२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
ग्लोबल राजनीति मिडिया

हामीलाई प्रतिरोधको एसियाव्यापी मञ्च चाहिएको छः शाहिदुल आलम

हामीलाई प्रतिरोधको एसियाव्यापी मञ्च चाहिएको छः शाहिदुल आलम
तस्बिरः उषा तितिक्षु

बंगलादेश एक दशकदेखि बिरामी छ । लोकतान्त्रिक अधिकार खुम्चिएको मात्र होइन, असहिष्णुताको विरुद्ध आवाज उठाउनेहरू मारिएका छन् वा हिंसात्मक निशानामा पारिएका छन् । साथै विद्रोहको आगो पनि भित्रभित्रै सल्किरहेकै छ । जुलाई २०१८ मा सार्वजनिक बसले किचेर दुई जना स्कुले विद्यार्थीको मृत्यु भएको घटनापछि उठेको विद्यार्थी आन्दोलन त्यस्तै एउटा विद्रोह थियो । त्यतिखेरै अलजजिरा टिभीले फोटो पत्रकार शाहिदुल आलमको अन्तर्वार्ता लियो । 

अन्तर्वार्ताका क्रममा आलमले उक्त विद्यार्थी आन्दोलनलाई मुलतः सरकार विरोधी आन्दोलनका रूपमा चित्रण गरे । त्यही दिन अर्थात ५ अगस्टमा सादा पोशाकका सुरक्षाकर्मीले आलमलाई घरबाटै पक्राउ गरे । सूचना तथा सञ्‍चार प्रविधि ऐन (आईसीटी) को धारा ५७ अन्तर्गत ‘सरकार विरोधी प्रचार गर्न गलत सूचना फैलाएको’ अभियोग उनलाई लगाइयो । आरोप प्रमाणित भएमा उनलाई लामो जेल सजाय हुनसक्छ ।

उक्त घटनाले विश्‍वकै ध्यान तान्यो । १३ नोभेम्बर २०१८ का दिन रोमिला थापर, अरुन्धती रोय, रामचन्द्र गुहा, सुशीला कार्कीलगायत दक्षिण एसियाका ३४ जना प्रबुद्ध नागरिकले प्रधानमन्त्री शेख हसिना वाजेदलाई पत्र लेखेर आलमलाई जेलमुक्त गर्न आग्रह गरे । उक्त पत्रमा भनिएको थियो, ‘बंगलादेशका शुभचिन्तक र त्यसका १६ करोड ६० लाख नागरिकको गरिमा, सामाजिक न्याय र समृद्धिको संघर्षका समर्थकका रूपमा हामी फोटोग्राफर तथा सांस्कृतिक कार्यकर्ता शाहिदुल आलमको निरन्तरको कारावासबाट दुःखी छौँ ।’ त्यतिञ्‍जेल उनलाई ढाकास्थित सेन्ट्रल जेलमा कैद गरिएको सय दिन भैसकेको थियो । त्यस लगत्तै उनलाई जमानतमा रिहा गरियो ।

६३ वर्षका आलमले इग्ल्याण्डको युनिभर्सिटी अफ लिभरपुरबाट स्‍नातक गरेका छन् । विद्यार्थी जीवनमा उनी सोसलिस्ट वर्कर्स पार्टी (युके)सँग आवद्ध थिए । उनले सन् १९८९ मा ड्रिक पिक्चर लाइब्रेरी, सन् १९९८ मा पाठशाला साउथ एसिया मिडिया इस्टिच्युटको स्थापना गरे । यो दक्षिण एसियाको प्रतिष्ठित संस्थाहरू मध्ये एक मानिन्छ । विश्‍व फोटो प्रतियोगिताको निर्णायक मण्डलमा पहिलो एसियाली अध्यक्ष भैसकेका उनलाई सन् २००१ मा रोयल फोटोग्राफी सोइटी ब्रिटेनको मानार्थ फेलोशिप सम्मान दिइएको थियो । उनका तस्बिरहरू टाइम म्यागजिन, न्यूयोर्क टाइम्स, गार्जियन र नेशनल जियोग्राफिकसहित पश्‍चिमका प्रतिष्ठित सञ्‍चारमाध्यममा प्रकाशित भईसकेका छन् । हाल उनी ब्रिटेनको युनिभर्सिटी अफ सन्डरल्याण्डका भिजिटिङ प्रोफेसर हुन् । आलमसँग काठमाण्डौं आएका बेला चेतलुङका लागि नरेश ज्ञवालीले गरेको कुराकानीः

