१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
इतिहास राजनीति इतिहास-विमर्श

लेनिनका आखिरी दिनहरु

लेनिनका आखिरी दिनहरु
सन् १९२० मा मस्को स्क्‍वायर सम्बोधन गर्दै लेनिन ।

वास्तवमा भन्‍ने हो भने सन् १९२१ को मध्येदेखि नै लेनिनमा अस्वस्थताका लक्ष्ण देखिन थालेका थिए । ७ डिसेम्बर १९२१ का दिनमा उनले पोलिटब्युरोलाई निकै बिसन्चो भएको खबर पठाएका थिए । सन् १९२२ का प्रारम्भिक महिनामा उनी धेरैजसो विश्राममा रहे । मार्च-अप्रील १९२२ मा पार्टीको ११औँ महाधिवेशन भयो । तिनताका पनि लेनिन पूर्ण स्वस्थ थिएनन् । उद्घाटन भाषण, समापन भाषण र राजनीतिक प्रतिवेदनमा उनको गतिविधि सीमित रह्‍यो । सम्मेलन स्टालिन, जीनोवियव तथा कामेनेवको संयुक्त नेतृत्वमा सम्पन्‍न भयो । सम्मेलनमा नयाँ केन्द्रीय समितिको निर्वाचन भयो । नयाँ केन्द्रीय समितिले स्टालिनलाई महासचिवको पदमा नियुक्त गर्‍याे । ट्राटस्कीले लेखेका छन्- लेनिनलाई यो नियुक्‍ति पटक्कै मन परेको थिएन ।

मार्च १९२२ को पुछारतिर लेनिनले अति तीव्र कपाल दुखेको शिकायत गरे । तिनताका उनको बसोबास मास्कोनिरको एउटा गाउँमा थियो । उनको स्थितिमा विशेष सुधार भएन । २१ मई १९२२ का दिन उनी प्रचण्ड पक्षाघातका शिकार भए । उनको सम्पूर्ण दायाँ अंङ्ग यसबाट प्रभावित भयो । उनको दाहिने हात र खुट्टा चलल्ने भए । बोली लर्बरिन थाल्यो । जुलाईमा गएर उनको अवस्था केही सप्रियो । तैपनि उनी आफिस भने जान सकेनन् । अक्टुबर १९२२ मा उनी बल्ल आफिस जान थाले ।

अप्रत्यासित बिरामीले लेनिनको मानसिकतालाई बेस्सरी हल्लाएको थियो । आफ्ना साथीहरुसित उनी अक्सर आफ्नो बिमारीको कुरा गर्थे । छिटै स्वास्थ्यलाभ गरेकोमा लेनिन प्रफुल्ल थिए । तर, हिजोको आफ्नो दयनीय अस्वस्थताको स्मरणले लेनिन विचलित देखिन्थे । (हेर्नुस, My Life- Leon Trotsky) आफ्ना वरिपरिको वस्तुस्थितिलाई लेनिन बेग्लै नजरले हेर्न थालेका थिए । 

झण्डै ६ महिनाको अवकाश पछि उनी कार्यक्षेत्रमा फर्केका थिए । अवकाश एवं अन्तरालले लेनिनलाई पुनरावलोकनको अवसर प्रदान गरेको थियो । दैनिक कार्यको व्यस्तता तथा तुमुलनादमा हिजोसम्म सोच्न नभ्याइएका धेरै प्रश्‍नप्रति यसबीच लेनिनको दृष्टि पुग्यो । काममा फर्कनासाथ लेनिनले आफ्ना चिन्ता व्यक्त गर्न थाले । रुसका तत्कालीन मुख्य समस्या के थिए, सो लेनिनको नजरबाट उम्केनन् । सोवियत रुस त्यस समय तीनवटा बिल्कुलै भयङ्कर बेथाका मुखमा उभिएको थियो । लेनिनले ती बेथालाई चिने । बेथा यस प्रकार थिए– (१) गैर–रुसी जातीयता (Natioation) को स्वयत्तता र आात्मनिर्णयको प्रश्‍न । (२) नोकरशाहीको बढ्दो विकृति र वर्चश्‍व । (३) नव–नियुक्त महासचिवका हातमा अनावश्यक शक्तिको केन्द्रीकरणको खतरा । ठीक उपर्युक्त कारणले रुसी क्रान्ति स्टालिन युगमा लक्ष्यभ्रष्ट भयो । लेनिनको निदान (Diagnosis) आश्‍चर्यजनकरुपले सटीक थियो । तर, उपचार गर्न भने लेनिनले भ्याएनन् । 

