१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
सन्दर्भवस विरासत

माओवादी पार्टी संगठनकाे वैचारिकी

माओवादी पार्टी संगठनकाे वैचारिकी

नयाँ समाज र मानिसको अग्रदस्ता संगठनको चरित्र कस्तो हुनुपर्छ ? त्यस्तो पार्टी निर्माणको तरिका कस्तो हुनुपर्ने हो ? सर्वहारा अधिनायकत्वको अवधारणाभित्र पार्टीको स्थान कहाँ हुनुपर्छ ? आजका सर्वहारा पार्टीहरू माओवादी नभएरै कम्युनिस्ट आचरण कायम राख्न सक्छन् ? माओवादी पार्टी कम्युनिस्ट पार्टीकै अर्को नाम हो ? वा यसले आफ्नो प्रकृति र कार्यविधिभित्र केही नवीनता समेट्छ ?

पुँजीवादी युगमा वर्ग (वा त्यसको एउटा हिस्सा) ले राजनैतिक पार्टी (सामाजिक संगठन) मार्फत आफ्ना स्वार्थको अभिव्यक्ति र पूर्ति गर्छ । वर्गशत्रुसँग लड्दै आफ्नो लक्ष्य प्राप्ति गर्नका लागि सर्वहारा वर्गले आफ्नै पार्टीको स्थापना गर्नुपर्ने अवधारणालाई मार्क्सले अघि सारेका थिए । यस अवधारणालाई लेनिनले व्यवहारबाट प्रमाणित वैज्ञानिक सिद्धान्तका रूपमा विकसित र स्थापित गरे । लेनिनवादी संगठनात्मक सिद्धान्तको केन्द्रमा पेसेवर क्रान्तिकारीहरू हुन्छन् । अर्थात्, उनीहरू क्रान्तिकारी क्रियाकलापमा समर्पित भएर त्यसलाई नै आफ्नो पेसा बनाएका हुन्छन् । यसका आलोचकहरूको विचारमा यस अवधारणाले सर्वहारामाथि हैकम जमाउने कुलीनहरूको जन्म गराउँछ । यसबाहेक सर्वहारा वर्गले आफ्नै बुतामा मुक्तिको सिद्धान्त निर्माण गर्न नसक्ने भएकाले त्यसलाई लिएर उनीहरूमाझ जानुपर्ने लेनिनको कुरामा पनि कुलीनता झल्कन्छ भन्‍ने गरिन्छ । लेनिनवादी सांगठनिक अवधारणा श्रमिकहरूको सामर्थ्यको अवमूल्यन गर्ने कुलीन विचारको अभिव्यक्तिका रूपमा आरोपित छ । पार्टीको यस अवधारणाका खराबीहरूलाई लेनिनले आफ्नो जीवनकालमा नियन्त्रण गरे पनि स्टालिनको समयमा भने विकराल रूपमा फैलिएको भन्‍ने मत केहीले अघि सारेका छन्  (पीएर्सन, माथुरभूमि– ८७/३, मार्च २९, २००९) ।

सर्वप्रथम लेनिनवादी सांगठनिक अवधारणाको विकासकालमा चलेका सैद्धान्तिक संघर्षबारे परिचित होऔँ । यसको सुरुआत अविभाजित रुसी कम्युनिस्ट पार्टी (तत्कालीन रुसी सामाजिक जनवादी श्रमिक पार्टी) को दोस्रो सम्मेलनमा विधानमाथि भएको बहसमा भेट्छौँ। लेनिनको प्रस्तावले अति–केन्द्रीकरणलाई प्रश्रय दिएको आरोप दक्षिणपन्थीहरू (ट्रटस्कीसहित) ले लगाए । तिनले सदस्यताका लागि अनिवार्य पार्टी कमिटीमा आबद्ध भएर काम गर्नुपर्ने लेनिनको जोेडलाई अनावश्यक केन्द्रीकरण देखे । लेनिनको प्रस्तावविरुद्ध पार्टीलाई सहयोग गर्ने जो–कोही पार्टी सदस्य हुन सक्ने प्रस्ताव तिनले अघि सारे । सारमा, उनीहरू फुर्सदिलो समय दिन सक्ने कार्यकर्ता भएको खुकुलो संगठन निर्माण गर्न चाहन्थे । लेनिन र उनका विपक्षीहरूबीचको भिन्‍नताको चुरो कुरा यही थियो ।

