२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
चिन्तन दर्शन राजनीति

उत्स्रवण आन्दोलन र उम्मेदवारी

उत्स्रवण आन्दोलन र उम्मेदवारी

वर्तमान हराएको मान्छेको आत्मविश्वास हुँदैन
आत्मविश्वास नभएको समाजको आत्मसम्मान हुँदैन
आत्मसम्मान नभएको देशको कुनै सपना हुँदैन ।।

खडेरी परेको जमिनले बिरुवा उमार्दैन । विचारको खडेरी परेको समाजले सपना जगाउँदैन । त्यसैले हामी बत्ती बालेर एउटा यात्रामा निस्कँदै छौं । विश्वविद्यालय होस् कि राजनीतिक पार्टीका मञ्च, चोक चौतारो होस् कि संसद् भवन, हामीले हाम्रो समाजमा ज्वलन्त समस्यामाथि सार्थक ज्ञानको बहस नगरेको धेरै भयो । निराशा छ, आक्रोश छ, प्रश्नहरू पनि छन् । तर लिखुरे प्रश्नलाई निराशा र आक्रोशले छोपेको छ । निराशा र आक्रोश किन यस्तो हाबी भयो त ? किनभने हाम्रा प्रश्न पनि ठीक ठाउँमा परिरहेका छैनन् ।

प्रश्नले समाजको चित्त पक्रिएन भने जवाफ नै नाजवाफ हुन्छ । चित्त फाटेपछि फगत निराशा र आक्रोश मात्रै बाँकी रहन्छ । चित्तमा सपना भर्ने विचारको अँजुलीले हो । हामी सपना नै गलत देखिरहेका छौं भने पक्कै पनि यो विचारको संकट हो । यो संकटको अँध्यारोमा हामीले नयाँ विचारको बत्ती बाल्नु परेको छ । त्यही बत्तीको नाम होः उत्स्रवण आन्दोलन (Oozelution Movement) । ज्वालामुखीबाट लाभा निस्के जस्तो मानव समाजलाई आजको संकटबाट बाहिर निकाल्ने आन्दोलन नै उत्स्रवण आन्दोलन हो ।

दार्शनिक संकट

उत्स्रवण आन्दोलनको पहिलो निस्कर्ष के हो भने मानव संसार आज दार्शनिक संकटमा छ । आजसम्म विकास र प्रयोग भएका दार्शनिक प्रणालीहरू आजका ज्वलन्त समस्याहरू समाधान गर्न सक्षम छैनन् । संसारभर मानव समाज फगत आक्रोश र निराशामा फँसेको छ । खतरनाक वातावरणीय र मानवीय संकटको तुलनामा आर्थिक, राजनीतिक वा अरू सतहमा देखिएका संकटहरू त केवल रोगका लक्षणजस्ता मात्रै हुन् ।

राजनीति त्यही दार्शनिक संकटमा गाँठो परेकोे छ, समाज व्यवस्था अल्झेको छ । उत्साह हराएको छ, सपना मुर्झाएको छ । भएका दर्शन वा विचारले यो संकट बुझ्न र समाधान दिन सकिरहेका छैनन् । जनताले आत्मबोध त गरेका छन् तर यसको गुह्य कारण बेपत्ता छ । त्यो बेपत्ता संकटको जरा हामीले पत्ता लगाएका छौं । संसारलाई जालभित्र पार्ने त्यो दार्शनिक वैचारिक चक्रव्यूहको नाम होः युरो–उपनिवेशी व्यूह (Euro-Colonial Paradigm) । ५ सय वर्ष अगाडि रचना भएको यो राजनीतिक व्यूहले चमत्कारी वैज्ञानिक र प्राविधिक आविष्कार त गर्यो तर साथसाथै मानव समाजलाई अन्याय, अत्याचार र असमानताको दर्दनाक चक्रव्यूहमा फँसाइ पनि दियो । अनि प्रकृतिको सन्तुलन नै खलबल्याइदियो ।

संसारलाई उपनिवेश बनाउँदै युरोपले यो व्यूह रचना गरेको थियो । यो व्यूहले हाम्रो मन, मस्तिष्क, र जीवन मात्र होइन, देश नै उपनिवेश बनाइसकेको छ । हाम्रा सपना, जपना, सुख, दुःख, खुसी, निराशा सबै यही व्यूहले उत्पादन गरिरहेको छ । हाम्रो आफ्नो स्वत्व नै छायाँमा परेको छ, विषादमा डुबेको छ । आफ्नो भूमिमा सपना नै देख्न नसक्ने अनुभूतिले ग्रस्त युवाले विदेशकै सपना सजाउन थालेको धेरै भैसक्यो । यो देशमा केही हुँदैन भन्ने त थेगो नै भैसक्यो । देशलाई आफैं बनाउने कुनै सपना नभएको देशमा भ्रष्टाचारको बिगबिगी हुनु अस्वाभाविक होइन ।

