२५ साउन २०७९, बुधबार - August 10, 2022 Wednesday
इतिहास वैकल्पिक इतिहास

‘बाँकावीर’, जाे बाँकाे खाएर दन्त्यकथामा बाँच्यो !

‘बाँकावीर’, जाे बाँकाे खाएर दन्त्यकथामा बाँच्यो !
बाँकावीरकाे काल्पनिक तस्बिर

इतिहास सधैं जित्नेका जुत्ताका तलुवालाई 
जिब्रो समर्पण गरेर मात्र बस्दैन
जो–जो छन् छल गरी हराइएका
तीसँग हात मिलाउन पनि आउँछ
एक दिन ।

(शासकलाई दिव्य सुझाव, विनोदविक्रम केसी)

सत्य मानौँ, ‘इतिहास जित्नेको मात्रै लेखिन्छ ।’ त्यसो भए कहाँ हुन्छ, पराजितहरूको कथा ? कहाँ लेखिन्छ इतिहास हार्नेहरूको इतिहास ?

हार्नेहरूको इतिहास किंवदन्ती अर्थात् दन्त्यकथामा हुन्छ । समयको जाँतोमा पिसिँदा–पिसिँदा किंवदन्तीको रूप फेरिन्छ । पुस्तान्तरसँगै कल्पनाको लेउ लागेर किंवदन्ती अनेक रङ–रूपमा बाँच्न थाल्छ । कल्पनाको लेउ उप्काएर हेर्ने हो भने दन्त्यकथामा लुकेको सत्य उजागर हुन्छ ।

‘हिउँदका रात लामा हुन्छन्’ हजुरबा भन्छन्, ‘रात कटाउन आगो ताप्नुपर्छ । कथा सुन्‍नुपर्छ ।’ त्यसैले पहाडमा जाडो बढेसँगै हरेक रात हजुरबा कथा सुनाउनुहुन्थ्यो । हजुरबा प्रत्येक वर्ष नयाँ कथा सिर्जना गर्नुहुन्‍न । अघिल्लो वर्ष सुनिसकेको कथा पछिल्लो वर्ष फेरि सुन्‍नुपर्थ्यो । हजुरबाले प्रत्येक वर्षको जाडोमा नबिराई सुनाउने एउटा कथा थियो– ‘बाँकावीर ।’

हजुरबाका लागि आत्मबल, साहस र हिम्मतको कथा हो, ‘बाँकावीर’ । (सुदूर) पश्चिम पहाडमा बलियो र हिम्मती मानिसलाई ‘बाँकावीर’ भन्‍ने प्रचलन छ । लामो समयसम्म बाँकावीर मेरा लागि दन्त्यकथाको एउटा पात्र र हिम्मतको विशेषण थियो । धेरैपछि थाहा भयो, बाँकावीर त दन्त्यकथाको जलपभित्र जोगाएर राखिएको इतिहास पो रहेछ !

विजेताको वीरगाथा लेख्‍न खप्पिस इतिहासकारका लागि बाँकावीर नगण्य पात्र हो । उसको मृत्यु मामुली घटना हो । त्यसैले त इतिहासकारहरूले बाँकावीरलाई भुल्ने र भुलाउने चेष्टा गरे । इतिहास सधैं काठमाडौंकेन्द्री सत्ताले लेखेको छ, लेख्‍न लगाएको छ । गोर्खाली राज्यले छलकपट गरेर मारेको विद्रोही योद्धा बाँकावीर सत्ताधारी इतिहासकारका निम्ति महत्त्वपूर्ण हुने कुरै भएन । पश्चिम पहाडका जनताका निम्ति भने ऊ एक साहसको विम्ब हो ।

*****

गोर्खालीको विजयपछि जिल्लामा खुम्चिएको अछाम त्यसअघि स्वतन्त्र राज्य थियो । अमरसिंह थापा नेतृत्वको फौजले विसं १८४६ र १८४७ को बीचमा डोटी राज्यमाथि आक्रमण गरेपछि डोटीसहित हालको सुदूरपश्चिमका सबै राजा–रजौटा गोर्खा अधीनस्थ भए (भट्टराई, २०३१–२०३४ः ५४) ।