नरेश ज्ञवाली: कयौँ कलाकार, ब्लगर र पत्रकार बंगलादेश सरकारको निशानामा परिरहेका छन्, तपाईं पनि लामो समयको जेल बसाईँलाई पूर्ण विराम नलगाई जमानतमा छुटेर काठमाडौं आउनु भएको छ, यति हुँदाहुँदै पनि त्यहाँ कलाको अवस्था कस्तो छ ?

शाहिदुल आलम: एकैछिन हाम्रै अघिल्तिरको टेबललाई उदाहरण लिने हो भने यहाँ धेरैवटा कप छन् र यी कपहरूमा धेरै कुरा लेखिएका छन् । केहीमा ‘फ्री प्यालेस्टाइन’, केहीमा ‘नेभर गिभ अप’, र केहीमा ‘नयाँ बिहानी आउने छ’ भनि लेखिएको छ । यी केही त्यस्ता राजनीतिक एवं अर्ध–राजनीतिक नारा हुन, जसले हामीमा आशा भर्ने काम गर्छन । फेरि पनि हामी त्यस्तो परिस्थितिका माझ बाँची रहेका छौँ, जुन उपभोक्तावादबाट निसृत छ, किनभने सबै कुरा बजारीकृत भएका छन् । अत्यधिक नाफाका लागि सबै लागिपरेका छन् । यसैको परिणाम स्वरूप हाम्रा केही कलाकृतिहरू हराउँदै छन् । विशेषतः सर्वसाधारणले बनाएका कलाकृति हराउँदै गई रहेका छन् । हाम्रै वरिपरिबाट सबाल्टर्न कला हराउँदै गईरहेको छ । 

त्यसैले हामीले एउटा आवासीय भवन निर्माण गरेका छौँ, जहाँ कलाहरू मध्येको एउटा– रिक्सामा कलाकृति भर्ने पेन्टरहरूलाई आवासीय सुविधाका साथ आफ्नो कामलाई नयाँ उचाईमा विकसित गर्ने स्वतन्त्रता होस । उनीहरूले आवसगृहका लागि चाहिँने भौतिक संरचना मात्र बनाएका छैनन्, बरु उनीहरूले दैनन्दिनका लागि चाहिँने सामग्रीमा समेत कैयन कलाकृति भरेका छन् । यस्ता कयौँ कलाकृति जो लोप हुने डिलमा उभिएका छन्, हामीले त्यसको संरक्षण गर्नुपर्ने छ । विशेषतः सबाल्टर्न कलालाई जगेर्ना गर्न हाम्रो ‘चिन्तन खुराक’ ले यस्तै काम गर्छ ।

नरेश ज्ञवाली: तपाईंले सबाल्टर्न कलाको प्रशंग कोट्याउँदै गर्दा काठमाडौं उपत्यका र बाहिर कयौँ सबाल्टर्न कला मृत्योन्मुख हुँदै गई रहेको छवि मस्तिष्कमा आई रहेको थियो । 

शाहिदुल आलम: यी कलाकृतिहरू जिविका चलाउने माध्यम मात्रै नभई हराईरहेका कलाकृति पनि हुन् । अहिले हाम्रो आफ्नै आवासगृह छ, जहाँ पाठशाला साउथ एसिया मिडिया इन्च्ट्यिुट र ड्रिक एजेन्सी छ । यसका साथै हामीले २७ अप्रिलमा नयाँ अनलाइन समाचारपत्रिका ड्रिक सार्वजनिक गर्ने तयारी गरेका छौँ । आवास बनेदेखि हामी सबै एक ठाउँमा छौँ । हिजोआज कोही बोल्ल चाहन्‍न अर्थात सेल्फ–सेन्सरसिपले सबैलाई गाँजेको छ । त्यसैले हामी एउटा सुरक्षित ज्ञानशाला निर्माण गर्न खोजिरहेका छौँ , जहाँ मानिस खुलेर बोल्न सकुन । संवाद गर्न सकुन ।

