१६ असार २०७९, बिहीबार - June 30, 2022 Thursday
इतिहास इतिहास-विमर्श

इतिहासको एकलकाँटे भाष्य

इतिहासको एकलकाँटे भाष्य
कलाः रविन्द्र खनियाँ

व्यक्ति–इतिहास अन्तर्सम्बन्ध

व्यक्तिको प्रत्यक्ष नेतृत्वबिना इतिहास निर्माण हुँदैन। तर, इतिहासमा व्यक्तिको भूमिका प्रधान मान्ने कि तत्कालीन वस्तुगत परिस्थिति भन्ने विषय अझै पनि बहसकै घेरामा छ । इतिहासका घटनाहरू जे जसरी घटित भए र आजको परिस्थिति निर्माण भयो, यसमा तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको भूमिका कति हो ? व्यक्तिको चेतनास्तर र नेतृत्वक्षमताले ठूलो प्रभाव पारेको थियो भन्न त कठिन हुँदैन । खास समयमा खास व्यक्तिको सचेत प्रयत्नले पनि इतिहासलाई ‘त्यस्तो’ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तर, समग्र परिस्थितिको तुलनामा अमुक व्यक्ति नै इतिहास निर्माता हुनसक्छ ?

‘इतिहास पुरुष’ भन्ने भाष्यलाई यहाँ केलाउन जरुरी छ । इतिहासबोधमा केवल केही व्यक्तिका कारण इतिहास बदलिएको हो भन्ने एउटा जबरजस्त जिरहले स्थान बनाएको छ । त्यस्तो सोचको चस्माबाट हेर्दा लाग्छ– हाम्रो अस्तित्व, पहिचान सबै तिनै अमुक व्यक्तिहरूको निर्देशनमा बनेको सिनेमाजस्तै हो । नेतृत्वकर्ताको सचेत प्रयत्नले इतिहास निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्छ र दिएको पनि छ । सकारात्मक या नकारात्मक जस्तो परिणाम भए पनि नेतृत्व र वैयक्तिक चेतनाको उपज बनेर बदलिएका इतिहासका थुप्रै मोडहरू छन् । यो स्वीकार्य मान्यता हो ।

तर, यही मान्यताको टेको लाएर ‘व्यक्तिगत नेतृत्व र वैयक्तिक चेतना’ बाहेक अरू सबै तत्त्वलाई निषेध गरियो भने इतिहासबोधमा गम्भीर त्रुटि हुन्छ । इतिहास पठन र लेखनको मूल समस्या यही हो । इतिहासका विभिन्न सन्दर्भमा भिन्नभिन्न कोणबाट बहस उठेपछि अचेल नेपालमा यो समस्या झनै उजागर भएको छ ।

व्यक्ति निर्माण प्रक्रिया

व्यक्तिको चेतना र क्षमता निर्माण व्यक्तिगत हुन्छ कि सामूहिक ? व्यक्तिको स्वत्व नै चेतना र क्षमता निर्माणको आधारविन्दु हो कि तत्कालीन सामाजिक, भौतिक परिस्थिति ? यो महत्त्वपूर्ण प्रश्‍नमा हिजोआज गम्भीर बहस पनि भइरहेको छ । व्यक्ति आफैँमा समाज या पर्यावरणसँगको अन्तर्सम्बन्धको निर्मिति हो । इतिहास लेखनका सिद्धान्तकार ईएच कार आफ्नो प्रख्यात प्रवचन ‘इन्डिभिजुआलिज्म एन्ड सोसलिज्म’ मा भन्छन्, ‘समाज र पर्यावरणको सम्पर्कमा आउनुअघि व्यक्ति केवल जैविक थुप्रो मात्र हुन्छ । आज ‘व्यक्ति’ शब्दले जुन अर्थ दिन्छ, त्यो ‘जैविक थुप्रो’ मात्र हुँदै होइन । मानिसको चेतना र क्षमता निर्माण प्रक्रियाबाट समाज अनि घटनाहरू हटाइदिने हो भने यो निर्माण प्रक्रिया दुर्घटनामा पर्छ ।’

