुन्छ । कति पुल्ला जलाइयो भन्ने आधारमा समाजवादीमा जोडिने हुन्छ । कमरेड ओलीले माधव नेपालको नाम लिएर कुल्ला मात्रै गर्नु भयो भने एमालेका खाँटी कार्यकर्ताले बान्ता नगरि उसको योग्यतै पुष्टि हुँदैन । कमरेड कुल्ला गर्नुहुन्छ, कार्यकर्ता बान्ता गर्छन । चाहेर नचाहेर तपाईं त्यो संरचनाभित्र हुनुहुन्छ भने तपाईंको योग्यता त्यही हो । भनेपछि हामी यो समाजलाई कता लतार्दै छौँ ?

राजनीतिमा जुन नेताको अहिले पकड छ राजनीति पनि त्यस्तै छ । त्यसैले गर्दा नेता र राजनीति उस्तै हुन पुगेको छ । यो दुबै भिन्न हुँदाहुँदै पनि युवामा राजनीतिप्रति वितृष्णा छ र नेताप्रति आक्रोश । स्वतन्त्र उम्मेदवारको जुन लहर देखापरेको छ, त्यो यही मुलधारको राजनीतिक अयोग्यताले सृजना गरेको हो । फेरि पनि पार्टीको विकल्प पार्टी नै हो । खराब पार्टीको विकल्प असल पार्टी हो । यो हावाहुरी लामो समयसम्म रहन सक्दैन । संसारभर यस्तो हावाहुरी आईरहन्छ । यस्तो विद्रोह किन हुन्छ भन्दा हामी कम्युनिस्टप्रतिको असन्तुष्टिले यस्तो विद्रोह हुने गर्छ । ‘विचार भन्दा माथि देश’ भन्ने शक्ति यस्तै हावाहुरीबीचबाट आउने हो । 

नेताले घुस खायो- मुर्दावाद । नेताले राम्रो गरेन- मुर्दावाद भनेर हामी एउटा एजेण्डामा आक्रोशित हुन सकौँला । तर, कस्तो समाजमा नेता भ्रष्ट हुन्छ ? कस्तो पार्टीले भ्रष्ट नेता जन्माउँछ ? अनि त्यस्तै पार्टीभित्र राम्रो मान्छे जाँदा पनि नराम्रो भएर कसरी निस्कन्छ ? अथवा राम्रो पार्टी भयो भने समाजका नराम्रा पक्षलाई सुधारेर उकसले क्रमशः समाजलाई कसरी राम्रो बनाउँछ भन्ने पनि इतिहास छ । यसमा दुईटा विचारधारा छन् । पहिलो, १८ बर्ष पुगेपछि चुनावमा भोट हाल्न र उठ्न देउ तथा बजारलाई खुला छोडी देउ । यो कुरा राम्रो हो भनेपछि मानिस उदारवादी बुर्जुवा दर्शनमा समाहित हुँदै जान्छ ।

दोस्रो, समाजमा एउटा खास व्यवस्था छ, त्यसले मानिसलाई हुनेखाने र हुँदाखाने बनाउँदो रहेछ भन्ने बुझेपछि ऊ वामपन्थतर्फ आकर्षि हुँदै जान्छ । वामपन्थतर्फ आकर्षित भएको युवाले समाजका समस्यालाई पर्गेल्न थाल्छ । त्यसैले आज खासगरी युवाहरूले सम्पूर्ण सचेतनाका साथ नसोच्‍ने हो भने आन्दोलनमा भयंकर ठूलो खतरा देखिँदैछ । नेताहरूले हाम्रो आन्दोलनलाई कता लैजाँदै छन् भन्‍ने हेर्न तिनका गाली-गलौज पर्याप्त छन् । 

आजको संकट र पाँच बर्ष अघिको संकटलाई हेर्ने हो भने आकाश पातालको फरक छ । हिजोको पुस्ताले मुलुकमा लोकतान्त्रीक स्थिरताका लागि निकै ठूलो बलिदान गर्‍यो । हिजोको खोजी लोकतान्त्रिक स्थिरताकै लागि थियो । ००७ सालमा हामीले लोकतन्त्र लिएर आयौँ स्थिरता भएन । ०१७ सालमा तथाकथित स्थिरता त आयो तर लोकतन्त्र थिएन । ०४७ सालमा फेरि लोकतन्त्र आयो तर अस्थिरताका सारथीहरूले फेरि अस्थिरतातर्फ लगे ।