सत्ता–कब्जा लक्षित क्रान्तिकारी आन्दोलनका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने, त्यसैअनुरूप नेतृत्व कलामा निपुण र अग्रमोर्चामा लड्ने कार्यकर्ताहरूको संगठनको आवश्यकता लेनिनले प्रस्टसँग बोध गरेका थिए । उनको पार्टीको अवधारणा यसैबाट विकसित थियो । खुला राजनैतिक क्रियाकलाप बन्देज भएको र आफ्ना गतिविधिहरू खुफिया पुलिसको आँखा छल्दै गर्नुपर्ने जारशासित रुसको विशिष्ट अवस्थाले लेनिनको अवधारणामा पक्कै पनि ठूलो भूमिका खेलेको थियो । यस विशिष्टताको दबाव समग्र पार्टीलाई नेतृत्वमा केन्द्रीकरण गर्ने लेनिनको जोडमा देखिन्छ । साथै विभिन्‍न पार्टी कमिटी र त्यसका सदस्यहरूबीच ‘आधुनिक कारखानामा हुने श्रम विभाजन’ झैँ कामको कडा विभाजनमा पनि यो देख्न सकिन्छ । रुसको तत्कालीन परिस्थितिलाई सम्बोधन गरे पनि यो संगठनात्मक प्रस्ताव दोस्रो अन्तर्राष्ट्रियको पार्टी अवधारणाबाट भिन्‍नै थियो भन्‍ने पनि मननयोग्य छ । यसरी पार्टीको विषयमा लेनिन आफ्ना समकालीन नेताहरूभन्दा भिन्‍न छन्। दक्षिणपन्थी आक्रमणहरूलाई धेरै महत्त्व नदिई यस भिन्‍नतालाई रोजा लक्जम्बर्ग र ट्रटस्की (जो केही समय क्रान्तिकारी क्याम्पमा थिए) को आलोचनामार्फत बुझ्‍न खोजौँ ।

लक्जम्बर्ग लेनिनलाई रुसी क्रान्तिकारी आन्दोलनमा ‘अति–केन्द्रीयतावादी’ प्रवृत्तिको प्रतिनिधिका रूपमा चित्रित गर्थिन् । क्रान्तिकारी जनसंघर्ष/जनआन्दोलन र पार्टीको सम्बन्धबारे उनको अवधारणामाथि यो आलोचना उभिएको थियोे । लक्जम्बर्ग तर्क गर्थिन्ः

समाजवादी मान्यतामा केन्द्रीकरण श्रमिक आन्दोलनको जुनसुकै चरणमा लागू हुन सक्ने शाश्वत कुरा होइन । यस संघर्षको दौरानमा श्रमिक जनताको विकास र प्राप्त राजनैतिक प्रशिक्षणको अनुपातमा यथार्थमा परिणत हुँदै जाने प्रवृत्ति हो । तथ्य के हो भने सामाजिक जनवाद कुनै सर्वहारा संगठनसँग जोडिने छुट्टै कुरा होइन, खासमा योबिना सर्वहाराको परिकल्पना पनि गर्न सकिँदैन । यसकारण सामाजिक जनवादी केन्द्रीकरण ब्लान्किसट केन्द्रीकरणबाट आधारभूत रूपमै फरक छ । भन्‍नु नै पर्दा, यो सर्वहाराहरूको विकसित हिस्साको आत्मकेन्द्रीकरण हो ।  यो उनीहरूको आफ्नै पार्टीभित्र बहुमतको शासन हो’ (अर्गनाइजेसनल प्रब्लम्स अफ रसियन सोसल डेमाक्रेसी ) ।

कम्युनिस्ट पार्टीको स्वैच्छिक केन्द्रीकरणको यस भाष्यले वर्ग र त्यसका विकसित तत्त्वहरू, पार्टी र बृहत् क्रान्तिकारी आन्दोलनको भिन्‍नतालाई निषेध गर्छ । हुन त, लक्जम्बर्गले ‘आत्म–केन्‍द्रीकरण’ शब्द प्रयोग गर्छिन् । तर, परिणाममा यो ‘स्वतःस्फूर्त’ को पर्यायवाची बन्‍न जान्छ । यो भेद ट्रटस्कीको यस प्रतिवादमा झनै पातलिन्छ– 

यदि श्रमको विभाजनलाई सांगठनिक नियमको आधार कतै मान्‍न सकिन्छ भने त्यो कारखानामा मात्र हो । हाम्रो मात्रै होइन, कुनै प्रकारको राजनीतिक संगठनमा यो नियम लागू हुन सक्दैन । के सर्वहाराको वर्गीय चेतना बढाउने संगठनमा श्रम विभाजनको ‘नियम’ कदापि उपयुक्त नहुने कुरा सजिलै बुझन् सकिँदैन र (आवर पोलिटिकल टास्क, पार्ट– ३, अर्गनाइजेसनल क्वेसन्स) ?

लेनिनले पार्टी केन्द्रीकरणको स्वैच्छिक चरित्रलाई अस्वीकार गरेका थिएनन् । उनको मान्यताअनुसार केन्द्रीकरण लादिएर होइन, स्वेच्छाले स्वीकार गरिन्छ र सुझबुझपूर्ण ढंगमा क्रान्तिको हितमा लगाइन्छ । लेनिनको स्वैच्छिक केन्द्रीकरणको अवधारणा यही हो । केन्द्रीकरण संघर्षको दौरानमा/प्रक्रियामा हासिल हुँदै जानुपर्छ भन्‍ने लक्जम्बर्गको अभिप्रायको ठीक विपरीत लेनिन कार्य–विभाजनसहितको पार्टी केन्द्रीकरणको पद्धति सुरुआतदेखि नै स्थापित गर्दै प्रशिक्षित गराइनुपर्छ भन्‍ने मतका पक्षधर थिए । तथापि, यसले क्रान्तिको स्वतःस्फूर्त स्वभावबाट पैदा हुने सकारात्मकतालाई भने निषेध गर्दैन ।

