११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
इतिहास वैकल्पिक इतिहास

लिम्बू ‘सुभा-हाङ’ : एक ऐतिहासिक रूपरेखा

लिम्बू ‘सुभा-हाङ’ : एक ऐतिहासिक रूपरेखा
किराँत याक्थुङ चुम्लुङ, ललितपुरमा राखिएको नमूना च्याब्रुङ बाजा । तस्बिर : रेजा/चेतलुङ

परिचय 
लिम्बू जातिको भाषा/संस्कृतिभित्र अभिन्नजस्ता लाग्ने केही आधारभूत शब्दहरू पाइन्छन् । तिनमा कुनचाहिँ आफ्नै भाषाको मौलिक शब्द हो र कुनचाहिँ समयसँगै घटनाक्रमले टाँसिन आइपुगेका हुन् ? कुनचाहिँ अपभ्रंश भएर अर्थ र रूप-स्वरूप पनि फेरिन लागेको छ ? यसको समयसापेक्ष अध्ययन आवश्यक छ ।

जस्तै- सुभा र हाङ लिम्बूका मौलिक शब्दहरू हुन् । त्यसैगरी लिम्बूसित पनि जोडिने गरेको किराँत शब्दले एउटा विशाल नश्ल समूह जनाउँछ । सेन, कोच पनि लिम्बूको इतिहाससित सम्बन्धित जाति हुन् ।  किपट, अमाल, लिम्बू, सुब्बा, कचहरी आदि लिम्बूका निजी शब्द होइनन् । तर, अभिन्नजस्तै जोेडिएर आएका छन् । आ-आफ्ना थान्कामा राखेर तिनलाई हेरिनु पर्दछ । अनि अर्थ, प्रयोग र सीमा आदि खुट्याइनु पर्दछ । यसो गर्दा मात्र तिनको इतिहास पनि स्वच्छ, स्पष्ट तथा वैज्ञानिक हुन पुग्दछ ।

इतिहास उत्खननको बाटो खोलिदिने विशिष्ट शब्दको खोज र अनुसन्धान अघि बढाउने प्रयासस्वरूप यो लेख तयार गरिएको हो । सर्वप्रथम, ‘सुभा-हाङ’ का इतिहासको खोज–तलासबाट यो प्रयास अघि बढाउन खोजिएको छ । त्यसकारण यो लेख ‘सुभा-हाङ’ मा मात्र सीमित रहेको छ ।

१. उद्देश्य

लिम्बू जातिबारे लेखिएको दोषयुक्त किताबमध्ये हर्बट रिस्लेको द ट्राइब्स एन्ड कास्ट्स अफ् बेङ्गाल पनि एक हो । दोषयुक्त दुई प्रकारले हुन सक्दछ : पहिलो- कच्चा अपरिपक्व स्रोत व्यक्तिको कारण । दोस्रो- आशयपूर्ण लेखाइबाट । कुनै जातिको सम्बन्धमा इतरका जातिले लेख्नु त्यति सहज हुँदैन । जातीय संरचना, सामाजिक क्रियाकलाप, सीमा र मान्यता, प्रथा-परम्परा, धर्मकर्म आदिको पूर्ण ज्ञान भएकाले लेख्दा मात्र त्रुटिरहित इतिहास-लेखन हुन सक्दछ ।

रिस्लेको किताबको अध्ययन गर्दा त्यो आशयपूर्ण बदमासी नभई अज्ञानताको सिकार भएको मान्न सकिन्छ । भूलमाथि भूलचाहिँ के हुँदैछ भने रिस्लेका अनुयायीहरू त्यसभित्रको कमीकमजोरीलाई सच्याउनेतर्फ लागेका देखिँदैनन् । बरु, अन्धाधुन्ध सार्ने काम मात्रै गरिरहेका छन् । यसले समाजमा अन्योलका साथै भ्रम सिर्जना गर्ने काम भएको छ । पारसमणि प्रधानको टिपन-टापनमा दिइएको लिम्बूसम्बन्धी विवरण यसको उदाहरण हो । टिपन-टापनको त्यही भ्रामक अथवा दोषयुक्त विवरणलाई यहाँ सच्याउने प्रयास गरिएको छ ।

२. पृष्ठभूमिः टिपन-टापनको स्रोत

टिपन-टापनमा उल्लेख छ :

‘...सुब्बा ता किराँतीहरूले दिएको पदवी हो, ल्हासा गोत्रका लिम्बूहरू छांग मुलुकबाट नेपाल पसेका हुन् । किराँतीहरूले यिनलाई सुब्बा भन्छन् भनी सर हर्बट रिस्लेले आफ्नो दि कास्ट्स एन्ड ट्राइब्स अफ बेङ्गाल भन्ने किताबमा लेखेका छन्’ (प्रधान, १९६९ः ८७) ।

प्रधानको भनाइले एकैपल्ट धेरै कुरा उठाएको छ । ती कुराहरू भ्रमपूर्ण पनि छन् । यसर्थ संक्षिप्त छलफल गर्दै ती विषयलाई टुङ्गो लगाउने प्रयास हुनेछ । सर्वप्रथम माथिका भनाइको स्रोत पत्ता लगाउनु उपयुक्त होला ।

रिस्लेको पुस्तकको नाम दि ट्राइब्स् एन्ड कास्ट्स अफ बेङ्गाल हो । सन् १८९२ मा पहिलोपल्ट यसको प्रकाशन कलकत्तामा भएको रहेछ । प्रकाशन मितिको हिसाबले हेर्दा यो निकै पुरानो किताब भएको मान्नुपर्ने देखिन्छ । त्यसैले यस किताबलाई आधार मानेर लेख्ने धेरै लेखकहरू हुन सक्दछन् । पर्सिभल ल्यान्डन, पारसमणि प्रधान आदिको नाम यस पंक्तिमा लिन सकिन्छ ।

गोरखाली शासकहरूले लिम्बूको ‘सुभा’ पदवीलाई ‘सुवा’ हुँदै ‘सुब्बा’ बनाएर भित्र्याएका हुन् । तर, सुभाको काम-कर्तव्य, हक-अधिकार, मान-सम्मान गोरखाली सुब्बासँग तुलनीय थिएन । बरु आकाश-जमिनको फरक थियो । लिम्बूका ‘सुभा’ हरू धेरै शक्तिशाली थिए ।

वास्तवमा बङ्गालमा बसोबास गरिरहेका मानव जातिहरूको तथ्य सङ्कलन रिस्लेले यस पुस्तकमा गरेका छन् । त्यसैले इथ्नोग्राफिक ग्लोसेरी पनि हो, यो । दार्जिलिङलगायत बङ्गालका विभिन्न हिस्साहरूमा लिम्बूहरू बस्थे/बस्छन् । तिनीहरूको यो आदिस्थान पनि हो । त्यसकारण रिस्लेको सङ्कलनमा तिनीहरू परेका पनि हुन् । वर्णानुक्रमअनुसार राख्दै लाँदा दोस्रो भोल्युमको सुरु-सुरुमा नै तिनीहरूको परिचयात्मक विवरण राखिएको छ (रिस्ले, १८९२ः १४-२१, ८९-९२) । प्रधानले पनि सोही पुस्तकलाई आधार मानेका रहेछन् ।

माथि टिपन-टापनमा उल्लिखित भनाइ रिस्लेको निम्न विवरणबाट लिइएको देखिन्छ । रिस्लेले लेखेका छन् :

Tibetans have no special name for the Limbus; they call all the tribes of the Indian side of the Himalaya by the general name Monpa or dwellers in the ravines. The Lepchas and Bhotias or Tibetans settled in Bhotan, Sikkim, and Nepal speak of the Limbus as Tsong, because the …thums or subtribes included in the class known as Lhaca- gotra emigrated to Eastern Nepal from the district of Tsang in Tibet. Lepchas call them Chang, which may be a corruption of Tsong. By other members of the Kiranti group they are addressed by the honorific title of Subah or Suffah, a chief. (Risley, 1892: 15, vol.II).

