११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
सन्दर्भवस सम्पादकको रोजाइ

बाबा रामदेवको स्वास्थ्य–साम्राज्य

बाबा रामदेवको स्वास्थ्य–साम्राज्य

‘यो राजनीति होइन, न त कूटनीति नै हो, यो त योगनीति हो, जसले देशलाई जोड्ने काम गर्छ । यो हाम्रो राजनीतिक दृष्टिकोण हो । साधु–सन्तले व्यवस्था बदल्न सक्छन्, किनभने उनीहरू प्रलोभनबाट निकै टाढा हुन्छन् ।’ 
– रामदेव

साधु–सन्तले समाज–व्यवस्था फेर्ने फुर्ति गरेको देखेर केही मानिसलाई अनौठो लाग्‍न सक्छ । भारतीय उपमहाद्वीपमा अनेक स्टन्टबाजी गर्ने बाबाजीहरूको कुनै कमी छैन, यो तथ्य धेरैलाई थाहा छ । महेश योगीदेखि चन्द्रा स्वामी र साईबाबासम्मले अनेक विवाद उठाएको र वक्तव्यबाजी गरेको दृश्य त अब नौलो नै हुन छाडिसकेको छ । बाबाजी र साधु–सन्तका नाममा मिडियामा दिनहुँ छापिने यस्ता ध्वाँस र प्रहसनभन्दा भन्दा अलिक फरक छन्, बाबा रामदेवका विचार र व्यवहार । राजनीतिको साटो ‘योगनीति’ को वकालत गरेका रामदेवको मत छ, ‘राजनीतिक ढाँचामाथि भ्रष्टाचार नराम्ररी छाएको छ र राजनीतिज्ञहरूमाथि जनताको विश्‍वास हटिसकेको छ । म यो सिंगो ढाँचै बदल्न चाहन्छु । त्यसैले मैले राजनीतिक पार्टी बनाउने सोचाइ बनाएको छु ।’ 

योगनीति र राजनीति

हिजोसम्म उनी राजनीतिक नेताहरूलाई योग र व्यायाम सिकाउँथे, आयुर्वेद प्रयोग गर्न प्रोत्साहित गर्थे । आज उनै योगगुरू राजनीतिक आसन सिकाउने भए, राजनीतिक आसन नसिक्ने नेताहरूलाई पाठ सिकाउने भए । त्यसकारण योगगुरू आफैं पनि राजनीतिक पार्टी खोल्ने मनःस्थितिमा पुगे, विद्यमान राजनीतिक पार्टीको विकल्पमा आफैँ दल खोल्न तम्सिने भए । हिजोसम्म कुनै पनि राजनीतिक दल र नेताहरूसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका उनी आफैं राजनीतिक नेताका रूपमा उभिने सपना देख्‍ने भए ।

‘सबै सत्ता र व्यवस्थालाई अब बदल्नुपर्छ । देशको लोकतन्त्र जर्जर भइसकेको छ । यसको पुनर्जन्म हुनुपर्छ ।’ ‘विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र’ जर्जर भएको उनको उद्घोष कम वस्तुवादी छैन । झट्ट हेर्दा यस्तो जर्जर लोकतन्त्रलाई पुनर्जन्म दिने उनको सपना क्रान्तिकारीजस्तै लाग्छ । तर, भ्रष्ट सत्ता बदल्ने र जर्जर तन्त्रलाई पुनर्जन्म दिने कसले त ? उही साधु–सन्तले, जो उनको विचारमा ‘सत्ता र सम्पत्तिबाट दूर हुन्छन् ।’ खराउ लगाउँदैमा, गेरु वस्त्र धारण गर्दैमा कोही सत्ता–शक्ति–सम्पत्तिबाट टाढा हुँदैन । सत्ता–शक्ति–सम्पत्तिका भोगी साधु–सन्त–बाबाजीबाट सत्ता र तन्त्र फेरिएको इतिहास छैन । जोगीहरूबाट वर्तमानमा मात्रै कसरी निर्माण हुन्छ, त्यस्तो क्रान्तिकारी इतिहास ?

