१८ चैत २०७९, शनिबार - April 1, 2023 Saturday
सन्दर्भवस संस्कृति

लुम्बिनी, मोरारी बापु र गौतम बुद्ध

लुम्बिनी, मोरारी बापु र गौतम बुद्ध

केही दिन अघि बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रामकथा वाचन’ आयोजना गरियो । कथा वाचनका लागि मोरारी बापु नामका गुजराती गुरुलाई आमन्त्रण गरिएको थियो । बुद्ध जन्मभूमिमा ‘रामकथा बाचन’ आफैंमा अचम्मको कुरा हो । अर्को अचम्म, मोरारी बापुको कथा मण्डपको पछाडी राखिएको मूल व्यानरमा कार्यक्रमको आयोजक उल्लेख थिएन । तैपनि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसम्म कार्यक्रममा सहभागी भए ।

कार्यक्रमको पुर्वसन्ध्यामा बौद्धमार्गी समूहले ‘बुद्धभूमिमा राम कथा वाचन बौद्ध सम्पदा माथिको अतिक्रमण हो’ भन्दै बिरोध जाहेर गरेका थिए । यो बाहेक, कार्यक्रमबारे नेपाली समाजमा धेरै चर्चा परिचर्चा भएन । यद्यपि यो कार्यक्रमले केही गम्भिर प्रश्न उठाएको छ । जसबारे चर्चा गर्नु जरुरी छ ।

सुने अनुसार, लुम्बिनीमा ‘पर्यटक बढाउन’ यो कार्यक्रम गरिएको थियो । यसमा स्थानिय होटल व्यवसायीहरुले खास पहल गरेका थिए । यदि यही कुरा सही हो भने निम्तो स्वीकारेर भारतबाट आउने बापुजीको कुनै दोष रहेन । तर छद्मभेषमा रहेर ज–जसले जे जे गरे त्यो अक्षम्य गल्ती हो ।

बौद्ध सम्पदा सीमित व्यक्ति वा राज्यको ‘गरिखाने भाँडो’ होइन । यो त आस्था र श्रद्धासँग सम्बन्धित बिषय हो । जुन नेपालीहरुमा मात्र सिमित छैन, विश्वभरका बौद्धमार्गीसम्म विस्तारित छ । एउटा धर्मपन्थको गौरवमाथि अर्को धर्मपन्थको जबरजस्ती कुनै पनि अर्थमा ठीक होइन । सीमित व्यापारी, प्रशासक र नेताबाट लुम्बिनीमा यसपाली जे नाटक मञ्चन गरियो, त्यसले विश्वभरका बौद्धमार्गी माझ नेपालको छवि धुमिल बनाएको छ ।

गलत यस कारण भयो कि यसका आयोजकहरुको उद्देश्य धार्मिक थिएन । यिनीहरुले छुद्र धन लोभको अधार्मिक उद्देश्यका लागि बौद्ध जन्मभुमिलाई दुरुपयोग गर्ने दुस्साहस गरेका थिए । बौद्धहरुका लागि असान्दर्भिक हुने ‘राम कथा’ बौद्धभूमिमै जबरजस्ती सुनाउने मूर्खता गरेका थिए ।

नेपाल शैव, वैदिक, बौद्ध, बोन र मुन्धुम जस्ता धर्मपन्थहरुको साझा भूमि हो । नेपाल र नेपालीले यि सबै धर्मपन्थलाई उनीहरुको मौलिकतासहित स्वीकार्न र संरक्षण गर्न सक्नुपर्दछ । तर धार्मिक विषयमा विभाजन र वैमन्स्यताको बिउ रोप्ने काम यसपाली राज्यसत्ताको तहबाटै भयो । यस प्रकारका कदमको सबै मिलेर विरोध गर्न जरुरी छ ।

सर्वधर्म समभावः

धर्मको अभिव्यक्तिको माध्यम बिम्ब, प्रतिक र काव्य हो । वैदिक, बौद्ध, जैन, बोन, ताओ, मुन्धुम आदि सबैमा प्रतिक–कथा छन् । जसले मनुश्य जिवनको सच्चाईको सारतत्वलाई प्रतिकात्मक ढंगले अभिव्यक्त गर्दछन् । कुनै कथाप्रति पूर्वाग्रही हुनु जरुरी छैन । सबै कथा सही छन् । यहाँ बौद्ध कथा वाचन पनि जरुरी छ । राम कथा वाचन पनि जरुरी छ । तर बौद्ध तिर्थस्थलमा राम कथा बाचन जरुरी छैन । राम तिर्थस्थलमा बौद्ध कथा वाचन पनि जरुरी छैन । सबै धर्मपन्थ आफैंमा पूर्ण छन् । कुनै धर्मपन्थलाई अर्को धर्मपन्थको सहारा जरुरी छैन । बौद्ध धर्मका लागि बौद्ध कथा नै पर्याप्त छ । वैदिक धर्मका लागि वैदिक कथा नै पर्याप्त छ ।