हिजो हामी तल थियौँ र हाम्रो माथिकासँग अन्तरविरोध थियो । अब हामी माथि पुगीसकेका छौँ, त्यसैले हाम्रो अन्तरविरोध तलकासँग छ ।

०७२ सालमा हामीले संविधान बनायौँ । असाधारण महत्वको काम गर्‍यौँ । त्यो संविधान बोक्ने बलियो राजनीतिक शक्ति चाहिन्थ्यो । वास्तवमा पार्टी एकतापछि जनताको त्यो युगिन आकांक्षा बोक्ने कम्युनिस्ट पार्टी बन्यो भनेर जनताले विश्वास गरेका थिए । ७० बर्षदेखिको अस्थिरता अन्त्यको दिशामा त्यो असाधारण महत्वको विषय थियो । कांग्रेसकै तमाम साथीहरूले अस्थिरताको अन्त्य भई नयाँ युगको सुरुवात भयो भनेर सोचीरहेका थिए । तर, नेकपा फुट्यो ।

नेकपा फुट्दा नेताहरूले के पाए छोडि दिनुस । उनको अहंको तुष्टि भयो कि भएन त्यो पनि छोडीदिनुस । तर, मुलुकले धेरै लामो संघर्षबाट आर्जेको सपना, जुन विपनामा परिणत हुँदै थियो, त्यो लोकतान्त्रिक स्थिरताको सम्भावनालाई यसले बर्बाद पारीदियो । दोस्रो, इतिहासमा हामीले उठाएका मुद्दा, जुन नयाँ संविधानबाट कार्यान्वयनमा गएर विश्वमै नयाँ मोडेलको रूपमा स्थापित हुँदै थियो, त्यो अवसर गुम्यो ।

त्यो सम्भावना कसरी गुम्यो भन्दा ०७५ जेठ २मा भएको महान एकतामा दुईजना नेताले हस्ताक्षर गरेका थिए । हस्ताक्षरमा दुबैजनाले पालै-पालो प्रधानमन्त्री हुने तथा पार्टी अध्यक्षमा को पहिलो र को दोस्रो हुने भनेर लेखे । सहमति दुई बर्षसम्म गोप्य राखियो । पार्टी जीवनमा, आन्दोलनमा यो गर्न मिल्ने थियो ? जब पत्र बाहिरियो फुटको बिउ रोपियो । कम्युनिस्ट आन्दोलनमा यो दुर्दशा र लज्जासिवाय केही होइन । यसबीच धेरै कुरा भए । प्रचण्ड-माधव जीले यसको प्रतिक्रिया संसदीय दलमा जनाउन थाल्नु । कम्युनिस्ट आन्दोलनमा स्थायी समिति, पोलिटब्युरो, केन्द्रबाट निर्णय नगरेर संसदीय दलबाट ठेगान लगाउने विधि निकाल्नु भयो उहाँहरूले । महान आन्दोलनको अर्को पाटो भनेको स्वार्थी अभ्यासले पार्टीभित्र समस्या आयो । 

गोप्यवाला कचिङ्गल समाधान गर्न नसकेर संसद हानिदियौँ हामीले । यो त्यही संसद थियो, जुन राजाले ०१७ सालमा हानेका थिए । ०४७ सालमा संसद आयो, तर त्यो संसद, भारत, दरबार र माओवादीको तारो भयो । त्यसैले म सधैँ संसदको पक्षमा उभिए । म मात्र होइन प्रत्येक नेपाली संसदको पक्षमा उभिनु पर्छ । तर, अहिलेसम्म हामीले त्यसको महत्ता बुझेका छैनौँ । नेपालको स्थिरताको चाहना र विगतको कटु अनुभवलाई बुझेर नै हामीले संसद विघटन गर्न नमिल्ने गरी चार दिशा बाँधेर संविधान बनायौँ । तर, गोप्य सम्झौताको कुरा नमिलेपछि संसद अवसान हुन पुग्यो । यो क्षम्य हुन्छ ? अब भन्नुस हामी राम्रो काम गर्दैछौँ ? यो त गौँथलीले घरमा गुण बनायो भनेर घरमुलीले घरमै अगुल्टो झोसे जस्तो हो । बच्चाको टाउकोमा लिखा पर्‍यो भनेर पेट्रोल छर्न मिल्छ ?

