१६ असार २०७९, बिहीबार - June 30, 2022 Thursday
ग्लोबल राजनीति समाज सम्पादकको रोजाइ

भारत नरसंहारतर्फ अघि बढिरहेको छः ग्रेगरी एच स्टेन्टन

भारत नरसंहारतर्फ अघि बढिरहेको छः ग्रेगरी एच स्टेन्टन

गत १२ जनवरीको एक विशेष ब्रिफिङमा अमेरिकी कांग्रेसलाई ग्रेगरी एच स्टेन्टनले ‘भारतमा नरसंहार हुन सक्ने प्रबल सम्भावना’ छ भनी चेतावनी दिएका थिए । उनको चेतावनी हिन्दू अतिवादीद्वारा भारतको हरिद्वारमा हालै सम्पन्‍न गरिएको कथित ‘धर्म संसद्’ का आधारमा मात्र थिएन । स्टेन्टनको चेतावनी मूलतः भारतमा सन् २०१४ मा नरेन्द्र मोदीको उदयसँगै कसरी भारत हिन्दू अतिवादी विचारधाराको अगुवाईमा मुसलमानको ‘कत्लेआम’ गर्नतर्फ अग्रसर छ भन्‍नेमा केन्द्रित थियो । अमेरिकाको जर्ज मेसन विश्‍वविद्यालयमा नरसंहार तथा रोकथाम विषयका प्रोफेसर स्टेन्टन विश्‍वभर भएका र हुन सक्ने नरसंहारको निगरानी गर्ने संस्था ‘जेनोसाइड वाच’ का संस्थापक अध्यक्ष हुन् । यसका साथै उनी ‘एलायन्स अगेन्स जेनोसाइड’ तथा ‘इन्टरनेसनल एसोसिएसन अफ जेनोसाइड स्कलर्स’ का अध्यक्ष हुन् । उनको संस्था जेनोसाइड वाचले सन् १९९४ मा ७ अप्रिलदेखि १५ जुलाईबीच रुवान्डामा भएको नरसंहार हुनु अघिदेखि नै त्यहाँ नरसंहार हुन सक्ने भनेर चेतावनी दिइरहेको थियो । स्टेन्टनका शब्दमा भन्‍ने हो भने, ‘त्यहाँका सत्तासीनले चेतावनीको अनदेखा गरेका कारण नरसंहार हुन गयो ।’ रुवान्डामा नरसंहार हुनुअघि देखिएका संकेतहरू भारतमा पनि देखिएको भन्दै उनले बारम्बार चेतावनी दिइरहेका छन् । यसै सन्दर्भलाई लिएर भारतीय पत्रकार करण थापरले उनीसँग द वायरका लागि गरेको अन्तर्वार्ताको सम्पादित अंश ।

करण थापरः तपाईंलाई भारतमा नरसंहार हुन सक्ने प्रबल सम्भावना छ भन्‍ने कसरी लाग्यो

ग्रेगरी स्टेन्टनः निश्‍चय नै ‘जेनोसाइड वाच’ मा आबद्ध हामीले भारतमा नरसंहारका थुप्रै प्रारम्भिक सतर्कता संकेतहरू पाएका छौँ । वर्षौंको अनुभवले यस्ता प्रारम्भिक सतर्कता संकेतलाई बेवास्ता गर्नु हुन्‍न भन्‍ने हामीले सिकेका छौँ । उदाहरणका रूपमा रुवान्डामा नरसंहार हुनुभन्दा पाँच वर्षपहिले नै हामीले नरसंहारका प्रारम्भिक सतर्कता संकेतका बारेमा थाहा पाएका थियौँ । हामीले सचेत गराउने प्रयास गरेका थियौँ । तर, कसैले यसलाई गम्भीरतापूर्वक लिएनन् । हामीले त रुवान्डाका राष्ट्रपतिलाई समेत सचेत गराएका थियौँ । 

हामी सचेत गराउने प्रयास गर्छौं किनभने हाम्रो उद्देश्य भनेकै नरसंहारको रोकथाम गर्नु हो । नरसंहार भइसकेपछि चेतावनी दिँदा निकै ढिला भइसकेको हुन्छ । दुर्भाग्य, अधिकांश अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया आउँदा धेरै ढिला भइसकेको हुन्छ । म यहाँसमक्ष के भन्‍न चाहन्छु भने हामीले भारतमा मात्रै नरसंहार हुने चेतावनी दिएका छैनौँ । अमेरिकी होलोकोस्ट मेमोरियल म्युजियमको नरसंहार रोकथाम केन्द्रले भारत पाकिस्तानपछिकै सम्भावित नरसंहार हुने मुलुक भनेर चेतावनी दिएको छ ।