लिम्बू जाति निर्माणमा दक्षिण तिब्बतको त्सोङ प्रान्तसमेतबाट लिम्बुवानमा सरेका मानव समुदायले पनि ठूलो योगदान पुर्‍याएको सङ्केत सांस्कृतिक तथा भाषिक आधारले मिल्दछ । जहाँका भए पनि तिब्बती र लेप्चाहरू त्यसैले तिनलाई त्सोङ (वा चोङ) वा छांग भन्दा हुन् । रिस्लेको बाँकी भनाइ इतिहासको कसीमा टिक्न सक्दैनन् । बेठीकसँग लेखिएको इतिहासले पछिल्ला पुस्तालाई भ्रमित पारिरहेको हुन्छ । रिस्लेका पाठकहरू त्यही गोलचक्करमा परेका हुन् भन्दा अत्युक्ति नहोला । अब ‘सुब्बा’ किराँतीले दिएको पदवी हो कि के हो ? त्यसको छानबिनतर्फ लागौँ ।

३. ‘सुब्बा’ शब्दको मूल

झन्डै-झन्डै उस्तै उच्चारण हुने अर्थ दिने ‘सुब्बा’, ‘सूवा’ तथा ‘सुभा’ को भेद रिस्लेले बुझेनन् । रिस्लेका पछिल्ला पाठकहरूबाट पनि बुझ्ने चेस्टा नगरी सार्ने काम मात्र भयो । अनि, भ्रमहरू यथावत रहे । खोजीपस्दा यी शब्दहरू (दर्जा, पद, पदवी आदि) को उत्पत्ति/प्रयोग भने तीन भिन्न देशमा भएको पाइन्छ । जस्तै- ‘सुब्बा’ दर्जा गोरखाली शाह राजाहरूले पूर्व विजय अभियानको क्रममा भित्र्याएको भन्ने छ ।

मुगलकालीन भारतमा ‘सूवा’, ‘सूवेदार’ प्रयोगमा थियो (यसबारे थप चर्चा तल ‘सूवा र सूवेदार’ उपशीर्षकमा गरिएको छ) । त्यस्तैगरी सुभाको माउ ‘सौपा’ बर्मातिरका शान जातिमा पाइन्छ । त्यसकै एउटा हाँगा आसामको बाटो वर्तमानको लिम्बुवानमा आइपुगेका समूह सुभाकै अगुवाइमा आएका थिए । यसर्थ, यी तीन शब्दको उत्पत्तिलाई तीन ठाउँमा खोज्नु पर्ने देखिन्छ । गोरखाली ‘सुब्बा’ को उत्पत्ति/प्रयोगका सम्बन्धमा सर्वप्रथम एकजना अनुसन्धाताको निष्कर्षलाई प्रस्तुत गरौँ ।

डा भवेश्वर पंगेनीको नेपालको प्रशासनिक इतिहास (विसं १८२५-१९०३) को भित्रपट्टि सोही किताबको उपशीर्षक ‘नेपालको प्रशासनिक इतिहासः शाहकालीन प्रशासनमा सुब्बा पद’ लेखिएको छ । यसबाट यो ‘सुब्बा’ बारे पूर्ण रूपमा खोजबिन गरिएको किताब रहेछ भन्ने सहजै बुझिन्छ । यो संक्षिप्त आलेखमा विस्तृत व्याख्या सम्भव छैन । साथै, डा पंगेनीको निष्कर्षलाई अर्को तथ्यले विस्थापित नगरेसम्म यो लेखकको समर्थन पनि छ । उनका महत्त्वपूर्ण निष्कर्षहरू यस्ता छन् :

गोरखाली शासकहरूले लिम्बूको ‘सुभा’ पदवीलाई ‘सुवा’ हुँदै ‘सुब्बा’ बनाएर भित्र्याएका हुन् । तर, सुभाको काम-कर्तव्य, हक-अधिकार, मान-सम्मान गोरखाली सुब्बासँग तुलनीय थिएन । बरु आकाश-जमिनको फरक थियो । लिम्बूका ‘सुभा’ हरू धेरै शक्तिशाली थिए ।

यहाँनेर उल्लेख्य कुरा के देखिन्छ भने लिच्छविकालमा काठमाडौंमा तथा मल्लकालमा काठमाडौं उपत्यकालगायत बाइसे, चौबीसे र पाल्पाजस्ता कुनै राज्यहरूमा पनि ‘सुब्बा’ पद वा पदाधिकारी भएको देखिँदैन । त्यसैकारण ‘सुब्बा’ नामक पदाधिकारी बाइसे राज्यमा भएको भन्ने रामनिवास पाण्डेको (माथिको भनाइ) लाई पुष्टि गर्ने अन्य सामग्री नपाइएसम्म यथार्थ भन्न सकिँदैन (पंगेनी, २०६४ः ११) ।
नेपालको थुप्रै प्रशासनिक पदहरू मुगल प्रशासनबाट आएको देखिन्छ । यसै सन्दर्भमा मुगलकालीन भारतको प्रशासनिक पदको अध्ययन गर्दा त्यहाँ सिकदार, फोतादार ...अमिर आदि प्रचलनमा देखिन्छन् । यसमा ‘सुब्बा’ पदको कुनै उल्लेख पाइँदैन । त्यस्तै भारतीय राज्यमा प्रचलित प्रशासनिक पदहरूमा विस्तृत जानकारी दिने विद्वान् विल्सनले पनि आफ्नो पुस्तकमा ‘सुब्बा’ को चर्चा गरेका छैनन् (पंगेनी, २०६४ः १२) ।
गोरखाको इतिहासमा नदेखिने यो पद सम्भवतः आधुनिक नेपालको प्रशासनिक इतिहासमा उनले (पृथ्वीनारायण शाहले– केबी) भित्र्याएका हुन् । एकीकरणका क्रममा गोरखाको प्रशासनिक व्यवस्थामा देखापरेको सुब्बा पद एकीकरणपछि पनि नेपालको केन्द्रीय प्रशासनमा कायमै रहन गयो (पंगेनी, २०६४ः १५) ।

माथिका निचोडहरूबाट बुझिने कुरा के हो भने नेपालमा शाहकाल सुरु हुनुपूर्वको नेपाली क्षेत्रहरू तथा भारतमा समेत ‘सुब्बा’ पद प्रचलनमा थिएन । तर, पूर्व विजय अभियानका क्रममा यो पद पृथ्वीनारायणले ‘भित्र्याएका’ हुन् । डा पंगेनीका अनुसार लिम्बुवान विजयको क्रममा पहिलो पटक सुब्बा दर्जा गोरखाली भारदारमा देखा परेको छ (पंगेनी, २०६४ः ४६), लिम्बुवान विजय हुँदै गर्दा दुई जना गोरखाली वकिल वार्ताका लागि सुखिम (सिक्किम) पठाइएका थिए । ती दुई थिए- विश्वामित्र उपाध्याय र गंगानन्द आचार्य । तीमध्ये गंगानन्दलाई बाबुराम आचार्यले ‘सुब्बा’ गंगानन्द आचार्य’ उल्लेख गरेका छन् (पंगेनीद्वारा उद्धृत, २०६४ः ४७) ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा पनि आचार्यद्वारा ‘सुब्बा’ पदसहित गंगानन्दको नाम समावेश गरेको पाइन्छ (आचार्य, २०६०ः ४२२) । सायद यसैका आधारमा पंगेनीले ‘सुब्बा’ को पहिलो प्रयोग राजा पृथ्वीनारायण शाहले गरेका हुन् भन्ने निष्कर्ष निकाले (पंगेनी, २०६४ः ४७) । तर, पृथ्वीनारायण शाहले सल्यानका योगी भगवन्तलाई लेखेको पत्रमा भने यस्तो उल्लेख छ- ‘...उप्रान्त हाम्रा विश्वामित्र उपाध्याय गंगानन्द आचार्य सुषिम गयाका छन्’ (योगी, २०५५ः ७) ।

बाबुराम आचार्यले पनि इतिहासप्रकाशमा सन्धिपत्र संग्रहबाटै सारेको देखिन्छ (आचार्य, २०६१ः ४३०) । यी दुवैमा गंगानन्दको ‘सुब्बा’ पद वा दर्जाको उल्लेख कतै पाइँदैन । यस पत्रमा मिति १८३१ साल श्रावण ५ गते उल्लेख छ । ज्ञानमणि नेपालको नेपाल निरुक्तमा पनि सुखिम प्रकरणमा गंगानन्दको ‘सुब्बा’ पगडि पाइँदैन (नेपाल, २०४०ः १९७) । मेचीदेखि महाकाली (भाग १) को पृष्ठ २०, १०८, १५७ आदिमा पनि सिक्किम जाने प्रतिनिधिहरू ‘सुब्बा गङ्गानन्द आचार्य र विश्वामित्र मिश्र’ उल्लेख पाइन्छ । यहाँ गङ्गानन्द आचार्य ‘सुब्बा’ लेखेर उपाधि जनाइएको छैन भन्न सकिन्छ ।

ह्यामिल्टनले पनि गोरखाको सरकार भएपछि प्रत्येक विस्थापित राजाका बदलामा एक जना ‘सुभा’ लाई राखे भनेका छन् (ह्यामिल्टन, २००७ः ९६) । गोरखाली ‘सुब्बा’ नभई तिनले लिम्बू ‘सुभा’ को कुरा गरेका छन् । र, सेनकालीन लिम्बुवानको कुनै क्षेत्रमा कुनै अमूक सुभाले शासन गर्थे भनिएको भए त्यो पनि स्वाभाविक मान्नुपर्ने हुन्छ । तर, वासुदेवलाल दासजीका अनुसार मकवानी सेनकालमा जिल्ला प्रशासकहरू ‘सुब्बा’ हुन्थे (दास, २०६७ः ८१, ८८) । तिनै ‘सुब्बा’ नै ‘सुभा’ हुन सक्दछन् । ‘सुब्बा’ हरू जिल्लाका हाकिमका रूपमा खटिएका पनि गोरखा विजयपछि मात्र देखिन्छ ।

