१६ असार २०७९, बिहीबार - June 30, 2022 Thursday
नरेन्द्र मोदीको उदय
तस्बिरः सीएनएन बिजनेस

२२ अप्रिल १४९८ को दिउँसो । पूर्वी अफ्रिकाको मालिन्दी बन्दरगाहभन्दा केही किलोमिटर पर कप्तान मेजर भास्को डी गामा निकै खुसी थिए । मोजाम्बिकदेखि मोम्बासासम्मको यस महाद्वीपको दक्षिणपूर्वी तटमा चार महिनासम्म बग्दै–बग्दै यी पोर्चुगिज कप्तानले एकजना त्यस्ता नाविक फेला पारेका थिए, जसले उनलाई भारत लिएर जाने भए । आफ्नो यात्राका क्रममा डी गामाले स्थानीय शासक, अरब र अफ्रिकी व्यापारीहरूसँग शत्रुतापूर्ण व्यवहार गर्दै अघि बढ्नु परेको थियो । 

‘एसियाको समुद्री मार्गको खोजीकर्ता’ का रूपमा प्रसिद्ध डी गामालाई कालीकट पुर्‍याउने नाविकको नाम कान्जी मालम थियो । उनी गुजराती थिए । कपासका यी व्यापारी नियमित रूपमा सुन र हात्तीको दाँतसँग आफ्नो माल बेच्‍‍नअफ्रिका जाने गर्थे । 

एउटा गुजरातीले नै डी गामालाई भारत लिएर आएको थियो भन्‍नेमा कुनै आश्‍चर्य नमान्दा हुन्छ । जहाज चलाउन, समुद्री यात्रा र व्यापार गर्ने मामिलामा गुजराती कौशललाई पहिलेदेखि नै सबैले श्रेय दिने गरेका छन् । यसका साथै गुजरातीहरूले पर्सियाली खाडीदेखि मलेसिया र इन्डोनेसियासम्म व्यापारिक मार्ग स्थापित गरेका थिए ।

पोर्चुगिजहरू यहाँ पुग्‍नु दुई सहस्राब्दीअघि नै गुजरात विश्‍वका दुई प्रमुख व्यापारिक मार्गहरू– ‘सिल्क’ (रेसम) र ‘स्पाईस’ (मसला) मार्ग– जोडिने ठाउँ थियो (दुनियाँको दुईवटा मुख्य व्यापारिक केन्द्रमध्ये एक) । यहाँ रेसम र मसलाको व्यापार हुने गर्थ्यो । यो उपमहाद्वीपमा प्रवेश गर्ने अफ्रिकी, अरब र एसियाली बन्दरगाहको सामानका लागि एउटा प्रमुख वितरण केन्द्र थियो । समुद्री किनारबाट अन्तर्देशीय व्यापार मार्ग एउटा बिहार, दोस्रो उत्तरमा मथुरा र तेस्रो दक्षिणमा मराठावाडाका लागि छुट्टिन्थ्यो । युरोपेलीहरू भारतमा व्यापार गर्न आउनु शताब्दियौँअघि ग्रीस, अरब, फारस, अफ्रिका र चीनका व्यापारीहरू गुजरातमा व्यापार गर्नका लागि आउने गर्थे ।

सन् २०११मा भाइब्रेन्ट गुजरात समिटमा सहभागीहरु । अजीत सोलंकी/एपी फोटो

सन् २०११ जनवरीको दोस्रो हप्ता एक सयभन्दा धेरै मुलुकका १० हजारभन्दा धेरै व्यापारी गान्धीनगर पुगे । यी व्यापारी वर्षमा दुई पटक हुने ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन पुगेका थिए । यो समिट लगानी भित्र्याउनका लागि गरिने संकल्प म्याराथुन समारोह हो । व्यापारका जराहरू गुजरातमाझ नै गहिराइसम्म पुर्‍याउनु यसको मुख्य उद्देश्य हो । यति गर्दागर्दै पत्रपत्रिकामा हल्लाखल्ला गर्नु पनि यसको अभिन्‍न काम हो । यो संयोग होइन । अंकका आधारमा सन् २०११ को समिटले कसैलाई निराश तुल्याएन । कार्यक्रम सकिँदा–नसकिँदै व्यापारीले ४ सय ५० विलियन डलरभन्दा धेरै लगानी गर्ने बाचा गरिसकेका थिए । विकासशील अर्थव्यवस्था भएका कुनै पनि मुलुकमा आयोजना गरिने यस्ता कार्यक्रममा भन्दा यहाँ निकै उच्च रकम बाचा गरिएको थियो । बाचा गरिएको यो अद्भुत रकमलाई लिएर सञ्‍चारमाध्यमले गुणगान मात्रै गाएनन्, व्यापारीद्वारा गुजरातका मुख्यमन्त्रीप्रति दर्साएको सम्मानका लागि पनि एक स्वरले प्रशंसाको गीत गाए । 

सम्मेलनको पहिलो दिन, भारतमा हुने सार्वजनिक समारोहको आम चलनलाई पच्छ्याउँदै मञ्‍चमा अव्यवस्थित रूपमा यथाशक्य भीड उपस्थित थियो । कार्यक्रमको आयोजना नव–निर्मित महात्मा मन्दिरमा गरिएको थियो । यो गान्धी स्मारक हो । तर, यसको प्रयोग सम्भवतः एउटा सम्मेलन केन्द्रका रूपमा गरिएको थियो । मञ्‍चमा तीन पंक्तिमा ८० जना बसेका थिए । तर, सबैको नजर ती व्यक्तिमा अडिएको थियो, जो केन्द्रमा थिए । उनै कार्यक्रमका आयोजक थिए र यो रंगमञ्‍चका निर्विवाद ‘स्टार’ थिए । उनको नाम नरेन्द्र मोदी हो । नरेन्द्र दामोदर दास मोदी । 

मोदी शिवलिङ्गमा विराजमान बिच्छी हुन् । उनलाई न हातले तल झार्न सकिन्छ, न त खुट्टाले ।

उनले हात्तीको दाँतजस्तै रंगको सुट र बुल्गारी चस्मा लगाएका थिए । उनको खैरो दाह्री मसिनो गरी छोट्याइएको थियो । उनलाई हेर्दै लाग्थ्यो, यो निर्णायक व्यक्ति हो । उनी प्रत्येक वक्तालाई एकाग्रचित्त भएर सुनिरहेका थिए र उनको एकाग्रता घरी–घरी मुस्कानसँगै भंग हुन्थ्यो । उनको दुवैतिर दुई देशका दूत थिए । आयोजनामा आधिकारिक सहभागिताका लागि उनीहरूले हस्ताक्षरसमेत गरेका थिए । कार्यक्रममा जापानका राजदूत र क्यानडाका हाई कमीश्‍नर सहभागी थिए । ती दुवैजना ‘इन्डिया इन्क’ का दुई प्रमुख रतन टाटा र मुकेश अम्बानीबाट घेरिएका थिए । यसका साथै तीन दर्जन कर्पोरेट चेयरम्यान र सीईओहरू पनि मञ्‍चमा सन्तुष्टसहित प्रफुल्ल देखिन्थे । उनीहरूसँगै रुवाण्डाका प्रधानमन्त्री र अमेरिका–भारत बिजनेस काउन्सिलका प्रमुख पनि सहभागी थिए । उनले भर्खरै मात्र मञ्‍चबाट आगामी सम्मेलनमा अमेरिकालाई यसको साझेदार मुलुकका रूपमा देख्‍ने चाहेको बताएका थिए ।

भाइब्रेन्ट गुजरात कार्यक्रमलाई मुलुककै प्रमुख वैश्‍विक व्यापार सम्मेलनका रूपमा सफलतापूर्वक प्रचार गरिएको थियो । यसको अनुमान तपाईं सहजै लगाउन सक्नुहुन्छ । मोदीको लबिङ र पीआर हेर्ने अमेरिकास्थित ‘एप्को वर्ल्डवाइड’ लाई यो कार्यक्रम प्रवर्धन गरेवापत दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार उपलब्ध गराइएको थियो । सन् २००३ देखि आयोजित यस्ता पाँचवटा सम्मेलनबाट गुजरातमा ९ सय २० बिलियन डलर लगानी गरिएको छ । तर, मोदीका लागि यसको मूल्य अंकमा गणना गर्न सकिँदैन । वास्तवमा यी अंक भ्रामक हुन सक्छन् । यद्यपि बाचा गरिएको लगानीको ६० प्रतिशत रकम भित्रिएको दाबी मोदीले गर्ने गरेका छन् । तर, गुजरातको उद्योग विभागको तथ्यांक विश्लेषण गर्दा बाचा गरिएको रकमको २५ प्रतिशत लगानी मात्रै भित्रिएको देखिन्छ । वास्तवमा एक खरब डलरको एक चौथाइ भाग भनेको फुटकर पैसाभन्दा बढी केही होइन । तर, छवि र वास्तविकतामा देखिने भिन्‍नताले लगानीसँग जोडिएको सम्मेलनको सामरिक महत्त्वलाई नै दर्शाउँछ । भारतीय राजनीतिमा आफ्नो कामलाई बढाइ–चढाइ गरी प्रस्तुत गर्नेमा यो एउटा अकल्पनीय उदाहरण हो ।

गुजरात भारतका त्यस्ता थोरै राज्यहरूमध्ये पर्दछ, जहाँ व्यापार गर्न निकै सजिलो छ । गुजरातलाई उद्योगकै कारण चिनिन्छ । त्यस्तो राज्यमा गरिने लगानीलाई मोदीले एउटा हाई–प्रोफाइल प्रदर्शनीमा रूपान्तरित गरिदिए । अर्थात्, प्रत्येक वर्षको लगानीलाई अघिल्लो वर्षको भन्दा धेरै सुनिने अंकका रूपमा बढाइ–चढाइ प्रस्तुत गरिने खुलासा गरिदिएका छन् । अर्को शब्दमा भन्‍ने हो भने मोदीले गुजरातको प्राचीन व्यापारिक र उद्यमशील ऊर्जालाई ‘आफ्नो छवि’ निर्माण गर्ने औजारका रूपमा प्रयोग गरेका छन् ।

१२ सय गुजरातीको मृत्युको कारण बनेको मुस्लिम–विरोधी नरसंहारको १० वर्षपछि मोदीले सम्मेलनलाई आफ्नो अतीत मेट्ने अस्‍त्रका रूपमा प्रयोग गरे । त्यति मात्र होइन, यसैबाट उनले आफ्नो राजनीतिक सफलताको विलुप्त सम्भावनालाई पुनर्जीवित गरिदिएका छन् । यसका लागि उनले आफूविरुद्ध प्रयोग हुने ‘फासीवादी’, ‘जन संहारक’ र ‘हिन्दू कट्टरपन्थी’ जस्ता विशेषणका ठाउँमा आफूले मन पराएको उपाधि ‘विकास पुरुष’ भन्‍ने शब्द छानेका छन् । भारतका ठूला व्यापारिक घरानाका लागि मोदी ‘भारतका भावी नेता’, ‘भविष्य द्रष्टा’, ‘गतिशील’ र ‘देशलाई नेतृत्व दिने’ नेतृत्वकर्ता हुन् । उनका बारेमा यस्तो प्रचार गर्नेमा टाटा, अम्बानी र मित्तलको नाम सबैभन्दा अघि छ । भलै भारतका ठूला उद्योगपतिसँग मोदीको सुरुआत त्यति राम्रो हुन सकेको थिएन ।

बीजेपीका अध्यक्ष तथा आफ्ना गुरु केशुभाई ठाकरेको खुट्टा ढोग्दै मोदी । तस्बिरः शैलेश रावल/इंडिया टुडे

फेब्रुअरी २००३ मा भारतको सबैभन्दा ठूलो र महत्त्वपूर्ण व्यापार संघ– भारतीय उद्योग परिसंघ (सीआईआई) ले दिल्लीस्थित आफ्नो सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको थियो । त्यसको नाम थियो– ‘गुजरातका नयाँ मुख्यमन्त्री नरेन्द्र मोदीसँग भेटघाट’ । यो कार्यक्रम मोदीको विशेष अनुरोधमा आयोजना गरिएको थियो । राज्यमा भएको साम्प्रदायिक हिंसालगत्तैको निर्वाचनमा उनले भव्य जित हासिल गरेका थिए । तर, पनि साम्प्रदायिक हिंसाका लागि अझै उनको सार्वजनिक निन्दा गरिँदै थियो । उनको आलोचना गर्नेमा देशका ठूला व्यापारी पनि थिए । यसका साथै हिंसाका कारण अस्तव्यस्त हुन पुगेको अर्थव्यवस्थासँग उनी जुध्नु परिरहेको थियो ।

गुजरातका सडकहरूमा भीडले जसरी आतंक मच्चाइरहेको थियो, त्यो त्यहाँका स्थानीय मुस्लिमसम्म मात्रै सीमित रहेन । एक हजारभन्दा धेरै ट्रक र जनरल मोटर फ्याक्ट्रीका ढुवानी हुँदै गरेका ओपल एस्ट्रा कारहरूमा एकै चोटी आगो लगाउने घटनाले अन्तर्राष्ट्रिय जगतको ध्यान आकर्षित गर्‍यो । एउटा प्रक्षेपणअनुसार हिंसाका क्रममा गुजरातले २० अर्ब भारूको नोक्सान बेहोर्नु परेको थियो । साम्प्रदायिक हिंसाको अँध्यारो छायाले अन्तर्राष्ट्रिय लगानीकर्तामा उकुसमुकुसको वातावरण सिर्जना गरिदियो । सेप्टेम्बर २००२ मा नयाँ विदेशी लगानीकर्ताको खडेरी नै पर्‍यो । भारतीय उद्योगपति माझ पनि स्थिति झनै तरल हुने हो कि भन्‍ने डर थियो । त्यसैले उनीहरू गुजरातलाई संकटमय राज्यका रूपमा चित्रित गर्थे । मोदी सत्तामा आउनुअघिको स्थिति हो, यो । 

हिंसापछिका महिनामा भारतीय कर्पोरेट जगतका ठूला–ठूला हस्तीले सार्वजनिक रूपमा आफ्नो आक्रोश र चिन्ता व्यक्त गरेका थिए । एचडीएफसी बैंकका सीईओ दीपक पारेखले भने, ‘भारतले आफ्नो धर्मनिरपेक्ष छवि गुमाइसक्यो । गुजरातमा जे भयो, त्यसमा म लज्जित छु ।’ नौवाहन कम्पनी एएफएलका सीएमडी सायरस गुजदारले गुजरातमा मुस्लिमका साथ जे भयो, त्यसको तुलना ‘नरसंहार’ सँग गरे । बेंगलुरुका दुई सबैभन्दा ठूला आईटी प्रमुख इन्फोसिसका नारायण मूर्ति र विप्रोका अजीम प्रेमजीले यसको कठोर सार्वजनिक निन्दा गरे । सन् २००२ मा सीआईआईको राष्ट्रिय सम्मेलनमा ऊर्जा क्षेत्रको प्रतिष्ठित कम्पनी थर्मैक्सकी अनू आगाले गुजरातमा मुस्लिमहरूको पीडाका बारेमा जब भाषण दिइन्, कार्यक्रममा उपस्थित सबै–सबै उभिएर हार्दिकता व्यक्त गर्न थाले । 

मुस्लिम–विरोधी नरसंहारको १० वर्षपछि मोदीले सम्मेलनलाई आफ्नो अतीत मेट्ने अस्‍त्रका रूपमा प्रयोग गरे । त्यति मात्र होइन, यसैबाट उनले आफ्नो राजनीतिक सफलताको विलुप्त सम्भावनालाई पुनर्जीवित गरिदिएका छन् । उनले आफूविरुद्ध प्रयोग हुने ‘फासीवादी’, ‘जन संहारक’ र ‘हिन्दू कट्टरपन्थी’ जस्ता विशेषणका ठाउँमा आफूले मन पराएको उपाधि ‘विकास पुरुष’ भन्‍ने शब्द छानेका छन् ।

मोदीलाई थाहा थियो, उनी दबाबमा छन् । तर, उनलाई के पनि थाहा थियो भने भर्खरै गुजरातका जनताले उनलाई अध्याधिक बहुमतले विजयी बनाएका छन् । साम्प्रदायिक हिंसा होस् वा नहोस्, भारतका ठूला व्यापारीका लागि गुजरात निकै महत्त्वपूर्ण छ । त्यसैले उनी उद्योग क्षेत्रका दिग्गजबीच आफ्नो छवि सुधार गर्न दिल्ली पुगेका थिए । तर, सधैझैँ यो पनि उनको आफ्नो सर्तअनुरूप नै हुनुपर्ने थियो । 

मञ्‍चमा मोदीका साथ व्यापारिक घरानाका अन्य दुई व्यक्ति पनि सहभागी थिए । उनीहरूको अवस्था त्यति राम्रो थिएन । एकजना ‘जमशेद गोदरेज’ र अर्का ‘राहुल बजाज’ । यसका साथै सीआईआईका निर्देशक जनरल तरुण दास पनि सामेल थिए । मोदीलाई गोदरेज र बजाजबाट हार्दिकताको आपेक्षा थियो । तर, उनी निराश भए । गोदरेजले गत महिना घटेको मुम्बईको एउटा घटना स्मरण गराए । वास्तवमा त्यो घटना मोदी निर्वाचित भएपछिको सार्वजनिक कार्यक्रमबारे थियो । उक्त कार्यक्रममा अक्सफोर्ड विश्‍वविद्यालयका एकजना प्रोफेसरले मोदीको उपहास गरेका थिए । त्यही घटनालाई स्मरण गर्दै गोदरेजले मोदीलाई उपदेश दिँदै भने– ‘चुनाव जितेपछि अब तपाईंले प्रत्येक गुजरातीको सुरक्षाको सुनिश्‍चित गर्नु पर्नेछ ।’

बजाज झनै मुखर रूपमा प्रकट भए । उनले भने, ‘उहाँले सन् २००२ लाई गुजरातको ‘बर्बादीको वर्ष’ का रूपमा फेरिदिनु भएको छ ।’ उनले मोदीतिर हेर्दै सोधे, ‘हामीले कश्मीर, पूर्वोत्तर अथवा भन्‍नुस्, उत्तर प्रदेश र बिहारमा लगानी किन गर्दैनौँ ? यो सवाल त्यहाँको आधारभूत संरचनासँग मात्रै सम्बन्धित छैन । वास्तवमा यसका पछाडि असुरक्षाको भावना छ । मलाई आशा छ, गुजरातको मामिलामा यस्तो हुने छैन । मस्तिष्कमा यो सबै कुरा गत वर्ष भएको दुर्भाग्यपूर्ण घटनाका कारण आउने गर्छ ।’

बजाजले एक पटक फेरि मोदीतिर हेर्दै भन्‍न थाले, ‘तपाईं के कुरामा विश्‍वास गर्नुहुन्छ भन्‍ने हामी जान्‍न चाहन्छौँ । तपाईं कसको पक्षमा उभिनु हुन्छ ? किनभने नेतृत्व त हामीलाई चाहिएकै छ ।’ उनले भने, ‘आज तपाईं गुजरातमा आफ्नो पार्टी र सरकारको निर्विवाद नेता हो र हामी तपाईंलाई राम्रो गरी चिन्‍न चाहन्छौँ । हामी जुनसुकै सरकारसँग काम गर्न तयार छौँ । तर, हाम्रो समाजका लागि के उत्तम हो र त्यसका लागि कसरी राम्रो गर्न सकिन्छ, हाम्रा आफ्नै धारणा छन् ।’ 

आलोचनाको बाढीलाई मोदीले धैर्यसाथ सामना गरे । उनी चुप थिए, तर उग्र थिए ।

त्यसपछि आफ्नो बोल्ने पालोमा मोदीले भारतीय उद्योग क्षेत्रका नेताहरूका अघिल्तिर ठूलो गर्जनसाथ भने, ‘तपाईं र तपाईंका छद्‍म–धर्मनिरपेक्ष साथीहरू जवाफ चाहनुहुन्छ भने गुजरात आउनुस् । त्यहाँका मेरा जनतासँग कुरा गर्नुस् । गुजरात देशको सबैभन्दा शान्तिप्रिय राज्य हो ।’ सभागृहमा तनाव छिप्पिँदै गयो । त्यसपछि मोदीले गोदरेज र बजाजतर्फ फर्किएर भने, ‘गुजरातलाई बदनाम गर्न अरु कयौँको स्वार्थ लुकेको छ, तपाईंहरूको स्वार्थ के हो ?’

