११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
इतिहास वैकल्पिक इतिहास

लिम्बुवान–गोर्खा लालमोहर सन्धिको ताॽधक्

लिम्बुवान–गोर्खा लालमोहर सन्धिको ताॽधक्

प्रारम्भ

एउटा सन्धिको मातहत एक स्वतन्त्र मुलुकको नक्सा विश्‍व मानचित्रबाट सधैँका लागि नामेट हुन पुग्यो । त्यो स्वतन्त्र मुलुक लिम्बुवान थियो । त्यो सन्धि लिम्बुवान र गोर्खा (नेपाल) बीच १८३१ साल साउनमा भएको लालमोहर सन्धि हो । यसलाई नुनपानीको सन्धि वा ताम्रपत्र पनि भन्‍ने गरिन्छ ।

लालमोहर सन्धि लिम्बुवानको इतिहासमा एक विस्मयकारी र अविष्मरणीय घटना हो । लिम्बुवानले कुनै देशलाई आक्रमण गरेको थिएन । गोर्खालीहरूले लिम्बुवानमाथि आक्रमण गरेपछि आफ्नो मुलुकको रक्षाका निमित्त भएको स्वाधीनताको लडाइँ थियो, त्यो । त्यसबखत गोर्खा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरिसकेका थिए । बिस्तारै काठमाडौंदेखि पूर्वतर्फ अरुण–सप्तकोसीसम्मका सम्पूर्ण स्वतन्त्र मुलुकहरूलाई षड्यन्त्रपूर्वक हत्याइसकेपछि लिम्बुवानमाथि पटक–पटक आक्रमण गरे । तर, लिम्बुवानलाई गोर्खालीले हराउन सकेनन् ।

त्यो बेला लिम्बुवान स्वतन्त्र मुलुक थियो । लिम्बुवानमा दस राजा प्रमुखहरूले १० इलाकामा विभाजन गरी संघीय ढाँचामा सामूहिक शासन गरिरहेका थिए । लिम्बुवान र गोर्खा (नेपाल) बीच भीषण युद्ध जारी थियो । त्यसबखत अनेक जालझेल र षड्यन्त्र पक्कै थियो । लिम्बुवान र गोर्खा (नेपाल) बीच हारजितको फैसला भइसकेको थिएन । युद्धमा हराउन नसकेपछि गोर्खालीले सन्धिको प्रस्ताव अघि सारे । त्यसपछि, भएको सन्धि हो– लालमोहर । यस आलेखमा सोही लालमोहर सन्धिको विषयमा चर्चा गरिएको छ ।

लालमोहर सन्धिमा के छ ?

लिम्बुवान र गोर्खा (नेपाल) बीच १८३१ साल साउनमा सम्पन्न लिम्बुवानले गोर्खा (नेपाल) सँगै बस्न स्वीकार गरेको भनिएको सन्धि नै लालमोहर सन्धि हो । त्यो दिनदेखि स्वतन्त्र रहेको मुलुक लिम्बुवानको अस्तित्व समाप्त भएको थियो । लालमोहर दुई मुलुकबीच भएको लिखित दस्तावेज भएकोले यो सम्झौता होइन, सन्धि हो ।

लालमोहरको पूर्ण पाठ हेरौँ ः

स्वस्ति श्री गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि त्यादि बिबिध विरुदावली विराजमान मनोन्नत श्रीमन माहाराजाधिराज श्री श्री श्री महाराज पृथ्वीनारायण शाह बहादुर शमशेर जङ्ग देवानाम सदा समर विजयीनाम------------------------------------------------------------------

स्वस्ति श्री आगे राजभारा सामर्थ श्री सुन राय, श्री कुम राय, श्री जुङ (फुङ) राय, अरु सबै गैह्र लिम्बू रायके पूर्ण मोहोरको पत्र यथोचित---------------------------------------------------------

उप्रान्त... ... मिल... ... मिलन्तम् यहाको लागि ताहाँलाई कुशल चाहियो । मेरो धर्म मन भलो छ । तिमीहरू हिजु पनि पिछा बक्सेका हौ । तिम्रा मुलुक हाम्रा प्रतापले... ... तिमी तुतु तुम्याङ याकहाङ्ग सन्तान हौ । आज त्यो मुलुक हाम्रा भयो तापनि तिमीहरू हाम्रै छौ । तिम्रा जाहनका पिछा हामीले लियौं । जजसको जे जे तिम्रा खाइन पाइन र लुङवाङगड सिङवाङगड असुद्धलाई सब खत बात सभा शुद्ध गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामिबक्स्यौं । तिमीहरू हाम्रा भारदारसँग सामेल रहौ र मद्दत सघाई हिजु आपै आप आपुङगी बसी आये बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहन्ज्याल तिम्रा शाखा सन्तानतक भोग्य गर । अरु नौलाख के पटि होइन के अर्थले हो भन्या अरु राजा मासिने हुँदा तिमीहरू राजा नै भन्‍ने नमासिने हौ । यो तिमीहरूको नीति हामीले जानेको छ । तर कुराको बिस्तार तिम्रा नाभीमा बसेकोले तिनले गर्‍यो । सुखिमको र हाम्रो घर नभायाको हो । हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गयाको छ । उनबाट कुराको बिस्तार बुझौला । मिली तिमीहरू आप आपुङगी खाइन पाइन माथि लेखे बमोजिम जिमी भूमि जानी चलन गरी खानू । हामीले खोसे मासे मानी पुजी ल्याएको देवताले हाम्रो राजकाज भङ्ग गरोस् भन्या तावापत्रको तसल्ली मुलुकी लालमोहर बाँधी माथि लेखिन्ये लिम्बू कुल भाइलाई दियौं ।

इति सम्वत् १८३१ साल मिति श्रावण सुदि २२ रोज २ बार मुकाम कान्तिपूर राजधानी शुभाय शुभम् ।

(चेम्जोङ, २०६३ः १७५; राजवंशी, २०२५ः २९, श्रेष्ठ, २०५२ः ५३; माबुहाङ, २०६३ः ३८; कुरुम्बाङ, २०६५ः ३४)

लालमोहरमा परेका शब्दहरूलाई नियाल्दा

लालमोहर ः

रातो रङको राजाको छाप वा उक्त छाप लागेको कागजपत्रलाई लालमोहर भनिन्छ । विशेष गरेर, ऐनको रूप लिने विधेयक, दानपत्र, नियुक्ति पत्रमा लालमोहर लगाउने चलन रहिआएको छ (तिगेला, २०७४ः ६९) । दुई मुलुकबीच भएको लिखित सन्धिपत्र वा दस्तावेजमा लाल वा रातो मोहर वा रातो रङको पैसाको छाप लगाएर लिखित दिएकोले यो सन्धिपत्रलाई लालमोहर सन्धि भनिएको हो ।

तसल्ली मुलुकी ः

लालमोहरमा तसल्ली मुलुकी भनी उल्लेख भएको छ । तसल्ली भनेको सन्धि हो । र, मुलुकी भनेको एउटा मुलुक र अर्को मुलुक भन्‍ने अर्थ लाग्दछ । यसर्थ, तसल्ली मुलुकी भन्नाले एउटा मुलुक र अर्को मुलुक बीचको सन्धि हो । लिम्बुवान र गोर्खाबीच भएको यो लालमोहर सन्धि विश्‍वभर भएका बहुत कम यस्ता सन्धिहरूमध्ये एक हुन सक्दछ । लालमोहर लिम्बुवान स्वतन्त्र देश थियो भन्‍ने एक बलियो प्रमाण पनि हो (लिम्बु, २०७६) ।

उप्रान्त.....मिल.....मिलन्तम् ः

यस भनाइको अर्थ थुप्रै पल्ट युद्ध भयो । युद्धमा हारजित हुन सकेन । अबदेखि मिलौँ । युद्धविराम गरौँ भन्‍ने आशय भएको सहज अनुमान गर्न सकिन्छ । त्यसकारण, लालमोहर सन्धि दुई देशबीच युद्धपछि भएको सन्धिपत्र हो । हरेक सन्धिको इमान्दारीपूर्वक पालना दुवै पक्षले गर्नुपर्ने हुन्छ ।

तिमीहरू तुतुु तुम्याङ यकहाङ सन्तान हौ ः

यसमा ‘यक’ भन्नाले गढी वा दरबार हो । ‘हाङ्’ को अर्थ राजा हो । सारमा ‘तिमीहरू आफैँ राजकाज चलाएर बसेका सम्मानित राजाहरू हौ’ भन्‍ने बुझिन्छ । लालमोहरको व्यहोराबाट लिम्बुवानमा राजाहरू थिए, साथै उनीहरूको आफ्नो दरबार थियो भन्‍ने पनि पुष्टि गर्दछ । लालमोहरमा प्रयोग भएको शब्द ‘भला’ मैथिली, ‘पिछा’ हिन्दी र ‘तुतु तुम्याङ यकहाङ’, ‘लुङमाङगढ सिङमाङगढ’ शब्द लिम्बु (याक्थुङ) भाषाका हुन् । यो लालमोहरले लिम्बु भाषालाई सरकारी स्तरमा मान्यता दिएको पाइन्छ (इङ्नाम, २०७७ः भूमिका) ।

जजसको जे जे तिम्रा खाइन पाइन र लुङवाङगड सिङवाङगड असुद्धलाई सब खत बात सभा शुद्ध गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामिबक्स्यौं ः