अर्का इतिहासकार विष्णुप्रसाद घिमिरेको पाल्पा राज्यको इतिहास (भाग १) मा सुब्बाको कुरा कतै आएको छैन । पाल्पाली सेन भारदारहरू ‘राजकुमारदेखि.....खरिदार’ सम्म १४ खुट्किला थिए (घिमिरे, २०४५ः ७६) । त्यसमा ‘सुब्बा’ वा ‘सुभा’ कसैको पनि चर्चा गरिएको पाइँदैन । पाल्पाली सेनसँग लिम्बू ‘सुभा’ को सरोकार नभएकाले पनि त्यसो भएको हुनसक्छ । सेनहरूको कुनै ‘सुब्बा’ भारदार वा कर्मचारी नभएको यसबाट प्रष्ट हुन्छ । तर, मकवानी सेनहरू भने लिम्बूको ‘सुभा’ सँग परिचित थिए । यताबाट गोरखालीलाई जानकारी हुन सक्ने सम्भावना पनि छ ।

आचार्यको त्यही पुस्तक (२०६१) को पृष्ठ ४३१ मा दिइएको टिप्पणी (इन्डनोट) को २१ नम्बरबाट भने महत्त्वपूर्ण सूचनाहरू प्राप्त गर्न सकिन्छ । लिम्बुवानमा फौजी कारबाही गरिरहेका अभिमान सिंहलगायतलाई पृथ्वीनारायणले एउटा पत्र पठाएका रहेछन् । योगी नरहरिनाथको सङ्कलन इतिहास प्रकाशमा सन्धिपत्र संग्रहमा यो पत्र संङ्कलित छ । त्यस पत्रमा धेरै कुरा आएका छन् । ती सबैको चर्चा सन्दर्भवश यथास्थानमा गरिनेछ । त्यस पत्रमा लेखिएको छ- ‘लिम्बू, श्रृंग्याका सुवा सुवाले मान्न आयाको सबै विस्तार गरी पठाया छौ........’ (आचार्य, २०६४ः ४३१, टि.नं २१; नरहरिनाथ, २०५५ः १७७) । यस पत्रमा मिति १८३१ साल आश्विन वादि ३० रोज ४ र मुकाम काठमाडौं लेखिएको छ ।

पत्रमा ‘सुवा’ भनिएका व्यक्तिहरूचाहिँ लिम्बू प्रमुख ‘सुभा’ हरू हुन् । याक्थुङ्बाहरू उतिबेला पृथ्वीनारायणको एउटा लालमोहरद्वारा प्रथमपल्ट ‘लिम्बू’ भनेर सम्बोधित (१८३१) भइसकेका थिए । तिनले आफ्ना ‘चिफ’ अथवा मुखिया वा प्रमुखलाई ‘सुभा’ भन्थे । तिनीहरूसँगकै वार्तामा गोरखाली सेनापतिहरूले सुभालाई त्यतिखेर ‘सुवा’ (सुब्बा होइन) भन्ने सुनेर ग्रहण गरेको देखिन्छ । त्यही ‘सुवा’ लाई गोरखाली सेनापतिहरूले आफ्नो रिपोर्टद्वारा पहिलोपल्ट राजदरबारमा पुर्‍याएकाे हुनुपर्छ । त्यसै पत्रको प्रत्युत्तरमा राजाबाट ‘सुवा’ प्रयोग भएको स्पष्ट हुन्छ ।

बराबर लेखापढी भइरहँदा सरकारी कागजपत्रमा पछिबाट अपभ्रंश भई ‘सुवा’ नै ‘सुब्बा’ हुन पुगेको भन्ने निष्कर्षमा पुग्न अब कुनै अप्ठेरो पर्दैन । लिम्बूको ‘सुभा’ परम्परासँग सुखिम पनि परिचित थियो नै । त्यसैले गोरखाली राजाले पनि सोही पद दिएर वार्ताको निम्ति सुखिममा गंगानन्दलगायतलाई पठाउनमा कुनै असंगति देखिँदैन । यदि बाबुराम आचार्यको तर्क ठीक हो भने यसो हुनुमा पनि दुई मत हुन सक्ने अवस्था देखिँदैन ।

यस पत्रले एउटा कुराचाहिँ निश्चित गर्‍याे कि राजा पृथ्वीनारायण शाह पनि आफ्नो जीवनको अन्तिम समयमा लिम्बूको ‘सुभा’ पदवीसँग परिचित हुन पुगेका रहेछन् । दोस्रो उनले ‘सुभा’ लाई ‘सुवा’ भनी ‘सुब्बा’ को पूर्वरूप सिर्जना गरेको पनि देखिन्छ । राजा रणबहादुर शाहको पालादेखि ‘सुब्बा’ हरू चारैतिर खटेर काम गर्न थाले भन्ने पनि छ । यसरी गोरखाली शासकहरूले लिम्बूको ‘सुभा’ पदवीलाई ‘सुवा’ हुँदै ‘सुब्बा’ बनाएर भित्र्याएका हुन् । तर, सुभाको काम-कर्तव्य, हक अधिकार, मान–सम्मान गोरखाली सुब्बासँग तुलनीय थिएन । आकाश-जमिनको फरक थियो । लिम्बूका ‘सुभा’ हरू धेरै शक्तिशाली थिए । 

त्यसैले अब ‘सुभा’ को उत्पत्तितर्फ लागौँ ।

लिम्बुवानमा अहिले झुरूप्प देखापरेका लिम्बूहरू एकै ठाउँ, एकै दिशा र एकैपल्ट आएका मानव समूह थिएनन् । डप्फा–डप्फा गरी बसाइँसराइको क्रममा यिनीहरू यस निर्जन क्षेत्रमा विभिन्न स्थान र दिशाबाट हजारौँ वर्षदेखि आई आवाद हुन थालेका हुन् । सांस्कृतिक पहिचानको आधारमा तिनीहरू मोटामोटी दुई स्थानबाट आएका हुन् भनेर अड्कल गर्न सकिन्छ । इमानसिंह चेम्जोङले तीन ठाउँबाट आएका हुन् भनेका छन् (चेम्जोङ, २०५९ः ३–९) । लिम्बुवानको पहिलो आवादकर्ताहरू पूर्व र उत्तर दिशाबाट आएका थिए ।

यी दुई समूहको सभ्यता-संस्कृतिको छनक आजसम्म पाइन्छ । यिनैको मिसमासबाट नै आजको लिम्बू जातिको निर्माण भएको हो भनेर मानिन्छ । तिनमा कुन समूह पहिले यहाँ प्रवेश गरेका थिए ? योचाहिँ खोजीकै विषय हो । जेहोस्, तिनका सभ्यता नै तिनको ‘मेल्टिङ-पट’ भएको थियो । यस्तै राम्रो अर्को उदाहरण काठमाडौं उपत्यकाका बासिन्दा नेवार जातिमा पनि पाइन्छ । एङ्ल (Angle), स्याक्सन (Saxon), जुट (Jute) बाट अङ्ग्रेज जातिको निर्माण भएको इतिहास अङ्ग्रेजहरूको पनि छ । फ्रेन्च जाति पनि त्यस्तै मिश्रित जातिबाट निर्माण भएको इतिहास पाइन्छ ।

पूर्व र उत्तरबाट आएका जातिहरूबाट लिम्बू जाति बन्यो त भनियो । तर, तिनका आ-आफ्ना प्रथा, परम्परा, रीतिरिवाज आदि के आज छुट्याउन सकिन्छ ? सबै त सकिँदैन । तर, तिनका शासन-प्रशासनसम्बन्धी प्रणालीअन्तर्गतका केही प्रथाको भिन्नतालाई अझै ठम्याउन सम्भव हुन्छ । त्यसमा ‘सुभा’ र ‘हाङ’ प्रथालाई लिन सकिन्छ ।

पहिले सुभाकै पुर्ख्यौलीतिर लागौँ । यसका लागि बर्मा (म्यानमार) सम्म पुग्नैपर्ने हुन्छ ।

४. ‘सुभा’ को पुर्ख्यौली

इतिहासअनुसार वर्तमान बर्मा (म्यानमार) को सम्पूर्ण उत्तरी क्षेत्र प्राचीनकालदेखि शान जातिको बसोबास स्थान हो । शानका पुर्खा अज्ञातकालमा चीनको ह्वाङ्हे–याङ्जे बेसिनबाट बसाइँ आएका थिए । चीनमा तिनीहरू चिनियाँभन्दा पनि पहिलेका जाति थिए (तुन, २००९ः ४) । चीनमा तिनीहरूलाई ‘ताइ’ भनिन्थ्यो । पछिबाट बर्माका बरमाहरूले तिनीहरूलाई नै शान भनेका हुन् (तुन, २००९ः २०) । समयसँगै आसाम, मणिपुरतिर पनि तिनीहरू फैलिएर बस्न पुगे । धेरैपछि आसाममा अहोम शान राज्य तिनैले स्थापित गर्न समर्थ भएका थिए ।