थापरः ती प्रारम्भिक सतर्कता संकेतका बारेमा बताइदिनुस् न, जसले तपाईंको ध्यान भारततर्फ आकर्षित गर्‍यो ।

स्टेन्टनः हामी ‘नरसंहारका दस चरण’ भन्‍ने मोडेल अनुसरण गर्छौं । वास्तवमा यी चरण नभई प्रक्रियाहरू हुन् । मैले ‘चरण’ शब्द प्रयोग नगरेको भए हुन्थ्यो किनभने यो शब्दमा रेखीयता (linearity) निहितार्थ हुन्छ । यिनै १० ‘प्रक्रिया’ हरूले नरसंहार निम्त्याउने गर्छन् । पहिलो प्रक्रिया ‘हामी’ र ‘उनीहरू’ छुट्याउने वर्गीकरण हो । हामी सबैलाई थाहा भएकै कुरो हो भारतमा हिन्दूलाई मुसलमान, इसाई र अन्य धर्मावलम्बीबाट अलग्याइँदै छ । यस्तो वर्गीकरण आफैंमा नरसंहार होइन । वास्तवमा यो सामान्य मानवीय व्यवहार हो । यही वर्गीकरणबाटै हामी विश्‍वलाई आफूबाट छुट्याउछौँ । तर, जब हामी हानिकारक नियतबाट एउटा समुदायलाई नै अर्कै ग्रहको एलियन्सझैँ ‘अन्य’ करार गर्छौं, त्यतिबेला यो नरसंहार निम्त्याउने प्रक्रिया बन्‍न पुग्छ ।

दोस्रो, प्रतीकीकरण हो । तपाईं मानिसलाई उनीहरूको लुगा, प्रार्थनास्थल, अनुष्ठान, विवाहलगायतका प्रतीकले पहिचान तथा चिन्‍हित गर्न थाल्नुहुन्छ । फेरि पनि यसले नरसंहार निम्त्याउँदैन । तर, यिनै प्रतीकका माध्यमबाट नरसंहार गराउन भने सहज भइदिन्छ । उदाहरणका लागि ती समुदायका मानिसलाई बेग्लै परिचय–पत्र दिइनु, घरमा वा लुगामा विशेष चिन्‍ह प्रदान गरिनुले नरसंहारलाई सहज बनाइदिन्छ । 

तेस्रो, विभेद हो । हामीले भारतमा नागरिकता संसोधन ऐनलाई उदाहरणका रूपमा लिन सक्छौँ, जहाँ शरणका लागि अफगानिस्तान, पाकिस्तान, म्यान्मार, बंगलादेशलगायतका मुलुकका धर्म विशेष शरणार्थीलाई मात्रै प्राथमिकता दिने व्यवस्था गरिएको छ र मुसलमानलाई नियतवश छुटाइएको छ । यो कानुनको उद्देश्य भनेकै सन् १९७१ को गृहयुद्धमा बंगलादेशबाट आएका करिब ३० लाख मानिसलाई देश निकाला गर्नु रहेको छ ।

त्यसपछिको चौथो प्रक्रिया हो– अमानवीकरण । यो प्रक्रियामा तपाईं भारतका गृहमन्त्रीले मुसलमानहरूलाई ‘धमिरा’ भनेर सम्बोधन गरेको पाउनुहुन्छ, जहाँ बंगलादेशका मुसलमान शरणार्थीलाई ‘बंगलादेश फिर्ता पठाउनु पर्ने’ वा ‘पाकिस्तान जाऊ’ भनेर भनिनु पर्ने ‘विदेशी’ वा ‘एलियन्स’ का रूपमा चिनाइन्छ । भारतमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) जस्ता संगठन पनि छन् । आरएसएस प्रारम्भदेखि नै धेरै सु–संगठित र नवनाजीवादी विचारधाराले लैस रहँदै आएको छ । वास्तवमा आरएसएसका संस्थापक हिटलरका ठूला प्रशंसक थिए । भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदी आफैँ आरएसएसका सदस्य हुन् । जब मोदी गुजरातका मुख्यमन्त्री थिए, त्यतिबेला एक हजारभन्दा धेरै मुसलमानको कत्लेआम गरिएको थियो र उनले नरसंहार रोक्न केही गरेनन् । वास्तवमा मोदीले त्यस नरसंहारलाई नियतवश प्रोत्साहन गरेको र प्रहरीलाई हस्तक्षेप गर्नबाट रोकेको भन्‍ने प्रमाणसमेत छन् । 

