२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
ग्लोबल विज्ञान-प्रविधि

चीनको कृत्रिम बौद्धिकताः विश्‍वमा कति शक्तिशाली ?

चीनको कृत्रिम बौद्धिकताः विश्‍वमा कति शक्तिशाली ?
तस्‍बिर साभारः एसिया टाइम्स ।

कृत्रिम बौद्धिकता अर्थात एआईको युगमा तथ्यांक पेट्रोलियम पदार्थ जत्तिकै महत्वपूर्ण  हो । यस अर्थमा चीन नयाँ साउदी अरब हो । - काई फु ली

यो भनाई सन् २०१८ मा ‘एआई सुपरपावर्स’ का लेखक काई फु लीले सिएनबिसी इन्टरनेसनलसँग एक अन्तर्वार्तामा भनेका थिए । यद्यपि उनले एआईमा अमेरिका अझै पनि आधारभूत अनुसन्धान, शोधपत्र प्रकाशनमा अगाडि नै रहेको र यो स्थिति अर्को दशकसम्म कायम नै रहने बताएका थिए । तर, उनले भ्यालु क्रियटेड प्रस्पेक्टिभ अर्थात् मूल्य सिर्जना दृष्टिकोण (जस्तैः बजार पुँजीकरण कति ? प्रयोगकर्ताहरू कति र कति राजस्व ?) बाट विश्लेषण गर्दा चीन सम्भवतः अमेरिकाभन्दा अगाडि नै रहेको बताएका थिए । 

सन् २०१७ मा चीनले नयाँ पुस्ताको कृत्रिम बौद्धिकता विकासका लागि गुरु-योजना सुरु गरेको थियो । जुन योजना विश्‍वव्यापी रूपमा सनसनीपूर्ण समाचार बन्यो । बोस्टन कन्सल्टिङ ग्रुपको अध्ययनअनुसार हाल ८५ प्रतिशत चिनियाँ कम्पनी एआईका क्षेत्रमा प्रभावशाली खेलाडीका रूपमा देखा परेका छन् । यसो हुनुमा, चीनका राष्ट्रपति सी जिनपिङसँग विज्ञान र प्रविधिबारे भएको ज्ञानले ठूलो काम गरेको छ । यससँगै हाल यदि चीन विश्‍वमा सैन्य एवं आर्थिक शक्तिको रूपमा उदाउने हो भने एआई महत्त्वपूर्ण हतियार हुनेमा विश्‍वास गर्नु पनि अर्को कारकको रूपमा हेरिएको छ । 

चीनमा एआईको विकास आक्रमक ढंगले तल्लो तहसम्म फैलिनुको कारण खेल प्रतिस्पर्धा हो भन्‍ने मानिन्छ । सन् २०१७ मा गुगलले आविष्कार गरेको एआई मेसिन अल्फागोले गो गेमका विश्‍व विजेता के जीलाई हराएपछि चीनमा एआई फैलिन सुरु भएको हो । 

एआईको यो फैलावट र प्रतिस्पर्धाले विश्‍वमा विभिन्‍न दृष्टिकोण निर्माण गर्यो । सामान्यतया धेरैले यो घटनाक्रमलाई मानवातामाथि मेसिनको विजयको रूपमा लिए । तर, चीनले भने पश्‍चिमी प्रविधि कम्पनीले बाँकी विश्‍वमाथि विजय हासिल गरेको रूपमा लियो । 

यसैअनुरूप पछिल्लो तथ्यले विगत दुई दशकमा सिलिकन भ्यालीका कम्पनीले विश्‍वको टेक्नोलोजी बजार जसरी कब्जा गरे त्यसलाई मेसिनको जित मात्र भन्‍ने अवस्था थिएन । यो जित पश्‍चिमी प्रभुत्वको व्यापक बृद्धिको संकेत थियो । डिजिटल संसारमा अमेरिकाको प्रभुत्व स्थापित गर्न फेसबुक र गुगलजस्ता कम्पनीले खेलेको भूमिकाको योगदान अमेरिकाको सम्पूर्ण सैन्य र आर्थिक शक्तिभन्दा धेरै थियो ।  