विसं १९०३ मा जंगबहादुर राणा (कुँवर) ले कोतपर्वबाट शासनसत्ता आफ्नो हातमा लिएसँगै अछामी रजौटा र रैती दुवैका कुदिन सुरू भए । आफ्नो शासनसत्ता मजबुत बनाउन जंगबहादुरले भण्डारखाल र अलौ पर्वजस्ता थप नरसंहार मच्चाएर आफ्ना विरोधीको सफाया गरे । हिंस्रक र चलाखीपूर्ण राजनीतिले जंगबहादुरलाई शक्तिशाली बनायो । शाहवंशलाई कमजोर बनाएपछि राणाहरूको नियन्त्रणमा पुग्यो, दरबार ।

तत्कालीन नेपाल (काठमाडौं) बाहिर प्रशस्तै राजा–रजौटा थिए, जसले राणाको विरोध गर्न सक्थे । राजासँग मिलेर राणाविरुद्ध हतियार उठाउन सक्थे । जनता उठाएर विद्रोह गर्न सक्थे । यही खतरा महसुस गरेर जंगबहादुरले देशभर सैनिक खटाए । आफ्ना बुबासँगै विसं १८९० देखि १८९२ सम्म सेनाको सुवेदारका रूपमा डडेल्धुरा र १८९२ देखि १८९४ सम्म हुम्लामा कार्यरत जंगबहादुरले सुदूरपश्चिमका राजा–रजौटालाई राम्रोसँग बुझेका थिए (जबरा, २०७६ः ५) ।

राज्य विस्तारको क्रममा विजय हासिल गरेपछि गोर्खाली सैनिकले गरेको अत्याचारको विरोधमा डोटीका राजा दीप शाही र कुमाउका हर्षदेव जोशीको संयुक्त सेनाले अंग्रेजसँग मिलेर गोर्खालीविरुद्ध लडेका थिए (पन्त, २०२९ः ५४) । नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१६) सम्म पश्चिम क्षेत्रमा भएका युद्धमा शाही र जोशीले अंग्रेजलाई सघाएका थिए (आहुति, सन् २०१६) । त्यसैले आफ्नो शासनकालमा जंगबहादुरले सुदूरपश्चिमलाई संवेदनशील क्षेत्रका रूपमा लिएका थिए ।


गोर्खाली राज्यले छलकपट गरेर मारेको विद्रोही योद्धा बाँकावीर सत्ताधारी इतिहासकारका निम्ति महत्त्वपूर्ण हुने कुरै भएन । पश्चिम पहाडका जनताका निम्ति भने ऊ एक साहसको विम्ब हो ।

राजकुमार बहादुर शाहको समयमा पनि गढवालको ‘पनियाँखेत’ मा भएको सानो युद्धमा गोर्खालीले हार बेहोरेपछि अछामका राजाले गोर्खाली सैनिकका दुई कम्पनी सैनिक मारेका थिए । यस घटनापछि अछामदेखि पश्चिमका क्षेत्रमा नेपाल सरकारको सम्बन्धबिच्छेदजस्तै भएको थियो (आचार्य, २०७५ः १७)
विसं १८४७ मा अछामका तत्कालीन राजा देवचन्द्र शाहलाई हराएर गोर्खाली फौजले जित हात पार्‍यो । तर, पछि डोटी, कुमाउ, गढवाल र जुम्लाका राजासँग मिलेर देवचन्द्रले १८४९ मा गोर्खाली फौजमाथि हमला गरेर केही दिन जित हात पारे पनि लामो समय टिक्न सकेन ( शाह, २०७६ः ५–६) ।