पुनः क्रान्तिलाई संगठित र कार्यान्वयन गर्न सक्षम संगठन लेनिनको प्रस्थानविन्दु थियो । क्रान्ति वा सर्वहारा र यिनको विकाससम्बन्धी पूर्वनिर्धारित धारणाका आधारमा होइन, शत्रु र जनताको ठोस परिस्थितिको विश्लेषणबाट उनी समाधानसम्म पुगेका थिए । त्यसैले सन् १९०५ को क्रान्तिकारी उथलपुथलमा लेनिनले आफूले पैरवी गरेको कडा केन्द्रीकरण र सदस्यतासम्बन्धी कठोर नियम विपरीत अधिकतम लडाकु श्रमिक वर्ग अटाउन सक्ने संगठनको निर्माणको वकालत गरे (न्यु टास्क एन्ड न्यु फोर्सेस, भाग ८, पृ. २०९–२२०) ।

यसको अर्थ लेनिन लेनिनवादकै विरुद्ध गएका थिएनन्, बरु यो नै लेनिनवाद थियो । यस दृष्टान्तमा आफनो सैद्धान्तिक र राजनैतिक कमजोरीलाई पनि पूर्ति गर्न सक्ने जनताको क्रान्तिकारी उत्साहबाट उनी निर्देशित भएका थिए । यस घटनाले उनको जनताप्रतिको गहिरो विश्वास देखायो । साथै लेनिनको सचेतन प्रयास र क्रान्तिकारी आन्दोलनको स्वतस्फूर्तताबीच हुने सम्बन्धको द्वन्द्वात्मक बुझाइलाई मुखरित गरायो । निसंकोच लेनिनवादी केन्द्रीकरण र सांगठनिक नियम जुनसुकै अवस्थामा लागू गर्न सकिने शाश्वत सत्य होइनन् । कार्य विभाजनले पार्टी कार्यकर्ता र सम्भव भएसम्म बृहत् जनताको चेतनावृद्धिको अभिभारालाई परित्याग पनि गर्दैन ।

रुसी पार्टीको १० औं कांग्रेसले त्यतिबेला अभ्यास भइरहेको पार्टीभित्रको गुट र तिनका प्रकाशनहरूको अन्त्य गर्ने निर्णय गरेको थियो । पछि यो कम्युनिस्ट पार्टीको सांगठनिक अवधारणाको हिस्सा बन्‍न पुग्यो ।

के पछिल्लो विश्व कम्युनिस्ट आन्दोलनले लेनिनको ‘उदाहरणीय अग्रदस्ता’ अवधारणाको द्वन्द्वात्मक प्रयोग र सांगठनिक विधि बिर्सिए ? पीएर्सनले जसरी कुनै एक नेताको व्यक्तिगत प्रवृत्तिलाई महत्त्व दिनुभन्दा यस्तो भिन्‍नतालाई ध्यान दिनु बढी फलदायी हुन्छ । लेनिन बोल्सेभिक पार्टीका मान्यताहरूको दिक् र काल निरपेक्ष प्रयोगले निम्त्याउने खतराप्रति चिन्तित थिए । कम्युनिस्ट अन्तर्राष्ट्रिय (कमइन्टर्न) को एक रिपोर्टमा लेनिनले आफ्नो सांगठनिक सिद्धान्तमा रुसी विशिष्टता हाबी भएकाले अन्य देशका कमरेडहरूले त्यसलाई सही ढंगमा लागू गर्न सक्नेमा आशंका व्यक्त गरेका छन्  (रिपोर्ट टु द फोर्थ कंगे्रस अफ द कम्युनिस्ट इन्टर्नेसनल, भोलुम ३३, पृ. ४१५–४३२) । दोस्रो अन्तर्राष्ट्रियको खुकुलो सांगठनिक पद्धतिबाट निस्कन हतार भएको त्यस समयमा यो चिन्ता धेरैको आँखामा परेन । यसै बीच, सत्ताधारी पार्टी भइसकेको रुसी कम्युनिस्ट पार्टीमा अझै कडा केन्द्रीकरणको माग बढ्यो । क्रान्तिकारी सत्ताको अस्तित्व रक्षाका लागि पनि पार्टीमा सुदृढ एकताको झन् बढी आवश्यकता थियो । यस परिप्रेक्ष्यमा रुसी पार्टीको १० औं कांग्रेसले त्यतिबेला अभ्यास भइरहेको पार्टीभित्रको गुट र तिनका प्रकाशनहरूको अन्त्य गर्ने निर्णय गरेको थियो । पछि यो कम्युनिस्ट पार्टीको सांगठनिक अवधारणाको हिस्सा बन्‍न पुग्यो ।

