२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
दर्शन दर्शन राजनीति साहित्य

म कथा लेखक कसरी बने ?

म कथा लेखक कसरी बने ?

राहुल सांकृत्यायनको जन्म सन् १८९३ मा उत्तर प्रदेशमा अवस्थित आजमगढ जिल्लाको पन्दहा गाउँमा भएको थियो । उनको मूल नाम केदार पाण्डेया हो । उनको शिक्षा-दीक्षा काशी, आगरा र लाहौरबाट सम्पन्‍न भयो । सन् १९३० मा श्रीलंका गएर उनले बौद्ध धर्म अँगालेका थिए । त्यहीँबाट उनी राहुल सांकृत्यायनका नामले चिर-परिचित भए । उनी पाली, प्राकृत, अपभ्रंश, तिब्बती, चिनिया, जापानीका साथै रुसी भाषामा दख्खल राख्थे । उनी महापण्डितका नामले पनि चिनिन्छन् । उनको मृत्यु सन् १९६३ मा भयो ।

सांकृत्यायनले उपन्यास, कथा, आत्मकथा, नियात्रा, जीवनी, समालोचनाका क्षेत्रमा साहित्य सृजना गरे । यसका साथै उनले अन्य कयौँ ग्रन्थहरूको हिन्दीमा अनुवाद गरेका छन् । ‘मेरी जीवन यात्रा’ (६ भाग),‘दर्शन-दिग्दर्शन’, ‘बाइसवीं सदी’, ‘वोल्गा से गंगा’, ‘भागो नहीं दुनिया को बदलो’, ‘दिमागी गुलामी’, ‘घुमक्कड शास्त्र’उनका प्रमुख कृति हुन् । साहित्यका साथै उनले दर्शन, राजनीति, धर्म, इतिहास, विज्ञानलगायत विषयमा झण्डै १५० पुस्तक लेखेका छन् ।

कथा लेखकको के कुरा गर्नु, म लेखक नै कसरी बनेँ, यो भन्‍नु मेरा लागि सजिलो छैन । लेखक बन्छु होला भन्‍ने पहिले कहिल्यै मेरो मनमा अंकुरित भएन । जतिबेला म निजामाबाद (आजमगढ) मा उर्दू-मिडिलको विद्यार्थी थिएँ, त्यति बेला यत्तिकै निबन्ध लेख्‍नुथ्र्यो । अध्यापकहरूले कुनै विषय दिन्थे र हामी विद्यार्थीले त्यसमा दुई-तीन पृष्ठ लेखेर ल्याउँथ्यौँ । मलाई आफ्नो लेखनीमा कुनै अभिमान थिएन । त्यसैले अध्यापकहरूको प्रशंसालाई मैले त्यति महत्व दिईन । त्यतिबेला हातले नक्शा पनि बनाउनपथ्र्यो । मैले नक्शा बनाएर त्यसमा रातो-हरियो रंग पोतिदिन्थेँ ।

नक्शाका बारे म निश्‍चित रूपमा जान्दथेँ कि यो गलत नै छ, त्यसैले त्यसका बारेमा पनि कुनै अभिमान गर्न सक्ने अवस्था थिएन । तर, हाम्रा अध्यापक (बाबु जगन्‍नाथ रोय) प्रशंसा नगरी बस्‍नै सक्दैन्थे र अरू विद्यार्थीका अघिल्तिर मेरो नक्शालाई आदर्शका रूपमा पेश गर्थे । म मन-मनै फिस्स हाँसी दिन्थेँ । त्यति बेला पनि कुनै विषयमा मेरो लालसा थियो भने त्यो हो- घुमक्कड बन्‍ने र केही ज्ञानार्जन गर्ने । लेखक त मलाई लाग्छ म संयोगले बन्‍न पुगेँ ।

