२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
ग्लोबल राजनीति समाज सामयिक इतिहास

बेलायतमा जीवनको नयाँ अर्थ खोज्दै प्यालेस्टाइनी शरणार्थी

बेलायतमा जीवनको नयाँ अर्थ खोज्दै प्यालेस्टाइनी शरणार्थी
प्रतिकात्मक फोटो

मे २०२१ मा गाजामाथि इजरायलले सैन्य हमला गरेको एक महिनापछि प्रदर्शनकारीहरूले प्यालेस्टाइनका लागि न्यायको माग गर्दै लण्डन मार्च गरे । त्यति बेला ब्रिटेनमा प्यालेस्टाइनको समर्थनमा ठूला-ठूला र्‍याली आयोजना गरियो । यी र्‍यालीहरू लण्डन र कार्डिफ जस्ता ठूला शहरहरूमा मात्र नभएर वेल्सको स्वानसी र न्यूपोर्ट जस्ता साना सहरहरूमा पनि आयोजना गरिए, जहाँ प्रायः यस्ता प्रदर्शन नै हुँदैनन् । 

२०२१को मे मा राजन मधूनलाई ११ दिनसम्म एउटै किसिमको नराम्रो सपना आइरह्‍यो । त्यतिबेला इजरायलले गाजामाथि लगातार सैन्य हमला गरिरहेको थियो । सपनामा उनले आफूमाथि कयौँ मिसाइल खस्‍न लागेको देख्थिन मानौँ ती तारामण्डलबाट झरिरहेका उल्कापिण्ड हुन । उनी आफ्ना दुई वयस्क छोरीहरूका साथ ज्यान जोगाउन सुरक्षित स्थान खोजी रहेकी हुन्थिन, त्यति नै बेला कानको जाली च्यात्तिने आवाजको साथ एक मिसाइल उनकी एउटी छोरीमाथि खस्यो । योसँगै उनी आत्तिदै पसिनाले लतपत भएर सपनाबाट बिउँझिन्थिन ।

मधून ३३ वर्षीय प्यालेस्टाइनी शरणार्थी हुन । उनी सन् २०१५मा बेलायत आएकी थिइन र अब आफ्ना छोरीहरूसँगै स्कटल्याण्डमा बस्छिन । गत वर्ष मे मा इजरायल र प्यालेस्टाइन बीचमा संघर्ष चर्किदा उनले सन् २०१४मा ठ्याक्कै यसैगरि इजरायली सैनिकले गरेको सैन्य अतिक्रमणलाई पुनः स्मरण गर्न पुगिन । त्यति बेला उनको सबैभन्दा ठूलो जिम्मेवारी नै आफ्ना छोरीहरूलाई कसरी सुरक्षित राख्‍न सकिन्छ भन्‍ने थियो । 

उनले मसँग भनिन, ‘यस्ता घाउहरू कहिल्यै निको हुँदैनन् । धेरै मानिस भन्छन् धन्‍न युद्ध सक्कियो, तर वास्तवमा युद्ध कहिल्यै सकिँदैन । तपाईं आजीवन युद्धका घाउका टाटाहरूसँग जुधीराख्‍नु पर्छ ।’ युद्धभूमीबाट कयौँ माइल टाढा भए पनि युद्धले मेरो मनमा नमेटिने छाप कोरिदिएको छ, उनी भन्छिन् । आफ्नी १३ वर्षीय छोरीले हालसालै बनाएको एउटा भित्तेचित्र देखाउँदै मधून भन्छिन-त्यसमा ऊ बमबाट छेलिएर भागीरहेकी छे । उसको चित्रमा युद्धको गहिरो प्रभाव देख्‍न सकिन्छ ।

विगत साढे तीन दशकमा इजरायल-प्यालेस्टाइन युद्धमा कम्तिमा १४ हजार मानिसको मृत्यु भयो । मधून आफ्ना छोरीलाई युद्धमा केही नभएकोमा अलिक ढुक्क छिन । तर, उनलाई गाजामै बसिरहेका आफ्ना बुवाआमाको चिन्ता छ ।

मधूनले भनिन्, ‘२०१४मा हामी गाजामा हुँदा इजरायली हमलाका कारण छिमेकीको घर पूर्ण नष्ट भयो भने हाम्रो घर आंशिक ध्वस्त हुन पुग्यो । त्यति बेला छोरीले आफ्नै आँखाले सबै मानवीयताका पर्खाल भत्केको देखी । मैले पहिलो पटक उसको अनुहारमा गहिरो डरको भाव देखेँ ।’