तिनताका रुसमा सोवियत संविधानको रुपरेखा तयार गरिँदै थियो । गैररुसी जातिको अधिकारलाई संविधानमा कसरी पेश गर्ने भन्‍ने प्रश्‍न उठेको थियो । गैररुसी जातिसित सम्बन्ध राख्‍ने जिम्मा स्टालिनलाई दिइएको थियो । लेनिनले यस सम्बन्धमा सुरुदेखि नै स्टालिनको आलोचना गरेका थिए । लेनिनले यस सम्बन्धमा अरु साथीहरुलाई लेखेको पत्र अझै पढ्न सकिन्छ । नोकरशाहीको समस्या पनि यसैसँग सम्बन्धित थियो ।

तिनताका झण्डै आफ्ना प्रत्येक भाषणमा लेनिनले नोकरशाहीको तीब्र आलोचना गर्थे । जारशाहीका सारा पुराना कारिन्दा सोवियत नोकरशाहीमा बहाल हुन पुगेका थिए । यस तथ्यले लेनिन अत्यन्त चिन्चित थिए । यस विषयमा उनले ट्राटस्कीसित गरेको कुराकानीको उल्लेख ट्राटस्कीको आत्मकथामा पाइन्छ । ट्राटस्की र स्टालिनका बीच मधुर सम्बन्ध थिएन । लेनिनले स्टालिनको बृद्धिशील शक्तिलाई सन्तुलित गर्न तिनताका ट्राटस्कीलाई विशेष प्रोत्साहित गरेको देखिन्छ । लेनिका तिनताकाका पत्र र टिप्पणीबाट यो कुरा जाहेर हुन्छ । तर, ट्राटस्कीले पनि लेनिनको भरोसा पूरा गर्न सकेनन् । महासचिव जोसेफ स्टालिनको सत्ता र प्रभुतामा प्रतिबन्ध लाग्‍न सकेन ।

१३ डिसेम्बर १९२२ का दिन लेनिनलाई पक्षाघातले फेरी पछार्‍यो । यसपटकको हमला झन् तीव्रतर थियो । निरन्तरको बेचैनी तथा तनाव निश्‍चित रुपले यस हमलाका निमित्त उत्तरदायी थियो । बेचैनीले लेनिनलाई रोगी बनायो । रोगले उनलाई झन बेचैन बनायो । यसपटक थला परेपछि लेनिन फेरि तँग्रेनन् । पूरा एक वर्ष, अझ बढी नै उनी ओछ्यान परे । आखिर त्यतैबाट नै २२ जनवरी १९२४ का दिन उनको देहान्त भयो । लेनिनका बिमारीका यी तिथिहरु विशेष विचारणीय छन् । यी तिथिहरुमा लेनिनको अन्तिम कठिनतम तथा मर्मान्तक संघर्षको इतिहास निहित छ ।

१३ डिसेम्बर १९२२ को पक्षाघातपछि एउटा अद्भुत घटना भयो । झट्ट हेर्दा यो सामान्य देखिएला, तर यस सामान्य घटनाले लेनिनको असामान्य व्यक्तित्वको स्पष्टीकरण गर्छ । त्यस दिन लेनिन नराम्ररी थला परे, यो चिन्तनीय कुरा थियो ।

१३ डिसेम्बर १९२२ को पक्षाघातपछि एउटा अद्भुत घटना भयो । झट्ट हेर्दा यो एउटा सामान्य घटना देखिएला । तर, यस सामान्य घटनाले लेनिनको असामान्य व्यक्तित्वको स्पष्टीकरण गर्छ । त्यस दिन अर्थात १३ डिसेम्बरका दिन लेनिन नराम्ररी थरा परे । लेनिनको रोग बल्झिएको थियो । यो निश्‍चय चिन्तनीय कुरा थियो । लेनिनको स्वास्थ्य उनको निजी चिन्ताको कुरो थिएन । लेनिनको स्वास्थ्य समस्त रुसी श्रमिकको साझा समपत्ति थियो । त्यसो हुँदा रुसी कम्युनिस्ट पार्टीले लेनिनको स्वास्थ्यका बारे विशेष चासो देखाउनु विलकुलै स्वाभाविक थियो । तर, रुसी कम्युनिस्ट पार्टीले रुग्ण लेनिनको गतिविधि पूर्ण नियन्त्रणमा राख्‍ने निधो गर्‍यो । ‘पार्टीको अनुमति बेगर कसैले लेनिनलाई भेट्न पाउने छैन’ भनी पार्टी पोलिटव्युरोले निधो गर्‍याे । जनरल सेक्रेटरीका हैसियतले स्टालिन लेनिनको दिनचर्याका निरीक्षक र नियन्त्रक भए ।

