१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
सन्दर्भवस राजनीति

शेरबहादुर देउवालाई चिठी

शेरबहादुर देउवालाई चिठी
तस्बिरः रेजा/चेतलुङ

शेरबहादुर देउवाज्यू,
तपाईं प्रधानमन्त्री हुनुभयो भनेर यो चिठी बधाई दिने उद्देश्यले लेखिएको होइन । मैले आजसम्म कुनै प्रधानमन्त्रीलाई लिखित बधाई दिएको छैन । मौखिक बधाईचाहिँ पञ्‍चायतकालका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द अनि तपाईंका कांग्रेसी नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई दिएको थिएँ । पञ्‍चायती थापाले शिष्टतापूर्वक धन्यवाद स्वीकार गर्नुभयो र चन्दले त आत्मीयतासाथ हात नै मिलाउनु भएको थियो । तपाईं भन्ठान्‍नुहोला तपाईंका जननेता भनाउँदाहरूले मुसुक्क हाँस्दै नमस्कार फर्काए होलान् । अहँ, भट्टराईले बधाईको प्रत्युत्तर ‘रानीका हातमा आफूलाई बेचिहाल्नु भयो, अब के जनताको नेतालाई बधाई दिन आउनुहुन्छ ?’ भनेर विषवाण प्रहार गर्नुभयो भने कोइरालाले मतिर एक पल्टसम्म पनि फर्केर हेर्नु भएन । प्रजातन्त्रका प्रतिनिधि नै हौँ, प्रतिष्ठाता नै हौँ र प्राण नै हौँ भन्‍ने प्रधानमन्त्रीहरूले मेरो नमस्कारको अपमानजनक उत्तर दिएकै हुनाले र तपाईं उहाँहरूकै कट्टर शिष्य हुनाले मैले मौखिक बधाई तपाईंलाई दिइरहेने कुनै औचित्य ठानिनँ । 

बधाई दिन चिठी नलेखेको भए किन के प्राप्तिका आशाले लेखेको त भन्‍ने प्रश्‍न उठ्न सक्छ । त्रिखुट्टीमा आफ्नो शरीरलाई समेत सन्तुलन गर्न धौधौ परी बसेका मान्छेसँग भिखारीहरू त केही माग्‍न जानु निरर्थक ठान्छन् भने म स्वाभिमानी बुद्धिजीवी किन ङिच्च दाह्रा देखाउँदै तपाईं समक्ष आउने ? त्यो कुरो तपाईंलाई पनि थाहा छ र मलाई पनि थाहा छ । चिठी अनेकौँ कारणले लेख्‍न सकिन्छ देउवाज्यू । जनताको राजमा शासनको ठेक्का लिएर बसेपछि धरमराउँदो तीनखुट्टे आसनमै बसे पनि जनताका स्वरहरू सुन्‍न सक्नुपर्छ । 

यस देशमा तपाईंजस्ता प्रधानमन्त्रीहरू कति आए कति गए । तिनको के गन्ती ? तपाईंको पनि तालुमा आलु फल्यो, प्रधानमन्त्री हुन पुग्‍नुभयो । त्यसमा उदेक मान्‍नुपर्ने कुनै आवश्यकता छैन । आवश्यकताचाहिँ प्रधानमन्त्री भएर तपाईंले जनताका लागि, राष्ट्रका लागि र इतिहासका लागि के गर्नुभयो र कस्तो राम्रो प्रभाव छाड्नुभयो त्यही नै महत्त्वपूर्ण हुन्छ ।