सन् १९७४को आन्दोलनमा सहभागी हुन बसमा खाँदिएर जाँदै गरेका छात्र । यो आन्दोलनले गुजरातमा आरएसएसलाई सतहमा ल्याई दिएको थियो । तस्बिरः  सुखदेव भचेच

धपधपी बल्दै गरेको आक्रोशको दियो लिएर मोदी गुजरात फर्किए । र, लगत्तै सीआईआईलाई को शक्तिशाली छ भनेर देखाउनतर्फ लागे । केही दिनभित्रै मोदीनिकट गुजराती व्यापारीले एउटा प्रतिद्वन्द्वी संगठन निर्माण गरे । त्यसलाई उनीहरूले ‘गुजरातको पुनरुत्थान समूह (आरजीजी)’ नाम दिए । यसमा अडाणी ग्रुपका गौतम अडाणी, कडीला फर्मास्युटिकल्सका इन्द्रवाडा मोदी, निरमा ग्रुपका कर्सन पटेल र बकेरी इन्जिनियर्सका अनिल बकेरी थिए । सीआईआईले मोदी र सबै गुजरातीको अपमान गरेको भन्दै सीआईआईबाट आफूहरू अलग्गिने भन्दै यस संस्थाले चेतावनीसमेत दियो । आरजीजीले गुजरातीको गर्वको कसम खाँदै सीआईआईको गुजराती चेप्टर ‘राज्यको हित रक्षामा असफल रहेको’ भन्दै सबै पदाधिकारीले राजीनामा दिनु पर्ने माग राख्यो । 

एउटा महत्त्वपूर्ण राज्य र त्यसको शक्तिशाली व्यापारिक समुदायको विरोधका कारण तरुण दास डराउनु पर्ने पर्याप्त आधारभूमि तयार भइसकेको थियो । एक सयभन्दा धेरै कम्पनीले सीआईआई छोड्ने धम्की दिए । यस्तो हुन्थ्यो भने पश्‍चिम भारतमा संस्थाको उपस्थिति शून्य हुने निश्‍चितप्रायः थियो । दिल्लीमा भारतीय जनता पार्टीको सरकारले सीआईआईका पदाधिकारीले आफ्ना मन्त्रीलाई भेट्न नसक्ने परिस्थितिको निर्माण गरिदियो । यसबाट संस्थालाई गहिरो धक्का लाग्‍नु स्वाभाविक थियो ।

दास त्यति बेलाका अर्थमन्त्री र मोदीका नजिकका साथी अरुण जेटलीसँग पुगे । उनले परिस्थितिमा सुधार ल्याउन सकिन्छ कि भनेर प्रयास गरे । दुई घण्टासम्म जेटलीको घरमा भएको कुराकानीमा जेटलीले दाससँग सीआईआई र त्यसको मनसायसँग जोडिएका अनेकौँ प्रश्‍नको डंगुर लगाइदिए । त्यसपछि बल्ल उनले यस विषयमा मोदीसँग कुरा गर्ने आश्‍वासन दिए । मोदी छिट्टै जेटलीको घरमा खाना खान आउने कार्यक्रम थियो ।

केही दिनपछि जेटलीले दाससँग परिस्थिति सहज बनाउन सकिने बताए । सीआईआईले मोदीसँग औपचारिक रूपमा माफी माग्‍नु पर्ने उनको भनाइ थियो । उनलाई अप्ठेरो महसुस भए पनि उनी जेटलीले भनेजस्तै गर्न आतुर र विवश थिए । यो कुरा उनले अवकाशपछि बिजनेस टुडेलाई दिएको अन्तर्वार्तामा सार्वजनिक गरेका छन् ।

दासले भनेका थिए, ‘जुन साँझ म मोदीलाई भेट्न जाँदै थिएँ, मेरी पत्‍नीले मलाई बीचमै रोक्दै भनिन्, ‘तपाईंले यस्तो गर्न मिल्दैन... हाम्रा नजिकका मित्रहरूमा अनु आगा, अजीम प्रेमजी, जमशेद गोदरेज र मुस्लिम र पारसी समुदायका कयौँ व्यक्ति छन् ।’ त्यति बेला मेरो उत्तर थियो– मसँग जम्मा दुइटा विकल्प छन् । कि मैले पद त्याग्‍न तयार हुन पर्‍यो कि त म यो गर्दिनँ भनेर भन्‍न सक्नु पर्‍यो, होइन भने मैले मेरा सदस्यहरूको रक्षा गर्नैपर्ने हुन्छ ।’

दासले आफ्नो जवाफलाई माफी नमागेको शैलीमा पेस गर्नुलाई नै श्रेयकर ठाने । उनले भने, ‘त्यो माफी पत्र थिएन । तर, हामीलाई के आशंका थियो भने मिडियाले त्यसलाई यसैगरी पेस गर्नेछ ।’ तर, अहमदाबाद गएर उनी स्वयंले मोदीलाई चिठी दिए । चिठीले आफ्नो कथा आफैँ भन्छ– ‘हाम्रो अभिव्यक्तिले तपाईंलाई ठेस पुग्‍न गयो र जति पीडा भयो, त्यसका लागि सीआईआईका हामी सबै साँच्चै दुःखी छौँ । ६ फेब्रुअरीपछि सिर्जित अवस्थाका प्रति म गहिरो दुःख व्यक्त गर्छु । यसै दिन दिल्लीमा हाम्रो भेटघाट भएको थियो ।’ यो मेलमिलापलाई अघि बढाउँदै तीन महिनापछि सीआईआईले लगानीकर्ताका साथ मोदीको पहिलो अन्तर्राष्ट्रिय भेटघाट ज्युरिखमा भएको ‘विश्‍व आर्थिक मञ्‍च’ मा आयोजित गर्‍यो । 

सन् १९८०को अन्त्यमा लिइएको मोदीको तस्विर । तिनताका उनी गुजरातमा बीजेपीको संगठन सचिव थिए । तस्बिरः इन्डियन एक्सप्रेस

सीआईआईका एकजना पूर्वअधिकारीले मसँग भने, ‘समयको पदचापसँगै मोदीले एक–एक गरेर व्यापारिक समुदायका सबैमाथि जित हासिल गरे । पहिले–पहिले बजाज र गोदरेजले बोल्दा, मोदीका खिलाफमा बोल्ने मुख्यगरी पारसी समुदायका मानिस रहेछन् भनेर सबैले लख काटे । पारसी समुदायले असुरक्षित महसुस गरिरहेको सबैबीच आम धारणाजस्तै बन्यो । मोदीविरुद्धको प्रतिरोधलाई सबैले यसै अर्थमा बुझे । मोदीले यो आभास गरेरै भाईब्रेन्ट गुजरातको एउटा समारोहमा रतन टाटालाई अटलबिहारी वाजपेयीका हातबाट पुरस्कार दिन लगाए । काम तमाम । यस मामिलामा मोदी असाध्यै बाठो र धूर्त छन्, तपाईंलाई त थाहा छँदै छ । उनी आफ्नो तासका पत्ता आरामले खेल्छन् ।’ 

(२)
नरेन्द्र मोदीको कथा कयौँ त्यस्ता संस्थाहरूको कथा हो, जसको मातहत उनी पालित–पोषित र प्रशिक्षित भए । गत आधा शताब्दीमा उनको संस्थाको राजनीतिक उदय र त्यसका बीच मोदीको अग्लिँदै गरेको कदको कथा हो, यो ।

मोदीका लागि यी सबैमा पहिलो र सबैभन्दा महत्त्वपूर्ण संस्था ‘राष्ट्रिय स्वयंसेवक संघ’ हो । यो त्यही संस्था हो, जसले उनको निर्माणमा र उनको वैश्‍विक वैचारिकीलाई निश्‍चित आकार दिन महत्त्वपूर्ण भूमिका खेल्यो । यसका साथै यसले उनको राजनीतिक महत्त्वाकांक्षालाई पनि शिखरमा पुर्‍याएको छ । 

मोदीका लागि सबैभन्दा महत्त्वपूर्ण संस्था ‘राष्ट्रिय स्वयंसेवक संघ’ हो । यो त्यही संस्था हो, जसले उनको निर्माणमा र उनको वैचारिकीलाई निश्‍चित आकार दिन महत्त्वपूर्ण भूमिका खेल्यो । यसका साथै यसले उनको राजनीतिक महत्त्वाकांक्षालाई पनि शिखरमा पुर्‍यायो । 

सन् १९२५ मा स्थापित आरएसएस अथवा संघले आफ्नो स्थापनापछिका दशकमा निरन्तर उग्रवादी हिन्दुत्वलाई बढावा दिँदै आइरहेको छ । अथवा के भन्‍न सकिन्छ भने यस संगठनले गान्धीको अहिंस्रक र सहिष्णु हिन्दुत्वलाई समेत चुनौती दिइरहेको छ । ठ्याक्कै यति नै बेला आरएसएसले कट्टर धार्मिक राष्ट्रवादको प्रचार गर्‍यो र त्यसैको जगमा उभिएर आज देशलाई हिन्दू राष्ट्रका रूपमा परिभाषित गर्नुपर्ने भनिँदै छ । यो भारतीय राष्ट्रिय कांग्रेसको धर्मनिरपेक्ष राष्ट्रवादको ठीक विपरीत थियो । स्वतन्त्रता र विभाजनसम्म आई पुग्दा गान्धी र कांग्रेसप्रति हिन्दू दक्षिणपन्थीको खेमाभित्र यति घृणा फैलिसकेको थियो कि आरएसएसका नाथुराम गोड्सेले सन् १९४८ मा गान्धीको हत्या गरिदिए । जवाहरलाल नेहरूले आरएसएसलाई प्रतिबन्ध लगाइदिए । त्यसपछि २० हजारभन्दा धेरै आरएसएसका कार्यकर्ता गिरफ्तारीमा परे ।
सन् १९४९ मा प्रतिबन्ध फुकुवा भयो । तर, चार दशकदेखि अस्तित्वमा रहेको यसले आफूलाई भूमिगत संगठनको स्वरूपमा रूपान्तरित गरिसकेको थियो । गुजरातमा यसलाई फलाउने–फुलाउने जिम्मेवारी पाए शान्त र मिहिनेती स्वभावका लक्षमणराव इनामदारले । आरएसएसमा ‘वकील साहाब’ का नामले प्रसिद्ध इनामदारले यसलाई खुरु–खुरु अघि बढाए । इनामदारले राज्यभरि शाखा विस्तारमा ठूलो योगदान पुर्‍याए । उनैले तयार पारेका स्थानीय कार्यकर्तामाझ एकजना आठ वर्षीय बालक वडनगरको सानो तर पौराणिक महत्त्व राख्‍ने शहरको शाखामा जोडिन आइपुग्यो । उसको नाम थियो– नरेन्द्र मोदी ।

सन् १९९१को डिसेम्बरमा आयोजित देशव्यापी एकता यात्राका क्रममा, बीजेपी अध्यक्ष मुरली मनोहर जोशीका साथ मोदी । तस्बिरः इन्डियन एक्सप्रेस

सन् १९४४ मा वडनगरको यस शाखाको स्थापना गरेका थिए– बाबुभाइ नायेक नामका अध्यापकले । उनी महाराष्ट्रका ती कयौँ कार्यकर्तामध्ये एक थिए, जो देशैभरि पुगेर शैक्षिक संस्थानमा अध्यापनका लागि छिर्थे र युवालाई आरएसएसमा भर्ती गर्थे । गान्धीको हत्यापछि नायेकले शान्तिपूर्वक आफ्नो काममा ध्यान दिन थाले । तर, उनी कहिलेकाहीँ राज्यका नेता अर्थात् वकिल साहाबलाई भेट्न पनि पुग्थे । खासमा उनी भर्ती गरिएका नयाँ कार्यकर्तालाई कसरी प्रशिक्षित गर्न सकिन्छ भनेर चासो राख्थे । सन् १९५८ मा तिहारमा जति केटाकेटी वकिल साहाबसँग बाल स्वयंसेवकको सपथ लिन लाइनमा उभिएका थिए । तीमध्ये एक नरेन्द्र मोदी पनि थिए ।

नरेन्द्र मोदीका जेठा दाइ सोमभाइ मोदीले मलाई भने, ‘नरेन्द्र सधैँ केही नयाँ गर्न चाहन्थ्यो । ती सबैथोकभन्दा धेरै, जुन हामीहरू प्रायः घर र स्कुलको काम भनेर गर्ने गर्छौं । आरएसएसको शाखाले उनलाई त्यही अवसर दियो ।’

दामोदर मूलचन्द मोदी र उनकी पत्‍नी हीराबेनका ६ केटाकेटीमा मोदी साहिँला थिए । यो परिवार जात–व्यवस्थाको श्रेणीक्रममा तल्लो स्थान ओगट्ने ‘घाँची’ जातको हो । यस जातका मानिस मध्यकालीन शहर वडनगरको साँघुरा र जेलिएका गल्लीहरूभित्र बसोबास गर्थे । घाँची जातका मानिस परम्परागत रूपमा तेल पेल्ने र बेच्‍ने गर्छन् । तर, आफ्नो ठूलो परिवारलाई चलाउनका लागि दामोदर मूलचन्द मोदी वडनगर रेलवे स्टेसनमा चिया पनि बेच्थे । उता हीराबेन भने केटाकेटीसँगै तेलको कोल सञ्‍चालन गर्थिन् । वडनगरमा आयुर्वेदिक उपचारकेन्द्र चलाइरहेका मोदीसँगै विद्यालय पढेका डाक्टर सुधीर चौधरी भन्छन्, ‘बिहान नरेन्द्र रेलवे स्टेसनमा आफ्ना बुबालाई सघाउँथे र विद्यालयको घण्टी लाग्‍नासाथ रेलको लिक पल्लोपट्टि रहेको कक्षामा आउने गर्थे ।’

मोदीले वडनगरको प्रवेशद्वारसँगै जोडिएको गुजराती मिडियमको विद्यालय भगवताचार्य नारायणाचार्य हाई स्कुलमा पढेका हुन् । मोदीका संस्कृतका अध्यापक रहेका प्रल्हाद पटेलले मसँग भने, ‘मेरो मानसपटलमा मोदी एक साधारण छात्रका रूपमै छन् । तर, उनको बहस र रंगमञ्‍चमा विशेष चाख थियो । मैले स्कुलमा छलफल क्लब बनाएँ । मलाई अझै पनि सम्झना छ, मोदी त्यसको नियमित विद्यार्थी थिए ।’ सुधीरले मसँग भने, ‘क्लास सकिएपछि हामीहरू प्रत्येक साँझ आ–आफ्ना किताब घरमा राखेर सोझै शाखामा जान्थ्यौँ ।’ 

सोमभाइले मसँग भने, ‘आमाबुबालाई सहयोग गर्ने र स्कुल जाने बाहेकको अर्को काम भनेकै शाखा जाने हुन्थ्यो । र, यी सबै काममध्ये उसले पहिलो महत्त्व शाखालाई नै दिन्थ्यो । नरेन्द्रले नुन र तेल खान छोड्दा हामीलाई लाग्यो, यो साधु बन्‍ने अभियानमा रहेछ ।’

उनको दाइले भनेजस्तै, ‘सबै थोकभन्दा धेरैको खोजीमा युवा मोदीलाई आरएसएसले एउटा उद्देश्यपूर्ण भावना र दिशा प्रदान गर्‍यो । तर, फेरि पनि एउटा पुरोहितझैँ बाँच्‍ने कि हिन्दुत्वको विकासका लागि कार्यकर्ताका रूपमा बाँच्‍ने भन्‍नेमा मोदी अझै स्पष्ट थिएनन् । यसैबीच उनको परिवारले उनको विवाहको जोरजाम आरम्भ गर्‍यो । यो वडनगरको घाँची जातको परम्परामा आधारित थियो । विवाह तीन चरणमा सम्पन्‍न हुने तय थियो । यसको सुरुआत तीन–चार वर्षको उमेरमै सगाईबाट हुने गर्थ्यो । त्यसपछि एउटा धार्मिक आयोजन अर्थात् विवाह १३ वर्षको उमेरमा हुने गर्थ्यो र १८ देखि २० वर्षको उमेरमा गौना (सहवास) हुने गर्थ्यो । यो सबै निर्णय आपसी दुई परिवारका बीचमा तय गर्ने गरिन्थ्यो । मोदीको सगाई उनीभन्दा तीन वर्षले कान्छी जशोदाबेन चिमनलालसँग भयो । उनी नजिकैको ब्राम्ह्णवाडा गाउँकी थिइन् । सोमभाइले मलाई भनेअनुसार उनले १३ वर्षको उमेरमै विवाहको सम्पूर्ण कर्म पूरा गरिसकेका थिए । तर, ठूलो उद्देश्यको खोजीमा मोदी बीच्चमै हिमालयतर्फ लागे । यता उनकी पत्‍नी र दुई परिवार अनिश्‍चयको भुमरीमा मडारिन पुगे । 

वरिष्ट बीजेपी नेता कांशीराम राणा, केशुभाई पटेल र शंकरसिंह वाघेला (वायाँदेखि दाया)का साथ मोदी । –शैलेश रावल/द इंडिया टुडे ग्रुप 

त्यति बेला के भएको थियो भन्‍नका लागि सबैभन्दा उपयुक्त पात्र मोदी स्वयं हुन् । कतिसम्म भने उनको परिवारलाई पनि उनी कहाँ छन् भन्‍ने तीनताका थाहा थिएन । सोमभाइले सम्झँदै भने, ‘ऊ कहाँ अलप भयो भन्‍ने हामीलाई केही थाहा थिएन । त्यसको दुई वर्षपछि ऊ अचानक एक दिन देखा पर्‍यो । उसले आफ्नो संन्यास समाप्त गरेर अहमदाबादमा रहेका काका बाबुभाइको क्यान्टिनमा काम गर्ने निर्णय सुनायो ।’

केही समयसम्म अहमदाबादमा मोदीले बस स्ट्यान्ड नजिकै रहेका काकालाई क्यान्टिन चलाउन सघाए । त्यसपछि गीता मन्दिर नजिकै साइकलमा आफ्नै चियाको पसल खोले । तत्कालीन समयमा अहमदाबादमा रहेका एकजना वरिष्ठ संघ प्रचारकले सम्झँदै भने– त्यति नै बेला मोदीले संघमा फर्किने निर्णय लिए । यद्यपि अरु कयौँझैँ यी प्रचारकले पनि मोदी रिसाउने पो हुन् कि भन्‍ने डरले नाम नछाप्‍न भने । उनले भने, ‘बिहानको शाखाबाट फर्किएपछि केही प्रचारक उनी भएको ठाउँ चिया पिउन जान्थे । वडनगर शाखाको पृष्ठभूमि भएकै कारण मोदीले उनीहरूलाई प्रभावित पारे । लगत्तै उनी आफ्नो झोली–तुम्बा बोकेर आरएसएसको मुख्यालय पुगे र त्यहाँ सहायकका रूपमा काम गर्न थाले ।

आफ्नो जीवनी लेख्‍ने आधिकारिक व्यक्ति एमवी कामथसँग मोदीले भने, ‘वकिल साहाबले आफूसँगै जोडिने गरी जब मलाई बोलाउनु भयो (गुजरातमा आरएसएसको मुख्यालय हेडगेवार भवनमा), म त्यहाँ पुगेँ । उहाँ १२–१५ जनाका साथ बस्‍नुहुन्थ्यो । संघ कार्यालयमा काम गर्दै गर्दा एक दिन मलाई लाग्यो, यही नै मेरा लागि उपयुक्त ठाउँ हो ।’ मोदीले भने जस्तै उनको दैनन्दिन काम प्रचारकका लागि बिहानै चिया–खाजा तयार पार्नु र एउटा सग्लो घर, जसमा आठदेखि नौवटा कोठा थिए, त्यसको सर–सफाइ गर्नु थियो । ‘मैले त्यहाँ कुचो लगाउने, भुइँ पुछ्ने, वकिल साहाबका र आफ्ना लुगा धुने काम गर्नु पर्थ्यो... कम्तीमा एक वर्षसम्म यो मेरो दैनिक काम थियो । यति नै बेला मैले त्यहाँ धेरै जनालाई भेट्न पाएँ ।’ हेडगेवार भवनमा मोदीको बसाइ संघ, गुजरात र देशभरका लागि एउटा महत्त्वपूर्ण कालखण्ड थियो । यसै कालखण्डमा संघले आफ्नो कट्टरपन्थी भूमिगत सम्प्रदायिक छवि त्याग्यो र वैधानिक तथा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उदायो । 

अहमदाबादस्थित एकजना प्रतिष्ठित वैज्ञानिक त्रिदीप सुह्रदका अनुसार गुजरातमा आरएसएस ‘मौलाउनु’ का मुख्य ‘चार कारण’ थिए । ‘पहिलो– सन् १९७४ को नवनिर्माण आन्दोलन । यो मुख्यगरी इन्जिनियरिङ कलेजको विद्यार्थी आन्दोलन थियो । होस्टेलमा दिइने खानाको मूल्य वृद्धि गरिएको थियो र त्यसको खारेजीको माग राख्दै आन्दोलन संगठित भएको थियो । तर, लगत्तै यो राज्यको चरम भ्रष्ट सरकारका विरुद्ध राज्यव्यापी विद्यार्थी आन्दोलनमा परिणत भयो । दोस्रो– संकटकाल थियो । इन्दिरा गान्धीका खिलाफ संगठित भएका गान्धीवादी र समाजवादीको महागठबन्धनमा आरएसएसले सक्रिय भूमिका खेल्यो । तेस्रो– परोपकारमा आरएसएसको भूमिका थियो । सन् १९७१ मा फैलिएको महामारीमा संघले आफ्ना कार्यकर्तालाई परिचालन गरी परोपकारी कर्मलाई अघि बढायो । त्यसपछि सन् १९७९ मा मच्छु नदीको बाँध भत्कियो र हजारौँ मानिस मारिए । त्यति बेला पनि आरएसएसले त्यस्तै गर्‍यो । आफ्नो शासनकालमा इन्दिरा गान्धीले राजा–रजौटालाई दिइएको पदवी र आर्थिक सहयोग रोक्का गरिन् । त्यसकारण ती राजा–रजौटा त्यस्तो शक्तिको खोजीमा थिए, जो इन्दिराका विरोधी हुन् । अन्ततः संघलाई राज्यका राजा–रजौटाको समर्थन प्राप्त भयो ।