‘हामी हरेक जिल्लामा आफ्नो भारत स्वाभिमान संगठनका पाँचदेखि दस लाख सदस्य बनाउँछौँ । र, उनीहरूले भारतीय संसद्का लागि इमानदार नेता छान्ने काम गर्छन् ।’ त्यसो त उनको राजनीतिक सपना पनि ठूलै रहेछ : ‘भारत स्वाभिमान पार्टी आउँदो चुनावबाट सत्तामा आउने छ ।’ आफ्ना भक्त, अनुयायी र प्रशंसकको ताँती देखेर, उनीहरूको श्रद्धालाई भोटमा बदल्न सकिन्छ भन्ने आस लिएर उनले यस्तो सपना देखेको हुन सक्छ । राजनीतिक पार्टी नै खोल्ने सपना देखेपछि सत्ता–शक्तिमा छिट्टै पुग्‍ने कल्पना गर्नु अन्यथा होइन । तर, कल्पना यथार्थको जगमा उभिएन भने सत्ता–शक्ति सोम शर्माको सातुजस्तै हुन्छ नै । उनले त आफूलाई कुनै पनि राजनीतिक पद र लाभबाट दूर राख्‍ने घोषणा पनि गर्न भ्याएका छन् । यो त हिमाल चढे पनि म त चिसोबाट प्रभावित हुन्‍न भनेझैं हुन सक्छ । तर, लोकप्रियताका लागि यस्ता घोषणा गर्न भने जरुरी भइरहन्छ, सयौं मुसा खाएर काशी जाने बिरालोले जस्तै ।

त्यसो त उनी स्वास्थ्यको व्यापारमा पनि खप्पिस साबित भइसकेकै व्यक्ति हुन्, अब राजनीतिक व्यापारमा कसरी जम्‍ने हुन्, त्यसको जानकारी पनि उनलाई राम्रै भएको देखिन्छ । योग–व्यायाम र आयुर्वेदलाई विश्वव्यापी रूपमा लोकप्रिय बनाई मेवा खाइरहेका उनले सन् २०१० मै राजनीतिक कसरत गर्न थालेका थिए । त्यही साल नै उनले ‘भारत स्वाभिमान पार्टी’ खोल्ने ऐलान गरेका थिए र त्यसको प्रचार–प्रसार पनि सुरु गरेका थिए । त्यसको छाया उनका विचार र व्यवहारमा नदेखिएको होइन ।

पहिले–पहिले उनको योग शिविरमा योग, व्यायाम र आयुर्वेदसँग जोडिएका धार्मिक–आध्यात्मिक प्रवचन सुन्न पाइन्थ्यो, अहिले पनि नपाइने होइन । तर, आफ्नै पार्टी स्थापना गर्ने घोषणासँगै उनले प्रवचनमा आफ्नो राजनीतिक पार्टीको प्रचार र राजनीतिक मुद्दामा टिप्पणी गर्न थालेका छन् । योगका कठिन आसन सिकाउँदा सिकाउँदै पनि बीच–बीचमा उनी राजनेताको आसन जमाइहाल्छन् र प्रभुका भजनका बीच–बीचमै उनी राजनेताहरूमाथि तीखो टिप्पणी गर्न थालिहाल्छन् । र, दर्शकलाई हिन्दू राष्ट्रवादी कोणबाट भारतीय राजनीतिक ढाँचालाई रूपान्तरण गर्नुपर्ने भाषणको घुट्को पनि थोरबहुत पिलाइहाल्छन् । योग–व्यायाम र आयुर्वेदको पाठ सिकाउने योगगुरूमा आएको यस परिवर्तनको नेपथ्यमा छ, आफ्नो दललाई सकेसम्म छिटो सत्तासीन बनाउने राजनीतिक महत्त्वाकांक्षा ।

योग–व्यायाम र आयुर्वेदलाई विश्वव्यापी रूपमा लोकप्रिय बनाई मेवा खाइरहेका उनले सन् २०१० मै राजनीतिक कसरत गर्न थालेका थिए । त्यही साल नै उनले ‘भारत स्वाभिमान पार्टी’ खोल्ने ऐलान गरेका थिए र त्यसको प्रचार–प्रसार पनि सुरु गरेका थिए । त्यसको छाया उनका विचार र व्यवहारमा नदेखिएको होइन ।