अज्ञात कालमा आसामको हलचलमा केही समूह अझ पश्चिमतिर लागे र आजको पल्लो किराँतमा पुगी आवाद भए । तिनीहरू आफ्नो सुभाको अगुवाइमा आएका थिए । यसरी सुभा प्रथा पूर्वबाट आएकाहरूले लिएर आएका हुन् । बर्मेेली शानहरू आफ्नो अगुवा (chief) लाई ‘सौपा’ (saohpa) भन्थे (तुन, २००९ः २१) । शानहरूको आफ्नै शासन प्रणाली चल्थ्यो । तिनका प्रशासकलाई पनि तिनीहरू ‘सौपा’ नै भन्ने गर्थे (तुन, २००९ः २४) । सौपाका सम्बन्धमा शानको इतिहासमा यस्तो लेखिएको छ :

[S]ao is the shan word for ruler, lord, king, master, or prince; hpa means sky. Thus saohpa means lord of the sky. The idea of the saohpa as “Lord of the sky” is akin to the western idea of the divine right of the kings (Tun, 2009: 39).

‘स्वर्गका स्वामी’ अर्थ दिने उत्तरी थाइको ‘फ्राया’ र शानको ‘चाओ फा’ लाई काया जातिको शासकहरूले ‘काया सोफ्र्‍या’ पदवी बनाएका थिए । बर्माका काया जातिको अङ्ग्रेजीकरण हुँदा कारेन भएको हो (हुबर र ब्ल्याकबर्न, २०१२ः २४१) । लिम्बूको ‘सुभा’ जस्तै कायानीहरूले पनि ‘सोफ्र्‍या’ पदवी बनाएको यसबाट बुझ्न सकिन्छ । बर्मा छाडेर आसाम पसेका शान अहोम राजाहरूको संक्षिप्त विवरण एडवर्ड अल्बर्ट गैटको ए हिस्ट्री अफ् आसाम बाट पनि लिन सकिन्छ ।

सन् १२२५ मा एक जना शान राजकुमार सुकाफा बर्माको मौलुङबाट आसामतिर हिँडे । आइमाई केटाकेटीलगायत ९ हजार जना मान्छेको बथान र कुलीन भारदारहरू तिनका साथमा थिए । बाटामा भेटिएका जातीय राज्यहरू विजय गर्दै आफ्ना भारदारमध्येकालाई प्रशासक नियुक्त गर्दै अघि बढे । मोरानहरूको राजा ‘बादान्चा’ लाई युद्धमा जिते । त्यसपछि डाङ्गोरी र दिबु्र नदीको बीचमा आवाद हुन पुग्छन् । तिनीहरू उत्तरी बर्माका शान जाति थिए । आफूलाई तिनीहरू ‘ताइ’ पनि भन्थे, जसको अर्थ ‘स्वर्गीय उत्पत्ति’ मान्ने गर्दछन् (गैट, १९०६ः ७२-७४) । ती ‘ताइ-शान’ जाति आसाममा पसेपछि ‘अहोम’ नामले प्रसिद्ध भए । तिनै अहोम राजाहरूको नाम-पदवीका सम्बन्धमा अलिकति कुरा गरौँ।

पछिबाट याक्थुङ्बाहरू दुई शक्तिकेन्द्रमा विभाजित भए- सुखिम क्षेत्रका छोग्याल र विजयपुरका सेनहरूसँग । सुखिमका छोग्यालहरूको ‘लो-मेन-चोङ-सुम-डाब’ मा हुँदा होस् वा विजयपुरका सेनहरूसँगको सत्ता साझेदारीको संघमा हुँदा, ‘सुभा-हाङ’ मा मनोमालिन्य देखिँदैन ।

आसामी र आफ्नो जातीय नाम गरी दुइटा नाम राख्ने चलन अहोम राजाहरूमा पछिबाट चल्यो । जातीय नामको सुरुको ‘सु’ (su) उपसर्ग र नामान्तमा ‘फा’ (pha) प्रयोग नभएको राजाको नाम हुँदैनथ्यो । ‘सु’ को अर्थ ‘बाघ’ र ‘फा’ को अर्थ ‘स्वर्ग’ हुन्थ्यो । प्रत्येक नामले एउटा अर्थ बोकेको हुन्थ्यो । आसामका आदि अहोम राजा ‘सुकाफा’ को नामलाई दृष्टान्तको रूपमा विश्लेषण गरेर हेर्न सकिन्छ । जस्तैः सु- बाघ, का- आउनु, फा- स्वर्ग । यसप्रकार सुकाफा माने ‘स्वर्गबाट एउटा बाघ आउँदैछ’ भन्ने पूर्ण अर्थ हुन्छ । अर्का राजा सुनेन्फा अर्थात् सु- बाघ, नेन- सुन्दर, फा- स्वर्ग । पूरा अर्थ हुन्छ- ‘स्वर्गको एउटा सुन्दर बाघ’ ।

पछिबाट याक्थुङ्बाहरू दुई शक्तिकेन्द्रमा विभाजित भए- सुखिम क्षेत्रका छोग्याल र विजयपुरका सेनहरूसँग । सुखिमका छोग्यालहरूको ‘लो-मेन-चोङ-सुम-डाब’ मा हुँदा होस् वा विजयपुरका सेनहरूसँगको सत्ता साझेदारीको संघमा हुँदा, ‘सुभा-हाङ’ मा मनोमालिन्य देखिँदैन ।

अहोमको ‘सु’ शब्दचाहिँ शानको ‘चाओ’ जस्तै पनि हो, जसको अर्थ महान् र ईश्वर दुवै हुन्छ । त्यसलाई ‘चु’ भनेर पनि उच्चारण गरिन्छ । जस्तैः अहोम राजा सुनेन्फाका मुद्रामा ‘चाओ सुनेन्फा’ लेखिएको पनि पाइन्छ । यो पनि हो कि आसामी उपाधि ‘स्वर्गदेव’ को शान भाषामा अनुवाद गर्दा ‘चाओ-फा’ हुन्छ, जसको मूल बर्माको ‘सुब्वा’ (tsaubwa) नै हो (गैट, १९०६ः २४०) । बर्मा शानको ‘सुब्वा’ पदवी आसाममा ‘चाओ-फा’ वा ‘चु-फा’ भयो भनिएको छ । त्यही ‘चाओ-फा’ वा ‘चु-फा’ लिम्बू ‘सुभा’ को पूर्वरूप हो भन्ने यताबाट पनि देखिन आउँछ । ‘सु’ को अर्थ बाघ हुने हुनाले लिम्बूको ‘टोटम’ चितुवा पनि त्यही हो । ‘सु-फा’ पनि सुभाको पूर्वरूप नै हो । यसरी ‘सु-फा’ वा ‘सु-भा’ को अर्थ पनि स्वर्गको बाघ हुने स्पष्ट हुन्छ ।

शानको त्यही ‘सौपा’ लाई हजारौँ वर्षअघि लिम्बुवानमा लिम्बूहरूले पुर्‍याउँदा ‘सुभा’ भएको थियो । यसरी ‘सुब्बा’ को पूर्वरूप ‘सुवा’ र त्यसको पूर्वरूप ‘सुभा’ र त्यसको आदिरूप चाहिँ ‘सौपा’ (Saohpa) भन्ने टुङ्गो लाग्छ । चाओ-फा, चुफा-फा, सु-फा, सुब्वा (Tsaubwa) यी सबै ‘सौपा’ शब्दको उच्चारणभेद मात्र हो भन्ने देखिन आउँछ । यसबाट यो पद वा पदवी कसैले दिएको नभएर जातीय पदवी हो भन्ने बुझिन्छ । त्यसो त बर्मैमा पनि सौपा (saohpa) शानहरू आफूले आफैंलाई सौफा (saopha) अनि विदेशीले र बर्माले उनै शानहरूलाई सब्बा (sawbwa) भनेर पनि सम्बोधन गर्ने गर्दथे ।

५. सूवा र सूवेदार 

यदाकदा ‘सुब्बा’ को व्युत्पत्ति भारतीय ‘सूवा’ मा पनि खोज्ने गरेको पाइन्छ (ह्वेल्पटन, २००५ः ५१) । यसर्थ मुगल साम्राज्यकालमा प्रयोग भएका ‘सूवा’ र ‘सूवेदार’ का बारेमा पनि स्पष्ट हुन जरुरी देखिन्छ ।