आरएसएस गुजरातमा मोदीले छिट्टै महत्त्वपूर्ण जिम्मेवारी पाए । उनले हेडगेवार भवनमा आउने चिठी–पत्र पनि खोल्ने गर्थे । यसै क्रममा मोदीलाई एक महिने ट्रेनिङ क्याम्पमा भाग लिन आरएसएसको राष्ट्रिय मुख्यालय नागपुर पठाइयो । संघमा आधिकारिक पद र जिम्मेवारीका लागि जो कोहीले पनि यो तालिम लिनु अनिवार्य छ । एकजना वरिष्ठ प्रचारकले मसँग भने, ‘आरएसएसमा तपाईंको कुरालाई गम्भीरतापूर्वक लिनका लागि पहिलो श्रेणीको यो तालिम अनिवार्य हुन्छ । मोदीले यो तालिम २२–२३ वर्षकै उमेरमा पूरा गरिसकेका थिए ।’ त्यसपछि मोदीलाई गुजरातमा आरएसएसको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीवीपी) को संघ प्रचार इञ्‍चार्ज बनाइयो । संकटकालमा उनी यही पदमा कार्यरत थिए । खुला मोर्चामा काम गर्ने एबीवीपीजस्तो संगठनमा संघ प्रचारक तथा इञ्‍चार्जले भने भूमिगत शैलीमा काम गर्नुपर्छ । यस्ता पदाधिकारीहरू सबैको नजरबाट जोगिएर काम गर्छन् । तर, मोदीको शैली यस्ता बन्देजका पर्खाल नाघ्दै अघि बढिरहेको थियो ।

सन् १९७० को दशकमा गुजरात एबीवीपीका सदस्य रहेका एकजना वरिष्ठ प्रचारकले मसँग भने, ‘निकै सानो–सानो कुरामा पनि मोदीको दृष्टिकोण स्पष्ट थियो । लाग्थ्यो– उनी मानिसको ध्यान आफूतिर आकर्षित गर्ने प्रयास गरिरहेका छन् । त्यसैकारण उनीप्रति संघका नेताहरूको दृष्टिकोण पनि संशयपूर्ण थियो । संघका नेताहरूले उनको यो शैली मन नपराउनु स्वाभाविक थियो ।’

प्रचारकले संकटकालका क्रममा भएको त्यस्तै एउटा घटनाको उल्लेख गरे । ‘हामीलाई (एबीवीपी) आफ्नो घर वरपर सरकारका विरुद्ध प्रदर्शन गर्न भनिएको थियो । एक दिन हामी अहमदाबादको भुल्लाभाइ चौबाटोमा मिटिङ गरिरहेका थियौँ ।’ उनले भने, ‘हामीले सरकारका खिलाफ बोल्नु पर्ने थियो । तर, हामीले आफ्नो शैलीलाई पनि बिर्सन मिल्दैनथ्यो किनभने यही नै संघको कार्यशैली थियो । प्रहरी र गुप्तचरको हामीमाथि निगरानी थियो । छलफल चलिरहेकै बेलामा नरेन्द्र भाइ त्यहाँ आइपुगे । उनी हाम्रो शैली देखेर भड्किए । दौडेर मञ्‍चमा पुगे र माइक समाएर चर्को–चर्को स्वरमा भाषण गर्न थाले । उनले सरकारका विरुद्ध चरम आक्रोश प्रदर्शन गर्दै अपशब्दसमेत प्रयोग गरे ।

१ मार्च २००२मा अहमदाबादमा उर्लिएको भीड । मनीष स्वरुप/एपी फोटो 

उनले भने, ‘आम मानिसलाई मोदीको भाषणले अपिल त गर्‍यो । तर, त्यस रात हेडगेवार भवनमा आरएसएसका वरिष्ठ नेताले मोदी र उनको घातक शैलीको कठोर आलोचना गरे । एउटा भूमिगत कार्यकर्ता सार्वजनिक रूपमा प्रकट हुनु संगठनको नीति विपरीत थियो । नेताहरूले भने– तिमीले सार्वजनिक मञ्‍चमा बोल्ने त परको कुरा त्यहाँ जानसमेत हुँदैनथ्यो । छलफल असफल भएर केही फरक पर्दैन । तर, आफ्नो भूमिकाप्रति तिम्रो अनुशासन र आज्ञाकारिता सबैभन्दा माथि हुनुपर्छ ।’

संघ र यसको विचारधाराप्रतिको निष्ठा मोदीसँग मेल खाँदैनथ्यो । किनभने संघको सांगठनिक संरचनामा समूह र त्यसले गर्ने निर्णय व्यक्तिभन्दा माथि हुने गर्छ । संगठनले व्यक्तिको आवेग र आक्रोशलाई नियन्त्रणमा राख्‍न सिकाउँछ । त्यसैगरी नेतृत्वले स्थापित गरेको ‘प्रोटोकल’ को सम्मान गर्नु यसका लागि सबैभन्दा अहंको विषय हो ।

शंकरसिंह वाघेला, आरएसएस र बीजेपीमा मोदीभन्दा वरिष्ठ नेता थिए । पछि उनी गुजरातका मुख्यमन्त्री पनि बने । वाघेला, मोदीका कट्टर प्रतिद्वन्द्वी थिए । उनले स्मरण गर्दै भने, मोदी जति बेला युवा थिए, त्यति बेला पनि उनले आरएसएसको कार्यशैलीलाई शिरोपर गर्दैनथे । वाघेलाले भने, ‘ढिलासम्म सुत्‍ने बानीले गर्दा अधिकांश बिहान उनी शाखामा हुँदैनथे । उनी सधैँ समूहमा सहभागीहरूभन्दा म भिन्‍न छु भनेर देखाउने प्रयास गर्थे । हामीले लामबाउले कुर्ता लगाउँदा उनले आधाबाउले कुर्ता लगाउँथे । हामीले खाकी कट्टु लगाउँदा उनले सेतो कट्टु लगाउँथे । र, गोलवलकर आएको दिन पनि मलाई राम्रै गरी सम्झना छ । गोलवलकरले सबैका अघिल्तिर मोदीसँग दाह्री किन राखेको भनेर सोध्नुभयो।’

मोदीमा अनुशासनको कमी हुँदाहुँदै पनि उनी प्रतिष्ठित थिए । नेतृत्वले उनलाई कुनै जिम्मेवारी दिँदै गर्दा, यो काम जसरी पनि सम्पन्‍न हुन्छ भनेर उनीहरू निश्‍चिन्त हुन्थे । एकचोटी संकटकालको बेलामा गोप्य रूपमा संघले केही प्रकाशन गर्नु पर्ने भयो । त्यति बेला ती सबै छाप्‍नका लागि गुजरात पठाइयो । मोदीले कयौँ भाषामा लाखौँ पर्चा छपाए र ती सबै गोप्य ढंगले देशभरिका शाखामा पठाइदिए । यस्तै अर्को परिघटनामा संघका लागि खुला मोर्चामा रहेर काम गर्ने विश्‍व हिन्दू परिषद्ले गुजरातमा राज्यव्यापी सम्मेलनको आयोजना गर्दा मोदीलाई सम्मेलनको योजना र आयोजकको जिम्मेवारी दिइयो । त्यस क्रममा उनकै निगरानीमा निकै धेरै रकम पनि राख्‍नु पर्ने भयो । यति धेरै नगद रकम कसरी सुरक्षित राख्‍ने होला भनेर परिषद्का नेताहरू चिन्तित थिए । तर, मोदीले गाउँले तर व्यवहारिक समाधान झिके । उनले भुइँमा खाल्डो खनेर पैसा राखे र त्यसमाथि आफ्नो विस्तरा लगाएर सुते । 

आरएसएसका लागि केही वर्षमै मोदी सफल आयोजक र कार्यकर्ताका रूपमा दरिन पुगे । उनको कौशल गुजरात आरएसएसका लागि अनिवार्य बनिसकेको थियो । तर, मोदीलाई भने संघको म्यानेजरदेखि नेता बन्‍नका लागि धेरै कुरा सिक्नु पर्ने आभास भइरहेको थियो । संकटकालका क्रममा उनले जति पनि वरिष्ठ नेतालाई सहयोग गरेका थिए, त्यसमध्ये कयौँ संसद् र विधानसभामा पुगिसकेका थिए । बाँकी रहेकाहरू भारतीय जनता पार्टीको गुजरात सरकारमा मन्त्री बनिसकेका थिए । त्यसपछि मोदी आरएसएस मुख्यालय नागपुर पुगे र अतिरिक्त दुईवटा तालिम सम्पन्‍न गरे । वरिष्ठ प्रचारकले मलाई भने, ‘उनी महत्त्वाकांक्षी थिए । उनलाई थाहा थियो, श्रेणी दुई र तीनको तालिम सम्पन्‍न नगरी, न उनी बीजेपीमा पुग्‍न सक्छन्, न त ठूलो नेता नै बन्‍न सक्छन् ।’

संकटकाल समाप्त भएको एक वर्षपछि सन् १९७८ मा मोदीलाई गुजरातको ६ जिल्लाको आरएसएस प्रचारक इञ्‍चार्ज बनाइयो । लगत्तै तीन वर्षपछि बढुवा भयो । तिनताका उनी जम्मा ३१ वर्षका थिए । त्यसपछि फेरि बढुवा भयो । यति बेलासम्म उनी समग्र गुजरातमा संघका लागि खुला मोर्चाबाट काम गर्नेहरूका बीच सम्पर्क व्यक्ति बनिसकेका थिए ।

(३)
आरएसएसभित्र मोदीको उदय निकै तीव्र गतिले हुँदै थियो । तर, वास्तविक राजनीतिक शक्ति हासिल गर्नका लागि उनी आरएसएसको विशुद्ध विचारधारात्मक क्षेत्रबाट बाहिर निस्किएर बीजेपीमा पुग्‍नुपर्ने थियो । सन् १९८७ मा उनलाई गुजरातको संगठन सचिव नियुक्त गरिएसँगै यसको पनि सुरुआत भयो । राज्यको संगठन सचिव त्यस्तो व्यक्ति हुने गर्छ, जसले बीजेपीलाई दिशा निर्देश गर्छ । यस पदमा हुने व्यक्ति बीजेपी राज्यको राष्ट्रिय अध्यक्षजस्तो लोकप्रिय अनुहार हुँदैन । आरएसएस संगठन सचिवको जिम्मेवारी गोप्य ढंगले पार्टीलाई सञ्‍चालन गर्ने र नियन्त्रण गर्ने हुन्छ । यस पदमा भएको व्यक्तिले आरएसएस र यसका खुला राजनीतिक शाखाहरूका बीच ‘पुल’ को काम गर्ने गर्छ ।

सन् २०१२मा लिइएको गुलबर्ग सोसाइटीको भग्नावशेष । यहाँ ७० जना मुस्लिमको हत्या गरिएको थियो । –शरण गोयल/क्याराभान 

गुजरातमा मोदी आठ वर्ष संगठन सचिवको जिम्मेवारीमा रहे । संयोग नै भन्‍नु पर्छ, यति नै बेला राज्यमा बीजेपीको अभूतपूर्व विकास भयो । सन् १९८५ मा बीजेपीसँग ११ सिट थियो । तर, एक दशकपछि पार्टीले एक सय २१ सिटमा विजय हासिल गर्‍यो । भलै राज्यमा पार्टीका दुई वरिष्ठ नेता केशुभाइ पटेल र शंकरसिंह वाघेला थिए । दुवै बीजेपीका अध्यक्ष रहिसकेका थिए । तर, समयले कोल्टे फेर्दै थियो । मोदी राज्यमा शक्तिको तेस्रो केन्द्र बनिसकेका थिए । मोदीले शक्तिको यही स्रोतमा टेकेर कोसँग गठबन्धन गर्ने, राज्य र केन्द्रमा उम्मेदवार कसलाई बनाउने भन्‍ने निर्णयलाई प्रभावित पार्न थालिसकेका थिए । 

यसै क्रममा गुजरातमा साम्प्रदायिक हिंसाका तीन ठूला घटना भए । हरेक हिंसामा मारिनेको संख्या अघिल्लोभन्दा धेरै हुने गर्थ्यो । सन् १९८५ मा दुई सय आठ जनाको मृत्यु भयो भने सन् १९९० मा दुई सय १९ जनाको मृत्यु भयो र सन् १९९२ मा चार सय ४१ जनाको मृत्यु भयो । राज्यमा हुने साम्प्रदायिक हिंसाले बीजेपीलाई फलिफाप भइरहेको थियो । पार्टीमा हिन्दू मतदाताको संख्या तीव्र रूपले बढ्दै थियो । साम्प्रदायिक हिंसाबाट लाभ लिन बीजेपीले ‘रोड शो’ को आयोजना गर्दै दुईवटा राज्यमा अभियान सञ्‍चालन गर्‍यो । त्यसमा मोदीले पर्दा पछाडिबाट महत्त्वपूर्ण भूमिका खेले । सन् १९८७ मा निकालिएको पहिलो यात्राको नाम ‘न्याय यात्रा’ र सन् १९८९ मा निकालिएको दोस्रो यात्राको नाम ‘लोकशक्ति रथ यात्रा’ थियो । सन् १९९० मा बीजेपी अध्यक्ष लालकृष्ण आडवाणीले अयोध्या रथयात्रा आरम्भ गरे । यसै अन्तर्गत अयोध्याको बाबरी मस्जिद ढाल्ने काम गरियो । आडवाणीले यो यात्रा गुजरातको सोमनाथ मन्दिरबाट थालेका थिए । अभियानको पहिलो चरणको सबै जोरजाम मोदीले नै गरेका थिए । त्यस लगत्तै सन् १९९१ मा मोदीले पहिलो राष्ट्रिय जिम्मेवारी पाए । बीजेपीका नवनिर्वाचित अध्यक्ष मुरली मनोहर जोशीको नेतृत्वमा हुने ‘देशव्यापी एकता यात्रा’ को आयोजक मोदीलाई बनाइयो । यो यात्रा भारतको दक्षिणमा अवस्थित तमिलनाडुबाट सुरु गरियो र श्रीनगरमा राष्ट्रिय झण्डा फहराउँदै सम्पन्‍न भयो । 

सन् १९९० को आरम्भमै हिन्दू राष्ट्रवादी आन्दोलनको उदय भइसकेको थियो । र, सँगसँगै यो डरलाग्दो राजनीतिक शक्तिमा रूपान्तरित भयो । चुनावी जालझेलमा गठबन्धनको भाग्य तय गर्नका लागि बीजेपीसँग पर्याप्त सांसद थिए । यसबीच आफ्नै खुट्टामा उभिएर केही राज्यमा उसले सरकारको नेतृत्व पनि गरिरहेको थियो । समग्रमा धार्मिक जोश बोकेको भीडलाई सडकमा उतार्न यो पार्टी पारंगत छ भन्‍ने प्रमाणित भइसकेको थियो । यसको सबैभन्दा ठूलो उदाहरण बाबरी मस्जिद र कश्मीर यात्रा नै थियो ।

प्रधानमन्त्री अटल बिहारी वाजपेयीका साथ मोदी । अजीत कुमार/एपी फोटो ।

एकता यात्राका क्रममा मोदीले नै यसको रुट तय गरे र प्रत्येक ठाउँमा समारोहको आयोजना गरे । मोदीलाई दिइएको जिम्मेवारीमा उनी खरो उत्रिए । तर, यात्रामा सहभागी पार्टी नेतालाई अझै के लाग्दै थियो भने मोदी खुरु–खुरु आदेशको पालन गर्ने व्यक्ति होइनन् । आरएसएसका एक नेताले भने– पार्टी अध्यक्ष जोशीले दिएको निर्देशनमा समेत मोदी जहिल्यै आफूअनुकूल काम गर्थे । कुराकानीका क्रममा उनले एउटा सानो घटनाबारे उल्लेख गरे– यात्रामा सामेल सबै राष्ट्रिय नेतादेखि साना कार्यकर्तासम्मले एकै साथ खाना खानु पर्छ है भन्दै जोशीले त्यसको व्यवस्थापन गर्न मोदीलाई अह्रयाए । तर, मोदी धेरैजसो त्यहाँ उपस्थित हुँदैनथे । उनले भने, ‘यात्रा बेङगलुरु पुग्दा अनन्त कुमार र मोदी त्यहाँ थिएनन् । अनन्त कुमार बेङगलुरुका नेता थिए । मोदी सबैसँग सँगै खाना खाँदैनन् भन्‍ने थाहा पाएपछि पार्टी अध्यक्ष जोशीले हामी सबैका अघिल्तिर मोदीलाई गाली गरे । ‘संगठनको अनुशासनमा कटिबद्ध हुनु भनेको पवित्र कुरालाई अंगाल्नु हो । यात्राको सबै व्यवस्थापन तिमीले नै गरिरहेको भए पनि अनुशासन तिमीमाथि पनि लागू हुन्छ ।’

सन् १९८५ देखि १९९२ सम्म राज्यमा भएका साम्प्रदायिक हिंसाले बीजेपीलाई फलिफाप भइरहेको थियो । पार्टीमा हिन्दू मतदाताको संख्या तीव्र रूपले बढ्दै थियो ।

तर, यात्रापछि गुजरात फर्किएका मोदी भने झनै स्वायत्त ढंगले काम गर्न थाले । यसैकारण उनको र शंकरसिंह वाघेलाका बीच विवाद सुरु भयो । वाघेला मोदीभन्दा १० वर्षले वरिष्ठ थिए र बीजेपीमा औधी शक्तिशाली पनि । उनी पार्टीमा फन्ड ल्याउने र धर्मनिरपेक्ष पार्टीहरूसँग गठबन्धन निर्माण गर्ने प्रमुख व्यक्ति थिए । तर, राज्यमा वाघेलाभन्दा माथि केशुभाइ पटेल थिए । राज्यमा बीजेपीको नेतृतवमा सरकार गठन हुँदा उनी मुख्यमन्त्रीका दाबेदार थिए । मोदीसँग के अपेक्षा गरिएको थियो भने उनले बीजेपी र आरएसएसका बीच ‘पुल’ को काम गर्नेछन् । तर, अरुलाई आदेश दिने र एकलौटी रूपमा काम गर्ने उनको प्रवृत्तिका कारण बीजेपीका नेताहरूबीच विवाद बढ्न थाल्यो । बीजेपीका महासचिव र प्रमुख विचारक गोविन्दाचार्यले भने, ‘उनी मिहिनेती व्यक्ति हुन् । तर, उनलाई ‘लो प्रोफाइल’ मा बसेर काम मन पर्दैनथ्यो । मोदी केशुभाइ पटेल र शंकरसिंह वाघेलाकै स्तरका हुन चाहन्थे ।’

वाघेलाले मलाई भने, ‘मोदीले बीजेपीको दैनन्दिन काममा दखल दिन थाले । जबकि पार्टी अध्यक्षका हैसियतमा त्यो मेरो काम थियो । पार्टी विधानअनुसार संगठन सचिवको काम पार्टीलाई निर्देशन दिने हुन्छ, ती निर्देशन लागू गराउने होइन ।’ 

राज्यमा यति बेला बीजेपी विपक्षमा थियो । दुवै नेताका बीच विवाद बढ्यो । पार्टीका नैतिकतावादीहरूले एक मतले पार्टीलाई निर्वाचनमा विजय हासिल गराउने लक्ष्य निर्धारण गरे । बीजेपी कार्यकर्तासँग मतदाता व्यवस्थापन गर्ने कुनै खास तालिम थिएन । उनीहरूलाई मतदातासूचीसमेत व्यवस्थित गर्न आउँदैनथ्यो । बूढा र असक्त मतदातालाई यातायातको व्यवस्था गर्नुपर्छ भन्‍ने पनि उनीहरूलाई थाहा थिएन । यसको फाइदा विपक्षले उठाउँदै आएको थियो । र, यस्ता केही खास विधि पनि थिए, जसमा अन्य पार्टीका अनुभवी कार्यकर्ता खेलिरहेका थिए । मोदी, वाघेला र पटेलले आरएसएस, विश्‍व हिन्दू परिषद्, एबीवीपीका एक लाख ५० हजार कार्यकर्तालाई तालिम दिनका लागि एक ठाउँमा भेला पारे । यो सन् १९९५ को निर्वाचन हुनु केहीअघिको कुरा हो । यसको परिणाम सोचेभन्दा आश्‍चर्यजनक निस्कियो ।