भारतमा गम्भीर खतरा मडारिएको छ किनभने भारतमा राज्यले नभई भीडले कत्लेआम गर्नेछ । यो भीड सन् १९४७ को विभाजनताका भएको दुईतर्फी नरसंहार गराउने भीडजस्तै हुनेछ ।

त्यसबाहेक कस्मीरमा ६ लाखभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएका छन् र कस्मीरको स्वायत्तता पनि खोसिएको छ । हामी भारतीय समाजमा तीव्र ध्रुवीकरण देखिरहेका छौँ र ‘लभ जिहाद’ जस्ता प्रोपगान्डा देखिरहेका छौँ । धार्मिक स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी धर्मान्तरणविरुद्धका कानुन बनेका छन् । हामी लिन्चिङ (भीडले गर्ने हत्या), मानिसको नागरिकता प्रमाणित गर्ने जनसंख्या कानुनको तयारी देखिरहेका छौँ । आफ्नै मानिससँग नागरिक भएको प्रमाण माग्‍नुको नियत भनेकै उनीहरूलाई अनागरिक बनाउनु हो । र, जनसंख्या कानुनको तयारी पनि आफ्नै मानिसलाई अनागरिक बनाउने एउटा कडी हो । कहाँसम्म भने मानिसले आफ्नो नागरिकता सन् १९७१ अघिका सरकारी कागजातबाट पुष्टि गर्न सक्दैनन् भने ‘विदेशी’ मानिने छन् र देश निकाला हुनेछन् । यही अवधारणाअन्तर्गत सरकारले असममा बसोबास गरिरहेका ३० लाखभन्दा बढी मुसलमानलाई देश निकाला गर्ने निर्णय गरेको हो । त्यसमा हामी राज्य उत्पीडन देखिरहेका छौँ । गिर्जाघर र मस्जिदमा आक्रमण बढ्दो छ । बंगाली मुसलमान दिनानुदिन पक्राउ परिरहेका छन् भने कस्मीरी मुसलमान चरम प्रताडना झेल्न बाध्य छन् ।

तस्बिर साभारः नितिन कनोत्रा 

हाम्रा अगाडि प्रारम्भिक सतर्कता संकेत देखिएका छन् । हामी यसपछिको चरण अर्थात् सफायाकाल आइसक्यो भनिसकेका छैनौँ । तर, हामीले बुझेअनुसार भारतमा गम्भीर खतरा मडारिएको छ किनभने भारतमा राज्यले नभई भीडले कत्लेआम गर्नेछ । यो भीड सन् १९४७ को विभाजनताका भएको दुईतर्फी नरसंहार गराउने भीडजस्तै हुनेछ । 

थापरः तपाईंले अमेरिकी कंग्रेसलाई नरसंहार घटना नभई निरन्तर विकास भइरहने प्रक्रिया हो भन्‍नुभएको छ । तपाईंको संस्था जेनोसाइड वाचले नरसंहार प्रक्रियामा १० चरण रहेको जनाएको छ । तपाईंले भारत वर्गीकरण, प्रतीकीकरण, विभेद, अमानवीकरण र ध्रुवीकरणको चरण पार गरेर सफाया नजिक पुगिरहेको बताउनुभएको छ । के भारतीय समाज सफायानजिक पुगेकै कारणले तपाईं चिन्तित हुनुभएको हो ?