सिमानाले होइन, सपनाले देशको अस्तित्व बनाउँछ । जब जमिनमा टेकेको, जनताको जीवनमा जरा गाडेको र प्रकृतिसँग मितेरी गाँसेको सपना हुँदैन, तब मानचित्रमा हुँदाहुँदै पनि मान्छेले देश हुनुको अनुभूति गर्दो रहेनछ । त्यसैले सत्ता, शक्तिमा पहुँच हुनासाथ राज्यकोष दोहन गर्ने र भ्रष्टाचार गर्ने रोगले मान्छे ग्रस्त हुँदो रहेछ । मानौं, ऊ हतार–हतार भेटे जति चीज पोको पारेर कतै भाग्ने तयारी गरिरहेको छ ।

कृषि समाप्त हुने क्रममा छ । विदेशबाट ल्याएको रेमिटेन्सको पैसाले विदेशबाटै खानेकुरा आयात गरेर खानुपर्ने त्रासद् देश बनाइसकेका छौं हामीले । विचारको हिसाबले त नेपालमा लामो समयदेखि कृषि उन्मूलन कार्यक्रम नै चलिरहे जस्तो लाग्छ । हाम्रो उत्पादन नगण्य छ, आयातको अंक भयावह छ । के यस्तो देशले नयाँ पुस्ताको निम्ति सपना फुलाउन सक्छ ? सक्दैन र सकिरहेको पनि छैन । कल्पना गरेर ल्याउँदा यो देशको भविष्य खतरनाक मोडमा उभिएको छ । मानौं, युद्ध वा प्राकृतिक विपद्ले रेमिटेन्सको स्रोतमा धावा बोल्यो । हाम्रो अवस्था के होला ? आधा करोडभन्दा बढी मान्छे विदेशमा छन् । उनीहरू फर्कनु परेको घडी के होला ? उनीहरू निष्क्रिय र बूढो शरीर मात्र होइन, आक्रोशित र निराश मन पनि सँगै लिएर फर्कनेछन् । पैसाको स्रोत त सुक्छ नै, बाँझो र विषादीले जर्जर बनाएको जमिनबाट अचानक सबैलाई पुग्ने अन्न त उब्जँदैन । जहाँबाट हामी अन्न आयात गरिरहेका छौं, त्यहीँ खडेरी वा कुनै कारणले कम उत्पादन भैदियो भने ? आजको विश्व–व्यवस्था (युरो–उपनिवेशी व्यूह)ले यस्ता संकट संसारभरि उब्जाइरहेको छ । यसको सबैभन्दा पहिलो शिकार नेपालजस्तै पराश्रित, परामुखी र परनिर्भर देश नै हुने हुन् ।

युरो–उपनिवेशी व्यूहले संसारकै मानव–जगत्लाई भीरको डीलमा पुर्याएर छाडिदिएको छ । वातावरणीय संकट चरम छ । केही महिनाको खडेरी, तापमान वृद्धि र डढेलोले नै आज युरोप, अमेरिकालाई आच्छु–आच्छु पारिदिएका छन् । बेलायतको थेम्स नदी, जर्मनीको रायन नदी, अमेरिकाको कोलोराडो नदीहरू सुकेर भयानक संहारको संकेत गरिरहेका छन् । युक्रेन युद्ध होस् वा वातावरणीय संकट, संसारकै अर्थतन्त्रमा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । प्रकृति र मान्छेको जीवनमा आइरहेको संकट त झनै कहालीलाग्दो छ । प्रकृति बनाम मान्छे, संस्कृति बनाम संस्कृति, धर्म बनाम धर्म, देश बनाम देशको अपरिमित द्वन्द्वको सिद्धान्त युरो–उपनिवेशी दर्शनकै उपज हो । यो घर्षणको सिद्धान्तले मानव–जगत् मात्र होइन, प्रकृति नै भयानक ठूलो शोषण, दोहन र उपनिवेशको सिकार भयो ।