रुसी पार्टी र कमइन्टर्न पश्चिम युरोपमा क्रान्ति निकटस्थ छन् भन्‍ने विश्वासमा लेनिन यतिञ्जेल थिए । यस विश्वासलाई विभिन्‍न मुलुकको राजनैतिक विकासले थप बलियो बनाएको थियो । परिस्थितिको यस आंकलनले पनि सांगठनिक नियमहरूको विकासमा प्रभाव पारेको हुन सक्ने सम्भावना धेरै छ । तर, निर्माण हुँदै गरेको क्रान्तिकारी परिस्थिति रहेन । अवरोहको यस घडीमा लेनिनले भावी कार्यक्रमका निमित्त परिस्थितिको विस्तृत अध्ययन र मूल्यांकनको आवश्यकताबारे ध्यान केन्द्रित गर्दै थिए । तर, यस समस्यामा काम गर्नुअगावै उनीमाथि गोली चलाइयो, जुन उनको मृत्यु कारक भयो । उनको पुनर्मूल्यांकनमा पार्टीको अवधारणा र सांगठनिक सिद्धान्तले ठाउँ पाए/नपाएकोमा हामी अनभिज्ञ छौँ । जे होस्, पछि यो कतै देखा परेन । परिस्थितिको सापेक्षतामा लागू गरिएका यी नियमहरू कालान्तरमा यान्त्रिक रूपमा सूत्रीकरण गरिए ।

स्टालिनका अनेक यान्त्रिक गल्तीहरूमध्ये एकात्मक पार्टीको अवधारणा उल्लेखनीय छ । माओले आलोचना नगर्दासम्म अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा यही पार्टी मोडल प्रचलित थियो । पार्टीलाई सर्वेसर्वाको दर्जा दिएर सर्वथा सही स्वीकार्ने र प्रश्‍नको घेराबाहिर राख्ने दृष्टिकोण बलियो हुँदै गयो । स्टालिनको पार्टी अवधारणामा समाजवादको आन्तरिक अन्तरविरोध र वर्ग संघर्ष अस्वीकार गर्ने यान्त्रिक चिन्तनको प्रभाव थियो । सक्रिय अन्तरविरोध हुने स्थलका रूपमा यसलाई बुझ्‍ने प्रयास नै गरिएन । आन्तरिक र बाह्य अन्तरविरोधहरूको आधारमा नेतृत्वको अवस्था र समाजमा आफ्नो सान्दर्भिकता नवीकरण गरिरहने जीवित एकाइका रूपमा यसलाई बुझिएन । वैचारिक संघर्ष औपचारिकतामा मात्र सीमित भयो । जनवादी केन्द्रीयता वर्चस्व र सत्ता–शक्ति कायम गर्ने साधनमा फेरियो । स्वाभाविक रूपमा, सत्तामा रहेका पार्टीहरू र सत्ताका लागि लडिरहेकाहरूबीच यस कुरामा भिन्‍नता थियो । लड्नेहरू शत्रुको दमनबाट जोगिनका लागि जनतामा निर्भर हुनु आवश्यक थियो । आत्मालोचना, सुधार र यस्ता मुद्दाहरूमा हुने वैचारिक संघर्षहरूले यी पार्टीहरूभित्रको वातावरणलाई जीवन्त बनाएका थिए । तथापि, एकात्मक पार्टीका संकीर्णता भने यथावत् नै थिए । वैचारिक सुधारको साटो पार्टी सदस्यहरूलाई पदच्युत गर्ने संस्कृतिको प्राधान्य थियोे । पार्टीले मार्क्सवादी–लेनिनवादी नीति अवलम्बन गर्दासम्म सामान्यतः यसको अर्थ कम्युनिस्ट आचरण गुमाएका पार्टी सदस्यहरूलाई निष्कासित गर्नु हुन्थ्यो । तैपनि, यो सम्पूर्ण प्रक्रियामा वैचारिकभन्दा सांगठनिक पक्ष हाबी हुन पुग्दथ्यो ।

माओले आफूलाई यस नकारात्मक परिपाटी र यसमा अन्तरनिहित यान्त्रिक चिन्तनबाट अलग गरे । उनको यो कदम पूर्णरूपेण अग्रदस्ता अवधारणाको पुनःनिर्माण थियो । र, यसले सर्वहाराको नेतृत्वदायी भूमिका र लेनिनवादी पार्टीको बुझाइलाई झनै गहिरो र समृद्ध बनाउने बाटो खोलिदियो । पार्टीसम्बन्धी प्रचलित चिन्तनबाट भिन्‍न माओको विचार हामी सुरुआतदेखि नै देख्न सक्छौँ । सन् १९२७ मा उनको हुनान किसान आन्दोलनमाथिको प्रतिवेदनले विद्रोही किसानहरूलाई नेतृत्व दिन नसक्ने क्रान्तिकारी पार्टीलाई बहिष्कृत गरिनुपर्ने उल्लेख गरेको छ । त्यस समयसम्म मार्क्सवादमा किसानहरूलाई पश्चगामी मानिन्थ्यो । तिनै किसानहरू सर्वहारा पार्टीको क्रान्तिकारी चरित्र निर्धारणमा निर्णायक हुनुपर्छ भन्‍ने यो भनाइ त्यस समयमा शाश्वत ठानिएको कम्युनिस्ट पार्टीको नेतृत्वसम्बन्धी अवधारणामाथिको विद्रोह थियो । यसले सर्वहाराको ऐतिहासिक नेतृत्वदायी भूमिका र अग्रदस्ताको अवधारणामाथि प्रश्‍न उठाउने धरातल खडा गर्‍यो ।