स्टेन्टनः म साँच्चै चिन्तित छु र अन्य मुलुकका लागि पनि गम्भीर रूपमा चिन्तित छु । म त अमेरिकामा पनि नरसंहारको सम्भावना देख्दै छु । वास्तवमा हामीले हाम्रै आदिवासी अमेरिकीको नरसंहार गरेका थियौँ । हामीले दास–व्यापारका समयमा अफ्रिकी–अमेरिकीको पनि नरसंहार गरेका थियौँ । अमेरिका त्यस्तो मुलुक हो, जसले पहिले नै नरसंहार मच्चाइसकेको छ । अहिले अमेरिका लोकतान्त्रिक मुलुक हो भन्दैमा नरसंहार सम्भव नहुने होइन । त्यसैगरी म भारतप्रति चिन्तित छु किनभने भारत यस्तो मुलुक हो, जहाँ संविधानले काम गर्छ र संविधानले नरसंहार रोक्ने सामर्थ्य राख्छ । संविधानले नरसंहार रोक्नेमा म आशावादी छु ।

मानिसले मोदीलाई ‘खबरदार ! तपाईं यस्तो गर्न सक्नुहुन्‍न । तपाईंले यो मुलुकमा घृणालाई स्थान दिइरहन मिल्दैन’ भनेर सचेत गराउँछन् भन्‍नेमा म आशावादी छु । हामीसँग पनि केही समययता घृणा फैलाउने राष्ट्रपति ट्रम्प थिए । ट्रम्पले यस देशमा ध्रुवीकरणलाई मलजल गरेका थिए । भारतमा पनि यस्तै नियति दोहरिने हो कि भनेर चिन्तित छु । 

थापरः मुलुक लोकतान्त्रिक भए पनि नरसंहार नहुने होइन भनेर तपाईंले महत्त्वपूर्ण विषय उठान गर्नुभयो र त्यसैकारणले तपाईं कस्मीर र असमलाई लिएर निकै चिन्तित देखिनुहुन्छ । म फेरि तपाईंले अमेरिकी कंग्रेसलाई भनेको कुरा उद्धृत गर्न चाहन्छु, ‘अहिले कस्मीर वा असममा नरसंहार नै भइरहेको छ भन्‍न त गाह्रो छ । तर, कस्मीर र असममा नरसंहारको प्रारम्भिक संकेत र प्रक्रियाहरू देखिँदै छन् ।’ यी राज्यहरूमा नरसंहारको सम्भावना निरन्तर बढिरहेकोमा सबैभन्दा बढी चिन्तित हुनुहुन्छ हो ?

स्टेन्टनः तपाईंले भनेको बिल्कुलै सही हो । त्यसो त हामी उत्तराखण्डलाई लिएर अर्को नरसंहारको चेतावनी सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ किनभने उत्तराखण्डको हरिद्वारमा भएको सम्मेलनमा हिन्दू उग्रवादीहरूले मुसलमानको कत्लेआम गर्न हतियार उठाउन आह्‍वान गरेका छन् । यी उग्रवादीले विनासंकोच ‘हामीले मुसलमानलाई मार्न हतियार उठाउनुपर्छ’ भनेका छन् । यस्तो घृणायुक्त भाषणलाई नै वास्तवमा ‘नरसंहार प्रोत्साहन’ को भाषण भनिन्छ । यस्तो भाषण नरसंहार महासन्धिअनुसार अपराध ठहरिन्छ । नरसंहारलाई प्रोत्साहन गर्नु नरसंहार गर्नु सरह हो । भाषणबाजी गर्ने यी मानिसलाई कानुनी अभियोग लगाइनु पर्छ ।

तस्‍बिर साभारः द वायर

थापरः म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीतर्फ केन्द्रित हुन्छु । जनवरी १२ मा अमेरिकी कंग्रेसलाई गरेको ब्रिफिङमा तपाईंले मुख्यतः मोदीबारे दुई बुँदामा कुरा राख्‍नुभएको थियो– पहिलो, सन् २००२ गुजरातमा मोदी मुख्यमन्त्री हुँदा हजारौँ मुसलमानको कत्लेआममा प्रोत्साहन गरेकोमा म विश्‍वस्त छु भन्‍नुभएको थियो । दोस्रो, मोदीले मुसलमान विरोधी भाष्य खडा गरेर राजनीतिक आधार बनाएको बताउनुभएको थियो । अहिले मोदी र भाजपाले यस आरोपलाई कठोर एवं क्रुद्ध रूपले खण्डन गर्छन् । मैले यहाँनेर सोध्‍न खोजेको– अमेरिकी कंग्रेसमा भारतीय प्रधानमन्त्रीलाई नै इंगित गरेर टिप्पणी गर्नुपर्छ भन्‍ने तपाईंलाई किन लाग्यो ? 