यी हरफले लालमोहर सन्धिमार्फत लिम्बुवान गोर्खा (नेपाल) सँग मिले पनि उहिलेदेखि लिम्बुवानको निरन्तर अस्तित्व रहिआएको स्वीकार गर्छ । लिम्बुवानको सम्पूर्ण भूमि–अधिकार, त्यहाँको राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकार उहिलेदेखि जे–जसरी भोग्दै, प्रयोग गर्दै शासन गर्दै आएका छौ त्यो अधिकार तिमीहरूलाई नै दिएका छौँ भनी लिम्बुवानलाई लिखित बाचा गरेको कुरा प्रष्ट हुन्छ ।

तिमीहरू हाम्रा भारदारसँग सामेल रहौ र मद्दत सघाई हिजु आपै आप आपुङगी बसी आये बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहन्ज्याल तिम्रा शाखा सन्तानतक भोग्य गर ः

यसमा भनिएको छ– हिजो स्वतन्त्र मुलुकको रूपमा थियौ, अब हामी एक भयौँ । लिम्बुवान र गोर्खा (नेपाल) बीच लालमोहर सन्धि भएर हामी एक भए तापनि यो जिमी भूमि रहिन्जेल स्वायत्त लिम्बुवान तिमीहरूकै रहनेछ र तिमीहरूको शाखा सन्तान रहुन्जेल यहाँको जिमी भूमि भोग गर्नू भन्‍ने प्रस्ट उल्लेख भएको छ ।

... हामीले खोसे मासे मानी पुजी ल्याएको देवताले हाम्रो राजकाज भङ्ग गरोस् भन्या तावापत्रको तसल्ली मुलुकी लालमोहर बाँधी माथि लेखिन्ये लिम्बू कुल भाइलाई दियौं ः

लालमोहरको यो वाक्य निकै महत्वपूर्ण छ । लिम्बुवान र गोर्खा (नेपाल) बीच भएको लालमोहर सन्धिलाई उल्लङ्घन गरे वा खोसे–मासेमा गोर्खा (नेपाल) ले मानी पूजी ल्याएका देवताले हाम्रो (गोर्खा नेपालको) राजकाज भङ्ग गरोस् भनी सत्य बाचा (सपथ) गरेको कुरा उल्लेख छ । एक किसिमले अर्थ लगाउने हो भने यो लालमोहर उल्लङ्घन गर्न नमिल्ने सन्धि हो भन्‍ने पनि हो । माथि पनि उल्लेख छ– तसल्ली मुलुकी लालमोहरको अर्थ एउटा मुलुक र अर्को मुलुकबीच भएको महत्त्वपूर्ण सन्धि हो ।

अरु नौलाख र येकपटि तिमीहरू होइन के अर्थले हो भने अरु राजा मासिने हुँदा तिमीहरू राजा नै भने नमासिने हो ः

लालमोहरको यो वाक्यबाट प्रस्ट हुन्छ कि लिम्बुवान र गोर्खा (नेपाल) बीच लालमोहर सन्धि सम्पन्न हुनुपूर्व गोर्खालीहरूले काठमाडौंदेखि पूर्वतर्फ अरुण–सप्तकोशीसम्मका सम्पूर्ण स्वतन्त्र मुलुकहरूलाई षड्यन्त्रपूर्वक हत्याइसकेका थिए । अर्थात्, उनीहरू हारे तर तिमीहरू हारेनौँ । तिमीहरू नहारेका हौ । वा, नमासिने हौ भनी लालमोहरमा उल्लेख गरिएको हो । यसकारण, पनि ‘लिम्बुवानको नहारेको अर्थात् अपराजित इतिहास छ’ भनिएको हो । लिम्बुवान हारेको छैन र हार्दैन । अर्थात्, लिम्बुवानको यो भूमि जिउँदो छ भनी लेखिएको, बोलिएको हो ।

लालमोहरमा उल्लिखित उक्त भनाइले दुई अलग कुरालाई पनि सङ्केत गरेको बुझ्‍न सकिन्छ । एउटा, नौ लाखबारे । दोस्रो, मासिने र नमासिने बारे । यस बारेमा अर्जुन माबुहाङको तर्क छ– गोर्खालीले ‘अरु नौलाख एकपट्टि तिमीहरू होइन’, भनेर राईभन्दा लिम्बु छुट्टै अलग जाति भनेका हुन् । ‘नवलख देश किरात’ वाक्यांश केलटोलको अभिमानसिंह बस्‍नेतको अभिलेखमा परेको धनवज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठको पुस्तक शाहकालका अभिलेख मा उल्लेख छ । त्यस्तै अभिमानसिंह र पारथ भण्डारीले हरिनन्द पोख्रेललाई लेखेको पत्रमा खम्बू–राईहरूको पहाड, मधेश मुलुकलाई ‘नौलाख किरात’ भनेर सम्बोधन गरेको पाइएको छ । त्यो पत्र बाबुराम आचार्यको पुस्तक श्री ५ बडामाहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी–भाग–३ मा राखिएको छ ।

‘नौलाख’ वा ‘नवलाख किरात’ वाक्यांशको सही अर्थ खोज्‍न सकिएको छैन । ब्रायन हटन हज्शनको पुस्तक ‘मिसेलेनियस एस्सेज रिलेटिङ टु इन्डियन सब्जेक्ट्स’ मा सुनकोशीदेखि लिखु हुँदै अरुणसम्मको खम्बुवानमा प्रत्येक घरको दुई आनाका दरले नौ लाख कर उठेकाले ‘नौलाख किरात’ भनिएको तर्क गरेका छन् । उबेला खम्बुवानमा ४५ हजार घर/परिवार थिए भन्‍नेमा आशंका हुन्छ । इतिहासकारहरू मकवानपुरका राजा दिग्बन्धन सेन र पृथ्वीनारायण शाहका ज्वाइँ–जेठानबीच नौलाखे हार र एकदन्ते हात्तीको विषयमा मनमुटाव भएको खुबै चर्चा गर्छन् । यसरी पो ‘नौलाख’ वाक्यांशले लोकप्रियता पायो कि ?

लिम्बुवान गोर्खा–राज्यको विस्तारको क्रममा पराजित भएर नेपाल अधीनस्थ आएको होइन । स्वायत्तताको अधिकार प्रयोग गर्ने गरी नेपाल र लिम्बुवानको करार बमोजिम नेपाल अन्तर्गत सह–राज्यको रूपमा आएको हो ।

साथै, गोर्खालीले युद्धबाट हराइएका राईलाई ‘मासिने’ र युद्ध नभएर सम्झौताबाट हराइएका लिम्बूलाई ‘नमासिने’ राजा भनेर सम्बोधन गरेका थिए । तर, जंगबहादुर राणाले १९१४ सालको लखनउ र १९११ सालको भोट युद्धमा राई र लिम्बूले बहादुरीका साथ लडेपछि ‘लिम्बू, किरातीको जात पनि नमास्‍नू’ भनेर १९२० सालमा जारी भएको कागजले पुष्टि गर्छ (योगी, २०२२) । लालमोहरमा परेका ‘तुतुु तुम्याङहाङ याक्थुङहाङ/येहाङका सन्तान’, ‘लिम्बू’, ‘लिम्बुवान’, ‘अरु राजा मासिने हुँदा तिमीहरू राजा नै हो भने नमासिने हौ’, ‘अरु नौलाख येकपट्टि तिमिहरू होइन’, जस्ता वाक्यांशले उति बेलाको लिम्बूको पहिचान, सामाजिक र राजनीतिक हैसियतलाई प्रस्ट पार्छ । लालमोहरमा लिम्बूले आफूलाई तुतुु तुम्याङहाङ, याक्थुङहाङ/येहाङका सन्तान भनेका छन् । लालमोहरमा याक्थुङहाङलाई गोर्खालीले ‘लिम्बू’ र माटोलाई ‘लिम्बुवान’ भनेको छ । गोर्खालीले बोलेको ‘लिम्बु’ र ‘लिम्बुवान’ राज्यको बोली बनेकाले लोकप्रिय बन्यो (माबुहाङ, २०७६) ।

लालमोहरको विवरण

लिम्बुवानको इतिहास, संस्कृति र राजनीति का लेखक अर्जुनबाबू माबुहाङले पछिल्लो समय उक्त लालमोहर उतार्ने व्यक्ति, मिति, स्थान, स्रोत व्यक्ति र विवरणबारे उल्लेख गरेका छन् । यसअघि प्रकाशित विभिन्न ग्रन्थहरूमा उक्त लालमोहर उपलब्ध गराउने स्रोतव्यक्ति नन्दकुमार केरुङ लिम्बु, पान्थर याङनाम उल्लेख भएको पाइन्छ । उनै नन्दकुमार केरुङ लिम्बुका सन्तान जयकुमार केरुङ लिम्बु (हालः सुनसरी, धरान १३/६६) ले देखाएको सक्कल लालमोहरको नक्कल उतार गरिएको हो । र, उतार गर्ने ताप्लेजुङ सिनाम गाविस ८ मा जन्मघर भई हाल जिल्ला सुनसरी धरान नगरपालिका ७/१९ श्रीजंगा लाइन बस्‍ने वर्ष ५७ (सन्ताउन्न) को प्रसाद थेबे । उतार गरेको मिति २०६२ साल फाल्गुन ४ गते रोज विहीबार धरान शुभम् .....।

लालमोहरको विवरण यस प्रकार छ ः

(१) पुरानो पहाडे कागजको पछाडि कपडा टाँस भएको । 
(२) लम्बाई २६ (छब्बीस) इन्च । चौडाइ १० (दस) इन्च । 
(३) स्वस्ती श्रीः देवि शुभम संम्बत व्यहोरा लेखिएको हरप संख्या ३३ (तेत्तीस) । 
(४) कागजको शिरमा सबैभन्दामाथि श्री लेखिएको । 
(५) श्री देखिमुनि पहिलो हरफदेखि माथिको खालीबीच भागमा गोलाकारको रातो मोहरको छाप लागेको सोमा लेखिएको अक्षर पढ्न नसकिएको । 
(६) शुरु हरफको देब्रे किनारको उत्तर र दक्षिणतिर छेउमा गोलाकारको औँठी जत्रो दुईवटा कालो मोहरको छाप लागेको । 
(७) लालमोहरको शिर भागको खालि ठाँउमा धनुषाकारमा दुईवटा रातो रंगको नाग (सर्प) को मुख लालमोहरमा जोडिएको । 
(८) लालमोहरको व्यहोरा कालो मसीले तत्कालीन पृथ्वीनारायण शाहको दिव्य उपदेशमा प्रयोग भएको अक्षरको ढाँचामा लेखिएको (माबुहाङ, २०६३ः ३९) ।

लालमोहरलाई किन भनियो नुनपानीको सन्धि ?