कुल १ सय ८२ सदस्य भएको विधानसभामा बीजेपीले मात्रै १ सय २१ सिट ल्यायो । यो संख्या अघिल्लो विधानसभा निर्वाचनमा पार्टीले पाएको ६७ सिटभन्दा ५४ ले बढी थियो । यो निर्वाचनमा मुख्य प्रतिद्वन्द्वी कांग्रेस ४५ सिटमा सीमित हुन पुग्यो । पार्टीले पटेललाई मुख्यमन्त्री बनायो । यहाँसम्म आइपुग्दा मोदीले आफ्नो धेरै समय पटेलसँगै बिताउन थालिसकेका थिए । वाघेला एक्लो महसुस गरिरहेका थिए । दुवै नेता मिलेर उनका विरुद्ध केही षड्यन्त्र गर्दै छन् भन्‍ने लाग्‍नु स्वाभाविक थियो । वाघेलाले मसँग भने, ‘मोदी प्रत्येक दिन केशुभाइका साथ दिउँसो र रातीको खाना खान्थे र मैले उनका विरुद्ध षडयन्त्र गर्दै छु भन्‍ने अनेकौँ कथा रचेर उनलाई सुनाई रहन्थे । अन्य विधायकसँग मलाई टाढा राखिनु पर्छ पनि भन्थे ।’ 

तर, वाघेला पनि अधीर महत्त्वाकांक्षी थिए । सन् १९९५ मा उनले बीजेपीका आधा विधायकलाई मध्य प्रदेशको एउटा रिसोर्टमा लिएर गए र पटेललाई हटाएर आफूलाई मुख्यमन्त्री नबनाउने हो भने सरकार अपदस्त गरिदिने धम्की दिन थाले । अन्ततः यसमा केन्द्रले हस्तक्षेप गर्नु पर्‍यो र अटलबिहारी वाजपेयी गुजरात आइपुगे । पटेललाई एकजना अन्य उम्मेदवार सुरेश मेहताका लागि स्थान छाड्न भनियो । मोदीलाई सजायस्वरूप बीजेपीको राष्ट्रिय सचिव बनाएर दिल्ली पठाइयो । त्यहाँ उनलाई पञ्‍जाब, हिमाञ्‍चल प्रदेश, हरियाणा, चण्डीगढ र जम्मु–कश्मीरको जिम्मेवारी दिइयो ।

सन् १९९६ को लोकसभा चुनावमा सोचेभन्दा विपरीत वाघेला पराजित भए । यसका लागि उनले आरएसएस, मोदी र पटेललाई दोष दिए । बीजेपीसँग सम्बन्ध तोडेर उनी बागी उम्मेदवारसँग नयाँ पार्टी बनाउन पुगे । मेहताको सरकार ढल्यो र कांग्रेसको समर्थनमा वाघेला मुख्यमन्त्री बने ।

दिल्लीमा निर्वासित मोदीका लागि यो कुनै चमत्कारभन्दा कम थिएन । पार्टी मुख्यालयमा बीजेपीका कयौँ राष्ट्रिय नेताहरूसँग उनको दैनिकजसो भेटघाट हुन्थ्यो । वाघेलाले रिक्त गरेको ठाउँ मोदीका लागि अवसरभन्दा कम थिएन । उनले भेटैपिच्छे नेताहरूलाई वाघेलाका बारेमा पार्टीलाई सबैभन्दा पहिले सचेत गराउने मै हुँ भनी रहन्थे । यसैकारण विडम्बना नै भन्‍नु पर्छ, परोक्ष रूपमा मोदीको कद बढिरहेको थियो । सन् १९९८ मा अटल बिहारी वाजपेयी प्रधानमन्त्री बनेपछि एक पटक फेरि मोदीको बढुवा भयो । बढुवासँगै मोदी पार्टीको राष्ट्रिय संगठनको सचिव बन्‍न पुगे । यो पदमा हुने व्यक्तिले देशभरि बीजेपी र आरएसएसका बीच सेतुको काम गर्छ ।

भारतीय जनसंघ र बीजेपीको पाँच दशकको इतिहासमा यसअघि जम्मा तीन जना मात्रै संगठन सचिव भएका छन् । विचारधारात्मक रूपले तीनै जना विशुद्ध निष्ठावान संघी थिए । मोदीभन्दा पहिले जो–जो यस पदमा आसीन रहे, उनीहरू मिडियासँग निश्‍चित दूरी कायम गर्थे र पर्दा पछाडिबाट काम गर्थे । तर, मोदी प्रसिद्धि चाहन्थे । मिडियाको चम्किलो उज्यालो चाहन्थे । सन् १९९९ मा कारगिल युद्ध र त्यसपछि वाजपेयी र जनरल परवेज मुशर्रफका बीच भएका असफल संवादका क्रममा मोदी लगातार पत्रकार सम्मेलनमार्फत टीभीमा देखिन थाले । यसबीच उनलाई आफ्नो राष्ट्रवादी जोश पनि देखाउनु थियो । यही जोश पछि उनको छविमा परिणत हुने निश्‍चित थियो । टीभीमा हुने बहसहरूमा जब उनलाई पाकिस्तानलाई कसरी जवाफ दिनुपर्छ भनेर सोधिन्थ्यो, उनी भन्थे, ‘चिकन बिरयानी खुवाएर होइन, बुलेटको जवाफ बमले दिनु पर्छ ।’ 

उता गुजरातमा कांग्रेसले समर्थन फिर्ता लिएकै कारण वाघेलाको सरकार छिट्टै ढल्यो । मुख्यमन्त्रीका रूपमा केशुभाइ पटेल आसीन भए । गुजरातमा संजय जोशी, हरेन पाण्डेया र गोवर्धन झाडापियाजस्ता युवा नेता सतहमा आइसकेका थिए र मोदी दृश्यमै थिएनन् । तर, पटेलको नेतृत्वमा बीजेपीले कयौँ स्थानीय निर्वाचन र सन् २००१ को उपनिर्वाचनमा गम्भीर पराजयको सामना गर्नु पर्‍यो । यस पछाडिको मूल कारण कच्छमा आएको भूकम्पमा पार्टीले राम्रो गरी काम गर्न नसक्नु नै थियो । यस क्रममा केन्द्रमा मोदी आफ्ना पूर्वसहयोगी पटेलका खिलाफ चुपचाप अभियान चलाउन थाले । 

सानन्द प्लान्ट बाहिर टाटा नानो । गुजरातमा टाटाको प्लान्ट स्थापना भएसँगै मोदीलाई ‘विकास पुरुष’ नाम दिइयो । जावेद राजा/इंडियन एक्सप्रेस 

तिनताका दिल्लीमा वरिष्ठ पदमा आसीन बीजेपी नेताले भने, ‘केशुभाइले पार्टीलाई कसरी असफल बनाइरहेका छन् भनेर मोदी बारम्बार वरिष्ठ नेताहरूलाई पोल लगाई रहन्थे । उनी भन्थे– केशुभाइ ‘विकास’ का बारेमा मात्रै सोच्छन्, जबकि उनले राज्यमा हिन्दुत्वको विकासका बारेमा सोच्‍नु पर्ने थियो । मोदी पार्टीका नेताहरूसँग केशुभाइको आलोचना मात्रै गरिरहेका हुन्थे । यो ठ्याक्कै त्यस्तै कुरा थियो, जस्तो उनले वाघेलाका बारेमा केशुभाइसँग भन्‍ने गरेका थिए ।’

वाजपेयीले अचानक मोदीलाई राज्यको मुख्यमन्त्री बनाई दिए । मोदीका अनुसार, ‘मुख्यमन्त्री बनाइनु, स्वयं मेरा लागि पनि आश्‍चर्यजनक थियो ।’ उनको आधिकारिक जीवनी लेखकलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘म एकजना टीभीका क्यामरा पर्सनका साथ थिएँ, त्यति नै बेला मलाई साँझ मिटिङ छ भनेर वाजपेयीको फोन आयो ।’ मोदीले भने, ‘हाम्रो भेट हुँदा उहाँले भन्‍नुभयो, ‘पञ्‍जाबी खाना खाएर तपाईंको भुँडी लाग्यो, अब आफ्नो तौल घटाउनेबारे सोच्‍नुस् । तपाईंले दिल्ली छोड्ने समय आयो ।’ मैले भने, ‘कहाँ जाउँ त ?’ उहाँले भन्‍नुभयो, ‘गुजरात जानुस् । त्यहाँ तपाईंले धेरै काम गर्नु छ ।’ उहाँले मलाई मुख्यमन्त्री बनाउन खोज्‍नुभएको छ भन्‍ने मलाई अलिकति पनि सुइँको थिएन । लगत्तै अटलजीले भन्‍नुभयो, ‘अब, तपाईं चुनाव लड्ने तयारी गर्नुस् ।’ मलाई मुख्यमन्त्री बनाइँदै छ भन्‍ने सुइँको पाएपछि मैले अटलजीलाई भनेँ, ‘यो मेरो काम होइन । म विगत ६ वर्षदेखि गुजरातबाट कटेको छु । अहिले त्यहाँका मुद्दा के हुन् भन्‍ने पनि मलाई राम्रोसँग थाहा छैन । म त्यहाँ गएर के गर्न सक्छु ? यो त मेरो रोजाइको काम होइन । मैले कसैलाई चिन्दा पनि चिन्दिनँ । ५–६ दिन बितेपछि मैले आफूलाई त्यसैका लागि संगठित गरेँ, जे पार्टी चाहन्थ्यो ।’

तर, पार्टीका अन्य नेताहरू भने मोदीले आफूअनुकूल कुरा बङ्ग्याएको बताउँछन् । उनीहरूका अनुसार मोदीले गुजरात जानका लागि न्वारानदेखिको बल लगाएका थिए । उनी दिल्ली आएदेखि नै परिस्थिति आफ्नो अनुकूल बनाउन लविङ गरिरहेका थिए । एकजना बीजेपी नेताले मसँग भने, ‘उनलाई थाहा थियो, गुजरातको पार्टी संगठनले उनलाई मुख्यमन्त्रीका लागि कहिल्यै पनि चयन गर्ने छैन । त्यसैले उनी यो काम केन्द्रका कुनै ठूला नेताबाट गराउन चाहन्थे । किनभने गुजरातका नेताहरूलाई उनी कुन स्तरको विभाजनकारी र आत्मकेन्द्रित छन् भन्‍ने थाहा थियो ।’ दिल्ली बसाइका क्रममा उनले केही सम्पादकलाई भेटेर पटेलका बारेमा नकारात्मक समाचार छाप्‍न लगाएका थिए । आउटलुकका सम्पादक विनोद मेहताले आफ्नो संस्मरणमा यस्तै एउटा भेटघाटबारे उल्लेख गरेका छन्, ‘दिल्ली पार्टी अफिसमा काम गर्दाताका एक दिन मोदी मेरो कार्यालयमा आए । उनले साथमा केही कागज–पत्र ल्याएका थिए । ती कागज–पत्रबाट गुजरातका मुख्यमन्त्री केशुभाइ पटेलले केही गलत गरिरहेको प्रस्ट हुन्थ्यो । पटेलको ठाउँमा उनैलाई मुख्यमन्त्री बनाइयो भन्‍ने मैले पछि मात्र थाहा पाएँ ।’

गुजरात बीजेपीका विधायकले निर्णयको विरोध नगरून् भन्‍नका लागि बीजेपीका तत्कालीन अध्यक्ष केशुभाइ ठाकरे मोदीका साथ गुजरात गए र उनका साथमा थिए– बीजेपीका वरिष्ठ नेता मदनलाल खुराना । यसको उद्देश्य मोदीलाई गुजरातमा सकुशल अवतरण गराउनु थियो । अर्कातर्फ आरएसएसका लागि मोदीको नियुक्ति ठूलो सफलता थियो । आरएसएसको इतिहासमै पहिलो पटक वास्तविक प्रचारक मुख्यमन्त्री बनेका थिए ।

राज्यमा वर्ष दिनभित्रै चुनाव हुने निश्‍चित थियो । मोदीले जसै गुजरातमा पाइला टेके, उनले आफ्नो महत्त्वाकांक्षा सबैलाई सार्वजनिक गरिदिए । गुजरात पुगेर मोदीले प्रेसका अघिल्तिर भने, ‘म यहाँ वन डे म्याच खेल्न आएको छु । मलाई त्यस्ता खेलाडीको खाँचो छ, जसले सीमित ओभरमा धेरै रन बनाउन सकून् ।’ त्यति बेला सायदै कसैलाई थाहा थियो होला, मोदीको ‘वन डे म्याच’ ‘टेस्ट सिरिज’ मा परिणत हुनेछ र यो खेल ११ वर्षसम्म गुजरातमा र त्यसपछि केन्द्र सरकारमा खेलिनेछ ।

(४)
७ अक्टोबर २००१ त्यही दिन थियो, जुन गुजरातका साथै समग्र संसारकै लागि महत्त्वपूर्ण हुने निश्‍चित थियो । एकातिर मोदीले गुजरातका मुख्यमन्त्रीका रूपमा शपथ लिए र अर्कोतर्फ ठ्याक्कै त्यसै दिन अमेरिका र यसका सहयोगी गठबन्धनले काबुल, कांधार र जलालाबादमा पहिलो बम खसाले । यो न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा भएको हमलाको एक महिनाभन्दा पनि कम समयमा घटित भएको थियो । विश्‍वभर एकाएक इस्लामिक जिहादको डरले सबैको मनमा घर गर्न थाल्यो । र, अमेरिकी राष्ट्रपतिले ‘आतंकवादविरुद्ध वैश्‍विक युद्ध’ को घोषणा गरिदिए । यसबाट कुनै पनि क्षेत्र अछुतो नरहने निश्‍चितप्रायः थियो । 

बीजेपी नेता एलके आडवाणी (दायाँ), पञ्जाबका मुख्यमन्त्री प्रकाश सिंह बादल (वायाँ) सँग मोदी । अजीत सोलंकी/एपी फोटो 

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले एउटा प्रस्ताव नै पास गर्‍यो । त्यसमा सदस्य राष्ट्रलाई आतंकवादलाई सहयोग गर्नेहरूका विरुद्ध अतिरिक्त कानुनी पाइला चाल्न प्रोत्साहित गरिएको थियो । सबैजसो राजनीतिक नेताहरूका लागि ‘इस्लामिक आतंकवादका विरुद्धको लडाइँ’ ले नयाँ क्षितिज खोलिदिएको थियो । यस अन्तर्गत जुनसुकै निर्णयलाई पनि सही ठहर्‍याउने मनोभावले स्पष्ट आकार ग्रहण गरिसकेको थियो ।

यता गान्धीनगरमा नयाँ शक्तिको ओत लागेर मोदी सरकार चलाउने आफ्नो कौशल विकास गर्न सम्पूर्ण शक्ति केन्द्रित गर्दै थिए । यसअघि सरकार सञ्‍चालनको उनीसँग कुनै अनुभव थिएन । त्यति मात्र होइन, उनले आफ्नो पहिलो निर्वाचन पनि लड्नु थियो । मोदीसँगै काम गरिसकेका एकजना वरिष्ठ प्रहरी अधिकृतले मसँग भने, ‘अधिकृतसँगको अधिकांश बैठकमा उनी प्रायः मौन रहन्थे । उनी कर्मचारीलाई नै बोल्न दिन्थे र प्रशासन कसरी चल्छ भनेर सिक्ने प्रयास गर्थे । उनी निकै धेरै सोच्थे । मलाई लाग्छ, उनी प्रत्येक शब्द, लय र छलफलको मस्तिष्कमा छुट्टै तस्बिर बनाउँथे ।’ यद्यपि यस क्रममा मोदीले बीजेपीका ती कयौँ वरिष्ठ नेताको विरोधको सामना गर्नु पर्‍यो, जो उनीसँग असन्तुष्ट थिए । उनका पूर्वमन्त्रीले स्मरण गर्दै भने, ‘क्याबिनेट बैठकमा उनले आफूलाई दिल्लीले नियुक्त गरेको स्मरण गराइरहन्थे । र, कसरी काम गर्ने हो भनेर बारम्बार अनावश्यक निर्देशन दिइरहन्थे ।’

दिल्लीमा स्थापित बीजेपी सरकारले इस्लामिक आतंकवादका खिलाफ अमेरिकाले थालेको अभियानलाई उसले पाकिस्तान विरोधी कदमका रूपमा बुझ्यो । वर्षको अन्त्य हुँदा नहुँदै १३ डिसेम्बरमा संसद्‍माथि भएको हमलालाई लिएर १० लाखभन्दा धेरै सैनिकलाई पाकिस्तानको सीमा नजिक पठाइयो । साथै, विदेशबाट आयात गरिने सबै सामग्रीमा सरकारले ‘युद्ध कर’ लगाई दियो । आर्जित रकमबाट सीमामा खटिएका सैनिकको रसद–पानी व्यवस्थापनमा खर्च गर्नुपर्ने थियो । यो प्रचण्ड राष्ट्रवाद र चारैतिर कुहिरोसरी फैलिएको मुस्लिमविरोधी भावनाको काल थियो । आरएसएसको विचारधारामा हुर्किएका मोदीका लागि योभन्दा राम्रो समय यसअघि कहिल्यै आएको थिएन । यो समय उनको विचारधारासँग ठ्याक्कै मेल खाँदै थियो ।

२९ फेब्रुअरी २००२ का दिन १२ वर्षकी अनिका नामकी सानी नानीले आफ्नो विद्यालयको वार्षिक सम्मेलनमा नृत्य प्रदर्शन गर्ने कार्यक्रम थियो । उनी लार्सन एन्ड टर्बो सुरतका वरिष्ठ इन्जिनियरकी छोरी थिइन् । अनिका विद्यालयको कार्यक्रममा हजुरबुबा–हजुरआमालाई जसरी पनि डाकिनु पर्ने भनेर जिद्दी गर्दै थिइन् । नातिनीको खुसीका लागि हजुरबुबा–हजुरआमा कार्यक्रमका लागि सुरत आउने भए । तर, अनिकाको विद्यालयको कार्यक्रमभन्दा दुई दिनअघि नै २७ फेब्रुअरीका दिन गोधरा हुँदै गइरहेको ट्रेनमा ५८ जनाको मृत्यु भयो । अहमदाबादभन्दा एक सय ६० किलोमिटर पर मारिनेमा कयौँ महिला र केटाकेटीसमेत थिए । यस ट्रेनमा विश्‍व हिन्दू परिषद् र यसको युवा मोर्चा बजरंग दलका कार्यकर्ता सवार थिए । यी सबै अयोध्याबाट बाबरी मस्जिद विध्वंसको १० औँ वर्षगाँठ मनाएर फर्किंदै थिए । प्रारम्भिक अनुसन्धानमा भनिएअनुसार गोधराका मुसलमानले सुनियोजित ढंगले ट्रेनको कोचमा हमला गरेका थिए ।

त्यसै राती ७२ वर्षका अहमदाबादका पूर्वसांसद एहसान जाफरीले आफ्नी नातिनी अनिकालाई फोन गरेर यो दुःखद समाचार सुनाए । जाफरी ‘गुलबर्ग सोसाइटी’ मा बसोबास गर्थे । अहमदाबादको यस क्षेत्रमा मूलतः ‘उच्च वर्गका मुसलवान’ बसोवास गर्थे । कंग्रेसका अनुभवी नेता जाफरीले अब सुरत जानु सुरक्षित छैन भन्‍ने महसुस गरे । अनिकासँग फोनमा उनले आउन नसकिने बताए । तर, अनिकाले आफ्नी आमासँग यसको गुनासो गरिन् । २८ फेब्रुअरीको दिउँसो अनिकाले फेरि हजुरबुबालाई फोन गरिन् । ‘तपाईं निस्कनु भयो त ?’ उताबाट हजुरबुबाले भने, ‘छोरी यहाँको अवस्था सहज छैन, सबै ठाउँमा उपद्रवी छन् । फोन राख सानी’ भन्दै उनले फोन राखे । त्यसपछि उनले धेरैजनालाई फोन गरे । 

गुलबर्ग सोसाइटीको वरपर ठूलो संख्यामा भीड एकत्रित भइसकेको थियो । उनीहरूसँग पेट्रोल बम, साइकलको चेन र तरवार थियो । उनीहरू ‘बदला लिनै पर्छ, लिनै पर्छ’, ‘मुसलमानलाई हलाल गर्नुपर्छ’ भनी नारा लगाइरहेका थिए । जाफरीका छिमेकीसहित कयौँ उनको घरमा शरण लिन आइपुगेका थिए । सांसद रहिसकेका जाफरीको हैसियतले उनीहरूको जीउ–ज्यान जोगिन सक्छ कि भन्‍ने उनीहरूमा झिनो आश थियो । जाफरीकी पत्‍नी जाकियाले मसँग भनिन्, ‘सहयोगका लागि उहाँले एक सयभन्दा धेरैलाई फोन गर्नुभयो होला ।’ उनले गुजरातका पुलिस महानिर्देशक, अहमदाबादका पुलिस कमीश्‍नर, राज्यका प्रधान सचिवसहित दर्जनौँलाई फोन गरेर सहयोगको याचना गरे । यस नरसंहारबाट जोगिएर भाग्‍न सफल भएका एकजना व्यक्तिले न्यायालयमा भनेका छन्– जाफरीले मोदीलाई पनि फोन गरेका थिए । फोनमा जाफरीलाई मोदीले के भने त भन्‍ने प्रश्‍नमा ती व्यक्तिले भने, ‘सहयोगको त कुरै छैन, उनले त त्यस विपरीत गाली गर्न थाले ।’ जाफरीले दिल्लीमा डेपुटी पीएम रहेका लालकृष्ण आडवाणीसम्मलाई सहयोगको याचना गरे । बीजेपीभित्र मोदीको नजिकका एकजना व्यक्ति २८ फेब्रुअरीका दिन आडवाणीसँगै थिए । उनले मलाई भनेअनुसार त्यसपछि बीजेपी नेताले मोदीको अफिसमा फोन गरेर जाफरीबारे बुझ्‍ने प्रयास गरेका थिए । 