निक्कै पहिले (सन् १७१२–१७२७) मा क्यापुचिन पादरी डेसीडेरीले पनि ‘सूवा’ का ‘सूवेदार’ लाई गभर्नर लेखेका छन् (डि फिलिप्पी, २००५ः ६४) । इतिहासकार ईश्वरीप्रसादले पनि लेखेका छन्- बंगालको ‘सूवा’ मुगल साम्राज्यको एक भाग थियो । मुगल सम्राट नै सुवेदारको नियुक्ति गर्थे (प्रसाद, १९३६ः ३५८) । यसबाट ‘सूवा’ भनेको देशको एउटा प्रान्त, क्षेत्र वा भूगोलको सानो भाग र ‘सूवेदार’ भन्नाले त्यसलाई शासन गर्ने प्रान्तपति अर्थात् गभर्नर भन्ने बुझिन्छ ।

‘सुभा’ सँग यसको कति पनि अर्थ सामीप्यता देखिँदैन । त्यसकारण, मुगलकालमा प्रयोगमा आएको ‘सूवा’ र ‘सूवेदार’ मा ‘सुभा’ खोज्नु अप्रासङ्गिक देखिन्छ । पारसमणि प्रधान आदिले भनेझैँ ‘सुभा’ किराँतीले दिएको पदवी नभएर जातीय पदवी हो भन्ने माथिका विवरणबाट स्पष्ट भयो ।

६. तिब्बती त्सोङ प्रान्त : लिम्बूको उत्तरी स्रोत

राजधानी Jegace भएको तिब्बती राज्य Gong नेपालको सिमानासँग जोडिएको छ भनी एन एकाउन्ट अफ टिबेटमा भनिएको छ (डि फिलिप्पि, २००५ः १६२) । डेसीडेरीले Gong उच्चारण गरेको तिब्बतको प्रान्त नेपालको उत्तरमा पर्ने Tsong नै हो । यो भारतको सिक्किम तथा भुटानसमेतको सिमाना पनि हो । सन् १६३५ सम्म सित्या राजवंशको तिब्बतमा शासन चल्यो । त्यसपछि Tsong प्रान्तका राजाले सित्या राजवंशलाई हराएर आफू तिब्बतको सर्वेसर्वा बने । पछि मंगोल गुसी खानले तिब्बतमा भीषण आक्रमण गरी कब्जा गरे (बेल, २०००ः ३२) ।

गुसी खानको तिब्बत आक्रमणको उद्देश्य त्सोङ राजालाई हटाई दलाई लामालाई राज्यको वागडोर हस्तान्तरण गर्नु मात्र थियो (बेल, २०००ः २३०) । मानवशास्त्री चे काकानेले फाकमोदु, गुसी खानको इतिहासबारे राम्ररी लेखेका छन्, जो फिसरद्वारा सम्पादित पुस्तक हिमालयन एन्थ्रोपोलोजीमा संगृहीत छ (फिसर, १९७८ः ३८-३९) । त्यतिबेलाका यात्रीहरूले तिब्बतको यस प्रान्तलाई अनेक नामले सम्बोधन गरेको पाइन्छ । साम्तेन जी कार्मेको विवरणले पनि यसको पुष्टि गर्छ । सन् १५४८ मा मध्य तिब्बतका रिन-स्फुग शासकले एक जना कुलीन सामन्त झिङ-झाङ त्से-वर्टन-दोरजीलाई त्सोङ प्रान्तको गभर्नर नियुक्त गर्छन् । गभर्नर भएको केही समयपछि नै विद्रोह गरी तिनले आफैंलाई राजा घोषणा गरेका थिए (कार्मे, २००९ः ५०५) । तिब्बतमा पुनः राजतन्त्र यसरी सुरु भयो ।

तर, सन् १६४२ मा कोकोनोरका मङ्गोल शासक गुसी (गुस्री पनि कसैले लेखेका छन्- केबी) खानले तिब्बतमा आक्रमण गरी त्यस राजतन्त्रलाई समाप्त पारिदिएका थिए । आफ्नो विजयपश्चात दलाई लामालाई गुसी खानले आदरका साथ आमन्त्रण गरे । आफूले विजय गरेका मध्य र पूर्वी तिब्बतसमेत सम्पूर्ण तिब्बत गुसी खानले दलाई लामालाई चढाउँछन् । त्यसपछि उनलाई राजगद्दीमा बसाउँछन् । त्यो समय पाँचौं दलाई लामाको थियो।

दलाई लामाहरू त्यतिखेरसम्म गेलुक्पापन्थीहरूको धर्म गुरु र एउटा विहारका मठाधीश (बडाभिक्षु) मात्र हुन्थे । धार्मिक, राजनीतिक शक्तिसहितको देशको सर्वोच्च दलाई लामा भएको पाँचौं दलाई लामादेखि मात्र हो (कार्मे, २००९ः ५१०-५११) । यसै प्रान्तमा गोरखाली फौजले पनि निकै पल्ट तिब्बती तथा तिब्बती-चीनी फौजसँग युद्धहरू लड्नु परेको थियो । यसै प्रान्त भएर तिब्बतको सर्वाधिक लामो नदी त्साङ-पो पूर्वतिर बग्छ । भारतमा आसामको सदियाबाट पसेपछि यो नदीले ‘ब्रम्हपुत्र’ नाम पाउँछ (एलन, १९९२ः १४५-१७१) ।

भारतीय भाषाशास्त्री सुनीतिकुमार चाटुर्ज्याका अनुसारः

भारतको उत्तर-पूर्व दिशा किराँत जातिको आदि-स्थान थियो । ब्रह्मपुत्र उपत्यका तथा तिब्बतको बाटो भएर आजका नेपाल, भोटान, उत्तर बंगाल, उत्तर विहार, कुमाउ गढवालमा तिनीहरू अज्ञातकालमा फैलिए । सिन्ध प्रदेश, राजस्थान, मध्यभारततक यिनको प्रसार भए पनि ज्यादातर आसाम, बंगाल, विहार, नेपाल आदिस्थानमा तिनीहरू सीमित थिए (चाटुर्ज्या, ई. २००४ः ५४)।

छाङ, गोङ, साङ, त्सोङ जे भने पनि त्यो तिब्बतको त्सोङ प्रान्त नै हो जुन ‘ऊ’ प्रान्तसँग जोडिएको छ । यही बाटो भएर हिमालको भन्ज्याङ, खोँच नाघेर आएकाहरूले आजको पल्लो किराँत आवाद गर्दै गए । कहिलेदेखि हिमालको दक्षिण पस्न थाले ? त्यो खोज अनुसन्धानपछि ज्ञात होला । तर, थाम्सुहाङ लिम्बूको वंशावलीले देखाएअनुसार त्यताबाट आउनेमध्ये थाम्सुहाङहरू सायद सबैभन्दा पछिल्लो हुद्दा हुन सक्छ (थाम्सुहाङ, २०६८) । तिब्बतको त्यही प्रान्तको बाटो भएर यता सर्नेहरूलाई ‘चोङ’ भनिएको भन्ने इतिहास छ । सुखिमको इतिहासमा ‘लो-मेन-चोङ-सुम-डाब’ को प्रथाले यसको पुष्टि गर्दछ ।

७. उत्तरका ‘हाङ’

लिम्बूमा ‘हाङ’ को परम्परा उत्तरबाट आएकाहरूले ल्याएको हो । ‘सुभा’ जस्तै गरी यसलाई पनि सबै लिम्बू अगुवाहरूले धारण गरे ।

जहाँसम्म ‘हाङ’ को कुरा छ, त्यसको जन्म चीनमै भएको भन्ने छ । ‘हाङ’ को पूर्वरूप चीनमा ‘वाङ’ थियो, जसको अर्थ राजा हुन्छ । सर्वप्रथम ‘वाङ’ उपाधि चीनका ‘चु’ (chu) राजाहरूले ग्रहण गरेका थिए । ‘चु’ (वा ‘छु’) राजपरिवारले इपू हजार वर्षभन्दा अगाडिदेखि यो उपाधिको धारण (प्रयोग) गर्दै आइरहेका थिए (क्ये, २००९ः ७३) । उत्तरबाट सर्वप्रथम हिमाल नाघेर दक्षिण प्रवेश गर्नेहरू पनि ह्वाङहे-याङ्जे बेसिनबाट नै सिचुवान-तिब्बत हुँदै त्यहाँ आइपुगेका थिए । त्यसैले लिम्बू भाषा तिब्बतो-बर्मन भाषा समूहअन्तर्गत गणना गरिन्छ । इतिहासअनुसार ‘चु’ का छिमेकी शासकहरूले पनि बिस्तारै-बिस्तारै ‘वाङ’ उपाधि धारण गर्दै गए । ‘सु’ राजाहरू पनि ‘वाङ-ती’ कहलिन्थे (तुन, २००९ः ७) ।