मानिसहरू यात्राका बारेमा विविध कुरा सोधी रहन्छन् र प्रत्येक यात्री श्रोताहरूको जिज्ञासा पूरा गर्न केही भन्‍ने गर्छ । त्यस्तो वर्णन गर्नु त मेरो पहिलेदेखि कै बानी थियो । सन् १९१५मा जतिबेला म आगरामा थिएँ, त्यहाँ मलाई बलजफ्ती कलम भिराइयो । त्यहाँ म उपदेशक बन्‍न गएको थिएँ । त्यहाँ मलाई व्याख्यान दिने र शास्त्रार्थ गर्ने कला सिकाइन्थ्यो । हाम्रा शिक्षक त्यसका अधिकारी थिएनन्, उनीहरू सभा-सम्मेलनमा बोल्ने गर्थे । त्यहाँबाट एउटा उर्दूको अखबार निस्कन्थ्यो, मलाई पहिलो पटक त्यहाँ खण्डन-मण्डनका रूपमा आर्यसमाजी शैलीको कुनै लेख लेख्‍न भनिएको थियो । त्यसबाट उत्साहित हुँदै मैले आफैसँग भने-अझै एक पाईला चालौँ न त ।

मलाई थाहा थिएन कि मेरा सहपाठीहरूमा, जसले सबै मिडिल पास गरिसकेका थिए- त्यतिबेलासम्म उनीहरू कसैको पनि कुनै लेख हिन्दी पत्र-पत्रिकामा छापिएको थिएन । सन् १९१५मा म नै पहिलो लेख लेख्‍नेमा दरिन पुगेछु । त्यो आधा कथा र आधा यात्रा विवरणका रूपमा थियो । अधिकांश यात्रा वर्णन जस्तै । ३७ बर्ष भयो, त्यसपछि मैले त्यो लेख हेर्न पाएको छैन । त्यो मेरठबाट प्रकाशित हुने मासिक पत्रिका भास्करमा छापिएको थियो । आफ्नो पहिलो लेख छापिएको देखेर म पनि प्रसन्‍न भएँ ।

सन् १९१८ र १९१९मा रुसी क्रान्तिबारे जे-जती समाचार प्रकाशित हुन्थे, त्यसमा कल्पनाको नुन-खर्सानी मोलेर मैले मन-मनै एउटा साम्यवादी दुनियाँको सृष्टि गरेँ । त्यही दुनियाँलाई म कागजमा उकेर्न चाहन्थेँ । 

सन् १९१५पछि धेरै बर्षसम्म मेरो हिन्दी लेखनीमा विश्राम लाग्यो । त्यसो त भाई महेशप्रसाद (मौलवी फाजिल) मेरा पथ-प्रदर्शक र अरबीका गुरु थिए । उनी पत्रिकाका लागि ऐतिहासिक कथा लेख्थे, जसमा आफ्नो संस्कृत र हिन्दीको योग्यताका कारण मैले उनलाई सघाउँथे, तर स्वयं लेख्दैन्थेँ । त्यसपछि आगामी चार बर्षसम्म मैले उर्दू पत्रिकामा आर्यसमाजी खालका केही लेख अवश्य लेखेँ । तर, हिन्दीको लेख सन् १९२०मा जालंधर कन्या विद्यालयबाट प्रकाशित हुने भारतीमा लेखेँ । ती कुशीनगर, लुम्बिनी, जेतवन-श्रावस्ती, बैशाली, नालन्दा-राजगीरका बौद्ध तीर्थ स्थलको यात्राका विषयमा थिए । 

सन् १९२१मा म असहयोग आन्दोलनमा तथा राजनीतिक क्षेत्रमा काम गर्न थालेँ । त्यतिबेला बिहारको छपरा मेरो कार्यक्षेत्र थियो । त्यतिबेला न लेख्‍ने चाहना हुन्थ्यो न त आवश्यकता नै । यद्यपि मेरो हिन्दी भाषा धेरै स्वभाविक भईसकेको थियो । तर, मेरो राजनीतिक जीवनमा छपरा बसाईका क्रममा कहिल्यै पनि भोजपुरी बाहेक हिन्दीमा भाषण गरेको मलाई सम्झना छैन । सन् १९२१को अन्त्यमा सजा भयो र ६ महिनाका लागि म जेल जानु पर्‍यो । त्यहाँ लेख्‍ने-पढ्ने प्रयाप्त समय थियो, त्यसपछि मैले फेरि कलम उठाएँ ।

कथा लेखनमा मेरो पहिलो अभ्यास त्यहीँ भयो । यद्यपि त्यसको उद्देश्य कथा लेख्‍नु थिएन । यात्री भईखाएकाले मैले सबैभन्दा पहिले त्यसकै बारेमा लेख्‍न थालेँ । त्यसैगरी सन् १९१८ र १९१९मा रुसी क्रान्तिबारे हिन्दी पत्र-पत्रिकामा सहि-गलत जे-जस्तो भए पनि समाचारहरू प्रकाशित हुन्थे, त्यसमा कल्पनाको नुन-खर्सानी मोलेर मैले मन-मनै एउटा साम्यवादी दुनियाँको सृष्टि गरेँ ।