सबै धर्मपन्थको आ–आफ्नै सार्वभौमिकता र मौलिकता छ । कुनै धर्मपन्थ गलत छैनन् । वैदिक वा बौद्ध वा जैन वा मुन्धुम, सबै सही छन् । धर्मपन्थ बीच तुलना नै असान्दर्भिक कुरा हो । बौद्ध धर्मको जति महत्व छ, अरु धर्मको पनि त्यति नै महत्व छ । त्यसैले, बौद्ध मात्र होइन, यहाँ सबै धर्मपन्थहरुको संरक्षण हुनुपर्दछ । 
हरेक धर्मपन्थसँग फरक ‘मार्ग’ हुन्छ । यही फरक मार्ग नै यी धर्मपन्थहरुको प्राण हो । वैदिक धर्ममा ‘भक्ति योग’को प्राधान्यता भएकाले यो ‘समर्पणको मार्ग’  हो । बौद्ध धर्ममा ‘ज्ञान योग’ को प्राधान्यता भएकाले यो ‘संकल्पको मार्ग’ हो ।

मार्ग आफैंमा सही र गलत हुँदैन । सबै खाले मार्गका सवलता र कमजोरी हुन्छन् । कसका लागि कुन मार्ग ठीक भन्ने कुनै नियम हँुदैन । व्यक्तिको आन्तरिक बनावटका आधारमा फरक–फरक मार्ग लाभदायी हुनसक्छन् । त्यसकारण हामीले धर्मपन्थका विषयमा पूर्वाग्रही हुन जरुरी छैन । ‘सर्वधर्म समभावः’को नीति नै उपयुक्त हुन्छ । सबै धर्महरुप्रति सम्मान र सहिष्णुता जरुरी हुन्छ । ‘राम कथा वाचन’ बुद्ध जन्मभूमिभन्दा बाहिर आयोजना गरिएको भए गलत हुने थिएन । यदि बुद्ध जन्मभूमि परिसरमै अन्तरधार्मिक सम्मेलन आयोजना गरिएको थियो भने पनि गलत हुने थिएन ।

गलत यस कारण भयो कि यसका आयोजकहरुको उद्देश्य धार्मिक थिएन । यिनीहरुले छुद्र धन लोभको अधार्मिक उद्देश्यका लागि बौद्ध जन्मभुमिलाई दुरुपयोग गर्ने दुस्साहस गरेका थिए । बौद्धहरुका लागि असान्दर्भिक हुने ‘राम कथा’ बौद्धभूमिमै जबरजस्ती सुनाउने मूर्खता गरेका थिए ।

चिन्तनको दरिद्रता

बुद्धभूमिको संरक्षणका लागि भनेर नेपाल सरकारले वि.सं २०४२ सालमा ‘लुम्बिनी विकास कोष ऐन’ जारी गरेको थियो । २०७५ सालसम्म आउँदा यसमा सात पटक संशोधन भैसकेको छ । हालको प्रावधान अनुसार प्रधानमन्त्री उक्त कोषका ‘संरक्षक’ हुन् । कोषको सर्वोच्च निकाय भनेर कम्तिमा १६ सदस्य रहने गरी ‘लुम्बिनी विकास परिषद’ बनाईएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री उक्त परिषदको अध्यक्ष रहने व्यवस्था गरिएको छ । समितिका अन्य सदस्य सबै नेपाल सरकारले मनोनित गर्ने हो, जसमा नेपाल सरकारका चार जना सचिव रहने भनेर तोकिएको छ । बाँकी सदस्यहरु धार्मिक तथा गैरधार्मिक क्षेत्रबाट मनोनित गर्ने भनिएको छ ।

हालको ‘लुम्बिनी विकास परिषद’ १७ सदस्यीय छ । रोचक तथ्य यस्तो छ कि, त्यसमा बौद्ध धर्मसँग सम्बन्धित व्यक्ति जम्मा १ जना (उपाध्यक्ष) मात्र छन् । बाँकी सबै नेता, प्रसाशक र ‘विशेषज्ञ’लाई राखिएको छ । यहीँ प्रश्न उठ्छ, लुम्बिनीको विकासका लागि नेता, प्रशासक र ‘बिशेषज्ञ’को ज्ञान मात्र पर्याप्त छ ? के धार्मिक व्यक्तित्वहरुको ज्ञान र अनुभव जरुरी छैन ? लुम्बिनीको विकास गर्ने भनेको केवल भौतिक संरचना खडा गर्ने मात्र हो ? आस्था, मूल्यमान्यता र धार्मिक ज्ञानको क्षेत्रमा चाहिँ काम गर्नुपर्दैन ?