विगत साढे तीन दशकमा इजरायल-प्यालेस्टाइन युद्धमा कम्तिमा १४ हजार मानिसको मृत्यु भयो । मधून आफ्ना छोरीलाई युद्धमा केही नभएकोमा अलिक ढुक्क छिन । तर,उनलाई गाजामै बसिरहेका आफ्ना बुवाआमाको चिन्ता छ । उनले मलाई भनिन्,‘मई २०२१मा हमला बढे लगत्तै मैले उहाँहरूसँग कुरा गरेकी थिएँ । म उहाँहरू जीवित हुनुहुन्छ कि मारिनु भयो भन्‍ने मात्रै जान्‍न चाहन्थेँ । यस पटक पनि उहाँहरू त्यहाँबाट निस्कन पाउनु भएन भने के होला ?’ मधुन आफ्ना आमाबुबासँग छुट्टिएको पनि ६ बर्ष भई सक्यो । उनले बेलायतमा शरणार्थीका रूपमा आश्रय पाईन । 

उनले भनिन्, ‘हामी आफ्नो घर फर्केर जान सक्दैनौँ किनभने आफ्नो देश गएसँगै हामीले यहाँको नागरिता गुमाउछौँ ।’ चुनौतीपूर्ण भिजा प्रक्रियाका कारण उनका बुवाआमा पनि उनी भएको ठाउँमा आउन सकेका छैनन् । उनले थपिन, ‘म एकजना त्यस्तो साथीलाई चिन्छु, जो १२ वर्षदेखि लण्डनमा बसोबास गरिरहेकी छिन् । उनीसँग बेलायती पासपोर्ट छ । तर, उनले आफ्नी आमालाई ब्रिटेन ल्याउनका लागि जुनसुकै बेला निवेदन दिँदा पनि ब्रिटेन सरकारले त्यसलाई अस्वीकार गरिदिन्छ । उनकी आमा लण्डन आएमा आफ्नो देश फर्किन्छिन भन्‍नेमा ब्रिटेन सरकार पूर्ण आस्वस्थ छैन । मधून ब्रिटेनमा शरण लिँदै गरेका कयौँ प्यालेस्टाइनी शरणार्थीहरू मध्ये एक हुन । उनका कथाहरूले उनको संघर्षलाई प्रतिविम्वित गर्छन । फेरि पनि उनीहरू असल जीवनको खोजीमा कयौँ प्रयासहरू गरिरहेका छन् । 

तस्बिर साभार: काउन्सिल अन फरेन रिलेसन्स

मधूनका आमाबुवालाई ब्रिटेन बसाईँसराईँ गर्ने इच्छा पनि छैन । उनी भन्छिन्, ‘उहाँहरू बुढा भइसक्नु भयो । त्यसैले उहाँहरूलाई गाजामै बस्‍ने बानी परिसकेको छ । त्यसो त यहाँको भाषा र संस्कृति पनि भिन्‍न छ । म कति मात्र चाहन्छु भने उहाँहरूसँग एक पटक भेट्ने अनुमति पाइयोस ।’ मधूनले थपिन्- मे २०२१को संघर्षताका म मानसिक रूपमा तयार थिइन । उनले भनिन्, ‘म तिनताका दुःखको सागरमै थिएँ भन्दा पनि हुन्छ । नराम्रा सपनाहरूका बीच हामी जेनतेन बाँचीरहेका थियौँ, अहिले पनि बाँचीरहेका छौँ र मैले सास फेर्ने बाहेक थप केही गर्न सकेकी छैन ।’

म तिनताका दुःखको सागरमै थिएँ भन्दा पनि हुन्छ । नराम्रा सपनाहरूका बीच हामी जेनतेन बाँचीरहेका थियौँ, अहिले पनि बाँचीरहेका छौँ र मैले सास फेर्ने बाहेक थप केही गर्न सकेकी छैन ।

मधूनले गाजामा मानिसको दैनन्दिन कस्तो छ भन्‍ने उल्लेख गर्दै भनिन्, ‘त्यहाँ मानिसको विकासका लागि कुनै अवसर छैनन् । म गाजामा बसोबास गर्नेलाई चिन्छु, जे सुकै होस उनीहरू देश छाड्न चाहँदैनन् किनभने त्यहीँ उनीहरूको घर हो । तर, जब म आफ्ना बच्चाहरूले यहाँ काम गर्दै गरेको हेर्छु । मनको एउटा कुनामा लाग्छ, यिनीहरू गाजामा भएको भए यस्तो काम गर्न पाउँदैनथे । कुनै पनि प्यालेस्टाइनी बच्चाहरूले यस्तो अवसर पाउँदैनन् । म आमा हूँ । म आफ्ना नानीहरूको भलो चाहान्छु, त्यसैले म गाजा फर्किने र उनीहरूलाई युद्धमा हुत्याई दिने निर्णय गर्न सक्दिन ।’