त्यही दुनियाँलाई म कागजमा उकेर्न चाहन्थेँ । मनमा साम्यवादी दुनियाँको सृष्टि त गरियो तर त्यतिबेलासम्म मसँग केही थिएन । मैले माक्र्सको नाम पनि सुनेको थिएन । त्यसैले मेरो साम्यावाद युटोपियन साम्यवाद थियो । मलाई व्यवहारिक अप्ठ्याराबारे केही थाहा थिएन । साम्यवादका वाहक साधारण मजदुर र किसान हुन्, जसलाई अक्षरसँग न्युन सरोकार छ भन्‍ने मैले अँझै बुझीसकेको थिएन । साम्यवादलाई भारतमा कसरी स्थापित गर्ने भन्‍नेबारे संस्कृतका श्लोकमा लेख्‍न थालेँ । राम्रो के भयो भने म ६ महिनाका लागि मात्रै जेल गएको थिएँ, त्यहाँ संस्कृत रचनामा सबै समय खन्याउनु सम्भव थिएन ।

जेलमा कोही उपनिषद् पढ्थे त कोही अन्य पुस्तक, जसले गर्दा थोरै समय मात्र संस्कृतका लागि दिन सकिन्थ्यो । त्यसैले संस्कृतमा पद्यबद्ध कथा लेख्‍ने काम केही दिनभन्दा बढी चल्न सकेन । सन् १९२२ को जुन अथवा जुलाईमा जेलबाट छुटेँ । त्यसपछिको ६ महिना फेरि कांग्रेसको काममा समर्पित गरेँ ।

पटनामा प्रान्तीय कांग्रेस कमिटीको बैठक थियो, त्यहीँ गुलाब बागमा एउटा सार्वजनिक सभा भयो । चौरी-चौरा काण्डका क्रममा कयौँ साथीभाईलाई फाँसीको सजा दिइयो । राजनीतिमा एकान्त अहिंसामा मेरो कुनै पनि विश्वास थिएन, त्यसैले चौरी-चौराका दण्डित साथीभाईको प्रशंसामा मैले पनि तात्तातो भाषण दिएँ ।

त्यस भाषणको डेढ महिनापछि म नेपाल तर्फ लागेँ- मेरो विचारमा सन् १९२३को फेब्रुअरी-मार्चको महिना थियो त्यो । छपराका साथीहरूले तपाईंका खिलाफ वारेन्ट जारी भएको छ भनेर सूचित गर्न नेपालमा चिठ्ठी पनि पठाएका रहेछन् । त्यो चिठ्ठी हात लाग्‍न सकेन, होइन भने नेपालमै तिब्बत जाने यति आकर्षक निमन्त्रणा पाइएको थियो कि भारत फर्किनुको साटो म उतैबाट तिब्बत लागि सकेको हुन्थेँ ।

जे-होस फर्केपछि गिरफ्तारीमा परेँ । मैले अपराध स्वीकार गरेँ र पटनामा दुई बर्षका लागि जेल गएँ । सन् १९२३-२५ सम्म मैले जेलमा निकै कलम चलाएँ । यद्यपि त्यहाँ लेखिएको र अनुवाद गरिएको १२-१३ पुस्तकमध्ये निकै थोरै प्रकाशित हुन सके । तर, त्यहीँबाट मैले लेखनलाई पनि आफ्नो जीवनको काममा सामेल गरेँ ।

यी कामहरुलाई मैले निष्काम भावले गरिरहेको थिएँ । मलाई लाग्दैन्थ्यो, ती किताबहरूले कहिल्यै प्रेसको मुख देख्‍न पाउने छन् ।

बक्सरको पहिलो जेल-यात्रामा, जुन कथालाई मैले संस्कृत काव्यको पाँच सर्गसम्म पुर्‍याएको थिएँ, अब त्यसलाई बेफ्वाँक सम्झेर त्यसको ठाउँमा मैले हजारीबागमा ‘बाईसवीं सदी’ लेखेँ । बाईसवीं सदीलाई तपाईं उपन्यास भन्‍नुस वा लामो कथा अथवा समाजवादी युटोपियन त्यो नै मेरो पहिलो कथात्मक ग्रन्थ हो । जेलमा मैले चार अंग्रेजी उपन्यास ‘जादू का मुल्क’, ‘सोने की ढाल’, ‘विस्मृति के गर्भ में’, ‘शैतान की आंख’ को भावानुवाद गरेर भौगोलिक र वैयक्तिक रूपमा त्यसको धेरैजसो परिवेशलाई मैले भारतीयकरण गरिदिएँ ।