अरु वर्ग र सामाजिक हिस्साहरू पुँजीवाद (त्यसको उच्चतम विन्दु साम्राज्यवादको) अन्त्यको ऐतिहासिक आन्दोलनमा महत्त्वपूर्ण साझेदार भए पनि उनीहरूले यस संघर्षको नेतृत्व गर्न सक्दैनन् । भूमिहीन किसानका लागि भूमिहीनता, दलितका लागि जातीय विभेद, महिलाका लागि पुरुष प्रधानता, आदिवासीहरूका लागि जातीय उत्पीडन, उत्पीडित जनताका लागि राष्ट्रिय उत्पीडन, अल्पसंख्यकहरूका लागि धार्मिक उत्पीडन आदि समस्याहरूका लागि मुक्तिको विषय विशिष्ट छन् । यी समस्याहरू सम्पूर्ण क्रान्तिकारी आन्दोलनका लागि विशिष्ट मात्र होइनन्, आंशिक पनि हुन् । तर, सर्वहाराको यस्तो अवस्था हुँदैन । सामन्तवादी वर्णव्यवस्थाजस्ता पहिलाका उत्पीडनकारी व्यवस्थाभन्दा पुँजीवादी दासता पृथक छ । श्रमिकलाई भोकको यातनाबाहेक यसले अरु कुनै बाध्यता लाद्दैन । र, सिद्धान्ततः उनीहरू स्वतन्त्र भएकाले उनीहरूका लागि मुक्तिको विशिष्ट मुद्दा भेटिँदैन । शोषण र उत्पीडनका हरेक रूपको अन्त्य गरिनुपर्छ । तसर्थ, यस वर्गको मुक्तिका लागि सम्पूर्ण मानव–जातिको पनि मुक्ति पूर्वसर्त बन्‍न पुग्छ । सर्वहाराको नेतृत्वदायी भूमिका यस वस्तुगत सामाजिक अवस्थाबाट जन्मिन्छ । सर्वहारा वर्गलाई यस भूमिकाले संसार उत्पीडनमुक्त नभएसम्म क्रान्तिलाई निरन्तरता दिन उत्प्रेरित गर्छ । 

यदि सर्वहारा नेतृत्वको मार्क्सवादी बुझाइलाई निरपेक्षतामा लगिन्छ भने त्यसले विचारको वस्तुकरण निम्त्याउँछ (सन्दिपन, मुन्‍ननीपोरली, १३१) । सर्वहारा–क्रान्ति र कम्युनिस्ट पार्टी–अग्रदस्ताको यान्त्रिक समीकरणको कारणले पैदा हुने विचारको वस्तुकरणकोे साक्षी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास र वर्तमान छ । र, अर्कोतिर प्रायः सर्वहाराको उपल्लो तहमा देखिने अर्थवादी प्रभाव, संसोधनवादीहरूले जन्माउने सामाजिक निष्क्रियता, अर्थवादलाई बलियो बनाउने सुधारवादी राजनीति र श्रम तथा कार्यस्थलको प्रकृतिमा देखिने परिवर्तनले सर्वहाराको नेतृत्वदायी भूमिकाको अवधारणालाई त्याग्ने चिन्तनको निर्माण गरेको छ । पहिचानको राजनीतिमा बहकिएर उनीहरू यो विश्वास गर्छन् कि भविष्यमा तिनै आन्दोलनहरूले सामाजिक परिवर्तनका लागि नेतृत्व प्रदान गर्नेछन् ।

यसरी हाम्रा अगाडि यी दुई ध्रुव देखा पर्छन् । एउटा धु्र्वमा– क्षणिक आवश्यकताहरूको पूर्तिलाई मुक्तिको लक्ष्य बनाउन प्रयत्न गर्ने स्वार्थ, जसले सर्वहारा र कम्युनिस्ट पार्टीसम्बन्धी अवधारणालाई वस्तुकरण गर्छ । अर्को धु्र्वमा– उत्पीडनमुक्त संसारलाई मिथक ठान्‍ने, यस्तो संसार निर्माणको कार्यलाई छोड्ने र आंशिक मुद्दाहरूलाई प्रधान बनाउने ऊर्जाहीन याचना देखापर्छ । माओवाद यो दुष्चक्रलाई चिर्दै अघि बढ्छ । सर्वहाराको नेतृत्वदायी भूमिका र कम्युनिस्ट पार्टीको अग्रदस्ताकारी भूमिका ऐतिहासिक परिस्थितिले बोकेका संभाव्यता हुन्। समाजको विशेषताको ऐतिहासिक क्षणमा रचानात्मक हस्तक्षेपमार्फत मात्र यो सिद्ध गर्न सकिन्छ । अरु घटनाहरूझैँ यो पनि विपरीतहरूको एकत्व हो । माओको हुनान रिपोर्टले दिने चेतावनीको अर्थ यो थियो ।

