११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
ग्लोबल सम्पादकको रोजाइ

अफ्रिकाको कोभिड चुनौती

अफ्रिकाको कोभिड चुनौती

१४ फेब्रुअरी २०२० । यो दिन इजिप्टमा देखिएको संक्रमणलाई नै अफ्रिकाको पहिलो कोभिड–१९ संक्रमण मानिन्छ । त्यसयता ५२ मुलुकमा संक्रमण सतहमा देखा परेका छन् । सुरुमा राजधानीमा मात्रै सीमित देखिएका संक्रमणका मामिला बिस्तारै प्रान्तहरूमा पनि देखिन थाले ।

राम्रो कुरा, अधिकांश अफ्रिकी राष्ट्रहरूले व्यक्ति–व्यक्तिबीचको दूरी, सीमा एवं यात्रामा नियन्त्रण, विद्यालय बन्द, कफ्र्यु, लकडाउनलगायत उपायहरू लागू गरेका थिए । विश्‍वका अन्य क्षेत्रमा झैँ अफ्रिकाको महामारी वृद्धिमा घरेलु एवं बाह्य माध्यम नै प्रमुख रहेका छन् । गरिबीमा बाँचिरहेका मानिसको जीविकामाथि यसले उल्लेख्य प्रभाव पारेको छ ।

हालैको एक अनुमानअनुसार २५ वर्षपछि सन् २०२० मा अधिकांश मुलुकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) संकुचित भएको छ । त्यसबाहेक संयुक्त राष्ट्रको आकलनअनुसार थप तीन करोड मानिस गरिबीको चपेटामा पर्नेछन् भने खाद्य असुरक्षाबाट प्रभावितको संख्यामा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ ।

सुकुम्बासी बस्तीका बासिन्दाहरू फरक–फरक स्वास्थ्य समस्याका भारी बोकिरहेका हुन्छन् । सुकुम्बासी बस्तीका लागि प्रभावकारी स्वास्थ्य रणनीति बनाउने हो भने भुइँ तहमा काम गर्नेहरूका बुझाइ, अन्तर्दृष्टि र सुझावलाई बेवास्ता गर्न सकिँदैन।

महादेशमा नोवेल कोरोना नियन्त्रणका लागि हिँडडुलमा गरिएको सशक्त नियमनका दूरागामी परिणाम रहेका छन् । यसमा स्वास्थ्योपचारको पहुँचमा भएकाहरूलाई पनि असर गर्छ । मूलतः सुकुम्बासी बस्तीका मानिस यसबाट धेरै प्रभावित भएका छन् ।

सुकुम्बासी बस्तीहरूको चित्रले संरचनागत एवं संस्थागत कमजोरीलाई देखाउँछ । यी क्षेत्रहरूमा संक्रमण सहजै फैलिन्छ, जसका कारण सामुदायिक रूपमै जोखिम बढ्छ । साथै सुकुम्बासी बस्तीका बासिन्दाहरू फरक–फरक स्वास्थ्य समस्याका भारी बोकिरहेका हुन्छन् । सुकुम्बासी बस्तीका लागि प्रभावकारी स्वास्थ्य रणनीति बनाउने हो भने भुइँ तहमा काम गर्नेहरूका बुझाइ, अन्तर्दृष्टि र सुझावलाई बेवास्ता गर्न सकिँदैन।

चुनौतीको पहिचान र समस्याको समाधान यिनै जमिनी स्तरका मानिसबाट खोजिनु आवश्यक छ । समग्रमा सुकुम्बासी बस्तीले महामारी फैलिनुअघि सुरक्षात्मक उपाय र निदानहरू अवलम्बन गरेका थिए । यद्यपि, मानसिक स्वास्थ्य र लैंगिक हिंसाका सेवामा भने पहुँच सीमित थियो वा झन्डै नगन्य थियो ।

लकडाउनताका चाहिँ सबैतिर स्वास्थ्य सेवामा पहुँच घट्यो । कारक थिए– आपतकालीन तगारा हटाउन बढेको स्वास्थ्य क्षेत्रको लागत, घट्दो घरेलु आम्दानी र भौतिक स्वास्थ्य–सेवा पहुँचका चुनौतीहरू । त्यसमाथि संक्रमण र लान्छनाको डरले समुदायमा कोभिडको भयावह स्थिति थप नकारात्मक बन्दै गयो ।

खाद्यान्नजस्ता आधारभूत मानवीय आवश्यकताको पहुँचमा पनि अवरोध सिर्जना हुनु स्वाभाविक थियो । अधिकांश सुकुम्बासी बस्तीका बासिन्दा अनौपचारिक क्षेत्रमा अत्यधिक असुरक्षित रोजगारीबाट जीविका निर्वाह गरिरहेका हुन्छन्/छन् । यो रोजगारीभन्दा पनि न्यून ज्यालादारी दैनिक श्रम हो, जुन लकडाउनसँगै अवरुद्ध हुन पुग्यो ।

औषधि खरिदको लागत पहिलेदेखि नै अधिकांश बासिन्दाका लागि समस्याका रूपमा जिउँदो थियो । केही मुलुकमा औषधिलाई लामो समय टिकाउनका लागि भनेर खुराकहरू घटाइएको स्वास्थ्यकर्मीहरू बताउँछन् । यी सबै सुकुम्बासी बस्तीका बासिन्दालाई कोभिड–१९ बाट आइलागेको सामाजिक परिणामले गम्भीर मार पारेको थियो । लकडाउनले स्थानीय सेवा कटौतीका साथै स्वास्थ्य–सेवामा आममानिसको पहुँच घटायो । तर, औषधिको मूल्य बढायो।