राजनीतिक दल बनाउनु कहाँ हो कहाँ, उनी भने चुनाव प्रचारमा लागिसकेका थिए । सन् २०१४ को चुनाव आउन चार वर्ष बाँकी भए पनि उनी भने सन् २०१० मै चुनावी प्रचारमा निस्केका थिए । उनको जिकिर थियो, ‘हामी त्यस्ता मानिस होइनौं, जो चुनावभन्दा दुई महिनाअघिदेखि मात्रै प्रचार गर्छन् । हाम्रो अभियान त वर्षाैंवर्ष चल्छ ।’ एक वर्षअघि नै चुनाव प्रसारमा लागेका उनी सन् २०११ सम्म पनि पार्टी स्थापनातिर कुदेका छैनन्, जुन धेरैलाई अनौठो लाग्‍न सक्छ । सन् २०११ मा चार वटा राज्य प्रदेशमा भएका चुनावमा उनले कुनै उम्मेदवार उठाएको देखिँदैन । यसको अर्थ उनको राजनीतिक यात्रा चार दिनको होइन । दीर्घकालीन योजनाका साथ उनी राजनीतिक पासा खेल्दै छन् ।

सन् २०१० मै राजनीतिक अखडामा उत्रने घोषणा गरेका रामदेवको राजनीतिबारे धेरैमा चासो छ । उनले कहिलेदेखि पार्टी खोल्ने हुन् र भ्रष्ट राजनीतिक तन्त्रको सफाइ गर्ने हुन्, सबैमा प्रश्न छ । तर, उनले पहिले पार्टी स्थापना गर्ने, पछि राजनीतिक मुद्दा उठाउने पुरानो परम्परा तोडेका छन् । भारत स्वाभिमान पार्टी स्थापना गर्ने र देशका प्रत्येक जिल्लामा दस लाखसम्म सदस्य बनाएर चुनाव लड्ने घोषणालाई उनले स्थगित गरेका छन् । र, थालेका छन् एक राष्ट्रव्यापी अभियान, अभियानमार्फत राजनीतिक वर्चस्व स्थापित गर्दै पार्टी बनाउने क्रम ।

रामदेवले सन् २०१० मै घोषणा गरेका थिए, ‘भारत स्वाभिमान पार्टीको उद्देश्य स्विस बैंकलगायत विभिन्न विदेशी बैंकमा जम्मा गरिएको करौडौं रूपैयाँ भारतमा फिर्ता ल्याउनु अनि त्यसलाई देश विकासमा खर्च गरेर भारतबाट अशिक्षा, भोक, गरिबी, बेरोजगारी, नक्सलवाद र आतंकवाद समाप्त गर्नु हो ।’ त्यसको एक वर्षपछि उनले थालेको भ्रष्टाचारविरोधी आमरण अनसन वर्षदिनअघि घोषणा गरिएको त्यही राष्ट्रव्यापी अभियानकै एक अंग थियो । उनले यस पटक स्विस बैंकलगायत विभिन्न विदेशी बैंकमा जम्मा गरिएको करोडौं रूपैयाँ भारतमा फिर्ता ल्याउने लोकप्रिय नाराका साथ राजनीतिक अभियान थालेका थिए । यस अभियानलाई सरकारले पनि नकारात्मक रूपमा राम्ररी नै साथ दिएको थियो, नयाँ दिल्लीको रामलीला मैदानमा गरिएको आमरण अनसनमा बर्बर दमन गरेर, उनलाई चर्चा र विवादको शिखरमा पुर्‍याएर, उनले उठाएका मुद्दा र उनको राजनीतिक महत्त्वाकांक्षालाई राजनीतिक धरातल दिएर ।

उनी तत्कालीन सत्तारुढ कांग्रेस आईको सरकारविरोधी सबै गैर–वामपन्थी दल र शक्तिलाई आफ्नो मुद्दा र व्यक्तित्वको पछि लगाउन सफल भएका थिए । अदब उनी भ्रष्टाचार, बलात्कार, गोहत्या र आतंकवादविरुद्ध विद्यमान कानुनमा संशोधन गरेर त्यस्ता अपराधमा मृत्युदण्डको व्यवस्था गर्न सरकारलाई जबर्जस्त दबाब दिने हैसियतमा पुगेका छन् । साधु–सन्त, योगी–जोगीहरूको आक्रोश कस्तो हुन्छ, त्यसको नमुना पौराणिक कालमा परशुरामले देखाएका थिए भने कलियुगमा बाबा रामदेवले पनि प्रदर्शन गरे, इटालीमा जन्मिएकी सोनिया गान्धीविरुद्ध ‘विदेशी महिला’ भएको आरोप तेर्स्याउँदै ।