एउटा व्यक्तिको जन्म जैविक नै हुन्छ । तर, तत्कालै उसको सामाजिकीकरण सुरु हुन्छ । यस प्रक्रियामा आमा, परिवार, समाज, पर्यावरण, उक्त देशकालमा घटित घटना/दुर्घटना सबैको भूमिका हुन्छ । सबै प्रकारका सामाजिक अवयव तथा घटनासँगको अन्तरक्रिया एउटै देशकालमा हुन असम्भव हुने भएकाले हरेक व्यक्तिको चेतना र क्षमतामा विविधता भेटिन्छ । अर्कोतिर व्यक्तिको आनुवंशिक गुणमा हुने भिन्नताले पनि चेतना र क्षमता–निर्माणको प्रक्रियालाई फरक पार्छ ।

व्यक्ति समाज निरपेक्ष हुँदैन र हुन पनि सक्दैन । त्यसैले इतिहास निर्माणमा व्यक्तिको भूमिका प्रधान हुन पनि सक्तैन । तर, आफ्नो सचेत प्रयत्नले इतिहासको दिशा बदल्न कुनै व्यक्ति सफल हुनसक्छ । उक्त सचेत प्रयत्नले अपरिपक्व भौतिक परिस्थितिलाई समेत परिपक्व बनाउँदै परिवर्तनको बाटो बनाउन सक्छ । यहाँ ख्याल गर्नुपर्ने कुरा के भने त्यो ‘व्यक्ति’ आफैंमा सामाजिक अन्तरक्रियाको निर्माण हो र उसको सचेत पहलमा पनि सामूहिक चेतना र प्रयत्न लागेकै हुन्छ ।

इतिहासः एक सामूहिक प्रयत्न

केही प्रश्‍नलाई मनन गरौँः धरहरा कसले बनाएका हुन् ? नालापानीको लडाइँमा अंग्रेजलाई हायलकायल कसले पारेका हुन् ?

यी बारम्बार सोधिने हाजिरीजवाफी प्रश्‍न हुन् । यिनीहरूका बनिबनाउ जवाफ छँदै छन् । साथसाथै यी प्रश्‍नको जवाफ खोज्ने भिन्न कोसिसले नयाँ बहस पनि जन्माएका छन् । चलनचल्तीको कुरा गर्ने हो भने इतिहास निर्माणमा सामूहिकतालाई निषेध गर्नु यी प्रश्‍नहरूको साझा विशेषता हो । त्यति मात्र होइन, यी र यस्ता प्रकृतिका प्रश्‍न वरपर रहेरै हाम्रो समाजमा इतिहास पठन हुने गरेको छ । राज्यले प्रोत्साहन र लगानी गरेको इतिहास लेखनमा पनि यही प्रयत्न छ । यस्तै इतिहास लेखन र पठनको प्रक्रियाले लाखौँ मानिसको मस्तिष्कमा इतिहास व्यक्तिहरूको मात्र योगदान हो भन्ने अवधारणा स्थापित गरेको छ ।

जब इतिहास नै व्यक्तिकेन्द्री बनाइन्छ, तब वस्तुसंगत अध्ययनको माध्यमबाट मुक्ति वा प्रगतिको बाटो पहिल्याउने भन्दा पनि मुक्तिदाता, भाग्यविधाताको खोजी गर्नु नै आममानिसको काम हुनपुग्छ । नेताहरू आफूलाई मुक्तिदाता ठान्दै आममानिसलाई गुलाम करार गर्न पुग्छन् । मुक्तिदाताको अवतरणका किस्सा लेख्दालेख्दै बौद्धिकहरू लेखनदासमा रूपान्तरित हुन्छन् ।

धरहरा निर्माणको कुरा गर्दा त्यसमा योगदान गर्ने इन्जिनियर, मजदुर आदिको चर्चा नगर्ने, नालापानीको युद्धमा रातदिन खटेका भान्छे, भरिया र सिपाहीको योगदानलाई शून्य बनाइदिने, सडक आन्दोलनका सन्दर्भमा जनता र कार्यकर्तालाई बिर्सिदिने इतिहास नै अहिलेको मूलधारे इतिहास हो । इतिहासको अध्ययन विगतका समस्या चिन्न, वर्तमानका अप्ठ्याराको सामना गर्ने ज्ञान पत्ता लगाउन नै गर्ने हो । अन्यथा इतिहास किन लेख्ने, किन पढ्ने ? परम्परागत इतिहास लेखन र पठन त्यसैले रुचिकर र आवश्यक सावित हुन सकेको छैन ।