त्यसपछि ‘प्यान्डोरा बक्स’ खुल्यो । बाकसबाट अनेक विषय निस्कदै गए र आज यो अवस्था छ । संसदको पहिलो पार्टीको आज के हालत छ ? पहिलो मात्रै होइन तेस्रो, पाँचौँ, छैठौँ, सातौँ कम्युनिस्ट पार्टीको के हाल छ ? अनि जसले अमेरिकाबाट नेश्नल गार्ड ल्याउँछु भन्छ उसले शासन गर्दैछ । अर्का गोप्य गर्नेहरूले नेपालमा स्टेट पार्टनरशीप प्रोग्रामअन्तर्गत अमेरिकी सेना ल्याएर मूलतः चीनको आँगन नजिक विशालु सर्पको खेती गर्न खोज्दैछन् । यो भनेको जेलेन्स्कीकै बाटो हो । हामीलाई युक्रेन र जेलेन्स्कीतिर लैजाँदै छन् । 

हाम्रै इतिहासमा खम्पा विद्रोह भएको थियो । ०३२ सालमा तिब्बतबाट भागेर आएका खम्पालाई अमेरिकीले संगठित गरेर सिउचाटारमा प्लेन ल्याण्ड गराएर रसदपानी, हतियार वितरण गर्थे । हामी वास्तवमा त्यतिखेरै गईसकेका थियौँ । बालबाल बच्यौँ अथवा त्यो अमेरिकी मिसन असफल भयो । अर्को मिसन खम्पा दुईको मञ्चन गर्नेहरू शासन गर्दैछन् । त्यो पनि कस्तो भन्दा माछाको तेलमा माछा फ्राई गर्दैछन् । अर्थात कम्युनिस्टको तेलमा कम्युनिस्टलाई फ्राई गर्दैछन् । अनि अन्य सबै कम्युनिस्टहरू एकअर्कालाई हेरेर ए... ए... भन्दै छन् । म पनि भएन भन्दैछु, प्रचण्ड पनि भएन भन्दै हुनुहुन्छ । एसपीपीको कागजात पुलिसले भन्सारमा वेवारिसे सामान समाए जस्तै हो । 

०३२ सालमा खम्पालाई अमेरिकीले संगठित गरेर रसदपानी, हतियार वितरण गर्थे, त्यो अमेरिकी मिसन असफल भयो । अर्को मिसन खम्पा दुईको मञ्चन गर्नेहरू शासन गर्दैछन् । त्यो पनि कस्तो भन्दा माछाको तेलमा माछा फ्राई गर्दैछन् । अर्थात कम्युनिस्टको तेलमा कम्युनिस्टलाई फ्राई गर्दैछन् ।

अमेरिकी दुतावास- हामीले यस्तो केही प्रस्ताव गरेका छैनौँ भन्छ । संसदमा गृहमन्त्री- हामीले प्रस्ताव गरेका छैनौँ भन्छन् । किनभने सामान खोज्न गयो भने चोर समातिन्छ । आज भागाभाग छ उनीहरूको । तर, हामी कहाँ जाँदैछौँ ? अन्तर्राष्ट्रिय भूराजनीतिक शक्ति र यसका दबाबहरू हाम्रै पैतालामुनि आईसकेको छ । यो साधारण कुरा हो ? यो कसले गर्दा आएको हो ? इमानका साथ भन्नु पर्छ- वामपन्थी आन्दोलन कमजोर भएरै यस्तो भएको हो । हामीलाई रिस उठेर हामीले संसद हिडाईदिएर हो । नभए कम्युनिस्ट पार्टीलाई भोट हाल्ने मान्छे नुन खाएको कुखुरा जस्तो हुन्छ ? आज कम्युनिस्टलाई भोट हाल्ने जो कोही आक्रोशित छ । त्रसित छ । ऊ खुसी हुन सकेको छैन । एकखाले भविष्यको अज्ञात त्रासले उसलाई तर्साई रहेको छ । सत्यलाई सबैले स्वीकार्नु पर्छ । 

यस्तो परिस्थितिबीच आज पनि हामी केही गर्न सक्छौँ । एकता कि सत्यानास हाम्रा अघिल्तिर दुईटा बाटा छन् भनेर मैले अघिदेखि भन्दै आएको छु तर त्यति बेला कसैले सुनेन । अहिले चुनाव आएकाले असम्भव छ भनिँदैछ । मैले प्रचण्ड र माधव नेपाललाई धेरै पटक सोधेको छु, पछिल्लो बैठकमा ओलीलाई पनि सोधेँ- ओली कमरेड यो पार्टी र प्रचण्ड-माधवजीको पार्टीकाबीच वैचारिक रूपमा के भिन्‍नता छ ? सिद्धान्तमा के भिन्नता छ ? संगठनात्मक कार्यदिशामा के भिन्‍नता छ ? मलाई जम्मा एउटा भिन्नता बताईदिनुस । मेरो प्रश्नको जबाफ कसैले दिन सकेको छैन । हामी सर्कसको बाँदर जस्ता हुन पुगेका छौँ । मास्टर मुस्काए दाँत देखाएर हाँस्ने, मास्टरले आँखा तरे सिरियस भईहाल्नुपर्ने । यो संरचना नै त्यस्तो बनेको छ । अहंकार र केवल अहंकारबाहेक केही भिन्‍नता छैन ।