यसबाट बाहिर निस्कन हामीले आन्तरिक रूपमा प्रकट भएका विविध उपनिवेशी ज्ञान र राजनीतिबाट आफूलाई लाभाजस्तै बाहिर निकाल्नु पर्नेछ, अर्थात् उत्स्रवण गर्नुपर्ने छ । हामीले लामो समयदेखि निर्माण र अभ्यास गरेको राज्य–सत्ता युरो–उपनिवेशी व्यूहकै हिस्सा भएको हुनाले यसले पनि अनेक आन्तरिक उपनिवेशको रचना गर्यो । प्रकृति, विविध समुदाय र महिलामाथि उपनिवेशी शासन चलाएर यसले परिवार, समाज र देशभित्रै अनेकन परस्पर विरोधी भिन्नताहरू सिर्जना ग¥यो । हामीले आन्तरिक उपनिवेशबाट मुक्त गरेर सबै हातहरू र सबै साथहरू नजोड्ने हो भने युरो–उपनिवेशी व्यूहबाट बाहिर निस्कने शक्ति पुग्दैन । त्यसैले यो दार्शनिक संकटबाट बाहिर निस्कनका निम्ति यो व्यूह चिन्ने नयाँ ज्ञान, नयाँ वैज्ञानिक दर्शन÷विचारको आवश्यकता छ र त्यही ज्ञान÷विचारको उज्यालोमा नयाँ राजनीति र नयाँ समाज स्थापना गर्नुको विकल्प छैन । अब त यो शासकीय अहंकार वा शक्तिको मात्रै कुरा रहेन, प्रत्येक व्यक्ति र प्रकृतिको अस्तित्वको सवाल हुन आयो ।

आफ्नो वर्तमान, आफ्नो स्वत्व

नक्कली राजनीतिबाट जोगिन सक्कली राजनीति चाहिन्छ । नक्कली विकासबाट जोगिन सक्कली विकास चाहिन्छ । भूत र भविष्य चिन्न, वर्तमानको बोध चाहिन्छ । नक्कली राजनीति र विकासको बोझले नेपाल थिलथिलो भएको छ । नेपाली जनता निराश छन् । यी बोझ, यी निराशाबाट बाहिर निस्कन नेपाली जनताले नयाँ विचार र नयाँ चेतनाको ज्योति खोजेका छन् । आफ्नो स्वत्वको अनुभव हुनका लागि आफ्नो माटोको सुगन्ध चाहिन्छ । हामी उत्स्रवण आन्दोलनमार्फत् त्यही ज्योति संसारभर बाल्न खोजिरहेका छौं ।

युरोपबाट आयातित राजनीतिक विचारले धेरै परिवर्तनका निम्ति सकारात्मक योगदान गर्यो । तर यसले निरन्तर संसारलाई उपनिवेश बनाइराख्ने प्रपञ्च पनि सँगसँगै गर्यो । त्यसैले संसारै संकटमा पर्दा हामीले सोच्नुपर्ने भयो, हाम्रो स्वत्व के हो ? विकासे साँढे देखाएर हामीलाई अविकसित साबित गर्ने । पुँजीवादको भूत देखाएर हामीलाई भूतकालको नागरिक तुल्याउने । हामीलाई भूतकालमा ठेगान लगाएर युरोप अमेरिकामा भविष्य देखाउने । यो दार्शनिक प्रपञ्चबाट बाहिर निस्केर हामीले आफ्नो वर्तमानमा ठेगाना खोज्नुपर्ने भएको छ । हाम्रो स्वत्व र पहिचानमा खडा भएर आफ्नो भविष्यको रेखाङ्कन आफैं गर्ने नयाँ विचार खोज्नुपर्ने भएको छ ।

भविष्य भनेको बनाउने कुरा हो । आजको युरोप अमेरिका न त हाम्रो भविष्यको चित्र हो, न त उनीहरूकै भविष्य हो । वर्तमान चिन्ने र भविष्य बनाउने कुरा त सँधै एउटा रचनात्मक र सिर्जनात्मक प्रक्रिया हुन्छ । तर भूतकालको नागरिकले न वर्तमान चिन्छ, न त भविष्यकै खाका कोर्न सक्छ । ऊ युरोपको ऐनामा आफ्नो अनुहार खोज्दाखोज्दै मानसिक रोगी पो हुन्छ । हाम्रो सारा विकासको नारा, वैदेशिक लगानी, ऋण र अनुदानको खेल त आफूलाई हराएर अरुको फोटोमा आफ्नो अनुहार खोज्ने भ्रमको दन्तेकथा पो रहेछ ।

त्यसैले अब सबैको शीर उठाऔँ । प्रकृतिको शीर उठाऔँ, जग्गा–जमिनको शीर उठाऔँ, नदी–नालाको शीर उठाऔँ, वनजंगलको शीर उठाऔँ, जडीबुटीको शीर उठाऔँ, स्थानीय ज्ञानको शीर उठाऔँ, किसानको शीर उठाऔँ, आदिवासी र जनजातिको शीर उठाऔँ, दलित र महिलाको शीर उठाऔँ, थारु र मधेसीको शीर उठाऔँ, सबै–सबै उत्पीडित, अल्पसंख्यक, सीमान्तकृत वर्ग र समुदायको शीर उठाऔँ । सबै समुदायको शीर उठाऔँ, गरिब किसान–मजदुरको शीर उठाऔँ, अर्थात् सारा देशको शीर उठाऔँ । सबै समुदाय र सबै हातहरु जोड्न, सबैको श्रम र पसिना जोड्न, सबै जमिन र मन जोड्न, अब पनि हामीले पहल नगर्ने हो भने युरो–उपनिवेशी चक्रव्यूहबाट यो देश उत्स्रवण गर्न सक्दैन । ठूलो उपनिवेशी व्यूहबाट निस्कन हामीभित्रैका आन्तरिक उपनिवेशी जञ्जाल तोड्नैपर्छ । देशको वर्तमानमा जरा फैलाएर उभिने हो भने सबैको शीर उठाउनैपर्छ ।