३३ वर्षीय प्यालेस्टाइनी शरणार्थी रहिम लबान एक दिन प्यालेस्टाइनको आफ्नो घर फर्कन पाउने आशा राख्छन् । उनका बाजेबज्यै सन् १९४८मा प्यालेस्टाइन छोडेर आएका थिए । उनी साउदी अरबमा जन्मिएर सिरियामा हुर्किए । उनी २०१२मा अन्तर्राष्ट्रिय छात्रका रूपमा ब्रिटेन आएर गत बर्ष शरणार्थीका लागि निवेदन दिए । सन् २०२१मा उनी बेलायती नागरिक भए । लबानले ब्रिटेनको नागरिता लिनुको कारण खुलाउँदै भने, ‘उनका वंशजलाई इजरायल जान प्रतिबन्धित छ र बेलायती पासपोर्टले हामी सामान्य जाँच र कम प्रताडना सहित घर जान सक्छौँ ।’

बेलायती पासपोर्ट प्राप्त गरेकालाई प्यालेस्टाइन वा इजरायल जानका लागि भिसाको आवश्यकता हुँदैन । तर, लबानले भने- ब्रिटेन इजरायल समर्थक हो । त्यसैले हामी इजरायल जान चाहँदा निकै कठिनाईको सामना गर्नुपर्छ । उनले भने, ‘यो देशले मलाई शरण दिएकोमा जति खुसी छु, इजरायलको समर्थक भएकोमा त्यति नै दुःखी छु ।’ लामो सास तानेर केहीबेर रोकिँदै उनले भने, ‘परिस्थिति कस्तो छ भने तपाईं वर्षौँसम्म एउटा घरमा बसेर पनि असुरक्षित महसुस गर्न सक्नु हुन्छ । आफ्नो बचाउ गर्नु राम्रो हो भने म सधैँ पलायन हुनका लागि तयार छु । म स्वयंमलाई दोषी ठान्दिन तर म आदर्शवादी पनि होइन ।’

उनलाई पटक-पटक घरबाट निकालिएर शरणार्थीका रूपमा चाहार्दै हिँड्न मन छैन र आशा गरौँ उनी कुनै न कुनै दिन घर फर्कने छन् ।

मे २०२१मा बेलायती सांसद जाराह सुल्तानले संसदमा भने, ‘प्यालेस्टाइनको स्वतन्त्रताको माग आज पहिलेको भन्दा तीव्र भइसकेको छ तर पनि बेलायती सरकारले त्यसमा ध्यान दिइरहेको छैन । सरकारले सन् २०१५ देखि आजसम्म इजरायललाई हतियार बेचेर चार सय मिलियन पाउण्ड प्राप्त गरिसक्यो । समाचारपत्र दि इन्डिपेन्डेन्टका अनुसार मे २०२१मा बेलायतमा बनेका सैन्य हतियार तथा हार्डवेरको प्रयोग इजरायली सेनाले गाजामाथि हवाई हमलाका लागि गरिरहेको छ ।’ इजरायली सेनाका प्रवक्ताले बमबारीमा एफ-३५ को प्रयोग भएको भनेर यसको पुष्टि पनि गरेका छन् । सन् २०२१ मा प्यालेस्टाइनमा इजरायलले हमला गरेपछि ब्रिटेनमा प्यालेस्टाइनको समर्थनमा ठूलो प्रदर्शन भयो ।

तस्बिर साभार: इन्साइट टर्की

युद्धविरामको घोषणापछि पनि यस्ता प्रदर्शनहरू जारी थिए । एमनेस्टी इन्टरनेशनलका अनुसार सन् १९४८ मा इजरायल अस्तित्वमा आएपछि प्यालेस्टाइनका सात लाखभन्दा धेरै नागरिक विस्थापित भएका छन् । एम्‍नेस्टीका एडवोकेसी डायरेक्टर फिलिप लुथरले उनको संस्थाद्वारा जारी एक विज्ञप्तिमा भने, ‘इजराइलको स्थापना भएसँगै सात दशकभन्दा धेरै पहिले, जुन प्यालेस्टाइनीहरूलाई उनीहरूका घरहरूबाट बेदखल गरिएको थियो, उनीहरू आज पनि विनाशकारी परिस्थितिको सामना गरिरहेका छन् ।’

ह्यूमन राइट्स वाचले भन्यो प्यालेस्टाइनी शरणार्थी, जो सुरुमै देशबाट बाहिरिन बाध्य पारिएका थिए उनीहरू र तिनका वंशज दुवैलाई घर फिर्तिको अनुमति दिइनुपर्छ । लबानले भने, ‘बुवा भन्‍नुहुन्छ-प्यालेस्टाइनी शरणार्थीलाई फिर्ता जाने अनुमति दिइयो भने उनी सबैभन्दा पहिले घर फर्कने छन् । उनलाई पटक-पटक घरबाट निकालिएर शरणार्थीका रूपमा चाहार्दै हिँड्न मन छैन र आशा गरौँ उनी कुनै न कुनै दिन घर फर्कने छन् ।’

(क्याराभान हिन्दीबाट)

अनुवाद ः कृष्ण बोहरा यात्री
 

प्रकाशित: १२ जेठ २०७९ ११:४० बिहीबार

चेतलुङ
चेतलुङ