त्यसैले सुदूरपश्चिमका राजा–रजौटाले आफूविरुद्ध कुनै प्रकारको विप्लव नगरून् भनेर उनीहरूमाथि निगरानी राख्‍न जंगबहादुरले अछामको बान्‍नीगढीमा सैनिक पोस्ट राख्‍न लगाए । ‘पहिले डडेल्धुरामा सुवेदारको रूपमा काम गर्दा यस क्षेत्रका विभिन्‍न विद्रोहका घटनाहरूबारे जंगबहादुर नजिकबाट परिचित थिए । त्यही परिस्थिति हृदयङ्गम गरी आफू प्रधानमन्त्री हुनेबित्तिकै सुदूरपश्चिम क्षेत्रका संवेदनशील ठाउँमा सैनिक ठानाहरू खडा गरे । चाल्सा, जुपु, नवाठाना कोटघरका ठानाबाहेक बान्‍नीगढीमा विशेष पल्टन राख्‍ने व्यवस्था गरे (शाह, २०७६ः १०) ।’

समुद्री सतहबाट १३ सय मिटरको उचाइमा रहेको बान्‍नीगढी डाँडामा युद्धकलामा पोख्त मानिने विसं १८४० मा स्थापना भएको बरख गणको एक कम्पनी राख्‍ने व्यवस्था गरियो (बोहोरा, २०६७ः ११) । जंगबहादुरका सैनिक बान्‍नीगढी पुगेसँगै उनीहरूको अत्याचार सुरू भयो । इतिहास अध्येताहरूले किताब तथा लेखहरूमा जंगबहादुरका सैनिकले गरेको अत्याचारका अनगन्ती विवरण दिएका छन् ।

मोतीलाल बोहोरा, आत्माराम ओझा र सुरतबहादुर शाह तीनै जनाले उल्लेख गरेका विवरणमा अधिकांश कुरा समान छन्– जंगबहादुरका सैनिकले आफ्ना लागि खाद्यान्‍न जोहो गर्न अछामका गाउँमा लुटपाट सुरू गरे । गाउँ–गाउँ पसेर खाद्यान्‍न खोस्न थाले । लुटपाट मच्चाए । अन्‍नपात दिन नमान्‍ने गाउँलेलाई कुट्न थाले । हट्टाकट्टा मान्छेलाई घोडा बनाउन थाले । महिला, युवतीको बलात्कार गर्न थाले । अनावश्यक कुत उठाउन थाले ।

राणा सैनिकको अत्याचारबारे बोहोरा अगाडि लेख्छन्, ‘विभिन्‍न ठाना–चौकीमा रहेका पल्टनका सिपाहीहरूले अछामी जनताबाट मुफतमा अन्‍नपानी मात्र हैन, त्यसताका अछामका घरेलु उद्योगमा उत्पादन हुने ठिटुवा कपडासमेत पल्टनका लागि थानका थान बिनामूल्य जबरजस्ती लिन्थे । गाउँ–गाउँमा गएर युवतीहरूको अस्मिता लुट्न पनि हिच्किचाउँदैन थिए (बोहोरा, २०६७ः १२) ।’ 

शाहका अनुसार जंगबहादुरका सैनिकले आफ्ना घोडालाई अछामी जनताको गहुँ, धान बालीमा चराउन छाड्थे । उनी लेख्छन्, ‘घोडालाई गहुँबालीमा छाड्नाले स्थानीय जनताले सधैं पीडा भोग्नुपर्थ्यो । पल्टनका यस्ता कार्यबाट जनतामा परेको मर्का सम्बन्धमा सम्बन्धित हाकिमलाई दर्शाउँदा कुल्याहा (विद्रोही) को आरोपमा अझ सास्ती दिन्थे (शाह, २०७६ः ११) ।’

जंगबहादुरको उदयसँगै अछामीका दुर्दिन सुरू भएको थियो । जगंबहादुरले नेपालका राजालाई कमजोर बनाएर शासन हत्याएको तथ्य अछामी राजाले राम्रैसँग ख्याल गरेका थिए । त्यसैले जंगबहादुरका सैनिकको अत्याचारको मुकाबिला गर्ने आँट कसैले गरेका थिएनन् । अत्याचार बढ्दै गएपछि मैत्री सम्बन्ध स्थापना गर्ने उद्देश्यसहित तत्कालीन अछामी राजा रणभीमले आफ्ना भाइ बलदेव शाहीलाई जंगबहादुरका सैनिक बसेको स्थान बान्‍नीगढी पठाए ।