स्टालिनको अनुमतिबेगर अब कसैले लेनिनलाई भेट्न पाउँथेनन् । भन्‍न त लेनिनको रुग्णावस्थालाई मध्यनजर राखेर नै यस्तो प्रतिबन्ध गरिएको हो भन्‍ने भनाई थियो । तर, हुँदाहुँदै यस प्रतिबन्धले नराम्रो रुप लियो । १३ डिसेम्बरको पक्षघातपछि करिब एक हप्तापछि लेनिन फेरी अपेक्षाकृत समर्थ भए । तर, प्रतिबन्ध यथावत रह्‍यो । लेनिन सोह्रैआना राजनीतिक प्राणी थिए । अलिकति तँग्रिनासाथ तत्कालीन राजनीतिक बस्तुस्थितितर्फ उनको ध्यान गयो । थला पर्नुअघि लेनिन तत्कालीन रुसी महासचिव जोसेफ स्टालिनको क्रियाकलापप्रति अति संवेदनशील हुन पुगेका थिए । 

महासचिव जोसेफ स्टटालिनको कार्यप्रणाली र जातीय नीतिको लेनिन कटु आलोचक भएका थिए । स्टालिनले पनि लेनिनको मनस्थितिको सुइँको पाएका थिए । लेनिनपट्टिबाट स्टालिन आश्‍वस्त थिएनन् । स्टालिन पार्टीका महासचिव अवस्य थिए, तर लेनिन पार्टीका संस्थापक, अतुलनीय एवं पितृतुल्य नेता थिए । लेनिनले चिताएको खण्डमा स्टटालिनको सम्पूर्ण राजनीतिक शक्ति र प्रभाव लत्क्ष्ण समाप्त हुने थियो । स्टालिनलाई यो कुरो थाहा थियो ।

ठीक त्यस्तै बेलामा स्टटालिन रोगी एवं अशक्त लेनिनका निरीक्षक हुन पुगे । लेनिनको राजनीतिक सक्रियता स्टालिनका निमित्त सर्वथा खतरनाक थियो । निहुँ त रोगको भयो तर रागको निहुँ पारी स्टालिनले लेनिनको प्रत्येक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाए । शारीरिकरुपले अशक्त भए पनि मानसिकरुपले तिनताका लेनिन बिलकुलै चङ्गा थिए । अलिकति तँग्रिनासाथ लेनिनले स्थिति बुझे । 

लेनिनले स्टालिनको षडयन्त्र करिबकरिब बुझे । तर, लेनिन लाचार थिए । स्टालिन एक सामान्य मानिस मात्र थिएनन् । उनी पार्टीका महासचिव थिए । त्यति मात्र होइन, पार्टीको पोलिटटब्युरोले स्टालिनलाई लेनिनको ‘निरीक्षक’ नियुक्त गरेको थियो । स्टालिनको नियन्त्रण बस्तुतः पार्टीको नियन्त्रण थियो । सिद्धान्ततः लेनिन स्वयं यस किसिमको नियन्त्रणका हिमायती थिए । व्यक्तिगत जीवनका यावत पक्षका उपर पार्टीको नियन्त्रण रहनु पर्छ भन्‍ने खुद लेनिनको आग्रह थियो ।

तदनुरुप, आफैं लेनिन यसपटक पार्टीको नियन्त्रणमा परेका थिए । स्टालिन त्यस पार्टीको प्रतिनिधि थिए । पार्टीको एउटा बफादार सदस्यका हैसियतले लेनिन स्टालिनको नियन्त्रणको अवज्ञा गर्न असमर्थ थिए । (हेर्नुहोस, Lenins Last Sturugge- Moshe Lewon) यो एउटा अप्ठेरो स्थिति थियो । यस अप्ठेरोले लेनिनको स्थितिलाई झन दुविधायुक्त तथा त्रासद बनायो ।