यसको निरन्तरता हामी लगभग पचास वर्षपछि पनि माओको ‘बुर्जुवाहरू पार्टीभित्र नै छन्’ भन्‍ने कथनमा भेट्छौँ । यस निष्कर्षमा उनी सोभियत युनियनमा पुनःस्थापित पुँजीवाद र चीनमा पुँजीवादको पुनस्र्थापना रोक्न सुरु गरिएको सांस्कृतिक क्रान्तिको अनुभवबाट पुगेका थिए । स्टालिनको एकात्मक पार्टी अवधारणाबाट यसलाई बुझ्‍न सकिन्‍न । बुर्जुवा प्रवृत्तिको सम्भावित घुसपैठद्वारा हुनसक्ने पार्टी सदस्यहरूको भ्रष्टीकरण र माओले सावधान गराएको बुर्जुवा उपस्थिति भिन्‍न थिए । लेनिन र स्टालिनले खास पात्रहरूको पदच्युत गर्नुको ध्येय पार्टीमा गुप्तचरहरूको निरोध थियो । माओ भने नयाँ बुर्जुवाहरूको उल्लेख गरिरहेका थिए । बुर्जुवा अधिकारजस्ता पुँजीवादी उत्पादन सम्बन्धका अवशेषहरू र सर्वहारा अधिनायकत्व लागू गर्ने कम्युनिस्ट पार्टीको राजनीतिक/सत्ताधारी भूमिकाले यिनलाई जन्माउँछ । समाजवादमा यो अनिवार्य हुन्छ । यसविरुद्ध संघर्षको निर्णायक शक्ति क्रान्तिको निरन्तरता र विकासका लागि लिइने सैद्धान्तिक–राजनीतिक लाइन हुन्छ । यदि संसोधनवादी लाइनले पार्टी नेतृत्वमा कब्जा जमाउने हो भने पार्टीमा बुर्जुवाहरू हाबी हुन्छन् । पार्टी र राज्यले आफ्नो रङ बदल्छ ।

यसरी कम्युनिस्ट पार्टीको अग्रदस्ता भूमिकामा अर्को द्वन्द्वात्मकता देखिन्छ । हामीले माथि देखेको सम्भावित खतराको मुख्य स्रोत बाह्य कारणहरूमा छैन । यो त पार्टीले नेतृत्व गरेको क्रान्ति र त्यसपश्चात निर्माण गरेको समाजमा अन्तरनिहित छ । अर्को शब्दमा, यो कम्युनिस्ट पार्टीले सफलतापूर्वक अग्रदस्ताको भूमिका निर्वाह गरेपछि पैदा हुने विपरीतहरूको एकत्वमा निहित हुन्छ । यो सम्भावना कम्युनिज्मसम्म विकासको यात्राको प्रतिविम्ब हो । यीमध्ये समाजवादी समाजमा कुन प्रकट हुन्छ भन्‍ने विषय ठोस ऐतिहासिक क्षणमा पार्टी र समाजमा चलिरहेको वर्ग–संघर्षले फैसला गर्छ । पार्टीलाई विपरीतहरूको एकत्वका रूपमा बुझ्‍ने माओवादी अवधारणा पार्टीको स्थापित सिद्धान्त र व्यवहारमा आएको क्रमभंगता हो ।

चिनियाँ क्रान्ति र अन्तर्राष्ट्रिय आन्दोलनबाट शिक्षा लिँदै माओले पार्टीबारे केही प्रस्तावहरू अघि सारेका थिए । पार्टी र जनता, नेतृत्व र पार्टीपंक्तिबीचको सम्बन्धमा जन्मने श्रेष्ठताको चिन्तनलाई निरोध गर्दै दृढतासहित जनताको सेवा गर्ने कम्युनिस्ट चिन्तनको विकासलाई ती प्रस्तावहरूले लगातार जोड दिएका छन् । नेतृत्वको भूमिका र महत्त्वलाई ती प्रस्तावहरूले नकारेका भने छैनन् । ती प्रस्तावले नेतृत्वलाई देवत्वकरण गर्दै जनता र कार्यकर्तालाई अनुयायी अथवा निस्क्रिय साधनमा परिणत गर्ने दृष्टिकोणलाई खण्डन गर्छन् । कार्यकर्ता जतिसुकै महत्त्वपूर्ण भए पनि जनताले काम अघि बढाउने भएकाले कार्यकर्ताहरूको अतिरञ्जना गर्नु मुनासिब नहुने भनेर माओले कम्युनिस्टहरूलाई स्मरण गराएका थिए । केन्द्रीय र तल्ला कमिटीको सम्बन्ध, समाजवादी राज्य र जनताबीचको सम्बन्धमा उनको यस दृष्टिकोणमा दृढता देखिन्छ । तल्ला कमिटीहरूबाट सूचना नआएमा केन्द्रीय नेतृत्वले सही निर्णय लिन सक्दैन । कहिलेकाहीँ तल्लो कमिटीले पनि समस्याको समाधान गर्न सक्छ। र, त्यस्तो बेला केन्द्रीय कमिटीको दायित्व त्यसलाई देशव्यापी गर्नु हुन्छ । उल्लेखित विचारहरूले दोषरहित नेतृत्वको चिन्तनलाई अस्वीकार गर्छन् । साथसाथै, यी विचारहरूले जनवादी केन्द्रीयताको सांगठनिक नियम र मार्क्सवादी ज्ञान सिद्धान्तको सम्बन्धलाई पनि मुखरित गर्छन् । समाजवादी वर्गसंघर्षको अर्थ बुर्जुवाविरुद्ध संघर्ष मात्रै होइन भन्‍ने माओको विचार थियो । समाजवादी राज्य र जनताबीचको अन्तरविरोधका साथसाथै पार्टी र जनताबीचको अन्तरविरोध पनि त्यसअन्तर्गत पर्ने उनको तर्क थियो । सन् १९५० ताका नै उनले चेतवानी दिएका थिए कि सत्ता कब्जा भइसकेकाले जनतामाथि हैकम चलाउनेहरूलाई जनताले पाठ पढाउने छन् । उनले कम्युनिस्ट पार्टीलाई पाठ पढाइराख्नु पर्ने भएकाले जनताको आन्दोलित हुने अधिकारको सुनिश्चताको पैरवी गरेका थिए  (‘कम्ब्याट बुर्जुवा आइडियान इन द पार्टी’, ‘स्पीच एट द सेकन्ड प्लेनरी सेसन अफ द एट्थ सेन्ट्रल कमिटी अफ द कम्युनिस्ट पार्टी अफ चाइना’, भोलुभ ५, सेलेक्टेड वर्क्स) ।