स्टेन्टनः खासमा भन्‍ने हो भने मोदीले रेकर्ड कायम गरेका छन् । त्यसका लागि उनी जवाफदेही हुनु पर्नेछ । सन् २००२ मा गुजरातको मुख्यमन्त्री हुँदा एक हजारभन्दा धेरै मुसलमानको कत्लेआम हुँदा उनले कत्लेआमलाई सहयोग गरेका थिए । वास्तवमा कत्लेआम हुँदै गर्दा उनले प्रहरीलाई त्यसमा हस्तक्षेप नगर्न भनेका प्रमाण नै छन् । यस अर्थमा नरसंहारकारी कत्लेआममा मोदीको भागीदारी देखिन्छ ।

हामी उत्तराखण्डलाई लिएर अर्को नरसंहारको चेतावनी सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ किनभने उत्तराखण्डको हरिद्वारमा भएको सम्मेलनमा हिन्दू उग्रवादीले मुसलमानको कत्लेआम गर्न हतियार उठाउन आह्‍वान गरेका छन् । उनीहरूले विनासंकोच ‘हामीले मुसलमानलाई मार्न हतियार उठाउनुपर्छ’ भनेका छन् । यस्तो घृणायुक्त भाषणलाई नै वास्तवमा ‘नरसंहार प्रोत्साहन’ को भाषण भनिन्छ । 

यति मात्रै होइन, उनी आरएसएसका सदस्य पनि हुन् । आरएसएस स्थापनाकालदेखि नै घृणा फैलाउने संस्था रहिआएको छ । महात्मा गान्धीका हत्यारा आरएसएसका नै सदस्य थिए । अहिले पनि आरएसएसका नेताहरू गान्धीका हत्यारा नाथुराम गोड्सेको स्तुति गाउँछन् । यो बडो असाधारण र उदेकलाग्दो सुनिन्छ । गोड्सेको स्तुति त लिंकनका हत्यारा जन विक्स बुथको स्तुतिगान गाएजस्तो पो सुनिन्छ त । ट्रम्पले अमेरिकामा राजनीतिक आधार खडा गर्न आप्रवासी एवं अन्य मानिसप्रति घृणा ओकलेर र तिनलाई तथाकथित ‘एलियन्स’ को संज्ञा दिएझैं भाजपा, मोदी र मोदी समर्थकले पनि भारतमा हिन्दुत्वको आधार खडा गरिरहेका छन् । जब तपाईं राजनीतिक आधारक्षेत्र निर्माण गर्नका लागि एउटा समुदायलाई अर्को समुदायविरुद्ध उभ्याउनु हुन्छ, तब नरसंहारका लागि उपयुक्त आधार निर्माण हुन्छ । यसैकारण म साह्रै चिन्तित छु ।

थापरः अमेरिकी कंग्रेसमा दिएको बयानमा तपाईंले ‘घृणा फैलाउने भाषणको भत्‍सर्ना गर्नु मोदीको नैतिक जिम्मेवारी हो’ भन्‍नुभएको थियो । हरिद्वारमा रगत उमाल्ने गरी ओकलिएका भाषणको महिना दिन हुँदा पनि मोदीले निन्दा त परको कुरा एक शब्द पनि बोलेका छैनन् । अमेरिकी कंग्रेसमा मोदीको नाम लिनुका पछाडि उनको मौनता पनि कारक छ कि ?

स्टेन्टनः बिल्कुल । उनी भारतका प्रधानमन्त्री हुन् । निश्‍चय नै हरिद्वारजस्ता घटनाका अभियुक्तलाई प्रधानमन्त्रीले नभई राज्यका संयन्त्रले गिरफ्तार गर्नुपर्छ । तर, प्रधानमन्त्री भएका नाताले यस्ता घृणा फैलाउने भाषणलाई निन्दा गर्नु उनको नैतिक जिम्मेवारी हुन आउँछ । अमेरिकामै हेर्नुस्, अन्ततः राष्ट्रपति बाइडेन पनि घृणा फैलाउने भाषणको निन्दा गर्छन् । 