लेनिनको राजनीतिक सक्रियता स्टालिनका निमित्त सर्वथा खतरनाक थियो । निहुँ त रोगको भयो तर रोगको निहुँ पारी स्टालिनले लेनिनको प्रत्येक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाए ।

१३ डिसेम्बरका दिन लेनिन ओछ्यानमा परेका थिए । लगभग त्यसै दिनदेखि उनी पोलिटब्युरो अर्थात स्टालिनको निरीक्षणको नियन्त्रणका रोगी भएका थिए । तर, मात्र १२ दिनपछि अर्थात २५ डिसेम्बर १९२२ का दिन लेनिनले पार्टीका नाममा यस प्रकार लेखेः ‘कामरेड स्टालिन जनरल सेक्रेटरी भएका छन् । जनरल सेक्रेटटरीका रुपमा उनका हातमा असीमित सत्ता केन्द्रीत भएको छ । तर, यस असीमित सत्ताको उपयोग कसरी गर्ने भन्‍ने भने स्टालिनलाई थाहा छैन जस्तो छ ।’

स्टालिनका बारे गरिएको यो मुल्यांकन सन्दर्भहिन थिएन । २५ डिसेम्बर १९२२ का दिनमा लेनिनले एउटा सानो टिप्पणी लेखाए । त्यस टिप्पणीमा उलने आफ्ना सबै प्रमुख सहयोगीको मूल्यांकन गरे । इतिहासमा लेनिनको यो टिप्पणी उनको इच्छा–पत्र वा वसीयतनामाका नामले प्रसिद्ध छ । पक्षाघातको दोस्रो आघातले लेनिन निकै आत्तिएका थिए । अब आफू धेरै बाँच्दिन कि भन्‍ने लेनिनको शंका थियो । तर, पार्टी तथा क्रान्तिको भविष्यलाई लिएर लेनिन अत्यन्त चिन्तित थिए ।

उनले रुसमा आफूले चिताए जस्तो समाजको आधारशीला मात्र पनि राख्‍‍न सकेका थिएनन् । त्यो कुरो उनलाई थाहा थियो । सोवियत क्रान्तिका नाउँमा जारशाहीको भृत्युवाद एकाएक प्रबल भएको थियो । स्वयं जोसेफ स्टालिन त्यस भृत्यवादका प्रबल समर्थक भएको देखिएका थिए । आफ्ना अन्तिम दिनका पत्र तथा सन्देशका माध्यमबाट लेनिन यस भृत्यवादसित संघर्षरत भए । उनको ‘इच्छा–पत्र’ यसै संघर्षको एउटा कडी थियो । ४ जनवरी १९२३ का दिन उनले आफ्नो वसीयतनामामा निम्तिलिखित पंक्तिहरु थपेः 

‘स्टालिन अति अभद्र स्वभावका व्यक्ति छन् । सामान्य साथीभाइका निमित्त यस किसिमको अभद्रता क्षम्य हुन सक्छ । तर, महासचिवको जिम्मेवार पद बहन गर्नु पर्ने व्यक्तिका निमित्त यस किसिमको अभद्रता सर्वथा अशोभनीय कुरा हो । तसर्थ निज स्टालिनलाई पार्टीको महासचिव पदबाट अपदस्त गरियोस् भनी म पार्टीका साथीहरुसित माग गर्दछु । महासचिवको पदमा नयाँ साथीको भर्ना गरियोस् । पार्टीको महासचिवले आम साथीहरुप्रति बढी बफादार, धैर्यशील, विनम्र, स्‍नेहशील तथा छलरहित रहनु पर्नेछ भन्‍ने मेरो आग्रह छ ।’

१५ मे १९२३ मा लेनिनको जीवनका अन्तिम दिनहरुमा लिइएको तस्वीर । साथमा बहिनी अन्‍ना इलिनिचना येलिजारोवा र लेनिनको उपचारमा खटिएका चिकित्सकहरु मध्ये एक ए.एम. कोजेवनिकोव ।

यति मात्र होइन । स्टालिन महामन्त्री रहेमा उनले पार्टीभित्र गुट तथा फुटको सृजना गर्ने छन् भन्‍ने लेनिनको आशंका थियो । नभन्दै छिटै नै लेनिनको आशंका चरितार्थ भयो । लेनिनको देहान्त भएको २-४ वर्ष भित्रमा नै रुसी कम्युनिस्ट पार्टी भीषण गुटबन्दी तथा फुटको शिकार भयो ।