यस कामलाई मैले निष्काम भावले गरिरहेको थिएँ । मलाई लाग्दैन्थ्यो, ती किताबहरूले कहिल्यै प्रेसको मुख देख्‍न पाउने छन् । जब कोही जेलबाट बाहिर जान्थ्यो, उससँग मैले केही किताब बाहिर पठाईदिन्थेँ । नष्ट नै भयो भने पनि केही छैन, कम्तीमा मेरो अभ्यास त भईरहेको छ भन्‍ने भाव मेरो मनमा थियो ।

भाई पारसनाथ त्रिपाठी झण्डै बर्ष दिन मसँगै जेलमा थिए । उनलाई अंग्रेजी पढाउनका लागि मैले हजारीबागका जेलरसँग केही अंग्रेजी उपन्यास मगाएको थिएँ, त्यसैमा यी किताब थिए । पढाउँदै गर्दा लाग्यो, यस्ता साहसले भरिपूर्ण उपन्यास हिन्दीमा हुन्थे भने कस्तो राम्रो हुन्थ्यो । त्यसैले मैले त्यसको अनुवाद गरेको थिएँ । मूल लेखकको नाम हरायो र प्रकाशकहरूले ती सबै यसरी छापी दिए, मानौँ ती मेरै मौलिक उपन्यास हुन् ।

सन् १९२५मा जेलबाट निस्केर केही समय राजनीतिक काममा र केही समय पञ्‍जाब तथा लद्दाखको यात्रामा बिताएँ । पञ्‍जाब र लद्दाखको यात्राका बारे मैले कतियौँ लेख लेखेँ । यात्रा र कथाको असाध्यै नजिकको सम्बन्ध हुने गर्छ । यात्री हुनुको नाताले यात्राका विषयमा लेख्‍ने रहर पनि थियो मेरो । भारतको यात्रा टुङ्गयाएर १९२७मा सीलोन गएर डेढ बर्ष बसेँ, त्यहाँ पनि यात्राकै बारेमा लेखीरहेँ ।

तिब्बतको पहिलो यात्रा गरेर फर्केपछि मित्रहरूको आग्रहमा ‘तिब्बत में सवा वर्ष’ भन्‍ने लेखेँ । त्यसपछि त यात्राहरूकै सिलसिला १९३८सम्म चलिरह्यो र त्यसका बारेमा लेख्‍ने काम पनि गरिरहेँ । यात्राबारे लेख्दा-लेख्दै सन् १९३५ अथवा १९३४ मा केही वास्तविक घटनामा आधारित रहेर कथा लेख्‍ने इच्छा जाग्यो र एक–एक गरेर मैले ती कथाहरू लेख्दै पत्रिकामा पठाउँदै गरेँ । ती सबै कथाहरू ‘सतमी के बच्चे’ नाममा संग्रहित छन् । त्यसमा समेटिएको स्मृतिज्ञान कीर्ति एउटा पुरानो एतिहासिक कथा हो, जसको सामग्री तिब्बतमा भेटिएको थियो । अन्य सबै कथाका नायक मेरो बाल्यकालका मान्छे थिए । यसैगरी ‘बाईसवीं सदी’ पछि ‘सतमी के बच्चे’ र त्यसपछि विविध कथाहरू भन्दै म कथा क्षेत्रमा प्रवेश गरेँ ।

सन् १९३८मा किसान आन्दोलनका सन्दर्भमा फेरि जेल जानु पर्‍यो । त्यहाँ रहेको खाली समयलाई सदुपयोग गर्दै मैले ‘जिने के लिए’ नामको पहिलो उपन्यास लेखेँ, जसमा वर्तमान शताब्दीको राजनीतिक र सामाजिक पृष्ठभूमिलाई लिएर संघर्षमय जीवनको चित्र कोर्ने प्रयास गरिएको छ । त्यसपछि उपन्यास लेखनमा मेरो रुची बढ्यो । तर, छिट्टै के थाहा पाएँ भने एतिहासिक उपन्यास लेखनमै मैले आफूलाई बढी अभ्यस्त गराउनु पर्छ ।