मुलुक हिंसाको भयावह जोखिमतर्फ अग्रसर छ भने नेतृत्वमा बसेकाले मौनता तोड्नु कर्तव्य हुन जान्छ । मलाई लाग्छ, भारतका प्रधानमन्त्रीका रूपमा मोदीले मौनता तोड्नु उनको कर्तव्य हो । वास्तवमा भारतको संविधान महान् छ अर्थात् भारतको संविधान क्रियाशील छ । मैले भारतको ‘इन्डियन ल इन्स्टिच्युट’ मा एक वर्ष बिताएको छु र म भारतको कानुनी व्यवस्थाबाट प्रभावित छु । भारतमा असाधारण एवं जटिल सामाजिक विविधता देख्‍न सकिन्छ । यस विविधतालाई आक्रमण गर्ने, मुसलमानलाई तारो बनाउने काम मोदीको पार्टीका कार्यकर्ताले गरिरहेका छन्, जुन भारतको संविधानविरुद्ध छ । 

थापरः म फेरि दोहोर्‍याउँछु, मोदीको मौनता एक–दुई दिनको नभई एक महिनाभन्दा बढी समयदेखि कायम छ । तपाईं मोदीको मौनतालाई कसरी विश्लेषण गर्नुहुन्छ ? 

स्टेन्टनः यहाँनेर म मेरा नेता मार्टिन लुथर किङ जुनियरलाई उद्धृत गर्न चाहन्छु । म कलेजको विद्यार्थी हुँदा मैले उनीसँग एकै मञ्‍चमा संवाद गरेको छु र म उनको साउदर्न क्रिस्टियन लिडरसिप कन्फरेन्सबाट प्रशिक्षित पनि भएको हुँ । मैले सिभिल राइट्स आन्दोलनको कार्यकर्ताका रूपमा पनि काम गरेको हुँ । ‘हाम्रो विरुद्धमा को छ भनेर उनीहरूको अभिव्यक्तिले भन्दा पनि उनीहरूको मौनताले थाहा पाउनेछौँ’ मार्टिन लुथर जुनियरले एकपटक भनेका थिए । मलाई लाग्छ मोदीको मौनता पनि उनले भनेजस्तै मौनता हो । मोदीले यस्ता घृणालाई निन्दा गर्ने बेला भइसक्यो । 

थापरः तपाईंको जवाफलाई आधार मान्‍ने हो भने मोदीको मौनताले उनैलाई डस्‍नेछ भन्‍न खोज्‍नुभएको हो ?

स्टेन्टनः हो, बिल्कुल ! मोदीको मौनताले मोदीलाई नै अफ्ठ्यारो पार्ने निश्‍चित छ । 

थापरः रुवान्डामा नरसंहार हुनु चार–पाँच वर्षअघि नै तपाईंले नरसंहार हुने पूर्वानुमान गरिसक्नुभएको थियो । भारतका सम्बन्धमा पनि तपाईंको पूर्वानुमानले अनिष्ट र भयावह स्थिति आउने देखाएको छ । मैले यहाँनेर तपाईंको पूर्वानुमानको सही विश्लेषण गरेँ त ?

स्टेन्टनः हो, तपाईंले सही विश्लेषण गर्नुभएको छ । वास्तवमा मैले रुवान्डाका परिचय–पत्रमा तुत्सी, हुतु र त्वा पहिचान उल्लेख गरिएको पाएको थिएँ । रुवान्डाको सर्वोच्च अदालतका अध्यक्ष एवं उदार हुतु जोसेफ कावारुगान्दासँग एक साँझको डिनरमा मैले परिचय–पत्रमा जातीय पहिचान उल्लेख गर्न मिल्दैन भनेको थिएँ । मैले यो काम असंवैधानिक एवं समान सुरक्षाको मूल्य–मान्यताविरुद्ध हो भनेर पनि अवगत गराएको थिएँ । जवाफमा उनले ‘हाम्रो मुलुकमा न्यायिक पुनरावलोकनको व्यवस्था नभएको र पुनरावलोकन गर्न राष्ट्रपतिसँग भेट्नुपर्छ’ भनेका थिए । 

म अमेरिकामा पनि नरसंहारको सम्भावना देख्दै छु । वास्तवमा हामीले हाम्रै आदिवासी अमेरिकीको नरसंहार गरेका थियौँ । हामीले दास–व्यापारका समयमा अफ्रिकी अमेरिकीको पनि नरसंहार गरेका थियौँ । अमेरिका त्यस्तो मुलुक हो, जसले पहिले नै नरसंहार मच्चाइसकेको छ । अहिले अमेरिका लोकतान्त्रिक मुलुक हो भन्दैमा नरसंहार सम्भव नहुने होइन ।