युवा साथीहरू तपाईं मुख्य पार्टीका नेताहरूलाई समात्‍नुस र सोध्नुस । बाटोमा समाएर सोध्नुस, कार्यक्रममा सोध्नुस, लेख लेखेर सोध्नुस, सामाजिक सञ्‍जालबाट सोध्नुस । युवाहरूले प्रश्‍न सोध्‍ने हो भने धेरै विषयलाई अघि बढाउन सहज हुन्छ । अरु जे-जे बोलिएको छ, यता जनयुद्धको बर्ता कुरा होला । आजका दिनमा ती बेकार कुरा हुन् । यता जबजको कुरा होला । हामी त्यो जबजलाई विकास गरेर अघि बढीसक्यौँ भने त्यसलाई मागी खाने भाँडो बनाएर बस्‍न मिल्दैन ।

आज कम्युनिस्टलाई भोट हाल्ने जो कोही आक्रोशित छ । त्रसित छ । ऊ खुसी हुन सकेको छैन । एकखाले भविष्यको अज्ञात त्रासले उसलाई तर्साई रहेको छ । 

जबजले हाम्रो क्रान्ति, अग्रगमन, एकता रोक्छ भने त्यो जबजको के काम ? त्यो कस्तो जबज हो, जसले कम्युनिस्टबीचको एकता रोक्छ ? त्यो कस्तो जनयुद्ध हो, जसले वामबीचको एकतालाई रोक्छ ? त्यो कस्तो सिद्धान्त हो, जसले अग्रगमनलाई रोक्छ ? संकटलाई चिर्ने शक्तिलाई कमजोर बनाउने कुन वाद, सिद्धान्त हो ? त्यसैले यो बकवासबाट माथि उठ्न र सबैलाई एकताबद्ध हुन अपिल गर्छु ।

के समस्या यति मात्रै थियो ? थिएन । हामीले मोटो सिद्धान्त बनायौँ तर त्यसलाई हासिल गर्ने कार्यक्रम बनाएका छैनौँ । हिजो महाधिवेशनदेखि आजसम्मको मेरो माग भनेकै हाम्रो कार्यक्रम के हो भन्‍ने हो । राष्ट्रिय पुँजीको विकास कसरी हुन्छ ? कृपया कसैले भनिदिनुस न । तर, अहिले हामी उम्मेदवार ‘आउट सोर्सिङ’ गर्ने अवस्थामा पुगेका छौँ । के तिनैले हाम्रो समाजवाद ल्याईदिन्छन् ? समाजवाद र क्रान्ति पनि आउट सोर्सिङ गर्ने हो र ? होइन भने हाम्रो कार्यक्रम के हो ? त्यसैले हामीले गर्नैपर्ने महत्वपूर्ण ६ काम छन् । 

पहिलो, गोप्य सम्झौता सिद्धान्तहीन थियो, त्यसैले एकता टिक्न सकेन भनी स्वीकार्ने । दोस्रो, संसद विघटन गलत थियो भनी स्वीकार्ने । तेस्रो, सिद्धान्तअनुसारको कार्यक्रम बनाउने । चौथो, तत्कालै वाममोर्चा निर्माण गर्ने । पाचौँ, माफी सप्ताह आयोजना गर्ने र छैठौँ, नेपाललाई शान्तिक्षेत्र कायम गराउन पहल गर्ने । यति हुने वित्तिकै एउटा परिस्थिति तयार हुन्छ । त्यसपछि हामीले जनतासँग आत्मआलोचित भएर अब हामी लोकतान्त्रिक पार्टी बनाएर अघि बढ्छौँ भनेपछि मलाई विश्वास छ जनताले हामीलाई विश्वास गर्नेछन् ।

(कम्युनिस्ट आन्दोलनः संकट र अबको बाटो कार्यक्रममा भूषालले दिएको मन्तब्य ।) 

प्रकाशित: ३ असार २०७९ ११:०६ शुक्रबार

चेतलुङ
चेतलुङ