दिउँसो २ः३० बजेसम्म भीड गुलबर्ग सोसाइटीको ढोका फोरेर भित्र छिरिसकेको थियो । त्यसपछि भीड जाफरीको घरमा बाढीसरी पस्यो । महिलाहरूको बलात्कार गरेर उनीहरूलाई जिउँदै जलाइयो । पुरुषहरूलाई ‘जय श्री राम’ को नारा लगाउन भनियो र टुक्रा–टुक्रा पारियो । केटाकेटीलाई समेत बाँकी राखिएन । यससम्बन्धी एउटा प्रतिवेदन न्यायालयमा बुझाइयो । त्यसमा लेखिएको थियो, ‘जाफरीलाई नाङ्गै बनाएर सबैका अघिल्तिर परेड खेलाइयो । त्यसपछि उनका औला र खुट्टा काटियो । त्यसपछि उनलाई जल्दै गरेको आगोमा हुत्याइयो ।’ आधिकारिक प्रतिवेदनमा गुलबर्ग सोसाइटीमा ५९ जनाको हत्या गरिएको उल्लेख छ । तर, स्वतन्त्र छानबिनमा यो संख्या ६९ देखि ७० उल्लेख गरिएको छ । जाफरीकी पत्‍नी र अन्य केही व्यक्ति माथिको कोठामा थुनिएका हुनाले उनीहरू जोगिए ।

भारतीय जन संघ र बीजेपीको पाँच दशकको इतिहासमा यसअघि जम्मा तीन जना मात्रै संगठन सचिव भएका छन् । विचारधारात्मक रूपले तीनै जना विशुद्ध निष्ठावान संघी थिए । मोदीभन्दा पहिले जो–जो यस पदमा आसीन रहे, उनीहरू मिडियासँग निश्‍चित दूरी कायम राख्थे र पर्दा पछाडिबाट काम गर्थे । तर, मोदी प्रसिद्धि चाहन्थे । मिडियाको चम्किलो उज्यालो चाहन्थे ।

मोदीले आजसम्म के बताउने गर्दछन् भने त्यस दिन साँझसम्म उनलाई प्रहरीले सूचना नदिएका कारण गुलबर्ग सोसाइटीबारे अनभिज्ञ छु । तर, त्यति बेला राज्यका डिप्टी कमीश्‍नर (इन्जेलिजेन्स) संजीव भट्टका अनुसार, ‘मोदी यसबारे झुट बोलिरहेका छन् ।’ (सन् २०११ मा भट्टलाई जागिरबाट बर्खास्त गरियो भने सन् २०१९ मा उनलाई आजीवन कारावासको सजाय सुनाइयो ।) त्यति बेला मोदी गृहमन्त्री थिए र वरिष्ठ प्रहरी अधिकारीसहित गुप्तचरको नेतृत्वका साथ भट्ट लगातार मोदीको सम्पर्कमा रहेको उनले पछिसम्म भनिरहे । त्यसैले मोदीलाई धरातलीय अवस्थाबारे पूर्ण जानकारी थियो । भट्टले मसँग भने, ‘२ बज्‍नु अघिसम्म मैले कयौँ पटक मोदीसँग कुराकानी गरेको थिएँ र गुलबर्ग सोसाइटीमा भीड एकत्रित भएको बताएको थिएँ । दिउँसो पनि भेटेर मैले त्यहाँको अवस्थाबारे प्रतिवेदन बुझाएँ र तत्कालै हस्तक्षेप गर्नुपर्छ भनेँ । 

मोदीका उपप्रधानमन्त्री गोवर्धन झडापिया (दायाँ) । शैलेश रावल/द इंडिया टुडे ग्रुप ।

तर, मोदीको जवाफ निकै अनौठो थियो । मैले भनेका कुरा उनले सुने र त्यसपछि भने– ‘संजीव जाफरीले यसभन्दा अघि कहिल्यै गोली चलाएको रेकर्ड छ कि छैन ? बुझ त ।’

भट्टले दुईजना कांग्रेस नेताहरूको उल्लेख गर्दै भने, ‘मुख्यमन्त्री कार्यालयबाहिर कोरिडोरमा अचानक पूर्वमुख्यमन्त्री अमरसिंह चौधरी र पूर्वगृहमन्त्री नरेश रावल म भएतिर आई पुगे । रावल पहिले मेरा मन्त्री रहिसकेका थिए । त्यसैले उनी मसँग कुराकानी गर्न म भएतिर आए । गुलबर्ग सोसाइटीबाट एहसान भाइले कयौँ पटक फोन गरेका गर्‍यै छन् । त्यसैले मोदीसँग भेट्न आएको उनले बताए । मैले मुख्यमन्त्रीलाई यसबारे जानकारी गराइसकेको भए पनि तपाईंले समेत उहाँलाई भन्‍नुस् भनेँ ।’ 

भट्टले भने, ‘त्यसपछि गुलबर्ग सोसाइटीमा रहेको मेरो इन्फरमर (सूचक) ले फोन गर्‍यो । उसले जाफरीले गोली चलाएको सूचना दियो । म आश्‍चर्यचकित भएँ । म कार्यालय पुग्दा मेरो टेबलमा एउटा संक्षिप्त रिपोर्ट राखिएको थियो । त्यसमा लेखिएको थियो– जाफरीले आफ्नो बचाउमा गोली चलाएका थिए । त्यसपछि बल्ल मलाई थाहा भयो, यो मान्छे (मोदी) ले मैले भन्दा पहिल्यै सूचना पाइसकेको रहेछ ।’

गुजरात दंगा, साम्प्रदायिक हिंसाको पहिलो विस्फोट थियो । हिंसा टिभीबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो । देशभरि सबैले सडकमा आतंक मच्चाउँदै गरेको युवालाई प्रत्यक्ष हेरिरहेका थिए । यी युवा मुसलमानसँग बदला लिनु पर्ने र उनीहरूले देश छाडेर जानु पर्ने माग गरिरहेका थिए । बीजेपीको केन्द्रीय नेतृत्वमा गुजरात हिंसाका कारण विभाजन देखा पर्‍यो । पार्टीको केन्द्रीय नेतृत्वले पाँच महिनाअघि मात्रै गुजरातको नेतृत्व जसको हातमा दिएको थियो, उसैका बारेमा पार्टीमा मत बाझिन थाल्यो । कट्टर नेताहरू मोदीको पक्षमा उभिए । तर, नरमपन्थीहरूलाई उदारवादी हिन्दू पछिल्लो हिंसाका कारण पार्टीदेखि टाढिने हुन् कि भन्‍ने डर थियो ।

बिनाकुनै अवरोध हिंसा भइरहेको देखेर विदेशी सरकारहरूले प्रधानमन्त्री कार्यालयमा दबाब दिन थाले । त्यसपछि अटल बिहारी वाजपेयीको गुनासो सतहमा देखिन थाल्यो । मोदी नजिकका बीजेपी नेताले मसँग भने, ‘त्यति बेला मोदी र वाजपेयीबीचको सम्बन्ध निकै तीतो थियो । मोदीलाई वाजपेयीको धुर ब्राम्हण चरित्र मन पर्दैनथ्यो । त्यसैगरी वाजपेयी मोदीलाई ‘निकृष्ट’ ठान्थे ।’ हिंसा रोक्न मोदीले पहल लिने छैनन् भन्‍ने वाजपेयीलाई आभास भइसकेको थियो । त्यसैले उनी मोदीलाई हटाउन चाहन्थे । तर, उनलाई थाहा थियो, उनकै उपप्रमुख आडवाणी र आरएसएसले भने मोदीलाई मुख्यमन्त्रीबाट हटाउने कुराको बलपूर्वक विरोध जनाउनेछ । 

मध्यमार्गी खेमाबाट मोदीलाई चुनौती दिने पहिलो व्यक्ति शान्ता कुमार थिए । उनले केन्द्रीय मन्त्री र हिमाञ्‍चल प्रदेशको मख्यमन्त्रीका रूपमा काम गरिसकेका थिए । उनले भने, ‘गुजरात हिंसाले मलाईसमेत चोट पुगेको छ र म यसबाट खिन्‍न छु ।’ साथै कुमारले बीएचपी र बजरंग दलका खिलाफ एक्सन लिनु पर्ने माग गरे । उनले घोषणा गर्दै भने, ‘मृतकको शरीरलाई भोटका रूपमा गन्‍ने व्यक्ति हिन्दू हुन सक्दैन । जो व्यक्ति रगतको खोला बगाएर गुजरातमा हिन्दुत्वलाई बलियो बनाउन लागेका छन्, उनीहरू हिन्दुत्वका दुश्मन हुन् ।’ उनको अभिव्यक्तिले आरएसएस आगो भयो । कुमारको यो बयान गोवामा हुन लागेको बीजेपीको राष्ट्रिय कार्यकारिणीको वैठकभन्दा केही साताअघि आएको थियो । मध्यमार्गीहरूकै कारण संघका पूर्णकालीन प्रचारकले मुख्यमन्त्री पद गुमाउन नपरोस् भन्‍नेमा संघका नेताहरू सचेत थिए । बीजेपी अध्यक्ष के जन कृष्णमूर्तिले कुमारलाई बोलाए । सँगसँगै आडवाणीले के घोषणा गरे भने कुनै पनि सदस्यले अनुशासनहीन काम गरेमा ऊ कारवाहीको भागी हुनेछ । कुमारलाई दुईवटा माफीपत्र लेख्‍न बाध्य पारियो । पहिलो– बीजेपीका अध्यक्ष के जन कृष्णमूर्तिलाई र दोस्रो– बीएचपीका आरएसएस इञ्‍चार्जलाई । यसका साथै कुमारलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन भनियो ।

खासमा बीजेपीका पूर्वसचिवले भने, ‘पार्टीमा पक्ष र विपक्षमा चर्को लविङ चलिरहेको थियो । अन्ततः ठाकरे, आडवाणी, मोदी र जेटलीको खेमा वाजपेयी खेमामाथि हाबी भयो ।’ तर, बीजेपीसँग गठबन्धन गरिरहेका धर्मनिरपेक्ष क्षेत्रीय पार्टीहरू भने टसको मस भएनन् । बिहारको जनता दल (युनाइटेड), तमिलनाडुको द्रविड मुन्‍नेत्र कडगम, आन्ध्र प्रदेशको तेलगु देशम पार्टी र पश्‍चिम बंगालको तृणमूल कांग्रेसले सरकारलाई समर्थन दिइरहे । १२ अप्रिल २००२ मा बीजेपीको कार्यकारिणी वैठक सुरु हुँदासम्म पार्टीका उदारवादीहरू पराजित भइसकेका थिए । वाजपेयीसँग मोदी समर्थक शक्तिलाई चुनौती दिने हिम्मत थिएन । जुन उदारवादी प्रधानमन्त्रीले एक महिनापहिले मोदीलाई हटाउनु पर्ने इच्छा व्यक्त गरेका थिए, उनले आरएसएसका अघिल्तिर आत्मसमर्पण गरिसकेका थिए । साथै, गोवाको कार्यकारिणी वैठकमा मन्तव्य राखुन्जेलसम्म वाजपेयीले पनि कट्टरपन्थी झण्डा ठड्याउनै पर्‍यो । यति बेला उनी मोदीको भाषा बोलिरहेका थिए । 

वाजपेयीले भने, ‘इन्डोनेसिया, मलेसियासहित जहाँ पनि मुसलमान छन्, उनीहरू शान्ति चाहँदैनन् । उनीहरू समाजसँग मिलेर बस्‍नजान्दैनन् । उनीहरू शान्ति चाहँदैनन्... हामीले कसैसँग धर्म निरपेक्षताको पाठ पढी राख्‍नु जरुरी छैन । मुसलमान र इसाइहरू आउनुअघि नै भारत धर्मनिरपेक्ष देश थियो ।’

सम्भवतः पहिलो पटक कुनै प्रधानमन्त्री, मुख्यमन्त्रीका अघिल्तिर लाचार देखिएका थिए । त्यसपछि वाजपेयी सधैँ डरको छायामै बाँची रहे । डिसेम्बर २००२ मा जति बेला मोदी आफ्नो पहिलो राज्यव्यापी चुनाव प्रचार गरिरहेका थिए, उनले खुलेर पार्टीसँग भने– वाजपेयी र अन्य वरिष्ठ नेताहरूले जतिसक्दो छिटो यो चुनावी प्रचारमा भाग लिनु पर्छ । बीजेपीका एक जना नेताले मसँग भने, ‘‘वाजपेयी मोदीसँग कति डराउँथे भने जब चुनाव प्रचारका लागि अरुण जेटली र उमा भारतीसँग हामी अहमदाबाद पुग्दै थियौँ, वाजपेयीले विमानमा हामीसँग भने ‘साधारणतया प्रधानमन्त्री र पार्टीका नेताहरू कुनै राज्यमा चुनाव प्रचारका लागि जाँदा त्यहाँका मुख्यमन्त्री आशाका साथ स्वागतका लागि बसिरहेका हुन्छन् । तर, यहाँ तपाईंहरूले मोदी आउँछन् र स्वागत गर्छन् भनेर नकल्पे हुन्छ । मलाई त मोदीले आमसभामा के पो भन्‍ने हो भनेर डर लागिरहेको छ ।’ वाजपेयी र हामी सबै हास्‍नथाल्यौँ । तर, वाजपेयी गम्भीर थिए ।’’

मोदीको सफलताले वाजपेयीको मनमा डर मात्रै पैदा गरेको थिएन, बितेको दशकमा मोदीले दुई पटक राज्यमा विजय हासिल गर्दै गर्दा त्यस विपरीत केन्द्रमा पार्टीले दुवै पटक पराजयको सामना गर्नु परेको थियो । यसैकारण मोदी बीजेपीमा सफलताको मानक बन्दै गए । उनको उदय पार्टीमा मध्यमार्गीहरूको खुम्चिदै गरेको स्पष्ट तस्बिर थियो ।

गुजरात दंगा, साम्प्रदायिक हिंसाको पहिलो विस्फोट थियो । हिंसा टिभीबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो । देशभरि सबैले सडकमा आतंक मच्चाउँदै गरेको युवालाई प्रत्यक्ष हेरिरहेका थिए । यी युवा मुसलमानसँग बदला लिनु पर्ने र उनीहरूले देश छाडेर जानु पर्ने माग गरिरहेका थिए । हिंसाकै कारण बीजेपीमा विभाजन देखा पर्‍यो । कट्टर नेताहरू मोदीको पक्षमा उभिए ।

गोवा कार्यकारिणी बैठकको एक दशकपछि सन् २०१२ मा मैले शान्ता कुमारलाई भेटेँ । हाल उनी पनि मोदीका प्रशंसकमा दरिन पुगेका छन् । उनले मसँग भने, ‘पहिले जे भयो, त्यो बिगतको कुरा हो । अहिले गुजरात हेर्नुस् त । गत वर्ष मात्रै मोदीजीलाई गुजरातमा भेटेँ र मैले उहाँलाई भनेँ– तपाईंले गुजरातमा जे गर्नु भयो, त्यो हामीले समग्र देशमै गर्नु पर्नेछ । अर्थात्, हिन्दुत्व र विकासलाई एकाकार गरेर अघि बढ्नु पर्नेछ । उहाँले शानदार काम गर्नु भएको छ । मोदीले गुजरातमा हासिल गरेको सफलता, एकदिन हामीले समग्र भारतमा सार्थक बनाएर देखाउने छौँ ।’

सन् २०१२ को हिउँदमा पारिलो घाम लागिरहेको थियो र म गुलबर्ग सोसाइटीको भग्‍नावशेष स्थलमा पुगेँ । भीडभाडयुक्त सडकसँगै जोडिएको सोसाइटीको प्रवेशद्वारमा फलामको गेट जिङ्ग्रिङ्ग ठडिएको थियो । यो सुकेको बूढो रुखझैँ प्रतीत हुन्थ्यो । भग्‍नावशेषमा परिणत कोलोनीभित्र म ती भवनहरू हुँदै अघि बढेँ, जसलाई मानिस ज्यान जोगाउनका लागि छाडेर भागेका थिए । ती सबै घरका झ्याल र ढोका गायब थिए । दिशा–पिसाबको गन्धले बान्ता होलाजस्तो भयो । जाफरीको घर गेट नजिकै थियो । भित्र भित्ताहरूमा धुँवा र खरानीका टाटा जीवित थिए । लाग्थ्यो, भवनमा कालो रंग–रोगन गरिएको थियो । भित्र ठ्याम्मै प्रकाश थिएन । जब म लिभिङ रुममा पुगेँ, छेवैमा बसेका कुकुर आफ्ना छाउरासँगै भुक्न थाले । जसैतसै म माथिल्लो तलामा पुगेँ । त्यसपछि म प्रत्येक कोठामा पुगे । घर भूत बंगलामा परिणत भइसकेको थियो । हिंस्रक भीडको डरमा लुटपुटिएका घरका प्रत्येक भित्ता हत्या र बलात्कारको साक्षी रहेको चीत्कार गरिरहेका थिए । तर, ती असहाय थिए ।

गुलबर्ग सोसाइटीमा भएको हत्यापछि त्यहाँ थुप्रिएका हड्डीका चाङ र आधा पोलिएका लासलाई ट्रकमा खाँदेर दुधेश्‍वरमा रहेको एउटा मुस्लिम कब्रगाहमा पुर्‍याइयो । त्यसको रेखदेख गर्ने हजरा बीवी अब ४० वर्षका भइसकेका छन् । उनले १० वर्षअघिको घटना सम्झँदै भने, निकै ठूलो खाल्टो खन्‍नु पर्‍यो किनभने एक सय ७९ जनालाई यहीँ पुरिएको थियो । उनले भने, ‘गुलबर्गबाट मात्र होइन, कयौँ ठाउँबाट कयौँ ट्रक लास ल्याइँदै थियो । मलाई अझै पनि सम्झना छ, मेरो सानो छोराले बाबा कतै भूकम्प आएको छ र भनेर सोध्यो । मैले भनेँ– ‘हो, छोरा ! भूकम्प नै आएको थियो ।’

(५)
मोदीको पुनर्जन्ममा निर्णायक मोड थियो– ‘टाटा नानो’ । यति बेला उनको छवि कट्टर हिन्दू नेताबाट व्यापार समर्थक ‘विकास पुरुष’ का रूपमा उदाउँदै थियो ।

यसको सुरुआत ३ अक्टोबर २००८ का दिन भयो । रतन टाटाले एउटा अप्रत्यासित घोषणा गरेर पश्‍चिम बंगालको सिंगुरमा रहेको फ्याक्ट्री बन्द गर्ने घोषणा गरे । उनले त्यहाँ बहुप्रचारित ‘आममानिसको कार’ बनाउने प्रोजेक्ट सञ्‍चालन गर्ने भनेका थिए । वास्तवमा विगत दुई वर्षदेखि त्यहाँका किसानले प्रोजेक्टको विरोधमा प्रदर्शन गरिरहेका थिए । चार दिनपछि टाटाले नानो प्लान्ट गुजरातबाट सुरु गरिने घोषणा गरे । टाटाको यही अभिव्यक्ति मोदीका लागि प्रचार हतियार साबित भयो । ‘जसै टाटाले बंगालमा नानो प्लान्ट बन्द गर्ने घोषणा गरे, मैले उनीसँग सम्पर्क गरेँ । मैले टाटालाई एसएमएस गरेर– गुजरातमा तपाईंलाई स्वागत छ भनेँ । उनलाई गुजरात बोलाउनु यति सहज थियो ।’– मोदी यी कुराहरू भाषणमा भन्‍न निकै आतुर रहन्थे र मौका पाउनासाथ भन्‍ने गर्थे ।

त्यसपछि चार अन्य राज्यले पनि नानोलाई जमिन दिने प्रस्ताव लिएर पुगे । तर, अन्य राज्यले मोदीले जति गर्न सक्ने कुरै थिएन । टाइम्स अफ इन्डियासँग टाटाले भने, ‘गुजरातका सीएमले निकै तदारुकता देखाए । अन्य राज्यहरूको नियत राम्रो हुँदाहुँदै पनि उनीहरूसँग कयौँ विषयको व्यवस्थापन पाटो कमजोर थियो । त्यसैले गुजरात चुन्यौँ र सबै राम्रो भयो ।’ मात्र १० दिनभित्र दुई पक्षबीच करार पत्रमा सम्झौता गरियो । 

मोदीले टाटालाई निकै उदार अफर गरेका थिए । सम्झौताअनुसार ट्याक्सका रूपमा राज्यलाई बुझाउनु पर्ने रकम पहिलो २० वर्षसम्म कम्पनीले ऋणका रूपमा आफूसँगै राख्‍न पाउने । त्यसपछि २० वर्षको समयसीमा नाघेमा ०.१ प्रतिशत ब्याजदरमा फर्काउनु पर्ने । उता टाटालाई करसम्बन्धी सम्झौता यति छिट्टै हल होला भन्‍ने लागेको थिएन । तर, यसको पक्षमा दिइने ऋणले गर्दा कम्पनीको बचत प्रारम्भिक २२ खरबको लगानीभन्दा कयौँ गुणा धेरै हुने भयो ।

