१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
चिन्तन दर्शन समाज संस्कृति

गे र लेज्बियन आन्दोलनबारे केही सवाल

गे र लेज्बियन आन्दोलनबारे केही सवाल
सांकेतिक तस्विर

गे र लेज्बियन आन्दोलनको अस्तित्व र यसको साङ्केतिक स्वरूप, अनि यो आन्दोलनबाट निर्मित सङ्कथन र सिद्धान्तहरूले उठाएका प्रश्‍नहरू समाज विज्ञानका लागि एकदमै महत्वपूर्ण र नौला छन् । साङ्केतिक हिंसा विरुद्धको यो विद्रोहले ल्याएका विश्लेषणका नयाँ विषयवस्तुहरूले साङ्केतिक सोपानतन्त्र र त्यसको सामाजिक जगलाई एकदमै नवीन र क्रान्तिकारी प्रश्‍न गर्न थालेका छन् । साथै, यो आन्दोलनले त्यो सोपानतन्त्रको विद्धमान जगलाई उल्ट्याउन आवश्यक पर्ने जनपरिचालनका लागि उपर्युक्त स्थिति सिर्जना गर्दैछ ।

एउटा निश्‍चित खालको साङ्केतिक उत्पीडन भोग्‍ने समलिङ्गिहरूको अवस्था महिला वा नश्लीय अल्पसंख्यकहरूको भोगाईभन्दा भिन्‍न हुन्छ । समलिङ्गिहरूसँग ‘स्टीग्मा’ जोडिएको हुनाले उनीहरूले सुविधाअनुसार आफ्नो पहिचान देखाउन वा लुकाउन सक्छन् । कुनै-कुनै नश्लवादमा झैँ समलिङ्गिमाथिको साङ्केतिक उत्पीडनले सार्वजनिक अस्वीकृतिको रूप लिने गर्छ । कानुनले समलिङ्गिको अस्तित्व स्वीकार गरे पनि वा उनीहरूको सार्वजनिक अस्तित्वलाई माने पनि ‘स्टीगमा’ का कारणले उनीहरूको सार्वजनिक ‘ईनभिजिबिलिटि’ (अदृश्यीकरण) भईरहेको परिस्थितिमा यो आन्दोलनले उनीहरूलाई प्रकाशमा ल्याईदिएको छ । 

सामाजिक धारणाका मानकलाई नै उल्ट्याउने किसिमका विध्वंसक आन्दोलनहरूमा बाहेक उत्पीडितहरूले प्राय चल्तीका दृष्टिकोणहरूलाई नै अपनाउने गर्छन् । सामाजिक वर्गीकरणको ‘स्टीग्मा’ अनि वास्तविक र सम्भावित अपमान र हिंसाले निर्माण गरेको ‘डेस्टिनी ईफेक्ट’ अर्थात् भाग्य प्रभावमा परेर उनीहरूले बाध्यताबस नै प्रचलित ‘स्ट्रेट’ वा सिधा अवधारणालाई अपनाउन पुग्छन् जुन ‘बेन्ट’ वा बाङ्गिएको भन्दा फरक हुन्छ, र उनीहरू आफ्नो यौनिक अनुभवलाई प्रचलित अवधारणाको दृष्टिकोणबाट हेरेर ‘लज्जित’ महसुस गर्न पुग्छन् । यसरी भन्दा उनीहरू आफू सार्वजनिक वृत्तमा प्रष्ट भईएला कि भन्‍ने भय र अरू समलिङ्गिहरूसँग चिनिने वा नजिक हुने चाहनाबीच रुमल्लिरहेका हुन्छन् ।

एउटा निश्‍चित खालको साङ्केतिक उत्पीडन भोग्‍ने समलिङ्गिहरूको अवस्था महिला वा नश्लीय अल्पसंख्यकहरूको भोगाईभन्दा भिन्‍न हुन्छ ।

समलिङ्गिहरूमाथिको साङ्केतिक उत्पीडन उनीहरूको देखिने यौनिक सङ्केतहरू भन्दा यौनिक क्रियाकलापहरूसँग बढी जोडिएको हुन्छ । वैध मानिएको क्रियाकलाप ‘सक्रिय’ पुरुष र ‘निष्क्रिय’ महिलाबीचको सम्बन्धलाई मानिन्छ । समलैङ्गिक सम्बन्धमा पनि दुई पुरुषहरूबीचको सम्बन्धमा पनि एउटालाई महिलामा रूपान्तरण गर्न खोजिएको हुन्छ । यसरी हेर्दा महिलालगायतको उत्पीडनको प्रमुख कारक ‘एन्ड्रोसेन्ट्रिक’ वा पुरुषवादी सिद्धान्तलाई गेहरूले अवलम्बन गरेको देखिन्छ । लेज्बियन जोडीहरूले पनि समाजमा चल्दै आएको पुरुष र महिलाको भूमिकालाई पुनर्उत्पादन गरेको देखिन्छ । यही कारणले कतिपय महिलावादीहरूले समलिङ्गिहरूले ‘पुरुषार्थ’ र चल्तीमा रहेको पुरुषवादलाई मान्यता दिएको आरोप लगाउँछन् । 