तपाईं प्रधानमन्त्री भएकामा प्रतिपक्षीहरू त रिसाउने नै भए । तर, तपाईंकै दलका मान्छेहरू पनि भित्रभित्रै मुरमुरिएका छन् । भित्रभित्रै किन ? शैलजा आचार्यले त मौखिक रूपले नै असहमति जनाएका खबरहरू बाहिर आइसकेका छन् । बूढाहरू पनि तपाईंसँग प्रसन्‍न छैनन्, तपाईंभन्दा केही जेठाहरू पनि जलेका छन् र कान्छाहरू पनि छिर्के हान्‍ने ताक पर्खेर बसेका छन् । त्यसै हुनाले फेरि अर्को पालि प्रधानमन्त्री हुने सपना अब तपाईंले नदेखे पनि हुन्छ । यस्तै लोसे पारा अँगालेर मक्ख पर्दै बस्‍ने हो भने तपाईंलाई बीचैमा तीन बल्ड्याङ पछार्न बेर छैन । परचक्रीहरूदेखि लिएर आफन्त भनाउँदाहरूसम्म तपाईंलाई ढाल्न रात–दिन सक्रिय छन् । परचक्रीहरूमा प्रतिपक्षीहरूदेखि लिएर आफ्नै पक्षका भनाउँदाहरू, राप्रपाहरू, कांग्रेसीहरू र आफन्तहरूमा नातादारहरूदेखि लिएर तपाईंले आफ्नो ठानेर सल्लाहकार बनाएकाहरू, मित्रहरू र तपाईंका नेताबाजेहरू सबै नै तपाईंलाई बलिको बोको बनाउन कोखामा छुरी लुकाएर दाउ पर्खिरहेका छन् । 

बधाई दिन चिठी नलेखेको भए किन के प्राप्तिका आशाले लेखेको त भन्‍ने प्रश्‍नउठ्न सक्छ । त्रिखुट्टीमा आफ्नो शरीरलाई समेत सन्तुलन गर्न धौधौ परी बसेका मान्छेसँग भिखारीहरू त केही माग्‍न जानु निरर्थक ठान्छन् भने म स्वाभिमानी बुद्धिजीवी किन ङिच्च दाह्रा देखाउँदै तपाईं समक्ष आउने ?

त्यसो भनेर तपाईंले आफूलाई नितान्त एक्लो छु भनेर कहिल्यै पनि नमान्‍नुहोला । तपाईंका तीन जना आफ्नाहरू छन्, आत्मीयहरू छन् र वास्तविक तथा निस्वार्थ शुभचिन्तकहरू छन् । तपाईंको सबभन्दा शक्तिशाली, सबभन्दा भरपर्दो र सबभन्दा हार्दिक आडका रूपमा तपाईंकी आफ्नै श्रीमती आरजू देउवा हुनुहुन्छ । उहाँमा तपाईं ढुक्कसाथ विश्‍वास गर्न सक्नुहुन्छ । धेरैजसो ठूला मानिसहरूका पृष्ठभूमिमा आफ्नी प्यारी पत्‍नीको प्रेम नै प्रमुख रूपले रहेको हुन्छ । पक्कै पनि उहाँको प्रेरणा तपाईंका लागि पथप्रदर्शक बन्‍नेछ । दोस्रो, तपाईंको अभिन्‍न मित्र अदृश्य भए पनि तपाईंसँगै हुन्छ, चौबीसै घण्टा तपाईंकै भित्र, बाहिर र वरिपरि पहरा लिएर बसेको हुन्छ । अहिले शक्तिको कुर्सीमा बसेका बेला तपाईंका आँखामा अहङ्‍कारको चस्मा लागेको हुन सक्छ । त्यसै हुनाले त्यस परम मित्रलाई तपाईं चिन्‍न सक्नुहुन्‍न, बरु रात–दिन पालोपहरा बस्‍ने फौजी रक्षकहरूलाई तपाईं आफ्ना अभिन्‍न साथी मान्‍ने मूर्खता गर्नुहोला । भ्रममा नपर्नुहोस् ! तपाईंका घर–करेसामा मुन्टो लतारेर हात जोड्दै हजुरको लाम्खुट्टे कराउने चाकरी दल तपाईंको पद फुस्कनेबित्तिकै मृत शरीरबाट उपियाँ फुत्केझैँ फुत्त भाग्‍नेछन् । परमपिता परमेश्‍वर नै एक यस्ता मित्र हुन्, जसले तपाईंलाई सदासाथ दिन्छन् । यिनी बोल्दैनन् र मात्र, नत्र त यी परमात्मा तपाईंकी पत्‍नीभन्दा पक्का र भरपर्दा छन् । 