नेतृत्वको भूमिका र महत्त्वलाई माओका प्रस्तावहरूले नकारेका भने छैनन् । ती प्रस्तावले नेतृत्वलाई देवत्वकरण गर्दै जनता र कार्यकर्तालाई अनुयायी अथवा निस्क्रिय साधनमा परिणत गर्ने दृष्टिकोणलाई खण्डन गर्छन् ।

जनताको स्वतस्फूर्त पहलमा तलबाट गरिने संघर्षमा माओको पर्याप्त जोड छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्व परिवर्तनको संक्रमणकालमा हराएको माथिबाट सचेतन हस्तक्षेप र तलबाट स्वतस्फूर्त दबावबीचको द्वन्द्ववादी सम्बन्धको लेनिनवादी बुझाइलाई माओले पुनः स्वीकार मात्र गरेनन्, बरु यसको प्रयोग सांस्कृतिक क्रान्तिमा अर्थात् पुँजीवादको पुनःस्थापनाविरुद्धको संघर्षमा गरेर यसलाई उनले नयाँ उचाइमा लगे । यसरी माओले नयाँ आधारसहितको पार्टी अवधारणा विकास गरे, जुन व्यक्तिको स्वभावजन्य प्रवृत्तिमा कम र ठोस सैद्धान्तिक–राजनैतिक नियममा बढी आधारित थियो ।

कुन हदसम्म माओ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले यस नवीनतालाई आत्मसात् गर्न सक्थ्यो ? यो प्रश्‍न सान्दर्भिक छ । सन् १९६० ताका माओ विचारप्रेरित अन्तर्राष्ट्रिय आन्दोलन अथवा सन् १९९० मा माओवादका रूपमा यो थप प्रस्ट भएको दाबी गर्ने माओवादीहरूले कुन हदसम्म माओवादी पार्टी अवधारणालाई आफू संलग्न पार्टी संगठनमा सम्मिलन र कार्यान्वयन गरे भन्‍ने जाँच गर्न यो प्रश्‍न प्रवेशविन्दु हो । कमइन्टर्न चिन्तनले चिनियाँ पार्टीको निर्माण गरेको थियो । यो पक्षसँगै यही चिन्तन र शैलीअनुसार त्यस पार्टीले लामो समयसम्म काम गरेको पृष्ठभूमिलाई उत्तर खोज्ने बेला ध्यानमा राखिनुपर्छ । माथि भनिसकिएको छ कि माओे यस चिन्तनबाट सुरुआतबाट नै अलग हुन थालेका थिए । तर, उनको पद्धति सांस्कृतिक क्रान्तिका बेला मात्र ठोस रूपमा स्थापित भएको थियो । सन् १९७३ मा प्रकाशित सांघाई पुस्तक ‘अ बेसिक अन्डरस्ट्यान्डिङ अफ त कम्युनिस्ट पार्टी अफ चाइना’ (तीन वर्षपछि पुँजीवादीहरू सत्तामा पुगेपछि गरिएको पहिलो काममध्ये यस किताबमाथिको प्रतिबन्ध पनि एक थियो) मा मात्र माओको पार्टीसम्बन्धी धारणा व्यवस्थित तवरमा संगृहित गरिएको थियो । तसर्थ यस निष्कर्षमा पुग्न सकिन्छ कि चिनियाँ पार्टी माओवादी पद्धतिअनुसार आफूलाई पुनः निर्माण गरिरहेको थियो । तथापि त्यस प्रक्रियामा थुप्रै कुरा मिलेका थिएनन् । वस्तुतः यो नयाँ पद्धति क्रान्तिकारी व्यवहारको नेतृत्व र त्यसले दिने ज्ञान र अनुभवबाट विकास भएको थियो ।