त्यसपछि मैले राष्ट्रपति ह्‍याबीरिमानालाई नै भेटेेँ र यसबारे आफ्नो पक्ष राखेँ । म त्यहाँ कानुनी व्यवस्थामा सुधारका लागि पुगेको थिएँ । मैले त्यहाँ परम्परागत न्याय व्यवस्थालाई पुनर्स्थापित गर्न सुझाएको थिएँ, जुन कालान्तरमा पुनर्स्थापित पनि भयो । जब मैले पहिचान इंगित गर्ने परिचय–पत्रमा प्रवेश गरेँ, राष्ट्रपतिको अनुहारको रंग नै उड्यो र परिचय–पत्रका विषयमा कुरै गर्न चाहेनन् । अन्ततः पाँच वर्षपछि रुवान्डामा नरसंहार मच्चियो । महत्त्वपूर्ण कुरा के हो भने सबै नरसंहारका अन्तिम चरणमा नरसंहार अस्वीकृतिको प्रवृत्ति देख्‍न सकिन्छ र अन्ततः नरसंहारको अवस्था निम्तिन्छ ।

तस्बिर साभारः दानिस सिद्दिकी

मुलुकभित्र र बाहिरका कयौँ मानिसले नरसंहारको सम्भावनालाई नकार्छन् । मैले यो नकार्ने प्रवृत्तिलाई नजिकबाट नियालेको छु । अमेरिकी विदेश मन्त्रालयले नरसंहार चलिरहेकै बेला पनि ‘नरसंहार’ शब्द प्रयोग गर्न मानेको थिएन । अफ्रिका मामिलासम्बन्धी तत्कालीन उप–सहायकमन्त्री बुस्‍नेलले अधिवक्ता जोआन डनह्यूसँग ‘नरसंहार’ शब्द प्रयोग गर्ने वा नगर्नेबारे राय मागेकी थिइन् । बुस्‍नेलले कति मानिस मारिएपछि नरसंहार भन्‍न मिल्छ भनेर प्रश्‍न गरेकी थिइन् र जवाफमा डनह्यूले ‘हामीसँग आशयको पर्याप्त प्रमाण नभएको’ जवाफ दिएकी थिइन् । डनह्यूले जवाफ दिइरहँदा रुवान्डामा दैनिक १० हजारभन्दा बढी मानिस मारिँदै थिए । डनह्यू हाल अन्तर्राष्ट्रिय न्यायालयकी अध्यक्ष हुन् । यस तथ्यले तपाईंको शरीरको पोर्रा–पोर्रा सिरिङ्ग हुनेछ कि उनी नरसंहार नकार्ने व्यक्ति हुन् र अहिले उनले म्यान्मारविरुद्ध नरसंहार महासन्धि उल्लंघनसम्बन्धी आरोपको मुद्दा हेर्दै छिन् । 

थापरः तपाईं अमेरिकी कंग्रेसले के गरोस् भन्‍ने चाहनुहुन्छ ?

स्टेन्टनः म अमेरिकी कांग्रेसले संकल्प प्रस्ताव पारित गरोस् भन्‍ने चाहन्छु । संकल्प प्रस्ताव पक्कै पनि कानुनभन्दा कम महत्त्वको हुन्छ । तर, संकल्प प्रस्तावले भारतमा नरसंहार नहोस् भन्‍ने चेतावनी दिनुपर्छ । नरसंहारविरुद्धको संकल्प प्रस्ताव अमेरिकाको विदेश नीति हुनुपर्छ । दुवै मुलुक विशाल लोकतन्त्र भएका कारण भारत अमेरिकाको स्वाभाविक साझेदार हो । हाम्रो राष्ट्रपतिले मोदीलाई भारतमा नरसंहार हुन्छ भने आपसी सम्बन्धमा पुनरावलोकन हुने चेतावनी दिनुपर्छ । यी आपसी सम्बन्धमा व्यापारलगायत सबै विषय समावेश हुनुपर्छ ।