लालमोहर सन्धि हुने भएपछि एक ठूलो भाँडोमा पानी राखियो र त्यसमा एक पाथी नुन राखियो । र, नुन पानीमा घोलियो । लिम्बुवान पक्षले गोर्खालीहरूलाई घोलिएको पानीबाट नुन निकाल्न लगाए ।

गोर्खालीहरूले– ‘नुन पग्लेर पानी बन्यो । अब नुन निकाल्न सम्भव छैन’ भने ।

अब नुन पग्लियो । नुन पानीमा देखिन्न । सिर्फ पानी मात्र देखिन्छ । पानीबाट नुन निकाल्न असम्भव भए पनि त्यो पानी पहिलाको जस्तो रहेन । पानीको स्वाद बदलियो । तिमी गोर्खाहरू पानीजस्ता हौ र हामीहरू नुनजस्ता हौँ । तिमी गोर्खाले हामीहरूलाई तिमीहरूमा मिसिन भन्यौ । हामी सर्तसहित मिसिन तयार भयौँ । तर, हामी मिसिँदा तिमीहरू पनि पूर्ववत् पानीजस्तै सिर्फ पानी मात्र रहेनौ ।

गोर्खाका पृथ्वीनारायण शाहको तर्फबाट अभिमानसिंह बस्‍नेत, पारथ भन्डारी, किर्तसिंह खवास र बलि बानियाले नुनपानीको सपथ लिन मन्जुर गरे । एक–एक अञ्जुलि नुनपानी लिएर ‘तिमीहरूको लिम्बुवानको पुर्ख्यौली भूमि जफत गरेमा र तिमीहरूको अहित चिताउने काम गरेमा, यदि तिमीहरूलाई नस्ट गरी अहित चिताउने, धोका दिएमा गोर्खा राजा र तिनका उत्तराधिकारीहरू जुन ईश्वरको निर्भरमा छन्, उनै ईश्वरले तिनीहरूको राज्य पनि भंग गर्ने छ’ भनी सपथ लिए । लिम्बुवानको तर्फबाट पनि नुनपानी अञ्जुलिमा लिएर ‘लिम्बुवान र गोर्खा (नेपाल) बीचको लालमोहर सन्धि उल्लंघन नभएसम्म तिमीहरूको राजाको विरुद्धमा जाँदैनौँ’ भनेर सपथ लिए ।

यो सपथ लिएपछि लिखित लालमोहर लिम्बुवान पक्षलाई गोर्खालीहरूले हस्तान्तरण गरे । यही प्रक्रिया नै ‘नुनपानीको सन्धि’ भनी इतिहासमा उल्लेख भएको छ ।

लालमोहर सन्धि किन हुन गयो ?

लालमोहर सन्धिपछि सिङ्गो एक स्वतन्त्र देश लिम्बुवानलाई गोर्खा (नेपाल) को अधीनमा राख्‍न तयार हुने कुरामा लिम्बुवानका सबै प्रतिनिधिहरू एकमत हुन सकेनन् । लालमोहर सन्धि गर्नुपर्ने बाध्यता किन पर्यो ? लिम्बुवानमाथि पृथ्वीनारायण शाहले जित हासिल गरेका हुन् त ? यस बारेमा इतिहासकार, लेखक, खोज–अनुसन्धानकर्ता, अभियन्ताहरूको विचार र पृथ्वीनारायण शाह (राज्य सत्ता) पक्षधर लेखक, इतिहासकारहरूको विचारसहित थप अध्ययन, अनुसन्धान गर्न जरुरी देखिन्छ ।

पृथ्वीनारायण शाहका गोर्खाली सेनाले लामो समय लिम्बुवानमा लड्दा पनि विजय हासिल गर्न नसकेपछि गोर्खाली सेना लिम्बु सुब्बाहरूसँग सम्झौता गर्न बाध्य भए (दिक्पाल, २०७६ः २) । पृथ्वीनारायण शाहले १८३१ साल साउनमा लिम्बु सुब्बालाई दिएको लालमोहरमा यसअघि सेन राजाले जुन अधिकार उनीहरू (लिम्बुवान) लाई दिएका थिए, त्यो अधिकार गोर्खाले लिम्बुवानलाई दिने सर्तमा लालमोहर सन्धि भएको हो (चेम्जोङ, २०५९ः ४५–४६) ।

तत्कालीन सान मकवानी अधीनस्थ विजयपुरका राजा कामदत्त सेनको हत्याका कारण बुद्धिकर्ण र अन्य मन्त्रीहरूबीच बेमेल थियो । यस्तो परिस्थितिमा विपक्षी सुब्बा मन्त्रीहरूलाई हात लिन सकेमा बुद्धिकर्णलाई समाप्त पार्न अत्यन्त अनुकूल हुने देखियो । त्यसैले, कति पनि विलम्ब नगरीकन गोर्खाली प्रतिनिधि अभिमानसिंह बस्न्यात, पारथ भण्डारी, किर्तसिंह खवास र बली बानियाहरूले लिम्बुवान प्रतिनिधिहरू श्री सुन लिम्बु, श्री फुङ (कुम?) लिम्बु र श्री जङ लिम्बुलाई चिप्लो लगाउन थाले । लिम्बुवान प्रतिनिधिहरूले सान मकवान राजाले दिएकै थिति बमोजिम थिति कायम हुन्छ र हाम्रो कुनै अधिकारमाथि हस्तक्षेप हुँदैन भने किन युद्ध गरी बस्‍ने ? मेलमिलाप गरेर गोर्खाली राजा पृथ्वीनारायण शाहलाई पनि हाम्रो महाराजाधिराज मान्न तयार छौं भन्‍ने भनाइ राखे ।

.....गोर्खा वंशले हामी लिम्बु वंशलाई आफ्नै वंश कुलसरह मानी सान मकवानीले दिएको थिति बमोजिम हाम्रो थितिमा कुनै गडबड नगरी हाम्रा पिता पुर्खाका पालादेखि खाइपाई ल्याएको हकदक, जग्गा–जमिन, चालचलन सबै भोग गर्न दिने हो भने हामी गोर्खा (नेपाल) सँग मिल्ने छौँ । यस कुरामा अधारित भएर सहमति भएकोले विजयपुर राजधानीमा लिम्बुवानका प्रतिनिधि लालमोहर सन्धि गर्न तयार भए (कुरुम्बाङ, २०६५ः ३२) । त्यस्तै, लिम्बुवानलाई भूमिको स्वराज (स्वतन्त्रता) गोर्खा राजाले उनीहरू (लिम्बुवान) लाई फिर्ता दिनुपर्ने र त्यो सर्तमा गोर्खा राजालाई आफ्नो राजा मान्‍ने सहमति भयो भनी इमानसिंह चेम्जोङले उल्लेख गरेका छन् (चेम्जोङ, २०६३ः १७३) ।

लिम्बुवान गोर्खा–राज्यको विस्तारको क्रममा पराजित भएर नेपाल अधीनस्थ आएको होइन । स्वायत्तताको अधिकार प्रयोग गर्ने गरी नेपाल र लिम्बुवानको करार बमोजिम नेपाल अन्तर्गत सह–राज्यको रूपमा आएको हो । त्यसअघि यो (लिम्बुवान) स्वतन्त्र राष्ट्र थियो । अहिले उठेका अनेकन् जातीय राज्य र लिम्बुवानको माग समान होइन (बराल, २०६७ः ४४) । विश्‍व इतिहासको युद्धमा परास्त नभएका र आफ्नो सार्वभौमसत्ता नगुमाएका देशहरूमा लिम्बुवान पनि एक हो किनकि नेपालका राजा पृथ्वीनारायण शाहले लिम्बुवानमाथि पटक–पटक आक्रमण गरे । वीर लिम्बुवानबासीले ती सबै आक्रमणलाई विफल पारिदिए । अन्ततः अगस्ट, १७७४ मा पृथ्वीनारायण शाह तत्कालीन लिम्बुवानका राजाहरू सुन लिम्बु, कुम लिम्बु एवं जंग लिम्बुसँग सन्धि गर्न बाध्य भए । उक्त सन्धिमा लिम्बुवानलाई सहराज्यको मर्यादा र लिम्बुवानवासीलाई नेपालका राजाको सगोत्रीको उपाधि प्रदान गरियो (नेम्बाङ, सन् २०१५ः २१) ।