कम्पनी खोल्नका लागि टाटालाई जमिनका दुइटा विकल्प दिइयो । यी दुवै जमिन पहिले गुजरात इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसन (जीआईडीसी) सँग थियो । तर, सानन्दमा टाटाले जुन प्लान्ट चयन गरे, त्यो हाइवे नजिकै रहेको किसानी जमिन थियो । टाटाले सरकारलाई त्यो जमिन खरिद गर्न भन्यो । यो मोदीका लागि दैनन्दिन कामजस्तै थियो । गुजरात पश्‍चिम बंगाल होइन भन्‍ने मोदीलाई थाहा थियो । यति हुँदाहुँदै पनि टाटासँग गरिएको सम्झौतामा किसानको विरोधले असहज स्थिति पैदा गर्न सक्थ्यो । उनलाई थाहा थियो, यति बेला बुद्धिमत्तापूर्ण पाइला चाल्नु पर्छ ।

रवुभा वाघेला, जो कांग्रेसका स्थानीय नेता थिए, उनकै भागमा हाइवेको सबैभन्दा धेरै जमिन थियो । किसानका तर्फबाट उनैले पहल गरिरहेका थिए । वाघेलाले मसँग भने, ‘मोदी र टाटाको संयुक्त घोषणाको एक दिन पहिले हामीहरू जीआईडीसीका सचिव महेश्‍वर साहुसँग मोलमोलाइ गरिरहेका थियौँ । हाम्राबीच सहमति कायम हुन सकेन । त्यसपछि साहुले यो जमिन टाटालाई दिन लागिएको भनेपछि सबै किसान एकाएक खुसी भए र राम्रो मोलका साथ आफ्नो जमिन सरकारलाई दिने सम्झौतामा हस्ताक्षर गरे ।’ जसै वाघेलाले आफ्नो ३० एकड जमिन टाटाको मोटर साइटका लागि बेचे, उनलाई मोदीले आफ्नो कार्यकक्षमा निम्त्याए । उनीहरूको भेटघाट भएको दिन द टाइम्सको स्थानीय संस्करणले वाघेलाका बारेमा एउटा स्टोरी प्रकाशित गरेको थियो । शीर्षक थियो– ‘सानन्दका सबैभन्दा धनी व्यक्ति झनै धनी भए’ ।
वाघेलाले मसँग भने, ‘मलाई देख्‍नासाथ मोदीभाइ आफ्नो कुर्सीबाट उठे र पूर्ण जोशका साथ उनले आफ्नो कार्यकक्षमा स्वागत गरे । उनले भने, रघुभाइ तपाईंको लक्ष्मी (जमिन) अब मलाई दिनुस् किनभने मेरो नजर सानन्दमा छ । हामीले यसलाई झनै शानदार र अद्भुत बनाउनु छ । दुनियाँभरिका मानिसलाई यहाँ आउन र हेर्न दिनुस् ।’

नानो प्लान्ट सानन्द ल्याउनका लागि गरिएको सम्झौताले दुनियाँको ध्यान आकर्षित गर्‍यो । जुन २०१० मा प्लान्ट उद्धाटन गरेको केही हप्तामै ‘फोर्ड र प्युजियट’ दुवै गुजरात पुगे । उनीहरू गुजरातमा आफ्नो फ्याक्ट्री निर्माण गर्न चाहन्थे । जीआईडीसीले दुई हजार दुई सय एकड जमिन अधिग्रहण गरेर फोर्ड र प्युजियटलाई उपलब्ध गरायो । सानन्दका किसानको सुरुआती विरोध छिट्टै टुङ्गियो किनभने जमिनका लागि उनीहरूले राम्रो मूल्य पाएका थिए । बजारको मूल्यभन्दा १० गुणा बढी । टाटाले जमिन किन्‍नुअघि एक एकडको मूल्य तीन लाख थियो भने जीआईडीसीले एक एकडको मूल्य ३० लाख दियो र बिक्री भएको एक हप्तामै चेक पनि उपलब्ध गरायो ।

हिरापुर ती गाउँहरूमध्ये एक हो, जहाँको जमिन किनिएको थियो । मैले बिक्कुभाइ बरोडलाई भेटेँ । ७१ वर्षका दुब्ला–पातला बिक्कुभाइले आफ्नो ४० एकड जमिन बेचेका थिए । बिक्रीबाट भएको फाइदासँगै उनले ८० एकड सस्तो जमिन, दुइटा बंगला र तीनवटा कार किनेका थिए । उनले शहरमा छोराहरूका लागि बंगला पनि किनेको बताए । 

सानन्दमा मोदीको सफलताको कथाले उनको विकास पुरुषको छवि झनै चुचुरोमा पुग्यो । छिट्टै मतदाता र व्यापारीलाई दिने भाषणमा मोदीले यसको प्रयोग गर्न थाले । तर, गुजरातमा राज्य प्रायोजित सबै औद्योगिक परियोजना राम्रो गरी अघि बढिरहेका थिएनन् । भागनगर जिल्लामा समुद्र किनारमा बसेको सानो शहर महुवामा विकाससँग जोडिएका समस्या समाधान गर्ने मोदीको प्रयासले उनका थोरै दुश्मन जन्माई दियो ।

सन् २००३ मा सरकारले गुजरातका ठूला कम्पनीहरूमा दरिएको निरमालाई सिमेन्ट प्लान्टका लागि महुवामा सात सय एकड जमिन उपलब्ध गरायो । निरमालाई दिइएको तीन सय एकड जमिनमा छहरा र जलाशय पनि थियो । त्यहाँका ५० हजार किसानले त्यसैबाट खेती र पशुपालन गर्थे । किसानले सम्झौताको विरोध गरे । मोदीले त्यसलाई खासै महत्त्व दिएनन् । तर, विरोध तीव्र हुँदै गयो र सञ्‍चारमाध्यममा यसले महत्त्व पायो । महुवाका बीजेपी विधायक कानुभाइ कलसारियाले आफ्नै मुख्यमन्त्रीका विरुद्ध मोर्चा खोलेका कारण पनि सञ्‍चारमाध्यम तातिएका थिए । ११ हजारभन्दा धेरै किसानले सम्झौताको विपक्षमा आफ्नै रगतले हस्ताक्षर गरे । हस्ताक्षरित पत्र बुझाउन पाँच हजार किसान चार सय किलोमिटर हिँडेर अहमदाबाद आइपुगे । यो मोदीका विरुद्ध चालिएको पहिलो संगठित र महत्त्वपूर्ण पाइला थियो ।

निरमा र गुजरात सरकारले खरिद गरिएको जमिन खेतीयोग्य नभएको दाबी गर्‍यो । तर, जब किसानले पर्यावरण मन्त्रालयमा यसबारे गुनासो गरे फैसला उनीहरूकै पक्षमा आयो । मन्त्रालयले प्लान्टलाई दिएको मन्जुरी रद्द गरिदियो । कथित विकास एजेन्डाका विरुद्ध किसानले दुर्लभ जित हात पारेको अर्थमा राज्यभरिका किसानले यसको खुसीयाली मनाए । बीजेपीबाट तीन पटक विधायक चुनिएका कलसारियालाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासित गरियो । अज्ञात हतियारधारी समूहले उनीमाथि हमला गर्‍यो । तर, यससँगै उनी गुजराती किसानको आवाज बन्‍न पुगे । 

सन् २००२ को हिंसालाई लिएर जति–जति बेला मोदी र उनको सरकारको आलोचना हुन्थ्यो, उनी बडो कुशलतापूर्वक त्यसलाई गुजरात र गुजरातीमाथि भएको हमलाको रूप दिन्थे । पछिल्ला केही वर्षमा निकै मिहिनतसाथ उनले राज्यमा भएको विकासको कथा अरुलाई सुनाउनका लागि अनौठो शैलीको विकास गरे । सरकारले मिडियालाई ‘बिना कुनै अवरोध’, ‘कुशल प्रशासन’, ‘तीव्र विकास’ र ‘आर्थिक विकासको संवाहक’ का कयौँ स्टोरीहरू उपलब्ध गरायो ।

हरेन पाण्डेयालाई श्रद्धाञ्जली अर्पण गर्दै मोदी । मोदी विरोधी पाण्डेयाको सन् २००३मा रहस्यमयी हत्या भएको थियो । सिद्धार्थ दर्शन कुमार/एपी फोटो ।

राज्यमा आवश्यकताभन्दा अधिक विद्युतको उत्पादन भएको भनेर मोदी अहंकार देखाउन रुचाउँछन् । ‘गुजराती चमत्कार’ सँग जोडिएका ठूला कथाहरूमा मोदी यही कुरा भन्छन् । बिजनेस टुडेदेखि सिड्नी हेराल्डसम्म उनले यही कथा भन्‍ने गरेका छन् । तर, संघको किसान युनियनदेखि आम किसानसम्मले विगत एक दशकदेखि आवश्यक विद्युत नपाएको भन्दै विरोध गरिरहेका छन् । सरकारी तथ्यांकले नै सन् २००० देखि २०१० का बीच खेतीका लागि दिइने विद्युतमा ४३ प्रतिशतले कमी आएको देखाउँछ । तीन लाख ७५ हजारभन्दा धेरै किसानले सिँचाइ पम्प चलाउनका लागि दिइने विद्युत कनेक्सनका लागि आवेदन दिएका छन् र त्यसमा अझै निर्णय हुन सकेको छैन । गुजरातको आर्थिक तथ्यांकलाई नजिकबाट नियाल्ने हो भने पछिल्लो दशकको तुलनामा यो ग्राफ झनै तल झरेको स्पष्ट हुन्छ । राज्यको जीडीपी वृद्धिले पछिल्लो दशकमा भारतलाई अलिकति पछाडि पारिदियो । तर, यो प्रक्षेपणको अपेक्षित परिणाम थियो ।

गुजरात लामो समयदेखि औद्योगिक राज्य हो । र, मोदीको नेतृत्वमा विकास दर पछिल्ला दुई दशकको तुलनामा निकै धेरै होइन । यद्यपि, मोदीले गुजरातलाई भारतीय राज्यहरूको तुलनामा पुँजी भित्र्याउने सवालमा सबैको निर्विवाद नेताका रूपमा पेस गर्ने गरेका छन् । तर, सन् २००० देखि २००९ सम्म राज्य यस मामिलामा चौथो नम्बरमा थियो भने सन् २०११ मा यो त्यहाँबाट पनि तल झर्दै छैठौँमा पुग्यो । यो श्रेणीमा महाराष्ट्र, एनसीआर, तमिलनाडु, कर्नाटक र आन्ध्र प्रदेश माथि छन् । महाराष्ट्रमा गुजरातभन्दा नौ गुणाले बढी विदेशी पुँजी भित्रिने गर्छ । त्यस्तै योजना आयोगको तथ्यांकबाट के स्पष्ट हुन्छ भने, गुजरात आर्थिक विकासमा अघि हुँदाहुँदै पनि गरिबी निवारणमा बिहार, उत्तर प्रदेश, पश्‍चिम बंगाल र आन्ध्र प्रदेशभन्दा पछि छ ।

यी तथ्यांकहरूले सायदै मोदीमाथि दोषारोपण गर्छन् होला । यसले के देखाउँछ भने आर्थिक चमत्कार गर्ने नायकरूपी उनको छवि बडो सचेततापूर्वक सामाजिक सम्बन्धको दुरूपयोग अभियानअन्तर्गत निर्माण गरिएको हो । गुजरात भारतका अन्य राज्यभन्दा विकासको मामिलामा धेरै अघि छ भन्‍ने झुठको जगमा यसलाई ठड्याइएको छ । अनौठो नै भन्‍नु पर्छ, कसैले पनि तथ्य–तथ्यांकको आधारमा यसलाई झुठो साबित गरेमा त्यसले सत्यसँग खेलवाड गरेर मोदी र प्रत्येक गुजरातीको बदनाम गरिरहेको भनिन्छ ।

(६)
१२ सेप्टेम्बर २०११ मा मोदीले तीन शब्दको ट्‍वीट गरे– ‘भगवान् महान छन् !’ नरसंहारको मामिलामा अनुसन्धान गर्नका लागि जुन विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको थियो, उसलाई सर्वोच्च अदालतले एउटा निर्देशन दियो । एहसान जाफरीको हत्या प्रकरणमा मोदीको संलग्‍नता रहे–नरेहको बारे यसले अनुसन्धान गर्ने निश्‍चितप्रायः थियो । सर्वोच्च अदालतले एसआईटीलाई यसको प्रतिवेदन तल्लो न्यायालयमा पेस गर्न भन्यो । प्रतिवेदनकै आधारमा मुख्यमन्त्री रहेका मोदीमाथि आरोप दायर गर्न सकिन्छ कि भनेर निर्णय लिइनु थियो । वास्तवमा यो दोष मुक्ति थिएन । तर, मोदीलाई सर्वोच्च न्यायालयबाट योभन्दा कठोर निर्णय हुन सक्ने आशंका थियो । न्यायालयले उनलाई सन् २००३ मा जस्तै टिप्पणी गर्न सक्थ्यो । सर्वोच्चको त्यस आदेशमा मोदीलाई ‘वर्तमान निरो’ भनिएको थियो । अथवा योभन्दा पनि कठोर निर्णय हुँदा सर्वोच्च अदालतले यो मामिलाको अनुसन्धान गुजरातभन्दा बाहिर गर्नुपर्ने निर्णय सुनाएर उनलाई पहिलो नम्बरको आरोपी बनाउन सक्थ्यो ।

मोदीलाई लाग्यो, विजय सुनिश्‍चित छ । र, यति नै बेला नयाँ अभियान सुरु गरिनु पर्छ । पाँच दिनपछि आफ्नो जन्मदिन पारेर मोदीले अहमदाबादमा तीन दिने व्रत सुरु गरे । ‘सद्‍भावना’ शब्दको जगमा उभिएर यसको थालनी गरिएको थियो । तर, मोदीको अपेक्षाअनुरूप सञ्‍चारमाध्यममा यसले स्थान पाउन सकेन । यसमा सहभागी हुनका लागि १० हजार मानिसलाई भेला पारियो । बीजेपीमा मोदीका सहयोगी र प्रतिद्वन्द्वी नेताहरूलाई गुजरातमा उनीसँगै मञ्‍च साझा गर्न बाध्य पारियो । व्रतको पहिलो दिन देशभरिका पत्रपत्रिकामा मोदीले ‘ज्याकेट एड’ दिए । त्यस दिन मुस्कानसहितको उनको तस्बिरले देशभरिका मतदातालाई अभिवादन गर्‍यो । प्रत्येक राज्यको मातृभाषा– हिन्दी, पञ्‍जाबी, बंगाली, मराठी, तेलगु, तमिल, कन्‍नड, मलयालम, उर्दु, असमी र ओडियामा सद्‍भावना सन्देश दिइएको थियो । यसको सम्पूर्ण खर्च गुजरात सरकारले बेहोर्‍यो । 

अहमदाबाद व्रतको अन्तिम दिन मोदीले राज्यका सबै २६ जिल्लामा एक दिने व्रत बस्‍ने घोषणा गरे । सद्‍भावना र्‍यालीलाई त्यसै वर्ष हुन लागेको विधानसभा निर्वाचनसँग एकाकार गरी अघि बढाइयो । नोभेम्बर २०११ को अन्तिममा मोदीको ‘रोड शो’ सोनगढभन्दा केही पर रोकिँदा म त्यसलाई हेर्न त्यहाँ पुगे । यो महाराष्ट्र सीमा नजिकैको आदिवासी घनत्व भएको निस्तेज पहाडी गाउँ हो ।

उराठ फाँटमा व्रतको अयोजना गरिँदै थियो । परबाट हेर्दै लाग्थ्यो, त्यहाँ कुनै उत्सव आयोजना गरिँदै छ । पार्किङमा स्टेट ट्रान्सपोर्ट कर्पोरेसनका एक सयभन्दा धेरै बस रोकिएका थिए । तिनै बसले जिल्लाभरिबाट मानिस ओसार–पसार गरिरहेका थिए । नजिकै ट्रक रोकिएका थिए र त्यहाँ ठूलो भीड थियो । राज्यका कर्मचारी निःशुल्क अम्बा, स्ट्रोबेरी र आँपका बोट वितरण गरिरहेका थिए ।

सेतो टेन्टभित्र सिंगारिएको स्टेजमा मोदीलाई व्रत बसेको हेर्न सकिन्थ्यो । १० हजारभन्दा धेरै मानिस उनैलाई हेर्न भेला भएका थिए । चौरको चारैतिर टीभी लगाइएका थिए । टीभीमा मोदीको अनुहार नजिकबाट हेर्न मिल्थ्यो । स्टेजमा कम्तीमा पनि ५० जनाले घेरिएका मोदी एउटै स्थिर मुद्रामा बसेका थिए । उनी कुनै दार्शनिकको मूर्तिझैँ चिन्तनशील मुद्रामा थिए । मोदी आफ्नो चिउँडोमा हात लगाएर बसेका थिए । उनको चिउँडोलाई बुढी औँलाले अड्याएको थियो । यति हुँदाहुँदै पनि उनी भीडलाई गहिरो नजरले हेरिरहेका थिए । अलिक बेरसम्म पछाडि उभिएको म हिँड्दै पहिलो पंक्तिमा पुगे । मोदी र मेराबीच एक सय मिटर जतिको दूरी थियो । तर, पनि उनको नजरले मलाई पच्छ्याइरहेको स्पष्ट बुझ्‍न सकिन्थ्यो । 

मोदीजस्ता कुशल नेतृत्वले पत्रकारमाथि निगरानी राख्‍नु स्वाभाविक ठानिन्छ । मोदी विवाहित हुन् भन्‍ने कुरा मे २००२ मा स्थानीय रिपोर्टर हुँदै सबै माझ फैलँदै थियो । त्यति नै बेला इन्डियन एक्सप्रेसका पत्रकार दर्शन देसाईले मुख्यमन्त्रीकी पत्‍नीलाई वडनगरको उनकै गाउँबाट खोजेर निकाले । एकाबिहानै ब्राम्हणवाडा गाउँ पुगेर उनले जशोदाबेन, उनका भाइ र स्कुलका हेडमास्टरलाई भेटे । उनी त्यहीँको एउटा विद्यालयमा अध्यापन गर्थिन् । कोही पनि उनीसँग बोल्न तयार भएनन् । सबैलाई मोदीको डर थियो । बीजेपीका कयौँ स्थानीय नेताहरूले देसाईको प्रश्‍नलाई खारेज गर्दै बाटो लाग्‍न भने । देसाईले मसँग भने, ‘‘म भर्खर घर पुगेर जुत्ता खोल्दै थिए कि मेरो मोबाइलमा फोन आयो । उताबाट बोल्नेले गुजरातीमा भन्यो– ‘सीएम तपाईंसँग कुरा गर्न चाहुनुहुन्छ ।’ त्यसपछि मोदीले भने, ‘नमस्कार ! त्यसो भए एजेण्डा के हो त ?’’ 

देसाईले भने, ‘‘मैले भनेँ, ‘कुरा बुझिन नि ।’ उनले भने, ‘तपाईं मेरो विरोधमा लेख्‍नुहुन्छ । तपाईंको पत्रिकाले पनि मोदी मिटर सुरु गरेको छ ।’ उनी त्यस कोलमबारे कुरा गरिरहेका थिए, जुन मेरो पत्रिकाले गुजरात हिंसाका क्रममा लेखिरहेको थियो । म शान्त थिएँ । उनले भने, ‘आज तपाईं के गर्दै हुनुहुन्थ्यो, कहाँ जानु भएको थियो, मलाई सबै थाहा छ । तपाईंले आज जे गर्नुभयो, त्यसले सीमा नाघ्यो । त्यसैले म तपाईंको एजेण्डा के हो भन्‍ने जान्‍न चाहन्छु ।’ म डराएको थिइनँ । तर, अलिक गम्भीर थिएँ । मैले भनेँ, ‘मेरो कुनै एजेण्डा छैन । तपाईं मेरो सम्पादकसँग कुरा गर्न सक्नुहुन्छ ।’ त्यसपछि उनले भने, ‘ठिकै छ, यसबारे विचार गर्नु’, त्यसपछि फोन काटियो ।’’

अन्तर्वार्ताको अनुरोध गर्दै मैले मोदीको कार्यालयमा कयौँ पत्र पठाए । तर, कुनै जवाफ नआएपछि मैले उनको जनसम्पर्क अधिकारी जगदीश ठक्करसँग कुरा गरेँ । उनले मसँग भने, ‘तपाईंलाई थाहा छ, मोदीजीसँग भेट्नु निकै गाह्रो छ । कोसँग भेट्ने र कोसँग नभेट्ने उहाँ आफैँ तय गर्नु हुन्छ ।’ तर, पनि म आफ्नो प्रयासमा लागी रहेँ । मोदीले चीनमा व्यापारिक प्रतिनिधि मण्डलको नेतृत्व गर्दा होस् अथवा पोरबन्दरमा महात्मा गान्धीको जन्मथलोमा व्रत बस्दै गर्दा, मैले उहाँलाई फोन गरिरहे । त्यसपछि ठक्करले मलाई आश्‍वस्त पार्दै भने, ‘तपाईंका सबै सन्देशहरू मोदीजीसँग जस्ताको तस्तै पुर्‍याइसकेको छु । तपाईं भेट्न चाहनुहुन्छ भन्‍ने उहाँलाई थाहा छ । तपाईंका चिठी पनि उहाँले पढ्नुभएको छ । तर, यसबारे अझै केही भन्‍नुभएको छैन ।’ मोदीको सोनगढ व्रतभन्दा पहिले मैले ठक्करलाई भने, ‘म पनि मोदीको व्रतमा सहभागी हुनेछु । उहाँले एक घण्टा समय दिनुहुन्छ कि सोध्नुस् न ?’