हिजोआज कोही बोल्ल चाहन्‍न अर्थात सेल्फ–सेन्सरसिपले सबैलाई गाँजेको छ । त्यसैले हामी एउटा सुरक्षित ज्ञानशाला निर्माण गर्न खोजिरहेका छौँ, जहाँ मानिस खुलेर बोल्न सकुन । संवाद गर्न सकुन ।

हामीले बनाएको त्यो ठाउँमा सबै कलाकार, पत्रकार, आलोचक, व्हिसलब्लोअर र नयाँ पुस्ताका केटाकेटी आउन र उन्मुक्त भएर बहस–छलफल गर्न सकुन भन्‍ने चाहन्छौँ । उनीहरू आक्रोश पोख्‍न चाहन्छन भने पनि त्यसो गर्न पाउनु पर्छ । त्यसपछि हामी त्यहाँ समाजका ज्वलन्त प्रश्‍नमा नियमित प्रवचन र बहस गराउन चाहन्छौँ । हाम्रो ‘ड्रिक स्पेस’ मा गरिने बहस–छलफल राजनीति प्रेरित हुनेछ । अन्य सार्वजनिक स्थानमा मानिस राजनीति प्रेरित कार्यक्रम गर्न डराउँछन, किनभने कयौँ आर्ट ग्यालरीहरू सुरक्षित हुन चाहन्छन । उनीहरू सरकारलाई बिच्काउन चाहन्‍नन्, आर्थिक सहयोग गुमाउन चाहँदैनन् र पुरस्कारको अपेक्षासहित त्यसै अनुरूप काम गर्छन ।

तस्बिर: सौरभ कान्तिदास

तर, हामी यसको प्रवाह गर्दैनौँ र राजनीति प्रेरित कार्यक्रम गर्न स्वतन्त्र छौँ । वास्तवमा यस्ता कार्यक्रमले सरकारको एकमनावादी शैलीको विरोध गर्ने हुनाले उनीहरू हामीलाई चुप लगाउन चाहन्छन् । त्यसैले सरकारले मलाई थुन्‍ने काम गर्‍यो । हाम्रा प्रदर्शनीहरूमा आक्रमण गरियो । सरकारले हामीलाई सताउनकै लागि कर कार्यालयका तथा भ्रष्टाचार विरोधी निकायका अधिकारीलाई बारम्बार पठाउने गर्छ । र, हाम्रा विरुद्ध कपोलकल्पित भाष्यको निर्माण गर्न, सामाजिक सञ्‍जालमा ट्रोल गर्न विभिन्‍न मानिस परिचालित गर्ने गर्छ ।

उनीहरूले हामीलाई सताउन सक्ने जति सबै गर्छन । तसर्थ हाम्रो आवासीय मञ्‍चले यस्ता गतिविधिको प्रतिरोध गर्छ । तपाईंहरू हाम्रो आवासीय मञ्‍चमा आउनुस । त्यो हाम्रो मञ्‍च हो । त्यो स्वतन्त्रताप्रेमीहरूको मञ्‍च हो । मानवताको पक्षमा आवाज उठाउने संसारभरिका मानिसको मञ्‍चलाई जोगाउन हामीले अहोरात्र काम गरिरहेका छौँ । त्यसैले तपाईंहरू सबैलाई त्यहाँ स्वागत छ ।

नरेश ज्ञवाली: समाजमा यस्ता पहलकदमीले के फरक पार्छ त ?

शाहिदुल आलम: कुनै पनि समाजमा जवाफदेहिता र पारदर्शीता भन्‍ने दुई अवयवको अभावमा तानाशाही जन्मिन्छ । सत्तामा कुनै मसिहा नै बसेका छन् भने पनि प्रश्‍न गर्ने कोही छैनन् भने मसिहा भ्रष्ट र फासिस्ट हुन पुग्छन । यसकारण यो व्यवस्थालाई नियमन गरिराख्‍नुपर्छ । हामी सत्ता परिवर्तनका कुरा गर्छौँ, तर म व्यक्तिगतरूपमा यसलाई अल्पावधिक सोच मान्छु, किनभने प्रक्रिया महत्वपूर्ण विषय हो किनभने जो सुकै पनि साविककै प्रक्रियाले सत्तामा पुग्छ र हविगत मैले भनेको मसिहाकै जस्तो हुनपुग्छ ।

नरेश ज्ञवाली: फोटो खिच्‍ने, रचनात्मक काम गर्ने, कलाकृति बनाउने र भिजुअल मिडियामा काम गर्ने लगायतका पहलकदमीले प्रक्रियालाई जबाफदेही बनाउँदै समाजमा कसरी सकारात्मक परिवर्तन ल्याउँछ ?

