२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
दर्शन दर्शन राजनीति समाज संस्कृति इतिहास-विमर्श

व्यवहारबाट रुदानेलाई स्मरण गरौँ

२३औँ स्मृति दिवस

व्यवहारबाट रुदानेलाई स्मरण गरौँ
तस्बिरः बिकिल स्थापित

रुपचन्द्रले राष्ट्रिय पञ्‍चायत सदस्य हैसियतमा गरेका साहासिक वैधानिक विद्रोह बारे केही चर्चा गरौँ । तत्कालीन राजा विरेन्द्रको जन्मोत्सव मूलसमारोह समितिमा राष्ट्रिय पञ्‍चायत सदस्यका हैसियतमा रुपचन्द्र विष्टलाई सदस्य राखिएको चिठी उहाँलाई प्राप्त भयो । 

रुदानेले सो चिठी ल्याउने व्यक्तिलाई सोही चिठीको पृष्ठ भागमा ‘आयोजक ! जिउँदो मान्छे अदालतमा लडीरहेको मुद्दा हो, यसको फैसला चिहानमा पुगेपछि मात्र हुन्छ- रापस रुपचन्द्र’ लेखेर चिठीको भर्पाइ गरिदिनुभयो । अनि भन्‍नु भयो, ‘मैले आफ्नो जन्मोत्सव मनाउने गरेको छैन । जसले आफ्नो जन्मोत्सव मनाउदैन उसलाई अरूको जन्मोत्सव मनाउने हक हुँदैन ।- रापस रुपचन्द्र ।’ र, सो पत्र फिर्ता पठाइदिनुभयो । 

यस विषयलाई लिएर तत्कालीन पञ्‍चेहरूले रुदानेलाई कारवाही गरिनुपर्छ भनि पञ्‍चायत नीति तथा जाँचबुझ समितिमा उजुरी हाले र जन्मोत्सव समारोहमा कारवाहीको माग गरी भाषण पनि गरे । पञ्‍चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष नवराज सुवेदीले रुदानेलाई स्पष्टीकरण सोधे तर रुदानेले सो पत्रको पृष्ठभागमा लेखेको कुरा नै स्पष्टीकरण हो भनि जवाफ दिए । यसभित्र ठूलै सैद्धान्तिक, दार्शनिक र राजनैतिक कुरा छन । 

कुनै मान्छे जन्मेकै कारण समाज र मानव जातिलाई के-कति सकारात्मक प्रभाव पर्‍याे त्यसअनुसार पो उत्सव मनाउने हो । नकारात्मक प्रभाव परेमा त शोक पो मनाउनु पर्ने हो । तर, दुष्ट मनुष्यले उत्सव मनाउने र अरूले हो... हो... गर्ने काम किन प्रचलनमा आयो ? यो प्रश्‍नको उत्तर अहिलेका जन्मोउत्सव मनाउने, केक काटेर प्रचार गर्नेले दिन सक्छन ? केक काटेर उत्सव मनाउने चलन कहाँबाट, कसरी आयो ? वर्तमान बुज्रुकहरूले बलपूर्वक व्याख्या गर्न खोज्लान तर औचित्य पुष्टि गर्न सक्दैनन । निरंकुश राजतन्त्रमा चलेको कालोे व्यवस्थामा त्यसका नायकलाई रुदानेले दिएको उत्तर तत्कालीन शासकलाई दिइएको कडा चुनौती थियो । तर, आजको परिवर्तित समयमा पनि यो वेथिति घटाउन सकिएन । 

यसै गरी बडामहारानीको जन्मोत्सवमा रुदानेको नाममा एक चिठी आयो । स्मारिका प्रकाशन गर्न लागेकाले बडामहारानीका बारेमा राष्ट्रिय पञ्‍चायत सदस्यहरूसँग एउटा-एउटा लेख मागियो । यसमा रुदानेले एक कागज माग्नु भयो र लेखिदिनु भयो, ‘ऐराल एक ठूली बुढी आइमाई हुन किनकी उनले राजासँग विवाह गरिन- रुदाने’। यो कागज लिएर सो हलकारा गयो । यसमा कम आँटको कुरा छैन ।

कुनै मान्छे जन्मेकै कारण समाज र मानव जातिलाई के-कति सकारात्मक प्रभाव पर्‍यो त्यसअनुसार पो उत्सव मनाउने हो । नकारात्मक प्रभाव परेमा त शोक पो मनाउनु पर्ने हो । 

मै हुँ भन्ने हालका नेताले पनि यो साहस गर्न सक्दैन्थे । यसमा पञ्‍चेहरूले कराउने हिम्मत गरेनन् किनभने यसमा कागज छुट्टै थियो । ऐरालको अर्थ (ऐश्‍वर्यराज्य लक्ष्मी) लगाउनु पथ्र्यो । अनि राजासँग विवाह भनेको कुन राजा ? बडामाहाराजधिराज श्री ५ पो संवैधानिक राजा हुन । अरू त सयौँ राजा हुन्छन... आदि तर्क वितर्क उठ्यो । यस विषयमा पञ्चेहरू हाका-हाकी आउन सकेनन् ।