मोदी निकै कम पत्रकारसँग कुरा गर्छन् भनेर अन्य पत्रकारले पनि मलाई आफ्नो अनुभव सुनाए । जरुरी ठान्दा उनी टीभीका पत्रकारसँग अन्तर्वार्ता गर्न रुचाउँछन् । सन् २००७ मा करण थापरले सीएनएन–आईबीएनका लागि मोदीको निकै चर्चित र विवादास्पद अन्तर्वार्ता गरका थिए । अन्तर्वार्ताका लागि १८ महिना मोदीलाई सहमत गराउन समय लागेको थापरले मसँग सुनाए । उनले भने, ‘मलाई अझै पनि के सम्झना छ भने मैले प्रत्येक हप्ताजसो मोदीलाई पत्र लेखी रहन्थेँ । तर, उनले त्यसको कुनै जवाफ दिँदैनथे । हार खाएर म मोदीका साथी अरुण जेटलीसमक्ष पुगेँ र उनैले अन्तर्वार्ताका लागि मोदीलाई सहमत गराए ।’

मोदीसँग ३० मिनट गर्ने भनिएको अन्तर्वार्ता जम्मा तीन मिनेट मात्रै हुन सक्यो । प्रशासकका रूपमा मोदीले कमाएको जसबाट थापरले पहिलो प्रश्‍न सोधेका थिए । थापरले सोधे, ‘‘तर, फेरि पनि मानिसले तपाईंकै अघिल्तिर तपाईंलाई ‘सामूहिक हत्यारा’ भन्छन्, उनीहरू तपाईंलाई मुस्लिम विरोधी भएको आरोप लगाउँछन् । तपाईं वास्तविक छविको संकट सामना गर्दै हुनुहुन्छ ?’’

मोदीको अनुहार रातोपिरो भयो । उनले केही नबुझिने शब्द भने । उनी रिसाएका छन् भन्‍ने स्पष्ट देखिन्थ्यो । केही बेरमै उनले ब्रेक लिने भने र माइक झिकेर अन्तर्वार्ता समाप्त भएको घोषणा गरे । माइक झिक्दै उनले भनेका थिए, ‘तपाईं यहाँ आउनु भयो, मित्रता देखाउनु भयो । तपाईंका आफ्ना विचार छन्, तपाईं त्यसैलाई मात्र दोहोर्‍याउँदै हुनुहुन्छ ।’

अनौठो ढंगले टुंगिएको अन्तर्वार्तालाई सीएनएन–आईबीएनले समाचार नै बनायो र ‘मोदी अन्तर्वार्ताबाट भागे’ भनेर पटक–पटक प्रसारण गर्‍यो । च्यानलले यसलाई ३३ पटकसम्म दोहोर्‍यायो । थापरका अनुसार त्यसको भोलिपल्ट मोदीले उनलाई फोन गरे । उनी सम्झँदै भन्छन्, ‘‘मोदीले मसँग सोधे, ‘तपाईं मेरो काँधमा बन्धुक राखेर चलाउन चाहनुहुन्छ ?’ मैले भने, ‘मैले तपाईंलाई अन्तर्वार्ता पूरा गर्नु नै बेस होला भनेर भनिनँ र ?’ कुराकानी गर्दा लाग्थ्यो, मोदी सहज ढंगले कुरा गरिरहेका थिए । मोदीले भने, ‘अर्को पटक दिल्ली आउँदा सँगै डिनर गरौँला । मैले फेरि पनि तपाईंलाई अन्तर्वार्ता दिनेछु । कुराकानीका क्रममा सायद उनले ‘आई लभ यु’ पनि भने ।’’ थापरले विगत पाँच वर्षदेखि प्रत्येक छैठौँ हप्ता मोदीलाई अन्तर्वार्ताका लागि पत्र लेखिरहेको तर त्यसको कुनै जवाफ नआएको बताए ।

बिहान ५ बजे अघिसम्म उनले आफ्नो व्रत नतोड्ने निश्‍चित भएपछि मैले कांग्रेसद्वारा सोनगढ बस स्ट्याण्डमा आयोजित ‘उपवास कार्यक्रम’ हेर्न जाने निधो गरेँ । म बाहिर जानेहरूको लाइनमा उभिएकै थिएँ, मोदीले हात उठाएर म भएतिर संकेत गरे । मोदीले मलाई बोलाएका हुन् कि अरु कसैलाई भन्‍ने मैले बुझ्‍न सकिरहेको थिइनँ । उनले फेरि हात हल्लाएर ‘हो तिमी नै’ भनेझैँ संकेत गरे । त्यसपछि उनले ठक्करलाई संकेत गरेर आफूतिर बोलाए । ठक्करले मोदीको मुखनेर आफ्नो कान लगे र एकै छिनमा ६० वर्षका उनी म भएसम्म स्याँ–स्याँ गर्दै दौडेर आइपुगे । उनले स्याँ स्याँ गर्दै भने, ‘मोदीजीले तपाईंलाई भेट्ने र साक्षात्कार दिने भन्‍नु भा’छ । तर, आज होइन । गान्धीनगरको उनको अफिसमा आगामी शुक्रबार कसो होला ?’ मैले स्टेजमा बसिरहेका मोदीलाई हेरेँ । उनले सहमतिमा आफ्नो टाउको हल्लाए र हात पनि उठाए । 

‘कांग्रेसको प्रतिस्पर्धी व्रत’ आयोजना त्यसो त सामान्यझैँ लाग्थ्यो । त्यहाँ दुई हजार मानिस उपस्थित थिए । तुलनात्मक रूपमा सानो र फोहरी टेन्टभित्र उनीहरू पसिनाले लतपत थिए । सानो मञ्‍चमा पनि पार्टीका झण्डै ४० जना नेताहरू बसेका थिए । सबैको केन्द्रमा तुषार चौधरी थिए । उनी केन्द्रीय मन्त्रिमण्डलका राज्यमन्त्री र गुजरातका पूर्वमुख्यमन्त्री अमरसिंह चौधरीका छोरा हुन् । स्टेजबाट झर्दै गर्दा मैले उनलाई सोधे, ‘तपाईं र तपाईंको पार्टीले व्रत गरेर मोदीको नक्कल किन गरिरहेको ? आमजनतासम्म पुग्‍ने अर्को कुनै विधि छैन र ? उनले भने, ‘हामीले मोदीको नक्कल गरेको होइन । बरु हामी जागरण फैलाउन वर्तमान समयलाई प्रयोग गरिरहेका छौँ किनभने मोदीमा कुनै सद्‍भावना छैन । सोनगढका आदिवासीले खतरनाक रोग ‘सिकल सेल एनिमिया’ को सामना गरिरहेका छन् । गतहप्ता मात्रै यहाँ १ सय ६० जनाको मृत्यु भयो । तर, मोदीले यसका लागि केही गरेनन् । जबकि, दुई हप्ताअघि मात्रै नेपालको सामान्य भूकम्पमा ३० जना मारिँदा गुजरात सरकारको तर्फबाट राहत पठाउने घोषणा गरियो । यस्ता विरोधाभासकै जगमा मोदी उभिएका छन् ।’

जब म मोदीको भाषण सुन्‍नका लागि फर्किएँ, माहोल फेरिएको थियो । सब चीज ठीक–ठाक चलिरहेको थियो । मन्त्रीहरू प्रशंसा गर्न तल्लीन थिए । धार्मिक नेता आशीर्वाद दिन तल्लीन थिए । अन्त्यमा, मोदी आफ्नो भाषणका लागि उभिए । उनको दृष्टि भविष्यतर्फ थियो ।

मोदीका हातमा कागजका साना–साना तीन टुक्रा थिए । त्यसमा सोनगढका लागि टिपोट गरिएका विकासका कार्यक्रम थिए । उनले हुँकार गरे, ‘जिल्लाका लागि दुई सय करोड !’ त्यसपछि प्रत्येक प्रोजेक्टको महत्त्वका बारे विस्तारपूर्वक व्याख्या गरे । एउटा नयाँ पुल । जंगलमा सडक । नयाँ जलाशय । सबै सकिएपछि उनले भने– ‘विकास... विकास... विकासस्स्स् ।’ 

उनले भने, ‘दुनियाँले विकासका बारेमा सोध्दा गुजरातको नाम लिइनेछ र जब उनीहरूले गुजरातका बारेमा सोध्‍ने छन्, उनीहरूले विकास मात्रै देख्‍ने छन् ! विकास ! गुजरात ! गुजरात ! विकास !’ मोदीले पहिले आफ्नो हात देब्रेदेखि दाहिने घुमाए र फेरि दाहिनेदेखि देब्रे । यससँगै उनले ठूलो स्वरमा भने... ‘गुजरात–विकास ! विकास–गुजरात !’

मोदीमा अनुशासनको कमी हुँदाहुँदै पनि उनी प्रतिष्ठित थिए । नेतृत्वले उनलाई कुनै जिम्मेवारी दिँदै गर्दा, यो काम जसरी पनि सम्पन्‍न हुन्छ भनेर उनीहरू निश्‍चिन्त हुन्थे ।

आफूलाई मन पराउने जनतामाथि मोदीको पकड जबरजस्त थियो । उनी निकै ठूलो स्वरमा गहिरो आत्मविश्‍वासका साथ बोलिरहेका थिए । उनी त्यस्तो नेताका रूपमा प्रस्तुत हुँदै थिए, मानौँ– अब उनले जनताले चिताएको सबै–सबै पुर्‍याइदिने छन् । भाषण गर्दागर्दै उनले राजनेताले झैँ बोल्न थाले । उनले भने, गुजरातमा पैदा हुने भन्टा युरोप जाँदैनथ्यो । तर, अबदेखि यसमा कसैको गुनासो रहने छैन । गुजरातमा कहीँ केही बिग्रे–भत्केको छ भने त्यो केन्द्रको कांग्रेस सरकारको गलत नीतिका कारण हो किनभने उनीहरू हामीसँग सहकार्य गर्न चाहँदैन भन्दै उनले स्पष्ट शब्दमा कांग्रेसको आलोचना गरे । उनी बडो स्पष्ट शब्दमा बोलिरहेका थिए । उनको दृष्टि सम्पूर्ण दर्शकमा टिकेको थियो । उनी बोल्दै गर्दा त्यहाँ पूर्ण सन्‍नाटा थियो । कसैको पनि ध्यान फोनमा थिएन । कतैबाट केही झिनोसमेत आवाज सुनिएन । कयौँका मुख खुलाको खुला रहे ।

(७)
सन् २००२ को हिंसाका समय गोवर्धन झडापिया गुजरात गृहमन्त्रालयमा राज्यमन्त्री थिए । मोदी गृहमन्त्री थिए भने झडापिया उनका कनिष्ठ मन्त्री थिए । मोदीसँगै उनलाई पनि हिंसामा संलग्‍न भएको आरोप छ । गुजरातमा १५ वर्षसम्म बीएचपीका नेता रहेका झडापिया सन् १९९० का दशकमा बीजेपीमा सामेल भए । झडापियाले भने, ‘आरएसएसले मलाई बीजेपीमा काम गर्न भन्यो र म गुजरात पार्टीको प्रधान सचिव बने ।’

उनी गुजरातका तीन महत्त्वपूर्ण नेताहरूमध्येका एक हुन् । तीनैजनामा संघको पूर्ण प्रभाव देख्‍न सकिन्छ । झडापियाले पार्टीभित्र मोदीको निरंकुशताका विरुद्ध आवाज उठाएका थिए । मोदीको राजस्व मन्त्रीका रूपमा काम गरेका हरेन पाण्डेयाको सन् २००३ ताका रहस्यमय मृत्यु भयो । त्यसपछि बीजेपीका राष्ट्रिय महासचिव बनेका संजय जोशीले राजीनामा दिनु पर्‍यो । एउटा सीडीमा एकजना अर्धनग्‍न महिलासँग देखिएपछि उनले राजीनामा दिनु परेको थियो । पछि सीडी नै नक्कली बनाइएको पत्ता लाग्यो । त्यस्तो सीडी बीजेपीका नेताहरूसम्म कसले पुर्‍याएको थियो भन्‍ने हालसम्म पनि अज्ञात छ । तेस्रो झडापिया थिए, जसलाई सन् २००२ को अन्त्यसम्म पहिले मन्त्रिमण्डलबाट र त्यसपछि पार्टीबाट बाहिरिन पर्‍यो ।

झडापियाले मसँग भने, मोदी, मात्र एक शब्द बुझ्छन् र त्यो हो– ‘म’ । मलाई मोदीले ज्यान मार्ने धम्कीसमेत दिइएका थिए । झडापियाले थपे, ‘‘फेब्रुअरी २००५ मा एकजना खुफिया अधिकारीले मलाई पच्छ्याइरहेको थाहा पाएँ । त्यसपछि एक दिन मैले नै उनलाई पक्रिएँ, उसले गृहमन्त्रालयको निर्देशनमा पच्छ्याइरहेको बतायो ।’ त्यसको केही दिनपछि बीजेपीका सांसदहरूको मुख्यमन्त्रीसँग छलफल डाकियो । छलफलमा मैले मोदीलाई– ‘तपाईं आफ्नै पार्टीका सांसदका विरुद्ध कस्तो खाले जासुसी गराउँदै हुनुहुन्छ ?’ भनेर सोधेँ । ‘मेरा पछाडि गुप्तचर पठाउनुको के अर्थ हो ?’ भनेर पनि सोधेँ । त्यसपछि एकजना वरिष्ठ मन्त्री वाजुभाइ वालाले माइक्रोफोन समाएर भने, ‘गोवर्धनजी, शान्त हुनुस् । यसको छानबिन हामी गरौँला, तर अहिले नै यो सवाल आवश्यक छैन ।’ मोदीले केही भनेनन्, तर उनका सचिवले मलाई एउटा सानो चिर्कटो थमाए । त्यसमा लेखिएको थियो– ‘कृपया मुख्यमन्त्रीसँग भेट्नु होला ।’’

उनले थपे, ‘छलफलपछि म उनको च्याम्बरमा भेट्न गएँ । उपगृहमन्त्री अमित शाह त्यहाँ बसेका थिए । मोदीले मसँग सोधे, ‘तपाईं यस्ता खाले प्रश्‍न सबैका अघिल्तिर किन सोध्नुहुन्छ ?’ मैले भने, ‘के गरूँ त ? यो कुनै व्यक्तिगत मामिला होइन ।’ त्यसपछि उनले रिसाउँदै मतिर हेरेर भने– ‘सक्किन्छौँ गोवर्धनभाइ... सक्किन्छौँ ।’

झडापियाले भने, ‘‘त्यसपछि मैले मोदीलाई सोधँे– तपाईंले शारीरिक रूपमा सिध्याई दिन्छु भन्‍नुभएको हो वा राजनीतिक ?’ मोदीले भने, ‘तपाईंले एलके आडवाणी र ओम माथुरसँग मेराबारे कुरा लाउनु भएको हो ?’ ‘मैले कुरा लगाएको होइन, गुनासो गरेको हो भनेँ । मसँग दिल्लीका नेताहरूलाई गुनासो गर्ने बाहेक अर्को विकल्प थिएन । तर, यदि तपाईं मलाई सिध्याई दिन्छु भन्‍नुहुन्छ भने तपाईंलाई एउटा कुरा थाहा होस्, मेरो समय आएपछि म स्वतः सकिनेछु । मलाई कहिल्यै पनि धम्क्याउने प्रयास नगर्नु होला ।’’

हिजोआज झडापिया उच्च प्रहरी सुरक्षामा हिँडडुल गर्छन् । पूर्वउपगृहमन्त्री र तिनताका विवादित भएका कारण, सरकारले उनलाई हिंसापछि सुरक्षा प्रदान गर्‍यो । जबकि, पाण्डेया त्यस्ता थिएनन् । झडापियाले भने, ‘हरेन पाण्डेया निर्भीक थिए । उनलाई लाग्थ्यो, कसैले केही गर्न सक्दैन । यो उनको कमजोरी थियो ।’

आरएसएसबाट आएर मिडियामा राम्रो सम्बन्ध बनाउन सफल अग्ला र सुन्दर ब्राम्ह्ण हरेन पाण्डेया बीजेपी गुजरातमा मोदीका बलिया राजनीतिक प्रतिद्वन्द्वी थिए । उनीहरू सार्वजनिक रूपमा सन् २००१ मा आमुन्‍ने–सामुन्‍ने देखा परेका थिए । तिनताका मुख्यमन्त्रीमा नियुक्त भएपछि मोदी विधानसभामा जित सुनिश्‍चित गर्नका लागि सुरक्षित सिटको खोजी गरिरहेका थिए । उनी पाण्डेयाको क्षेत्र अहमदाबादको एलिसब्रिजबाट लड्न चाहन्थे । मोदीका लागि यो नै सबैभन्दा सुरक्षित सिट थियो । तर, पाण्डेया मोदीका लागि सिट छाड्न सहमत भएनन् । बीजेपीका एक जना राज्य पदाधिकारीले पाण्डेयाको कथनलाई यसरी व्यक्त गरे, ‘बीजेपीका कुनै युवाका लागि मलाई यो सिट छोड्न भनियो भने म तत्काल सहमत हुन सक्छु । तर, यस मान्छेका लागि म कदापि छोड्दिनँ ।’

गुजरात हिंसाको तीन महिनापछि मे २००२ मा पाण्डेयाले गोप्य रूपमा न्यायमूर्ति वीआर कृष्ण अय्यरले अगुवाई गरेको एउटा स्वतन्त्र जाँजबुझ समितिसमक्ष आफ्नो बयान दर्ज गराए । पाण्डेयाले के भनेका हुन् भन्‍ने मोदीलाई अझै थाहा थिएन । तर, रेकर्ड हेर्दा मोदीका मुख्यसचिव पीके मिश्राले खुफिया एजेन्सीका महानिर्देशकलाई पाण्डेयाको निगरानी गर्न निर्देशन दिइएका थिए । खास गरेर यो निगरानी जाँचबुझ समितिसमक्ष उनले के भनेका हुन् भन्‍नेमा केन्द्रित थियो । खुफिया एजेन्सीका महानिर्देशकले ७ जुन २००२ को रजिस्टरमा लेखेका छन्, ‘डाक्टर पीके मिश्राले राजस्व मन्त्री हरेनभाइ पाण्डेया मामिलामा सामेल रहेको आशंका छ भन्दै ९८२४०३०६२९ नम्बरको मोबाइलको कल डिटेल मागेका थिए ।’

पाँच दिनपछि १२ जुन २००२ का दिन रजिस्टरमा अर्को पनि एउटा इन्ट्री छ, ‘जुन मन्त्रीले जाँचबुझ आयोग (न्यायमूर्ति वीआर कृष्ण अय्यर) सँग भेटघाट गरेका थिए, उनी हरेन पाण्डेया हुन् । यो कुरा डा पीके मिश्रालाई सूचित गरिएको छ । मैले के पनि भनेको छु भने यो कुरा लिखितमा दिन सकिँदैन किनभने यो मामिला निकै संवेदनशील छ । राज्य खुफिया ब्युरोलाई दिइएको अधिकारको चार्टर बम्बई प्रहरी म्यानुअलसँग जोडिएको छैन । साथै ९८२४०३०६२९ नम्बरको मोबाइल हरेन पाण्डेयाकै हो ।’

त्यसपछि लगत्तै लेखिएका समाचारबाट के स्पष्ट हुन्छ भने– मोदी मन्त्रिमण्डलका कुनै मन्त्रीले अय्यर कमिसनलाई बयान दिए । र, ट्रेन जलाइएको अघिल्लो दिन मात्रै मोदीको आवासमा एउटा उच्च बैठक बसेको थियो । बैठकबाटै मोदीले उच्च प्रहरी र खुफिया अधिकारीलाई भोलिका दिन गोधरामा हुने ‘हिन्दूहरूको प्रतिक्रिया’ मा कुनै हस्तक्षेप नगर्न निर्देशन दिएका थिए ।

यो खुलासासँगै मोदीले पाण्डेयाविरुद्ध फायर खोले । पाण्डेयाले अनुशासन तोडेको भन्दै मोदी उनका विरुद्ध जाई लागे । दुई महिनापछि पाण्डेयाले राजीनामा दिनु पर्‍यो । तर, मोदी यतिमै रोकिएनन् । सन् २००२ मा गुजरातमा निर्वाचन हुँदै थियो र मोदीले त्यो मौका हात पारे । एक वर्षअघि, जुन एलिसब्रिजको सिट पाण्डेयाले मोदीलाई दिन इन्कार गरेका थिए, त्यही सिट पाण्डेयालाई नदिने गरी मोदीले भरपूर राजनीति गरे । मोदी नजिकका एकजनाले मसँग भने, ‘मोदी न कुनै कुरा भुल्छन्, न त कहिल्यै कसैलाई माफ गर्छन् । एकजना नेतासँग त्यति लामो समयसम्म बदला भाव राख्‍नु राम्रो त होइन, तर के गर्नु ?’