नयाँ विश्वदृष्टि निर्माण अभियान

पुरानो विश्वदृष्टि बदल्ने तागत नयाँ विश्वदृष्टिसँग मात्रै हुन्छ । सपना देख्ने तागत सिर्जनशील मस्तिष्कमा मात्रै हुन्छ । अरूजस्तै बन्ने सपना, सपना नै होइन । आफूजस्तै बनेर केही नयाँ सिर्जना गर्ने सपना नै वास्तविक सपना हो । सिर्जनशीलता र स्वप्नशीलतामा नै वास्तविक सुख र आनन्द हुन्छ । हामीले सिर्जनशील भएर नसोचेको कति भयो ? अरूजस्तै बन्ने होडमा आफ्नो वर्तमान गुमाएको कति भयो ? पुरानो विश्वदृष्टिको चक्रव्यूहमा परेर समाजको प्रयोगशील र स्वप्नशील चरित्र गुमाएको कति भयो ?

हामी अझै पनि स्वीटजरल्यान्ड वा सिंगापुर हेरेर दुःखी छौं । अझै पनि लि क्वान यु वा अरू कुनै हिरो सम्झेर आफैंलाई नतमस्तक तुल्याइरहेका छौं । हामी आफैंले आफैंलाई चिन्न नसकेको कति भयो ? यस्तो लाग्छ, मानौं हाम्रा हरेक बच्चा गर्भदेखि नै हातमा डिभी भिसाको निवेदन बोकेर यो धर्तीमा च्याहाँ गर्न आइरहेका छन् । जवानहरू मानौं यस्तो छाति हुर्काइरहेछन् जो फगत विदेशी सेनामा भर्ती हुनकै लागि कुनै फिता खोजिरहेछ । देश भनेको जनता हो । जनताको सपना नै जब विदेश हुन्छ, देश कहाँ हुन्छ ? यी सबै युरो–उपनिवेशी व्यूहले उत्पादन गरेको जिनिस हो । सपना जब कुनै चिनियाँ कम्पनीको उत्पादन हुन्छ, त्यो सपना जुनसुकै बेला कुनै न कुनै सिमानामा अल्झिएरै समाप्त हुन्छ ।

त्यसैले वर्तमानमा खडा हुने हिम्मत गरौं । राजनीति केही हो भने जनताको सामूहिक र संगठित आवाज हो ।  राजनीतिलाई जनताकै राजनीति बनाउन अब पहल गर्नैपर्छ । राजनीति कसैले ठेक्का हालेर पाउने कुनै अवसर होइन । राजनीति कसैको पैत्रिक सम्पत्ति पनि होइन, जो वंशजका आधारमा पाउने कुरा हो । राजनीति त वर्तमानको कर्मको कसी हो । जनताले राजनीति छाम्न, परख गर्न पाउनु पर्छ । पाएनन् भने त्यो राजनीति नै हैन । आम जनतालाई हामी आह्वान गर्न चाहन्छौं, तपाईंको भागको राजनीति तपाईं स्वयम् गर्नुहोस् । राज्यलाई आफ्नो राजनीति अनुकूल हिँडाउन सधंै पहल गर्नुहोस् । शीर उठेको समाजले मात्र आफ्नो राजनीति आफैं गर्न सक्छ । एक जना मात्र मान्छे तपाईंको घर, समाज वा देशमा शीर झुकेको अवस्थामा छ भने तपाईंको घर, समाज वा देश कहिल्यै स्वस्थ र सबल हुँदैन ।

प्रकृति, मान्छे र ब्रम्हाण्ड सबै एक अर्कामा अन्योन्याश्रित रूपमा जोडिएका छन् । प्रत्येक चीज प्रत्येक चीजसँग जोडिएर मात्रै अस्तित्वको रचना हुन्छ (Everything is connected to everything else) । एकको विरुद्ध अर्को होइन, सबै सबै एक अर्कासँग जोडिएर नै ब्रम्हाण्डको रचना भएको हो । त्यसैले सबैको शीर उठेको समाज बनाउन जरुरी छ । अब हामी यस्तो महान् राजनीति बनाऔँ कि सबैको शीर उठेको समाज निर्माण गर्ने हाम्रो उद्देश्य होस् । अनि मात्र हामी एउटा सुखी, समृद्ध र रचनात्मक समाज बनाउन सक्छौं । एकको विरुद्ध अर्को भिडाउने युरो–उपनिवेशी विश्वदृष्टिबाट अब हामी लाभाजस्तै उम्लेर बाहिर निस्कौं र त्यसपछि लाभाजस्तै जमेर एउटा सुन्दर संसारको निर्माण गरौं ।