सन् २०१६मा पहिलोपटक मानव र अल्फागो मेसिनबीच प्रतिस्पर्धाको श्रृंखलामा अल्फागोले दिग्गज कोरियाली खेलाडी ली सेडोलविरुद्धको पाँच खेलको शृङ्खलामा चार-एकले विजय हासिल गर्यो । चीनमा भएको मानव-मेसिनबीचको प्रतिस्पर्धामा मेसिनको विजयबारे थाहा पाउनेहरु त्यति बेला निकै थोरै थिए ।  तर चीनमा भने पाँचै खेलमा झण्डै २८ करोड चिनियाँ दर्शक सहभागी थिए । यसले चीनलाई पछि एआईको क्षेत्रमा विभिन्‍न तरिकाले आक्रमक रूपमा बढ्न प्रोत्साहन मिल्यो ।

अमेरिकी वायुसेनाका पूर्वब्रिगेडियर जनरल रोबर्ट स्पाल्डिङका अनुसार यदि चीनले फाइभजी र एआईबीचको सहकार्यलाई सफल बनाउछ भने त्यसले एक स्मार्ट-सहरलाई नै हतियारको रूप दिनेछ । चीनले आधिकारिक रूपमा नोभेम्बर २०१९ मा फाइभजी नेटवर्क सुरु गरिसकेको छ ।

यो लगतै चीनमा सरकारी नीति र अधिकारी, लगानीकर्ता एवं उद्यमीलगायत सबैका योजनामा एआईलार्ई प्रमुखताका साथ् लिइयो । हाल चीन एआई क्षेत्रमा संसारमै प्रभुत्व जमाउने उद्देश्य र योजनाका साथ बढिरहेको भान हुन्छ । त्यसबाहेक एआई अनुसन्धान र उद्यमशीलतामा लगानी ऐतिहासिक स्तरमा बढिरहेको छ । यसले पनि चीन एआई क्षेत्रमा मजबुतीका साथ आगाडि बढिरहेको देखिन्छ । 

हाल एआईलाई लिएर चीनभरि नै विद्यार्थीको संख्या जुन स्तरले बढेको छ र एआईसम्बन्धी एडभान्स डिग्रीका कार्यक्रम सरकारी तवरबाट स्थापित भइरहनु चीनको लागि अर्को शुभ संकेत हो ।  यसले एआई क्षेत्रमा क्रान्ति ल्याउने संकेत गरेको छ । झन् हरेक चिनियाँ युवाका स्मार्ट फोनमा  एआईसम्बन्धी सामग्रीहरू हुनुले पनि चीन अबको एआई शक्ति हो भन्‍ने कुरालाई पुष्टि गर्छ ।   

सन् २०१७ देखि चीनको राज्य परिषद्ले कृत्रिम क्षमता विकास र निर्माण गर्नका लागि महत्त्वाकांक्षी योजना जारी गरेको थियो । जसले एआई विकासका लागि कोष, नीति र राष्ट्रिय समन्वयमा ठूलो परिवर्तन ल्यादिएको छ । निश्‍चित अवधिमा के हासिल गर्ने भन्‍ने सन्दर्भमा चीनले सन् २०२० र २०२५ सम्मको प्रगति विवरणका लागि मापदण्ड तय गरेको थियो । सन् २०३० सम्ममा चीनले सिद्धान्त, प्रविधि, र एप्लिकेसन जस्ता क्षेत्रका एआईमा विश्‍वकै सबैभन्दा विकसित हुने लक्ष्य राखेको छ । 

सन् २०१७ मा जब चिनियाँ सरकारले कृत्रिम क्षमता विकास र निर्माणको घोषणा गर्यो । एआई स्टार्टअप जस्ता टेक्नोलोजीमा रुची भएका चिनियाँमाथि अभूतपूर्व ढंगले लगानी गरिरहेका छन् । अहिले एआईमा चिनियाँको लगानी मात्रले विश्‍वको कुल लगानीको ४८ प्रतिशत ओगट्छ । यो लगानीले इतिहासमा पहिलो पटक अमेरिकालाई पनि पछाडी पारेको छ ।