शाहिदुल आलम: सरकारसँग ‘मनी एन्ड मसल’ छ र त्यो नै उसको शक्ति हो तर हामीसँग रचनात्मकता छ । बौद्धिकता छ । यसअर्थ वास्तवमै हामी शक्तिशाली छौँ । उनीहरू रचनात्मकता र बौद्धिकताको सामना गर्नै सक्दैनन् । उनीहरू मुढेबलको भाषा बुझ्छन । उनीहरू मानिसलाई कसरी खरिद गर्ने भन्‍ने जान्दछन । हामीसँग भएका सीपको सामना गर्ने क्षमता उनीहरूमा हुँदैन । मेरो विचारमा यही सामर्थ्य उनीहरूविरुद्ध हाम्रो प्रतिरोधी संयन्त्र बन्‍नपुग्छ । यसबाहेक तपाईंसँग ठूलो संस्थापन छ वा त्यस्तो संस्था, जुन धेरै दाताको दानबाट सञ्‍चालन भई रहेको छ, तब त्यहाँ तपाईंले थोरै मात्र स्वतन्त्रताको उपभोग गर्न पाउनु हुन्छ । किनभने त्यस्ता संस्थालाई जिवित राख्‍न खुवाई राख्‍नेहरू अर्थात डोनरको आवश्यकता पर्छ । यस्तो अवस्थामा तपाईंले खुवाई राख्‍ने हातहरूलाई खुसी पारिराख्‍नुपर्छ । 

यसकारण सानो संस्था बलियो हुन्छ, त्यहाँ तपाईं गुरिल्ला युद्ध लड्न सक्नुहुन्छ । तर, जब संस्था ठूलो हुन्छ तपाईंलाई ट्यांक, प्लेन, रनवे, शास्त्रागारको आवश्यकता पर्छ । सानो संस्थामा गुलेली नै सही तर त्यसको उच्चतम प्रयोग कसरी गर्ने भन्‍नेमा तपाईं निपूर्ण हुनपुग्‍नु हुन्छ । तपाईंका काम–कारवाही पनि भिन्‍न तरिकाले अघि बढ्छन् । तपाईंको रचनात्मकताले के फरक पार्छ भन्दा, रचनात्मकताले प्रश्‍न जन्माउँछ, दरार पत्ता लगाउँछ, मानिसलाई उद्वेलित बनाउन सक्छ र मान्छेमा निद्रा पनि बाँकी नराखेर बेचैनी ल्याउनसक्छ, जुन परम्परागत मिडिया र अनेकौँ संस्थाले गर्न सक्दैन । यसअर्थ हामीसँग मानिसका चेतनालाई प्रभावित पार्ने ठूलो शक्ति छ ।

नरेश ज्ञवाली: तपाईंका लागि रचनात्मकता जनतामाझ पुग्‍ने संयन्त्र हो भन्‍न खोज्‍नु भएको ?

शाहिदुल आलम: जनतामाझ पुग्‍न मात्रै होइन मानिसको स्वत्वमै प्रभाव पार्न, मानिसलाई चनाखो बनाउन, आफूप्रति जिम्मेवार हुन सिकाउन, उत्तेजित पार्न र क्रुद्ध बनाउनका लागि पनि यो सशक्त संयन्त्र हो । जब सबै मानिस एक ठाउँमा आईपुग्छन् र प्रतिरोध गर्छन तिनलाई कसैले पनि रोक्न सक्दैन । यसको अनुपम उदाहरण तपाईंले नेपालमा महशुस गर्नु भएकै छ । जनतामा अभूतपूर्व शक्ति हुन्छ, त्यसैले त सत्ताधारीहरूले विश्‍वभर जनतालाई नै विभाजित गरिरहेका छन् । 