यस किसिमको इच्छा-पत्र वा वसीयतनामा लेख्‍‍नु लेनिनका निमित्त सजिलो कार्य थिएन । पोलिटब्युरो तथा स्टालिनले लेनिनलाई बोल्न तथा लेख्‍न पनि रोकेका थिए । भन्‍न त, डाक्टरी सल्लाहका अनुसार नै लेनिनका उपर यस किसिमको प्रतिबन्ध लगाइएको थियो । तर, डाक्‍टरहरु स्वयं रुसका तत्कालीन सत्ताधारीका खैरख्वाह थिए । डाक्टरहरु स्टालिनका डरले थरथरी थिए । डाक्टरहरु त्यही भन्थे, जो ‘पार्टी’ चाहन्थ्यो ।

त्यसैले लेनिनले यसरी प्रतिबन्धमा बस्‍न भने मानेनन् । लेनिनले त्यहाँ विद्रोह गरे । लेनिनले दवाई खानबाट इन्कार गरे । बाहिरी संसारसित मलाई पत्राचार गर्न नदिइएमा म दवाई नै खान्‍न भनी लेनिनले अड्डी लिए । लेनिनको यस अड्डीका सामु डाक्टरको केही लागेन । स्टालिनको केही लागेन । पार्टीको केही लागेन । आखिर लेनिनले दिनको १० मिनेटसम्मका दरले लेखाउन पाउने भए । (हेर्नुस, Moshe Lewin- Lenin's Last Struggle) 

लेनिन स्वयं आफू लेख्‍न असमर्थ थिए । उनको हात चल्दैन्थ्यो । पार्टीद्धारा खटाइएका निजीसचिव तथा उनकी पत्‍नी क्रुप्सकायाका सहायताले लेनिनले आफ्नो इच्छा-पत्र तयार गरे । तर, तिनताका लेनिनले इच्छा-पत्र मात्र लेखेनन् । तिनताका लेनिनले लेखाएका अनेक लेख तथा टिप्पणी उपलब्ध छन् । हुन सक्छ लेनिनका तिनताकाका सम्पूर्ण लेखन अझै हामीले देख्‍न पाएका छैनौँ । तर, जो देखेका छौँ, त्यो मात्र पनि अति सारयुक्त तथा महत्वपूर्ण छन् ।

रुसको तत्कालीन परिस्थितिका बारे लेनिनको विचार के थियो भन्‍ने कुरा ती लेख तथा टिप्पणीबाट छर्लङ्ग हुन्छ । रुसी जनतासित आफूले गरेको वाचा पूरा गर्न सकिएन भन्‍ने पछुतो लेनिनले व्यक्त गरे । लेनिनले स्पष्ट लेखे- ‘रुसका श्रमिक वर्गसित आफूले गरेको वादा मैले पूरा गर्न सकिन । म यो अपराध स्वीकार गर्छु ।’  यसक्रममा नै उनले स्टालिन तथा जेरेजिसिंस्कीको अनेकौँ पटक फेरी कठोर आलोचना गरे ।

भन्‍नु परोइन, लेनिनको यस किसिमको टीका-टिप्पणी तथा पत्राचार स्टालिन एवं तत्कालीन मन्त्रिमण्डलका निमित्त कदापि सुखद तथा सुविधाजनक थिएन । पार्टीको आगामी अधिवेशन सन्‍निकट थियो । त्यस अधिवेशनलाई मध्यनजर राखेर लेनिन आफ्ना टिप्पणी तथा पत्र तयारी गर्थे । आफूले तयारी गरेका कतिपय टिप्पणी तत्काल पार्टी प्रेसमा ‘प्राब्दा’मा छापियोस भन्‍ने लेनिनको जिद्दी थियो । स्टालिनसित लेनिन झन्-झन् विपरीत हुँदै गएका थिए । उता अरु साथीहरु विशेष गरेर ट्राटस्की र बुखारिनसित भने लेनिनको सम्पर्क बढेको थियो । 

स्वयं लेनिनकी पत्‍नी नजेदा क्रुप्सकाया पार्टीको सम्मानित नेतृ थिइन् । क्रुप्सकाया लेनिनसित साइबेरिया गएकी थिईन । क्रुप्सकाया लेनिनसित निर्वासनमा गएकी थिईन । लेनिनप्रति उनको प्रेम अनन्य थियो । र, पार्टी तथा समाजवादप्रति उनको निष्ठा त्यस्तै असंदिग्ध थियो । निजी जीवनमा उनको कुनै महत्वाकांक्षा थिएन । उनको बौद्धिक क्षमता तथा समझदारी पनि उच्चकोटीको थियो ।