एक पटक रुदानेले राष्ट्रिय पञ्‍चायतभित्रै दरबारका विरुद्धमा भाषण गर्नु भयो । दरबारमा बसेकाहरूले अपराध र अन्याय गरे त्यसैले जनता आपतमा परे भनेर भन्‍नु भयो । अनि पञ्‍चे रापसले तत्काल नियमापत्ती गरे । कारवाहीको माग राखे । अध्यक्षले रुपचन्द्रलाई स्पष्टीकरण दिन आदेश दिए । रुदानेले- ‘मैले भनेको कुरा सत्य छ, स्पष्टीकरण त सरकार, दरबारमा बस्नेले दिनुपर्ने हो’ भनी जवाफ दिनु भयो । त्यसपछि सदनमा हंगामा भयो । 

केही मण्डले प्रवृति भएकाले रुदानेले यो राजदरबारलाई भनेको हो त्यसैले यस्तालाई कडा कारवाही गर्नु पर्‍यो भनि माग गरे । त्यसपछि फेरि अध्यक्षबाट आदेश भयो- मान्य रुपचन्द्र विष्ट प्रष्ट भन्‍नु पर्‍यो कि यो के भन्न खोज्‍नु भएको हो ? रुदाने फेरि जवाफ दिनु भयो, ‘दरबार त मुलुकमा धेरै छन । सिंहदरबार, बागदरबार, सेतोदरबार, लालदरबार आदि तर श्री ५ महाराजधिराजको दरबार वा राजदरबारलाई त राजप्रसाद पो भनिन्छ त । यत्ति कुरा नबुझ्‍नेहरू चाकरी गर्न व्यस्त छन । केही कारवाही हुन्छ भने जसले राजदरबार भन्‍ने शब्द जोडे उतै होस ।’ भनि जवाफ दिनु भयो ।

तस्वीरः रुपचन्द्र विष्टको जीवनमा आधारित सिनेमा रुदानेमा कलाकार दिव्य देव

त्यसपछि सदनमा हाँसोको पोर्रा छुट्यो । फेरि यसमा आपत्ती गर्ने आँट कसैले गरेनन् । वास्तवमा दरबार भनेको सामान्य रूपमा जनताले राजदरबार नै बुझ्‍ने हो । कर्मचारी पनि दरबार नै भन्थे । यसको मतलब राजदरबार नै हो । तर, संसदीय अभ्यासमा रुदानेले ती निरकुंश पञ्चेलाई वैधानिक रूपमा पुष्टि गरिदिन्थे कि उनका भनाई जनताले बुझ्छन तर कानुनले नसमात्ने यो क्षमता पनि इतिहासमा स्मरणीय छ । 

अहिले आफैले आफैलाई ‘माननीय’ भन्‍न रुचाउनेको हुल बढ्दो छ । अझ सामन्ती सोच भएकाले त ‘सम्माननीय’ किन नभनेको भनि संसदमा आपत्ति गर्ने पनि छन । ‘सम्माननीय’ शब्द राजतन्त्रसँग सम्बन्धीत छ । सामन्त प्रथासँग सम्बन्धित छ । जसरी अधिराज्य भन्ने शब्द राजतन्त्रसँग सम्बन्धित छ । बेलायतले ‘राइट अनेरेवल’ भन्‍ने शब्दलाई प्रचलनमा ल्यायो ।‘अपर हाउस’, ‘लर्ड हाउस’ भन्‍ने शब्द प्रयोग गर्‍यो । यी सबै सामन्ती सोचका कुरा हुन । 

एक पटक रुदानेले राष्ट्रिय पञ्‍चायत भित्रै दरबारका विरुद्धमा भाषण गर्नु भयो । दरबारमा बसेकाहरूले अपराध र अन्याय गरे त्यसैले जनता आपतमा परे भनेर भन्‍नु भयो ।

रुदानेलाई कसैले माननीय भनेर सम्बोधन गरेको अवस्थामा उहाँले सोध्नु हुन्थ्यो- हामी माननीय भए के जनता जाननीय भए ? यदि जनता जाननीय भएका छैनन् भने उसको प्रतिनिधि माननीय हुँदैन । जब जनता जाननीय हुन्छन तब उसको प्रतिनिधि माननीय हुन्छ । यो जनतन्त्रसँग सम्बन्धित छ । भारतमा प्रधानमन्त्रीलाई सम्माननीय भनिदैन । राष्ट्रपतिलाई पनि सम्माननीय भनिदैन । चीनमा पनि भनिदैन । अमेरिकामा पनि भनिदैन । तर, बेलायतमा भनिन्छ किन ? जवाफ सामान्य छ । त्यहाँ राजतन्त्र छ ।