कुनै पनि समाजमा जवाफदेहिता र पारदर्शीता भन्‍ने दुई अवयवको अभावमा तानाशाही जन्मिन्छ । सत्तामा कुनै मसिहा नै बसेका छन् भने पनि प्रश्‍न गर्ने कोही छैनन् भने मसिहा भ्रष्ट र फासिस्ट हुन पुग्छन ।

उनीहरूले जनतालाई नियन्त्रण गर्नेगरि प्रलोभन र दण्ड एकै पटक दिई रहेका छन् । मेरो देश बंगलादेशमा सबैभन्दा ठूलो समस्या सरकारी दमन होइन, बरु बौद्धिक भनिएकाहरूको मौनता हो । बंगलादेशमा कलाकार, बौद्धिक, पत्रकारले गर्नुपर्ने प्रश्‍न नै गरिरहेका छैनन् । उनीहरूले आफूलाई लिलाम गरिसके र संस्थापनकै अंग बनिसके । उनीहरूलाई यसै गर्दा फाईदा छ र यो फाईदा लिन उनीहरू लालायित छन् । 

नरेश ज्ञवाली: भाषिक मुक्ति आन्दोलनबाट निर्माण भएको बंगलादेश स्वतन्त्र भएकै दिन अर्थात फेब्रुअरी २१लाई विश्‍वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइन्छ, तिनताका मातृभाषा आन्दोलनको नेतृत्व गरेका बौद्धिक अहिले किन मौनता साँधी रहेका छन् त ?

शाहिदुल आलम: सुविधाजनक जीवनको खोजी नै यसको पहिलो र अन्तिम कारण हो । जब तपाईं आरामदायी जीवन रोज्‍नु हुन्छ, तब तपाईंको प्रतिरोधी क्षमता क्षिण हुँदै जान्छ । इतिहास पल्टाउने हो भने जब यी बौद्धिक स्वतन्त्रताको संघर्ष गरिरहेका थिए यिनीसँग गुमाउनका लागि केही थिएन, तर अहिले उनीहरूले केही कमाएका छन् र त्यसमा सरकारको ठूलो प्रोत्साहन मिसिएको छ । 

यिनका छोराछोरी विदेशमा पढ्छन्, देशभित्र ठूलो जमिनको मालिक हुन पुगेका छन् । यीनहरूसँग घर, गाडी र बचत छ । त्यति मात्र होइन सरकारसँग नजिक भएकाले यी बौद्धिकहरूलाई भविष्यमा हुने व्यापारिक सौदावाजीको लाभान्स प्राप्त छ । अन्य लाभ लिने मौका पनि त्यति नै छ । यो समग्र प्रक्रियाले उनीहरूलाई सुविधाको एउटा तहमा पुर्‍याईदिएको छ । परिणाम स्वरूप समाजले ठूलो विध्वंस खेप्‍नु परिरहेको छ । 

नरेश ज्ञवाली: सन् ७० को दशकमा बंगालदेश स्वतन्त्र हुँदैगर्दा एक्यबद्धतामा अमेरिकन गायिका जोन बेजले ‘बंगलादेश, बंगलादेश’भन्‍ने गीत गाएकी थिईन । तर, सन् २०२२ सम्म आई पुग्दा बंगलादेशमा ब्लगर्स, पत्रकार, सामाजिक कार्यकर्ता मारिदा, भारतसहित विश्‍वभर मुसलमान विरुद्ध ‘हेट स्पिच’को विषाक्त हावा चलि रहँदा, प्यालेस्टाइनमा नागरिक र पत्रकार मारिँदा अन्तर्राष्ट्रिय एक्यबद्धताको स्वर निकै मलिन सुनिन्छ किन ?

शाहिदुल आलम: पहिलो कुरा अहिलेको विश्‍व उपभोक्तावादी एवं पुँजीवादी विश्‍व हो । कुनै बेला विश्‍वभर वामपन्थी आन्दोलन बलियो थियो । विश्‍वभर असंलग्‍न आन्दोलनको आफ्नै महत्व थियो । पुँजीवाद आज ती सबै आन्दोलनहरू भन्दा कयौँ गुणा बढी शक्तिशाली छ । पुँजीवादी व्यवस्थाले ती सबै क्षेत्रमा अतिक्रमण गरिसकेको छ, जहाँ प्रतिरोधी आगो थियो । एकपटक विचारगरि हेर्नुस त अमेरिकाले विश्‍वको ५१ प्रतिशत हतियार उत्पादन गर्छ र उसैले शान्तिको कुरा गर्छ । यो विरोधाभाषी कुरा हो । वास्तवमा अमेरिका विश्‍वभर युद्ध जारी राख्‍न चाहन्छ । युद्ध भएन भने अमेरिकाको व्यापार नै हुँदैन । 