विगत १५ वर्षदेखि पाण्डेयाले जुन क्षेत्रको प्रतिनिधित्व गरिरहेका थिए, अन्ततः मोदीले उनीसँग त्यो खोसे । बीजेपी र आरएसएसको नेतृत्वले मोदीलाई त्यस स्तरमा नजान सुझाव दिएको थियो । तर, मोदीले मानेनन् । नोभेम्बरको अन्त्यतिर आरएसएसका नेता मदन दास देवी मोदीलाई भेट्न उनको निवास पुगे । र, उनलाई आरएसएस प्रमुख केएस सुदर्शन, उनका उपप्रमुख मोहन भागवत, एलके आडवाणी र अटल बिहारी वाजपेयीको सन्देश दिए । पार्टीमा ‘विभाजनको बीउ नरोप्‍नुस्’ भन्दै उनले पाण्डेयाको सिट फिर्ता गर्न मोदीलाई आग्रह गरे । देवीले मोदीसँग राती अबेरसम्म कुरा गरे । तर, मोदी टसको मस भएनन् । राज्यका पार्टी पदाधिकारीले भने, ‘त्यसपछि नागपुर (संघको मुख्यालय) र दिल्लीबाट फोन आउँछ भन्‍ने मोदीलाई थाहा थियो । त्यही भएर उनी बिहानै तनाव र शिथिलता भयो भन्दै गान्धीनगर सिभिल अस्पतालमा भर्ना भए ।’

पार्टीका तिनै पदाधिकारीका अनुसार हरेन पाण्डेया मोदीलाई भेट्न अस्पताल पुगेका थिए । हरेनले मोदीसँग भनेका थिए, ‘मुर्खले झैँ सुत्‍ने नाटक नगर्नुस् । मसँग हुँदैन भन्‍ने हिम्मत गर्नुस् ।’ मोदी फेरि पनि सकारात्मक हुन सकेनन् । अन्ततः आरएसएस र बीजेपीका नतोहरूले हार खाए । मोदी अस्पतालबाट दुई दिनपछि डिस्चार्ज भए । त्यतिन्जेल सिट अर्को नेतालाई दिई सकिएको थियो । 

डिसेम्बरमा गोधराबाट मौलाएको साम्प्रदायिक राष्ट्रवादको बुई चढेर उनी फेरि सत्तामा फर्किए । त्यसपछि पाण्डेयाले दिल्लीदेखि गुजरातसम्मका बीजेपी र आरएसएसका प्रत्येक ठूला नेतासँग भेटघाट सुरु गरे । मोदी आफ्नो स्वार्थका लागि पार्टी र संघ दुवैलाई बदनाम गरिरहेका छन् भन्‍ने उनको जोड थियो । त्यसो त बीजेपीका ती नेताहरू, जसले पाण्डेयालाई महत्त्वपूर्ण नेता ठान्थे, उनीहरूले पाण्डेयालाई राष्ट्रिय कार्यकारी सदस्य वा पार्टी प्रवक्ताका रूपमा दिल्ली मुख्यालयमा बोलाउने निधो गरे । यस प्रसंगमा गोवर्धन झडापियाले मसँग भने, ‘मोदीले यसलाई पनि असफल बनाउनका लागि न्वारानदेखिको बल लगाए किनभने उनको दिल्ली प्रस्थान मोदीको राजनीतिक दीर्घजीवनका लागि सकारात्मक देखिँदैनथ्यो ।’

समाजशास्‍त्री तथा भारतका प्रमुख बुद्धिजीवीमध्ये एक आशीष नन्दीले मोदीबारे भनेका छन्, ‘मोदीसँग कुरा गरेपछि उनी 'क्लासिकल' फासीवादी प्रभावबाट भावविभोर रहेछन् भनेर बुझ्‍न मलाई धेरै गाह्रो भएन । मेरा लागि यो एउटा श्रेणी हो, जसलाई उपचारको खाँचो छ । यो भन्दै गर्दा म पटक्कै खुसी छैन कि मनोवैज्ञानिकले वर्षौंको गहन अध्ययनपछि सर्वसत्तावादी व्यक्तिमा हुने जुन मानक स्थापित गरेका छन्, ती सबै गुण मोदीमा छन् ।’

तीन महिनापछि मार्च २००३ मा पाण्डेयाले पार्टी अध्यक्षद्वारा पठाइएको पत्र हात पारे । उनलाई दिल्ली आउन भनिएको थियो । त्यसको भोलिपल्ट अहमदाबादमा उनको हत्या भयो । गुजरात प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले उनको हत्यामा पाकिस्तानको इन्टर सर्विसेज इन्टेलिजेन्स (आईएसआई), लश्कर–ए–तैयबा र दुबईस्थित अन्डरवर्ल्ड डन दाउद इब्राहिमको हात रहेको दाबी गर्‍यो । १२ जनालाई पक्राउ गरेर उनीमाथि पाण्डेयाको हत्याको आरोप पनि लगाइयो । तर, आठ वर्षपछि सन् २०११ सेप्टेम्बरमा गुजरात हाईकोटले ती सबै आरोपीलाई रिहा गर्दै यो समग्र मामिलालाई नै खारेज गरिदियो । न्यायाधीशले भने, ‘अनुसन्धानमा लापरवाहीका कयौँ छिद्र छन् । खासमा यो अनुसन्धान आँखामा पट्टी बाँधेर गरिएको छ । सम्बन्धित अनुसन्धान अधिकारीलाई उनीहरूको असक्षमताका लागि जिम्मेवार ठहर गर्नुपर्ने हुन्छ । त्यसैले यस मामिलामा आरोपितमाथि अन्याय भएको छ । कयौँको चरम उत्पीडन भएको छ र सार्वजनिक संसोधनको दुरूपयोगका साथै न्यायालयको पनि समय बर्बाद गरिएको छ ।’

पाण्डेयाका पिता विठ्ठलभाइले सार्वजनिक रूपमै आफ्नो छोराको हत्या मोदीले गराएको आरोप लगाए र यससम्बन्धी निवेदन सर्वोच्च अदालतमा दर्ता गराए । निवेदनमा छोराको हत्यामा मुख्यमन्त्रीको भूमिकामाथि प्रश्‍न उठाउँदै त्यसको अनुसन्धान गर्न माग गरिएको छ । तथापि, न्यायालयले साक्षीहरूको अभाव भएको भन्दै निवेदन खारेज गरिदियो ।

हिंसाको एक वर्षसम्म राज्यको खुफियातन्त्रको प्रतिनिधित्व गरेका आरबी श्रीकुमारले मसँग भने, तिनताका हरेन पाण्डेयाको गतिविधिका बारेमा सूचना संकलन गर्न मुख्यमन्त्री कार्यालयले मलाई खटाएको थियो । त्यस्तै झडापियाले मसँग भने, ‘पाण्डेयाको हत्या मोदीले नै गराएका हुन् भनेर मैले भनेको छैन । तर, के पनि साँचो हो भने बीजेपीभित्र मोदीका खिलाफमा यदि कोही बोल्छ भने ऊ राजनीतिक वा शारीरिक रूपमा सिध्दिन्छ ।’

पाण्डेया हत्याको अनुसन्धान गर्ने जिम्मेवारी गुजरात प्रहरीको क्राइम ब्रान्चलाई सुम्पिएको थियो । यसका प्रमुख डीजी वंजारा थिए । उनी सोहराबुद्दीन शेख र उनकी पत्‍नी कौसर बीको ‘फेक इन्काउन्टर’ का कारण जेलमा थिए । वंजारा यस्तै खाले आधा दर्जन गैरन्यायिक हत्या मामिलामा अनुसन्धानको सामना गरिरहेका छन् । पाण्डेया हत्याको अनुसन्धान सीबीआईलाई सुम्पिएसँगै यसमा एउटा नाटकीय मोड देखा पर्छ । वंजाराका सहयोगीमध्येका एक अभय चुडासमालाई सीबीआईले गर्ने अनुसन्धानमा सहयोग गर्नका लागि त्यस टोलीमा पठाइन्छ । उनी यसअघि नै सोहराबुद्दीनको गैरन्यायिक हत्यामा दोषी ठहर भई जेल गइसकेका थिए । पाण्डेया हत्याको अनुसन्धानमा ती दुवै भ्रष्ट अधिकारी सामेल थिए, जो मोदीका उपगृहमन्त्री अमित शाहद्वारा गैरकानुनी रूपमा चलाईने चन्दा असुली काण्डका सहयोगी थिए । मोदीका प्रिय पात्रमध्येका एक शाह फर्जी भिडन्त, हत्या र षड्यन्त्रको आरोपमा यसअघि नै गिरफ्तार भइसकेका व्यक्ति हुन् (शाह सन् २०१९ मा भारतको केन्द्रीय गृहमन्त्री थिए) ।

नोभेम्बर २०११ मा गुजरात उच्च न्यायालयले एउटा ‘फेक इन्काउन्टर’ मामिलामा आफ्नो निर्णय सुनायो । यो मामिला सन् २००४ मा इशरत जहाँ नामकी युवती र तीन युवाको हत्याका विषयमा थियो । प्रहरीका अनुसार चारै जना लश्कर–ए–तोयबाका आतंककारी थिए र खासमा उनीहरू नरेन्द्र मोदीको हत्या गर्न चाहन्थे । तर, मृतकका परिवारले उनीहरू निर्दोष रहेको बताई रह्‍यो। साथै उनीहरूमाथि लगाइएको आरोपलाई चुनौती दिँदै ती परिवारले न्यायालयमा एउटा निवेदन पनि दायर गराएका छन् ।

आरएसएसमा पूर्णकालिन प्रचारक भएका मोदी मुख्यमन्त्री हुने पहिलो व्यक्ति हुन् । सन् २००९मा आरएसएस प्रमुख मोहन भागवत र मोदी एउटा कार्यक्रमबाट बाहिरिँदै । अजीत सोलंकी/एपी फोटो
 

न्यायालयमा अधिवक्ता, प्रहरी, नेता र स्थानीय पत्रकारको भीड लागेको थियो । म दोस्रो शृंखलामा दुवै पक्षका अधिवक्ताको पछाडि बसेको थिएँ । सुनवाइको अन्तिममा न्यायालयले यो मामिला अनुसन्धानका लागि सीबीआईलाई सुम्पने बतायो । यो अनुसन्धान तिनै प्रहरी अधिकारीमाथि केन्द्रित रहने भनिएको छ, जसले ‘घातक आतंककारी’ को हत्या गरेको आरोप छ । गुजरात सरकारलाई पछिल्लो समय लागेको सबैभन्दा ठूलो कानुनी धक्का यही हो । सन् २००३ देखि २००९ का बीच गुजरातमा भएका २० भन्दा धेरै ‘फेक इन्काउन्टर’ को अनुसन्धान गर्नका लागि न्यायालयले तीन महिनाको समय सीमा तोकिदियो । अमित शाहले क्याबिनेटमा १० पोर्टफोलियो आफूसँगै राखेका छन् । गुजरातमा उनलाई ‘मोदीको सोच राख्‍ने व्यक्ति’ का रूपमा चिनिन्छ । उनका खिलाफ संगठित हुने अनुसन्धान मोदीका लागि पनि टाउको दुखाइ हो । त्यति बेला यो प्रश्‍न झनै पेचिलो हुने निश्‍चित छ, जति बेला शाहले चलाउँदै गरेको गैरकानुनी चन्दा असुली कसले भनेर गरिन्थ्यो भनियो भने । 

फेक इन्काउन्टर गरिएको कुरा सार्वजनिक हुनुभन्दा अघि मोदी प्रत्येक कथित ‘आतंककारी’ मारिँदा प्रहरी अधिकारीको खुलेर प्रशंसा गर्थे । सन् २००७ को एउटा चुनावी र्‍यालीका क्रममा मुख्यमन्त्री रहेका मोदीले सोहराबुद्दीन शेख हत्याको खुसियाली मनाए । मोदीले प्रत्येक अक्षरलाई जोड दिँदै शेखको नाम उच्चारण गरे– ‘सोहराराआ–बु–दीनन्’ । उनले यति गरेपछि उनको धर्म के हो भन्‍नेमा कसैलाई पनि भ्रम रहेन । त्यसपछि मोदीले सोधे, ‘कांग्रेसीहरू भन्छन्, मोदी इन्काउन्टर गराउँदै छन् । मोदीले सोहराबुद्दीनलाई मार्न लगाए... तपाईं भन्‍नुस् सोहराबुद्दीनसँग के गरिनु पर्थ्यो ?’ भीडले चिच्याउँदै जवाफ दियो– ‘मार्नु पर्छ, मार्नु पर्छ !’

(८)
सन् २००२ को हिंसापछि एउटा लेख निकै चर्चित बन्यो । त्यस लेखमा समाजशास्‍त्री तथा भारतका सबैभन्दा प्रमुख बुद्धिजीवीमध्येका एक आशीष नन्दीले मोदीको सन् १९८० ताका लिइएको साक्षात्कारका बारेमा उल्लेख गरेका छन् । त्यति बेला भविष्यको मुख्यमन्त्री (र प्रधानमन्त्री) लाई कसैले चिन्दैनथ्यो । ‘तिनताका बीजेपीमा कार्यकर्ताका रूपमा आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेका आरएसएसका सामान्य प्रचारकभन्दा बढी उनी केही थिएनन् ।’ मोदीसँग गरिएको ‘असम्बद्ध र लामो’ साक्षात्कारका बारे उनले भनेका छन्– 

‘मोदीसँग कुरा गरेपछि उनी क्लासिकल फासीवादी प्रभावबाट भाविविभोर रहेछन् भनेर बुझ्‍न मलाई धेरै गाह्रो भएन । मैले ‘फासीवादी’ भनेर कसैलाई पनि अपमानित गर्ने गरेको छैन । मेरा लागि यो एउटा श्रेणी हो, जसलाई उपचारको खाँचो छ । यसमा व्यक्तिको विचारधारात्मक अवस्था मात्रै होइन, उसको व्यक्तित्वको गुण पनि त्यसैमा निहित हुने गर्छ । यो कुरा भन्दै गर्दा म पटक्कै खुसी छैन कि मनोचिकित्सक, मनोविश्लेषक र मनोवैज्ञानिकले वर्षौंको गहन अध्ययनपछि सर्वसत्तावादी व्यक्तित्वका लागि जुन मानक स्थापित गरेका छन्, ती सबै गुण मोदीमा छन् । उनीभित्र शुद्धतावादी जडता, भावनात्मक जीवनको संकुचन, अहंकार, तिरस्कार गर्ने क्षमता र आफ्ना महत्त्वाकांक्षाको भयलगायत सबै गुण छन् । यसका साथै उनमा स्पष्ट देखिने पागलपन र सनक पनि विद्यमान छ । मलाई अझै पनि सम्झना छ, उनी बडो सहजताका साथ सन्तुलित ढंगले ‘भारतका खिलाफ वैश्‍विक षडयन्त्र भइरहेको’ बताउँथे । यो षड्यन्त्रमा प्रत्येक मुसलमानलाई गद्दार र सम्भावित आतंकवादी देख्छन्, उनी ।

यति बेला त मोदीका प्रशंकहरू यो कुरालाई राष्ट्रविरोधी, छद्‍म धर्मनिरपेक्षतावादी बुद्धिजीवीले चलाएको हल्ला भनेर खारेज गरिदिने छन् । तर, क्लिनिकल उपचारका कुरालाई किनारा लगाई दिने हो भने पनि के कुरा स्पष्ट छ भने मोदीको छविलाई राजनेताका रूपमा पुनर्स्थापित गराउने प्रयासले अत्यधिक सफलता हासिल गरेको छ । 

मोदीको छविमा देखिएको आमूल परिवर्तनमा उनको उन्‍नत ढंगको ‘पब्लिक रिलेसन’ अभियानले अहं भूमिका खेलेको छ । तर, उनको यो छवि निर्माण वास्तविक सफलताको धरातलमा ठडिएको छ । कुशल र सक्षम प्रशासकका रूपमा उनको ट्र्याक रेकर्डमा कतै पनि प्रश्‍न छैन । उनी ‘पावर’ लाई महत्त्व दिन्छन् । तर, त्यसभन्दा ज्यादा पैसालाई महत्त्व दिन्छन् भन्‍ने लाग्छ । ती मतदाताहरू जसका नजरमा अधिकांश नेता भ्रष्ट, निकम्मा र कमजोर छन् तिनका लागि यो ठूलो विषय हो । सन् २००१ मा मुख्यमन्त्री बनाइएसँगै उनले राज्यमा दुइटा विधानसभा निर्वाचन जितेका छन् र दुवै निर्वाचनमा उनले दुई तिहाई बहुमत हासिल गरेका छन् । शहरमा उनको जबरजस्त लोकप्रियता छ । प्रशंसकले उनीप्रति असमान्य ढंगले प्रेम दर्साउने गरेका छन् ।

एकजना अटो चालकका अनुसार, ‘मोदीले आगामी १० वर्षसम्म गुजरातमा राज गर्नेछन् ।’ अर्का एक व्यक्तिका अनुसार, ‘भगवान् मोदीका साथ छन् । त्यसैले उनी कसैको हत्या गर्न चाहन्छन् भने पनि म उनलाई साथ दिनेछु ।’ पुस्तक पसल चलाउने एकजना महिलाका अनुसार, ‘मोदी उत्तम पुरुष हुन् ।’ एउटा होटलमा वेटरको काम गर्ने युवाका अनुसार, ‘जति बेला गुजरातमा आतंकवादी हमला भइरहेको थियो, त्यसबाट जोगाउने मोदी नै हुन् ।’

निश्‍चित रूपमा मोदी आफ्ना विरोधी माझ पनि त्यति नै जोश पैदा गर्न सक्छन् । उनी ‘विभाजनकारी’ हुन भन्‍ने सार्वजनिक रूपमा दाग लागेको छ । तर, उनीसँग प्रेम र घृणा गर्ने दुवै थरी मानिस उनलाई एउटै कुराका लागि रुचाउँछन् । दुवै खालका मानिसलाई के लाग्छ भने मोदी सम्पूर्ण क्षेत्रमा पूर्ण नियन्त्रण राख्छन् र संस्थान तथा कानुनलाई किनारा गर्ने आँट राख्छन् । एकजना बलिया र चमात्कारिक नेताका रूपमा जसले ‘जुनसुकै मूल्यमा पनि कामलाई टुंगोे लगाउन सक्छ’ र त्यसका लागि स्थापित मानक मूल्य मान्यताले पनि महत्त्व राख्दैन, उनी ती सबै गर्न सक्छन् ।

यसमा कुनै शंका छैन कि मोदी स्वयंले आफूलाई त्यसरी हेर्दैनन् । मोदीको प्रशंसा गर्ने उद्योगपतिहरूसँग उनको सहज सम्बन्ध तिनको अहम् पुँजी हो । बीजेपीमा आवद्ध एक व्यक्तिका अनुसार, आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री एन चन्द्रबाबु नायडुको नियति पो हुने हो कि भन्‍ने वास्तविक डरले मोदीको मनमा घर गरेको छ । नायडु कुनै बेला ठूला व्यापारी र प्रेसका प्रिय पात्र थिए, तर सन् २००४ मा कांग्रेसमा पराजित भएपछि कहिल्यै सत्तामा पुनर्स्थापित हुन सकेनन् । 

गुजरातका एकजना पूर्वमुख्यमन्त्रीले मसँग भने, ‘मोदी जित्‍नेबारे मात्र सोच्छन् र हर क्षण जितको कल्पना गर्छन् । अन्य नेताहरू म एक दिन हार्न पनि सक्छु भनेर सोच्छन् र त्यसै अनुरूप रणनीति बनाउँछन् । तर, मोदीको यो गतिले उनलाई एक दिन दुर्घटनातर्फ पुर्‍याउन सक्छ । यसो हेर्दा भविष्यमा उनी कि त प्रधानमन्त्री बन्‍न सक्छन् वा जेलमा हुन सक्छन् । यदि म लामो समय जीवित रहेँ भने उनलाई अर्को ठाउँमा देख्दा आश्‍चर्यचकित हुनेछ ।’
मैले गुजरात छोड्नु केहीअघि एकजना आरएसएसका नेताले आफ्नो तीतो यसरी पोखे, ‘मोदी शिवलिङ्गमा विराजमान बिच्छी हुन् । उनलाई न हातले तल झार्न सकिन्छ, न त खुट्टाले ।’

(द क्याराभान  म्यागेजिनको मार्च २०१२ मा प्रकाशित लेख )

अनुवादः नरेश ज्ञवाली

 

प्रकाशित: २२ फागुन २०७८ १७:४३ आइतबार

चेतलुङ
चेतलुङ