केही मुलुकका निजी औषधी उत्पादक र विक्रेताले बताएका छन् कि लकडाउनका कारण आपूर्ति शृंखलामा अवरोध आउनुका साथै मूल्यवृद्धिसमेत भएको हो । त्यसबाहेक कोभिड–१९ संक्रमित हुने वा आफू संक्रमित भएको सार्वजनिक हुने डरका कारण धेरैले औपचारिक स्वास्थ्य सेवालाई बेवास्ता गर्न पुगे।

केही बासिन्दा र स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्शका लागि मोबाइल फोन प्रयोग गरेका थिए भने धेरैले सामान्य तालिमप्राप्त कर्मचारीको भरमा थेगिएको स्वास्थ्य संस्थामा वा परम्परागत औषधोपचारतिर लागेका थिए । कोभिड–१९ पछि लकडाउनले स्वास्थ्य सेवाको पहुँचमा पारेको प्रभाव अधिकांश अफ्रिकी देशहरूमा समान थियो ।

मोबाइलको प्रयोगबाट थुप्रै स्वास्थ्यकर्मीले महामारीमा व्यक्तिगत रूपमा प्रतिक्रिया वा समाधान दिएर संक्रमितहरूलाई निको हुन सघाएका थिए । तर, राज्य र गैर–सरकारी संस्थाको साथ सहयोग एकैनासको थिएन । उदाहरणका लागि, केही संस्थाले कोभिड–१९ महामारीको सामना गर्न र लकडाउनको प्रभावलाई घटाउन सहयोग गरेका थिए । तर, महिलाका विशेष आवश्यकतालाई बेवास्ता गरेका थिए ।

लैंगिक हिंसालाई लक्षित गरी अतिरिक्त रूपमा मानसिक स्वास्थ्य सेवा र सेवाका प्रावधानमाथि विचार गर्नु आवश्यक छ । कोभिड–१९ को अवस्थामा अफ्रिकाका सुकुम्बासी बस्तीहरू महामारी नियन्त्रणका लागि फेरि पनि चुनौती नै हुन् भन्ने विषयलाई नीनि निर्माताले हेक्का राख्नुपर्ने हुन्छ ।

केही फार्मेसीले नियमित ग्राहकलाई उधारोमा औषधि उपलब्ध गराइरहे । तर, कतिपय मुलुकमा औषधिको एकखाले हाहाकार पनि सतहमा देखा पर्‍यो । थुप्रै अफ्रिकी मुलुकमा सामान्य औषधोपचारको सेवा पनि उपलब्ध नभएका कारण तनाव एवं मानसिक रोगहरूसमेत देखा परे ।

अधिकांश अफ्रिकी देशमा लकडाउन सुरु भएसँगै मानसिक स्वास्थ्य र लैंगिक हिंसाको उपचारका लागि नयाँ सेवाहरू उपलब्ध गराइएको थिएन, जो आवश्यक थियो । सुकुम्बासी बस्तीका समुदायमा कोभिड–१९ र स्वास्थ्य सेवाको प्रावधानबारे समेत सचेतना थिएन भन्ने पुष्टि भएको छ ।

कस्ता सेवा उपलब्ध छन्, भाइरस प्रसारण रोक्नका लागि के–के सावधानी अपनाइएको छ र कसले स्वास्थ्य सेवा लिनुपर्छ भन्नेबारे मानिसले थाह पाउनै पर्छ । समुदायमा सूचना आदान–प्रदान गर्नका लागि फार्मेसी र औषधि विक्रेताहरू सहयोगी हुन सक्छन् भन्ने देखिएको छ ।

पारम्परिक चिकित्सकले कोभिड–१९ बारेको सूचना सम्प्रेषणको भूमिकालाई स्वीकार गरेका छन् । जहाँ औपचारिक स्वास्थ्यसेवा र पारम्परिक चिकित्सकबीच राम्रो सम्बन्ध हुन्छ, त्यहाँ उनीहरू बिरामीको हितअनुसार औपचारिक स्वास्थ्य–सेवाका लागि निर्देशन दिन सक्छन् ।

अफ्रिकी नीति निर्माताहरू र स्वास्थ्य सेवा पहुँचको योजनाकारले कोभिड–१९ नियन्त्रण रणनीतिको प्रभावमाथि विचार गर्नुपर्छ । विशेषगरी सुकुम्बासी बस्तीका समुदाय अरुका तुलनामा तल नपरून् भन्ने सुनिश्‍चित गर्नका लागि यस्तो नियन्त्रण महत्त्वपूर्ण हुन्छ । यसले स्वास्थ्य सेवाको लागत तथा स्वास्थ्य सेवा सुविधाको पहुँचमा लाग्‍ने लागत बढाउँदैन र स्वास्थ्य सेवा बिग्रिँदैन भनेर नीति निर्माताले सुनिश्‍चित गर्न आवश्यक छ ।

लैंगिक हिंसालाई लक्षित गरी अतिरिक्त रूपमा मानसिक स्वास्थ्य सेवा र सेवाका प्रावधानमाथि विचार गर्नु आवश्यक छ । कोभिड–१९ को अवस्थामा अफ्रिकाका सुकुम्बासी बस्तीहरू महामारी नियन्त्रणका लागि फेरि पनि चुनौती नै हुन् भन्ने विषयलाई नीनि निर्माताले हेक्का राख्नुपर्ने हुन्छ । आफ्नो कमजोर स्वास्थ्य सेवा व्यवस्थालाई बलियो बनाएर आगामी दिनमा अफ्रिकी मुलुकहरूले कोभिड–१९ महामारीको प्रभावलाई कम गर्न सघाऊन् । 

प्रकाशित: १५ माघ २०७८ १०:४९ शनिबार

चेतलुङ
चेतलुङ