तेस्रो मित्र, यो लेखक नै हो भन्दा तपाईं हास्‍नुहोला । नहाँस्‍नुहोस् ! बरु तपाईं ती अँध्यारा दिनहरूलाई सम्झनुहोस्, जति बेला तपाईं घरी–घरी कारागारमा पर्नुहुन्थ्यो र बाहिर छुटेका बेला कोही साथी नभेटेर एक्लै धुमधुमती बानेश्‍वर र डिल्लीबजारको लमतन्‍न परेको सडकमा ठिङ्ग उभिरहनुहुन्थ्यो । तपाईंसँग कोही पनि बोल्दैन्थ्यो । कसैले तपाईंतिर हेर्दैन्थ्यो, कसैको आँखा झुक्किएर तपाईंमाथि परिहालेछ भने काउछो देखेजस्तो, मरेको बिरालो देखेजस्तो वा कुनै दयनीय घावैघाउले भरिएको अङ्गभङ्ग मगन्ते देखेजस्तो परक्क मुन्टो बटारेर फटाफट अर्कातिर लम्किहाल्थ्यो । मैले भने कहिल्यै त्यसो गरिनँ । स्‍नेहपूर्वक तपाईंसँग अभिवादन साट्थेँ, भलाकुसारी गर्थेँ र बिदा हुन्थेँ । तपाईंको प्रजातन्त्रप्रतिको अटल आस्था र अडिग आदर देखेर म द्रवीभूत हुन्थेँ र परमात्मासँग तपाईंको भलो होस् भन्‍ने शुभकामनासाथ प्रार्थना गर्थेँ । आखिरमा परमेश्‍वरले तपाईंको इमान, तपाईंको अनुशासन र तपाईंको त्यागको कदर गरेरै छाडे, तपाईं प्रधानमन्त्री भएका दिन तपाईंकी पत्‍नीकै जति खुसी भएँ भनेर ढाँट्न चाहिँ म सक्तिनँ । तर, म अति नै खुसी भएँ । प्रधानमन्त्री हुनुपर्ने मान्छेलाई नै भगवानले प्रधानमन्त्री बनाए भनेर म प्रसन्‍न भएँ, रमाएँ ।

म रमाएँ भन्‍ने कुरालाई तपाईंले प्रतीकात्मक रूपमा बुझे पनि हुन्छ । आजको राजनीतिमा स्वार्थी, कुचर्की र षड्यन्त्रकारीहरूको मात्र आवाज हुन्छ । तर, मेरो आवाज निमुखा, निर्दोष र प्रतिनिधि छान्‍न नजान्‍ने र नसक्ने जनताको आवाज हो । साहित्यको आवाजमा इतिहास गुन्जेको हुन्छ । यो जो म लेख्‍ने तारानाथ छ नि, यो बरबोटे गाउँमा जन्मेर इलामको अन्‍नजलले हुर्कँदै कञ्‍चनजङ्‍घाको काखमा बोल्न सिक्ने पहाडे नेपाली हो, जसले डँडेलधुराका डाँडापाखामा चिप्ली खेलेर बादलसँग पैंठेजोरी खेल्ने पर्वतीय ठकुरीको भित्री हृदयलाई राम्ररी चिनेको छ । महाकाली र सेतीको किरिया खाएर तथा मेची र माईको जल समात्तै म बाहुनचरी सङ्‍कल्प गर्छु र भन्छुः इतिहासको सर्त पूरा गर्नुहोस् देउवाज्यू ! जनता र इतिहासको प्रतीक यो कलम तपाईंको साथ दिन कम्मर कसेर लाग्‍नेछ ।

बूढाहरू पनि तपाईंसँग प्रसन्‍न छैनन्, तपाईंभन्दा केही जेठाहरू पनि जलेका छन् र कान्छाहरू पनि छिर्के हान्‍ने ताक पर्खेर बसेका छन् । त्यसै हुनाले फेरि अर्को पालि प्रधानमन्त्री हुने सपना अब तपाईंले नदेखे पनि हुन्छ ।