गोर्खा लिम्बुवानबीच सम्पन्न लालमोहर सन्धिले युद्धलाई दुवै पक्षको जीतको नीति (विन–विन एप्रोच) मा अन्त्य गर्ने प्रयास गरिएको थियो । युद्ध कुनै पक्षले पनि जितेको थिएन । सम्झौताले पल्लो किरात लिम्बुवान गोर्खामा सामेल हुने र लिम्बुवानले परराष्ट्र, सुरक्षा र मुद्रासम्बन्धी क्षेत्राधिकारबाहेकका अन्य अधिकार लिम्बुवानलाई दिइएको छ । यसले दुवै मुलुकले जितेको महसुस गराएको थियो (आङ्बुहाङ, २०७४ः १२९) । सेन मकवानीहरूको पालादेखि (वा १४२ वर्ष अघिदेखि) उपभोग गरिरहेको लिम्बुवान स्वायत्ततालाई गोर्खाले मान्यता दिने तथा लिम्बुहरूले गोर्खालाई केन्द्रीय सरकार मान्नु पर्ने सर्तमा दुवै पक्ष राजी भए र विस १८३१ श्रावणमा लिम्बु–गोर्खाबीच सन्धि भयो (लिङ्देन, २०६३ः १३) । पृथ्वीनारायण शाहले लिम्बुवानमा लिम्बुको राजनीतिक, समाजिक, धार्मिक रीति–थितिअनुसार शासन चलाउन लालमोहर प्रदान गरेका थिए (मादेन, २०७७) ।

लिम्बुवान स्वायत्ततालाई गोर्खाले मान्यता दिने, गोर्खालाई केन्द्रीय सरकार मान्नु पर्ने सर्तमा दुवै पक्ष राजी भएर सन्धि गरेका हुन् । त्यही सन्धि लिम्बुवानले मान्दै आएको हो (बेघा, २०७५) । युद्धद्वारा पराजित गर्न नसकेपछि सम्झौताबाट लिम्बुवान गोर्खा–राज्यमा सम्मिलित भएको हो (इङ्नाम, २०७८ः २७७) । पल्लो किरात लिम्बुवानको केही हिस्सा सिक्किमको र विजयपुरसहित केही हिस्सा सेन मकवानपुरको नियन्त्रणमा थियो । पृथ्वीनारायण शाहले गोर्खा–राज्य विस्तारको क्रममा सीधै गाभ्नुभन्दा चलाखीपूर्वक पल्लो किरातका स्थानीय प्रमुखहरूलाई मान्यता दिए, र सेन राजाहरू अन्तर्गत उनीहरूले पाएका अधिकार र विशेषाधिकारहरूको सुरक्षाको ग्यारेन्टी गरे (रेग्मी, सन् १९७८ː ५३९) ।

उपरोक्त विश्लेषणहरूबाट प्रस्ट हुन्छ– लिम्बुवान र गोर्खा (नेपाल) युद्धमा लिम्बुवान पराजित भएको होइन । युद्धमा गोर्खाले लिम्बुवानलाई जित्न नसकेपछि सन्धिको प्रस्ताव गरे । लिम्बुवान स्वायत्ततालाई गोर्खाले मान्यता दिने, लिम्बुवानमा लिम्बुको राजनीतिक, समाजिक, धार्मिक रीति–थितिअनुसार शासन चलाउन पाउने, परराष्ट्र, सुरक्षा र मुद्रासम्बन्धी क्षेत्रधिकार बाहेकका अन्य अधिकार लिम्बुवानलाई हुने, लिम्बुवानलाई सहराज्यको मर्यादा हुने, स्वायत्तताको अधिकार प्रयोग गर्ने गरि गोर्खा (नेपाल) र लिम्बुवानको करार बमोजिम गोर्खा (नेपाल) अन्तर्गत सह–राज्यको रूपमा मान्यता हुने, लिम्बुवानलाई भूमिको स्वराज (स्वतन्त्रता) गोर्खा राजाले उनीहरू (लिम्बुवान) लाई फिर्ता दिनु पर्ने, सान मकवानले दिएको थिति बमोजिम हाम्रो थितिमा कुनै गडबड नगरी हाम्रा पिता पुर्खाका पालादेखि खाई–पाई ल्याएको हकदक, जग्गा–जमिन, चालचलन सबै भोग गर्न पाउने, ती सर्तहरूमा लिम्बुवान–गोर्खा (नेपाल) बीच १८३१ साल साउनमा लालमोहर सन्धि भएको थियो ।

पृथ्वीनारायण शाह (राज्य–सत्ता) पक्षधर कथित मूलधारका लेखक, इतिहासकारको व्याख्या भने बिल्कुल फरक पाइन्छ । त्यस्तै एक जना इतिहासकार बालचन्द्र शर्मा लालमोहर सन्धिको बारेमा लेख्छन्ः

यस समय सिक्किम लिम्बु–प्रदेशउपर दाँत गडाई बसेको थियो । दस साना ‘थर’ मा विभाजित लिम्बुआन (लिम्बुवान) सित विजयी गोर्खाली सेनाको अगाडि अड्ने शक्ति थिएन । अतः उसले सिक्किमको त्रासदेखि पनि सहजै उद्दार हुने बाटो गरी गोर्खालीहरूको समक्ष युद्ध नै नगरी आत्मसमर्पण गर्यो । गोर्खालीहरूले पनि दसथरे सुब्बाहरूलाई केही किपट, नगरा–निशान र यस्तै अन्य केही कुराहरूको सुविधा दिई लिम्बुआन (लिम्बुवान) लाई आफ्नो राज्यमा सम्मिलित गरे (२०३३ः २३१) ।

त्यस्तै, बाबुराम आचार्य लेख्छन्, ‘सिक्किमका राजाले सताएका लिम्बुहरू पनि गोर्खालीका आश्रयमा आएर पल्लो किरात र सिक्किमको सीमाना बनेका सिङ्लेला पहाडका पानी ढलोदेखि पश्चिमपट्टिका इसलिम्बा र च्याङथापुसम्मका लिम्बुहरूले पनि नेपाल सरकारका आश्रयमा रहन मन्जुर गरे’ (२०६१ः ४२२) । अर्का इतिहासकार नारायणप्रसाद संग्रौला लेख्छन्ः

एकातिर गोर्खालीको लिम्बुवानमाथि आक्रमण अर्को तर्फ सिक्किमले पनि लिम्बुवानमाथि आक्रमण गर्ने घोषणा गरेकाले लिम्बुवानमा थप खैलाबैला उत्पन्न भयो । गोर्खा र सिक्किममध्ये कुनै एक पक्षलाई समर्थन तथा सहायता नगरी नहुने भएकाले अन्त्यमा गोर्खाको समर्थन गर्न नै उचित ठाने (२०६७ः ४९) ।

इतिहासकार तथा लिपिविज्ञ शंकरमान राजवंशीको विचार पनि शर्मा, आचार्य र संग्रौंलाका भनाइसँग मेल खाने देखिन्छ । उनका अनुसार पृथ्वीनारायण शाहले नेपाल खाल्डो विजय गरेपछि पूर्वका सेनराज्य चौदण्डी र विजयपुर दख्खल गर्ने विचार गरे । तिनताक चौदण्डीमा कर्णसेन राजा थिए । तिनलाई वि.सं. १८३० मा हराएपछि विजयपुर पनि पृथ्वीनारायणले दख्खल गरे । चौदण्डी र विजयपुर दख्खल भएपछि किरात र लिम्बुवान प्रदेशका राजाहरूले पृथ्वीनारायणलाई आत्मसमर्पण गरे । यति भएपछि नेपाल राज्य पूर्व सुखिमसँग जोडिन पुग्यो । .....भागेका आफ्ना शत्रुहरूलाई सुखिमले हात लिई गडबड मच्चाउन लागिरहेको थियो । यस्तो मौकामा लिम्बुवान पनि भड्कने सम्भव थियो । त्यसैले पृथ्वीनारायण शाहले तिनीहरू नभड्किऊन् भन्नका निमित्त बुद्धिमत्तापूर्वक ती लिम्बुवानहरूलाई तिनीहरूले खाई–पाई आएको भूमि थामी राजा भन्‍ने पदवी नै दिई यो लालमोहर गरिदिएका हुन् (२०२५ः ३०) ।

पृथ्वीनारायण शाह (राज्य–सत्ता) पक्षधर लेखक, इतिहासकारहरूको विचारलाई खण्डन गर्दै इतिहासकार शिवकुमार श्रेष्ठ लेख्छन्ः

१८३१ साल श्रावणको लालमोहरलाई अध्ययन गर्दा वास्तवमा बालचन्द्र शर्माले उल्लेख गरेजस्तो ‘लिम्बुहरूले आत्मसमर्पण गरे’ अथवा बाबुराम आचार्यले उल्लेख गरेजस्तो ‘सिक्किमका राजाले सताएका लिम्बुहरू पनि गोर्खालीका आश्रयमा आए’ भन्न मिल्दैन । बरु विस १८३१ श्रावणको लालमोहर एउटा सन्धि हो र सम्झौताबाट नै लिम्बुवान नेपाल अधिराज्यमा सम्मिलित भएको भन्न मिल्छ । श्री ५ पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको निर्माण गर्दा नेपालका प्रायः सबै स–साना राज्यहरूमाथि सैनिक विजय गरेर एकीकरण गरेका थिए भने यसरी नेपालका स–साना राज्यहरूमध्ये लिम्बुवान मात्र आफ्नै इच्छाले सम्झौताबाट नेपाल अधिराज्यमा सम्मीलित भएको हो । यो कुरा नेपालको एकीकरणको इतिहासमा विशेष महत्वपूर्ण छ (२०५२ः ५६) ।