एआई युगमा चीनको सैन्य क्षमता 

चीनको जनमुक्ति सेना हाल विश्‍वकै तेस्रो शक्तिशाली सेना हो । र, अहिले चीनले एआईसम्बन्धित भविष्यका परियोजनामा ध्यान केन्द्रित गरिरहेको छ । यो चासोलाई हेर्दा चीनले सैन्य क्षेत्रमा एआईको भविष्य देख्‍नसुरु गरिसकेको छ भन्‍ने देखाउँछ । 

त्यसैले अहिले शक्तिशाली मुलुकबीच चलिरहेको मानवरहित लडाइँको तयारी चिनियाँ सेनाले आफ्नै नेतृत्वमा अघि बढाईसकेको छ । अहिले चिनियाँ सेनाले एआईमा आधारित किलर रोबोट विकासका लागि युद्ध स्तरमा काम थालिसकेको छ । चिनियाँ सेनाले यो कामलाई मिसनको स्वरूप दिँदै सैन्य प्रविधिमा भविष्यवादी दृष्टिकोणलाई बुझाउन इन्टेलिजेन्टाइज्ड (बुद्धिमानिकृत) शब्द प्रयोगमा ल्याएको छ । 

गत जनवरी सन् २०२२मा युरेसियन टाइम्सको रिपोर्टअनुसार चिनियाँ जनमुक्ति सेनाले भारतीय सीमानजिक मेसिन गन चलाउने रोबोट तैनाथ गरेको समाचार प्रकाशित भएको थियो । यो समाचारमा सत्यता छ भने चीन अन्य शक्तिशाली मुलुकभन्दा यस क्षेत्रमा निकै अघि बढी सकेको भन्‍न मिल्छ ।  

तस्बिर साभारः फाइनान्सियल टाइम्स ।

यससँगै सन् २०१८ मा चिनियाँ जनमुक्ति सेनाले सैन्य उद्देश्यका लागि एआईको विकासलाई जोड दिने गरि अनुसन्धानमा काम गर्न एक सय २० शीर्ष विशेषज्ञको नियुक्ति गरेको थियो । यी विज्ञ एकेडेमी अफ मिलिटरी साइन्समा काम गर्न छनोट भएका हुन् । जसमा ९५ प्रतिशतभन्दा बढी अनुसन्धानकर्ताले एआईमा पीएचडी गरेका छन् । चिनियाँ जनमुक्ति सेनाका यस्ता कार्यनीति हेर्दा माथिको समाचार सत्य उन्मुख छ भन्दा फरक नपर्ला । 

चिनियाँ सेना, फाइभजी र एआईको संगम 

फाइभजी नयाँ वायरलेस टेक्नोलोजी (तारविहीन प्रविधि) हो, जहाँ डाउनलोडको गति अत्यधिक तिब्र हुन्छ अर्थात प्रतिसेकेन्ड गिगाबिटले बढोत्तरी हुन्छ । जुन हामीले प्रयोग गर्ने इन्टरनेटको गतिभन्दा २० गुणा बढी हो । यसले युद्धक्षेत्रमा संचार प्रणालीमा व्यापक सुधार गर्दै, छिटो र स्थिर सूचना प्रसारण गरी युद्ध मैदानमा इन्टरनेट र एआईको सहकार्यलाई बलियो बनाउने काम गर्छ । एआई सफ्टवेयर र एल्गोरिदमलाई शक्तिशाली बनाउने हो भने द्रूत गति भएको इन्टरनेटको आवश्यक पर्छ ।  र, फाइभजीले यो आवश्यकता पूर्ति गर्न सक्छ ।

यस सन्दर्भमा अमेरिकी वायुसेनाका पूर्वब्रिगेडियर जनरल रोबर्ट स्पाल्डिङका अनुसार यदि चीनले फाइभजी र एआईबीचको सहकार्यलाई सफल बनाउछ भने त्यसले एक स्मार्ट-सहरलाई नै हतियारको रूप दिनेछ । चीनले आधिकारिक रूपमा नोभेम्बर २०१९ मा फाइभजी नेटवर्क सुरु गरिसकेको छ ।   

पछिल्ला अध्ययनअनुसार एआईमा चीनको संलग्‍नताले विश्‍वमा अद्वितीय ढंगले उत्पादनको क्षमतामा परिवर्तन देखापर्नेछ भन्‍ने आंकलन गरिएको छ, जुन औद्योगिक क्रान्तिपछिकै नयाँ अनुभव हुनेछ । 