इतिहासको भाष्यले आम मान्छे मात्र नभएर नेता, बौद्धिकलगायत सबैको चौतर्फी दृष्टिकोण निर्माणमा महत्त्वपूर्ण योगदान गर्छ । जब इतिहास नै व्यक्तिकेन्द्री बनाइन्छ, तब वस्तुसंगत अध्ययनको माध्यमबाट मुक्ति वा प्रगतिको बाटो पहिल्याउने भन्दा पनि मुक्तिदाता, भाग्यविधाताको खोजी गर्नु नै आममानिसको काम हुन पुग्छ । नेताहरू आफूलाई मुक्तिदाता ठान्दै आममानिसलाई गुलाम करार गर्न पुग्छन् । मुक्तिदाताको अवतरणका किस्सा लेख्दा–लेख्दै बौद्धिकहरू लेखनदासमा रूपान्तरित हुन्छन् ।

इतिहासको अवधारणा

असली हिन्दुस्ताना वा हिन्दु राष्ट्रको व्याकरणमा अढाई सय वर्ष शासन चलाइएको नेपालमा चेतना निर्माणको बलियो जग बसाउने स्वस्थानी, रामायण, महाभारतजस्ता काव्यहरू प्रचलित छन्् । पाठ्यपुस्तक, साहित्य, कला, संगीत आदिमार्फत् राज्यकै प्रायोजन र प्रोत्साहनमा यी काव्यका कथा र चरित्रहरू व्यापक प्रचार गरिएका छन् । मूलतः देव र दानव, सुर र असुरजस्ता अवधारणामा आधारित यस्ता काव्यहरूले नै व्यक्तिलाई देवत्वकरण गर्ने सीप विकास गरिदिन्छन् । देवता स्थापित गर्न दानव तत्त्व पनि आवश्यक पर्छ । त्यसैले यी ग्रन्थहरूमा देवपक्ष सुरुदेखि अन्तिमसम्म ‘देवता’ नै रहने, असलकै प्रतिनिधि रहने गरेका छन् । दानव–पक्षहरू पनि सुरुदेखि नकारात्मक र खराव आचरणको प्रतीकका रूपमा चित्रित छन् ।

बालमस्तिष्कबाटै छाप पारिएका यी ग्रन्थको प्रभाव यति गढेर रहन्छ कि त्यो प्रभावबाट मुक्ति पाउन आफैँसँग ठूलो विद्रोह गर्नुपर्छ । यी ग्रन्थहरूको पठन या श्रवणले एकातिर व्यक्तिहरूको भूमिका नै हरेक स्थानमा प्रधान हुने अवधारणा अचेतनमै विकास गराइसकेको हुन्छ भने अर्कोतिर असल र खराब निरपेक्ष हुन्छ भन्ने अवधारणा पनि विकास गराएको हुन्छ । येशु ख्रिस्टबिनाको बाइबल, महादेवबिनाको स्वस्थानी, रामबिनाको रामायण अनि कृष्णबिनाको महाभारत कल्पनातीत हुन्छ । व्यक्तिकेन्द्री यी ग्रन्थहरूले इतिहासप्रतिको धारणा निर्माणमा अब्बल भूमिका निर्वाह गरिरहेका छन् । परिवार पहिलो पाठशाला हो भने परिवारमा बालकको सिकाइ यस्तै ग्रन्थबाट हुन्छ र त्यसै अनुसार चेतनाको अंकुरण हुने गर्छ । त्यसैले चेतना निर्माणको प्रक्रिया बुझ्न यस्ता धार्मिक ग्रन्थको आलोचनात्मक अध्ययन आवश्यक पर्छ ।