तर, सर्तचाहिँ तपाईंले पूरा गर्नैपर्छ । सर्त पूरा गर्नुभएन भने तपाईंकी धर्मपत्‍नीले तपाईंलाई नछाड्नुहोला, पक्कै छाड्नुहुन्‍न र परमात्मा अलिक ठुस्कनुहोला र पनि सँगै बस्‍नुहोला, निश्‍चय पनि बस्‍नुहुन्छ तर तारानाथले भने तपाईंलाई निर्दयतासाथ छाड्नेछ, छाड्नैपर्छ । इतिहासले ठग्यो भने विश्‍वविजेताले पनि कुकुर मार्‍यो कि बिरालो मार्‍यो हुँदै कारागारमै कुहिएर सिद्धिनुपर्छ । नेपालजस्तो मुुलुकका प्रधानमन्त्रीजस्ताको त के कुरो ?

तपाईंलाई अब प्रधानमन्त्री हुन नदिनेमा तपाईंकै दलका पिण्डपानी दिनुपर्ने पितृ बूढाहरू मात्र होइन, समकालीन हस्तीहरूसमेत कस्सिएका छन् भनेर मैले पहिले नै सुइँको दिइसकेको छु । प्रधानमन्त्रीको पद खोसिएपछि फेरि अरु समकक्षी पद कुन होला ? तपाईंले कांग्रेसको सभापति वा प्रतिनिधिसभाको सभामुख ताक्न सक्नुहोला । तर, यत्तिकै जिब्रामा र्‍याल काढेर बस्‍ने जेष्ठ र कनिष्ठ नेतृत्व वर्गको भीडमा तपाईंको अस्तित्व बिलाएर जानेछ । प्रधानमन्त्रीत्व राष्ट्रिय मर्यादाको पद हुनाले प्रधानमन्त्री हुनेलाई जनताले नमस्कार गर्छन् । तर, तपाईंका अग्रजद्वयको अहङ्‍कारको सिको गरेर जनताका नमस्कारको तिरस्कार गर्नुभयो भने तपाईंलाई पनि पदमुक्त भइसकेपछि तपाईंकै पालेले पनि गन्‍ने छैन ।

त्यही मान्छे अमर हुन्छ, जसले निस्वार्थ भावले देश र जनताको हित हुने अद्वितीय र अभूतपूर्व काम गर्छ । अनगिन्ती व्यक्तिहरू नेपालका प्रधानमन्त्री भए, तिनका नामसम्म पनि कसैले लिँदैनन् । सात सालपछि नै कति जना प्रधानमन्त्री भएका थिए ? तिनका नाम अँध्यारामा विलीन भएर गए तर भीमसेन थापालाई, जंगबहादुर राणालाई, चन्द्रशमशेरलाई र जुद्धशमशेरलाई हामी आज पनि घरी–घरी सम्झिरहन्छौँ । किन ? अंग्रेजी साम्राज्यवादको विस्तारलाई नेपालबाट मात्र हटाउने होइन, एसियाबाटै लखेट्न चाहने भीमसेन थापा अंग्रेज साम्राज्यवादीहरूबाट कैलाली, कञ्‍चनपुर, बर्दिया र बाँके खोसेर नेपालमा मिलाउने र मुलुकी ऐन चलाएर कानुनी व्यवस्था बसाल्ने जंगबहादुर राणा ‘चन्द्रज्योति’ का नाममा विद्युत् सुरु गर्ने र त्रिचन्द्र कलेज स्थापना गर्ने तथा अंग्रेज साम्राज्यवादीहरूलाई नेपालको सार्वभौमसत्ता स्वीकार गर्न कर लगाई हस्ताक्षर गराउने चन्द्रशमशेर तथा जुद्धकला पाठशाला, जुद्ध विद्यालयहरू तथा जुद्ध बारुणयन्त्र स्थापित गरी आधुनिक जुद्ध सडक निर्माण गर्ने जुद्धशमशेर त्यसै अमर भएका होइनन् ।

प्रधानमन्त्रीको पद खोसिएपछि फेरि अरु समकक्षी पद कुन होला ? तपाईंले कांग्रेसको सभापति वा प्रतिनिधिसभाको सभामुख ताक्न सक्नुहोला । तर, यत्तिकै जिब्रामा र्‍याल काढेर बस्‍ने जेष्ठ र कनिष्ठ नेतृत्व वर्गको भीडमा तपाईंको अस्तित्व बिलाएर जानेछ ।