समाजमा विद्धमान पुरूषवादी ‘मिथकीय’ संरचनाले बाहिरी रूपमा वर्गीकरण गर्नुका साथै शरीरमा उत्पीडनको सम्बन्धको आन्तरीकरण पनि गर्छ । यो संरचनाले श्रमको यौनिक विभाजन र यौनिक श्रमको विभाजन दुबै गर्ने गर्छ । त्यसैले त्यो मिथकीय संरचनाले यौनिकता र पावर अर्थात् शक्तिबीचको सम्बन्धबाट निर्मित हुने राजनीतिलाई दोहोर्‍याउँछ, जसबाट समलैंगिक सम्बन्धको विश्लेषणले यौनिकताको राजनीतिमा पुर्‍याउँछ र जसको उद्देश्य यौनिक सम्बन्धलाई शक्ति सम्बन्धबाट मौलिक रूपमा छुट्याउनु हो ।

तर, सामाजिक र संज्ञानात्मक संरचनाहरूको विनाशका लागि चाहिने ईच्छा शक्ति र क्षमता, जसमा यौनिक विभेदमा परेका र ‘स्टीग्मा’ पीडित सबैको परिचालन आवश्यक पर्छ, र त्यसैको कमीले मानिस साङ्केतिक उत्पीडनको एकदमै दुःखान्त विरोधाभाषमा फस्‍ने गर्छन् । मानिसहरू समाजद्वारा लादिएका वर्गीकरणभित्र नै बसेर र त्यहीभित्र मात्र परिचालित भएर कसरी त्यो वर्गीकरणलाई प्रतिरोध गर्न सक्छन ? 

कसरी उनीहरू फरक-फरक यौनिक स्थितिबीच भेदभाव नहुने नयाँ यौनिक व्यवस्थाका लागि प्रयास गर्न सक्छन ? के परिवार, क्षेत्र र अरू कुनै सामूहिक एकाई जस्तै गे र लेज्बियनहरू समाजका निर्माण हुन भन्‍ने कुरालाई जोड दिन सक्ने आन्दोलनको साङ्केतिक क्रान्तिले त्यो सामाजिक निर्माणलाई प्रष्ट देखाउन, बुझ्न र बुझाउन सक्छ ? के समलैङ्गिकहरूको ‘गे  प्राईड’ जस्ता सार्वजनिक, अस्थाई र असाधारण अभिव्यक्तिले स्टीग्मालाई उल्ट्याएर त्यसलाई प्रतीक वा पहिचानमा ढालेर अहिलेसम्म पुरै दृश्य नभईसकेको समुदायलाई पूर्ण सार्वजनिक अस्तित्व दिन सक्छ ? 

गे र लेज्बियनहरूको ‘स्थिति’ सामाजिक रूपमा निर्मित ‘हेटेरो-नोर्म्याटीभ’ समाजको फिक्सन हो भन्‍ने उजागर गरेर र सामाजिक रूपमा निर्मित समलैङ्गिक अवधारणाभित्र चरम विविधता हुन्छ भन्‍ने विषयलाई अवलम्बन गरेर मात्र यसले आफ्नै सामाजिक जगहरूलाई भत्काउन सक्छ । हो, यो फेरि एक किसिमको विरोधाभाष हो । तर, त्यसरी नै यसले चल्तीमा रहेका साङ्केतिक व्यवस्थालाई भत्काउन सक्ने ताकत राख्‍ने र आफूले राखेका मागहरूको शक्ति बढाउने सामाजिक शक्ति बन्‍न यसले यसरी आफुलाई नै निर्माण गर्नुपर्छ । 

र, समलैङ्गिक समुदायले आफ्ना मागहरूलाई (यसमा निहित विरोधाभाष) तार्किक निष्कर्षमा पुर्‍याउन के उसले राज्य र सरकारसँग ‘स्टीग्मा’ भोगेकाहरूको समूहलाई औपचारिक दर्ताद्वारा सार्वजनिक वृत्तमा स्थाई र आम रूपमा पहिचान दिलाउन आव्हान गर्नु पर्छ ? के सत्य हो भने यदि त्यो समुदाय यथार्थपरक हुन चाहन्छ भने साङ्केतिक उल्ट्याईका क्रियाकलापहरूले आत्मगत प्रमाणहरूलाई निलम्बन गर्न सक्ने सामर्थ्य राख्छ । केही ‘सौन्दर्यगत उत्तेजना’ भए पनि यसले विविध साङ्केतिक विच्छेदनहरू बीचको भिन्‍नता पहिल्याउन सक्दैन । 