तपाईंले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका सदस्य राष्ट्रलाई हेर्नुस, जसको जिम्मेवारी शान्ति कायम गर्ने भनिएको छ उनीहरू नै सबै भन्दा ठूला हतियार निर्यातकर्ता मुुलुक हुन् । अर्थात संसारका सबैभन्दा ठूला हतियार उत्पादकलाई हामीले शान्ति स्थापित गर्ने जिम्मेवारी दिएका छौँ । यो त्यस्तै कुरा हो मानौ कुनै बालयौन दुराचारीलाई तपाईंले आफ्नो नानीको सुरक्षामा खटाउनु भएको छ । दुःखद तर वास्तविकता हाम्रा अघिल्तिर स्पष्ट छ– राष्ट्रसंघले कहिल्यै आफ्नो भूमिका निर्वाह गर्न सकेन किनभने ठूला राष्ट्रको त्यसमा नियन्त्रण कायम छ । तसर्थ अन्तर्राष्ट्रिय ऐक्यबद्धता कहिल्यै पनि निर्माण हुन् सकेन ।

यसबाहेक विश्‍व बैंक, आइएमएफ जस्ता संस्थाहरूको हाम्रो जस्तो मुलुकमा अत्यधिक नियन्त्रण छ । माथिल्ला ओहदाका मानिस तिनले जे भन्यो त्यही मान्छन किनभने उनीहरूलाई त्यसैमा फाइदा छ । तर, गम्भीर प्रश्‍न के हो भने हामीखुरु–खुरु कर तिर्छौ, नेताहरू त्यो पैसा अमेरिका, मलेसिया, सिंगापुर, क्यानाडालगायतका मुलुकमा निर्यात गर्छन । नेताहरू आफ्ना सन्तानलाई बंगलादेशमा पढाउन वा हुर्काउन चाहन्‍नन् । उनीहरूले जनतालाई लुटेका छन् र पैसा विदेश पुर्‍याएका छन् र यो सबै विश्‍व बैंक, आइएमएफ जस्ता संस्थासँगको साँठगाठमा भई रहेको छ । 

पुँजीवादी व्यवस्थाले ती सबै क्षेत्रमा अतिक्रमण गरिसकेको छ, जहाँ प्रतिरोधी आगो थियो । एकपटक विचार गरि हेर्नुस त अमेरिकाले विश्‍वको ५१ प्रतिशत हतियार उत्पादन गर्छ र उसैले शान्तिको कुरा गर्छ । यो विरोधाभाषी कुरा हो ।

जब ती धनी देशका बारे हामी प्रश्‍न गर्न थाल्छौँ तब उनीहरू हामीलाई हाम्रो देशमा मानवअधिकारको अवस्था कस्तो छ भनेर भन्‍न थाल्छन् । तर, उनीहरू आफ्नोमा मानवअधिकारको अवस्थाबारे कुनै चासो राख्दैनन् । वास्तवमा उनीहरू प्रत्येक मुलुकमा आफू अनुकुलको वफादार तानाशाह चाहन्छन, जो उनका इशारामा चल्न सकुन । बस उनीहरू आफ्ना एजेन्डा पुरा भाको हेर्न चाहन्छन । उदाहरण बंगलादेशमा हुने तमाम मानवअधिकार उल्लङ्घनका घटनामा ठूला देश मौनता साध्छन किनभने बंगलादेशले रोहिङिग्या शरणार्थीलाई शरण दिएको छ । बंगलादेशले शरण नदिने हो भने ती शरणार्थी युरोप–अमेरिका पुग्छन । यसर्थ बंगलादेशले उनीहरूको ठूलै सेवा गरेको छ । अर्कोतर्फ बंगलादेश तथाकथित ‘वार अन टेरर’ लाई अन्धसमर्थन गर्छ । त्यसैले बंगलादेशमा हुने हत्या, कुटपिट, आलोचकको स्वर दबाइएका घटना मानवअधिकार उल्लंघनका मुद्धा बन्दैनन् । 

