१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
सम्पादकीय

सम्पादकीय/प्रकाशकीय

सम्पादकीय/प्रकाशकीय
कला: विशेषांक सि.अर्याल

इन्टरनेटको जमानामा थरी-थरी सूचना र तथ्य अनि बान्की–बान्कीका भाष्यको प्रवाह चलिरहन्छ । हातैमा नृत्यरत मोबाइल र चौबिसै घन्टा बजिरहने नोटिफिकेसनको घन्टी आजको यथार्थ हो । कुन तथ्य कुन मिथ्या, के सत्य के भ्रम, पर्गेल्दा नपर्गेल्दै तथ्य/सत्य सबै उलटपुलट भइसकेको हुन्छ । यो प्राविधिक हतारको फेरोमा एकैछिन थामिएर विचार गर्ने समय नै हराएको छ । हराएको त्यही समय र थामिएको विचारमाथि मन्थन गर्ने ठाउँ हो– चेतलुङ ।

ज्ञान, बाेध वा चेतनाको अर्थमा संस्कृत मूलको ‘चेत’ र केन्द्र/स्थानको अर्थमा मुन्धुमी सभ्यताको ‘लुङ’ शब्दबीच सन्धि भएर चेतलुङ रचना भएको हो । चेतको लुङ अर्थात् विचार मन्थनको मुकाम । तामाङ भाषामा लुङको अर्थ आँधी हुन्छ, यस अर्थमा चेतलुङ चेतनाको आँधी पनि हो । विश्वभरि ज्ञानको संकट देखिएको बेला, अनेकौं आन्दोलनहरू विचारको बाटो नपाएर बीचैबाट बिलाइरहेको बखत, पुराना शास्त्रहरू उत्तर दिन असमर्थ भइरहेको घडी, खोजको एउटा सामूहिक प्रयत्न निर्माण गर्दा कसो होला ? चेतलुङको विनम्र आह्वान यही हो ।

हामीसँग तेजिला प्रश्‍नहरू छन् । प्रत्येक आन्दोलन, विद्रोह र क्रान्तिपछि किन एउटा विराट निराशा र मोहभंगको स्थिति आउँछ ? परिवर्तनको फसल जनताको घरदैलोसम्म किन पुग्दैन ? को हो त्यो, जसले परिवर्तनको फसल बीचैमा काटेर लैजान्छ ? राष्ट्रियता र राष्ट्रवादको गाथा सधैँ घन्किरहने देशका प्रत्येक नयाँ पुस्ताले भविष्यको सपना किन विदेशतिर खोजिरहेछन् ? सपना फुलाउनै नसक्ने धर्ती कसरी बनायौँ, हामीले ? यस्तो देश कुन विचारले चलेको होला ?

इतिहासका तरेलीमा भेटिने अनेकन लिखत, लालमोहर, मुलुकी ऐन, संविधान, कानुन र व्यवहारमा राज्यको विचार अभिव्यक्त भइरहेको हुन्छ । के यस राज्यको विचारले जनतासँग प्रेमपूर्ण र सिर्जनशील सम्बन्ध बनायो ? विभेद, उत्पीडन, छोइछिटो, अत्याचार, थिचोमिचो, भ्रष्टाचार मात्र उत्पादन गर्ने चरित्र राज्ययन्त्रभित्र कसरी रोपियो ? साथै हामीसँग राजनीतिक दलहरू पनि छँदैछन् । लोकतन्त्र, मार्क्सवाद, समाजवाद, राष्ट्रवाद, विकास आदि वैचारिकीको आलोकमै राजनीति चलेको मानिन्छ । कहाँनेर के गडबड भयो कि यस राजनीतिले पनि जनताको शिर उठाउन सकेन ?

विचारको संकट, राजनीतिको संकट, अर्थतन्त्रको संकट, पर्यावरणको संकट, समाज व्यवस्थाको संकट, संकटैसंकटको भुमरी त्यसै उठेको छैन । यसका आयामहरूबारे थाहा, चिन्तन र नयाँ काल्पनिकीको खोजी हाम्रो सपना हो । संसारभर ट्रम्प, मोदी र बोल्सोनारोजस्ता पात्रहरू जुन धरातलबाट पैदा भए, त्यसको अनुसन्धान जरुरी छ । विचारको नदीमा बहाव रोकियो भने तानाशाही जोकरले स्टेज कब्जा गर्छ र घागडान विद्वानहरूलाई नै हावाहुरीमा नचाउन थाल्छ । यस्तै दुर्घटना नेपाली समाजले पनि भोगिसकेकै छ । यस्तो बेला बाटो खोज्न दार्शनिक, वैज्ञानिकहरूले अपनाएको एउटै सूत्र थियोः सन्देह ! चेतलुङको वैचारिक प्रस्थानबिन्दु पनि त्यही हो– सन्देह !

चेतलुङ मन्थनको डबली हो । यहाँ प्रकाशित सामग्री स्वतः बहसका निम्ति हुन् । तैपनि छुट्टै बहस आयोजना गरेर विचार प्रस्तुतकर्तालाई नै छलफलमा प्रस्तुत गरिनेछ । अनि छलफलमा प्राप्त वाद–प्रतिवादका मूल कुरालाई अडियो, भिडियो वा पाठका रूपमा थप बहसमा लैजानेछौँ । वैचारिक बहसको विरासतलाई पनि हामी उत्खनन गरेर ल्याउनेछौँ । चेतलुङ टिमको अलावा अध्येता, चिन्तक, लेखक, रुचिकार सबैलाई हामी चेतलुङकै सहयात्री ठान्छौँ । वैचारिक खुराक र मन्थनमा सिधै जोडिनका निम्ति चेतलुङ सदस्यताको प्रावधान पनि छ ।

कोभिड–१९ विश्वव्याधिले पनि विश्वव्यापी वैचारिक संकटलाई भिन्न भाषामा व्यक्त गर्‍यो । मान्छेसँग जवाफहरू रित्तिँदै गएको, संशय र आक्रोश मात्र बाँकी भएको त होइन ? गम्भीर सवाल खडा भयाे । महामारीको बीचबाटै यात्रा सुरु गर्न हामीलाई याे र यस्तै सवालले प्रेरित गरे । यो सामूहिक प्रयत्न निर्माण गर्ने पहल पनि हो । छलफलको चरणदेखि आज चेतलुङ सार्वजनिक गर्दासम्म विभिन्न तवरले साथ-सहयोग दिनुहुने सबै मित्रहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ । न्यूनतम व्यावसायिक हुनुपर्ने बाध्यताका कारण यो विज्ञापनमुक्त हुनेछैन । चिन्तक, लेखक, पाठक, शुभचिन्तक, विज्ञापनदाता एवं सहयोगीहरूले चेतनाकाे याे फिलिङ्गोलाई जोगाउँदै हुर्काउनुहुनेछ भन्ने विश्वास लिएका छौँ।

धन्यवाद !

मिति : २०७८ असोज १८, साेमबार


युग पाठक
अध्यक्ष/सम्पादक

प्रकाशित: १८ असोज २०७८ २०:३१ सोमबार

चेतलुङ
चेतलुङ