समयक्रमसँगै चीनको बुद्धिमान सेना अर्थात् इन्टेलीजेन्ट मिलिट्रीको विकासले विश्‍व राजनीतिमा अर्को नयाँ बहस सिर्जना गर्ने मात्रै नभई विश्‍व आणविक हतियारको दौडमा रोक लगाउदै संसार एआई हतियार प्रतिस्पर्धामा सामेल हुने प्रचुर सम्भावना छ । 

कृत्रिम बौद्धिकताको विश्‍वगुरु

अहिले वैज्ञानिक एआईलाई ‘विद्युत’ को आविष्कारसंग दाँज्‍ने गर्छन् । जसरी विद्युत आविष्कारपछि मानव इतिहासले क्रान्तिकारी फड्को मार्यो त्यसरी नै एआईले मानव समाज परिवर्तनका लागि भूमिका खेल्ने विश्‍वास गरिएको छ । तर, इतिहासमा ‘विद्युत’को विकास हुनुमा विभिन्‍न आधारहरू छन् । विद्युत उत्पादन गर्न जीवाष्म इन्धन, विद्युतबाट नयाँ व्यवसाय निर्माण गर्ने उद्यमी, विद्युतलाई प्रयोग योग्य बनाउने इन्जिनियर र समय सापेक्ष पूर्वाधार विकासका लागि सहयोगी सरकार ‘विद्युत’ विकासका आधार हुन् ।

यी दृष्टिकोणबाट हामीले चीनलाई हेर्यौ भने चीनलाई एआई शक्ति बन्‍न सबै विषयले साथ दिइरहेको देखिन्छ । एआई विकासका लागि चाहिने प्रसस्त तथ्यांक, एआईको महत्त्व बुझेका उद्यमी, सम्बन्धित वैज्ञानिक, एआईअनुकूल नीति र त्यसका लागि चाहिने राजनीतिक वातावरण पर्छन । यी यावत विषयलाई हेर्ने हो भने एआईमा चीनको उदय अपरिहार्य जस्तै देखिन्छ । 

चीनको सबैभन्दा बलियो पाटो अत्याधिक ‘डाटा (तथ्यांक) को स्रोत’ हो । चीन यो स्थितिमा पुग्‍न सक्नुको कारण त्यहाँको प्रविधिक इकोसिस्टमलाई मानिन्छ । उदाहरण, अहिले चीनका हरेक तप्कामा प्रविधि जोडिएको छ । जुन एआई कार्यान्वयनका लागि ठूलो पुँजी तथा शक्ति हो । प्राविधिक संसारमा मानिसको स्थान, संवाद, खानपान र मनपर्ने वस्तुलगायतले एआईका लागि उर्जाको काम गर्छ ।

पछिल्ला अध्ययनअनुसार एआईमा चीनको संलग्‍नताले विश्‍वमा अद्वितीय ढंगले उत्पादनको क्षमतामा परिवर्तन देखापर्नेछ भन्‍ने आंकलन गरिएको छ, जुन औद्योगिक क्रान्तिपछिकै नयाँ अनुभव हुनेछ । यससँगै सन् २०१७ को प्राइस बाटरहाउस कूपर्सको अनुमानअनुसार सन् २०३० सम्म एआई कार्यान्वयनले विश्‍वव्यापी रूपमा चार सय १५ दशमलव सात ट्रिलियन डलरको नयाँ अर्थतन्त्र स्थापना गर्नेछ । 

यो सन्दर्भमा चीनले कुल ७ ट्रिलियन डलर आफ्नो जीडीपीमा थप्‍नेछ । यो आँकडा लगभग उत्तर अमेरिकाको भन्दा दोब्बर हो । यसले एआई अर्थव्यवस्था पूर्णरूपमा चीनको पक्षमा हुन्छ भन्‍ने संकेत दिन्छ । यसकारण चीन एआईको युगमा विश्‍वको शक्तिशाली देश हो भन्दा अतियुक्ति नहोला ।

प्रकाशित: ७ चैत २०७८ १५:५० सोमबार

चेतलुङ
चेतलुङ