उम्मेदवारीको रहस्य

दार्शनिक जवाफ नै वास्तविक प्रश्नको जवाफ हो । त्यसैले केही दार्शनिक सवालमा मन्थन गर्नु जरुरी भयो । यस सन्दर्भमा विस्तृत घोषणापत्र छिटै पुस्तकका रूपमा तपाईंको हातमा हुनेछ । त्यसले पनि पुग्दैन, नयाँ–नयाँ ठेली लेख्न र नयाँ विश्वदृष्टि निर्माणमा योगदान गर्न धेरै सिर्जनशील मस्तिष्कहरू सक्रिय हुनेछन् भन्ने विश्वास गर्नुपर्छ ।

यहाँनेर सवाल उठ्छः पुरानो वैचारिक पृष्ठभूमिमा बनेको संसद्मा उम्मेदवारी किन ?
उसै पनि दलीय व्यवस्थामा एक जना स्वतन्त्र सांसदको भूमिका कति प्रभावकारी होला ? प्रश्न यो पनि छ । हामी के स्पष्ट गर्न चाहन्छौं भने उत्स्रवण आन्दोलन अन्तर्गत एक स्वतन्त्र उम्मेदवारी वा एक आवाजको भूमिका अहम् छ । वैचारिक अन्धकारमा छटपटाइरहेको दुनियाँमा यो एक बत्ती बाल्नु सरह महत्त्वपूर्ण छ । हामीले परिकल्पना गरेको दार्शनिक दृष्टि अनुरूप यो देश र संसारलाई नै हिँडाउन केही समय पक्कै लाग्छ । तर बत्ती कहीँ न कहीँबाट बाल्नैपर्छ ।

त्यसैकारण हामी पूर्व झापाबाट बत्ती बाल्न सुरु गर्दैछौं । यो बत्ती तुरुन्तै देशभरि र संसारभर बाल्न हामी प्रयत्न गर्नेछौं । जसलाई जहाँबाट बत्ती बाल्ने जुनून पैदा हुन्छ, त्यहीँबाट बत्ती बाल्न कुनै छेकथुन हुनेछैन । आलोचनात्मक र रचनात्मक हुने नैसर्गिक अधिकारसमेत प्रयोग गर्ने स्वतन्त्रता पनि सबैमा हुनेछ । यसैलाई जनताहरूको राजनैतिक स्वतन्त्रता भनिन्छ । हामी हुर्कनेछौं, बढ्नेछौं  र एउटा महान् सपनाको सन्देश संसारलाई दिन सफल हुनेछौं ।

तीन अभियान

१. स्थानीय ज्ञानको शीर उठाऔँ

मोबाइलको स्क्रिनमा हजारौं घण्टा घोप्टिएर हामीले अमेरिकी कम्पनीहरूलाई धनी बनाइसक्यौं । अब जनताको ज्ञानलाई तिनै सामाजिक सञ्जालमार्फत् भाइरल बनाऔं । फेसबुक पोस्ट, ट्विट, टिकटक जे बनाए पनि हुन्छ, तर हाम्रो परिवारभित्र भएका रैथाने ज्ञानलाई भाइरल बनाऔं । हाम्रा पनि ज्ञान छन् । कुनै ज्ञान ठूलो र कुनै सानो हुँदैन । संसारभर बनेका ज्ञान साझा हुन् । युरो–उपनिवेशी व्यूहले हाम्रो ज्ञानलाई पिछडा भन्यो । अब हामी भनौं, हामीसँग पनि पाइला–पाइलामा ज्ञान छ, हामी पिछडा होइनौं । यो नै हाम्रो वर्तमानमा उभिने औजार हो । हाम्रो वर्तमानको खोजी हो ।

यसैमा जोडेर ‘हामी पनि सोच्न सक्छौं’ (We Can Think Campaign) अभियान चलाऔं । आफ्नै ठाउँमा गर्न सकिने अनेक कुरा हुन्छन् । समाजलाई स्वस्थ र सुन्दर बनाउने नयाँ–नयाँ उपाय हामी नै खोज्न सक्छौं । शिक्षक तथा विद्यार्थी साथीहरू प्रत्येक विद्यालय तथा कलेजलाई वास्तविक रैथाने चिन्तनगृह (Think-Tank) बनाउनुहोस् । स्थानीय जनप्रतिनिधि साथीहरू, तपाईंका प्रत्येक कार्यालयलाई सिर्जनशील काम गर्ने विश्वविद्यालय बनाउनुहोस् । प्रत्येक पार्टीका कमिटी, गाउँटोल सबैले आफ्नो समाज आफैं बनाउने उपाय सोच्नुहोस् । हामी सबैले बल नगर्ने हो भने केही वर्षमै यो देश ठूलो संकटमा फस्नेछ, त्यतिखेर हामी सबै भूकम्पले भुइँमा ल्याइपुर्याएका निरीह मानिसजस्ता हुनेछौं । हाम्रा रचनात्मक उपायहरू सकिने जति आफैं लागू नगरौं, राज्यलाई पनि गर्न बाध्य पार्ने आन्दोलन सिर्जना गरौं । एउटा नयाँ आन्दोलन, सपनाको आन्दोलन । आन्दोलन, आन्दोलन र आन्दोलनको आँधीबेहरी उठाऔं ।