मिल्दो प्रसंगमा दिलेन्द्र सुब्बा कुरुम्बाङ लेख्छन्, ‘लिम्बुहरूको लडाकुपन (Militancy) का बारेमा राम्ररी ज्ञान भएकाले धूर्त पृथ्वीनारायण शाहले मकवानपुर आक्रमण गर्नु पूर्व नै लिम्बुवानसँग कुटनैतिक सम्बन्ध स्थापित गरेका थिए’ (२०६५ः २५) । लिम्बुवानका राजा र सेनाहरू लड्नमा माहिर थिए । कैयौं पटक गोर्खाली फौजलाई हराएको र लखेटेको इतिहास छ । यसकारण शर्मा, आचार्य, संग्रौंला र राजवंशीका उपरोक्त तर्कहरू आधारहीन, भ्रमपूर्ण र पूर्वाग्रही छन् । राज्यसत्ता पक्षधर लेखकबाहेक अरु लेखकहरूबाट भने यो सन्धिको सन्दर्भमा प्रस्ट व्याख्या आएका छन् । राज्य–सत्ता पक्षधर लेखक तथा इतिहासकारहरूले नियोजित रूपमा लिम्बुवान र गोर्खा (नेपाल) युद्धमा पृथ्वीनारायण नहारेको देखाउन इतिहासको गलत व्याख्या गर्दै आएका छन् । माथि उल्लेखित शर्मा, आचार्य, संग्रौंला र राजवंशीका भनाइहरू यसका प्रमाण हुन् ।

लालमोहरमा उल्लेखित सुदि २२

लालमोहर सन्धिको अन्तिममा लेखिएको छ– इति सम्वत् १८३१ साल श्रावण सुदि २२ रोज २ बार । यसमा श्रावण २२ गते नभनी सुदि २२ चाहिँ उल्लेख भएको छ । हामी विक्रम संवत्‌को महिना, गते र बारको बारेमा जानकार छौं । यो सुदिको बारेमा बुझौं ।

चन्द्रमास (लुनार) अनुसार गणना गर्ने क्यालेन्डर त्यसबखत प्रचलनमा थियो । चन्द्रमाको रूप परिवर्तन हुँदै जाने गन्तीअनुसार तिथि गणना गरिन्छ । चन्द्रमा पूर्ण आकारमा र सबैभन्दा उज्यालो देखिने रातलाई पूर्णिमा भनिन्छ । पूर्णिमापछि चन्द्रमाको आकार घट्दै जाने र प्रकाश पनि धमिलो हुँदै जान्छ अर्थात् औंसी सुरु हुन्छ । औंसीसम्मका यी दिनहरूको तिथि गणनालाई वदि अर्थात् कृष्णपक्ष भनिन्छ । औंसीमा चन्द्रमा देखिन्न । रात असाध्यै अँध्यारो हुन्छ । औंसीपछि चन्द्रमा सानो आकारमा देखिन थाल्छ । त्यसपछि चन्द्रमाको आकार बढ्दै जाने र प्रकाश पनि उज्यालो हुँदै जान्छ । पूर्णिमा सम्मको तिथि गणनालाई सुदि अर्थात शुक्ल पक्ष भनिन्छ । यो क्रम सामान्यतया १५ दिनको हुन्छ । यसो हुँदा सुदि २२ सम्म पुग्दैन अर्थात् सुदी २२ हुँदैन । लालमोहर सार्दाको गल्तीले सुदि २२ हुन गएको हो भन्‍ने अनुमान गर्न सकिन्छ (दिक्पाल, २०७६ः ४) ।

तत्कालीन गोर्खा शासकहरूको देश निर्माण गर्ने सोचाइ देखिन्न । षड्यन्त्रपूर्वक जित्‍ने र आफ्नो सबै कुरा लाद्‍ने । लिम्बुवान र गोर्खा (नेपाल) बीच भएको लालमोहर सन्धिको आधिकारिक प्रमाणलाई नै दुर्नियत राखेर नष्ट गर्न खोजेको देखिन्छ ।

यस अनुसार लालमोहरको तिथि–मितिको बारेमा इतिहासकार तथा लिपिविज्ञ शंकरमान राजवंशीले उल्लेख गरेको र लिम्बुवानमा स्थापित मान्यता र बुझाइमा फरक देखियो । तिथि–मितिका सवालमा प्रा दिनेशराज पन्तले ‘श्रावण सुदि २२’ नहुने धारणा राख्दै आएका छन् । महेशचन्द्र रेग्मीको पुस्तक ल्याण्ड ट्यानुर एण्ड ट्याक्सेसन इन नेपाल (सन् १९६३—१९७८) मा भने लिम्बूहरूलाई १८३१ श्रावण सुदि १२ मा लालमोहर दिइएको ‘रोयल ट्याक्सेसन कमिसन रेकर्ड’ बाट उद्धृत गरिएको छ (माबुहाङ, २०७६) ।

संवत् १८३१ को लालमोहरको सक्कल शाही कर आयोगमा रहेकोे स्रोत महेशचन्द्र रेग्मीले खुलाएका छन् । जसमा साउन सुदि १२ उल्लेख गरिएको छ । यही १२ लाई सार्दा कसैले २२, कसैले ११, कसैले १ मात्र सारेकाले भ्रम सिर्जना भएको हो । सुदि २२ लेखिएको भनिएको लालमोहर १८३१ साउन सुदि १२ भन्दा अन्य २५० भन्दा बढी लालमोहरहरूको अध्ययनमा सुदि १५ भन्दा पछाडिका कुनै तिथि–मिति भेटिन्न र वदि १४ पछि ३० भेटिएको छ । यसको बीचका १५ देखि २९ सम्मका तिथि–मिति भेटिन्न । यो पूर्णिमाको सुदि र औंसीको वदि हुने र दुवै १५/१५ दिनको हुने गर्दछ भन्‍ने हेक्का राख्नुपर्दछ । संवत् १८३१ को लालमोहर साउन सुदि २२ त होइन नै, साउन २२ गते झन् हुँदै होइन । र, सुदि २२ नभएर साउन सुदि १२ हो भन्‍ने निष्कर्ष हो (तिगेला, २०७४ः ६८/७४/७६) । यस बारेमा कमल तिगेला टिपोटमा लेख्छन्ः

लिम्बुवानको ऐतिहासिक अध्ययन नामक पुस्तकका लेखक शिवकुमार श्रेष्ठसँग उहाँको धनकुटा स्थित निवासमा यो सन्दर्भमा छलफल गर्दा उहाँले यो कुनै अध्ययन अनुसन्धानबिना २२ गते मैले लेखेको हुँ तिमीहरूले सच्याउनू र थप अध्ययन अनुसन्धान गर्नू भनेका थिए । यो पंक्तिकारलाई आदेश भए अनुरूप २२ गते होइन भन्‍ने निष्कर्षमा पुगिएको हो । सुदि २ जो मनप्रसाद केरुङसँग रहेको लालमोहर भनी पुरातत्त्व विभागले लेखेको छ । र, अर्को तिथि साउन सुदि १२ भनी लेण्ड टेनुर एन्ड ट्याक्सेशन इन नेपाल का लेखक एम.सि.रेग्मीले रोयल ट्याक्सशेसन कमिशनलाई स्रोत मानी लेख्नु भएको छ । सो तिथि २ र १२ कुन हो भन्‍ने बिसयमा यकिन भएपछि मात्र कति गते हुन आउँछ भन्न सकिनेछ (२०७४ः ७४) ।

इतिहासकार तथा लिपिविज्ञ शंकरमान राजवंशीले पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल पृष्ठ संख्या ३ मा ‘पृथ्वीनारायण शाहका लालमोहर र धैवुङको अभिलेख’ शीर्षकको लेखमा छापिएको यो लालमोहरको तिथि र त्यसलाई मितिमा रूपान्तरण गरिएको विवरण विचारयोग्य छ । राजवंशीले छपाएको यस लालमोहरको व्यहोरामा भने लालमोहर जारी गरिएको तिथि विस १८३१ श्रावण सुदि १ रोज २ उल्लेख छ । पञ्चाङ्गमा समेत राम्रो ज्ञान राख्ने उनले यो तिथिलाई हिसाब गरी निकाल्दा यो लालमोहर विस १८३१ श्रावण शुक्ल २७ गते सोमबार तिथि प्रतिपदा, घडी ३२, पला २९ मा जारी गरिएको हो (राजवंशी, २०२५ः ३०)

लालमोहर रहेको छाप

पैरवी प्रकाशनद्वारा प्रकाशित राजनीतिक शब्दकोशमा प्रा डा गोपाल शिवाकोटीका अनुसार– रातो रङबाट लगाउने नेपालका राजाको छापलाई लालमोहर (Royal seal) भनिन्थ्यो । यस्तो छाप राजाबाट हुने नियुक्ति, ऐन/कानुनलाई स्वीकृत दिँदा आदेश तथा दानपत्र आदिमा लगाइने गरिन्थ्यो । राणाकालमा राणाहरूले लगाउने यस्तै खालको छापलाई खड्ग निसान र राजाले लगाउनेलाई लालमोहर भन्‍ने गरिन्थ्यो (२०६७ः ११८८) ।