पार्टी तथा क्रान्तिको कमजोरी उनीबाट छिपेको थिएन । लेनिनको तत्कालीन चिन्ता तथा छटपटीप्रति उनको पूर्ण सहानुभूति थियो । ती अन्तिम दिनमा लेनिनको राजनीतिक संघर्षमा उनले साथ दिइन । लेनिनले क्रुप्सकायाका माध्यमबाट कतिपय विश्‍वसनीय साथीहरुसित सम्पर्क गर्न चाहे । स्वभावतः यो कुरा स्टालिनले थाहा पाए । स्टालिन आगो भए । 

लेनिनकी पत्‍नी नजेदा क्रुप्सकाया पार्टीको सम्मानित नेतृ थिइन् । क्रुप्सकाया लेनिनसित साइबेरिया गएकी थिईन । क्रुप्सकाया लेनिनसित निर्वासनमा गएकी थिईन । लेनिनप्रति उनको प्रेम अनन्य थियो र पार्टी तथा समाजवादप्रति उनको निष्ठा त्यस्तै असंदिग्ध थियो ।

पार्टी जीवनका दृष्टिले पनि क्रुप्सकाया स्टालिन भन्दा धेरै नै वरिष्ठ कामरेड थिइन । लेनिनकी सहधर्मिणीका नाताले फेरि उनको बेग्लै मर्यादा थियो । तर, स्टालिनले यस मर्यादासमेतको निर्वाह गरेनन् । बेलाबखतमा स्टालिन र क्रुप्सकायाका बीच नराम्रो विवाद हुन थाल्यो । एक दिन स्टालिनले क्रुप्सकायाको अपमान गरेको लेनिनले थाहा पाए । लेनिनको सक्रिय जीवनका मात्र तीन दिन शेष थिए । ५ मार्च १९२३ का दिन लेनिनले स्टालिनलाई एक कडा पत्र लेखे । पत्रको प्रतिलिपि जीनोवियव र कामेनेवलाई पनि पठाए । पत्र यस प्रकार थियो–


‘तिम्रो अभद्रताले सीमातिक्रमण गरेछ । मेरी पत्‍नीलाई टेलिफोनमा बोलाई तिमीले दुर्वचन भनेछौ । तिम्रो त्यत्रो आँट भएछ । मेरी पत्‍नी सज्जन छिन् । उनीले यस घटनालाई बिर्से पनि म भने तिमीलाई सजिलै क्षमा गर्ने छैन । ...तिमीले के खोजेको हो, तिमीसित मैले त्यस्तै व्यवहार गर्ने हो । तत्काल तिमीले स्वयं विचार गरी सूचित गर । तिम्रो माफीनामा तत्काल नपठाउन्जेलसम्म यसै पनि तिमीसित मेरो सम्बन्ध विच्छेद भयो भन्‍ने मेरो अठोट छ ।’ (हेर्नुस, Selected Works Vol: 3 Moscow, 1976)

जोसेफ स्टालिनका साथमा लेनिन । 

यो पत्र पाउँदा स्टालिनको दशा के भयो होला । हामी सजिलै अनुमान लगाउन सक्छौँ । यसै पनि लेनिनका अघि परी विरोध गर्ने स्टालिनको हिम्मत थिएन । पार्टीमा प्रभाव र प्रतिष्ठाका दृष्टिले लेनिनका सामु स्टालिनको केही हस्ती थिएन । स्टालिनले क्रुप्सकायासित सविनय माफी मागे । सो माफी-पत्र भने अझै प्रकाशित भएको छैन ।

त्यस किसिमका धेरै पत्र तथा दस्तावेज अरु पनि अप्रकाशित छन् । रुसी कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनअघि लेनिनको इच्छा-पत्रको आधिकारिक प्रतिलिपिसमेत उपलब्ध थिएन । २०औँ अधिवेशनमा ख्रुश्‍चेवले स्टटालिनका धेरै कमजोरी तथा अपराधको रहस्योद्घाटन गरे । 