‘तपाईँहरूलाई चाहिने खाद्यान्‍नको जिम्मा म लिन्छु । तपाईंहरूले यो लुटपाट बन्द गर्नुपर्‍यो,’ बान्‍नीगढी पुगेपछि बलदेवले सैनिकसँग अनुरोध गरे । ‘यस्ता पाजीले श्री ३ का सैनिक पाल्ने !’ जंगबहादुरका सैनिकले बलदेवको खिसी उडाए । सैनिकको बोली र व्यवहारबाट बलदेवले अपमानित महसुस गरे । अपमानले शिर झुकेपछि बलदेवले जंगबहादुरका सैनिकसँग बदला लिने अठोट गरे ।

सैनिकसँग बदला लिन सबैभन्दा पहिला उनले कूटनीतिक तरिका अपनाए । बलदेव शाहीबारे शाह र बोहोराले लेखेका लेख तथा पुस्तकमा बलदेवले सैनिकको अत्याचार रोक्न लगाउन जंगबहादुरलाई पत्र पठाएको कुरा उल्लेख गरेका छन् । जंगबहादुरले बलदेवको पत्र पाए/पाएनन् वा पाएर पनि जवाफ फर्काए/फर्काएनन् भन्‍ने कुरा भने कतै भेटिँदैन । बलदेव शाहीको हारगुहारका बावजुद जंगबहादुरका सैनिकको अत्याचार दिन दुगुना बढ्यो । उता बलदेवको छटपटी र चिन्ता रात चौगुना बढ्दै गयो । अनेक उपाय लगाउँदा पनि अछामी राजाले सैनिक फिर्ता पठाउन सकेनन् ।

गोर्खाली सैनिकको ज्यादती कम हुने छाँट नदेखेपछि बलदेव लड्न तयार भए । उनले गुरिल्ला युद्ध चलाउने रणनीति अपनाए । अछामी जनतालाई अत्याचारी सैनिकविरुद्ध लड्नका निम्ति तयार गर्न बलदेवले गुप्त रूपमा सैन्य संगठन बनाउन थाले । 

गोर्खाली राज्यविस्तारका क्रममा बहादुर शाहको फौजसँग अछाम र डोटीका साथै बैतडीको कठपते डाँडा (झुली चन्दको गढी) मा भएका लडाइँमा वीरतापूर्वक लडेको इतिहासले पनि उनलाई हौसला प्रदान गरेको हुनुपर्छ । झुली चन्दले बैतडीको कठपते डाँडामा बहादुर शाहका सैनिकसँग एक महिना डटेर सामना गरेका थिए । बैतडीकै कुल्लेकोट र डोटीको नारिदाङमा पनि बहादुर शाहका सैनिकसँग लडेको निकट विगतले उनलाई जंगबहादुरका सैनिकसँग विद्रोह गर्ने आँट आएको हुनुपर्छ (ओझा, २०७३ः ७३–७६) ।

आफूविरुद्ध सैन्य संगठन नै बनाएर विप्लव गर्न लागेको खबर आफ्ना सैनिकमार्फत जंगबहादुरले पाइहाले । जंगबहादुरविरुद्ध विद्रोह गर्नु राजद्रोह गर्नु थियो । राजद्रोहको अपराध गरेको भन्दै बाँकावीरलाई ‘मोस्ट वान्टेड’ अपराधीको सूचीमा राखियो । त्यसपछि जंगबहादुरले विसं १९०५ वैशाखमा बलदेव शाही ‘जहाँ फेला पर्छन्, त्यहीँ काट्नू’ भन्‍ने आदेश दिए । बलदेवसहित बझाङका अम्बरसिंह भण्डारी र ईश्वर सिंहलाई समेत काट्ने आदेश दिइयो ।

अम्बर र ईश्वरलाई काटियो या काटिएन भन्‍ने तथ्य फेला परेको छैन । तीनै जनालाई एउटै आदेशमा काट्नु भनेको हुँदा अम्बर र ईश्वर बलदेवका सहयोगी थिए कि भन्‍ने पनि अनुमान गर्न सकिने बताउँछन्, अछामी इतिहासविद् सुरतबहादुर शाह ।