देउवाज्यू, तपाईंको प्रधानमन्त्रीत्व ढाल्न चाहनेहरूसँग किन डराउनुहुन्छ ? किन बूढा गुरुहरूले हप्काउनेबित्तिकै अङ्‍कै नतोकी चेक सही गरेर राष्ट्रिय धन लुट्न दिनुहुन्छ ? गए नाथे पद जाओस् किन हतासिनुहुन्छ ? त्यही प्रधानमन्त्री पद न हो, त्यो त पाइहाल्नुभयो नि ! अब नडराई केही काम गर्नुहोस्, गरेर देखाउनुहोस् अनि जे गर्नु छ तुरुन्तै गरिहाल्नुहोस्, पछुताउनु नपरोस् ! समयले पर्खँदैन र मौका गुमिसकेपछि फेरि फर्कँदैन ।

धमिजा काण्डमा तर मार्नेहरूलाई पछार्नुहोस्, मलकाण्डमा करोडौँ हसुर्नेहरूलाई निचोर्नुहोस्, जीप किन्यौँ भनेर सुन थुपार्नेहरूलाई दिसा निस्कुन्जेल बटार्नुहोस् ! प्रतीतपत्रको षड्यन्त्र गरेर राष्ट्रलाई शोषण गर्नेहरूलाई गोर्खेलौरी लगाउनुहोस् ! आर्थिक समितिले २४ अरबको बेरुजु निकालेको छ, त्यस बेरुजका पृष्ठभूमिमा कुन–कुन मुखुन्डे नेताहरू छन्, अधिकारीहरू छन्, कर्मचारी छन्, कार्यकर्ताहरू छन्– ती सबैलाई दलको सम्बन्ध नहेरी, प्रजातन्त्रको भनाउँदो त्याग र प्रतिबद्धता नहेरी र नातागोता, आदरसादर केही नहेरी ठाडै झ्यालखानामा जाक्नुहोस् ! जनता तपाईंको साथमा छ, सन्तता, सर्वमान्यता, सङ्गठनकर्ता, प्रतिपक्ष, कर्मचारीतन्त्र, नाताजस्ता मुखुन्डाहरू रिसाएर केही नापिँदैन । भोलि त यी चार दिनका जुनेली रातहरू त्यसै बिलाएर जानेछन् । तपाईंको इमान्दारी, तपाईंको राष्ट्रप्रेम र तपाईंको निस्वार्थ जनसेवा नै इतिहासमा अङ्‍कित हुनेछन् । वर्तमानलाई सपार्न तपाईं लुगलुग बूढाहरूसँग काम्नु हुन्छ भने र अनैतिक व्यक्तिलाई श्रद्धा गरेर ढोक्नुहुन्छ भने बाटाका रोडाझैँ तपाई पनि नगन्य रूपले बढारिनुहुनेछ । के तपाईं पनि तात्कालिक पूर्वहरूको जस्तो अप्रिय, अकर्मण्य र दुष्काण्डहरूका थुप्रामा मिल्किएको भूत हुन चाहनुहुन्छ ? सुनौलो भविष्यलाई हेर्नुहोस् !

देउवाज्यू, तपाईंको प्रधानमन्त्रीत्व ढाल्न चाहनेहरूसँग किन डराउनुहुन्छ ? किन बूढा गुरुहरूले हप्काउनेबित्तिकै अङ्‍कै नतोकी चेक सही गरेर राष्ट्रिय धन लुट्न दिनुहुन्छ ? गए नाथे पद जाओस् किन हतासिनुहुन्छ ? त्यही प्रधानमन्त्री पद न हो, त्यो त पाइहाल्नुभयो नि !