त्यसक्रममा नै माथि उदृत इच्छा–पत्र र लेनिनका केही अन्य टिप्पणी आधिकारिकरुपमा मास्कोमा छापिए । त्यसअघि गाइँगुइँ सुनिन्थ्यो । लेनिन स्टालिनसित क्षुब्ध थिए भनी लीओन ट्राटस्कीले लेखेका थिए । तर, यकिन कुरो यही हो भनी भन्‍न गहे थियो । लीओन ट्राटस्कीका कतिपय वक्तव्यमा स्पष्टः अतिशयोक्ति तथा निजी शत्रुभाव उपस्थिति छन् । लीओन ट्राटस्कीले त कहाँसम्म भने लेनिनको हत्या गरिएको भन्‍नेसम्म पनि लेखेका छन् । स्टालिनले लेनिनलाई विष खुवाएर मारे भन्‍ने ट्राटस्कीको दृढोक्ति छ ।

तर, ट्राटस्की आफ्नो आरोपको पक्षमा विश्‍वसनीय प्रमाण पेश गर्न सक्दैनन् । त्यो सत्य हो कि पछि स्टालिनले धेरै साथीहरुको हत्या गरे । तर, ती पछिका कुरा हुन । सन् १९२३ मा लेनिनको हत्या गर्ने स्थितिमा स्टालिन थिए भन्‍न सकिँदैन । लेनिनको मृत्युअघि नै स्टालिन र लेनिनका बीच सबै सद्‍भाव र विश्‍वास भने समाप्त भइसकेका थिए । यो सत्य हो, लेनिन बाँचेका भए स्टालिनको राजनीतिक पतन अनिवार्य थियो । ६ मार्चका दिन स्वयं क्रुप्सकायाले यसै आशयको कुरा कामेनेवसित गरेकी थिईन । तर, यति हुँदाहुँदै पनि विष र हत्याको कथा भने विश्‍वसनीय छैन ।

२३ जनवरी १९२४ का दिन लेनिनको देहान्त भयो । शोकाकुल रुसका लाखौँ जनता आपसे–आप मास्कोतिर लागे । लेनिनको पार्थिव शरीर नगाडिने निधो भयो । विचारधाराका दृष्टिले सोवियत राज्य निरीश्‍वरवादी राज्य थियो । तर, सोभियत राज्यले लेनिनको शवगृहलाई भव्य मन्दिरको पूज्य प्रतिमाका रुपमा प्रतिष्ठित गर्‍यो ।

यहँँ एउटा कुरा उल्लेखनीय छ । लेनिनले स्टालिनको विरोध व्यक्तिगत स्तरमा गरेका थिएनन् । व्यक्तिगत मनोमालिन्यसित यस विरोधको विशेष सम्बन्ध थिएन । यद्यपि पछि गएर त्यहाँ मनोमालिन्य पनि जन्मियो । लेनिनको स्टालिन विरोध विशुद्ध राजनीतिक थियो । मरण-शैय्यामा परेका लेनिनले स्टालिनलाई अपदस्थ गरेर निजी रिस पोख्‍‍न खोजेका थिएनन् । स्टालिन केही निश्‍चित राजनीतिक एवं प्रशासनिक प्रवृत्तिका प्रतीक हुन पुगेका थिए । स्टालिनको अधीनका मन्त्रालय ती विकृत प्रवृत्तिका चरम उदाहरण बन्‍न पुगेका थिए । त्यसैले गर्दा मात्र स्टालिन अचानो भए । तिनताका उपलब्ध अनेकानेक लेख र टिप्पणीबाट यो कुरा छर्लङ्ग हुन्छ । 

मरण-शैय्यामा पनि लेनिनले केही अत्यन्त महत्वपूर्ण लेखहरु लेखे । त्यस्ता लेखहरुमध्ये ‘जातीयताको प्रश्‍न’, ‘सहकारिता बारेमा’, ‘हाम्रो क्रान्ति’, ‘थोरै हुन तर बेस हुन’ आदि अति महत्वपूर्ण लेख छन् । लेनिनको त्यो ‘आखिरी संघर्ष’ कत्तिको महत्वपूर्ण थियो भन्‍ने कुरा यी लेखहरु पढेपछि बुझिन्छ ।