शाह र बोहोराले पहलमानसिंह स्वाँर स्मृति ग्रन्थको हवाला दिँदै जंगबहादुरले वैशाख १९०५ मा बलदेव शाहीलाई काट्नु भनी दिएको आदेश आफ्नो किताब तथा लेखमा उद्धृत गरेका छन् । 

बलदेवलाई काट्ने आदेशपत्र

‘स्वस्ति श्री प्राईमिनिस्टर एण्ड कमाण्डर इन चिफ जनरल जंगबहादुर कुँवर कस्य पत्रम् ।
आगे भवानीसिंह स्वाँर के
भगुवा गुरुप्रसाद शाहले हामीलाई दागा गर्न भनी पठाएको आछामी रण भीमसाहिको भाई बल्देव शाही.......१, बझागी अम्बर सिंह भण्डारी.......१, गुमानसिहंको भाई ईश्वरसिंह.......... १, तीन जना जहाँ फेला पर्छन् इनलाई काटी दिनु भन्‍ने श्री ५ सरकारको हुकुम भयाको छ काटी दिनु । इनीहरूका मद्तीमा जो जो छन् तिनलाई नेल गलफन्दी हाली न उम्कन्यागरी यहा ल्याउने काम गर्नु............ इति संवत १९०५ साल मिति वैशाख सुदि..........रोज सुभम
 (शाह, २०७६ः १३) ।’

बलदेवलाई काट्ने आदेश आएपछि अछाम, बान्‍नीगढीमा बसेका जंगबहादुरका सैनिक सादा पोसाकमा बलदेवको सुराकी गर्न गाउँ डुल्न थाले । सुराकी गर्न हिँडेका सैनिकलाई उल्टै बलदेव र उनका सहयोगीले पक्राउ गर्न थाले । जंगबहादुरका सैनिकमाथि नै धावा बोल्ने योजना बनाएपछि बदलेवको समूहमा अछाम, बझाङ, दैलेख, डोटी र कैलालीसम्मका युवा सामेल हुन थाले । इतिहासकार सुरतबहादुर शाहका अनुसार उक्त विद्रोह दबाउन जंगबहादुरले जुम्ला र दैलेखबाट समेत सैनिक पठाएका थिए ।

एकपटक जंगबहादुरका सैनिकले बलदेवलाई कैलाली चिसापानीदेखि उत्तरको जंगलमा घेरा हाली पक्रन खोज्दा वर्षातको भेलसहित उर्लिएको खोलासमेत उफ्रिएर पार गरी बाँकावीर भाग्न सफल भएका थिए । सो स्थानलाई अहिले ‘बाँकावीर फट्टके’ नामले चिनिन्छ ।’ ‘बाँकावीर फट्टके’ भनिने यो स्थान अहिले कैलालीको सुँगुरखालमा पर्छ । त्यहाँ बनाइएको पुललाई पनि बाँकावीर पुल नाम दिइएको छ (बोहोरा, २०६७ः १४) ।

बलदेवलाई कमजोर बनाउन, गलाउन र थकाउन जंगबहादुरका सैनिकले नयाँ उपाय अपनाए । शाहका अनुसार बलदेवलाई गाँस बास दिनेलाई झुण्ड्याएर मारिने उर्दी जंगबहादुरका सैनिकले जारी गरे । आफूलाई गाँस बास दिने व्यक्तिलाई राणा सैनिकले मार्ने भएपछि बलदेव भूमिगत भए । दिनभर जंगल र ओढारमा लुकेर राती–राती गाउँ डुल्न थाले । आफ्नो समूहमा सामेल गराउन खोजेका बलिया युवालाई तालिमका लागि डोटीको कोल्तडी (हाल कैलाली) मा उनले अखडा नै बनाएका थिए । 

कोल्तडीको जंगलमा लुकेको आफ्नो छोराको सम्झनामा बाँकावीरकी आमाले गाएको भनिने गीत आज पनि अछामी जनजीवनमा प्रचलित छ–