२. जन–जनको शीर उठाऔँ

युरो–उपनिवेशी ज्ञान–सत्ताको चक्रव्यूहमा परेका संसारका सबै सत्ताहरूले तह–तहका उपनिवेश निर्माण गरेका छन् । भूमि मात्र होइन, समुदाय तथा प्रत्येक व्यक्तिको चित्त, व्यक्तित्व र शरीरलाई समेत उपनिवेश बनाएर शोषणको सत्ता चलाएका छन् । यस्ता सत्ताहरूले शीर झुकाएका समुदायहरू, महिला, गरीब, किसान सबैको शीर उठाउन प्रत्येक समाजले आफैं जागरुक हुनुपर्छ । शीर झुकेका मानिसहरू हुनु भनेको समाज बिरामी हुनु हो । बिरामी समाजको आफ्नो स्वत्व हुँदैन । आफूभित्रको उपनिवेश खारेज नगरेसम्म अन्तराष्ट्रिय उपनिवेशकारी सत्तासँग लड्न सकिन्न । त्यसैले जन–जनको शीर उठाउने अभियानमा प्रत्येक ठाउँ र प्रत्येक मान्छे आफैं लागौँ ।

३. प्रकृतिको शीर उठाऔँ

युरो–उपनिवेशी व्यूहले भन्ने गरेको पुँजीवाद वास्तवमा सीधासाधा पुँजीको विकास गर्ने विचार होइन । यो पुँजीवादको नाभीमा नै युरोपले संसारभर लुट मच्चाएर रचेको उपनिवेशकारी विचार छ । त्यसैले यो पुँजीवाद संसारभर जहाँ–जहाँ पुग्यो, त्यहाँ–त्यहाँको स्थानीयता समाप्त पार्यो । हाम्रा अमूल्य सभ्यता नष्ट गर्यो र संसारभरको स्रोत–साधन दोहन गरेर भीमकाय पुँजीवादी सत्ता खडा गर्यो । यसले विकासको नाममा प्रकृतिको यति विनास गर्यो कि आज मानव स्वयम् अस्तित्वको संकटमा खडा छ । त्यसैले प्रकृतिको शीर उठाउने, प्रकृतिमैत्री कृषि प्रणाली हाम्रा परम्परागत ज्ञानमा आधारित खेती प्रणालीमार्फत् रैथाने (अर्गानिक) खाना र स्वस्थ जीवनको आधार निर्माण गर्ने अभियान हामीले नेपालबाटै सुरु गर्नु पर्नेछ ।

तत्कालीन राजनीति

वैचारिक प्रणालीहरू जेजस्ता भए पनि माथि उल्लेख गरिएका धेरै कामहरू सुरु भैसकेका पनि छन् । विचार ठीक ठाउँमा पार्ने बित्तिकै यी कामले गति पाउँछन् र परिणाम निकाल्छन् । त्यसैले तत्कालीन राजनीति पनि जनताको ज्ञान, सीप, शील्प, श्रम र शक्तिको शीर उठाउने विचारकै बत्ती बालेर सुरु गर्नुपर्छ । हामी जुन ठाउँमा छौं, त्यहीँबाट थाल्नु नै वास्तविक थालनी हो ।

तर दुई दिन, दुई महिना वा दुई वर्षमै ठूलो परिवर्तन आउने छैन । त्यसैले हामी जहाँ जसरी बाँचिरहेका छौं, त्यहीँबाट उत्स्रवण अर्थात् लाभाजस्तै उम्लेर उठ्दै जाने हो । जहिलेसम्म हाम्रो विचार जमेर ठोस भैरहन्छ, यो सम्भव छैन । नयाँ विचारको शक्तिमार्फत् व्यावहारिक हस्तक्षेपसँगै उम्लिने, पग्लिने र यो चक्रव्यूहबाट राँको बाल्दै बाहिर निस्कने हो ।