नयाँ दिल्लीको रामलीला मैदानमा भएको सरकारी दमनविरुद्ध रावणलीला मच्चाउने धम्की दिँदै रामदेवले निर्दाेष जनतामाथि अत्याचार हुन नदिन आफ्नै सेना बनाउने धम्की दिए । उनले त्यसका लागि ११ हजार सेना गठन गर्ने, आवश्यक परे सैन्य संख्या ११ लाखसम्म पुर्‍याउने र तिनलाई शस्त्र र शास्त्रले प्रशिक्षित गर्ने चेतावनी समेत दिए । त्यसो त अहिले नै देशभित्र र बाहिर सडक–चोकमा हजारौं मानिसलाई अनसनमा बसाउन सक्ने हैसियत व्यवहारमै प्रमाणित गरेका बाबा रामदेव हिन्दुत्व र राष्ट्रवादका आधारमा जनपरिचालन गर्ने र त्यस्तै विचार बोक्ने दल वा मोर्चा वा सेना गठन गरे भने त्यसको दूरगामी असर लोकले नै भोग्‍नुपर्ने हुन्छ । लोकप्रिय मुद्दा, जुझारु जनपरिचालन र आलोचनात्मक चेतबिनाको अन्धताले भरिएको अभियानले कुनै पनि बेला राजनीतिक प्रकृति र चरित्र ग्रहण गर्न सक्छन् । त्यस्तो अभियान सर्वग्रासी हुन्छ, जसले न लोकलाई बाँकी राख्छ, न त लोकतन्त्रलाई नै, न त ससाना छिमेकीलाई नै ।

स्वास्थ्य र धर्मको राजनीतिको नेपथ्य

रामकृष्ण यादवबाट स्वामी रामदेवमा अवतरण । स्वामी रामदेवबाट बाबा रामदेवमा रूपान्तरण । योग–अभ्यासबाट लाखौं मानिसको स्वास्थ्यमा सुधारको अभियानमा संलग्‍न योगगुरू । अब स्वास्थ्यसेवाबाट राजनीतिक स्वास्थ्य सुधारमा क्रियाशील आध्यात्मिक नेता । योगाभ्यासलाई आध्यात्मिकतासँग जोड्ने, व्यायाम र आध्यात्मिकतालाई व्यापार र राजनीतिसँग जोड्ने कुशल योगनीतिज्ञ ।

केही समयअघि बाबा रामदेव चर्चित थिए, राजनीतिक बिमारी हटाउन ‘भारत स्वाभिमान’ नामक राजनीतिक पार्टी खोल्ने उद्घोषका कारण । त्यसपछि उनी चर्चाको शिखरमा पुगे, भारतको राजनीतिक स्वास्थ्य सुधारका लागि भ्रष्टाचार हटाउन र विदेशी बैंकमा राखिएका अवैध सम्पत्ति राष्ट्रियकरण गर्न आमरण अनसन थालेका कारण । नयाँ दिल्लीमा गरिएको आमरण अनसनमाथि निर्मम सरकारी दमन, अलोकतान्त्रिक गिरफ्तारी र हरिद्वारमा अनसनको थालनीका कारण उनी दुवै हातमा नाफैनाफाको राजनीतिक कार्यव्यापारमा छन् । अब उनी त्यस्ता आध्यात्मिक नेताका रूपमा उदाएका छन्, जो भारतीय राजनीति र मानसपटलमा ‘रामदेव–रेखा’ कोर्न सफल भए । त्यस्तो ‘रामदेव–रेखा’, जसको एकातिर छन् भ्रष्टाचारका पक्षपाती, अर्काेतिर छन् भ्रष्टाचारविरोधी ।

जसले जे भने पनि रामदेवले स्थापना गरेको स्वास्थ्य–साम्राज्य र आर्जन गरेको ख्यातिले उनलाई राजनीतिक रूपमा महत्त्वाकांक्षी बन्न प्रेरित गर्नु अनौठो होइन । त्यसैको फलस्वरूप उनी स्वास्थ्यको व्यापारबाट राजनीतिको व्यापारमा, शरीरको राजनीतिकरणबाट धर्मको राजनीतिकरणमा लाग्नु पनि स्वाभाविकै हो ।