कोल्तडी भावरभित्र बाँका लायो चिउरो ।
कैका खुँडी चारो खान्छै मेरा पाल्या पिउरो ।। (शाह, २०७६ः ११)

जंगलमा लुकेको समयमा ‘बाँको’ जस्तो विषालु वनस्पति खाएर पनि जीवितै रहन सकेकोमा बलदेव शाहीलाई बाँको खाने वीर अर्थात् ‘बाँकावीर’ भन्‍न थालिएको किंवदन्ती सुदूरपश्चिमा सुनिन्छ । अछामका गाउँमा अहिले पनि हिम्मतदार, अरू कसैले सहजै गर्न नसक्ने काम सहजै गर्नेलाई बाँकावीर भन्‍ने चलन छ ।

*****

मोतीलाल बोहोराका अनुसार बाँकावीरलाई सहजै पक्राउ गर्न नसकेपछि राणा सरकारले षड्यन्त्रको बाटो रोज्यो । कपटको बाटो खोज्यो । जंगबहादुरले बाँकावीरलाई मार्ने जिम्मा अछामकै स्वाँरलाई दिए । आफ्नो पल्टनमा रहेका अछामका भवानीसिंह स्वाँर र कालुसिंह स्वाँरलाई राणाविरोधी भएको र पल्टनबाट बर्खास्त गरेको नक्कली कथासहित बलदेव (बाँकावीर) लाई मार्न अछाम पठाए । राज्य विस्तारमा सघाएका कारण स्वाँरबन्धुलाई गोर्खालीले आफ्नो सैनिकमा भर्ती गराएका थिए ।

जंगलमा लुकेको समयमा ‘बाँको’ जस्तो विषालु वनस्पति खाएर पनि जीवितै रहन सकेकोमा बलदेव शाहीलाई बाँको खाने वीर अर्थात् ‘बाँकावीर’ भन्‍नथालिएको किंवदन्ती सुदूरपश्चिममा सुन्‍नपाइन्छ ।

राणाले निकाला गरेको कारण देखाउँदै आफू पनि राणाविरुद्धको विद्रोहमा सामेल हुने भन्दै भवानीसिंह र कालुसिंह स्वाँर अछाम आएर बाँकावीरको टोलीमा मिसिए । अछामबाट राणा सैनिक हटाइने भन्दै उनीहरूले बाँकावीरलाई विश्वासमा लिए । शक्तिशाली राणाका सैनिक स्वाँरबन्धु नै आफ्नो समर्थक बनेपछि बाँकावीर पनि हौसिए । र, राणाविरुद्धको संघर्ष तीव्र बनाउने तयारीमा लागे । अनि हौसिएका बाँकावीरले बान्‍नीगढीको सैनिक क्याम्प आक्रमण गर्ने योजना बनाए (बोहोरा, २०६७ः १४) ।

विसं १९०६ को बर्खा याममा बाँकावीरले बान्‍नीगढीमाथि आक्रमण गर्ने योजना बनाए । आक्रमणका लागि रेकी गर्न भन्दै बाँकावीरसँगै स्वाँरबन्धु पनि गए । रेकीबाट फर्किंदै गर्दा बाँकावीर काफलखेत (तत्कालीन जनालीकोट गाविस वडा नं ५, हाल– बान्‍नीगढी गाउँपालिका) धारामा नुहाउन थाले । नुहाउँदै गरेका बाँकावीरमाथि भवानी र कालुसिंह स्वाँरले खुकुरी प्रहार गरे । टाउको छिनाए । विद्रोहको रगत बोकेर बग्यो, काफलखेत धाराको पानी ।

इतिहासकार शाहका अनुसार राणाविरुद्ध यो पहिलो विद्रोह थियो । बोहोरा त बाँकावीरको विद्रोहबाट नै नेपालमा छापामार शैलीको युद्धको सुरुआत भएको मान्छन् । राणा शासन सुरू भएको तीन वर्षमै बाँकावीरको हत्या गरिएपछि सुदूरपश्चिममा जहानियाँ राणा शासनविरुद्धको विद्रोह समाप्त भयो । जहानियाँ शासनले पहिलो खड्को पार गर्‍यो । राणा शासनको जग झन् बलियो बन्यो (शाह, २०७६ः १५) ।