त्यसैले हामीसँग भएको संसद्मा विचारको हस्तक्षेप गर्नु जरुरी भयो । जनताको राजनीतिलाई जनताकै घरदैलोमा पु¥याउने, जनताकै रैथाने सत्ताहरू स्थापना गर्ने र भुइँको शक्तिबाट संसारमा हस्तक्षेप गर्ने कामका निम्ति हामी झापा क्षेत्र नं. ५ मा चुनाव लड्ने छौं । निदाइरहेको र बेकम्मा भैरहेको संसद्लाई जगाएर असफल राजनीतिलाई जनताको सेवामा सक्रिय हुने राजनीतिमा बदल्ने छौं र जनतालाई राजनीतिक स्वतन्त्रता दिलाउन भगीरथ प्रयत्नमा जुटेका छौं ।

तत्कालीन एजेन्डाहरू

१. कृषिलाई पहिलो प्राथमिकतामा राखिनु पर्छ । कृषिको आधुनिकीकरण नामको नक्कली कार्यक्रममार्फत् हालसम्म कृषिलाई ध्वस्त पारिएको छ । खानेकुरामा परनिर्भर समाज निर्माण गरिएको छ । आधुनिकताको नाममा किसानलाई निरन्तर अपमान गरिएको छ । खाने कुरामै परनिर्भर देश, कहिल्यै स्वाधीन हुन सक्दैन । त्यसैले किसानको शीर उठाउने र कृषिलाई प्रथम महत्त्व दिने विचारअन्तर्गत समाज र राज्यको चरित्र बदल्नु पर्छ ।

मोन्सान्टो जस्ता कर्पोरेटहरू संसारबाट उन्मूलन गरिनु पर्छ । कृषिलाई जनताको अधिकारको रूपमा स्थापित गर्नुपर्छ । कृषि भनेको विकसित हुनुभन्दा पहिलेको अविकसित समाजको विशेषता होइन । मानव समाजको अस्तित्वको पहिलो आधार हो । नेपालबाट पनि कृषिको कम्पनीकरण बन्द गरिनुपर्छ । कागजी झमेला हटाएर कृषि र किसानलाई राज्यले सीधै लगानी गर्नुपर्छ । कृषिमा सामुदायिक लगानी र पहल जुटाउने किसानलाई राज्यले सीधै सघाउनु पर्छ । कृषिमा सोचदेखि व्यवहारसम्म आमूल परिवर्तन हाम्रो प्राथमिक एजेन्डा हुनेछ ।
यसका निम्ति हामी सुरुदेखि नै लड्नेछौं । सबै पार्टी र राज्यका निकायले यो माग स्विकार गर्नैपर्ने स्थिति हामी ल्याउनेछौं ।

२. आफ्नो धर्तीमा अवसर नदिएपछि धेरै जनता वैदेशिक रोजगारीमा जान बाध्य भए । यो स्थिति उल्ट्याउन हामीले आत्मनिर्भर अर्थतन्त्र र आफ्नै खुट्टामा उभिने देश बनाउनै पर्छ । तर तत्कालै पनि रेमिटेन्सको जो राजनीति चलिरहेको छ, त्यसलाई बदल्न जरुरी छ । रेमिटेन्सको पैसाले देश चलाउने, भन्सार उठाउने, आयात गरेका सामानमा थप कर लगाउने, बैंकले त्यही पैसामा छेलोखेलो गर्ने, जीडीपीमा हिसाब निकाल्ने तर त्यही रेमिटेन्स कमाउन जानका लागि ऋण, मिटर ब्याज, दुःख, आँसु चैं श्रमिक जनताले एक्लै बेहोर्नुपर्ने ? यो उल्टो व्यवस्था हो ।
रेमिटेन्स कमाउने सबै जनतालाई आधारभूत ऋण राज्य र यसका निकायले आफैं दिनुपर्छ । अनि हालसम्म बेहोर्नुपरेको सबै मिटर ब्याज तत्काल मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्छ । उनीहरूले पठाएको रेमिटेन्सलाई बैंकहरूले पैसाकै छेलोखेलो मात्रै गर्ने धन्दामा लगाउन सक्ने, तर राज्यले त्यसलाई उत्पादनशील काममा लगाउन पहल किन नगर्ने ? हामी यो उल्टो व्यवस्थालाई सुल्टो पार्ने राजनीति र नीति बनाउन जोडदार धमाका उत्पन्न गर्नेछौं ।

३. देश छ भने कोही किन सुकुम्बासी हुने ? देश भनेको साझा कर्मथलो हो । कोही भूमिपति र कोही भूमिहिन हुने देश हुँदैन । कि सबै जमिन देशको कि जनताको । त्यसैले ऐतिहासिक र प्राकृतिक विपत्तिका मारले भूमिहिन सुकुम्बासी बनाइएका सबै जनतालाई सुकुम्बासी हुनुको दुःखबाट एकैपटक मुक्त गरिनुपर्छ । तिनै जनताको शक्तिले आत्मनिर्भर अर्थतन्त्र र स्वाधीन देश बनाउनुपर्छ । यो राजनीतिक निर्णयका निम्ति हामी निरन्तर दबाब बनाउनेछौं ।