नारीवादी आन्दोलन जस्तै यो आन्दोलनमा पनि बलियो साँस्कृतिक पुँजी भएका व्यक्तिलाई एकआपसमा नजिक ल्याउने खास चलन हुन्छ, जसले गर्दा समूहलाई बोक्ने प्राधिकार प्राप्त प्रवक्ताको समस्या पेचिलो भएर आउन सक्छ ।

प्रतिनिधित्वमा स्थाई परिवर्तन चाहने हो भने यो समुदायले आन्तरिकीकरण भएका वर्गीकरण, श्रेणी र सोचाईका संरचनाहरूको स्थाई परिवर्तन खोज्‍नु पर्छ । यसखालको आन्तरिकीकरण मानिसले आफ्नो हुर्काई र शिक्षाबाट ग्रहण गर्न पुग्छ, जसद्वारा उसले आफैले उत्पादन र पुनरुत्पादन गरेका सामाजिक वर्गीकरणलाई स्वतःसिद्ध र प्राकृतिक ठान्‍ने गर्छ । यसले यस्तो कानुनको माग गर्नुपर्छ, जसले यो समुदायलाई पहिचान या मान्यता दियोस्, र, त्यो दिलाईएको पहिचान र मान्यतालाई नै फेरि रद्ध गरिदियोस् । अर्थात्, समलिङ्गिहरू, जो अदृश्यताबाट दृश्यमा र बहिष्करणबाट समाबेशीकरणमा जान जुन लडाईँ लड्छन्, तर डोमिनेन्ट अवधारणामा समाहित भएर उनीहरू फेरि निष्क्रिय र अदृश्य बन्‍न पुग्‍छन् ।

यस्तो खालको विरोधाभासलाई बुझ्‍न ‘घरमूली’ को अवधारणालाई हेरौं, जहाँ समलिङ्गि जोडीमध्ये एक जनालाई घरमूली मान्‍नु पर्ने बाध्यता हुन्छ । यो नै डोमिनेन्ट अवधारणालाई मान्‍नु परेकाले उत्पन्‍न भएको अवस्था हो । यो त यथार्थ वा वास्तविक संसारमा स्वीकृत हुनका लागि र एउटा कथित राम्रो सिपाई, राम्रो नागरिक र राम्रो जीवनसाथीझैँ देखिने गरी अदृश्य हुन पाउने अधिकार, र उत्तराधिकारलगायत समुदायका पूर्ण सदस्यले पाउने न्यूनतम अधिकार पाउँदा तिर्नुपर्ने मूल्य हो । घरमूलीको अवधारणा र त्यसको ग्रहणले दुई जनामध्ये एक जना मूली र अर्को आश्रित हो भन्‍ने बुझिन्छ । 

के यस्तो विरोधाभाषलाई तर्कसङ्गत निर्णयमा पुग्‍ने विकल्पमा परिवर्तन गर्न सकिन्छ ? अर्थडक्सी अर्थात् परम्परानिष्ठता यति बलियो हुन्छ कि ऐतिहासिक दमनबाट उत्पन्‍न हुने विशिष्टता र स्वभावहरू एकदमै प्राकृतिक जस्तो लाग्‍ने गरी देखाईन्छन् । ती स्वभावहरू वस्तुगत बाधासँग गहिरो गरी जोडिएका हुन्छन् । समाजमा उत्पीडकहरूसँग जोडिएका स्वभावहरूलाई अगोचर, तटस्थ, प्राकृतिक र सर्वव्यापी मानिन्छ भने उत्पीडितहरूका स्वभावलाई केही कुरा अपुग भए जस्तो, स्टीग्मा लगाउनु पर्ने खालको या त्यो स्वभाव कसरी बन्यो भनेर औचित्य पुष्टि गर्नु पर्ने हुन्छ ।  

परम्परानिष्ठताले आमरूपमा ढोंग रच्‍नका लागि चाहिने रणनीतिलाई चाहिने वस्तुगत आधारहरू र भयानक प्रभावकारिता राखेको हुन्छ । त्यसैले, पीडितले माग गरेको अधिकार र प्रतिष्ठाको सन्दर्भमा पीडकले आम अनुबन्धको उल्लङ्घनको रूपमा बुझ्‍ने गर्छ । तर, जब उत्पीडितहरू परिचालित भएर आफ्नो माग उठाउन खोज्छन्, पीडकले उत्पीडितहरूलाई पनि आफूले नै निर्माण गरेको आम संरचना र प्रकार्यमा समाहित गर्ने गर्छ । गे र लेज्बियन आन्दोलनको विशिष्ट समूहगत स्वरूपलाई उनीहरूले आम कानुन आफूहरूमा पनि लागू होस् भन्‍ने माग उठाएको बेला सबै भन्दा बेसी आलोचना हुन्छ । 