तर, यस सीमिततालाई वस्तुगत अवस्थाले पैदा गरेको भनेर मात्र पुग्दैन । कमइन्टर्न अवधारणाबाट पूरै निस्कन नसकेको विषय पनि यथावत् छ । यसैबीच माओवरिपरि बनेको देवत्वकरणले पनि खास ध्यान माग गर्छ । लेनिनको दृष्टिकोणको ठीक विपरीत देवत्वकरणको सुरुआत स्टालिनले गरेका थिए । स्टालिनको देवत्वकरणलाई विरोध गर्ने बहानामा ख्रुस्चेभले स्टालिनलाई निषेध गर्दै सोभियत युनियनमा पुँजीवादलाई स्थापना गर्ने वैचारिक आधार निर्माण गर्दा माओले स्टालिनको प्रतिरक्षा गरेका थिए । तर, यो उनका खारेजयोग्य र ग्रहणयोग्य गुणको भिन्‍नता गर्दै उनका गल्तीहरूमाथिको मार्क्सवादी आलोचना थियोे । के यो पर्याप्त थियो त ? यो विषय सोचनीय छ । व्यक्तिको देवत्वकरण कुनै पनि रूपमा मार्क्सवादसंगत छैन । तर, यसको पराकाष्ठाको आलोचनाबाहेक माओले यसलाई पूर्ण अस्वीकार गरेनन् । चिनियाँ वर्ग–संघर्षको जटिल अवस्था भन्दै यसलाई तर्कसंगत देखाउन खोजिए पनि सिद्धान्ततः यो अस्वीकार्य नै छ । व्यक्ति प्रशंसाको हद वा कोही प्रशंसायोग्य हुन्छ वा हुन्‍न भन्‍ने विषय नै होइन । व्यक्ति, नेतृत्व र अप्रत्यक्ष रूपमा पार्टीलाई दोषरहित सोच्ने चिन्तनलाई देवत्वकरणले बढावा दिन्छ । यस चिन्तनलाई माओवादी पार्टीको अवधारणाले खारेज गरे पनि सोही चिन्तन चिनियाँ पार्टीमा प्रयोग भएको ‘सदैव सही’ विशेषणमा देखिन्छ । माओको उदाहरण दिँदै नेतृत्वको देवत्वकरणलाई तर्कसंगत गर्ने विद्यमान माओवादी पार्टीहरूले यस विषयमा प्रस्ट हुन जरुरी छ ।

साधारणतः कमइन्टर्नवादी पार्टी अवधारणाबाट निस्कन माओवादी पार्टीहरू कति सफल भएका छन् ? उनीहरूले निर्माण र नेतृत्व गरिरहेका पार्टीहरू कति माओवादी छन् ? सैद्धान्तीकरण र फलतः वैध नगरिए पनि जनतासँगै रहने र उनीहरूलाई सेवा गर्नेबाट उनीहरूमाथि हैकम जमाउने तर्फको परिवर्तन धेरै दृष्टान्तमा देखिन थालिएको छ । राजनीतिमा आधारित पार्टी निष्ठाका ठाउँमा अन्धभक्ति, सदैव सही नेतृत्वको अन्धविश्वास र व्यक्तिपूजा, आलोचना र विपक्षीप्रतिको असहिष्णुता, ‘पार्टी र क्रान्तिका’ लागि भन्दै गरिने जस्तोसुकै कार्यलाई पनि सदर गरिदिने व्यवहारवाद आदि जस्ता कमइन्टर्नवादी प्रभावहरू कार्य र दृष्टिमा सर्वव्याप्त भएका छन् । यसमा स्टालिन मात्र दोषी नभएकाले कमइन्टर्नवादी पदावलीको प्रयोग यहाँ गरिएको छ । यसबाहेक यसले कम्युनिस्ट आन्दोलनको इतिहासमा सिंगो कालखण्डको समस्याहरू बोक्छ । हामीले थप भन्‍नपर्छ कि यी दृष्टिकोण र विकासको समस्या थिए । किनकि यो समय कम्युनिस्ट विचारको विश्वव्यापीकरण, पार्टीहरूको स्थापना र अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनको निर्माणको समय थियो । माओवादको एउटा ठूलो सफलता कमइन्टर्नकालको सकारात्मक पक्षलाई न्यूनीकरण नगरी त्यसबाट क्रमभंग गर्नु थियो । यस क्रमभंगतालाई झनै अघि लान आवश्यक छ । आजका माओवादी पार्टीहरू निसंकोच अतीतका कम्युनिस्ट पार्टीका निरन्तरता हुन् । तर, तिनको आधार माओवादले विकास गरेको अग्रदस्ताको अवधारणामा हुनुपर्छ न कि विगतका दृष्टिकोण र पद्धतिहरूमा । 

(यो लेख पहिलो पटक मुनानोपोरली, अंक १३१–१३२, २००९ मा 'दि माओवादी पार्टी' शीर्षकमा प्रकाशित भएको थियो।)

(अनुवादः हिमांशु)

प्रकाशित: १८ असोज २०७८ २०:१८ सोमबार

चेतलुङ
चेतलुङ