ज्ञानको अर्को स्रोत विद्यालयदेखि नै पढाइने इतिहासको पाठ हो । ‘नसुती चारै प्रहर, लडे बलभद्र कुँवर’ भनेर इतिहाससम्बन्धी विशिष्ट अवधारणा कक्षाकोठाबाटै विकास गराइन्छ । पहिल्यैदेखि व्यक्तिकेन्द्रित ‘देव’ भावनाबाट प्रेरित ज्ञानचक्षु लिएर आएको विद्यार्थीलाई फेरि उही गोलचक्करमा फसाइन्छ । ‘बलभद्रबाहेक अरू सबै मस्त निद्रामा छन् र केवल बलभद्र लड्दै छन्’ भन्ने आशय छ उक्त पंक्तिमा । इतिहाससम्बन्धी सम्पूर्ण पाठहरू यस्तै व्यक्तिकेन्द्रित भावले ओतप्रोत भई लेखिएका छन् । विद्यार्थीको ज्ञानको बलियो आधार निर्माण गर्ने ठाउँबाटै इतिहास निश्चित व्यक्तिकै पेवा हो भन्ने अवधारणा सिकाइन्छ । इतिहासमा राम्रो योगदान रहेका व्यक्तिहरूको खराबी नै हुँदैनन् भन्ने अर्को घातक भावसमेत विद्यालयमै सिकेका हुन्छौँ हामी धेरैले । अनि उनीहरूमाथि प्रश्‍न गर्नुलाई नै अपराध करार गरिदिन्छौँ, जसरी जिसस, कृष्ण या राममाथि प्रश्‍नहरू लगभग प्रतिबन्धित छन् ।

एउटा अनौपचारिक आंकलनअनुसार संख्यात्मक हिसाबले नेपालमा धेरै मानिस राजनीतिमा प्रत्यक्ष संलग्न भएको मानिन्छ । राजनीतिक दलको प्रशिक्षण, मुखपत्र, नेताहरूका भाषण, विश्वको राजनीतिक घटनाक्रम, ऐतिहासिक क्रान्ति विद्रोहका इतिहासहरू पनि ज्ञान निर्माण र इतिहाससम्बन्धी अवधारणा निर्माणको महत्त्वपूर्ण पाटपुर्जा बन्न पुगेको छ । अपवादलाई छाडेर ती सबै स्रोतहरूले समग्रमा सिकाउने अन्धसमर्थन, नेताभक्ति, देवत्वकरण आदि नै हुन् । व्यक्तिकेन्द्रित यी अवधारणाले पनि इतिहासलाई ‘सामूहिक साझा प्रयत्न’ भन्दा पर ‘व्यक्तिगत चमत्कार’ मा सीमित गरिदिन्छन् । अझ महत्त्वपूर्ण सवाल यो छ– कम्युनिस्ट विचारधारा बोकेका राजनीतिक संगठनहरूले आफ्ना कार्यकर्तालाई सैद्धान्तिक रूपमा सांगठनिक शक्तिमा विश्वास गरे मात्र परिवर्तन सम्भव हुने बताउँछन् र व्यवहारमा व्यक्तिपूजा सिकाउन सक्ने हदसम्मको चतुर छन् । जनक्रान्ति, जनयुद्ध, जनआन्दोलन, जनमुक्ति, जनसेना, जनमिलिसिया, जनअदालतजस्ता भाष्यहरूले जनतालाई निर्णायक शक्ति स्वीकार गर्छन् । यदाकदा यस्तै अभ्यासहरू पनि भएका छन् । तर, यति मीठा भाष्यका भाष्यकारहरू नै व्यक्तिकेन्द्री देवत्वकरणको अभियानमा लामबद्ध हुनुले उदेकलाग्दो अवस्था सिर्जना गरेका छन् ।

साहित्यमा प्रारम्भिक कालका महाकाव्य, खण्डकाव्य आदिबाट भक्तिधारा र वीरगाथाको अभ्यास गरियो । पछि कथा, उपन्यास अनि निबन्धबाट व्यक्तिपूजनलाई निरन्तरता दिइयो । नायकत्वलाई विकृत गरियो र प्रायः कृतिमा नायकलाई कमजोरीविहीन अलौकिक रूपमा खडा गरियो । भत्किँदो भए पनि त्यो क्रम अद्यापि जारी छ । ऐतिहासिक उपन्यासहरू पनि यो प्रवृत्तिबाट अलग रहन सकेनन् । अर्कोतिर कलाका अन्य विधा नाटक र चलचित्रहरू त झन् यो प्रवृत्तिका प्रवक्ता नै बने । पछिल्लो समय चेतना निर्माणको हस्तक्षेपकारी भूमिकामा चलचित्र देखिएको छ । सवैभन्दा बढी अलौकिकता, व्यक्तिगत चमत्कारको प्रचार गर्ने र सामूहिक प्रयत्नको धज्जी उडाउने काम पनि मूलधारे भनिने चलचित्रले नै गरेका छन् । साहित्य र कला पनि इतिहाससम्बन्धी अवधारणा निर्माणका औजार हुन्।