तर, नेपालमा यस्तो किन भनिन्छ ? नेपालमा राजतन्त्र थियो । बेलायतको प्रिभि काउन्सीलमा जस्तै राजपरिषद् वा राजसभा थियो । तिनका सदस्यलाई सम्माननीय भन्ने प्रचलन राजाले बेलायतलाई हेरेर चलाएका थिए । त्यसैले रुदानेले सदनमा कहिल्यै पनि सम्माननीय शब्द प्रयोग गर्ने काम गर्नु भएन । एक पटक रुदानेले अध्यक्षलाई सम्माननीय भनि सम्बोधन नगरेको कुरा नियमापत्ती भयो । रुदाने आफैले अध्यक्षसँग तत्काल समय माग्‍नु भयो र भन्‍नु भयो, ‘मा. अध्यक्ष महोदय ! यो सदनभित्र कोही पनि सम्माननीय छैनन् । सबै माननीयको हैसियतमा उपस्थित छौँ । यदि कसैलाई सम्माननीय चाहिएको हो भने राजसभातिर खोज्‍न जानुपर्छ कि ?’ यस विषयलाई लोकेन्द्रबहादुर चन्दसहितका माननीयले टेबुल ठटाएर सर्मथन गरेका थिए । 

हालको अवस्थामा पूर्वप्रधानमन्त्री केपी ओली रुदाने र उहाँको थाहा दर्शनमा रुची राख्नु हुन्छ यसर्थ केही गर्न सकिन्छ कि ? आनी-बानी, व्यवहार र आचरण आदिमा । रुदानेले सार्वजनिक सभामा गर्ने सम्बोधनको मूल अंश यस्तो छः 

‘सभाध्यक्ष ! 

कलिलाबाट विद्रोहकारी परिवर्तन,

श्रमिकबाट क्रान्तिकारी परिवर्तन,

जीवन विषयी बुद्धिजीवीबाट बौद्धिक स्वतन्त्रताको प्रयोगकारी परिवर्तन र नारीबाट सामाजिक परिवर्तन पाइने मुख्य मुहानहरू भएकाले यही सम्बोधन गरियो । यसमा सबै परे होलान । नपर्नेहरू सम्बोधनमा परेनन ।’

यी सूत्र आज बहुदल हुँदै संघीय गणतन्त्र हुँदाका अवस्थामा बजेट यहीअनुसार बन्‍नुपर्ने हो । सरकारको कार्यनीति, कार्यक्रम यही नीतिअनुसार हुनुपर्ने हो । यसैलाई केन्द्रबिन्दु बनाएर बजेट नीति तर्जुमा गर्नुपर्ने हो । तर, खै...

‘जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ? केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यर्थाथमुखी कर्तव्यमुखी बाहेक पछुवा-भगुवा सारा दोषी ।’

बि.स. २०३९सालमा रुदानेले सार्वजनिक प्रश्‍न जनता समक्ष गर्नु भयो, ‘जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ?’ यो प्रश्न अहिलेका दल र नेतालाई पनि उत्तिकै महत्वको छ । यसै गरी ‘केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यर्थाथमुखी कर्तव्यमुखी बाहेक पछुवा-भगुवा सारा दोषी ।’

त्यो व्यवस्था बिग्रेको थियो । त्यो सरकार बिग्रेको थियो । जनता बिग्रेका थिए । व्यवस्थाका अगुवा राजा  थिए, तसर्थ दोषी राजा नै हुन भन्‍ने कुरा किटान गरिएको यो कुरा पर्चामै आएको थियो । अहिलेका दल र नेताले यो मनन् गर्नुपर्ने भएको छ । नत्र उही काम एकथरिलाई, कमाइ अर्कोथरिलाई हुने सामाजवादको उल्टो व्यवस्था चलिरहन्छ ।

त्यसैले अहिलेका दल र नेताले यो भनाइलाई आत्मासाथ गर्न आवश्यक छ- ‘थाहासँग प्रेम गर, थाहा तिमीकहाँ आउँदछ । थाहाप्रति इमान राख कर्तव्य तिमीकहाँ आउँदछ, कर्तव्य हो जिन्दगीको सक्कल ।’- रुदाने

यही विषयमा ध्यान जाओस र रुदानेलाई राज्यले सम्झना गरोस । यो देश सप्रेमा वा बिग्रेमा दोष अहिलेको नेतृत्वलाई जान्छ । यो कुरा रुदानेले २०२९ मा राजालाई लक्षित गरी अञ्‍चलाधीससँगको बयानमा भन्‍नु भएको थियो । ‘जो जति शक्तिमा छ, समाज सप्रे-बिग्रेमा त्यो त्यति जिम्मेवार छ ।’ यो विषय अहिलेका वर्तमान राजनीतिक दलहरू, त्यसमा पनि नेपाल कम्युनिस्ट पार्टी भन्‍नेहरूमा लागू हुन्छ । यसमा रुदानेको स्मरण गर्दै याद गरौँ । सच्चीऔँ । सच्याउँ ।

प्रकाशित: ७ असार २०७९ १०:५२ मंगलबार

चेतलुङ
चेतलुङ