‘लुम्बिनी विकास कोष’को उद्देश्य हेरियो भने अझ दुःखद् छ । कोषको उद्देश्यलाई केवल चन्दा संकलनमा सीमित गरिएको छ । हाम्रा नेता र प्रशासकले बुद्ध जन्मभूमिको विषयलाई केवल ‘पर्यटन विकास’मा सीमित गरे । ‘बत्ती मुनि अँध्यारो’ भने झैं, यो चिन्तनको दरिद्रता बुद्धभूमिमै प्रकट भैरहेको छ । यसले बौद्ध मात्र होइन, नेपाली भूमिमा पैदा भएका समग्र धार्मिक परम्पराको अवमुल्यन गरेको छ । सायद यही चिन्तनको दरिद्रताका कारण हाम्रा धार्मिक तिर्थस्थलमा अधार्मिक स्वार्थले शक्ति जमाई रहेको छ ।

मौलिकताको महत्व

इतिहासमा वैदिक–बौद्ध द्वन्द्व पटकपटक उठ्दै साम्य हुँदै गरेको हो । तर स्वयं बुद्धपुरुषहरु यसमा संलग्न थिएनन् । यो अनुयायीहरु बीचको द्वन्द्व थियो । अमुक व्यक्ति र समूहका राजनीतिक स्वार्थका कारण त्यसो भएको थियो । कुनै पनि धर्मपन्थ स्वयं दोषी थिएनन् ।

सारतत्वका हिसाबले धर्मपन्थ बीच कुनै भेद छैन । यसकारण धार्मिक द्वन्द्वका लागि कुनै वैचारिक आधार छैन । विज्ञानमा आएको क्रान्तिले पनि यही सच्चाई स्थापित गरिदिएकोले अब धार्मिक वा राजनीतिक विभाजनको कुनै औचित्य छैन ।

तर नेपाल इतिहासदेखि नै उच्च धार्मिक सहिष्णुता रहेको समाज हो । अनेकन धर्मपन्थहरुको उद्गम भएर पनि सबै खाले धर्मपन्थहरुले समानान्तर अस्तित्व बनाएको समाज हो यो । बरु राज्यसत्ता चाहिँ इतिहासमा पटकपटक पक्षपाती र असहिष्णु भएका दृष्टान्त छन् ।

आज हामी ‘गणतन्त्र’ र ‘धर्मनिरपेक्ष’ मुलुकमा छौं । तर हाम्रा नेता र प्रशासकहरु ‘पञ्चायती सोच’ मै हिँडिरहेका छन् । यसकारण यहाँ धार्मिक मामिलामा पटकपटक विवादास्पद परिघटना देखा परिरहेका छन् ।

हाम्रा नेता र प्रशासकहरुले धर्म र ऐतिहासिक तिर्थस्थलहरुलाई हेर्ने दृष्टिकोण बदल्न जरुरी छ । हाम्रा धार्मिक तिर्थस्थलहरु ‘पैसा कमाउने भाँडो’ होइनन्, ‘सभ्यताको प्राण’ हुन् । ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनेर गर्व गर्ने हो भने बुद्धलाई ‘मागीखाने भाँडो’ बनाउने होइन, सभ्यता निर्माणको मार्गदर्शक बनाउन सक्नुपर्दछ । हाम्रो राज्य संरचना, शिक्षा प्रणाली, स्वास्थ्य प्रणाली, अर्थतन्त्र, विकासको मोडेल र समग्र राजनीतिमा धार्मिक चेतना (बोधज्ञान) अभिव्यक्त हुन जरुरी छ ।

सारतत्वका हिसाबले धर्मपन्थ बीच कुनै भेद छैन । यसकारण धार्मिक द्वन्द्वका लागि कुनै वैचारिक आधार छैन । विज्ञानमा आएको क्रान्तिले पनि यही सच्चाई स्थापित गरिदिएकोले अब धार्मिक वा राजनीतिक विभाजनको कुनै औचित्य छैन । तर धार्मिक पन्थहरुको मौलिकता उत्तिकै महत्वको बिषय हो । सबै धर्मपन्थलाई आ–आफ्नो मौलिकतासहित रहन पाउने वातावरण बनाउनु पनि उत्तिकै जरुरी छ।

धार्मिक तिर्थस्थलमा पर्यटन विकासबारे चिन्तन गर्नु गलत होइन । तर लुम्बिनीमा ‘मोरारी बापु’ वा जनकपुरमा ‘दलाई लामा’लाई गुहारिन्छ भने त्यो चाहिँ गलत हो। हाम्रा लागि ‘भगवान बुद्ध’ र ‘भगवान राम’ बराबर हुन् । बुद्ध र रामका नाममा नेपाली समाजलाई विभाजित गर्ने सोच किमार्थ स्वीकार्य हुँदैन ।

प्रकाशित: १४ फागुन २०७९ १४:४१ आइतबार

चेतलुङ
चेतलुङ