यसरी ज्ञान निर्माणको समग्र कोर्स नै व्यक्तिगत चमत्कारलाई अंकमाल गर्दै सामूहिक प्रयत्नलाई पाखा लगाउन तल्लीन रहेको देखिन्छ । यस्तो कोर्सबाट दीक्षितहरूको इतिहाससम्बन्धी अवधारणा ‘व्यक्तिवादी’ हुनु नौलो कुरो होइन ।

नायक खोज्ने इतिहास

एउटा चर्चित गीतको बोल छ– ‘यो देशमा म एउटा मानिस खोजिरहेछु !’ यस गीतको पात्र सारा काम छाडेर एउटा मानिस खोज्दै हिँडेको बताउँछ । त्यो पात्रलाई जनताको प्रतिनिधि मान्ने हो भने जसको तागत, श्रम, सीप, चेतनाले नयाँ आविस्कार गर्न सक्छ, समाज र पूरै देशलाई चलायमान पार्न सक्छ, अझ भनौँ– अरबको मरुभूमिमा चमत्कारिक शहर खडा गर्ने पात्रहरूले सात काम छाडेर चमत्कारी कुनै मानिस खोजिहिँडे भने समाज वा देशको गति के होला ? त्यस्तो देशको गति भनेकै दुर्गति हुने हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । तर, देशप्रेमका नाममा देशलाई दुर्गतिमा लैजान सक्ने गीत कसरी बिनाप्रश्‍न चर्चित भइरह्यो त ?

देशप्रेमको नाममा व्यक्तिपूजा यस गीतको मूल मर्म हो । साथै यस गीतले भाग्यवादको वकालत गर्छ अनि अलौकिक शक्तिमाथि विश्वासको मसिनो रेखा पनि कोर्छ । आफ्नै शक्ति, जनताको साझा तागतलाई अवमूल्यन गर्छ । समाजको सम्पूर्ण उत्पादन, श्रम प्रक्रिया एवम् अहिलेसम्मका परिवर्तनमा निहित जनसहभागिता र जनयोगदानको धज्जी उडाउँछ । यस्ता गीतहरू लेखिनु, गाइनु अनि लोकप्रिय पनि हुनु इतिहासलाई व्यक्तिकेन्द्रित अवधारणामा खुम्च्याउनुको स्वाभाविक प्रतिविम्बन हो ।

यस्तै नायकप्रधान छ, हाम्रो मूलधारे इतिहास । यसले तथ्यलाई आफूअनुकूल प्रयोग गर्ने, कतिपय अवस्थामा तथ्यलाई बंग्याउने या अस्वीकार गर्नेसम्मको हर्कत गर्छ । खास ऐतिहासिक पात्रप्रतिको इतिहासकारको पूर्वधारणा या अनावश्यक अनुरागका कारण खास ऐतिहासिक व्यक्तिको कमजोरी देखिने तथ्य/तथ्यांक अनदेखा गर्ने र अप्रकाशित राख्ने चेष्टा नेपालमा धेरै भएका छन् ।

जब आममान्छे आफ्नो तागतदेखि बेखबर हुन्छ, तब ‘कोही आउँछ र गर्छ’ ले उसको चेतनालाई छोप्छ । भाग्यवाद र नायकवादको वैचारिकी यिनै जगमाथि टेकेर अग्लिन्छन् । नायकप्रति अन्धविश्वास या अधिक विश्वास सिर्जना हुन्छ । जब नायकको नायकत्व कमजोर हुन थाल्छ, तब उसको विश्वासमा यसरी भुइँचालो जान्छ कि ऊ आफूलाई चरम निराशाबाट बचाउनै सक्तैन । अर्कोतर्फ विचार र एजेन्डामा समर्थन वा विरोधको कुनै मतलब हुँदैन, आफ्नो तागत भुल्ने आममान्छेलाई । निरपेक्ष समर्थन वा विरोधमा उसको चेतना फनफनी घुम्छ ।