चीनको सीमा नाघेर ‘वाङ’ कोरिया पनि पदार्पण गरे । चउहरूको पतनपछि उत्तरी चीनका येन राज्यले ‘वाङ’ उपाधि धारण गरेको समयतिर कोरियाका पुराना ‘चोसोन’ शासकले पनि त्यही उपाधि धारण गरे (वेगनर र सुल्ज, १९८४ः १४) । मन्चुरियाका पुयो (चाइनिजः फू-यू) हरूले पनि सन् ४९ सम्ममा चिनियाँ पदवी ‘वाङ’ धारण गरिसकेका थिए (वेगनर र सुल्ज, १९८४ः २१) । इश्वीको सुरुकालमै कोगुरयोका शासकहरूले पनि चिनियाँ उपाधि ‘वाङ’ ग्रहण गरिसकेका थिए (वेगनर र सुल्ज, १९८४ः २३) ।

राजा चीजुङको समयसम्ममा सिल्ला राज्यले ठूलो फड्को मारिसकेको थियो । तिनले पनि आफ्नो जातीय उपाधि ‘मारिपकान’ को सट्टा चिनियाँ उपाधि ‘वाङ’ नै धारण गरेका थिए (वेगनर र सुल्ज, १९८४ः ४३) । यता तिब्बती रिजेन्टले पनि पछिबाट ‘वाङ’ उपाधि लिएको कुरा ‘रायबहादुर’ सरतचन्द्र दासको शब्दकोशबाट पनि थाहा पाउन सकिन्छ (दास, २००८ः १०६२) । यसरी उत्पत्ति स्थलको वरिपरिका मुलुकहरूमा समेत ‘वाङ’ लोकप्रिय उपाधिको रूपमा प्रयोग भएको पाइएको छ । तर, लिम्बू जातिमा बाहेक कुन-कुन जाति र देशमा ‘वाङ’ ले अर्को रूप लिएर गौरवशाली भूमिका निर्वाह गरेको छ, त्योचाहिँ खोजकै विषय हो । उल्लेखनीय छ, पूर्वोत्तर भारतका नागाहरू आफ्ना अगुवालाई ‘ओङ’ भन्ने गर्दछन् (हुबर र ब्ल्याकबर्न, २०१२ः २२४) ।

यो पनि हो कि चिनियाँ सम्राटहरूले ‘वाङ’ लाई देशदेशान्तरका शासकहरूलाई पठाउने सम्मानसूचक पदवी पनि बनाएका थिए । जस्तैः फाग-ना दो-र्जी सम्राट कुब्लाई खाँका राजगुरु अर्थात् प्रसिद्ध शाक्य लामा फाग-पा दो-र्जीका सानो भाइ थिए । एउटा तिब्बती स्रोतअनुसार मङ्गोल राजकुमारीसित तिनको विवाह भएको थियो । यस्तै केही कारणले सम्राटले पाइ-लन-वाङ (तिब्बतको राजकुमार) को उपाधिको साथै तिब्बतको शासकमा पनि तिनलाई नियुक्त गरेका थिए (अजिज र क्याप्सटन, २००९ः १७४) । यता नेपालका शाह राजा रणबहादुरलाई ‘वाङ’ र चौतरिया बहादुर शाहलाई ‘घुङ’ उपाधि पठाएका थिए ।

त्यस्तै पन्ध्रौँ शताब्दीमा पलान्चोके राजा शक्तिसिंहलाई पनि ‘वाङ’ को उपाधिले विभूषित गरेका थिए (रेग्मी, २००७ खः ३८२-४०९; नेपाली, २०७५ः ८२-८३; लेभी, २००५ः १०६-१०७) । अर्कातिर जन्मेको केही कालमै ‘वाङ’ को अगुवाइमा हिँडेका केही समूह धेरै टाढा पुगिसकेका तथा हजारौं वर्ष बिताइसकेका थिए । छुट्टिएर लामो समय र दूरीमा पुग्दा ‘वाङ’ नै ‘हाङ’ भइसकेको थियो । ती टाढा पुगेका हाँगा नै आजका लिम्बूहरू हुन् र ‘हाङ’ तिनको राजा । ‘हाङ’ को नेतृत्व मात्र होइन, उताका संस्कारगत भेदका अनेक अवशेष अझै लिम्बू समाजमा विद्यमान होलान् । लिम्बूका ‘माङ’ (देवीदेवता) पनि उतैबाट सँगै आएका हुन् ।

कतिपय देवीदेवताहरूलाई तिब्बतीहरू पनि ‘माङ’ नै भन्दा रहेछन् (कार्मे, २००९ः ४४९) । याङ-साम्याङ (रूपैयाँ-सुन) शब्दहरू पनि उतैबाट आएको आभाष हुन्छ । तिब्बती समाजको फू-नु (दाजु-भाइ) को अवधारणा (कार्मे, २००९ः ४८८–५०१) जस्तै लिम्बूको पनि ‘पे-सिङ’ हुन्छ । ‘फू-नु’ र ‘पे-सिङ’ दुवैले भरसक वंशको एकीकृत एउटा गठलाई बुझाउँछ । यस्ता समानताका कमी छैनन् । खोज्ने जाँगरको मात्र खाँचो छ । फेरि, राजापछि दोस्रो वरीयतामा सिक्किमका लाप्चाको ‘हाङ’ हुन्छ भन्ने जानकारी ह्यामिल्टनबाट पनि पाइन्छ (ह्यामिल्टन, २००७ः १११, ११३) ।

पछिबाट याक्थुङ्बाहरू दुई शक्तिकेन्द्रमा विभाजित भए- सुखिम क्षेत्रका छोग्याल र विजयपुरका सेनहरूसँग । सुखिमका छोग्यालहरूको ‘लो-मेन-चोङ-सुम-डाब’ मा हुँदा होस् वा विजयपुरका सेनहरूसँगको सत्ता साझेदारीको संघमा हुँदा ‘सुभा-हाङ’ मा मनोमालिन्य देखिँदैन । किनकि सबै लिम्बू ‘हाङ’ थिए र सबै ‘सुभा’ लिम्बू । तर, गोरखाली प्रभुत्वपछि भने लिम्बूहरू दुई खेमामा अरु बढी संलग्न हुँदै गएको प्रतीत हुन्छ । सेनसँग सम्मिलितहरू गोरखाली र ‘लो-मेन-चोङ’ काहरू धेरैजसो सुखिमपट्टि ढल्केको देखिन आउँछ । राजा रणहादुर शाहबाट गोरखाली पक्षधर लिम्बूहरूलाई हातहतियार र युद्धरत लिम्बूका निम्ति खेतहरू दिइएको विसं १८४२ साल जेठ १२ गतेको ईस्तिहारबाट स्पष्ट हुन आउँछ (माबुहाङ र तुङ्घङ, २०७०ः १०१) ।

गोर्खालीतर्फ ढल्केका ‘सुभा-हाङ’ हरूले तिनलाई कति सक्रियतापूर्वक सहयोग पुर्‍याए, त्यसको विवरण अलिकति हज्सन पाण्डुलिपिमा गोर्खा–खम्बुवान-लिम्बुवान युद्धमा दिइएको छ । यद्यपि, गोर्खालीले लाए-अह्राएअनुसार ‘चोङ’ सँग वैमनस्य बोकेको कतै देखिँदैन । तिनको सामाजिक जीवनमा कतै पनि विखण्डन भएको, खलल पुगेको सुनिएकोसम्म छैन । तर, चोङहरू भने बीसौं वर्षसम्म सुखिम/तिब्बतसँग मिलेर गोरखा सरकारसँग आफ्नो स्वतन्त्रताको निम्ति लडाइँ गरिरहे (चेम्जोङ, २०५९ः ५१; योगी, २०५५ः १२; माबोहाङ् र तुङ्घङ, २०७०ः ११६–१३८) ।

लिम्बुवानको तत्कालीन स्थितिबारे रेवतीरमण खनाल लेख्छन् :

१८३१ सालसम्म मोरङ आदि मेचीसम्म तराई भाग नेपालमा एकीकरण भइसकेको भए पनि १८३९ सालसम्म किराँत प्रदेशको उपल्लो दुर्गम पहाडी भाग राम्ररी एकीकरण भइसकेको थिएन । स्थिति थामिएका लालमोहर मात्रै गएका थिए । त्यसैले ती लिम्बूहरूले विद्रोह गरेका थिए । त्यो विद्रोह दबाउन विश्वस्त भारदार स्वरूपसिंह कार्कीलाई श्री ५ राजेन्द्रलक्ष्मीले पठाएकी थिइन् । १८४० सालसम्ममा सो विद्रोह दमन गरी स्थिति शान्त गराएकोले स्वरूपसिंह कार्कीलाई श्री ५ मुमा बडामहारानी राजेन्द्रलक्ष्मीले काजी बनाई हर्ताकर्ता बनाएकी थिइन् (खनाल, २०५९ः १०१) ।