अनि, विविधतालाई आम बनाउन छोडेर हामीहरू ढोंगी व्यापकताका विरुद्ध कसरी मुकाबिला गर्न सक्छौं ? अझ, यथार्थमा उभिएर सिधै राजनैतिक रूपमा भन्दा हामीहरूले आन्दोलनको विजयलाई फगत घेट्टोकरणको एउटा रूपमा अन्त्य हुनबाट कसरी जोगाउने ? निश्चय पनि समलैङ्गिक आन्दोलनले सामाजिक र आर्थिक रूपमा असक्षमलाई समावेश गर्छ भन्‍ने हुँदैन । गे र लेज्बियन आन्दोलनका सहभागीहरू स्टीग्मा भोग्‍ने या भोगेका भए पनि उनीहरू प्राय सांस्कृतिक पुँजीबाट हेर्दा ‘प्रिभिलेज्ड’ हुन्छन् र उनीहरूसँग सांकेतिक संघर्षका लागि चाहिने  पर्याप्त पुँजी हुने गर्छ । 

गे र लेज्बियन आन्दोलनको विशिष्ट समूहगत स्वरूपलाई उनीहरूले आम कानुन आफूहरूमा पनि लागू होस् भन्‍ने माग उठाएको बेला सबै भन्दा बेसी आलोचना हुन्छ ।

सांकेतिक विद्रोहमा प्रतिवद्ध प्रत्येक आन्दोलनको उद्धेश्य साङ्केतिक विनाश र निर्माणका श्रमको प्रदर्शन गर्नु हो, जसले धारणा र सम्मानका नयाँ कोटीहरू लागू गरोस्, र थप क्रान्तिकारी समूह बनाओस् जसले ‘स्टीग्मा’को विद्धमान सिद्धान्तलाई नै भत्काई दियोस् । विद्रोही संघर्षबाट यो काम गर्न समलिङ्गिहरू विशेष गरी बढी सक्षम छन्, र उनीहरूले व्यापकताका लागि खास–खास कुराबाट फाइदा पुर्‍याउन सक्‍छन् । 

यसमा बुझ्नु पर्ने अन्तिम कठिनाई यो छ कि नारीवादी आन्दोलन जस्तै यो आन्दोलनमा पनि बलियो साँस्कृतिक पुँजी भएका व्यक्तिहरूलाई एकआपसमा नजिक ल्याउने खास चलन हुन्छ, जसले गर्दा समूहलाई बोक्ने र अभिव्यक्त गर्न सक्ने प्राधिकार प्राप्त प्रवक्ताको समस्या पेचिलो भएर आउन सक्छ वा केही अति-वामपन्थी समूहहरूमा जस्तो समूहका लागि सार्वजनिक अभिव्यक्तिको एकाधिकार कसले प्राप्त गर्ने भन्‍ने संघर्ष भएर धेरै गुटहरू बन्‍ने सम्भावना रहन्छ । 

फलस्वरूप, परस्पर रूपमा बलियो हुँदै जाने घेट्टोकरण र गुटकरणलाई समाधान गर्ने उपाय भनेको ‘स्टिगमाटाईज्ड’ पहिचान र बलियो साँस्कृतिक पुँजीसँग जोडिएको बलियो विद्रोही स्वभावलाई सिङ्गो सामाजिक आन्दोलनप्रति केन्द्रित गर्नुपर्छ वा कम्तिमा विद्रोही राजनैतिक र वैज्ञानिक आन्दोलनहरूको सैद्धान्तिक काम र साङ्केतिक कार्यद्वारा आफैलाई युटोपियन सर्तमा ‘आभाँ-गार्दे’ भएर उभ्याउनु पर्छ, जसले गर्दा ‘स्टिगमाटाईज्ड’ गरिएका समूहमा समलिङ्गिहरू प्रष्ट हुन्छन्, अनि त्यसले बृहत् आन्दोलनलाई फाईदा गर्छ ।

(सन् १९९८मा पहिलो पटक प्रकाशित ‘मास्कुलिन डोमिनेसन’ पुस्तकबाट नेपालीमा अनूदित ।)

अनुवादः निर्मल आचार्य

प्रकाशित: २० असार २०७९ १६:२६ सोमबार

चेतलुङ
चेतलुङ