अन्ततः उसको नायक ‘देवता’ मा फेरिन्छ । नायकमै आफूलाई विसर्जन गरेपछि नायकमै देवत्व आरोपित हुन पुग्छ । अनि नायकको अकल्पनीय पतनपछि पशुपतिनाथलाई नै अबको भरोसा मान्नुपर्ने हुन्छ । भाग्यवादको जगजगी हुने यसरी नै हो, जसले आम जनतालाई निरीह तुल्याइदिन्छ । परिणामस्वरूप देशले किन स्वाभाविक प्रगति गर्न सकेन भन्ने सवालको सबैभन्दा सहज उत्तर बनिदिन्छ– नेपालीको भाग्य नै यस्तै हो ।

देश–दुनियाँले गरेका उन्नति–प्रगतिमा मेरो पनि भूमिका छ भनेर सोच्नै नसक्ने हालतमा पुर्‍याइएका यी आममान्छेहरू दुनियाँमा भए गरेका सम्पूर्ण नकारको दोष पनि अमुक खलनायकमाथि थुपार्न रुचाउँछन् । न दुनियाँका सकारात्मक घटनामा उसले आफूलाई उभ्याउँछ, न त नकारात्मकताको थोरबहुत हिस्सा स्वीकार गर्छ । ऊ आफूलाई यी सबैदेखि बिल्कुल अलग सोच्छ । अनि यथार्थबाट कटेका मानिसहरूको समाज निर्माण हुन्छ । यस्तै अवस्थाको लाभ उठाएर दुनियाँमा दक्षिणपन्थी तानाशाहरूको उदय हुन्छ ।

यस्तै नायकप्रधान छ, हाम्रो मूलधारे इतिहास । यसले तथ्यलाई आफूँअनुकूल प्रयोग गर्ने, कतिपय अवस्थामा तथ्यलाई बंग्याउने या अस्वीकार गर्नेसम्मको हर्कत गर्छ । खास ऐतिहासिक पात्रप्रतिको इतिहासकारको पूर्वधारणा या अनावश्यक अनुरागका कारण खास ऐतिहासिक व्यक्तिको कमजोरी देखिने तथ्य/तथ्यांक अनदेखा गर्ने र अप्रकाशित राख्ने चेष्टा नेपालमा धेरै भएका छन् ।

इतिहासको वैकल्पिक भाष्य

दरबारको खोपीमै सिसीटिभी क्यामरा फिट गरेजस्तो गरी राजामहाराजाकेन्द्रित घटनाहरूको चाङ लगाउने र त्यसैलाई इतिहास मान्ने प्रचलनले लामो समय नेपाली इतिहासमा राज गर्‌‍यो । इतिहासका पन्नामा जनचासो, आमसमस्या तथा उत्पीडनको कथा कतै खिपिएनन् । वर्तमानमा यस भूगोलको अवस्था किन यस्तो छ ? यस भूगोलका आममान्छेको जीवनस्तर किन यस्तो अवस्थामा छ भनेर केलाउन र कारण खोज्न इतिहास चाहिन्छ । इतिहास विगतबाट सिक्ने र अघि बढ्ने ज्ञान रच्नका लागि उपयोगी हतियार हो । यसर्थ शासकको नजरबाट देखिने घटनाक्रम र शासकको अन्तर्दृष्टिबाट गरिने मूल्यांकनलाई मात्र इतिहास मान्ने मूल परम्परामाथि धावा बोल्नु अबको विकल्प हो । इतिहासलाई व्यक्तिविशेषको चमत्कार होइन सामूहिक प्रयत्नको प्रतिफल मान्ने गरी आमअवधारणा विकास गर्नु अति जरुरी भइसकेको छ ।

प्रकाशित: १८ असोज २०७८ २०:२५ सोमबार

चेतलुङ
चेतलुङ