‘रामदेव–रेखा’ कोर्ने रामदेवले कहिले पनि घाटाको व्यापार गरेको दृष्टान्त छैन, चाहे त्यो स्वास्थ्यक्षेत्रमा होस् या आध्यात्मिक क्षेत्रमा या राजनीतिक क्षेत्रमा । ‘डिसिप्लिन एण्ड पनिस’ का लेखक मिसेल फुकोको विचारमा सबैभन्दा बेसी व्यापार र राजनीति हुने क्षेत्र हो, मानिसको शरीर । त्यसमा खली देखिएका रामदेव खप्पिस कर्पाेरेट व्यवसायी नै मानिन्छन् । लाखौं मानिसको शरीर स्वस्थ राख्‍ने उनको व्यवसायबारे अनेक प्रश्न उठेका छन् । तर, उनको व्यवसाय नाफाको नीति–नियतबाट चलेकोमा भने मतान्तर छैन । नभए एसियामै सबैभन्दा ठूलो औषधी कारखाना मानिने दिव्या फार्मेसी न त हरिद्वारमा स्थापित हुन्थ्यो, न त त्यसले औषधीसँगै आटासम्मको व्यापार गर्ने र सबै साना–ठूला रोगका उपचारको प्याकेज र दामको विज्ञापनै गर्थ्यो।

योग र आयुर्वेदको बलमा रामदेवको साम्राज्य फैलिँदो छ । योग शिक्षाको प्रचारकै लागि बनाइएको थियो पतञ्‍जली योगपीठ, जुन विश्वमै त्यस्तो खालको सबैभन्दा ठूलो संस्थान हो । ५ सयजना डाक्टरले काम गर्ने योगपीठले ६ वर्षमा कमाएको रकम ११ सय करोड त्यत्तिकै पुगेको होइन । उनले स्कटल्यान्डमा एउटा सिंगो टापु नै ट्रस्टको नाममा किनिसके भने अमेरिकाको ह्युस्टनमा पनि आश्रमको शाखा खोल्दै छन् । यी तथ्यले आम्दानीको वृद्धि र व्यावसायिक साम्राज्यको विस्तारतिरै संकेत गर्दछन् । त्यस्तो साम्राज्यविरुद्ध सरकारले प्रतिशोधपूर्ण ढंगले सेँध मार्ने काम थालेको छ, छोटो समयमै अर्बाैंको सम्पत्तिका मालिक भएका रामदेवका सबै कम्पनीको छानबिन गर्दै ।

रामदेवकै दाबीअनुसार पनि विश्वभर एक अर्बभन्दा बेसी मानिसले उनको योग कार्यक्रम हेर्छन्, लाखौंलाख भक्त, अनुयायी र प्रशंसक छन् । त्यसो त उनका कार्यक्रम हिन्दी, अंग्रेजी, तमिल र तेलुगू भाषामा २२ वटा टिभी च्यानलमार्फत् संसारभरका कोठाकोठामा पुग्छन् । उनले टिभीसँगै योगशिविर, डिभिडी, क्यासेट, किताब, इन्टरनेट र भिडियोमार्फत विश्वभर योग र आयुर्वेदलाई लोकप्रिय बनाउने श्रेय पाएका छन् । उनमा मिडियाको व्यवस्थापन गर्ने खुबी र स्वास्थ्यसेवाका नाममा व्यवसाय गर्ने कला कम छैन । उनका योगशिविरमा हरेक पङ्क्तिको बसाइका लागि अलग–अलग दाम राखिन्छ, केहीलाई सित्तैमा योग सिकाइने अपवादबाहेक । त्यसैले होला, कांग्रेसका मुखाले नेता दिग्विजय सिंहले रामदेव योगगुरू कम, व्यवसायी ज्यादा देखिन्छ भनेको ।