अब भारततिर लागौँ, भारतमा त्रासदपूर्ण मानवअधिकार उल्लङ्घनका घटना भएका छन् र त्यसैगरि चीनमा पनि मुसलमानमाथि अत्याचार मच्चाइएको छ । चीनका मुसलमानका लागि सारा ठूला देश बोल्छन तर मोदीले मुसलमानमाथि गरेको अत्याचारका बारे कोही बोल्दैन किनभने भारत उनीहरूको आर्थिक साझेदार हो । उनीहरू भारतसँगको व्यापार सम्बन्धलाई तोड्न होइन झन प्रगाढ बनाउन चाहन्छन् । तर, चीन ठूला शक्ति राष्ट्रका लागि आर्थिक चुनौती हो । वास्तवमा अर्थतन्त्रले नै राजनीतिलाई निर्धारण गर्ने गर्छ । 

नरेश ज्ञवाली: र, लोकतन्त्र पनि?

शाहिदुल आलम: हो, अन्य सबै विषय । ‘डेमोक्रेसी’ वास्तवमा उनीहरूका लागि शब्दजाल मात्रै हो । युक्रेन नै लिउ न युक्रेनमा रुसले जे गरिरहेको छ, त्यो निसन्देह गलत हो तर जब इजरायलले प्यालेस्टाइनमाथि अतिक्रमण गरिरहेको थियो त्यसलाई गलत किन भनिएन ? जब यमन, सिरिया, अफ्गानिस्तानमाथि आक्रमण भयो त्यहाँ भएको मानवअधिकार हननको विषय उनीहरूको चासोको विषय किन बनेन ? इराकमा झुठको बलमा जुन युद्ध लादियो त्यसमा किन कसैलाई समस्या भएन ?

अहिले यी ठूला राष्ट्रहरू रुसका युद्ध अपराध गिनाईरहेका छन्, तर इराक, अफगानिस्तानमा भएका अभूतपूर्व युद्ध अपराध, त्यसबारे किन कोही बोल्दैन ? यी देशहरू शरणार्थीको एउटा तप्कालाई स्वागत गर्छन अर्कोलाई तिरस्कार । यसको सबै भन्दा ठूलो उदाहरण पोल्याण्डको सीमा भएर आउने युक्रेनी शरणार्थीलाई खुलेरै स्वागत गरिन्छ तर बेलारुससँग जोडिएको पोल्याण्डको सीमाबाट आउने सिरियाली शरणार्थीलाई यिनीहरू रोक लगाउँछन् । यो सबैले उनीहरूको नाङ्गो पाखण्डलाई दर्शाउँछ । 

युक्रेनमा जे भैरहेको छ, त्यसबारेमा पश्‍चिमा मिडियाको रिपोर्टिंग हेर्नुस न, उनीहरू हामी केही बुझ्दैनौँ भन्ठान्छन । वास्तवमा समग्र पश्‍चिमी मिडिया संयन्त्र नश्लभेदी छ । हाम्रो समस्या भनेको यसलाई पूर्णरूपमा चुनौती दिन नसक्नु हो । यो समस्या समाधान गर्न हामीलाई शक्तिशाली मिडियाको खाँचो छ । तपाईं हामीले चुनौतीपूर्ण प्रयास गरिरहेका छौँ तर हाम्रो आवाज एकत्रित हुन सकिरहेको छैन ।

नरेश ज्ञवाली: तपाईंले गरेको संघर्षको दक्षिण एसियाको सन्दर्भमा के अर्थ छ ?

शाहिदुल आलम: विश्‍वभर नेताले जे भनिरहेका छन् त्यहाँका जनताले त्यसभन्दा भिन्‍न भनिरहेका छन् । अर्थात सबै देशमा नेता र जनताको कुरामा ठूलो खाडल छ । हामीले विरोधका स्वर उच्चो बनाएनौँ भने जनता र नेताको आवाज एउटै हो भन्‍ने पारिनेछ । त्यसैले इतिहासमा जनताका असन्तुष्टी, विरोध र संघर्ष अभिलेखित हुनुपर्छ । नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंकाका जनताले त्यति बेला यसो भनेका थिए भनेर उल्लेखित हुनैपर्छ । 