पृथ्वीनारायण शाहले विसं १८३१ मा मात्रै लिम्बूलाई तीनवटा लालमोहर दिए । ती लालमोहरका सक्कल बमोजिमका नक्कल मात्र पुस्तकमा छापिएका छन् । नक्कल उतारमा पनि एकरूपता छैन । टेकबहादुर श्रेष्ठद्वारा २०५८ सालमा सम्पादित नेपालका राजाहरू तथा तराईका थारु पुस्तकमा पृथ्वीनारायण शाहका पालामा तराईतिर दिइएका लालमोहरका शिरमा ‘दुर्गा’ मुनि ‘भवानी’ लेखिएको र बीचमा खड्ग तेर्स्याइएको स्पष्ट रूपमा देखिन्छ (२०५८ः ऐतिहासिक पत्र १–५०) ।

लिम्बुहरूले नै सक्कल बमोजिम नक्कल उतार गरेको १८३१ श्रावण सुदि २२ को लालमोहरमा घेरेबुट्टा छ । त्यसैलाई नाग बेरिएको जस्तो रातो छाप बनाएर पुस्तकमा उतार गरिएको छ । श्रावण सुदि २२ कै लालमोहरको शिरमा ‘श्री पशुपति’ र ‘श्री राम’ ‘श्री नायब’ लेखिएको जनकलाल शर्माद्वारा सम्पादित ‘प्राचीन नेपाल’ भदौ–असोज २०४२ मा उतार भएको छ (माबुहाङ, २०७६) ।

लालमोहर सन्धिमा हस्ताक्षर

लालमोहर सन्धिमा गोर्खाको तर्फबाट अभिमानसिंह बस्‍नेत, पारथ भन्डारी, किर्तसिंह खवास र बलि बानियाले हस्ताक्षर गरेका छन् ।

लिम्बुवानको तर्फबाट चौबिसेका श्री सुन राय, पान्थरका श्री कुम राय र आठराईका श्री जङ रायले हस्ताक्षर गरेका छन् । लालमोहर सन्धिलाई लिम्बुवान फेदापका श्री आतहाङ राय, मैवाखोलाका श्री देव राय, मेवाखोलाका श्री रैनसिंह राय र तम्बरखोलाका श्री शुभवन्त रायले पछि समर्थन गरेका थिए ।

लालमोहर सन्धिको विपक्षमा उभिँदै चैनपुरका श्री जसमुखी बनेम्बा फागो राय, छथरका श्री सुनुहाङ खेवा राय, चारखोलाका श्री आशदेव लिङ्दम राय, याङवरकका हिलिहाङ रायले गोर्खाली विरुद्ध युद्धको घोषणा गरे । विसं १८३१ मा लालमोहर सन्धिमा हस्ताक्षर गर्ने लिम्बुवानका श्री सुन राय, श्री कुम राय र श्रीजंग राय हुन् । सन्धिपछि स्वेच्छाले गोर्खामा सामेल हुनेहरू पहिलो पटक, फेदापका आतहाङ राय, मेवाखोलाका श्रीदेउ राय, मैवाखोलाका रैनसिंह राय र तमरखोलाका शुभवन्त राय हुन् । दोस्रो पटक, पान्थर उत्तरका थेगिमहाङ, नेम्बाङहाङ र पापोहाङहरू हुन् । लालमोहर सन्धिको विपक्षमा उभिएर गोर्खाविरुद्ध पछिसम्म लड्नेहरू विजयपुरका बुद्धिकर्ण राय खेबाङ लिम्बु, याङवरकका हिलिहाङ यङहाङ, छत्थरका सुनहाङ राय र चारखलका आशदेउ राय हुन् (चेम्जोङ २०५९; संग्रौला, २०६७; कुरुम्बाङ, २०६५) ।

लालमोहरको सक्कल प्रति

यो आलेखमा हुबहु राखिएको लालमोहर नै लिम्बुवानको इतिहास निर्माणमा प्रयोग हुँदै आएको छ । तर, उक्त लालमोहरको सक्कल प्रति हालसम्म उपलब्ध हुन सकेको छैन । त्यो लालमोहर सारेर राखिएको अवस्थामा सङ्कलन गरिएको देखिन्छ (दिक्पाल, २०७६ः ४) । धेरै लिम्बूहरूसँग नक्कल पाइन्छ तर स्रोत उल्लेख छैन (इङ्नाम, २०७७ः २७७) । सन्धि भएको ५० वर्ष नपुग्दै पृथ्वीनारायणका सन्तानले उक्त दस्तावेज फिर्ता गर्न अर्को लालमोहर जारी गरेको हुनाले सक्कल प्रति गोर्खाली सत्ताले फिर्ता लगेको हुनसक्ने इतिहासकारहरूको दाबी छ (मादेन, २०७७) । सक्कल फिर्ता लगिने भएपछि नक्कल सारेर राखिएको सहजै अनुमान गर्न सकिन्छ ।

संवत् १८३१ वैशाख र साउनमा जारी भएका लालमोहरमा पात्रहरू फरक पाइन्छ । तिथि–मिति पनि एकरूप छैन, कतै सुदि त कतै गते प्रयोग गरिएको छ । सारेर राखिएका प्रतिहरूमा एकरूपता पाइँदैन नै, पुरातत्त्वको अभिलेख अनुसारको सक्कलसमेत मिल्दैन (तिगेला, २०७४ः ७५–७६) । राजेन्द्र विक्रम शाहको पालामा संवत् १८७७ चैत वदी २ रोज ३ मा जारी अर्को लालमोहरमा ‘अघि भयाका लालमोहर सबै हाम्रा हजुर दाखिला गरि’ भन्‍ने उल्लेख भएकोले सक्कली लालमोहरका प्रतिहरू फिर्ता लिएको देखिन्छ । सो मितिभन्दा अघिका लालमोहरहरू खारेज गरेको अर्थमा पनि बुझ्‍न सकिन्छ ।

तत्कालीन गोर्खा शासकहरूको देश निर्माण गर्ने सोचाइ देखिन्न । षड्यन्त्रपूर्वक जित्‍ने र आफ्नो सबै कुरा लाद्‍ने । लिम्बुवान र गोर्खा (नेपाल) बीच भएको लालमोहर सन्धिको आधिकारिक प्रमाणलाई नै दुर्नियत राखेर नष्ट गर्न खोजेको देखिन्छ ।

लालमोहरमा उल्लेखित राय र राई

लालमोहरमा लिम्बुवानको तर्फबाट हस्ताक्षर गर्ने राजाहरूको नामसँगै कहीँ ‘राय’ र कही ‘राई’ उल्लेख भएको भेटिन्छ । लालमोहरमा उल्लेखित ‘राय’ र ‘राई’ को वास्तविकताबारे केही तथ्यहरू तर्फ जाऔं ।

१४२१ सालदेखि मावरोङ तराई (मोरङ) मा साङ्लाइङ नाम भएका एक जना लिम्बू राजाले राज्य गर्दै थिए । वंशावलीमा साङ्लाइङ राजा साकवादेन थरका लिम्बू हुन् भनिएको छ । उनको मृत्युपछि उनकै छोरा पुङ्लाइङ राजा भए । उनले हिन्दुमत ग्रहण गरे । ब्राह्मणहरूले उनलाई हिन्दु नामसहित अमर राय पद दिए । त्यस दिनदेखि मोरोङ प्रदेशका लिम्बु राजा पुङ्लाइङ अमर राय नामले प्रख्यात भए । अमर रायपछि उनका छोरा कीर्तिनारायण राय, उनीपछि उनका छोरा अपनारायण राय, त्यसपछि उनका पनि छोरा जारेनारायण राय, त्यसपछि उनका छोरा इङदिननारायण राय, त्यसपछि उनका छोरा विजयनारायण राय गरी जम्मा सात पुस्तासम्म यस राजवंशका राजाहरूले राज्य गरे (चेम्जोङ, २०५९ः १३) ।

सर्तसहितको सन्धिमार्फत लिम्बुवान नेपालमा समाहित भएको थियो । तर, कालान्तरमा उक्त सन्धिप्रति नेपाल सरकार इमान्दार रह्यो कि रहेन ? साउन २२ गतेको दिन उसलाई यो प्रश्‍न सोध्‍नैपर्छ ।

हिन्दु धर्मावलम्बी र मैथिली भाषी सेनवंशी राजाहरूले आफ्नो पालामा मोरङमा हिन्दु धर्म र मैथिली भाषा प्रयोग गर्न जोड दिए । मोरङ थुममा नियुक्त हुने हरेक लिम्बु चौतरिया, काजी र देवानहरूलाई समेत आफ्नो पुरानो नाम छाडी हिन्दु नाम राख्‍न दबाब दिइयो । अनि नामको पछि ‘राय’ लेख्‍न पनि लगाइयो । रायको अपभ्रंश राई हो । त्यसबखत पानोहाङ एक आपुङ्गी राजा थिए र लिम्बु जातिमा आफ्नो नाम परिवर्तन गर्ने पहिलो राजा पनि उनै थिए । उनले पानोहाङ लिम्बुको बदला हिन्दु नाम ‘विद्याचन्द्र राय’ राखे । सम्भवतः यही समयदेखि अन्य लिम्बुहरूले पनि आफ्नो लिम्बु नाम परित्याग गरी हिन्दु नाम राख्‍न थाले (नेम्बाङ, सन् १८८७ः ४) ।