डा पंगेनीका अनुसार रणबहादुर शाहको पालादेखि लिम्बूहरूलाई ‘सुब्बा’ बनाइएको हो (पंगेनी, २०६४ः ४८) । १८३९ सालमा रणबहादुर शाहबाट पञ्चखतबाहेक अरु मुद्दा किपटियाले (अमाल कचहरी राखी) हेर्न पाउने गरियो (खनाल, २०५९ः १०१) । त्यही समयतिर देखि लिम्बूका सामुदायिक ‘लाजे’ लाई पनि ‘किपट’ भनी तिनको भूमि-व्यवस्थालाई सिध्याएका थिए । किपट लिम्बूको भूमि-व्यवस्था थिएन, होइन । किपट भूमि-व्यवस्था ‘जातीय भूमि-व्यवस्था’ भएको प्रस्ट हुन्छ । सामुदायिक लाजे भनिएको त्यसैलाई हो । त्यस्तैगरी किराँत प्रदेशलाई १९४० सालदेखि ‘ठेक्का स्थितिको देश’ बनाए । वर्षको यति रकम सरकारलाई बुझाउनु भन्ने भयो (खनाल, २०५९ः १०१) ।

सुभाको सिको गरेर गोरखाली शासकले ‘सुब्बा’ पद निर्माण गरेपछि ‘सुभा’ को महत्त्व सिद्धियो । किनकि ‘सुभा’ को मर्यादा, शक्ति, अधिकार आदि गोर्खाली ‘सुब्बा’ सँग तुलनीय थिएन । साथै ती सरकारी सुब्बाहरूको प्रभुत्वले हाङहरूको प्रचलन पनि ओझेलमा पर्दै गयो । ‘सुभा-हाङ’ हरूको यसरी अवसान भएको पाइन्छ । गोर्खालीद्वारा निर्मित लिम्बू सुब्बाहरू पनि २०२१ सालको भूमिसुधारपछि सकिए । ‘सुभा’ को उत्पत्ति स्थान म्यानमारमा पनि मार्च २, १९६२ मा सैनिक ‘कू’ द्वारा सौपासमेतको सरकारको अन्त्य भयो (तुन, २००९ः ४८३) । उत्तरमा ‘हाङ’ को पुर्खा ‘वाङ’ पनि सन् १९४९ को क्रान्तिपूर्व कसैलाई उपाधि दिँदासम्म बचेको थियो ।

८. किराँतका कुरा

‘सुब्बा ता किराँतीले दिएको पदवी हो’...भन्ने वाक्य पारसमणि प्रधानको टिपन-टापनमा आएको चर्चा यस लेखको सुरुमै भएको छ । साथै ‘सुभा-हाङ’ कसैले दिएको पदवी नभई परम्परागत लिम्बूकै मौलिक पदवी रहेछ भन्ने माथिको व्याख्याबाट स्पष्ट भइसक्यो । त्यसैगरी लिम्बू पनि किराँत समूहअन्तर्गतको एउटा उपजाति हो भन्ने किसिम-किसिमका दाबी र इतिहासकारहरूको समेत भनाइ पाइन्छ । लिम्बूजन्य संगठनको नाम नै ‘किराँत याक्थुङ चुम्लुङ’ छ । त्यस-उसले प्रसंगवश किराँतबारे अलिकति चर्चा आवश्यक ठानिएको छ ।

सामान्यतया किराँतबारे अध्ययन गर्न टाढा जानु पर्दैन । संस्कृत तथा पालि भाषामा वर्णित किराँतहरूको अध्ययनले तिनको सामान्य अवस्था बुझ्न सकिन्छ । संस्कृत साहित्यको कुरा गर्दा अति प्राचीन ऋग्वेदमा भने किराँतको उल्लेख पाइँदैन । ऋग्वेदको रचना आर्यहरूको भारतवर्षमा प्रवेशताका गरिएको मानिन्छ । ऋग्वैदिक कालमा आर्यहरू गंगाको मलिलो मैदानसम्म मात्र आइपुगेका थिए, जसलाई तिनले सप्तसिन्धु भने र आजकल पन्जाब भनिन्छ । ऋग्वेदका नेपाली अनुवादकहरूले ऋग्वेदको ‘सामान्य परिचय’ दिने क्रममा लेखेका पनि छन्- यसअनुसार युरेसिया र मध्यएसियाबाट दक्षिण पश्चिम हुँदै खाडी मुलुकबाट पूर्व अफगानिस्तान र पाकिस्तान हुँदै गंगानदीसम्म आर्यहरू आएको अनुमान गरिएको छ (गौतम, २०७४) ।

आर्यहरू निरन्तर अगाडि बढी रहे । यात्रापथमा तिनीहरूले विभिन्न जाति र समुदायको अवरोधको सामना गर्नु परेको वृत्तान्त ऋग्वेदमा उल्लेख छ । ‘असुर’, ‘राक्षस’, ‘दास’, ‘दस्यु’ सँग तिनले युद्ध गर्नु परेको थियो । ती असुर/राक्षसहरू महर्षि कश्यपका पत्नी दितिपट्टिका सन्तान थिए । देव तथा आर्यहरू कश्यपकै अर्की पत्नी अदितितर्फका थिए (गीताप्रेस, २०७४ः ३०-३२) । भाषाशास्त्री तथा इतिहासकार सुनीति कुमार चाटुर्ज्याका अनुसार- आष्ट्रिक जातिका मान्छेलाई प्राचीन भारतमा ‘निषाद’ भनिन्थ्यो भने ‘दास-दस्यु’ को नामले द्रविडहरू आर्यजातिमा प्रसिद्ध थिए (चाटुर्ज्या सन् २००४ः १४) । तर, ऋग्वेदमा किराँतको कुनै प्रसङ्ग पाइँदैन ।

देव-आर्यहरू जब गंगा नदी तरेर पूर्वतर्फ सर्दै गए, त्यसपछि तिनले भेटेका जातिमा किराँत पनि पर्दछन् । ऋग्वेदपछि रचना गरिएको ग्रन्थ यजुर्वेद (शुक्ल-यजुर्वेद) मानिन्छ । त्यसका दुई मन्त्रमा किराँतको सामान्य नामसम्म आएको छ (जोशी, २०७४ः ३७२, ७१२) । तर, जीपी सिंहका अनुसार सर्वप्रथम किराँत संज्ञा प्राचीन वैदिक साहित्यसंहिता तथा ब्राह्मणहरूमा देखा पर्छन् । र, त्यसपछिका शुक्ल-यजुर्वेदअथर्ववेदका मन्त्रहरूमा पाइन्छन् (सिंह, १९९०ः १९) ।

यो स्पष्ट छ कि आर्यहरू जति–जति गंगा-जमुना, दोआबबाट पूर्वतिर फैलँदै गए, तिनको बाक्लो भेट किराँतहरूसँग पनि भयो । तिनले आफ्नो साहित्यमा किराँतको यथेष्ट वर्णन पनि गरेका छन् । प्रश्न यति मात्र हो कि, किन तिनले त्यस मानव समुदायलाई किराँत भनेर सम्बोधन गरे ? किराँत भनिनुअघि ती जाति को थिए ? किराँतको अर्थ के थियो, के हो ? तथाकथित वैदिक किराँतले आफैंलाई किराँत भनेको अझसम्म कुनै प्रमाण पाइएको छैन । तथापि तिनले वर्णन गरेका स्थान विशेषको विश्लेषणबाट त्यहाँका आदिवासीको भने पहिचान हुन्छ भन्ने विज्ञहरूको भनाइ छ ।

९. निष्कर्ष

दोषयुक्त इतिहासको वर्णन सच्याउँदै लिम्बू ‘सुभा-हाङ’ हरूको इतिहासको रूपरेखा माथि प्रस्तुत भइसकेको छ । सघन अध्ययन-अनुसन्धानद्वारा ‘सुभा-हाङ’ को साङ्गोपाङ्गो इतिहासचाहिँ भावी इतिहासकारले लेख्ने आशा गरौँ । यहाँ सामान्य रूपरेखा कोर्नेसम्म प्रयत्न भएको छ । लिम्बूसँग सम्बन्धित यस्ता थुप्रै आधारभूत शब्दहरू छन्, जसको बारेमा स्पष्ट हुन बाँकी नै छ । क्रमैले ती शब्दहरूका स्पष्टतासँगै लिम्बूको वैज्ञानिक इतिहास लेखनमा सहयोग पुग्नेछ ।