बाँकावीरको हत्यापछि तत्कालीन कर्णेल खड्गबहादुर कुँवर राणाले पौष, १९०५ मा लेखेको पत्रमा ‘हामीमाथि दागा गर्न आउन्या अछामका बलदेव शाहीलाई काटी आउन भनी भवानी सिंह स्वाँर, कालु सिंह स्वाँरलाई पठाएको हो’ भन्‍ने उल्लेख छ । उक्त पत्र शाहले आफ्नो पुस्तकमा राखेका छन् । शाहका अनुसार बलदेव अर्थात् बाँकावीरलाई काटेपछि भवानी र कालु स्वाँरलाई पुनः काठमाडौं बोलाएर राणाले बैतडी र दार्चुलाको हाकिम नियुक्त गरे ।

***** 

किंवदन्तीमार्फत इतिहास ओसार्ने हजुरबा भन्‍ने गर्नुहुन्थ्यो, ‘बाँकावीरको खेतको रोपाइँ थियोे । भेष बदलेर बाँकावीर रोपाइँमा आएका थिए । रोपाइँका लागि खेतमा ल्याएको कुलोमा बारम्बार पानी सुक्न थाल्यो । रोपाहार र खेताला गएर बारम्बार कुलो बनाएर पानी ल्याउँथे । तर, एकैछिनमा फेरि पानी सुक्थ्यो ।

बारम्बार पानी सुक्न थालेपछि भेष बदलेका बाँकावीर नै पानीको मुहानतर्फ गए । खोलामा पुगेपछि बाँकावीरले कुलो भत्काइएको देखे । उनी कुलो बनाउन थाले । त्यही मौका पारेर उनीमाथि स्वाँरबन्धुले खुकुरी प्रहार गरे । टाउको छिनाले । बाँकावीरको रगत मिसिएको रातो पानी खेतमा आइपुगेपछि मात्रै बाँकावीर मारिएको अरूले थाहा पाए ।’

सन्दर्भसूची


आहुति (सन् २०१६). को थिए नालापानी युद्धमा मारिएका महिला र बालबालिका ? सेतोपाटी. ५ जुन, २०१६ । उपलब्ध https://www.setopati.com/bichar/47818/ (असोज ८, २०७८ मा हेरिएको ।)

आचार्य, बाबुराम (२०७५). अब यस्तो कहिल्यै नहोस् . काठमाडौं: फाइनप्रिन्ट ।

ओझा, आत्माराम (२०७३). नेपाली इतिहास मन्थनः केही ऐतिहासिक खोजहरूको संकलन. काठमाडौं, विक्रम/मार्टिना ठकुरी ।

जबरा, पुरुषोत्तमशमशेर (२०७६, छैठौं संस्करण). श्री ३ हरूको तथ्य वृतान्त (भाग–एक). काठमाडौं, विद्यार्थी पुस्तक भण्डार ।

पन्त, महेशराज (२०२९). नेपालमा लडाइँ खोल्नुअघि अंग्रेजहरूले गुप्त भेषमा गरेको नेपाल भ्रमण. पूर्णिमा (इतिहास प्रधान त्रैमासिक पत्रिका). अंक–२, पूर्णाङ्क २६, वर्ष ७ः  पृ.५४ । 

बोहोरा, मोतीलाल (२०६७). नेपालका प्रथम अमर शहीद ‘बाँकावीर’ बदलेव. काठमाडौंः सुदूरपश्चिमाञ्चल । 

भट्टराई, विश्वनाथ (२०३१–२०३४). प्राचीन डोटी राज्यको राजनैतिक तथा सांस्कृतिक इतिहास. प्राचीन नेपाल. (संख्या ३०–३९ः पृष्ठ ५४ ।

शाह, सुरतबहादुर (२०७६). सुदूरपश्चिममा उदाएका अमर नक्षत्र. अछामः श्री वैद्यनाथक्षेत्र प्रकाशन समिति ।

प्रकाशित: १८ असोज २०७८ २०:२६ सोमबार

चेतलुङ
चेतलुङ