लिम्बुवानमा गोर्खालीको शासन चल्नुअगाडि सेनको शासन थियो । सेनकालमा याक्थुङ्बालाई लिम्बु भनेर सम्बोधन गरिएको त पाइएको छैन । ‘राय’ मात्र भनिएको पाइएको छ । ‘राय’ शब्दावली राजपुतहरूले मात्र प्रयोग गरेको देखिन्छ । चितौरबाट आएका सेनका पुर्खाहरू जिल र अजिल राय थिए (हामिल्टन, १९९०ः १२९ र १३०) । सेनहरूले लिम्बुहरूलाई स्थानीय शासन हेर्ने गरी ‘राय’ पदसहितको कागज गरिदिन्थे । गाउँ प्रमुखलाई भनिएको ‘राय’ शब्द नै कालान्तरमा ‘राई’ बन्यो । सम्भवतः गोर्खालीले याक्थुङ्बालाई उनीहरूका पुर्खा सुसुवा लिलिम याक्थुङ्बाहाङको नामबाट चिन्न (लिलिम) ‘लिम्बू’ भनिएको हुनुपर्छ (माबुहाङ/तङ्घङ, २०७०ः ११) ।

पल्लो किरात दस लिम्बुवानका दस लिम्बु राजा भनी दसै राजाहरूको नामको पछि ‘राय’ उल्लेख छ । र, पल्लो किरातको स्थिति–रीति (सेन लिम्बु राय राजाहरूको संविधान) भनी १७ बुँदा राखिएको छ । त्यसको शीर्षक मै ‘लिम्बु राय’ राजाहरू भनी उल्लेख छ (योगी, २०५५ः १७४ र १७५) ।

लालमोहर सन्धि ऐतिहासिक कि 'कालो' दिन ?

लिम्बुवान र नेपालको राजनीतिक सम्बन्धमा साउन २२ गतेको दिनले ऐतिहासिक महत्त्व राख्छ । यही दिन एउटा सर्तसहितको सन्धिमार्फत लिम्बुवान नेपालमा समाहित भएको थियो । तर, कालान्तरमा उक्त सन्धिप्रति नेपाल सरकार इमान्दार रह्यो कि रहेन ? साउन २२ गतेको दिन उसलाई यो प्रश्‍न सोध्‍नैपर्छ । लालमोहर गोर्खालीले दिएको भिख–पत्र होइन । बरु युद्धको मैदानमा बगेको वीरहरूको रगतले लेखिएको सन्धि–पत्र हो, त्यसैले यसमा लिम्बुवानले गर्व नै गर्नुपर्छ (लिङदेन, २०६३ः १६/सन् २०१५) ।

सन्धि भएको दिन नै लालमोहर सन्धिको विरोध भएको थियो । उक्त सन्धिकै आडमा केन्द्रीय सरकारले लिम्बुवानको सार्वभौम–सत्तासहित सम्पूर्ण अधिकार खोस्यो । अहिले कैंयौ पक्षबाट स्वतन्त्र लिम्बुवान, ग्रेटर लिम्बुवान र जनमत संग्रहको कुरा उठिरहेको छ । यो सन्धि मन नपराउनेहरूको आवाज हो । यो सन्धिकै कारण लिम्बुवानको भाषा, लिपि, संस्कार र संस्कृति लोपोन्मुख अवस्थामा पुग्यो । लिम्बुवानको सभ्यता त लोप नै भयो । त्यहीँबाट लिम्बुवानको सारा अधिकार खोसिएकोले श्रावण २२ लाई राष्ट्रिय जनमुक्ति पार्टीले लिम्बुवानको ‘कालो’ दिन घोषणा गरेको हो (थाम्देन, २०७७ः १७) ।

विदितै छ कि लालमोहर सन्धि हुँदा लिम्बुवान भित्र दुई पक्ष भए । लालमोहर सन्धिको विपक्षमा उभिएकाहरूले लिम्बुवान गोर्खा–राज्यमा गाभिएकाले लिम्बुवानको स्वतन्त्र अस्तित्व र सार्वभौमिकता गुमेको अर्थमा लिए । त्यस्तै, लालमोहर सन्धिको पक्षमा उभिएकाहरूले गोर्खा–राज्य विस्तार अभियानमा पृथ्वीनारायण शाहले अरु राज्य रजौटाहरू युद्धको नाममा षड्यन्त्रपूर्वक कब्जा गरेका थिए तर लिम्बुवानसँग थुप्रै पल्ट युद्ध भए तापनि हारजित हुन नसकेपछि कुटनैतिक पहलमार्फत स्वायत्तता अर्थात् सेन राजाहरूबाट लिम्बुवानले पाइआएको अधिकार र विशेषाधिकारहरूको यथावत् कायम रहने गरी लालमोहर सन्धि भएको हो भन्‍ने अर्थमा लिएको देखिन्छ ।

लिम्बुवान हारेको होइन, अविजित र अपराजेय मुलुक हो । लिम्बुवानले गोर्खा–राज्यलाई सम्झौता गर्न बाध्य पारेको वा पृथ्वीनारायण शाहलाई झुकाएको हो । यसबाट प्रस्ट हुन्छ, लिम्बुवानको छुट्टै राजनैतिक विरासत र हैसियत छ । यस अर्थमा भन्न सकिन्छ लालमोहर सन्धिका थुप्रै आयाम छन् । १८३१ साल साउनमा लालमोहर सन्धि भएको बेला दुई पक्ष भए । त्यसको फाइदा तत्कालीन राज्य–सत्ताले लियो । विस्तारै लालमोहर नै फिर्ता लगे । अहिले न लिम्बुवान स्वतन्त्र मुलुक रहनुपर्छ भन्‍ने नै रहे, न त लालमोहर सन्धि नै कायम छ । अहिले लिम्बुवान प्राप्तिको आन्दोलन जारी छ । यो बेला सबै खाले विचारहरूलाई एकताबद्ध गरी नेपालको नक्साभित्र लिम्बुवानको नक्सा सुनिश्‍चित गर्ने आन्दोलन चलिरहेको छ । यस्तो अवस्थामा विसं १८३१ को लालमोहर सम्बन्धमा पुरानै आधार र धरातलमा दृष्टिकोण निर्माण गर्नु नभई सोका आधारमा परिमार्जित र युगको सापेक्षतामा विचार निर्माण गर्नु सान्दर्भिक हुन्छ ।

लालमोहरको निष्कर्ष

लालमोहरको सक्कल प्रति नभए तापनि, तिथि–मितिमा एकरूपता नभए तापनि, भाषामा केही फरक भए तापनि लिम्बुवान र गोर्खा (नेपाल) बीच १८३१ साल साउनमा लालमोहर सन्धि भएको इतिहास साक्षी छ । खुलेर भन्नुपर्दछ, यो सन्धि लिम्बुवान स्थापनाको महत्त्वपूर्ण आधार हो ।

लालमोहरको निष्कर्षको रूपमा भगिराज र शेरबहादुर इङ्नाम लेख्‍छन् ः

(१) ‘फुटाऊ र राज गर’ भन्‍ने उक्तिलाई चरितार्थ गर्दै दस लिम्बु राय राजाबीच फुट गराउन सफल भएको । 
(२) तुतु तुम्याङ याकहाङ भन्‍ने लिम्बु भाषा लालमोहरमा परेकोले सरकारी स्तरमा प्रथमपल्ट लिम्बु भाषाले मान्यता पाएको । 
(३) अरु नौ लाख के पटी होइन भन्‍ने वाक्य परेकोले राई र लिम्बुलाई फुटाएको ।
४) जिमीभूमि रहेसम्म लिम्बुहरूले जग्गा–जमिन भोग गरी खान पाउने । 
(५) खाई–पाई आएको शाहवंशले खोसे–मासेमा पुजिल्याएको देवताले राजकाज भङ्ग गरोस् भनी कसम खाई तसल्ली लालमोहर प्रदान गरिएको । 
(६) लिम्बुहरूलाई नमासिने जातीमा राखिएको ।
७) लिम्बु रायहरूले परम्परागत रूपमा खाई–पाई आएको जग्गा–जमिन नखोसिने प्रतिज्ञा गरेको (२०७०ः ३३) ।

गोर्खालीले लिम्बुवानको स्वायत्तता मान्‍ने र लिम्बुवानले गोर्खालीलाई केन्द्रीय सरकार मान्‍ने सर्तमा राजनीतिक सन्धि भएको बुझिन्छ । तर, पृथ्वीनारायण शाहले आफ्नो शासनकालको प्रारम्भ नै एकात्मक शासन व्यावस्थाबाट गरे । लिम्बुवानको स्वायत्त अस्तित्व एकात्मक शासन व्यवस्थाबाट सम्भव थिएन । राजनीतिक रूपमा लालमोहर सन्धिको उल्लंघनको सुरुवात यहीँबाट भएको देखिन्छ ।

अर्कोतिर, सन्धिको पक्षधर (मान्‍ने) र विपक्ष (नमान्‍ने) बीच दुई धारमा तत्कालीन लिम्बुवानका प्रतिनिधिहरू पनि बाँडिन पुगे । लालमोहर सन्धि ठिक छैन भन्‍नेहरू विदेशिन बाध्य भए । ठीक छ भन्‍नेहरू लिम्बुवानकै भूमिमा रहे । अहिले लिम्बुवान प्रदेश हुनुपर्दछ भनी संघर्षरत लिम्बुवान आन्दोलनकारीहरू त्यो बेला लालमोहर सन्धिको पक्षमा उभिएकाहरूको सन्तान भएको हुनसक्ने देखिन्छ । यदि यो बीचमा कोही दरसन्तान फर्कनु भएको छैन भने अहिले करिब अढाई सय वर्षपछि लिम्बुवान प्रदेशको मागसहित भइरहेको लिम्बुवान आन्दोलनमा उहाँहरूको सहभागिता सायद छैन होला । यो दुःखद् कुरा हो ।