नाेट


१‍. कोच र सेनसँग लिम्बुवानका लिम्बूको सम्बन्ध पन्ध्रौं–सोह्रौं शताब्दीदेखि मात्र भएको देखिन्छ । वि.सं. १४२१ सालदेखि मोरङ तराईमा साङ्लाइङ नामका लिम्बू राजाले राज गर्न थाले । तिनका पुर्खाहरू आसामको कामरूपबाट आएका थिए । तिनी कोच घरानाका थिए भन्ने इमानसिंह चेम्जोङको मत रहेको छ (चेम्जोङ, २०५९ः १३) । कोच–राजवंशीहरूले आर्य सभ्यतालाई अङ्गीकार गर्नुपूर्व तिनीहरू मङ्गोलाइड थिए भन्ने नलिनी रञ्ज रेको पनि भनाइ पाइन्छ (रे, सन् २०१३ः १२) । तिनीहरू जो जे भए तापनि कोच र लिम्बू मिलेर पछि विजयपुरबाट शासन गरेको इतिहास चेम्जोङबाटै पाउन सकिन्छ (चेम्जोङ २०५९ः १३/१४) । त्यस्तै, मकवानपुरका सेन राजा लोहाङ सेन (सन् १५५३–१५९१) र लिम्बू ‘हाङ’ बाजुराय प्रधानमन्त्री हुने सर्तसहित कोच राजालाई विस्थापित गरेर पल्लो किराँत राज्य सञ्चालन सोह्रौं शताब्दीमा मात्र भएको थियो (दास, २०६७ः ५२–५४) । कोच, सेनसँग पल्लो किराँतका लिम्बूहरूको पन्ध्रौं–सोह्रौं शताब्दीतिर मात्र यसरी साक्षात्कार भएको देखिन्छ । त्यसैले यिनीहरूलाई लिम्बूको ‘इतिहाससित सम्बन्धित जाति’ भनिएको हो ।

२‍. आजभन्दा सयवर्ष अघि नै बंगालका प्रसिद्ध लेखक वंकिमचन्द्र चट्टोपाध्यायले भनेको थिए, ‘देशको वास्तविक चित्रण अङ्ग्रेज इतिहासकारहरूबाट गरिएन । तिनले ब्रिटिस स्वार्थलाई हेरेर मात्र लेख्ने गर्छन् । त्यसकारण, बंगाली स्वयंले लेख्ने गरौं (रे, २०१३ः ८)’ । यसरी, जस्तोसुकै तटस्थ रहेर पनि अरुको विषयमा लेख्दा हुने त्रुटिका बारे एउटा उदाहरण जीपी सिंहको पुस्तकबाट लिन सकिन्छ । जस्तो कि, सिंहले लिम्बूहरू सर्वशक्तिमान ईश्वरको अस्तित्वमाथि विश्वास गर्छन्, जसलाई Sham-Mungh… र Mhang Mao, Takpala, Hem-Sung-Mung आदि देवी–देवता मान्छन्, भनेका छन् (सिंह, सन् १९९०ः २३८) । त्यस्तो नामको ईश्वर र देवी–देवताको नाम लिम्बू सभ्यतामा हुँदैन । यो एउटा उदाहरण मात्र हो । यस्तो समस्या हटाउने एउटा उपाय हो, सह–लेखन । अथवा, सम्बन्धित जातिका स्रोतव्यक्तिसित कुनै विशेषज्ञले सहकार्य गर्दा राम्रो हुन सक्छ ।

सन्दर्भसूची


नेपाली

आचार्य, बाबुराम (२०६१). श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, दोस्रो संस्क. काठमाडौंः श्री ५ महाराजाधिराजको संवाद सचिवालय, राजदरवार ।

खनाल, रेवतीरमण (विसं २०५९). नेपालको कानुनी इतिहासको रूपरेखा. काठमाडौंः सरस्वती खनाल।

गौतम, डा प्रशन्न चन्द्र लगायत अनु. (२०७४). ऋग्वेद संहिता, दोस्रो संस्क. काठमाडौंः विद्यार्थी पुस्तक भण्डार ।

घिमिरे, विष्णुप्रसाद (२०४५). पाल्पा राज्यको इतिहास भाग–१. चितवन : श्रीमती पदमा घिमिरे, घिमिरे प्रकाशन ।

चेम्जोङ, इमानसिंह (२०५९). किराँत इतिहास. पाँचौँ संस्क. ललितपुरः किराँत याक्थुङ चुम्लुङ ।

चेम्जोङ, इमानसिंह (२०५९). किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास, दोस्रो संस्क. ललितपुरः किराँत याक्थुङ चुम्लुङ ।

जोशी, आचार्य सुदर्शन (२०७४). यजुर्वेद. काठमाडौं: गुडविल पव्लिकेसन प्रालि ।

थाम्सुहाङ, पुष्प सुब्बा (२०६८). थाम्सुहाङः ऐतिहासिक वंशावली, दोस्रो संस्क. पान्थरः वंशावली प्रकाशन समिति, लिम्बुवान ।

नेपाल, ज्ञानमणि (२०४०). नेपाल निरुक्त. काठमाडौं: नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।

नेपाली, चित्तरञ्जन (२०७५). श्री ५ रणबहादुर शाह. काठमाडौं: रत्न पुस्तक भण्डार ।

पंगेनी, डा भवेश्वर (२०६४). नेपालको प्रशासनिक इतिहास (विसं १८२५–१९०३) भाग–१. काठमाडौंः विद्यार्थी पुस्तक भण्डार ।

प्रधान, पारसमणि (सन् १९६९). टिपन–टापन. कालिम्पोङ: भाग्यलक्ष्मी प्रकाशन ।

माबोहाङ, अर्जुनबाबु र तुङ्घङ, भरत (२०७०). हज्सन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध. धरानः विश्व याक्थुङ मुन्धुम समाज ।

मेचीदेखि महाकाली-भाग १ (२०३१). काठमाडौंः श्री ५ को सरकार, सञ्चार मन्त्रालय, सूचना विभाग ।

योगी, नरहरिनाथ (२०५५). इतिहास प्रकाशमा सन्धि–पत्र संग्रह, द्वितीय संस्क. ललितपुरः बलराम घर्तीमगर ।

संग्रौला, नारायणप्रसाद (२०६७). पल्लो किराँतको किपट व्यवस्था. काठमाडौंः श्रीमती अम्बिकादेवी संग्रौला ।

हिन्दी

ईश्वरीप्रसाद (सन् १९३६). भारत वर्ष का इतिहास. इलाहावाद: द इन्डियन प्रेस लिमिटेड ।

मत्स्यमहापुराण (स‌ं.२०७४). गोरखपुर: गीताप्रेस ।

चाटुर्ज्या, सुनीतिकुमार (सन् २००४). भारतीय आर्य भाषा और हिन्दी. नई दिल्लीः राजकमल प्रकाशन । 

English

Allen, Charles (1992). A Mountain in Tibet: The Search for Mount Kailas and the Sources of the Great Rivers of Asia. Calcutta: Rupa & Co.

Aziz, Barbara Nimri, Mathew Kapstein (Eds.) (2009). Soundings in Tibetan, Civilization, Second Edition. Kathmandu: Vajra Publications.

Bell, Charles (2000). Tibet Past and Present. Delhi: Motilal Banarsidass Publishers Pvt. Ltd.

Das, Basudevlal (2067). The Senas of Makawanpur. Birganj: Bharati Nilaya.

Das, Sarat Chandra (2008). Tibetan-English Dictionary. New Delhi: Adarsh Books.

Das, Sarat Chandra (2001). Journey to Lhasa and Central Tibet. New Delhi: Paljor Publications.

De Filippi, Filippo (Ed.) (2005). An Account of Tibet: The Travels of Ippolito Desidery 1712-1727. New Delhi: Rupa Co..

Fisher, James F. (Ed) (1978). Himalayan Anthropology. Paris: Mouton Publishers.

Gait, Edward Albert (1906). History of Assam, Primary Source Edition. Calcutta: Thacker, Spink & Co.

Hamilton, Francis Buchanan (2007). An Account of the Kingdom of Nepal. New Delhi: Rupa Co.

Huber, Toni and Stuart Blackburn (Ed.) (2012). Origins and Migrations in the Extended Eastern Himalayas. Leiden: Brill.

Karmay, Samten G (2009). The Arrow and the Spindle: Studies in History, Myths, Rituals and Beliefs in Tibet. Kathamndu: Mandala Book Point.

Keay, John (2009). China: A history. London: Harper Collins Publishers.

Lee, Ki Baik, Trans. Edward W. Wagner with Edward J. Shultz (1984). A New History of Korea. London: Harvard University Press.

Ray, Nalini Ranjan (2013). Koch Rajbanshi and Kamtapuri: The Truth Unveiled. Guwahati: Centre for Koch Rajbangshi Studies and Development(CKRSD).

Regmi, DR (2007). Medieval Nepal (Vol. l) New Delhi: Rupa. Co.

Rishley, H.H (1892). The Tribes and Castes of Bengal, Vol. ll. Calcutta: Bengal Secretariat Press.

Sigh, G.P (1990). Kiratas in Ancient India. Delhi: Gian Publishing House.

Tun, Sai Aung (2009). History of the Shan Sate: From its origins to 1962. Chiang Mai: Silkworm Books.

Whelpton, John (2005). A history of Nepal. New York: Cambridge University Press.

प्रकाशित: १८ असोज २०७८ २०:२६ सोमबार

चेतलुङ
चेतलुङ