जसले जे भने पनि रामदेवले स्थापना गरेको स्वास्थ्य–साम्राज्य र आर्जन गरेको ख्यातिले उनलाई राजनीतिक रूपमा महत्त्वाकांक्षी बन्न प्रेरित गर्नु अनौठो होइन । त्यसैको फलस्वरूप उनी स्वास्थ्यको व्यापारबाट राजनीतिको व्यापारमा, शरीरको राजनीतिकरणबाट धर्मको राजनीतिकरणमा लाग्‍नु पनि स्वाभाविकै हो । हुन त जंक फुड र कोल्ड ड्रिङ्क्सदेखि तिनका निर्माता बहुराष्ट्रिय कम्पनी, कीटनाशक विषादीको प्रयोग, गैरकानुनी खनिज उत्पादन र भ्रष्टाचारको मुद्दामा गान्धीवादी झन्डा उठाएर उनले राजनीति त गर्दै आएका थिए । तर, अल्पसंख्यक मुसलमान, दलित र अन्य समुदायका लागि आवश्यक आरक्षणको विरोध गर्ने, इटालीमा जन्मिएर भारतीय बुहारी र आमा भइसकेकी सोनिया गान्धीलाई विदेशी महिला भनेर होच्याउने, समलैंगिकतालाई शर्मनाक अपराधै ठान्ने र यौनशिक्षाको विपक्षमा समेत उभिने काम गरेका रामदेवले भ्रष्टाचारीलाई मृत्युदण्डको माग गरेर आफूलाई अलोकतान्त्रिक कित्तामा पनि पुर्‍याएका छन् ।

रामदेवको राजनीतिमाथि अनुसन्धान गरेकी चन्द्रिमा चक्रवर्तीका अनुसार उनले हिन्दू धर्म र भारत राष्ट्रलाई योग र आयुर्वेदसँग घोलेर बनाएको विचारलाई ‘सोम्याटिक रिलिजियो–नेसनालिज्म’ (शरीरको आरोग्यलाई राष्ट्रको स्वास्थ्यसँग जोड्ने धार्मिक–राष्ट्रवाद) भन्न सकिन्छ । उनी पुँजीवादविरोधी, समग्रमा पश्‍चिमाविरोधी धरातलमा उभिएर हिन्दुत्ववादी मूल्य र भारतीय राष्ट्रवादको वकालत गर्छन् । यही ‘रामदेववाद’ राजनीतिक शक्तिका रूपमा विस्फोटको चरणमा पुगेको संकेत देखिएको छ ।

हुन त धर्मभीरु भारतीय समाजमा साधु–सन्तको धार्मिक राजनीति लाभकारी भएको दृश्यबाट मोहित रामदेव लामो समयसम्म कुनै दल र नेतासँग सम्बद्ध भएनन्, हिन्दुत्ववादीहरूसँग हिमचिम भए पनि । गेरुवस्त्रधारी स्वामीको राजनीतिमा भाजपा र राष्ट्रिय स्वयम्‌सेवक संघजस्ता संघ परिवारको गन्ध रहेको र त्यसमा राष्ट्रवादी ‘फ्लेभर’ रहेको छ नै । ‘भ्रष्टाचारमा चुर्लुम्म डुबेको सिंगो राजनीतिक ढाँचा बदल्ने र आध्यात्मिक सर्वांगीण विकास गर्ने’ मुद्दाका आधारमा उनले सन् २०११ मै ‘भारत स्वाभिमान पार्टी’ खोल्ने र प्रत्येक जिल्लामा पाँचदेखि दस लाखसम्म सदस्य बनाउने घोषणा गरेका थिए । भ्रष्टाचार र अवैध धनलाई भारतीय राजनीतिको सबैभन्दा असाध्य रोग ठान्दै त्यसको उपचारमा लागेका दाबी गर्ने रामदेवले पार्टी निर्माण र चुनावमा प्रतिस्पर्धा गर्ने कामलाई भ्रष्टाचारविरोधी आमरण अनसनपछि भने तीव्र पार्न सक्छन् । साधु–सन्तहरू सत्ता–शक्ति–सम्पत्तिबाट अलग्गै रहने दाबी रहे पनि लोकप्रिय नाराको आडमा गरिएको आमरण अनसन आफैं पनि बाबा रामदेवले थालेको राजनीतिक सत्ता–शक्तिको पूर्वाभ्यास हो ।
 

साभारः समावेशी (२०६८, असार) ।
सौजन्यः लेखक स्वयं ।

प्रकाशित: ७ मंसिर २०७८ ०८:३६ मंगलबार

चेतलुङ
चेतलुङ