हामीले चीनसँग पनि सम्बन्ध पुनरावलोकन गर्नुपर्छ, जुन केही हदसम्म सुरु भइसकेको छ । हामीले सिन्जियाङ प्रान्तमा बनेका कुनै पनि वस्तु आयात नगर्ने कानुन बनाएका छौँ किनभने यो प्रान्तमा उइगुर मुसलमान बसोबास गर्छन् र यो समुदाय चिनियाँ सरकारको नरसंहारका पीडित हुन् । थप भन्‍ने हो भने चीनका गतिविधिका कारण चीनमा हुने शीतकालीन ओलम्पिक्सका सबै प्रायोजकलाई बहिष्कार गर्नुपर्छ ।

थापरः भारतका प्रधानमन्त्रीलाई चेतावनी दिने गरी अमेरिकी कंग्रेसले संकल्प प्रस्ताव पारित गर्ला भन्‍नेमा तपाईं कत्तिको विश्‍वस्त हुनुहुन्छ ?

स्टेन्टनः संकल्प प्रस्ताव सम्भवतः पारित हुन्छ होला । मेरो अनुभवमा अमेरिकी कंग्रेसका कसैले पनि नरसंहारको समर्थन गर्दैनन् । सन् २०१६ मा हामीले आइएसआइएसले इसाई, सियालगायतका समुदायका मानिसविरुद्ध गरिएको नरसंहारका सन्दर्भमा संकल्प प्रस्ताव पारित गर्न लगाएका थियौँ । यो संकल्प प्रस्तावका पक्ष–विपक्षमा मत आए पनि अन्ततः अमेरिकी कंग्रेस र सिनेटबाट प्रस्ताव पारित भएको थियो । नतिजा विदेश मन्त्रालयले पनि नरसंहार भइरहेको छ भन्‍ने स्विकार्‍यो र आफ्नो कारवाही अघि बढ्यो । अन्ततः आइएसआइएसलाई हामीले हरायौँ । 

थापरः अमेरिकी कंग्रेसले आइएसआइएसविरुद्ध संकल्प प्रस्ताव ल्याउनु स्वाभाविक देखिन्छ । तर, भारत र मोदीविरुद्ध संकल्प प्रस्ताव आउनेमा के तपाईं साँच्चिकै विश्‍वस्त हुनुहुन्छ ? 

स्टेन्टनः आइएसआइएसले नरसंहार नै मच्चाइरहेको थियो । तर, भारतका सन्दर्भमा हामीले नरसंहार हुने चेतावनी दिएका हौँ । आइएसआइएसविरुद्ध संकल्प प्रस्ताव जसरी आयो, त्यसरी नै भारतविरुद्ध संकल्प प्रस्ताव आउँछ भन्‍ने छैन । तर, मलाई लाग्छ– कंग्रेसले चेतावनी दिनुपर्छ । 

थापरः तपाईंले मसँग भनेको वा अमेरिकी कंग्रेसमा गरेको ब्रिफिङलाई मोदी सरकार र भाजपाले चरम अतिशयोक्ति फैलाएको वा भनौँ, भारतमा द्वन्द्व उक्साउने नियतले आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनी आरोप लगायो भने तपाईंको प्रतिक्रिया के हुनेछ?

स्टेन्टनः जेनोसाइड वाचका बारेमा आममानिसको धारणा नै मेरो जवाफ हुनेछ अर्थात् वाचले गरेका पूर्वानुमान अहिलेसम्म सत्य सावित भएका छन् । हामीले नरसंहार सुरु भइसकेको छ भनेका छैनौँ । यस अर्थमा हामीले कुनै अतिशयोक्ति फैलाएका छैनौँ । हामी त केवल भारतमा नरसंहारका चिन्‍ह देखिएका छन् भनिरहेका छौँ । त्यही भएर नरसंहारको प्रक्रियालाई तुरुन्तै रोकौँ । मैले भन्‍ने गरेको छु र यहाँ पनि दाहोर्‍याउँछु, भारतमा नरसंहार राज्यले नभई भीडले गर्नेछ । यो भीडले गर्ने नरसंहारबारे चिन्तित हुनु जरुरी छ र मोदी तथा अरु सचेत हुन आवश्यक छ । मलाई भारतमा कुनै द्वन्द्व फैलाउनु छैन । वास्तवमा, म भारतलाई औधी माया गर्छु । म, भारत सफल राष्ट्रका रूपमा अघि बढोस् भन्‍ने चाहन्छु र सफल राष्ट्र हुनेमा म ढुक्क छु ।

प्रकाशित: १७ माघ २०७८ ११:०४ सोमबार

चेतलुङ
चेतलुङ