मरणोन्मुख लेनिन मानौँ, हठात् बेग्लै लेनिन भएका थिए । यो सही हो उनको शरीर अशक्त थियो । तर, उनको मस्तिष्क सशक्त, स्पष्ट र प्रखर थियो । कहीँ केही गल्ती भएको थियो । क्रान्तिको मोटर गलत बाटोतिर जादै थियो, उनी छर्लङ्ग देख्दै थिए । ड्राइभरको सीटमा उनी स्वयं बसेका थिए । गीयर, स्टेरिङ र ब्रेकसित लेनिन पुरा ताकतले जुधे । तर, अहँ गाडी बाटोमा आएन । गाडीले गति–विज्ञानको उपहास गर्‍यो । लेनिन हैरान थिए । लेनिन परेशान थिए । आफ्ना अन्तिम दिनका ती लेख तथा टिप्पणीमा लेनिनको हैरानी तथा परेशानी प्रस्ट अंकित छन् । 

लेनिन बारम्बार प्रश्‍न गर्छन- आखिर यस्तो किन भयो ? लेनिन आफै स्वीकार गर्छन– सोवियत राज्य आफ्नो लक्ष्य र बाटोबाट भट्किएको छ । तर, यस झट्काबाट छुटकारा कसरी पाइएला त ? लेनिन यो प्रश्‍न बारम्बार सोध्छन् । अनेकौँ सम्भव उपायबारे लेनिनले ती एकांकी दिनमा विचार गरे । मरण–शैय्याबाट पनि लेनिनले सोवियत कम्युनिस्ट पार्टीलाई अनेकौँ सुझाब दिए ।

तर, ती उपाय तथा सुझाव क्रियान्वित भएनन् । ती उपाय तथा सुझाव पार्टी सेक्रेटरियटमा थन्किइरहे । लामो समयसम्म पार्टी र आमजनताले ती सुझावको वास्तविकरुप देख्ख पाएनन् । लामो समयसम्म लेनिनको वसीयतनामा र लेखहरु अफवाह तथा अनुमानका विषय रहे । स्टालिनको मृत्युपछि मात्र रुसी जनताले तीमध्ये कतिपय लेख देख्‍‍न पाए । त्यो पनि खण्डित रुपमा ।

५ मार्च १९२३ का दिन क्रुप्सकाया प्रकरण भएको थियो । त्यसै दिन लेनिनले स्टालिनलाई सम्बन्ध विच्छेदको अठोट पत्र लेखे । स्वभावतः लेनिन अति उद्विग्‍न थिए । दुई दिनपछि मात्र अर्थात ७ मार्च १९२३ का दिन फेरी लेनिनलाई रोगले तेस्रोपटक तीव्र प्रहार गर्‍यो । यो प्रहार भने प्राणन्तक सिद्ध भयो । तीन दिनपछि अर्थात १० मार्च १९२३ का दिन लेनिनको वाक्य बन्द भयो । झन्डै १० महिना उनी निर्वाक अवस्थामा रहे । आखिर यसै अवस्थामा उनको देहान्त भयो ।

२३ जनवरी १९२४ का दिन लेनिनको देहान्त भयो । छिटै नै उनको मृत्युको समाचार संसारभरी फिजियो । सम्पूर्ण संसारका क्रान्तिकारी शक्ति शोकाकुल भए । सोवियत रुसका लाखौँ जनता आपसे-आप मास्कोतिर लागे । आमजनताको शोक–प्रदर्शन साँच्चै नै स्वयं-स्फुर्त तथा अभूतपूर्व थियो । अनेकौँ दिनसम्म लेनिनको पार्थिव शरीर यसै नै राख्‍ने निधो गरियो । लेनिनको शरीर नगाडिने निधो भयो । विचारधाराका दृष्टिले सोवियत राज्य निरीश्‍वरवादी राज्य थियो ।

प्रत्येक कम्युनिस्ट सिद्धान्ततः नास्तिक हुन्छन् । तर, कम्युनिस्टलाई पनि कदाचित आस्थाको स्थुल केन्द्र चाहिन्छ । सोभियत राज्यले लेनिनको शवगृहलाई एउटा भव्य मन्दिरको पूज्य प्रतिमाका रुपमा प्रतिष्ठित गर्‍यो । विश्‍वभरिका कम्युनिस्टका निमित्त सोवियत रुस ठूलो तीर्थ भयो । लेनिनको शवगृह त्यस तीर्थको केन्द्रीय मन्दिर भयो । मृत लेनिन स्वयं यस पूजा-अर्चनाको हेतु भए । यो पनि सोवियत क्रान्तिको एउटा विडम्बना नै थियो ।

(अगस्ट १९८४ मा प्रकाशित ‘लेनिन एक अध्ययन’ पुस्तकबाट)

प्रकाशित: १५ जेठ २०७९ १३:५९ आइतबार

चेतलुङ
चेतलुङ