एउटा देशमा मात्रै नभई यो समग्र क्षेत्रकै लागि हामीले संयुक्त प्रतिरोधको वातावरण सिर्जना गर्नैपर्छ । नत्र हामीले शासकको वर्चश्‍वलाई चुनौती दिन सक्ने छैनौँ ।

यो कुरा भावी पुस्तालाई हामीले थाहा दिनै पर्छ । श्रीलंकामै हेरौँ न, जनताले आफ्नो आवाज शानदार ढंगले दर्ज गराएका छन् । मेरो चासो बंगलादेशमा श्रीलंकाको जस्तो संघर्ष किन हुँदैन भन्‍नेमा छ । भारतमै पनि सरकारसँग प्रश्‍न गर्ने काम भइरहेको छ, त्यहाँको साहिनबाग वा किसान आन्दोलन धेरै शक्तिशाली आन्दोलन हो । काबुल, हङकङ, म्यान्मारमा प्रतिरोध भैरहेका छन् तर बंगलादेशमा यस्ता संघर्ष हुन सकिरहेका छैनन् । यसलाई संगठित गर्नु नै हाम्रो कामको महत्वपूर्ण अंश हो ।

नरेश ज्ञवाली:  समान आर्थिक, राजनीतिक, सांस्कृति पृष्ठभूमिका बाबजुद दक्षिण एसियाली मुलुकका संघर्षशील व्यक्ति, संगठनहरू एक ठाउँमा आउन सकिरहेका छैनन्, यसलाई कसरी जोड्न सकिएला भन्‍ने ठान्‍नु हुन्छ ?

शाहिदुल आलम: मेरो विचारमा हामीले आफ्नै देशमा संगठित आन्दोलनको वातावरण निर्माण गर्नुपर्छ । मेरो देशको हकमा भन्‍ने हो भने प्रमुख विपक्षी तहसनहस भएको छ र वामपन्थी शक्ति हराई सकेको छ । त्यो शुन्यतालाई सम्बोधन गर्न कुनै वैकल्पिक नेतृत्व पनि छैन । यद्यपि हामी एक हुने ठाउँ छ । त्यसका लागि दक्षिण एसियाली ऐक्यबद्धताको आवश्यक छ अर्थात तपाईं–हामी जस्ता मानिस छौँ है भन्‍ने बोध गराउनु आवश्यक छ । हामीले एक–अर्काको अभियानमा सामूहिक समर्थन दिनसक्छौँ । 

जति बेला म गिरफ्तार भएँ नेपाल, बंगलादेश, श्रीलंका, भारतका जनताले एक ठाउँमा उभिएर आवाज उठाए । त्यो शक्तिका अघिल्तिर सरकार टिक्न सकेन । त्यसैले हामीलाई प्रतिरोधको दक्षिण एशियाव्यापी मञ्‍च चाहिएको छ । हामी सहकार्य गर्न सक्छौँ तर दुःखको कुरा, हामीले तपाईंको संघर्षमा एक्यबद्धता जनाउन सकेका छैनौँ, तपाईंले हाम्रो आन्दोलनमा एक्यबद्धता जनाउन सकिरहनु भएको छैन । त्यसैले एउटा सामूहिक आधार निर्माण गर्नैपर्छ, जहाँ आलोचक, पत्रकार, कलाकार, स्वतन्त्र विचारक सबै एक ठाउँमा आएर आफ्नो मत जाहेर गर्न सकुन । 

हाम्रा देशका नेतृत्वले जे कुराको उपेक्षा गर्छन हामीले त्यसलाई अघि बढाउनै पर्छ । अहिले प्रोपोगान्डा र दमनकारी संयन्त्रले स–साना प्रतिरोधलाई निस्तेज पार्दैछ, यस अवस्थामा एउटा देशमा मात्रै नभई यो समग्र क्षेत्रकै लागि हामीले संयुक्त प्रतिरोधको वातावरण सिर्जना गर्नैपर्छ । नत्र हामीले शासकको वर्चश्‍वलाई चुनौती दिन सक्ने छैनौँ । तपाईं मेरो देशका लागि नभए पनि अन्तर्राष्ट्रिय मुद्धामा अग्रसर हुनैपर्छ ।

प्रकाशित: १ जेठ २०७९ १३:११ आइतबार

चेतलुङ
चेतलुङ