४. विदेशीका सामु हात पसार्ने होइन, जनताको सामु अँगालो फैलाउने देशको मात्रै प्रगति हुन्छ । विकासका नाममा ठूला प्रोजेक्टको मात्रै नक्सा कोर्ने र ऋणमाथि ऋणको बोझ जनताको थाप्लोमा हाल्ने राजनीति अब फेर्नुपर्छ । जनता र राज्यको बीचमा आदानप्रदानको राजनीति बनाएपछि जनताकै पहल र राज्यको अभिभावकत्वमा हाम्रो प्रगति हामी आफैं गर्ने हो । यसले मात्र जनतालाई वास्तवमै सार्वभौम नागरिक बनाउँछ ।

५. स्थानीय स्रोत, स्थानीय ज्ञान, स्थानीय उत्पादनमा जोड दिनुपर्छ । संसारबाट सिक्ने र चाहिने ज्ञान तथा साधन ल्याउने छँदैछ । तर एउटा शीर उठेको समाज र देशले मात्र संसारबाट सिक्न र आफ्नो भविष्यको खाका आफैं कोर्न सक्छ । शीर निहुरिएको समाज सिर्जनशील हुँदैन । हामी स्थानीय ज्ञान, स्रोतसाधन र स्थानीय उत्पादनको शीर उठाउने अभियान चलाउनेछौं ।

६. शिक्षा र स्वास्थ्यको अधिकार मौलिक अधिकार हो । राज्य र समाज मिलेर सबैलाई शिक्षा र स्वास्थ्यको अधिकार ग्यारेन्टी गर्न रचनात्मक आन्दोलन चलाउनेछौं ।

७. स्कूल कलेजबाट उदाउँदो पुस्ताको शीर उठाउँ । शिक्षालाई दबाब र अपहेलनाको होइन, सिर्जनाको आधार बनाऔं । शीर उठेको नयाँ पुस्ता वैज्ञानिक हुन्छ, दार्शनिक हुन्छ, विचारक हुन्छ, कर्मशील उद्यमी हुन्छ र देश काँधमा बोकेर उभिन्छ ।

घरघरबाट शरिर, मन र उत्पादकत्वको उपनिवेशबाट मुक्त गरेर महिलाको शीर उठाउँ । शीर उठेका महिलाले घर, परिवार, समाज र देशलाई जुरुक्कै उचाल्ने तागत राख्छन् । छरछिमेक, संघसंस्था र राज्यबाट उपनिवेशकारी विचार र व्यवस्था हटाउँदै सबै उत्पीडित समुदायको शीर उठाउँ । उँचनीच, भेदभाव र उत्पीडन हटाएपछि पुरै समाजको शीर उठ्छ । हातमा हात, साथमा साथ जोडिन्छ ।

प्रकृति, जलजमिन, वन, कृषिलाई उपनिवेशकारी दमनबाट मुक्त गरौं । प्रकृतिको पनि भाषा हुन्छ, आदानप्रदान हुन्छ । मान्छेको निरन्तर दमनविरुद्ध प्रकृति जाग्न थालिसक्यो । तीन हप्ताको खडेरीले नै युरोप, अमेरिकालाई थला बसालिदियो । त्यसैले ढिलो नगरी अब प्रकृतिको शीर उठाउँ ।

स्थानिय ज्ञान, सीप, शील्पको शीर उठाउँ । किसान र श्रमिकको शीर उठाउँ । स्थानीय कला, संस्कृतिको शीर उठाउँ । त्यसभित्र भएका उपनिवेशकारी, विभेदकारी विचार र व्यवहार हटाएर स्वस्थ जग बनाउँ । त्यही जगमा उभिएर संसारको ज्ञान अपनाउँ । राज्य, समाज र प्रत्येक परिवारले कृषि र किसानको महानतामा गर्व गरौं, लगानी गरौं । शीर उठेको किसान र मान्छेसँग नाता जोडेको कृषिले मात्रै मानव समाजको भविश्य जोगाउन सक्छ ।

नाराहरू

जनताको राजनीति, जनताकै घरदैलोमा
समुदायहरू जोडौं, साथहरु जोडौं, हातहरू जोडौं
जनता र प्रकृतिको शीर उठाऔँ, देशको शीर स्वतः उठ्छ
नेपालबाट संसारलाई नयाँ सन्देश दिऔँ !

जय जनता ! जय पृथ्वी !!

(आसन्न प्रतिनिधी सभा निर्वाचनमा झापा-५ बाट उम्मेदवारी दिने घोषणा गरेका पाठकको निर्वाचन घोषणापत्रबाट)

प्रकाशित: १० असोज २०७९ १५:३८ सोमबार

चेतलुङ
चेतलुङ