जनतालाई साथ दिनुभयो भने नेपाली कांग्रेसको आजको माथिल्लो तहले तपाईंलाई जति ओझेल पार्न खोजे पनि थिचे पनि र सिद्ध्याए पनि तल्लो तहमा तपाईं आँखाको नानी हुनुहुनेछ । जनताले त तपाईंलाई सधैँका लागि शिरमा नै चढाउनेछन् । इतिहासमा तपाईं अमर हुनुहुनेछ ।

आउनुहोस् देउवाज्यू, सङ्‍कीर्ण गुटबाट आफूलाई मुक्त गर्नुहोस् र संविधान तथा कानुनको भत्सर्ना गरेर मोज गर्ने देशद्रोहीहरूलाई ठोकठाक पार्नुहोस्, उचित सजाय दिनुहोस् ! यसो गर्दा तपाईंको केही नोक्सान हुनेछैन, बरु जितैजित मात्र हुनेछ ।

याद गर्नुहोला, नेपाली कांग्रेसको प्रधानमन्त्री भएको भए अर्कै व्यक्ति हुने थियो, जनताको भएको हुनाले तपाईं हुनुभयो । त्यसैले तपाईंले कसैको गुलामी गर्नु पर्दैन, मुख ताक्नु पर्दैन । यस्तो अद्वितीय मौका पाउँदा पनि तपाईं पानसै मात्र बालेर, भाषणै मात्र छपाएर र फोटै मात्र प्रकाशित गरेर सन्तुष्ट हुनुहुन्छ भने हामीले अर्कै विकल्प खोज्‍नु पर्ला ।

देउवाज्यू, तपाईंलाई थाहा छैन होलाः प्रजातन्त्रका लागि नेपाल होइन, बरु प्रजातन्त्र नेपालका लागि हो । नेपाल आमालाई नाङ्गै पारेर जगल्ट्याउने, लुछ्ने कोपर्ने, चिथोर्नेहरू, आज मोज र मस्ती मारिरहेका छन् । तपाईं गोरखापत्रमा तपाईंको नक्सा छापिएको देखेर भँगेरे टाउके अक्षरमा तपाईंले बोलेका शब्दहरू खबरमा पंक्तिबद्ध भएको देखेर दङ्दास हुनुहोला, भोलि तपाईं कुर्सीबाट हट्ने बित्तिकै तपाईंको नामको हिज्जेसमेत पत्रकारहरूले बिर्सनेछन् । तपाईं गिरिजाप्रसाद कोइरालाका लागि प्रधानमन्त्री हुनु भएको होइन । मनमोहन अधिकारीका लागि वा कृष्णप्रसाद भट्टराईका लागि अथवा गणेशमान सिंहका लागि पनि त्यो पद सम्भाल्न पुग्‍नु भएको होइन । तपाईंले सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द, गजेन्द्रनारायण सिंह र महेन्द्रनारायण निधिसँग कुनै हिसाब चुक्ता गर्नु छैन । तपाईं आफूलाई कांग्रेसको प्रधानमन्त्री ठान्‍नुहुन्छ भने ठान्‍नुहोस् तर जनता र इतिहास भने तपाईंलाई नेपालको प्रधानमन्त्री ठान्छन्, नेपाली जनताको प्रधानमन्त्री ठान्छन् । याद गर्नुहोला, नेपाली कांग्रेसको प्रधानमन्त्री भएको भए अर्कै व्यक्ति हुने थियो, जनताको भएको हुनाले तपाईं हुनुभयो । त्यसैले तपाईंले कसैको गुलामी गर्नु पर्दैन, मुख ताक्नु पर्दैन । यस्तो अद्वितीय मौका पाउँदा पनि तपाईं पानसै मात्र बालेर, भाषणै मात्र छपाएर र फोटै मात्र प्रकाशित गरेर सन्तुष्ट हुनुहुन्छ भने हामीले अर्कै विकल्प खोज्‍नु पर्ला ।

यस पत्रको उत्तर मौखिक पनि चाहिँदैन, लिखित पनि पर्दैन, व्यवहारमा देखाउनु होला । कलम त मेरै हातमा छ, इतिहासमा अङ्‍कित गर्ने त यही कलम हो– गोरखापत्र होइन । 

उही
तारानाथ शर्मा  

(१० साउन २०५३को समकालीन ४/१५ अंकमा प्रकाशित शर्माको लेख वर्तमान समयमा पनि सान्दर्भिक देखिएकाले प्रकाशित गरिएको हो ।)

प्रकाशित: १८ फागुन २०७८ १४:३४ बुधबार

चेतलुङ
चेतलुङ