पहिलो कारण त के भने यस्ता खाले उपन्यास लेखनमा जति परिचय र अध्ययनको आवश्यकता छ, त्यस्ता उपन्यास-लेखक हिन्दी भाषामा न्यून छन् । दोस्रो के पनि भने अतीतका प्रगतिशील प्रयत्‍नहरूलाई उजागर गरेर पाठकको हृदयमा आदर्शका प्रति यसरी प्रेरणा पनि पैदा गर्न सकिन्छ । मेरा उपन्यास अथवा कथाहरूमा प्रोपोगाण्डाका तत्व खोज्‍नु धेरै टाउको दुखाई राख्‍नु पर्दैन किनभने ती लेखनमा मेरो उद्देश्य नै केही आदर्शतिर पाठकलाई प्रेरित गर्नु हो । यो उद्देश्य मेरा अघिल्तिर हुँदैन्थ्यो भने मैले कथा र उपन्यास नै लेख्दैन्थेँ होला । त्यसैले जसलाई मेरा मित्रहरू प्रोपोगाण्डा भन्छन्, मैले त्यसलाई आफ्नो विवशता ठान्छु ।

सन् १९४२मा हजारीबाग जेलमा बस्दै गर्दा मैले ‘वोल्गा से गंगा’ को २० वटा कथा लेखेँ । आगामी दिनमा भारत अथवा बृहत्तर भारतका विषयमा ऐतिहासिक उपन्यास लेख्‍ने हुनसक्छ ।

जीने के लिए’ लेखेपछि फेरि तीन-चार बर्षसम्म मैले उपन्यास र कथा केही लेखिन । सन् १९३३मा युरोप फर्किदै गर्दा मनमा के विचार आयो भने साम्यवादलाई बुझ्‍न र त्यसप्रति प्रेरित गराउनका लागि एउटा यस्तो पुस्तक लेखुँ, जसमा हाम्रो देशको ऐतिहासिक विकास कथामा समेटियोस ।

सन् १९४१ अथवा १९४२मा श्री भगवतशरण उपाध्यायको यस्तै पृष्ठभूमिमा लेखिएको ऐतिहासिक कथा मैले हेरेँ । भगवतशरण जीले ऐतिहासिक कथाहरूलाई परिमित संख्यामा लेखेर प्रकाशित गरेको भए सम्भवंत ‘वोल्गा से गंगा’ लेख्‍ने थिईन । तर, उहाँले थोरै कथा मात्र लेख्‍नु भएको थियो र त्यसबाट के स्पष्ट हुँदैन्थ्यो भने त्यो कहिलेसम्म र कति कथाहरूमा उहाँले त्यसलाई अन्त्य गर्नु हुन्छ ।

सन् १९४२मा हजारीबाग जेलमा बस्दै गर्दा मैले ‘वोल्गा से गंगा’ को २० वटा कथा लेखेँ । ‘आसन्‍न–भविष्य में विस्मृत यात्री’ का नाममा महान पर्यटक नरेन्द्रयश (५१८–८२ ई.) को स्वात्त–उपत्यका, सिंहल, मध्य–एशिया, बैकाल सरोवर र चीनसम्मको विषयमा लेख्‍न चाहन्छु । अँ, आगामी दिनमा भारत अथवा बृहत्तर भारतका विषयमा ऐतिहासिक उपन्यास लेख्‍ने हुनसक्छ ।

म मेरा कथाहरूमा कुन चाहिँ अलिक बेसी मन पराउँछु, भन्‍न गारो छ । ‘वोल्गा से गंगा’ मा समेटिएको ‘प्रभा’ कथालाई धेरैले श्रेष्ठ कथा भन्दै गरेको मैले पनि सुनेको छु र सुनी-सुनी त्यसका बारेमा मेरो पनि त्यस्तै धारणा भईसकेको छ । होइन भने त्यसै संग्रहमा ‘नागदत्त’, ‘प्रभा’ र ‘सुरैया’ यी तीनैवटै कथामा मैले कमै भिन्‍नता पाउँछु ।

(सन् १९७०मा प्रकाशित‘राहुल निबन्धावली’बाट)

प्रकाशित: २९ जेठ २०७९ ०७:२० आइतबार

चेतलुङ
चेतलुङ