अन्त्यमा,

लालमोहर सन्धि दुई मुलुकबीच घमासान युद्धको बीच भएको सन्धि हो । यो युद्धमा कसैको हारजित भएको थिएन । लिम्बुवानले गोर्खासँग युद्धमा हारेर लालमोहर सन्धि गरेको होइन । हारेकाहरूसँग सन्धि गर्न आवश्यक हुन्न र गरिन्न । त्यसैले गर्वका साथ भन्न सकिन्छ– लिम्बुवान नहारेको भूमि हो ।

लालमोहर सन्धिसँगै लिम्बुवान गोर्खा (नेपाल) को अधीनमा गएपछि नेपाली राज्य–सत्ताले नयाँ जग राख्‍न पुग्यो । हिमाल, पहाड, तराई अनि जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधता भएको देशमा जहाँबाट शाह राजतन्त्रको सुरुवात भयो, हिन्दु अधिराज्यको पनि सुरुवात भो । एउटा मात्र भाषा र एउटा मात्र जातिको संस्कार–संस्कृति, चाडपर्वको सुरुवात भयो ।

यो सन्धिसँगै लिम्बुवानमा विकसित भएका संस्कार संस्कृति र सभ्यता सबै बिस्तारै राज्यद्वारा ध्वस्त गरियो । एकातर्फबाट हेर्दा लालमोहर त्यो युगमा लिम्बुवान भन्‍ने एक स्वतन्त्र मुलुक थियो भन्‍ने बलियो प्रमाणचाहिँ हो । तर, लिम्बुवानको एक सम्पन्न सभ्यता तथा एक स्वतन्त्र मुलुक भएको राजनीतिक विरासत वा वैधानिकता यही लालमोहर सन्धिसँगै अन्त्य हुन गयो । गोर्खा (पृथ्वीनारायण शाह) ले अरु मुलुकहरूलाई आफ्नो राज्यमा समाहित गर्न जस्तोसुकै सन्धि गर्न तयार हुने तर नियोजित रूपमा बिस्तारै कार्यान्वयन नगर्ने गलत नियत लिएको प्रस्ट हुन्छ ।

लालमोहर सन्धि एक वैधानिक दस्तावेज हो । लिम्बुवान सुनिश्‍चितताको लागि प्रमुख विषय राज्य पुनर्संरचनाको हो । अहिलेको कथित सात प्रदेशबाट आठौँ प्रदेश लिम्बुवान स्थापना गर्न राज्य पुनर्संरचनाको बहसको ‘कोर्स’ लाई नयाँ रूपमा परिभाषित गर्न सक्नुपर्दछ । यसका लागि लालमोहर सन्धि एक महत्त्वपूर्ण आधार हो । लालमोहर सन्धि–पत्रमा उल्लेख छ, ‘जिमी भूमि रहन्ज्याल तिम्रा शाखा सन्तान तकले भोग्य गर ....हामीले खोसे मासे मानी पुजी ल्याएको देवताले हाम्रो राजकाज भङ्ग गरोस् नासोस्’ । तसर्थ जिमी–भूमि रहिन्जेल खोस्‍न र मास्‍न नमिल्ने गरी दुई मुलुकबीच भएको राजनीतिक सन्धि हो यो । तर, बिस्तारै राज्य–सत्ताको तर्फबाट एकतर्फी खोसिएको छ । के लालमोहर सन्धि तोडिएको हो ? अब लिम्बुवान बोल्नुपर्छ ।

सन्दर्भ सामग्री


आचार्य, बाबुराम (२०६१ दोस्रो संस्क). श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी. काठमाडौंः श्री ५ महाराजाधिराजका संवाद सचिवालय राजदरबार ।

आङ्बुहाङ, अबोध अविरल (२०७४). लालमोहर सन्धि र लिम्बुवान आन्दोलनः संक्षिप्त चर्चा. लाइक जर्नल, वर्ष १० (६) २०७४ माघ. धरान (लिम्बुवान) : सिरिजङ्गा अनुसन्धान केन्द्र ।

ईङ्नाम, भगिराज (२०७७). लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९–२०२०). काठमाडौंः अजित इङनाम/शान्तकला मुदेनसङ साँवा ।

इङनाम, भगिराज र शेरबहादुर (२०७०). तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा. काठमाडौंः नेपाल प्रज्ञा–प्रतिस्ठान ।

कुरुम्बाङ, दिलेन्द्र सुब्बा (२०६५). लिम्बुवानः क्रान्ति र विकास. पान्थरः संघीय लिम्बुवान राज्य परिषद् ।

चेम्जोङ, इमानसिंह (२०५९). किरात इतिहास. काठमाडौंः किरात याक्थुङ चुम्लुङ ।

चेम्जोङ, ईमानसिंह (२०६३). किरात इतिहास र संस्कृति. धरान : डल्ली बहादुर लिवाङ सहित ।

चेम्जोङ, इमानसिंह (२०५९ दोस्रो संस्क). किरातकालीन विजयपुरको संक्षिप्त इतिहास. काठमाडौंः किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय ।

लिम्बु, शंकर (२०७६). भूमि व्यवस्था र आदिवासी हक अधिकार. काठमाडौंः याक्थुङ युवा मञ्च, याक्थुङ ज्ञान महोत्सव ।

लिङ्देन, कुमार (२०१५). लिम्बुवान हारेको आशङ्का छ भने २२ साउने लालमोहर पल्टाएर हेर. छथर रिकोभर फेसबुक पेज, अगस्त ८ । https://www.facebook.com/789042461209976/

लिङ्देन, कुमार (२०६३). विसं १८३१ को लालमोहर र लिम्बुवान. लिम्बुवानः ज्ञानुहाङ/सिंहवीर थाम्सुहाङ ।

दिक्पाल, राजकुमार (२०७६). आदिवासी विद्रोहको इतिहास. काठमाडौँः मन्जरी पब्लिेकेशन ।

तिगेला, कमल (२०७४). लालमोहर सन्धि र लिम्बुवान आन्दोलनः संक्षिप्त चर्चा. लाइक जर्नल, वर्ष १० (६) २०७४ माघ. धरान (लिम्बुवान): सिरिजङगा अनुसन्धान केन्द्र ।

बेघा, फिपराज (२०७५). साउन २२ र लालमाेहर. ब्लाट टाईम्स

बराल, भवानी (२०६७). राज्यको नयाँ रचनामा माओ विचार. विजयपुरः बुक क्लब ।

माबुहाङ, अर्जुन र भरत तुङ्घङ (२०७०). हज्शन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध. धरानः विश्व याक्थुङ मुन्धुम समाज ।

मादेन, कमल (२०७७). लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह. अनलाइनखबर डट कम, चैत ३१ ।
https//www.onlinekhabar.com/2021/04/945154

माबुहाङ, अर्जुनबाबू (२०६३). लिम्बुवानको इतिहास, संस्कृति र राजनीति. धरानः लालबाबु लुङफुङवा सहित ।

माबुहाङ, अर्जुनबाबु (२०७६). नमासिने लिम्बूको अपूरो इतिहास । हिमालखबर पत्रिका, आइतबार, १६ चैत । https//www.himalkhabar.com/news/112644।

नेम्वाङ, वीर (सन् २०१५). लिम्बुवान जलिरहेछ. धरानः दिलसिङ मेन्याङबो सहित ।

नेम्बाङ, वीर (सन् १८८७). लिम्बुवानको रामकहानी. धरान ।

राजवंशी, शंकरमान (२०२५). पृथ्वीनारायण शाहका लालमोहर र धैवुङको अभिलेख. प्राचीन नेपाल, पृसं ३, काठमाडौंः पुरातत्त्व विभाग ।

योगी, नरहरिनाथ (२०५५, दोस्रो संस्करण). इतिहासप्रकाशमा सन्धिपत्रसंग्रह (भाग १). काठमाडौंः बालाराम घर्तीमगर ।

शिवाकोटी, प्राडा गोपाल (२०६७). राजनीतिक शब्दकोश. काठमाडौंः पैरवी प्रकाशन ।

संग्रौला, डा नारायणप्रसाद (२०६७). पल्लो किरातको किपट व्यवस्था. श्रीमती अम्बिका देवी संग्रौला ।

शर्मा, बालचन्द्र (२०३३). नेपालको ऐतिहासिक रूप–रेखा. वाराणसी–१ः कृष्णकुमारी देवी।

श्रेष्ठ, शिवकुमार (२०५२). लिम्बुवानको ऐतिहासिक अध्ययन. काठमाडौंः किरात प्रकाशन ।

श्रेष्ठ, टेकबहादुर (२०५८). नेपालका राजाहरू तथा तराईका थारु (ऐतिहासिक पत्र १–५०). कीर्तिपुरः नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय ।

Regmi, Mahesh Chandra (1978). Land Tenure and Taxation in Nepal. Kathmandu: Ratna Pustak Bhandar.

प्रकाशित: २९ माघ २०७८ १४:११ शनिबार

चेतलुङ
चेतलुङ